+
+
कभर स्टोरी :

नेपालमा बरामद हुनै छाड्यो सुन : सुराकीलाई फाइदा छैन, प्रहरीलाई रुचि छैन

अहिले किन सुन बरामद हुन छाड्यो ? यसका तीन कारण छन् । पहिलो, अहिले सुराकीलाई सूचना दिंदा फाइदा छैन । दोस्रो, सुन सम्बन्धी अपरेशनहरू विवादमा परेपछि प्रहरीले पनि रुचि देखाउन छाड्यो र तेस्रो, तस्करी नियन्त्रणमा राज्य संयन्त्रकै पनि इच्छाशक्ति भएन ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ चैत १७ गते २२:३५
क्षेत्रपाटीबाट १९ भदौ २०७४ मा बरामद ८८ किलो सुन । अनलाइनखबर अर्काइभ ।

१७ चैत, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मुलुकमा दैनिक ३० किलो सुन खपत हुने गरेको छ । तर, नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक मार्फत दैनिक १० किलो सुन मात्रै बजार पठाउने गरेको छ । यो तथ्यले नेपाली बजारमा दिनमै २० किलो सुन अभाव हुनुपर्ने देखाउँछ । तर, बजारमा सुनको कमी छैन ।

त्यसो भए कसरी सुनको अभाव पूरा भइरहेको होला ?

नेपालबाट संगठित रूपमा भइरहेको सुन तस्करीको र्‍याकेटबारे छानबिन गर्न २०७५ सालमा गठित उच्चस्तरीय समितिका सदस्य वसन्तकुमार लामा भन्छन्, ‘जहिलेसम्म माग बढिरहन्छ, त्यसबेलासम्म सुन तस्करी रोकिन्न । शैली मात्र फेरिने हो ।’

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेल चाहिं अहिले सुन तस्करी हुन छाडेको दाबी गर्छन् । ‘प्रहरीको निगरानी एकदमै उच्च भयो, सीमामा पनि कडाइ भएपछि तस्करी नभएको हो’ उनले भने, ‘यो प्रहरी सक्रियताको परिणाम हो ।’

नेपाल प्रहरीको तथ्यांकले पनि पछिल्लो पाँच वर्षयता सुन बरामद हुने क्रम स्वाट्टै घटेको देखाउँछ । आर्थिक वर्ष २०७४/७५ मा २०० किलो सुन बरामद गरेको प्रहरीले त्यसयता आव २०७५/७६ मा ५१, आव २०७६/७७ मा ३०, आव २०७७/७८ मा ३२, आव २०७८/७९ मा २३ र आव २०७९/८० को फागुनसम्ममा ५ किलो गरी ५ वर्षमा जम्मा १४१ किलो सुन बरामद गरेको छ ।

यसरी बरामद गरिएको सुन पनि ठूलो परिणाममा समातिएका होइनन् । विदेशबाट आउने श्रमिकले ल्याएको सुन समातिएका विवरण हुन् यी । त्यसो भए प्रहरी प्रवक्ता पोखरेलले भने झैं नेपालमा सुन तस्करी रोकिएको होला त ? संगठित अपराध सम्बन्धी मामलाका जानकारहरू पोखरेलको दाबी मान्न तयार छैनन् । सुन बरामद नहुँदैमा तस्करी नै भएको छैन भन्न नमिल्ने उनीहरूको तर्क छ ।

‘सूचना विना सुन समातिंदैन, यसका लागि प्रहरीको लगानी र मिहिनेत उत्तिकै जरूरी हुन्छ’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वप्रमुख राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘त्यसैले बरामद नहुँदैमा तस्करी नभएको भन्ने हुँदैन ।’

जानकारहरूका अनुसार नेपाल मार्फत हुने तस्करीको सुन स्वदेशमा मात्र खपत हुने होइन । छिमेकी मुलुक भारत विश्वमै सबैभन्दा बढी सुन खपत हुने देशमध्ये पर्छ ।

‘नेपाल हुँदै तस्करी हुने सुनको मुख्य बजार भारत नै हो’ पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) समेत रहेका भण्डारी भन्छन्, ‘विगतमा ठूलो परिमाणमा समातिएका अधिकांश सुनको गन्तव्य भारत नै रहेको थियो ।’

‘वर्ल्ड गोल्ड काउन्सिल’ को रिपोर्ट अनुसार सन् २०२१ मा भारतमा ७९७.३ टन सुन खपत भएको विवरण छ । सन् २०२० को तथ्यांकको तुलनामा ७८.६ प्रतिशतले सुनको खपत भारतमा बढेको थियो ।

भारतको राजस्व अनुसन्धान विभाग (डीआरआई) को आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदन अनुसार भारतमा पहिले हवाई मार्गबाट हुने सुन तस्करी उच्च थियो । तर, कानुन कार्यान्वयन गर्ने निकायको सतर्कताका कारण तस्करहरूले नयाँ शैली प्रयोग गरेर सुन तस्करी गरिरहेको उल्लेख छ ।

‘अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भिलेन्स बढेपछि स्थलमार्गबाट सुन आउन थालेको छ’ प्रतिवेदनमा भनिएको छ— ‘उत्तरपूर्वी क्षेत्रमा रहेको बंगलादेश, नेपाल, म्यानमारबाट सुन आइरहेको छ ।’

नेपाली सुरक्षा संयन्त्रका अधिकारीहरू चाहिं नेपालबाट सुन तस्करी भइरहेको स्वीकार्दैनन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रमुख डा.मनोज केसी पहिले जस्तो ठूलो परिणाममा सुन आउन छाडेको बताउँछन् ।

‘तस्करीको सञ्जाल ठूलो हुने भएकाले त्यो सूचना एक/दुई जनासँग मात्र हुँदैन, कुनै न कुनै रूपमा संकेत आइरहेको हुन्छ’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केसीले भने, ‘त्यसैले सुन पहिलेको जसरी तस्करी नभएको हुनसक्छ ।’

तर, भारतको राजस्व अनुसन्धान विभाग (डीआरआई) का एक अधिकारीको दाबीमा भारतमा सबैभन्दा बढी सुन म्यानमार र बंगलादेशबाट आउने भए पनि पछिल्लो समय भारत–नेपाल स्थलमार्गबाट सुन ल्याउने क्रम बढेको छ । नेपाली सुरक्षा निकायले विभिन्न कारणले यसमा विचार पुर्‍याउन नसक्दा नेपाल मार्फत हुने सुन तस्करी बढिरहेको उनको बुझाइ छ ।

राजस्व छली सम्बन्धी अनुसन्धान गर्ने डीआरआईले फागुन पहिलो साता चलाएको अपरेशन ‘गोल्डेन डाउन’मा नेपाल हुँदै गएको १०१ किलो सुन बरामद हुनुले पनि उनको संकेतलाई थेरथोर बल पुर्‍याउँछ । डीआरआईका अनुसार, झण्डै ५१ करोड भारतीय रुपैयाँ बराबरको सुन बरामद हुँदा यसमा संलग्न १० जना पक्राउ परेका थिए । तीमध्ये ७ जना सुडानी नागरिक थिए ।

नेपाली रुटबाट गएर भारतमा बरामद भएको १०१ किलो सुन । पेस्ट बनाएर तस्करहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतसम्म सुन पुर्‍याएको अनुसन्धानले देखाएको छ । तस्वीरः इन्डियन एक्सप्रेस

७ फागुनदेखि तीन दिनसम्म चलेको डीआरआईको कारबाहीमा चार स्थानमा छापा हानिएको थियो, त्यसक्रममा पक्राउ परेकाहरूले नेपालबाट बिहार हुँदै सुन ल्याएको बयान दिएका थिए । यो सुन मुम्बईसम्म लैजाने तयारी थियो । ‘विशेष खाले ज्याकेटमा लुकाएर यो सुन ल्याइएको थियो’, डीआरआईका ती अधिकारी भन्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार, भन्सारले ८ पुसमा जाँचका क्रममा एक जना सुडानी नागरिकको साथबाट १९ किलो सुन बरामद गरेको थियो ।

‘विमानस्थलभित्र भन्सारले समातेको यो हालसम्मकै सबैभन्दा ठूलो परिणामको सुन हो, त्यसबारे विस्तृत अनुसन्धान गर्न हामीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मा लगाएका थियौं’ पोखरेलले भने, ‘फ्लाई दुबईको फ्लाइट नम्बर एफ २५३९ बाट आएका सुडानी नागरिक २७ वर्षीय मोहमद अहमद डाफल्ला सराफिल्दनको साथमा अर्धठोस पदार्थका रूपमा रहेको सुन बरामद भएको थियो ।’

उनले लगाएको कालो रंगको ज्याकेटभित्र ‘फल्स बटम’ बनाएर राखिएको अवस्थामा १० वटा सुन जस्तो देखिने वस्तु बरामद भएको पोखरेल बताउँछन् । त्यसलाई जाँच गर्दा सुन भएको पुष्टि भएको थियो । र, यो सुनको गन्तव्य पनि भारत नै भएको खुलेको थियो ।

भारतमा सबैभन्दा बढी सुन म्यानमार र बंगलादेशबाट आउने भए पनि पछिल्लो समय भारत–नेपाल स्थलमार्गबाट सुन ल्याउने क्रम बढेको छ । नेपाली सुरक्षा निकायले विभिन्न कारणले यसमा विचार पुर्‍याउन नसक्दा नेपाल मार्फत हुने सुन तस्करी बढिरहेको भारतको राजश्व अनुसन्धान विभागका एक अधिकारी बताउँछन्

१९ माघमा पनि भन्सारमा नियमित जाँचका क्रममा ९ किलो सुनसहित क्यानडाका नागरिक मोहम्मद कमल महगोब पक्राउ परेका थिए । फ्लाई दुबई मार्फत आएका उनले विमानस्थलमा झर्ने वित्तिकै भन्सारका अधिकारीहरूसमक्ष शंकास्पद व्यवहार देखाएका थिए । त्यसपछि नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथमा ९ किलो १३५ ग्राम सुन भेटिएको भन्सार अधिकारीहरूको भनाइ छ ।

उनले सुन तस्करीका लागि छातीमा चेस्ट गार्ड बनाएर ९ वटा सुनको प्याकेट बोकेर आएका थिए ।

सुनमा झस्किन्छ प्रहरी

जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत एक जना कनिष्ठ प्रहरी अधिकारीले २०७९ को मंसिरतिर चार किलो सुन आइरहेको सूचना ल्याए । उनले आफ्ना कमाण्डर हुँदै त्यो सूचना माथिल्लो तहसम्म पुर्‍याए । तर, प्रहरीले त्यसमा त्यति धेरै रुचि देखाएन ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरसम्म आउने सुनसम्बन्धी अधिकांश सूचनामा पनि अहिले प्रहरीले खासै रुचि देखाएको छैन ।

किन ?

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पछिल्लो ५ वर्षमा सुन जोडिएको जति पनि अनुसन्धान भएका छन्, अधिकांशमा अनुसन्धान अधिकृतहरू नै आरोपित बनेका छन् । ‘अहिले सुन छुनु भनेको करिअरलाई दाउमा राख्नु हो भन्ने भाष्य प्रहरीभित्र बलियो बन्दै गएको छ’ उनी भन्छन्, ‘नपत्याए दिवेश लोहनी सा’बलाई हेर्नुस्, आईजीपीको दाबेदार भनिएका अफिसर जेलै जानुपर्‍यो ।’

काठमाडौं प्रहरीका एक उच्च अधिकृत पनि लोहनी प्रकरणपछि सुनमा हत्तपत्त हात हाल्न प्रहरी डराउने गरेको बताउँछन् । २०४९ चैतमा प्रहरी निरीक्षकका रूपमा नियुक्ति लिने टोलीबाट दिवेश लोहनी महानिरीक्षकका बलिया दाबेदार मानिन्थे ।

तर, नेतृत्वका लागि ग्रुम हुँदै गरेका अफिसर मानिएका उनका लागि २०७४ मा उपत्यका अपराध अनुसन्धान महाशाखाको पोष्टिङ पाउनु र सुन तस्कर विरुद्धको अपरेशनमा हात हाल्नु महँगो साबित भयो ।

तस्करीको सुन ओसारपसारमा संलग्न एक गिरोहका प्रमुख चुडामणि उप्रेती ‘गोरे’ले यूएईबाट ९ माघ २०७४ मा ल्याएको ३३ किलो सुन बानेश्वरबाट हराएको थियो । विमानस्थलबाट निकालेको सुन सिंहदरबार नजिकै रहेको कार्यालयमा पुर्‍याउनुअघि नै हराएपछि खोजी गर्न यातना दिंदा भरिया सनम शाक्य मारिएका थिए ।

त्यसबारे सूचना पाएर अनुसन्धान थालेको तत्कालीन अपराध महाशाखाका प्रमुख दिवेश लोहनी, अपरेशनमा खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रजित केसी र सई बालकृष्ण सञ्जेलविरुद्ध नै ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी–पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ सम्बन्धी मुद्दा दर्ता भयो ।

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका सुन ओसारपसारका नाइके चुडामणि उप्रेती ‘गोरे’लाई सार्वजनिक गर्दै प्रहरी । फाइल फोटो ।

त्यसबेला केही पूर्व उच्च प्रहरी अधिकृतहरूले अनुसन्धान अधिकृतहरूलाई नै आरोपित बनाएर गलत नजिर स्थापित गर्न खोजिएको भन्दै सार्वजनिक वक्तव्य दिएका थिए । गृह मन्त्रालयले त्यसको प्रतिवाद गर्न विज्ञप्ति नै जारी गरेको थियो ।

‘अहिले सुन बरामद हुन छाड्यो भनेको कुनै न कुनै रूपमा त्यसको असर पनि हो’ पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘जागिर नै धरापमा पर्ने स्थिति भएपछि सुनमा कसले दुःख गर्छ ?’

गोरे प्रकरण मात्र होइन, त्यसयता प्रहरीले चलाएको सुनसम्बन्धी अरू अपरेशन पनि विवादित छन् । २०७८ साउनमा प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालले आफ्ना तल्ला तहका कर्मचारी मार्फत १५ किलो सुन आइरहेको सूचना पाएका थिए । बरामद गरेर परीक्षण गर्दा बरामद वस्तु साढे १४ किलो चाँदी र आधा किलो सुन भएको खुलेको थियो ।

जाली नोट कारोबारका नाइके इल्ताफ हुसेन अन्सारी समेत मुछिएको यो प्रकरणमा दरबारमार्ग प्रहरीका तत्कालीन सादा पोशाकका प्रहरी प्रशान्त श्रेष्ठको कोठाबाट थप एक किलो सुन बरामद भएको थियो ।

‘त्यसबेलासम्म त्यो सुन नक्कली हो भन्ने थाहा थिएन, त्यसैले उनले एक किलो सुन पहिल्यै लुकाएका रहेछन्’, अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘यसमा दुई प्रहरी अधिकारी बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठको भूमिका शंकास्पद थियो, पछि उनीहरू विरुद्ध पनि मुद्दा चल्यो ।’

व्यक्ति विना सुन मात्र समातिएपछि छानबिन सुरु गर्दा अनुसन्धान अधिकृतहरूकै कमजोरी मात्र देखिएको थिएन, प्रहरीले थप एक किलो सुन समेत लुकाएको खुलासा भएको थियो । त्यसबेला प्रहरीले घटनास्थल समेत फर्जी स्थानलाई बनाएको भेटिएको थियो ।

‘प्रहरीकहाँ आउने सूचनामा धेरै मान्छेको रगत मिसिएको हुन्छ, फेरि सुनको सूचना सीधै माथिल्लो तहमा आउने होइन’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृत भन्छन्, ‘दरबारमार्ग प्रहरीले गरेको अपरेशन नै हेर्ने हो भने त्यहाँ डीएसपीलाई घुमुवा प्रहरीले नै गलत सूचना दिएको पाइएको थियो । पछि उनी आफैं कारबाहीमा परे ।’ दाहाल पनि आफनो ब्याचका राम्रा अधिकृत मानिन्थे ।

‘७ किलो सुनको सूचना छ भनेपछि पहिले ल्याउनेले दुई किलो, अनि अर्कोले दुई किलो गरेर ४ किलो गायब बनाएपछि ३ किलोको सूचना मात्र माथिसम्म दिने गर्छन्’ ती अधिकृत भन्छन्, ‘त्यसपछि सुनमा सधैं लफडा हुने भइहाल्यो । यस्तो शृंखला पटक–पटक दोहोरिएपछि सकभर सुनमा हातै हाल्नु नपरोस् भन्ने प्रहरी अधिकृतहरूलाई परेको छ ।’

फेरिएको रुट

सुन सम्बन्धी उच्चस्तरीय छानबिन समितिका सदस्य पूर्वएआईजी वसन्त लामाका अनुसार वैधानिक बाटोबाट भित्र्याउँदा र तस्करीबाट ल्याउँदा हुने नाफाबीच ठूलो भिन्नता हुनु र सुन आयातमा निश्चित किलोको मार्जिन तोकिनुले तस्करी नरोकिएको बताउँछन् ।

‘सुरक्षा संयन्त्रले अनुसन्धान र उच्च निगरानी गरेर तस्करका सबै बाटोहरू बन्द गराउनुपर्ने हो’ उनी भन्छन्, ‘नत्र रुट र शैली फेर्दै तस्करी भइराख्छ ।’

न्यूरोडमा विगतमा दायाँ–बायाँ भएका विद्युतीय सामग्रीका पसलहरू अहिले अधिकांश सुन पसलले विस्थापित भएको उल्लेख गर्दै उनले सुन खपत तीव्र रूपमा बढिरहेको सुनाए । ‘यस्तो अवस्थामा नेपालकै माग धान्ने सुन पनि वैधानिक बाटोबाट आउँदैन, भारतमा पनि उस्तै अवस्था छ’ लामा भन्छन्, ‘त्यसैले तस्करहरूले विभिन्न बाटो अपनाएर सुन तस्करी गरिरहेका हुनसक्छन् ।’

उच्चस्तरीय छानबिन समितिले काम गरिरहेकै बेला १७ असार २०७५ मा रसुवा नाकाबाट आएको ६ किलो सुन जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको थियो ।

रसुवा नाकाबाट हुँदै ल्याएको ६ किलो सुन प्रहरीले नागढुंगामा बरामद गरेको थियो । उक्त सुन तस्करको समूहले फल्स बटम बनाएर ल्याएको थियो । अनलाइनखबर अर्काइभ ।

प्रहरीका अनुसार विमानस्थलबाट आउने सुनको एउटा र्‍याकेट प्रहरीले ध्वस्त पारेपछि तस्करहरूले स्थलमार्गबाट सुन ल्याउन थालेका थिए ।

रोचक कुरा त, पहिले यूएईबाट नेपाल हुँदै भारतसम्म सुन लैजाने गरेकोमा यो पटक यूएईबाट चीनसम्म पुर्‍याएर रसुवामार्फत काठमाडौं हुँदै भारतसम्म लगेको पनि भेटिएको थियो । रसुवाबाट आएको सुनमा यूएईको सुनको ट्रेडमार्क पाइएपछि यसबारे छानबिन गर्न नयाँ रुटबारे खुलेको थियो ।

यो घटनामा तस्करको समूहले ट्याक्सीमा फल्स बटम बनाएर सुन लुकाएर ल्याएको थियो । सुरुमा ट्याक्सीमा ३ किलो सुन बरामद भएको थियो भने अर्को दिन पल्सर मोटरसाइकलमा ल्याउँदै गरेको थप ३ किलो सुन बरामद भएको थियो ।

उच्च स्तरीय सुन समितिको सुझाव कार्यान्वयन त परको कुरा, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुनमा एक चर्चित व्यवसायीको नाम मुछिएपछि अनुसन्धान नै रोक्न निर्देशन दिएको स्रोत बताउँछ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृत स्थलमार्गबाट अझै सुन आइरहेको सूचना रहेको बताउँछन् । तर, प्रहरीको कुनै निकायले पछिल्लो समय सुन सम्बन्धी अपरेशनमा तादरुकता देखाएका छैनन् ।

ती अधिकृतको भनाइमा रसुवाबाट सुन आइरहेको देखिएको छ । ‘अहिले खासातिरको सुन सिन्धुपाल्चोकबाट छिरेको छ भन्ने सूचना आउँछ, तस्करले यसलाई सबैभन्दा सुरक्षित र छोटो रुट पनि मान्छन्’ उनी भन्छन्, ‘तर, आइरहेको छ भनेर किटानसहित भन्नलाई प्रहरीले बरामद गर्न सकेको छैन ।’

तस्करलाई राजनीतिक संरक्षण

पञ्चायतकालदेखि नै विमानस्थलबाट सुन तस्करीले निरन्तरता पाउँदै आएको तथ्यहरूले देखाउँछन् । यसमा दरबार नजिकका मानिसहरूले सुन तस्करीको तरिका नयाँ पुस्ताका तस्करलाई हस्तान्तरण गर्दै आएको देखिन्छ ।

विमानस्थलको सुन तस्करीमा पञ्चायतकालभरि दरबारियाहरूको भूमिगत गिरोह सक्रिय रहेको देखिन्छ । त्यसपछि कांग्रेस र कम्युनिष्टहरूको नाम पनि कहिलेकाहीं मुछिएको छ । प्रहरी र कर्मचारीको संलग्नता त सधैं नै रहँदै आएको छ, यसमा नयाँ पुस्ताका डन गोरेहरू संगठित रूपमा जोडिएका छन् ।

पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीको सम्झनामा पञ्चायतकालमा ‘सुन बुढा’ नाम गरेका एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्खेतका नेता थिए । ‘सुनको कारोबार गर्ने भएकाले उनको नामै सुन बुढा भएको थियो’ भण्डारी भन्छन्, ‘प्रतिवेदन तयार गरेकाले याद छ, उनी विमानस्थलमा सुन सहित रातो पासपोर्टमा समातिएका थिए ।’

प्रहरीले उनलाई सुनसहित समाते पनि पछि चुनावबाट फेरि निर्वाचित भएको भण्डारी बताउँछन् । उनले ‘गाउँमा सबैलाई एक/एक वटा बुलाकी लगाइदिऊँ भनेको सरकारले देखिसहेन भनेर त्यसैलाई चुनावी मुद्दा बनाए’ भण्डारी भन्छन्, ‘त्यसैलाई सेन्टिमेन्ट बनाएर उनले चुनाव जितेका थिए, हुनत यो पुरानो कुरा हो । तर, अहिले पनि कुनै न कुनै रूपमा तस्करहरू राजनीतिसँग जोडिएका छन् ।’

उच्चस्तरीय सुन छानबिन समितिले राप्रपाका नेता भुजुङ गुरुङलाई पक्राउ गरेर बयान लिंदा उनले २०४० सालदेखि नै सुन तस्करी गरेको खुलासा गरेका थिए । पार्टीभित्र पशुपतिशमशेर राणानिकट भनेर चिनिएका उनको गुण्डा नाइके भनेर चिनिएका हालका गण्डकी प्रदेश सांसद दीपक मनाङेसँग पनि राम्रो सम्बन्ध थियो ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका राप्रपा नेता भुजुङ गुरूङ ।

उनले प्रहरीलाई दिएको बयानमा हालको सोल्टी होटल नजिकै रहेको ग्राण्ड होटलका सञ्चालकसँग मिलेर २०४० सालदेखि विमानस्थलबाट सुन भित्र्याउने कारोबार गर्दै आएको खुलाएका थिए । त्यसबेला कर्मचारीसँग मिलेमतो गरेर हङकङबाट सुन किनेर बैंकक् हुँदै थाई एयरलाइन्स मार्फत नेपाल ल्याएर पसलहरूमा सुन बेच्न थालेको उनले बताएका थिए ।

पछि एक जना कर्मचारीले विमानस्थलमा काम गरेपछि असहजता महसुस गरेर कारोबार बन्द गरेको उनले खुलाएका थिए । तर, २०६९ सालमा सालो नाता पर्ने डेबिटर, मोहनकुमार अग्रवाल, चुडामणि उप्रेती ‘गोरे’ लगायतसँग भेट भएपछि फेरि सुन तस्करी थालेको उनले बताएका थिए ।

‘सुन कसरी बाहिर निकाल्ने भनेर सल्लाह गर्दा प्लेनको ट्वाइलेटको फोहोर फाल्ने डस्टविनमार्फत लुकाएर थाई एयरका सरसफाइ गर्ने कर्मचारीले बाहिर निकाल्ने र ग्यारेज हुँदै विमानस्थल बाहिर ल्याउने योजना थियो’ गुरुङले भनेका छन्, ‘यसमा पवन अग्रवाल, दरबारमार्गस्थित आरके डायमन्डका साहुजी राजेन्द्र शाक्यलगायत पनि संलग्न थिए ।’

सुन छानबिन समितिका सदस्य वसन्त लामा आफूहरूले पेश गरेको प्रतिवेदनमा भएका सुझावहरू मात्रै कार्यान्वयन हुने हो भने तस्करी धेरै हदसम्म नियन्त्रण हुने बताउँछन् । ‘विमानस्थलमा सुरक्षा कमजोरीहरूबारे पनि त्यसमा मिहिन रूपमा उल्लेख थियो’ उनी भन्छन्, ‘तर, सरकारले सुझाव कार्यान्वयन गर्नेतिर चासो नै दिएन ।’

सुझाव कार्यान्वयन त परको कुरा, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक व्यवसायीको नाम मुछिएपछि समितिलाई अनुसन्धान रोक्न भनिएको गृह मन्त्रालयमा त्यसबेला काम गरेका एक उच्च अधिकारी बताउँछन् ।

विमल पोद्दार, व्यवसायी ।

स्रोतका अनुसार ६ असार २०७५ मा व्यवसायी विमल पोद्दार पक्राउ परेपछि तत्कालीन प्रधानमन्त्री ओली समितिसँग असन्तुष्ट बनेका थिए । डिल्लीबजारस्थित सिल्भर सिटी अपार्टमेन्टका मालिक पोद्दारले दिएको बयानका आधारमा थप केही नाम चलेका व्यवसायी पनि मुछिएपछि उनीहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने तयारी समितिको थियो ।

सह–सचिव ईश्वरराज पौडेलले त्यसबेला अनुसन्धानका लागि म्याद थप गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए, तर अनुसन्धानले लिइरहेको बाटोप्रति असन्तुष्ट ओलीले त्यसबेला छानबिन टुंग्याएर प्रतिवेदन बुझाउन निर्देशन दिएको स्रोतको भनाइ छ ।

सुरुमा म्याद थप गर्न सकारात्मक रहेका प्रधानमन्त्री ओलीले ब्रिफिङपछि प्रतिवेदन बुझाउन निर्देशन दिएको स्रोत बताउँछ । त्यसयता सुन सम्बन्धी प्रतिवेदन अलपत्र छ । छानबिन समितिले बुझाएको प्रतिवेदनमा २९३ जनालाई शंकास्पद सूचीमा राख्दै उनीहरूलाई पक्राउ गरेर अघि बढ्नुपर्ने जिकिर गरेको स्रोतको भनाइ छ ।

पछि शेरबहादुर देउवा नेतृत्वको कांग्रेसको सरकार होस् वा अहिले प्रचण्ड नेतृत्वको माओवादीको सरकार हुँदा कसैले सुन सम्बन्धी प्रतिवेदन बाहिर ल्याउन चासो देखाएका छैनन् । स्रोतका अनुसार देउवा प्रधानमन्त्री भएका बेला तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले चासो देखाउँदा पनि प्रतिवेदन पाएका थिएनन् ।

‘त्यतिबेला मन्त्रीले नै प्रतिवेदन पाउनुभएन, प्रधानमन्त्री कार्यालयमै छ भन्ने छ’ यसबारे जानकार एक अधिकारी भन्छन्, ‘यसमा जोडिएका व्यक्तिहरूका कारण यो प्रतिवेदन अलपत्र परेको हो ।’

पौडेल नेतृत्वको उच्चस्तरीय समितिले सुन तस्करी रोक्ने हो भने छुट्टै टास्क फोर्स बनाएर निरन्तर अनुसन्धान गरिरहनुपर्ने सुझाव पनि दिएको थियो । तर, यस्ता सुझावतर्फ सरकारी निकायले अहिलेसम्म कुनै चासो दिएका छैनन् ।

कभर स्टोरी
लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?