+
+
सहकारी संकट–४० :

शिवशिखरको १६ अर्ब हिनामिना गरेका केदारनाथले गरे ३३ अर्बको सम्पत्ति शुद्धीकरण

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीको देशभरि शाखा विस्तार गर्दै केदारनाथ शर्मा र उनको समूहमाथि बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ठगी मुद्दा चलिरहेको छ ।

विजय पराजुली विजय पराजुली
२०८१ जेठ ११ गते २०:०५

११ जेठ, काठमाडौं । शिवशिखर बहुउद्देश्यीय र तुलसी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको १६ अर्ब रुपैयाँ अपचलन गरेका सञ्चालक केदारनाथ शर्माले त्यसलाई दोब्बरले बढाई शुद्धीकरण गरेको तथ्य भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट यस्तो तथ्य फेला परेको हो ।

उनले भक्तपुरको शिवशिखर सहकारीका बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी र विराटनगरको तुलसी सहकारीको करिब २ अर्ब अपचलन गरेको आरोप छ । देशका विभिन्न ३७ जिल्लामा शाखा विस्तार गरी सहकारी ठगी गरेका उनीविरुद्ध जिल्लाजिल्लामा मुद्दा चलिरहेको छ ।

उनी, उनकी श्रीमती र अन्य साझेदारहरूले सहकारीको रकम आफ्नो व्यक्तिगत खाता तथा कम्पनीहरूमा सारेर अपचलन गरेको विभागको अनुसन्धानले देखाएको छ ।

त्यो सम्पत्तिमध्ये सबैभन्दा बढी केदारनाथ शर्मा एक्लैले २१ अर्ब ८२ करोड रुपैयाँ शुद्धीकरण गरेको विभागको निष्कर्ष छ । त्यस्तै, उनी र श्रीमती गीता शर्माका नाममा दर्ता भएका कम्पनीमार्फत ९ अर्ब ५६ करोड रुपैयाँ शुद्धीकरण गरिएको देखिएको छ ।

साथै, श्रीमती गीता शर्माले ३२ करोड ३३ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धानले देखाएको छ । शर्मा दम्पत्तिलाई मुख्य कसुरदार मानी अदालतमा मुद्दा दायर गर्न विभागले जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरमा प्रतिवेदन पठाएको छ ।

उनीहरूविरुद्ध कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार रुपैयाँ बिगो दाबी गरिएको छ भने बिगोको दोब्बर जरिवाना दाबी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । साथै, उनीहरूलाई कसुरको मात्रा हेरी २ वर्षदेखि १५ वर्षसम्म कैद हुनसक्ने पनि देखिएको छ । उनीहरूलाई थप १० प्रतिशत सजाय तथा शुद्धीकरण गरिएको बिगो जफत गर्नुपर्ने विभागको प्रतिवेदनमा उल्लेख छ ।

श्रीमान श्रीमतीले सम्पत्ति शुद्धीकरण गर्न धुलाइ मेसिनका रूपमा कानुनी व्यक्तिको प्रयोग भएको विभागले उल्लेख गरेको छ । जसमा प्राकृतिक व्यक्तिलाई हुने सजायको पाँच गुणासम्म सजाय र बिगो जफत गर्न माग गरिएको छ ।

साथै, यो प्रकरणमा सविना न्यौपाने, मन्दिप खवास, तेजबहादुर तामाङ, पुस्कर मल्ल, सुशील बानियाँ, प्रदिप भट्टराई लगायतलाई पनि मतियारका रूपमा मुद्दा दायर गर्नुपर्ने विभागको भनाइ छ ।

सविना न्यौपाने विराटनगरको तुलसी सहकारीकी सचिव हुन् भने मन्दीप खवास व्यवस्थापक । यस्तै तेजबहादुर तामाङ, शिवशिखर सहकारीका सचिव, पुष्कर मल्ल सञ्चालक र सुशील बानियाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

के हो शिवशिखर प्रकरण ?

भक्तपुरमा शिवशिखर मार्फत ठगी गर्दै आएका उनले उक्त संस्थाका आफ्नै कर्मचारी सुशील बानियाँलाई अध्यक्ष बनाएर विराटनगरमा तुलसी सहकारीका अध्यक्ष बनेका थिए । दुवै सहकारीमा गरी १६ अर्बभन्दा बढी ठगी भएको विषयमा अनलाइनखबरले गत वर्ष नै समाचार प्रकाशित गरेको थियो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा बचतकर्ताले दुई संस्थामा गरी ११ अर्बभन्दा बढीको मागदाबी गर्दै उजुरी दिएका छन् । समितिमा अझै पनि उजुरी आउने क्रम जारी छ ।

बचतकर्ताबाट उठाएको रकम निजी कम्पनी मार्फत अपचलन गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा खुलेको थियो ।

उनको कम्पनीले भारत र म्यानमारबाट कृषि उपज तथा मेसिनरी आयात गर्दै आएका थिए । आयात हुने वस्तुको खरिद मूल्य वास्तविक भन्दा अत्यधिक देखाइ पूँजी पलायन गराएको सीआईबीको अनुसन्धानले देखाएको थियो ।

सीआईबीको अनुसन्धानकै आधारमा सरकारी वकिलको कार्यालय भक्तपुरले शर्मालगायत सहकारी सञ्चालक तथा कर्मचारीविरूद्ध १८ जेठ २०८० मा ‘सहकारी ठगी र संगठित अपराध’ को मुद्दा दर्ता गरेको छ । भक्तपुरसहित ३७ जिल्लामा दुईवटा सहकारी ठगीविरुद्ध मुद्दा चलेको छ ।

त्यो बेला केदारनाथकी श्रीमती गीता शर्मा तथा सञ्चालक समिति सदस्यद्वय पुष्कर मल्ल र अमिस राजभण्डारी मात्र पक्राउ परेका थिए । पछि सीआईबीले शर्मालाई पक्राउ गरी अनुसन्धान गरेर पूरक प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । शर्मालाई सीआईबीले ११ असारमा भारतमा पक्राउ गरेको थियो ।

शिवशिखर सहकारी अध्यक्ष सुशील बानियाँ, सचिव तेजबहादुर तामाङ र व्यवस्थापक लिलानाथ गौतम भने फरार छन् । उनीहरू अहिले पूर्पक्षका लागि थुनामा छन् । विभिन्न जिल्लामा मुद्दा चलिरहेका उनीहरूलाई प्रहरीले अदालतको आदेश अनुसार उपस्थित गराउँदै आएको छ ।

सहकारीको रकम अपचलन गरेकोमा ठगी मुद्दा चलिरहँदा शर्मा र उनका पत्नी गीतालाई सम्पत्ति शुद्धीकरण विभागले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको तथा विभिन्न माध्यमबाट त्यसरी आर्जन गरेको सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दायर गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सहकारी वकिलको कार्यालय भक्तपुर पठाएको छ ।

शर्माले सहकारीमा संकलन गरेको बचत रकम दुरुपयोग गर्न कम्पनी खडा गरेका विभागले उल्लेख गरेको छ । उनले सहकारीको रकम शिखर अर्गनाइजेसन, गार्डेन मार्ट, शिवशिखर एग्रोलगायत १० कम्पनीको नाममा खडा गरी ती कम्पनीको नाममा ५ अर्ब १३ करोड रुपैयाँ कृत्रिम ऋणमार्फत अपचलन गरेको विभागको आरोप छ ।

गार्डेन मार्ट, तुलसी मोटर पम्प, तुलसी अनुसन्धान केन्द्र, तुलसी राइस एन्ड च्युरा उद्योग लगायत कम्पनीका नाममा १ अर्ब १६ करोड रुपैयाँ थप अपचलन गरेको आरोप उनीमाथि छ । उनीमाथि ७ अर्ब ५८ करोड बराबर सम्पत्ति गैरकानुनी रूपमा प्राप्त गरेको आरोप पनि छ ।

केदारनाथ र गीतामाथि तुलसी सहकारीको १६ करोड ९७ लाख र शिवशिखर सहकारीमा १ अर्ब ११ करोड रुपैयाँ सिधै अपचलन गरेको आरोप छ ।

केदारनाथले ५९ कम्पनीमा लगानी गरेका थिए भने पत्नी गीताले १३ कम्पनीमा लगानी गरेको भेटिएको सम्पत्ति शद्धीकरण विभागले उल्लेख गरेको छ ।

सम्पत्ति शुद्धीकरण अभियोग लगाउनुपर्ने रायसहित विभागले जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरमा अनुसन्धान प्रतिवेदन बुझाउँदै छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गर्ने छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शर्माविरूद्ध ३२ अर्ब ९० करोड बिगो मागदाबी सहित अनुसन्धान प्रतिवेदन तयार गरेको छ । सम्पत्ति शुद्धीकरण अभियोगमा यो हालसम्मकै ठूलो बिगोसहित मुद्दा हो ।

नेपालमा मात्र नभई भारत र म्यानमारमा पनि लगानी

शर्माले म्यानमार यांगुनमा न्यु गोल्डेन एभरेस्ट नामको कम्पनी दर्ता गरेका छन्, जसले दाल तथा दालको गेडा शिखर अर्गनाइजेसनलाई पठाउने गरेको छ ।

केदारनाथ शर्माले भारतमा नेपाशिखर अर्गनाइजेसन इन्डिया लिमिटेड दर्ता गरेका थिए । सहकारी सञ्चालक अमिश राजभण्डारीले पनि सीआईबीलाई दिएको बयानका क्रममा शर्माले ‘नेपाशिखर अर्गनाइजेसन इन्डिया लिमिटेड’ नामक कम्पनी दर्ता गरेर व्यवसाय गर्ने गरेको बताएका थिए । यो कम्पनी भारतको कर्पोरेट अफेयर्स मन्त्रालय अन्तर्गत विदेशी कम्पनीको सब्सिडियरी कम्पनीका रूपमा दर्ता भएको छ ।

सहकारी स्रोतको मात्रै दुरुपयोग नभएर शर्माका विभिन्न कम्पनीमा बैंकहरूको अर्बाैं लगानी समेत जोखिममा परेको छ । बैंकहरूबाट करिब साढे ५ अर्ब हाराहारी कर्जा लगानी भएकोमा केही कर्जा बाहेक अधिकांशमा कमसल धितो रहेको छ ।

शर्माले सबैभन्दा धेरै कर्जा नेपाल एसबीआई बैंकबाट लिएको स्रोतको दाबी छ । बैंकले करिब पौने २ अर्ब कर्जा शर्माका विभिन्न कम्पनीमा लगानी गरेको छ ।

एसबीआई बैंकले शिखर अर्गनाइजेसनका कम्पनीलाई ऋण दिएको तर त्यसको यकिन तथ्यांक भने भन्न नसक्ने बैंकका प्रमुख कर्जा अधिकृत अर्जुन नेपालले अनलाइनखबरलाई बताएका थिए ।

यसबाहेक नबिल बैंकले करिब २० करोड कर्जा लगानी गरेको छ । शर्माको वाटर पम्प कम्पनीमा नबिल बैंकको लगानी रहेको र त्यसको धितोसमेत रहेको बैंकले बताएको थियो ।

केदारनाथ र उनकी श्रीमती गीताको नाममा रहेका विभिन्न कम्पनीमा हिमालयन बैंकको सवा अर्बभन्दा बढी कर्जा लगानी भएको स्रोतको दाबी छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको करिब ९० करोड कर्जा लगानी छ ।

त्यसैगरी माछापुच्छ्रे बैंकले उनका दुई उद्योगमा करिब ६८ करोड लगानी गरेको छ । उक्त कर्जाको धितो बैंकले गैरबैंकिङ सम्पत्तिमा बुक गरेको छ ।

उनको कम्पनीमा प्रभु बैंकको करिब ४० करोड लगानी रहेको स्रोतको भनाइ छ । यसबाहेक एनएमबी बैंकले पनि करिब ८ करोड कर्जा लगानी गरेको थियो ।

शर्माले भक्तपुर र मोरङमा रहेको दुइटा सहकारी संस्थाबाट आफ्नो निजी कम्पनीमा विनाधितो ऋण लगानी गर्दै गए । कुनै एक ठाउँमा सुरुमा एउटा कम्पनी दर्ता गर्ने र उक्त कम्पनीमा सहकारी संस्थाबाट कर्जा लगानी गर्ने निर्णय सञ्चालक समितिबाट गर्ने गरेका थिए ।

त्यसपछि सोही प्रकृतिको कम्पनी अर्को स्थानमा आफ्नो निजी कम्पनीका रूपमा दर्ता गर्ने र उक्त कम्पनीमा सहकरीबाट लिएको ऋणबाट सम्पत्ति जोड्न तथा बैंकबाट लिएको ऋणबाट समेत जग्गासहित कम्पनीको आफ्नो निजी व्यवसायका रूपमा अगाडि बढाउने गर्दै आएका थिए ।

सहकारी संकट
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?