
News Summary
Generated by OK AI. Editorially reviewed.- इरानी सिनेमा १९९० दशकदेखि अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा पुरस्कृत हुँदै विश्वसिनेमामा गहिरो स्थान बनाएको छ।
- १९७९ को इस्लामी क्रान्तिपछि इरानी सिनेमा धार्मिक, सामाजिक र राजनीतिक नियन्त्रणमा सीमित भए पनि केही निर्देशकहरूले प्रतीकात्मक शैलीमा कलात्मक अभिव्यक्ति जारी राखे।
- २०२२ मा महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शनले इरानी समाजमा ठूलो राजनीतिक र सामाजिक प्रभाव पारेको छ र सरकारले कडा दमन गरेको छ।
‘इरानी सिनेमाहरूले मौनता मार्फत गहिरा तथा गम्भीर भावना व्यक्त गर्छन्, त्यहाँका सिनेमाहरूले हामीलाई संसार बुझ्न र पढ्न नयाँ भाषा दिएका छन्।’
– निर्देशक मार्टिन स्कोर्सेसी
नब्बेको दशकलाई सिनेमा इतिहासमा महत्वपूर्ण चरणको रूपमा मानिन्छ। यो दशकले विश्वभर सिनेमाको औद्योगिक, प्राविधिक तथा कलात्मक पक्षमा ठूला परिवर्तनहरू लिएर आयो। एनालगबाट डिजिटल समयमा प्रवेश भएको यस युगलाई ‘संक्रमणकालीन दशक’ वा ‘पुल युग’ पनि भन्ने गरिन्छ।
यो समयमा डिजिटल प्रविधिको सुरुआतसँगै कथावाचनमा पनि नयाँ प्रयोग हुन थाल्यो। कथा संरचना तथा शैलीमा परिवर्तन हुन थाले। जातीयता, लैंगिकता, मानसिक स्वास्थ्य जस्ता विविध विषय खुलेर उठ्न थाले। बजार तथा वितरण प्रणालीमा परिवर्तन देखिन थाल्यो। साना बजेटका तर कलात्मक रूपमा सशक्त ‘इन्डिपेन्डेन्ट सिनेमाहरू’ले अन्तर्राष्ट्रिय मान्यता र स्थान पाउन थाले। युरोप, एशिया, अफ्रिकाका सिनेमाहरू पश्चिमी दर्शकसम्म पुग्न थाले। यसरी ग्लोबल सिनेमाको विस्तार हुन थाल्यो। विधागत रूपमा पनि सिनेमामा विविधता देखिन थाल्यो। दर्शक र समाजमा सिनेमाको असर प्रभावकारी रूपमा देखिन थाल्यो। ठूला बजेटका सिनेमाहरू बन्न थाले। सिनेमाका फ्रेन्चाइज बन्न थाले।
सिनेमा केवल मनोरञ्जन मात्र नभएर चिन्तन, प्रविधि तथा कला सबैको संगम बन्न पुग्यो। यसरी ९० को दशकले आजको समकालीन सिनेमाको आधार निर्माण गर्यो।
सिनेमाले हाम्रो अनुभूति, व्यथा, कथा, विचार, भावना तथा कल्पनालाई दृश्य र श्रव्यको रूपमा प्रस्तुत गर्ने काम गर्छ। लामो समयदेखि जीवन र जगतलाई त्यसरी नै सूक्ष्म तरिकाले नियाल्दै आइरहेको इरानी सिनेमाले पनि विश्व सिनेमा जगतमा आफ्नो बलियो उपस्थिति त्यही ९० को दशकमा देखाएको थियो।
९० को दशकदेखि इरान विश्वभरका समालोचक, दर्शक तथा फिल्म अनुसन्धानकर्ताहरूका लागि कलात्मक सिनेमाको प्रमुख स्रोत बन्दै आइरहेको छ। इरानी सिनेमा केवल राष्ट्रियस्तरमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा पनि निरन्तर रूपमा प्रस्तुत भई उच्च सम्मान प्राप्त गर्दै आइरहेको छ। यस कालखण्डमा निर्माण भएका इरानी सिनेमाहरूले यथार्थपरक प्रस्तुति, गहिरो मानव संवेदना, प्रतीकात्मक शैली र सामाजिक–धार्मिक सन्दर्भको गहिरो चित्रण मार्फत विश्वभरका दर्शकलाई प्रभावित पारेका छन्।
सन् १९४० को अन्त्यदेखि १९५० को दशकको सुरुआतसम्म इटालीमा चलेको क्रान्तिकारी सिनेमा आन्दोलन ‘इटालियन नियो-रियलिज्म’ले विश्वसिनेमामा यथार्थवादको गहिरो छाप छोडेको थियो। इरानी सिनेमामा आएको परिवर्तनलाई त्यही ऐतिहासिक सिनेम्याटिक आन्दोलनसँग तुलना गर्ने गरिन्छ। सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि इटाली युद्ध–विनाश, बेरोजगारी, गरिबी र सामाजिक संकटबाट गुज्रिरहेको थियो। युद्धअघिको ‘फासिस्ट शासन’ले प्रचारमुखी सिनेमालाई प्राथमिकता दिएको थियो। त्यसको विरोधस्वरूप सिनेमा निर्माताहरूले वास्तविक जनजीवन, दुःख, संघर्ष, गरिबी र मानवताको विषयवस्तु उठाएर सिनेमा बनाउन थाले।
इरानी सिनेमाले पनि त्यो समयबाट सामान्य जनजीवन, वर्ग संघर्ष, बाल–मनस्थितिको चित्रण र नैतिक द्वन्द्वलाई सरल तर, गहिरो शैलीमा प्रस्तुत गर्दै आइरहेका छन्। त्यस्ता सिनेमाहरू प्रायः कम बजेटमा, नन-एक्टर ‘फस्ट-टाइम एक्टर’का साथ, प्राकृतिक प्रकाश र लोकेशनमा छायाङ्कन गरिन्छन्, जसले सिनेमालाई थप यथार्थपरक बनाउने काम गर्छन्।
इरानी सिनेमाहरू सन् १९९० पछि ‘कान्स’, ‘वेनिस’, ‘बर्लिन’जस्ता अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा पुरस्कृत हुँदै आइरहेका छन्। समालोचकहरूले इरानी सिनेमालाई केवल एउटा देशको सिनेमा मात्र नभएर विश्वसिनेमाको नैतिक र कलात्मक चेतनाको केन्द्रका रूपमा पनि व्याख्या गर्दै आइरहेका छन्। ‘अब्बास कियारोस्तामी’ [चेरीको स्वाद, १९९७ (पाल्मे डी’ओर)], ‘जाफर पनाही’ [द ह्वाइट बेलुन, १९९५ (क्यामेरा डी’ओर), (गोल्डेन लायन, भेनिस)], ‘मजिद मजिदी’ [चिल्ड्रेन अफ हेभन, १९९८ (ओस्कर मनोनयन)] जस्ता निर्देशकहरूको उदय पनि यही समयमा भएको थियो। उनीहरूका सिनेमामा पाइने गहिराइ, सरलता र जीवनदृष्टिको परिचयले अन्तर्राष्ट्रिय मञ्चमा न्यानो स्वागत पाए-पाइरहेका छन्। इरानी सिनेमामा यथार्थता र कवितात्मकताको अद्वितीय संगम त्यही समयमा बाँधिएको थियो।
सन् १९०० मा ‘मिर्जा इब्राहिम खान अकासबाशी’ले शाह ‘मोजाफरुद्दिन शाह’को यूरोप भ्रमणलाई क्यामेरामा कैद गरेका थिए, त्यसलाई इरानी सिने इतिहासको आरम्भ मानिन्छ। इरानमा पहिलो सिनेमा-हल सन् १९०४ मा तेहरानमा खोलिएको थियो। सन् १९३० मा ‘अबानेस ओहानियन’ले इरानको पहिलो मौलिक कथानक सिनेमा ‘अबी र रबी’ निर्माण गरे, जसले आधुनिक इरानी सिनेमा निर्माणको थालनी गर्ने काम गर्यो।
सन् १९४० देखि १९७८ सम्मको समयले इरानी सिनेमा इतिहासको एक यस्तो कालखण्डलाई जनाउँछ, जहाँ एकतर्फ सिनेमा उद्योग व्यावसायिक रूपमा विस्तार हुँदै गइरहेको थियो भने अर्कोतर्फ राज्य-राजनीतिको प्रभाव र सामाजिक मर्यादाका नाममा कलामा नियन्त्रण पनि बढिरहेको थियो। सरकारले सिनेमा उद्योगलाई प्रोत्साहन त गर्यो, तर त्यसलाई मनोरञ्जनको रूपमा मात्र केन्द्रित गर्न खोज्यो। त्यो समय पनि राजनीतिक आलोचना र सामाजिक यथार्थता उठाउने सिनेमाहरूलाई समर्थन थिएन।
त्यो बीच समयमा सन् १९५०–७० को दशकमा इरानले हलिउडको सस्तो कपी गर्दै हिंसा, प्रेम, नाचगान तथा मेलोड्रामा आधारित सिनेमाहरू बनाउन थाल्यो। त्यो अवधिलाई ‘फिल्मफार्सी’ भनेर पनि चिनिन्छ। नाम ‘फार्सी’ (इरानी भाषा) भए पनि सिनेमाको ढाँचा भने प्रायः विदेशी शैलीका हुन्थे।
त्यति बेलाका सिनेमाहरूमा कथामा गहिराइ हुँदैनथ्यो, सामाजिक-दार्शनिक संवेदनशीलता सतही लाग्थे, अभिनय र निर्देशनमा कुनै प्रकारको सशक्तता देखिंदैनथ्यो, ठ्याक्कै अहिलेका बलिउड सिनेमाहरू जस्तै। तर, ती सिनेमाहरूले दर्शकहरूलाई युद्ध, राजनीतिक अस्थिरता, सामाजिक कठिनाइबाट टाढा लैजाने काम गर्थे। त्यो बेला हलमा गएर सिनेमा हेर्नु मनोरञ्जनको एक रूप मात्र थियो।
ती सिनेमाहरूले वास्तविक जनजीवन, संघर्ष वा इरानी मौलिकताको चित्रण गर्न सकिरहेका थिएनन्। त्यसैले केही इरानी बौद्धिक वर्ग तथा भावी निर्देशकहरूले त्यस्ता सिनेमाहरूलाई ‘सस्तो नक्कल’, ‘सांस्कृतिक अफिम’ भन्न थालेका थिए।
त्यो समयमा ‘फोरुघ फारुखजाद’, ‘दारियुश मेहर्जुई’, ‘सोहराब शाहिद–सालेस’ जस्ता केही निर्देशकहरूले भने कवितामय शैली र यथार्थवादी दृष्टिकोणबाट सिनेमाहरू बनाउन थालेका थिए। ती प्रयासहरूबाट ७० को दशकमा ‘इरानी नयाँ लहर’ जन्मिन पुग्यो, जसले सन् १९७९ को क्रान्तिपछि ‘नयाँ इरानी सिनेमा’को जग हाल्ने काम गर्यो।
सन् १९७९, हजारौं वर्ष पुरानो इरानको शाही शासन समाप्त भई इस्लामी गणतन्त्र स्थापना भएको वर्ष। त्यसको दुई वर्षअघि अर्थात् सन् १९७७ बाट बुद्धिजीवी, विद्यार्थी तथा विपक्षी समूहहरूले मानवअधिकारको हनन, भ्रष्टाचार र असमानता विरुद्ध शाहको अधिनायकवादी शासनलाई विरोध गर्न थालेका थिए। उक्त विरोध विस्तारै जनआन्दोलनमा परिणत हुँदैगयो, जहाँ मजदुर, किसान, व्यापारी, महिला तथा धार्मिक नेताहरू मिसिन थाले। सरकारले उनीहरूको प्रदर्शनमाथि बल प्रयोग गरेपछि विरोधले झनै विकराल रूप लिंदै गयो। अन्तत: १६ जनवरी, १९७९ मा शाही शासनका अन्तिम राजा ‘मोहम्मद रेजा शाह पहलवी’ देश छाड्न बाध्य भए।
गणतन्त्र ल्याउन गरिएको उक्त जनआन्दोलनलाई ‘इरानी इस्लामी क्रान्ति’ भनेर पनि भनिन्छ। त्यस ऐतिहासिक घटनाले देशका राजनीतिक, सामाजिक र सांस्कृतिक संरचनाहरूमा परिवर्तन लिएर आउन थाल्यो। इस्लामी शासन पनि विस्तारै शाह शासन जस्तै निरंकुश बन्दै जान थाल्यो। त्यसले आफ्ना विपक्षीहरूलाई दमन गर्न थाल्यो। उनीहरूको राजनीतिक स्वतन्त्रता हनन हुन थाल्यो, जसले गर्दा समाजमा दमन, अस्थिरता र विभाजन क्रमश: बढ्दै जान थाले।
१९७९ को इस्लामी क्रान्तिपछि इरानमा कला र संस्कृतिलाई झन् कडा नियन्त्रणको अधीनमा राख्न थालियो। नयाँ नेतृत्वको इस्लामी सरकारले कलालाई आफ्नो धार्मिक, सांस्कृतिक र राजनीतिक आदर्श अनुसार सीमितता तथा नियन्त्रणमा राख्ने नीति अपनायो, जसले सिनेमा, संगीत, चित्रकला, साहित्य र रंगमञ्चलाई गहिरोसँग प्रभाव पार्यो । सिनेमा नै इरानमा क्रान्तिपछिको सबैभन्दा प्रभावित भएको कलाको क्षेत्र बन्न पुग्यो, किनभने सिनेमालाई जनतामा ठूलो प्रभाव पार्न सक्ने असरदार माध्यम मानिन्थ्यो-मानिन्छ।
पर्दामा महिलाहरूलाई अनिवार्य रूपमा ‘हिजाब’ लगाउनुपर्ने नियम लागू गरियो, महिला-पुरुष बीचको कुनै पनि शारीरिक सम्पर्कलाई प्रतिबन्धित गरियो, महिलाहरूको स्वतन्त्रता र सशक्तीकरण देखाउने कथावस्तुहरूलाई अस्वीकार्य ठानियो। प्रेम, व्यक्तिगत स्वतन्त्रता र राजनीतिक आलोचनाका विषयहरूलाई सेन्सर गरिन थालियो। सिनेमाहरूले आफ्नो कथामा इस्लामी नैतिकता र क्रान्तिको आदर्श झल्काउनुपर्ने अनिवार्यता लागू गरियो। त्यति मात्रै नभएर नयाँ नेतृत्वले विदेशी सिनेमाहरूको आयातमा समेत कडा नियन्त्रण गर्न थाल्यो।
सिनेमा निर्देशकहरूले धार्मिक आस्थालाई कुनै पनि प्रकार अथवा रूपमा चुनौती दिन पाउँदैनथे। इस्लामी क्रान्तिपछि इरानमा बदलिएको राजनीतिक, धार्मिक र सांस्कृतिक नीतिका कारण सेन्सरशिपको शिकार थुप्रै सिनेमा, कलाकार तथा निर्देशकहरू भए। क्रान्तिपछि या अघि बनेका थुप्रै सिनेमा तथा निर्देशकहरू प्रतिबन्धमा परे। केही कलाकारहरू जेल परे, केहीले देश छोड्न बाध्य भए ।
क्रान्तिपछिका वर्षहरूमा फरक राजनीतिक दृष्टिकोण र सरकारबाट अनैतिक ठहर भएकै कारण ‘जफर पनाही’, ‘मोर्सेदेख आघेली’, ‘डारियुश मेहरजुई’जस्ता निर्देशकहरू पटक-पटक हिरासतमा परे। सरकारको आलोचनात्मक सिनेमाहरू बनाएको भन्दै ‘सोजा एडिल’, ‘परिस बनाई’, ‘नासिर ताकवा’जस्ता निर्देशकहरू देश छोड्न बाध्य भए। फिल्ममा वर्गीय असमानता, भ्रष्टाचार, सामाजिक विघटन, महिला पात्रहरूको प्रस्तुति आदिले गर्दा ‘द काउ’, ‘द डियर’, ‘द रिपोर्ट’, ‘स्टिल लाइफ’ जस्ता फिल्महरू प्रतिबन्ध भए।
सरकारबाट इस्लामी मूल्य र आदर्शलाई संरक्षण गर्नका निमित्त कला र संस्कृतिमाथि कडा नियन्त्रण गरिएको थियो, तर त्यसले व्यक्तिगत स्वतन्त्रता र कलात्मक अभिव्यक्तिलाई गम्भीर रूपमा सीमित पार्दै लगिरहेको थियो। क्रान्तिपछि इरानी सिनेमामा व्यापक रूपमा परिवर्तन आएको थियो। तर, एक प्रकारले ती प्रतिबन्धहरूले अन्तर्राष्ट्रिय स्तरमा इरानी सिनेमालाई परिचित गराउँदै लिएर जान थाल्यो। त्यसपछि ती सीमा र प्रतिबन्धहरूको बावजूद पनि केही इरानी कलाकार तथा निर्देशकहरूले भूमिगत रूपमा वा निर्वासनमा बसेर कलाको माध्यमबाट आफ्नो सन्देश दिन थाले-दिइरहेका छन्। त्यसले पनि प्रमाणित गरिरहेको छ, कलालाई कहिल्यै कसैले पनि आफ्नो नियन्त्रणमा राख्न सक्दैनन् ।
इरानी सिनेमा विश्वको एक अत्यन्त मौलिक र प्रभावशाली सिने आन्दोलनका रूपमा पनि चिनिन्छ। सामाजिक, धार्मिक र राजनीतिक दबाब बीच जन्मिएको यो सिनेमा जनजीवन, प्रतीकात्मकता र मानवीय संवेदनाको गहिरो चित्रण गर्ने माध्यम बन्दै आइरहेको छ। त्यसैले इरानी सिनेमाको कथालाई केवल कलाको रूपमा मात्र नभएर राष्ट्रको सांस्कृतिक प्रतिरोध र आत्माको अभिव्यक्तिका रूपमा पनि लिन सकिन्छ।
सन् १९७९ मा भएको इस्लामी क्रान्तिपछि, शासक परिवर्तनसँगै इरानमा ठूलो राजनीतिक अशान्ति र संस्थागत पुनर्गठन सुरु भएको थियो। देशभित्रै धर्मनिरपेक्ष र धार्मिक गुटहरूबीच संघर्ष चलिरहेको थियो। इरानको त्यो अवस्था छिमेकी देश इराकले नजिकबाट नियालिरहेको थियो। त्यसैले क्रान्तिपछि उत्पन्न अस्थिरताको फाइदा उठाउने मनसायले इराकका तानाशाह ‘सद्दाम हुसेन’ले इरानमाथि आक्रमण गर्ने योजना बनाए।
सन् १९८० सेप्टेम्बर २२ मा इराकले इरानमाथि आधिकारिक रूपमा आक्रमण गर्यो। यसरी १९७९ मा इस्लामी क्रान्तिपछि प्रारम्भ भएको इरान-इराक युद्ध आठ वर्षसम्म चलेको इतिहासमा लामो र विनाशकारी सशस्त्र संघर्ष थियो। त्यो युद्ध केवल दुई राष्ट्रबीचको भू-राजनीतिक टकराव मात्र नभएर सत्ता, धर्म, जातीयता, तेल स्रोत, ऐतिहासिक घृणा र क्षेत्रीय प्रभावको लागि गरिएको हिंसात्मक दोहोरो शक्ति परीक्षण पनि थियो। सन् १९८८ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्ताव ५९८ अन्तर्गत दुवै पक्ष युद्धविराममा सहमत भए। उक्त युद्धमा लाखौं सैनिक तथा सर्वसाधारण मारिए, करिब ३० लाख विस्थापित भए। इरान–इराक युद्धले केवल राजनीतिक रूपमा परिवर्तन ल्याएन, त्यसले इरानी सिनेमा उद्योगलाई भावनात्मक, आर्थिक, विचारधारात्मक र संरचनागत रूपमा समेत बदल्ने काम गर्यो।
त्यस युद्धकालीन समयमा सरकारले ‘देफा-ए मोकाद्दास’ भनिने युद्धमा आधारित सिनेमाहरू बनाउन सिनेकर्मीहरूलाई प्रोत्साहित गरे। त्यसपश्चात् सैनिक बलिदान, शहादत, मातृभूमिको रक्षा लगायत विषयलाई महिमा दिने सिनेमाहरू बन्न थाले। हरेक कथावस्तुमा युद्धले गहिरो हस्तक्षेप गर्न थाल्यो । निर्देशकहरू युद्धलाई केन्द्रमा राखेर वा युद्धको छायामा मानवीय पीडा, साहस, धर्म र आस्था बुन्न थाले ।
ती सिनेमाहरूमा नायकहरू धार्मिक, आत्मत्यागी तथा राष्ट्रवादी स्वभावका हुन्थे। युद्धलाई हिंसाको रूपमा मात्र नभएर नैतिक कर्तव्यको रूपमा देखाइन थाल्यो। महिला पात्रहरू पनि वीर सन्तानकी आमा, शहीदकी श्रीमती अथवा धार्मिक आदर्शको प्रतिनिधिका रूपमा पर्दामा देखिन थाले। यसरी ‘सेक्रेड डिफेन्स सिनेमा’ को उदयसँगै इरानी सिनेमा ‘राज्यको औजार’ बन्न पुग्यो।
यसरी इस्लामी नियम, युद्धको अस्थिरता र सेन्सरसिपले गर्दा धेरै इरानी कलाकारलाई सिनेमा सधैंका निमित्त छाड्न बाध्य बनायो। सिनेमामा महिला कलाकारहरूको उपस्थिति घट्न पुग्यो; पुराना महिला कलाकारहरूले काम पाउन छाडे। तर, नयाँ पुस्ताले ‘शहादत’ र ‘आध्यात्मिक बलिदान’ केन्द्रित फरक सिनेम्याटिक भाषा सिनेमामा ल्याए। इरानको ‘इस्लामिक रिभोलुशनरी गार्ड्स’ (आईआरजीसी) अन्तर्गत सिनेमा युनिटहरू खोलिए, तिनीहरूले युद्धका डकुमेन्ट्रीहरू तथा प्रचारात्मक सिनेमाहरू निर्माण गर्न थाले; जसले गर्दा निर्देशकहरूको स्वतन्त्रता साँघुरिंदै जान थाल्यो।
तर, केही निर्देशकहरूले भने व्याख्यात्मक, प्रतीकात्मक शैली प्रयोग गरी सेन्सरसिपलाई छल्न पनि थाले। ‘एब्बास कियारोस्तामी’ [साथीको घर कहाँ छ ?], ‘अमीर नादेरी’ [धावक], ‘मोहसिन मखमलबाफ’ [साइकल चालक], ‘समिरा मखमलबाफ’ [एप्पल] ’जस्ता निर्देशकहरूले युद्धलाई प्रत्यक्ष रूपमा नभई, त्यसको सामाजिक र मनोवैज्ञानिक छायामार्फत आफ्ना कला प्रस्तुत गरे। उनीहरूले युद्धको भोगाइलाई मानवतावादी दृष्टिबाट उठानन थाले।
युद्ध समाप्तिपछि निर्देशकहरूले युद्धको पीडा, घाइते मानसिकता, बुबा गुमाएका बालकहरू, शहीद परिवार र विस्थापितको कथा उठान गर्न थाले। यसले ‘पोस्ट–वार रियलिज्म’को आधार तयार पार्यो। युद्धकालमा अभिव्यक्तिको नयाँ शैली, प्रतीकात्मक भाषा र मानवता–केन्द्रित दृष्टिकोणले इरानी सिनेमाले अन्तर्राष्ट्रियस्तरमा झन्–झन् ख्याति पाउन थाल्यो।
यसरी इरानको युद्धपछिको सिनेमा ‘स्लो सिनेमा’, वा ‘पोयटिक रियलिज्म’को पर्याय बन्न पुग्यो। इरान–इराक युद्धले इरानी सिनेमा क्षेत्रमा मुख्यत: दुईतिर तर, विपरित तरिकाले प्रभाव पार्यो- एकतर्फ राजनीतिक नियन्त्रणमा प्रचारमुखी सिनेमाहरू बने। अर्कोतर्फ गहिरो मानवीय संवेदनाबाट प्रेरित भएर नयाँ सिनेम्याटिक आन्दोलनको विकास पनि भयो। युद्धको पीडा, आत्मानुशासन र धार्मिक चेतनाले इरानी फिल्मकर्मीलाई यस्तो कला सिर्जना गर्न बाध्य बनायो, जसले अन्तर्राष्ट्रियस्तरमा इमानदार र गहिरो मानव अनुभूतिलाई अभिव्यक्त गर्ने माध्यम पायो।
आजको इरानी सिनेमाले विश्वसिनेमामा यति गहिरो स्थान बनाउन सक्नुमा युद्धको गहिरो घाउ, प्रतिबन्ध बीचको सिर्जना र पीडाबाट फुटेको कलाको ठूलो योगदान रहेको छ।
यसरी ८० को दशकको अन्त्य र ९० को दशकको सुरुआतमा इरानले युद्ध, क्रान्ति र धर्मआधारित सामाजिक परिवर्तनको पीडाबाट थुप्रै पटक गुज्रिनु पर्यो। त्यस अवधिमा इरान गहिरा रूपान्तरणहरूको बीचमा थियो, जसले जनजीवन मात्र नभएर सिनेमा जस्तो कलाक्षेत्रमा पनि गहिरो रूपमा प्रभाव पारेको थियो। त्यसको बाबजुद पनि इरानी निर्देशकहरूले सीमित स्रोत, प्रतिबन्ध र सेन्सरसिपका बीच प्रतीकात्मक र मानव–केन्द्रित सिनेमा बनाए ।
सन् २००९ मा इरानमा भएको राष्ट्रपतीय चुनावपछि एक ऐतिहासिक नागरिक आन्दोलन सुरु भएको थियो, त्यसले पनि कलाक्षेत्रमा आफ्नो असर देखायो। चुनावमा धाँधली भएको भनी आन्दोलन सुरु भएको थियो, जसलाई ‘ग्रीन मुभमेन्ट’ भनेर पनि चिनिन्छ। ‘मेरो भोट कहाँ छ?’ भन्ने नाराले थुप्रै जनता सडकमा उत्रिए। उक्त प्रदर्शन केवल चुनावको निष्पक्षतामाथि मात्र नभएर समग्र राज्य संरचना, सेन्सरसिप तथा मानवअधिकार उल्लङ्घन विरुद्ध पनि थियो।
त्यो आन्दोलनमा हजारौं गिरफ्तार भए, थुप्रै बन्दीलाई यातना दिइयो, गैरन्यायिक तरिकाले कारबाही गरिए। त्यही बेला २२ वर्षीया ‘नेडा अघा सुल्तान’को सडकमा गोली हानी हत्या भयो, जुन घटनाले अर्को तरङ्ग लिएर आयो। उनी ‘ग्रीन आन्दोलनका शहीद’ को रूपमा चिनिन थालिन्। उनको सम्झनामा गायक ‘जेम्स मोरिसन’ले ‘द बलाड अफ नेडा’ गीत बनाए। चित्रकारहरूले उनलाई रङ्गमा पोते। डकुमेन्ट्री, ‘नेदाको लागि (२०१०)’ बनाइयो ।
त्यस आन्दोलनमा धेरै सिनेमा निर्देशकले खुलेर समर्थन जनाएनन्, तर प्रतीकात्मक रूपमा आन्दोलनको आत्मा बोकेका सिनेमाहरू निर्माण गरे। ‘जाफर पनाही’ चुनावपछिको दमन र सेन्सरसिपको चपेटामा परेका सबैभन्दा चर्चित इरानी फिल्ममेकर हुन्। उनी सन् २०१० मा गिरफ्तार भए, ६ वर्षको जेल सजाय र २० वर्ष फिल्म बनाउन प्रतिबन्ध लगाइयो। उनले बनाएको सिनमा ‘यो फिल्म होइन’ (२०११) पेन ड्राइभमा हालेर केकभित्र लुकाएर कान्स महोत्सव पठाइएको थियो। त्यस्तै ‘कुनै दुष्टता छैन’ (२०२०) बाट बर्लिनमा गोल्डेन बियर जितेका ‘मोहम्मद रसलुफ’ पनि सत्ताविरोधी दृष्टिकोणका लागि बारम्बार पक्राउ परिरहे।
सन् २०२२ सेप्टेम्बर १३, इरानको तेहरानमा बाईस वर्षीय ‘महसा अमिनी’लाई आफ्नो हिजाब (टाउकोमा लगाउने एक विशेष वस्त्र) सही ढङ्गले नलगाएको भन्दै गस्तीमा रहेका केही प्रहरी अधिकारीहरूले निर्घातसँग कुटपिट गरेका थिए। सोही दिन उनको मृत्यु हिरासतमा भएको थियो, जसलाई पछ्याउँदै देशभरि विरोधको लहर फैलियो।
उक्त विरोध प्रदर्शनले इरानको समकालीन राजनीतिक र सामाजिक रूपलाई फरक आकार दिलाएको थियो । सुरुमा त्यो विरोध अमिनीको न्यायको लागि मात्र थियो, विस्तारै त्यसले विकराल रूप लिंदै गयो । विरोधमा अधिकांश महिला प्रदर्शनकारी थिए, उनीहरू महिला तथा मानवअधिकारका निमित्त सडकमा उत्रिएका थिए। त्योसँगै विरोधले इस्लामिक गणराज्यको अन्त्यको माग पनि गर्न थाल्यो।
विरोधको प्रतिरोधमा प्रदर्शनकारीहरूमाथि इरानी सरकारले क्रूरतापूर्वक प्रतिक्रिया जनाउन थाल्यो, टियर ग्याँस र गोली बर्साउँदै। सेप्टेम्बर २०२३ सम्ममा, विरोधको क्रममा लगभग ६०० जनाले मृत्युवरण लिए, जसमा धेरै संख्यामा नाबालिगहरू थिए। उन्नाइस हजारभन्दा बढीलाई गिरफ्तार गरिएको थियो।
संयुक्त राष्ट्रसंघले इरानी सरकारमाथि मानवताविरुद्ध अपराध गरेको आरोप लगाए तापनि, इरानी सरकारले उक्त विरोधलाई ‘विदेशी प्रभावले सिर्जना गरेको दंगा’ भनेर खारेज गरेको थियो। उक्त घटना र त्यसले निम्त्याएको अवस्थालाई इरानको पछिल्लो राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण क्षणको रूपमा लिइन्छ, जसले मानवअधिकार, शासन र महिलाका अधिकारहरूबारे इरानमा मात्रै नभएर अन्य अन्तर्राष्ट्रिय मैदानमा समेत प्रभावित पारेको छ ।
सोही घटनामा आधारित भएर, ‘मोहम्मद रसूलोफ’ले ‘द सिड अफ द सेक्रेड फिग’ बनाए। उनले सिनेमाको छायांकन लगभग ७० दिनसम्म लुक्दै पूरै गोप्य रूपमा गरेका थिए। सिनेमा बनाउँदा उनलाई निकै नै तनाव र गाह्रो भएको थियो। उनी केही दिन बाहिर निस्किएर छायांकन गर्थे र तुरुन्तै ब्रेक लिइहाल्थे। उनले सिनेमा छायांकनकै क्रममा आफ्नो जेल सजाय थपिएको जानकारी पनि पाएका थिए।
जब ‘द सिड अफ द सेक्रेड फिग’ कान्समा मुख्य प्रतिस्पर्धाका लागि छानिएको थियो, इरानी अधिकारीहरूले सिनेमाका कलाकार तथा निर्देशकलाई सोधपुछका लागि बोलाएका थिए। उनीहरूलाई देश छाड्न रोक लगाइयो। त्यति मात्रै नभई सिनेमालाई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट फिर्ता लिन समेत दबाब दिए, तर ‘मोहम्मद रसूलोफ’ले मानेनन् ।
सिनेमा कान्स महोत्सवमा प्रिमियर हुनुअघि निर्देशक ‘मोहम्मद रसूलोफ’लाई ‘राष्ट्रिय सुरक्षा विरुद्ध षड्यन्त्र’ गरेको आरोपमा दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय (पाँच वर्ष तुरुन्तै लागू हुने र थप तीन वर्ष निलम्बन हुने गरी) साथै कोर्रा हान्ने, जरिवाना र सम्पत्ति जफत गर्ने सजाय सुनाइयो। त्यसपश्चात् रसूलोफले आफूलाई बचाउन सिनेमाका अन्य केही कलाकारहरू सहित इरानबाट भाग्ने योजना बनाए।
सन् २०१० मा, उनलाई अनुमति विना फिल्म खिचेको आरोप लगाएर ६ वर्षका लागि जेल सजाय सुनाइएको थियो, जुन पछि घटाएर एक वर्षमा ल्याइयो। सन् २०१७ मा, उनको राहदानी जफत गरियो, जसले गर्दा उनी देशबाट बाहिर जान प्रतिबन्धित बने । सन् २०१९ मा, उनलाई ‘राष्ट्रिय सुरक्षा विरुद्ध षड्यन्त्र र व्यवस्था विरुद्ध प्रचारप्रसार’ गरेको आरोपमा एक वर्षको जेल सजाय, विदेश यात्रामा रोक एवम् कुनै प्रकारका सामाजिक तथा राजनीतिक गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाइयो ।
सन् २०२० मा, उनलाई पुन: एक वर्षको जेल सजाय सुनाइयो, दुई वर्षसम्म फिल्म बनाउन प्रतिबन्ध लगाइयो। सन् २०२२ मा सरकारले जनतामाथि गरेको दमनको आलोचना गरेपछि उनलाई पुन: गिरफ्तार गरियो। पछि सन् २०२३ फेब्रुअरीमा स्वास्थ्यका कारणले उनलाई अस्थायी रूपमा जेलबाट रिहा गरियो।
यसरी उनी मात्र नभएर इरानका थुप्रै सिनेमाकर्मी आफ्ना सिनेमा तथा अभिव्यक्तिका कारण इरानी सरकारसँग बेलाबेला कानूनी संघर्षमा होमिइरहन्छन्। शक्ति तथा शासन प्रणाली विरुद्ध प्रोपोगान्डाका रूपमा सिनेमा र डकुमेन्ट्री बनाएको आरोपमा थुप्रै सिनेमाकर्मी वर्षौंदेखि, गिरफ्तारी, कैद, यात्रा प्रतिबन्ध तथा सिनेमा निर्माण गतिविधिमा प्रतिबन्धको सामना गर्दै आएका छन्।
सन् २००९ को ग्रीन मूभमेन्ट केवल राजनीतिक आन्दोलन थिएन; त्यो सांस्कृतिक र नैतिक विद्रोह पनि थियो। त्यसले इरानी जनतालाई प्रश्न उठाउन, कलालाई प्रतिरोधको हतियार बनाउन र विश्वसमुदायलाई एउटा बन्द समाजको आवाज सुन्न बाध्य बनाएको थियो।
इरान-इजरायल बीच जारी युद्धले पनि त्यहाँको सिनेमा संसारमा गहिरो असर पारेको छ। दुई देशको तनावत बीच पनि प्रतिबन्धमा परेका निर्देशक ‘जफर पानाही’ले आफ्नो नयाँ सिनेमा ‘यो केवल एउटा दुर्घटना थियो’ कसैको अनुमति नलिई खिचे। प्रहरीले छापा मार्दा पनि गुप्त तरिकाले आफ्नो काम जारी राखे। उक्त सिनेमाले कान्स फिल्म फेस्टिवल २०२५ मा ‘पाल्मे डी’ओर’ जित्न सफल भयो।
सिनेमा पुरस्कृत भएपछि इरानी अधिकारीहरूले निर्देशकमाथि थप निगरानी थालेको छ। पानाहीको सिनेमाले फ्रान्सको समर्थन र कान्स फेस्टिवलको निर्णायक मञ्चको खुला प्रशंसा पाएपछि इरानले पेरिसस्थित आफ्नो संस्कृति दूतावासबाट केही अधिकारी फिर्ता बोलाए, फ्रेन्च दूतावासका केही सांस्कृतिक कार्यक्रममा इरानी सहभागिता रद्द गरे । जसले अन्तर्राष्ट्रियस्तरमा सांस्कृतिक बहिष्कारको खतरा देखिन पुग्यो। इरानले ‘विदेशी हस्तक्षेप’को संज्ञा दिंदै फ्रान्स सरकारसँग कूटनीतिक विरोध जनाएको थियो।
इरान-इजरायल युद्धले गर्दा सिनेमा घरहरू बन्द भएका छन् साथै सिनेमा निर्माण काम पनि घटिरहेको छ। विदेशमा गएर शूटिङ गर्न कठिन भएको छ। अन्तर्राष्ट्रिय सहकार्य घट्दै गइरहेको छ। भय र त्रासले धेरै कलाकार राजनीतिक रूपमा तटस्थ भएका छन्। छायाङ्कन भइरहेका ‘द साइलेन्ट वाउन्ड’, ‘ब्ल्याक लाइटनिङ’, ‘द वुमन अफ डेथ’ जस्ता अन्य थुप्रै सिनेमा अनुमति, राष्ट्रिय अस्थिरता, सेना र प्रहरी हस्तक्षेप, विदेशी सह-निर्माताले लगानी फिर्ता लिएका डरको कारण अहिले रोकिएका छन्।
बारम्बार देशमा भइरहने तनावका कारण इरानका नयाँ सिनेमाकर्मीहरू विशेषतः टर्की, फ्रान्स र जर्मनीतर्फ पलायन भएका-भइरहेका छन्। इरान–इजरायल युद्धले इरानको सिनेमा उद्योगलाई मात्र नभएर सम्पूर्ण सांस्कृतिक चेतनालाई प्रहार गरेको छ। तर, अन्तर्राष्ट्रियस्तरमा इरानी सिनेमाहरूको आवाज भने अझै बलियो र चर्को हुँदै गइरहेको छ। यसैबीच इरानी सरकारले रणनीतिक सिनेमा उत्पादनमा लगानी बढाउँदै विदेशी सांस्कृतिक प्रभावको प्रतिरोधको तयारी पनि गर्दैछ ।
सिनेमाले अहिलेसम्म संसारको कुनै ठाउँमा पनि पूर्णरूपमा कसैको युद्ध रोकेको छैन। तर, ‘वाल्ट्ज विथ बशीर’, ‘होटल रुवाण्डा’, ‘द एक्ट अफ किलिङ’, ‘द फग अफ वार’ जस्ता थुप्रै सिनेमाले शान्तिको सन्देश फैलाउन, द्वन्द्वप्रति चेतना जगाउन तथा जनमत निर्माण गर्न प्रभावशाली माध्यम अवश्य बनाइदिएको छ। सिनेमाले युद्ध रोक्ने वातावरण तयार पार्न, संवाद-सहकार्यको ढोका खोल्न तथा शत्रुता कम गर्न धेरै पटक सहयोग गरेको-गरिरहेको छ।
राजनीतिक नियन्त्रण, सामाजिक निषेध र सीमितता बीच पनि इरानी फिल्मकर्मीहरूले विश्वलाई कथा व्यक्त गर्न शब्द मात्र होइन, दृष्टिकोण, मौनता र मानवीयता नै काफी हुन्छ भनेर सिकाएको छ। आन्तरिक तथा बाह्य युद्धका कारण कहिल्यै राम्रोसँग उभिन नसकेको इरानी सिनेमा दबाब र दुःख बीचमा पनि अगाडि बढिरहेको छ। तिनै कठिनाइहरूले इरानी सिनेमालाई मजबुत, संवेदनशील र प्रतीकात्मक रूपमा आज विश्वको सबैभन्दा सशक्त सिनेमामध्ये एक बनाएको छ।
प्रतिक्रिया 4