+
+
कभर स्टोरी :

शून्य डिग्री सेल्सियसमा पालमुनिको बसाइ : ४० हजारको ज्यान उच्च जोखिममा

बारेकोट गाउँपालिका जाजरकोटमा बिहीबार राति न्यूनतम तापक्रम १ डिग्री सेल्सियस भन्दा पनि तल थियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार; गर्भवती, सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घ रोगी गरेर ४० हजार भूकम्प पीडित यो चिसोमा पालमुनि सुतेका छन् ।

यज्ञ खत्री यज्ञ खत्री
२०८० मंसिर १५ गते १५:५६
जाजरकोटको बारेकोट–१ सिर्पचौरमा भूकम्प पीडित बस्दै आएको स्थान ।

१५ मंसिर, सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–१, सिर्पाचौर पुनगाउँका डुमे पुन (७०) को २ मंसिर २०८० शनिबार बिहान चिसोले ज्यान गयो । कात्तिक १७ गतेको भूकम्पले घरमा क्षति पुगेपछि उनको परिवार त्रिपालमुनि बस्दै आएको थियो ।

घर अगाडिको बारीको पाखोमा एउटा संस्थाले दिएको त्रिपाल टाँगेर दुई छोराछोरी, श्रीमती र उनी रात बिताउँदै आएका थिए । खरको ओछ्यानमा त्रिपालको छानोमुनि सुत्दै आएका डुमेलाई सिरेटोले हानेपछि शरीर सुन्निएको थियो ।

‘अलिअलि टाउको पनि दुख्छ भनिरहनुभएको थियो’ भतिज (दाइको छोरा) दलबहादुर पुनले भने, ‘कात्तिक ३० गते बेलुका खाना खाएर सुत्नुभएको थियो । भोलिपल्ट बिहान त ओछ्यानमै मृत अवस्थामा भेटिनुभयो ।’

राहतमा त्रिपाल र केही ओढ्ने कपडा आए पनि त्यसले जाडो छेक्न सकेको थिएन । ‘सिर्पाचौरमा मुटु नै कमाउने चिसो हुन्छ, त्यही चिसोले नै अंकलको ज्यान लियो’, दलबहादुर भन्छन् ।

डुमे जीवित हुँदासम्म राहत दिन कोही पनि पुगेनन् । तर उनको मृत्युपछि भने उनको घरमा चार बोरा चामल, चार थान ब्ल्याङ्केट र एउटा त्रिपाल पुगेको छ ।

‘घरबास उजाडिएको बेला कोही आएनन् । अंकल बितेपछि भने गाउँपालिकाका मान्छेहरू राहत बोकेर घरमै आए’ भतिज दलबहादुरले भने, ‘राहत पाउन कोही न कोहीको मृत्यु हुनुपर्ने रहेछ !’

‘बुढो शरीरले चिसो थेग्न सकेन’

१७ कात्तिकको भूकम्पबाट जोगिएका नलगाड नगरपालिका–८ टापुकी विष्णुकुमारी खत्री चिसोबाट जोगिन सकिनन् । ७० वर्षीया विष्णुकुमारीको चिसोकै कारण ३ मंसिरमा मृत्यु भयो । ‘उहाँको घर भूकम्पले भत्किएपछि हामीले नै दिएको पाल टाँगेर खेतमा बस्नुभएको थियो । बुढो शरीरले चिसो थेग्न सकेन’, वडा अध्यक्ष तेजबहादुर सिंह भन्छन् ।

भूकम्पमा परेर घाइते भएकी विष्णुकुमारी दीर्घरोगी थिइन् । त्रिपालमुनि बस्दै आएकी विष्णुकुमारीलाई बिमारले च्यापेपछि उपचारका लागि लैजाने तयारी गर्दैगर्दा उनको मृत्यु भएको वडा अध्यक्ष सिंहले बताए ।

उनको परिवारमा श्रीमान् र छोरीहरू थिए । छोरीहरूको पनि बिवाह भएपछि बुढाबुढी एक्लै बस्दै आएका थिए । ‘दुवै जना वृद्ध अवस्थाका हुनुहुन्थ्यो । न्यानो बास र तातो खाना जुटाउन सकेको भए ज्यान जोगिन्थ्यो कि !’, वडाध्यक्ष सिंह भन्छन् । यो कसको जिम्मेवारी थियो त भन्ने अनलाइनखबरको प्रश्नमा सिंह भन्छन्, ‘यहाँका हरेकजसो घरमा यस्तै समस्या छ । चाहेर पनि स्थानीय सरकारले खाने–बस्ने प्रबन्ध गर्न सक्दैन ।’

हुन पनि चिसो खप्न नसकेर नलगाड नगरपालिकामा मात्रै भूकम्पपछि चार जनाको मृत्यु भइसकेको मेयर डम्बरबहादुर राउत बताउँछन् । चिसो बढ्दैछ, सबै नागरिकलाई न्यानोमा राख्ने हैसियत नगरपालिकासँग छैन । बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिक जोगाउन हम्मे भइरहेको छ ।’

अस्पतालको सेवा पनि पालमुनि

चिसोकै कारण नलगाड नगरपालिका–४ मायाडाँडाकी पम्फा रावलको २३ कात्तिकमा मृत्यु भयो । ४५ वर्षीया पम्फा दमसँगै मुटुरोगी थिइन् । अविवाहित भएका कारण उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।

भूकम्पले बस्नै नहुने गरी घरमा क्षति पुर्याएपछि खुल्ला आकाशमुनि बस्दै आएकी उनलाई २० कात्तिकमा वडा कार्यालयले एक थान त्रिपाल दिएको थियो । त्यसपछि उनी बारीको पाखोमा त्रिपाल हालेर बसिरहेकी थिइन् ।

‘दमको रोगी हुनुहुँदोरहेछ । हामीले एउटा त्रिपाल दिएका थियौं’ वडाध्यक्ष बद्री पन्तले अनलाइनखबरसँग भने, ‘त्रिपालमुनिको बास, एकल महिला, त्यसमाथि बिरामी । राम्रोसँग हेरचाह गर्ने मान्छे पनि भएनन् ।’

बारीको पाखोमा बसेको अवस्थामा स्वास्थ्य बिग्रँदै गएकाले २१ कात्तिकमा उनलाई नगर अस्पताल दल्ली पुर्याइएको थियो । ‘भूकम्पले भत्किएको अस्पतालले पनि त्रिपालमुनि सेवा दिइरहेको छ । उहाँलाई अस्पतालमा झनै चिसो भयो’ वडाध्यक्ष पन्तले भने, ‘अस्पताल लगेको दुई दिनपछि उहाँको ज्यान गयो ।’

भूकम्प गएको तीन/चार रात जाजरकोटका बासिन्दाले खुला आकाशमुनि बिताएको वडाध्यक्ष पन्तले जानकारी दिए । ‘तत्काल राहत पुर्याउन सकिएन । हाम्रोतिर खासै मानवीय क्षति नभएकाले केन्द्र सरकार र दाताहरूले पनि चासो दिएनन्, चिसोले ठूलो क्षति गर्यो’, वडाध्यक्ष पन्त भन्छन् ।

चिसो भुइँमा सुत्नुपर्छ । त्यसमा पनि राम्रो ओछ्याउने र ओढ्ने नहुँदा दीर्घरोगी, वृद्धवृद्धा, सुत्केरी र बालबालिकालाई असाध्यै सकस भएको वडाध्यक्ष पन्त बताउँछन् । पन्त भन्छन्, ‘हाम्रो वडाका मात्रै ३७५ घरमा पूर्ण क्षति भएको छ । जसका कारण १ हजार ९४५ जनसंख्या अहिले पनि त्रिपालमुनि छ । उनीहरूलाई बचाउनु चुनौतीपूर्ण काम हो ।’

रहरलाग्दी छोरी चिसोले बिती

कुसे गाउँपालिका–१, स्याग्रीका सुनिल बादीकी तीन वर्षीया छोरी रक्षाको बुधबार बेलुका मृत्यु भयो । भूकम्पले घर भत्किएपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो ।

चारैतिर हावा छिर्ने त्रिपाल, गतिलो आढ्ने–ओछ्याउने नहुँदा शीत चुहिएर कपडा भिज्ने हुँदा छोरी बिरामी परेको रक्षाकी आमा मीना बादीले बताइन् । ‘चिसोले चार–पाँच दिनयता स्याँ–स्याँ गर्ने, खोक्ने गर्थी । शरीर सुन्निएको थियो’ मीनाले अनलाइनखबरसँग भनिन्, ‘पहिला त कति रहर लाग्दी थिई, हाँस्ने–खेल्ने गर्थी । हिजो एकाएक कालले लियो ।’

बिरामी परेपछि रक्षालाई स्थानीय स्वास्थ्य संस्थामा भर्ना गरिएको थियो । स्वास्थ्य जाँच गर्दा निमोनिया देखिएको थियो । ‘डाक्टरले अलि तल (सुर्खेत) ठूलो अस्पतालमा लैजाऊँ बाँच्छे भन्थे । गाउँमा रुप्या (पैसा) खोज्न लाग्यौं । त्यतिन्जेल छोरीको काल भइगो’, मीनाले भनिन् ।

यो परिवारलाई छोरी गुमाउँदाको पीडासँगै अर्कोतिर परिवारको पेट भर्ने पिरलो छ । ६ जनाको परिवार त्रिपालमुनि छ । अब अर्की छोरी पनि मर्छे कि भन्ने त्रास रहेको मीना बताउँछिन् । उनी भन्छिन्, ‘रुप्या (पैसा) नभइकन एउटी छोरी मरी, भोकले अर्की छोरी पनि मर्छे कि भन्ने डर छ ।’

दिन जसोतसो कटाए पनि चिसा रात झेल्न सकस परिरहेको मीना बताउँछिन् । मंसिरको चिसोमा त्रिपालमुनि निदाउने प्रयास गरिरहेका तिनका आँखामा निद्रा पटक्कै पर्दैन । उल्टो छोरीको मृत्युले झस्काइरहन्छ ।

शून्य डिग्री सेल्सियसमा पालमुनिको बसाइ

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार जाजरकोट बारेकोट आसपास क्षेत्रमा न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियस भन्दा तल थियो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाका भनाइमा बारेकोटको तापक्रम र जुम्लाको तापक्रम समान जसो हुनेगर्छ । शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस २.१ डिग्री सेल्सियस हुने विभागको अनुमान छ ।

न्यूनतम तापक्रम अझै तल झर्ने क्रम जारी छ । जबकि यो चिसोमा पालमुनि बस्ने बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती र अशक्तहरूको संख्या ४० हजार माथि छ ।

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिमका घरवारविहीन सर्वसाधारणसँग राम्रो ओढ्ने–ओछ्याउने नहुँदा चिसोबाट ज्यान जोगाउन मुश्किल भएको छ । चिसोको कारण सिङ्गो गाउँका बासिन्दा नै बिरामी पर्न थालेको आठविसकोट नगरपालिका–९, बटालागाउँका कर्णबहादुर बटाला बताउँछन् ।

‘नाममात्रका त्रिपाल छन् । यसले चिसो नथेग्ने रहेछ । अलि ठूलो टेन्ट र ताता लत्ता–कपडाको जरुरत छ’ उनले भने, ‘यस्तै हो भने मर्नेहरूको संख्या ह्वात्तै बढ्छ ।’

एउटा पालमुनि ४/५ जनाको परिवार बसिरहेको र पानी पर्यो भने झनै बिजोग हुने उनले बताए । जसोतसो भूकम्पबाट आफ्ना सन्तान बचाउन सफल भए पनि चिसोबाट बचाउन गाह्रो भएको कर्णबहादुर सुनाउँछन् ।

स्थानीय मीना बादी पनि चिसोबाट बालबच्चा जोगाउन मुश्किल भएको बताउँछिन् । जतिसुकै बलियो त्रिपाल र न्यानो ओढ्ने–ओछ्याउने भए पनि त्यसले बारीको पाखामा हिउँदको चिसो थेग्न नसक्ने उनको भनाइ छ । चिसोकै कारण तीन वर्षीया छोरी गुमाएकी उनलाई अर्की छोरी कसरी बचाउने भन्ने चिन्ता छ ।

सरकारले भूकम्पपीडितलाई जोगाउन तत्काल अस्थायी टहरा बनाइदिनुपर्ने बारेकोट गाउँपालिकाका वीरेन्द्र बस्नेत बताउँछन् । ‘हिउँदको समयमा हाम्रोतिर हिउँ पर्छ । चिसो दिनहुँ बढिरहेको छ’ वीरेन्द्रले अनलाइनखबरसँग भने, ‘भूकम्पले एक जनाको पनि मृत्यु नभएको बारेकोटमा चिसोले ५ जनाको मृत्यु भइसकेको छ ।’

‘सरकारले समयमै भूकम्पपीडित बचाउन ठोस काम नगर्ने हो भने चिसोले मृत्यु हुनेको संख्या झनै बढ्नेछ’, उनी भन्छन् ।

बालबालिका, अशक्त र वृद्धवृद्धा जोगाउन कठिन भइरहेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी बताउँछन् । ‘पालिकाभर ५६०० घरधुरी छन्, लगभग सबैजसो घर भत्किएका छन् । सबैलाई अस्थायी टहरामा लैजान सक्ने सामथ्र्य हामीसँग छैन, त्रिपालसम्म दिएका छौं’, गिरी भन्छन् ।

जाजरकोट जिल्लाका कतिपय दुर्गम क्षेत्रमा अझै पनि सामान्य त्रिपाल समेत पुगेको छैन । चिसो मौसमको जोखिमलाई ध्यान दिंदै जिल्ला प्रशासन कार्यालय जाजरकोटले न्यानो कपडाहरू ल्याएर वितरण गर्न दाताहरूलाई आह्वान गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा बताउँछन् ।

उनको भनाइ अनुसार जिल्लामा करिब ३४ हजार घरधुरी प्रभावित भएकोमा २२ हजारले पहिलो चरणमा राहत पाएका छन् । यसले पनि देखाउँछ करिब १२ हजार घरधुरीको अवस्था अहिले पनि निकै कष्टकर छ ।

रुकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जिल्लामा चिसोका कारण मृत्यु भइरहेको समाचारहरू आइरहे पनि प्रशासनले आधिकारिक रूपमा त्यसको तथ्यांक संकलन नगरेको बताए । ‘चिसोले मृत्यु भएको समाचार आइरहेका छन् । हामीले त्यसको आधिकारिक तथ्यांक पाउन सकिरहेका छैनौं’, उनले भने ।

बडुवालका अनुसार, अस्थायी आवस निर्माणका लागि आवश्यक रकम पालिकामा पठाइसकिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार, रुकुमपश्चिममा मात्रै २६ हजार बढी घरधुरी अहिले त्रिपालमुनि छन् ।

४० हजार बढी उच्च जोखिममा

संघीय सरकारले सिंहदरबारमा बसेर जति चर्को स्वरमा घर बनाइदिने प्रचार गरे पनि छिटोमा हिउँद अगावै यो सम्भावना देखिंदैन । चुलो बाल्न भारत जानुपर्ने बाध्यता भएको यहाँका अधिकांश परिवारसँग आफैं घर बनाउने हैसियत हुने कुरै भएन । यस्तो अवस्थामा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितहरू अझै महिनौंसम्म चुहिने पालमुनि शीत छल्दै रात काट्न विवश हुनेछन् ।

यसको परिणाम स्वास्थ्य जोखिमका दृष्टिले संवेदनशील समूहमा पर्ने महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिक गम्भीर संकटमा छन् । राम्रो खाना र सुरक्षित आवास नपाए उनीहरू निमोनिया र अरू रोगको पनि शिकार हुनपुग्ने जोखिम उच्च छ ।

चिसोकै कारणले तीन दिनअघि मात्रै कुसे गाउँपालिका–१, स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षा वादी र बारेकोट गाउँपालिका–१, रामीडाँडाकी ७३ वर्षीया गोरी कामीले ज्यान गुमाए । रक्षालाई चिसोले निमोनिया भएको थियो भने गोरी दमको बिरामी थिइन् । त्रिपालको ओतमा रहेका उनीहरूसँग पर्याप्त लत्ता–कपडा र खाना समेत थिएन ।

दीर्घरोग भएकाहरूलाई चिसोले झनै सिकिस्त बनाउने इन्टरनल मेडिसिन डा.उज्ज्वल अर्याल बताउँछन् । ‘भूकम्प प्रभावित क्षेत्रमा चिसो निरन्तर बढ्दो छ । चिसोबाट नजोगाउने हो भने दीर्घरोगीहरूलाई बचाउन गाह्रो हुन्छ’, डा. अर्यालले अनलाइनखबरसँग भने । चिसोमा मुटु रोगी थप समस्यामा पर्ने उनले बताए ।

जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितलाई चिसोको ठूलो चुनौती छ । जाजरकोटको नलगाड नगरपालिका–७, दल्लीकी गंगा वादी चिसोले राति कहिल्यै निदाउन नसकेकोे बताउँछिन् । उनी भन्छिन्, ‘राहतको त्रिपालले शीत छल्दैन, दिउँसो घाम तापेर निदाउने गाउँले रातभरि आगो तापेर बस्छन् ।’

गंगा वादी

भूकम्प प्रभावित क्षेत्रमा देखिएको अर्को समस्या हो, पीडितहरूको मानसिक प्रभाव । एकै झट्कामा आफन्त र जायजेथा खोसिएको आघातमा छन् उनीहरू । वासस्थानको जोहो गर्ने, बालबच्चाको पालनपोषण कसरी गर्ने ? लगायत प्रश्नले उनीहरूलाई थप सोचमग्न बनाएको छ ।

नसोचेको कुरा अकस्मात् आइपर्दा मस्तिष्कमा आघात पर्ने र बालबालिकामा त्यसको असर अझ गहिरो हुनसक्ने कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोरोग विशेषज्ञ डा. सुशील समदर्शी बताउँछन् ।

‘घाइतेहरूको शारीरिक चोटको उपचार गरेको राज्यले पीडितहरूको मानसिक स्वास्थ्यलाई ध्यान दिएको देखिंदैन’ डा. समदर्शीले भने, ‘बालबालिकामा पर्ने मानसिक स्वास्थ्य समस्याले तिनलाई जीवनभर सताउँछ ।’

त्रिपालमुनिको सामूहिक बसाइले भूकम्प प्रभावित क्षेत्रमा अर्को महामारी निम्तिन सक्ने चिकित्सकहरू बताउँछन् । प्रभावित क्षेत्रमा रुघाखोकी, ज्वरो, झाडापखाला लगायतका रोगहरू देखा पर्न थालेको कर्णाली केयरमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसी बताउँछन् ।

‘भूकम्प प्रभावित क्षेत्रमा रुघाखोकी, झाडापखाला र हैजा लगायतका रोगहरू फैलन थालिसकेको छ’ तीन दिन अगाडि मात्रै जाजरकोटका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर फर्किएका डा. केसीले भने ।

त्यसमा पनि जाजरकोट यसअघि पनि यस्तो महामारी खेपेको जिल्ला हो । २०६६ सालमा झाडापखाला फैलिंदा जीवनजल समेत नपाएर यहाँका ३०० भन्दा बढीले ज्यान गुमाएका थिए । २०७२ मा स्वाइनफ्लु फैलिएको थियो । त्यतिवेला सामान्य उपचार नपाएरै ३५ जनाले ज्यान गुमाएका थिए ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमका ४० हजार बढी नागरिक चिसोको उच्च जोखिममा छन् । गर्भवती, सुत्केरी, पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी र अपाङ्गता भएका व्यक्तिहरू गरेर ४० हजार ३०३ जना चिसोको उच्च जोखिममा छन् ।

तीमध्ये पाँच वर्षमुनिका बालबालिका मात्रै २० हजार ७९३ जना छन् भने २ हजार ५०७ जना सुत्केरी र ३ हजार ४५२ गर्भवती त्रिपालमुनि बस्दै आएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । ११ हजार २०६ जना ज्येष्ठ नागरिक, २ हजार ८५८ जना दीर्घ रोगी र १ हजार ८३५ जना अपाङ्गता भएका व्यक्तिहरू जोखिममा छन् । जोखिममा रहेका नागरिकमध्ये बालबालिका सबैभन्दा धेरै छन् ।

विपद्मा पनि राजनीतिक जसको होडबाजी  

अस्थायी टहरा बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको संघीय सरकारले अहिलेसम्म अस्थायी टहरा बनाउने घर संख्या समेत पहिचान गर्न सकेको छैन । ‘स्थानीय दैवी प्रकोप समितिलाई संख्या (अस्थायी टहरा बनाउनुपर्ने घर) सिफारिस गर्न भनेका छौं, अहिलेसम्म संख्या आइसकेको छैन’, जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मा भन्छन् ।

पश्चिमरुकुममा पनि जाजरकोटकै जस्तो अवस्था छ, अस्थायी टहरा बनाउने घर संख्या यकिन हुनसकेको छैन । अस्थायी टहरा निर्माण गर्नका लागि चार वटा पालिकामा २१ करोड ४६ लाख २५ हजार रुपैयाँ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए ।

‘स्थानीय तहले समयमै मुचुल्का नउठाउँदा अस्थायी टहरा निर्माणमा ढिला भएको हो’ सहायक प्रजिअ बडुवालले अनलाइनखबरसँग भने, ‘पैसा पालिकामा पठाइसकिएकाले अब तीव्र गतिमा अस्थायी आवास निर्माणको काम अगाडि बढ्छ ।’

तर अस्थायी आवास निर्माणमा सरकारको काम निराशाजनक रहेको भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माणका लागि खटिएका नेकपा एमाले विपद् व्यवस्थापन विभागका प्रमुख किरण पौडेल बताउँछन् । ‘अलिकति आर्थिक अवस्था राम्रो भएकाहरूले ज्याला दिएर भए पनि अस्थायी टहरा बनाइरहेका छन् । तर गरिब र असहायले भत्किएको घरबाट सामान निकाल्न पनि सकेका छैनन्’, पौडेल भन्छन् ।

चिसोकै कारण भूकम्प पीडितको ज्यान गइरहँदा सरकारमाथि गम्भीर प्रश्न उठिरहेको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्साल बताउँछन् । ‘उद्धारमा राम्रै भूमिका खेलेको सरकार राहत र अस्थायी पुनस्र्थापनामा भने असफल देखियो’, लम्साल भन्छन् ।

भूकम्पबाट क्षतिग्रस्त भग्नावशेष हटाउने, अस्थायी टहरा बनाउने र दीर्घरोगीलाई जोगाउन नसकिरहेका बेला सरकार भने दुर्गा प्रसाईंको आन्दोलन र टिकटक रोक्नेतिर केन्द्रित हुनु दुःखद् भएको उपप्राध्यापक लम्सालले बताए ।

‘सरकारको मुख्य दायित्व भूकम्प पीडितको जीवनरक्षा हुनुपर्ने थियो । तर, सरकारले मुलुकको मुख्य समस्या दुर्गा प्रसाईंको आन्दोलन र टिकटकलाई मानिरहेको देखिन्छ’, लम्साल भन्छन् ।

यस बीचमा दलहरूका तर्फबाट प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने काम भने भएको छ । १ मंसिरबाट नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरेको छ । विभिन्न जनसंगठन र अरू प्रदेशबाट गरी एमालेले ११०० स्वयंसेवक ४० समूह बनाएर पठाएको छ । हरेक समूहलाई सात वटा टहरा अनिवार्य बनाउन निर्देशन दिइएको विपद् व्यवस्थापन विभागका प्रमुख पौडेलले बताए ।

एमाले जस्तै गरी नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत दलका स्वयंसेवक पनि भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोली अस्थायी टहरा निर्माणकै थालनी गरेर फर्किएको छ । त्यसलगत्तै कांग्रेसकै अर्का नेता प्रदीप पौडेल १०० टहरा निर्माण गरेर फर्किएका छन् । उनीहरू फर्किएलगत्तै कांग्रेसले ११०० स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रले उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा स्वयंसेवक परिचालन गरेको छ । माओवादी केन्द्रको प्रदेश कमिटीले नै ३ हजार १०० नेता–कार्यकर्ताहरू प्रभावित क्षेत्रमा परिचालन गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा मात्रै २०० जना एक सातादेखि प्रभावित क्षेत्रमा जुटेका छन् । प्रत्येक वडामा १०० देखि २०० नेता, कार्यकर्ताहरू पुनर्निर्माणमा खटिएको प्रदेश अध्यक्ष केसी बताउँछिन् ।

‘चिसोले भूकम्प पीडितहरू छट्पटिएका छन् । उनीहरूलाई ज्यान जोगाउन सकस छ । हाम्रो सरकार र शीर्ष दलका नेताको ध्यान भने अर्कैतिर छ । यस्ता हर्कतले त दल र तिनको नेतृत्वप्रति नागरिकको वितृष्णा झनै बढाउँछ’, नागरिक समाज सुर्खेतका अगुवा पीताम्बर ढकालले भने ।

दलहरूले गरिरहेको काम प्रशंसनीय भए पनि यहाँ कामभन्दा बढी जस लिने होडबाजी चलेको उपप्राध्यापक लम्सालको भनाइ छ । उनी भन्छन्, ‘विपद्मा राजनीतिक जस लिन खोज्नु पनि स्वार्थप्रेरित राजनीति नै भयो । त्यो राम्रो हैन ।’

कभर स्टोरी
लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?