+
+
कभर स्टोरी :

हात्ती र बाघको आक्रमणबाट मानवीय क्षति बढ्दो

वन्यजन्तु संरक्षणमा उपलब्धि हासिल गरेको देशको शासन संरचनाले यिनै वन्यजन्तुबाट प्रत्येक वर्ष नागरिक मारिने क्रम बढ्दो छ भनेर हेक्का राखेको देखिन्न । पछिल्ला तीन आर्थिक वर्षमा हात्ती र बाघको आक्रमणबाट मर्नेहरुको बढ्दो सख्याा र त्यसको कारण ।

कृष्ण अधिकारी कृष्ण अधिकारी
२०८० वैशाख २२ गते २०:३६

२२ वैशाख, नेपालगञ्ज । पछिल्ला वर्षहरुमा वन्यजन्तुले मानिसमाथि आक्रमण गरेर क्षति पुर्‍याउने क्रम बढ्दो छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा वन्यजन्तुको आक्रमणबाट ५८ जनाको मृत्यु भएको थियो भने ११६ जना सख्त घाइते भएका थियो । यो आर्थिक वर्षमा देशभर वन्यजन्तुको आक्रमण र तीनले खेतीबालीमा पुर्‍याएको क्षतिसम्बन्धी १२ हजार ६ सय ७२ घटना दर्ता भएका थियो । यस्तो क्षतिवापत सरकारले १५ करोड ५८ लाख २ हजार रुपैयाँ राहत वितरण गरेको थियो ।

यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा वन्यजन्तुको आक्रमणबाट ४० जनाको मृत्यु भएको थियो भने ६७ जना सख्त घाइते भएका थिए । वन्यजन्तु आक्रमण र खेतबालीमा पुर्‍याएको क्षति सम्बन्धमा देशभरीमा ८ हजार ४ सय ५५ वटा घटना भएका थिए । घाइतेको उपचार, मृतकलाई राहात र बालीनाली तथा घर गोठमा पुगेको क्षतिको राहात स्वरुप यो आर्थिक वर्षमा सरकारले १४ करोड ९ लाख ९३ हजार रुपैयाँ वितरण गरेको थियो ।

यस्तै आर्थिक वर्ष २०७६/०७७ मा वन्यजन्तुको आक्रमणबाट ३३ जनाको मृत्यु भएको थियो भने ११० जना सख्त घाइते भएका थिए । यो वर्ष बन्यजन्तुको आक्रमण र बालीनालीमा क्षतिसम्बन्धी देशभर ८ हजार १ सय ६४ वटा घटना भएका थिए । घाइतेको उपचार, मृतकलाई राहत र बालीनाली तथा घर गोठमा पुगेको क्षतिको राहत स्वरुप यो आर्थिक वर्षमा सरकारले १० करोड ६६ लाख ७५ हजार रुपैयाँ राहत वितरण गरेको थियो ।

माथिको विवरणले के देखाउँछ- भने प्रत्येक वर्ष मानवीय क्षति, बालीनाली र सम्पत्तिमा हुने क्षतिका घटना र यस्ता घटनामा सरकारले दिने राहत रकम बढ्दो क्रममा रहेको छ । अझ यसमा सामुदायिक वन र सार्वजनिक वनमा भएका मानवीय क्षतिको सम्पूर्ण विवरण समावेश नभएको हुनसक्छ ।

पछिल्ला तीन वर्षमा हात्तीको आक्रमणबाट ४९, बाघको आक्रमणबाट ४२, गैंडाको आक्रमणबाट १५, चितुवाको आक्रमणबाट १४, भालुबाट ७ र जंगली बादेलको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मानीवय क्षतिका यी सबैजसो घटना सर्वसाधारण घाास काट्न, दाउरा खोज्न गएको बेलामा वन्यजन्तुको आक्रमणमा परेर हुनपुगेको देखिन्छ । उनीहरु हात्ती, बाघ, चितुवा, गैंडा र जंगली बँदेलको आक्रमणमा पर्ने गरेका छन् । जीविकोपार्जनको उपाय खोज्दै नजिकैको बन क्षेत्रमा जाादा सर्वसाधारण मारिएको र गम्भीर घाइते भएको यी हालैका दृष्टान्तहरुले देखाउँछन् ।

· ६ चैत २०७९ मा रौतहटको चन्द्रपुर नगरपालिका-४ की ४९ वर्षीय मीना मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घास काट्न जंगल गएकी मगरलाई हात्तीले आक्रमण गरेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो

· ६ चैत २०७९ मा बर्दियाको मधुवन नगरपालिका- ५ मा बाघको आक्रमणबाट स्थानीय ५५ वर्षीया समुन्द्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको मृत्यु भएको थियो । घर नजिकै रहेको चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाँदा बाघको आक्रमणमा परी क्षेत्री र गुरुङको मृत्यु भएको हो ।

· ९ फागुन २०७९ मा चितवनको रत्ननगर-९ का ६० वर्षीय चन्द्रबहादुर तमाङको घर नजिकैको जंगलमा गैंडाको आक्रमणबाट मृत्यु भएको थियो ।

· १८ फागुन २०७९ मा गोरखाको पालुङटार नगरपालिका- ८ का ६२ वर्षीय राजकुमार कुमाल गोठालो गएका बेला चितुवाको आक्रमणमा परेर गम्भीर घाइते भएका थिए ।

· २० पुस २०७९ मा अर्घाखाँचीको शीतगंगा नगरपालिका -२ झिर्रा गाउँका ७९ वर्षीय रामबहादुर क्षेत्रीको घर नजिकैको ओखरीको बन क्षेत्रमा भालुको आक्रमणमा परेर मृत्यु भएको थियो ।

हात्तीको आक्रमणमा क्षति धेरै

 

मानवीय क्षतिमध्ये हात्तीको आक्रमणबाट मारिनेको सँख्या सबभन्दा धेरै (४९) छ । ‘हात्तीको आक्रमणमा परेकामध्ये ८८ प्रतिशतभन्दा बढी मानिस गरीब तथा विपन्न परिवारका छन् । हात्तीको आनीबानी थाहा नपाएकाहरू हात्ती धपाउन जाँदा आक्रमणमा पर्ने गरेका छन्,’ हात्तीविज्ञ तथा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार राम भन्छन, ‘खेतीबाली कुर्न बसेका, गाईबस्तु चराउन गएका, साँझपख घाँस दाउरा गरेर फर्केका मानिसहरु हात्तीको आक्रमणमा पर्ने गरेका छन ।’

प्रमुख संरक्षण अधिकृत रामका अनुसार, नेपालमा २२७ जंगली हात्ती छन् । पछिल्लो तथ्याङक अनुसार झापामा १९, कोशीमा १६, सिन्धुली सर्लाहीमा ८, चितवन पर्सा कम्प्लेक्समा ४५, बाँके बर्दिया कम्प्लेक्समा ११३ र शुक्लाफाटा कम्प्लेक्समा २६ हात्ती छन् । यस बाहेक हरेक वर्ष भारतबाट १०० देखि १५० वटासम्म हात्ती नेपाल आउँछन् ।

संरक्षण अधिकृत रामका अनुसार, हात्तीको वासस्थानमा अतिक्रमण हुँदै गएको छ । हात्ती ओहोर दोहोर गर्ने क्षेत्र अतिक्रमण गरेर बस्ती बसेका छन् । सडक, नहर जस्ता संरचना निर्माण हुँदा हात्ती हिँड्ने बाटोमा अवरोध पुगेको छ । पछिल्ला वर्षहरुमा हात्तीको संख्या पनि बढेको छ । आहारा, वासस्थान र हात्ती ओहोर दोहोर गर्ने क्षेत्रमा अवरोध बढ्दै गएका कारण हात्तीको आक्रमणबाट जनधनको क्षति हुने क्रम पनि बढ्दै गएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको जंगली हात्ती ।

हात्ती लोपोन्मुख प्रजातिको सूचीमा पर्छ । भारतको आसाम काजिरागको घना जंगल एशियामै हात्तीका लागि ठूलो वासस्थान हो । काजिरागबाट सहबास र खानाका लागि हात्तीको लस्कर भारतको पश्चिम बंगाल हुँदै नेपालको कोशीटप्पुसम्म आउने गर्छ ।

हात्तीको बथानले सयौं वर्षदेखि नेपालमा चुरे फेंदीको बाटो हुँदै ओहोर दोहर गर्ने गरेका छन् । तर, पछिल्ला वर्षहरुमा हात्ती हिँड्ने वन क्षेत्र अतिक्रमण गरेर बस्ती बस्ने, खेतीपाती गर्ने र सडक नहरलगायतका संरचनाहरु निर्माण हुने क्रम बढ्दै गएको छ ।

हात्ती विज्ञसमेत रहेका राम भन्छन, ‘हामी बस्तीमा हात्ती पसे भन्छौं तर हात्तीको ओहोरदोहर गर्ने बाटोमा बस्ती बसेकाले ऊ आफ्नो परम्परागत बाटोमा हिँड्डुल गर्न खोजेको मात्रै हो । यही कारण त्यस क्षेत्रमा बासिन्दाहरुले समस्या खेप्नु परेको हो ।’

दोस्रोमा पर्छ बाघ

बाघको आक्रमणको जोखिम भएको क्षेत्रमा बस्ने मानिसहरुको वनजंगल प्रतिको निर्भरता कम गर्नका लागि विभिन्न कार्यक्रम संचालन गर्न सकिन्छ । तर, सरकारी निकायहरु ‘मान्छेको मृत्यु भएमा राहात र घाइतेहरुलाई औषधि उपचार खर्च दिने व्यवस्था छदै छ’ भनेर बाघलगायत वन्यजन्तुको आक्रमणका घटनामा खासै गम्भीर देखिदैनन्

पछिल्लो तीन वर्षमा हात्ती पछि बाघबाट धेरै (४२) को ज्यान गएको छ । वासस्थान, आहार र सुरक्षाको राम्रो व्यवस्था भएका कारण नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वन्यजन्तुको संख्यामा भएको वृद्धि अनुपातमा वासस्थान, आहारा र पानीको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको छ ।

नेपालमा हरेक चार/चार वर्षमा बाघ गणना हुन्छ । एक वर्षअघि (सन २०२२ मा) भएको गणनामा बाघको संख्या ३५५ पुगेको छ । अहिले बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, बाँकेमा २५, शुक्लाफाटामा ३६ पर्सामा ४१ र चितवनमा १२८ वटा पाटे बाघ छन् ।

जबकि सन २००९ को गणनामा १२१, २०१३ मा १९८, २०१८ मा २३५ बाघ थिए । नेपाल सरकारले सन् २००९ मा २०२२ सम्म नेपालमा १२१ वाट दोब्बर वृद्धि गरेर बाघको संख्या २५० पुर्‍याउने संकल्प गरेको थियो । तर, २०२२ को गणनाले बाघको संख्या दोब्बरभन्दा पनि एक सयले बढी भएको देखाएको छ ।

तर, बाघको संख्या बढेसँगै आहारा प्रजातिका लागि थप घाँसे मैदान र पानीको व्यवस्थापनको जरुरी पर्छ । बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा पानी पोखरी निर्माणका लागि बजेटको अभाव भएको सरकारी अधिकारीहरु बताउँछन् ।

विज्ञहरुका भनाइमा, एउटा बाघका लागि करिब ४ वर्गकिलोमिटर क्षेत्रमा एउटा पानी पोखरी र कम्तिमा तीनदेखि पाँच हेक्टरको घाँसे मैदान आवश्यक पर्छ । बाह्रै महिना पानी नसुक्ने पानी पोखरी र तीनदेखि पाँच हेक्टरको नयाँ घाँसे मैदान निर्माणका लागि १८ देखि २० लाख रुपैयाँ बजेट आवश्यक पर्छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा नेपाल सरकारले पानी र घासे मैदानको व्यवस्थापनका लागि वार्षिक करिब ७० लाख बजेट दिने गरेको छ । सरकारी कर्मचारीहरुका भनाइमा, त्यति बजेट पुराना घासे मैदानको व्यवस्थापन गर्न र पानी पोखरीको मर्मत संहार गर्नमै ठीक हुन्छ । थप काम गर्नै सकिन्न ।

बर्दिया राष्ट्रिय निकुञ्जको पाटे बाघ ।

मुलुकको पछिल्लो आर्थिक अवस्थाका कारण आगामी वर्ष पनि यो क्षेत्रमा बजेट वृद्धि हुने सम्भावना न्यून छ । विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, इलमलगायतका सहयोगी संस्थाहरुले वर्सेनि करिब ३० लाख त्यस क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

यसरी वन क्षेत्रमा पानी र आहारा पर्याप्त नभएपछि बाघलगायतका वन्यजन्तु गाउँबस्ती नजिकका खोला तथा नदीमा पुग्छन् । त्यति नै बेला घास दाउरा र पानीका लागि लागि बन र खोला भएको क्षेत्रमा पुगेका स्थानीय बासिन्दाहरु वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन ।

बाघको संख्या वृद्धि भएसँगै आक्रमणका घटना पनि बढ्दै गएका छन । वन्यजन्तुको आक्रमणबाट मान्छेको मृत्यु र घाइते हुने क्रम बढ्दै गएको छ । चौपाया र खेतीबालीमा हुने नोक्सानीले निकुञ्ज किनाराका बस्तीहरुमा भय र त्रास बढ्दै गएको छ ।

मान्छेलाई आक्रमण गर्ने बाघलाई दोष दिएर उम्कनेभन्दा पनि किन जंगलमा चित्तल, बदेल खाएर बस्ने बाघ बस्ती नजिकका जंगलमा आएर मान्छे र गाइबस्तु खान थाल्यो भनेर ध्यान दिनु आवश्यक भएको बाँके राष्ट्रिय निकुञ्जका बार्डेन श्यामकुमार शाह बताउँछन् ।

बाघको आक्रमणको जोखिम भएको क्षेत्रमा बस्ने मानिसहरुको वनजंगल प्रतिको निर्भरता कम गर्नका लागि विभिन्न कार्यक्रम संचालन गर्न सकिन्छ । तर, सरकारी निकायहरु ‘मान्छेको मृत्यु भएमा राहात र घाइतेहरुलाई औषधि उपचार खर्च दिने व्यवस्था छदै छ’ भनेर बाघलगायत वन्यजन्तुको आक्रमणका घटनामा खासै गम्भीर देखिदैनन् ।

राहत रकम पनि बढ्दो

पछिल्ला तीन वर्षको तथ्याङकले वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने, घाइते हुने जस्तै खेतीबालीमा हुने क्षति पनि बढ्दै गएको देखिन्छ । यसै अनुसार सरकारले वन्यजन्तुको आक्रमणबाट घाइते भएकाको उपचार र मृत्यु भएकाहरुलाई राहत र खेतीबालीमा हुने क्षतिवापत दिने रकम पनि बढ्दो क्रममा छ ।

वन्यजन्तुको आक्रमणबाट मान्छेको मृत्यु भएमा १० लाख, सख्त घाइते भए २ लाखसम्म र सामान्य घाइते भए २० हजार रुपैयाँसम्म दिने कानुनी व्यवस्था छ । त्यस्तै, वयस्क भैंसी वा जोत्ने गोरु वा रागोको मृत्यु भए ३० हजारसम्म र अन्य पशुको मृत्यु भए १० हजारसम्म राहत दिने व्यवस्था छ । घर वा गोठको क्षति भए १० हजारसम्म, भकारीमा भण्डारण गरिएको अन्नमा क्षति भए १० हजारसम्म र खाद्यान्न बालीमा क्षति भए १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था कानुनमा छ ।

राहतका लागि पीडित वा हकवालाले घटना भएको मितिले ३५ दिनभित्र वन तथा मध्यवर्ति उपभोक्ता समिति, गाउँ तथा नगरपालिकाको सिफारिसलगायतका कागजातसहित वन तथा निकुञ्ज कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

एक अर्बको कोष अलपत्र, जनता आक्रोशित

पवित्रा थारु भन्छिन, ‘आफूलाई परेको समस्या र मनमा लागेको कुरा हामीले कसलाई भन्ने ? हाम्रो समस्या हेरेर, हाम्रो कुरा सुनेर सहयोग र सान्त्वना दिने कुनै निकाय र कोही भइदिओस् जस्तो लाग्छ । किनकि मेरी बहिनीको जस्तो अवस्था अरुको नहोस ।’

लक्ष्यभन्दा पनि धेरै बाघ वृद्धि गरेपछि नेपाल अन्तर्राष्ट्रिय मञ्चहरुमा पुरस्कृत भएको मुलुक हो । नेपालले बाघको संख्या वृद्धि गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छवि सकारात्मक बनाएको पनि छ । तर, संरक्षणकै स्तरमा वन्यजन्तुका आक्रमणबाट भएको जनधनको क्षति रोक्न पहल नगर्दा निकुञ्ज आसपासका बासिन्दाको सरकारमाथि विश्वास कम  र आलोचना बढ्दै गएको छ ।

बाघको आक्रमणबाट बच्न निकुञ्जले व्यवहार परिवर्तनसम्बन्धी सचेतना अभियान संचालन गर्दै आएको छ । उसले १९ युवाहरुलाई तालिम दिएर जोखिम क्षेत्रमा रहेका गाउँबस्तीमा खटाएर समुदायका मानिसहरुलाई बाधलगायत वन्यजन्तुको आक्रमणको जोखिम र त्यसबाट बच्ने उपायका बारेमा जानकारी गराउने गरेको छ । पछिल्लो दुई वर्षमा करिब १५ हजार मानिसलाई वन्यजन्तुको आक्रमणको जोखिम र त्यसबाट बच्ने उपाय सिकाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रबिन कडरियाले बताए । तर निकुञ्जको यो प्रयास पर्याप्त छैन भन्ने बढ्दो मानवीय र आर्थिक क्षतिले स्पष्ट गर्छ ।
त्यसबाहेक निकुञ्जले स्थानीय बासिन्दाहरुको वनजंगलप्रतिको निर्भरतालाई कम गर्न विभिन्न सीपमुलक तालिम, होमस्टे संचालन, युवाहरुलाई नेचर गाइड तालिमका लागि प्रोत्साहित गर्दै आएको बताएको छ । निकुञ्जका यी प्रयासहरू पनि टालटुले प्रकृतिका छन् । यसमा संघ, प्रदेश र स्थानीय गरेर तीनै तहका सरकारहरुले विशेष चासो दिनुपर्ने देखिन्छ । अहिलेसम्म त्यो देखिन्न् ।

त्यसैगरी बाघले मान्छेलाई आक्रमण गरे लगत्तै आक्रमण गर्ने बाघको पहिचान गरी नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिइएको छ । पछिल्ला पाँच वर्षमा मान्छेलाई आक्रमण गर्ने १५ वटा बाघ नियन्त्रणमा लिएर निकुञ्ज कै होल्डिङ सेन्टर र काठमान्डौंस्थित चिडियाखानामा पठाइएको छ ।

तर, सरकारले बाघ संरक्षणलाई उच्च प्राथमिकता दिएजस्तो बाघको आक्रमणबाट स्थानीय बासिन्दालाई जोगाउन खासै ध्यान नदिएको गुनासो संरक्षणकर्मीहरुको छ । अब बाघको संख्या बढाउनेभन्दा पनि बाघको वासस्थान सुधारका लागि घासे मैदान, पानीका लागि कृत्रिम पोखरी निर्माण र आक्रमणको जोखिम भएको क्षेत्रमा तारबार गर्नेतर्फ ध्यान दिनुपर्ने सरक्षणकर्मी आशिष चौधरी बताउँछन् ।

बर्दियाको गोलामा वन्जन्तुलाई रोक्न लगाइएको तारबार ।

वन्यजन्तुको आक्रमणका घटना बढ्दै गए पनि त्यसलाई कम गर्नेतर्फ सरकारले ध्यान नदिदा स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ । २३ जेठ २०७९ दिउँसो चितुवाको आक्रमणमा परी बर्दियाको मधुवन नगरपालिका २ की ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासी बर्दियाको गुलरिया-राजापुर सडकखण्ड बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा गोली लागेर मधुवन-२ की १८ वर्षीया नवीना चौधरीको मृत्यु भयो । नवीनाको मृत्यु भएपछि तीनदिनसम्म बर्दियाको मधुवन क्षेत्र तनावग्रस्त बन्यो । मृतकका परिवारलाई २० लाख रुपैयाँ दिने र घाइतेको नि:शुल्क उपचार गर्ने आश्वासन दिएर जनताको आक्रोशलाई थामथुम पारियो ।

आक्रमणका घटना बढ्दै गएपछि प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय बाघ संरक्षण समितिको ४ साउन २०७९ मा बसेको बैठकलले ‘प्रधानमन्त्री बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रम’ संचालन गर्ने निर्णय गरेको थियो । सो कार्यक्रम संचालनका लागि एक अर्बको कोष खडा गर्न वन मन्त्रालयले अर्थ मन्त्रालयलाई रकम निकासाका लागि आग्रह गरेको थियो । तर, हालसम्म पनि यो कार्यक्रम संचालन गर्न बजेट विनियोजन भएको छैन ।

मृतक चाँदनी थारुको घर ।

जीविकोपार्जन कार्यक्रम सुरु नभएकोमा जनस्तरमा पनि असन्तुष्टि बढ्दो छ । २४ पुस २०७९ मा घाँस काट्न जाँदा बाँकेको राप्तीसोनारी ६ फत्तेपुरको जंगलमा बाघको आक्रमणमा परेर मारिएकी चाँदनी थारुकी दिदी पबित्रा थारु भन्छिन, ‘आफूलाई परेको समस्या र मनमा लागेको कुरा हामीले कसलाई भन्ने ? हाम्रो समस्या हेरेर, हाम्रो कुरा सुनेर सहयोग र सान्त्वना दिने कुनै निकाय र कोही भइदिओस् जस्तो लाग्छ । किनकि मेरी बहिनीको जस्तो अवस्था अरुको नहोस ।’ तर, वन्यजन्तुको आक्रमणबाट आफ्नी बैनी गुमाएकी पवित्राको माग सुनुवाइ हुने सम्भावना तत्कालचाहिँ देखिदैन ।

कभर स्टोरी
लेखकको बारेमा
कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?