हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन् ।
ग्लोबल आईएमई बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा नयाँ ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक गर्यो।
कार्ड प्रयोगकर्ताले पहिलो टिकट खरिदमा क्यासब्याक र १० प्रतिशत छुट पाउनेछन्।
बैंक र एयरलाइन्सले डिजिटल कारोबार र ग्राहक सेवा विस्तारमा सहकार्य गरेको बताइएको छ।
२९ जेठ, काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट यती एयरलाइन्सको टिकट किन्दा पहिलो टिकट निःशुल्क पाउने भएका छन् । बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ग्लोबल स्काई क्लब कार्ड सार्वजनिक गरेको छ ।
काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन् ।
ग्लोबल स्काई क्लब कार्ड नियमित प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छुट, बोनस प्वाइन्ट, प्राथमिक चेक–इन सेवा, अतिरिक्त तौल सुविधा लगायत प्राप्त गर्ने पनि बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंक नेपाली बैंकिङ क्षेत्रमा नयाँ–नयाँ सेवा र स्किम ल्याउँदै ग्राहकलाई सर्प्राइज प्याकेज दिने बैंकका रूपमा परिचित छ ।
यसले ग्लोबल आईएमई बैंकका ग्राहकलाई सर्प्राइज प्याकेज सहित नवीन सुविधाको अनुभव गराउने बैंकको विश्वास छ ।
बैंकका ग्राहकले ग्लोबल स्काई क्लब कार्डमार्फत यती एयरलाइन्सको पहिलोपटक टिकट खरिद गर्दा पूरै रकम बराबर क्यासब्याक दिने भएको छ । त्यसैगरी कार्डवाहक ग्राहकले यती एयरलाइन्सको कुनै पनि टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।
कसरी फाइदा लिने कार्डबाट ?
बैंकका अनुसार कार्ड जारी गर्ने समयमा ग्राहकले १ सय बोनस प्वाइन्ट पाउँछन् । यस्तो बोनस छुट, पुरस्कार वा अन्य सेवा उपयोगमा प्रयोग गर्न सकिने छ । कार्डका माध्यमबाट पीओएस (प्वाइन्ट अफ सेल) वा ई–कमर्स प्लेटफर्ममा खरिद गर्दा हरेक १ सय रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । यसले डिजिटल कारोबारलाई प्रोत्साहन मात्र गर्ने छैन, साथमा कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसर समेत दिने छ ।
विमानस्थलमा प्राथमिकता, ५ किलो अधिक तौल सुविधा
ग्लोबल स्काई क्लब कार्डवाहकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन् । यती एयरलाइन्सका अनुसार चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइने छ । यस्तो कार्डवाहक यात्रुले लगेजमा समेत अधिकतम तौल सीमाभन्दा ५ किलो अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एयरलाइन्समा पाइने भएको छ । बढी तौलको लगेजसाथ यात्रा गर्ने यात्रुलाई यो सुविधा निकै फलदायी हुने बैंकको विश्वास छ ।
के भन्छन् सरोकारवाला ?
बैंकका सीईओ रेग्मी ग्लोबल आईएमई बैंक र यती एयरलाइन्सबीचको यो सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताउँछन् । यो सहकार्यले डिजिटल बैंकिङलाई थप सशक्त बनाउने उनको विश्वास छ । ‘ग्लोबल आईएमई बैंक नयाँ प्रविधि प्रयोगसँगै ग्राहकमैत्री सेवा र समयानुकूल योजना ल्याउन सधैं तत्पर छ,’ उनले भने ।
यती एयरलाइन्सका सीईओ सापकोटा ग्लोबल आईएमई बैंकसँगको सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राही लाभान्वित हुने बताउँछन् ।
‘हामीले ग्लोबल आईएमई बैंकसँग मिलेर यस्तो योजना ल्याएका छौं, जसले दुवै संस्थाका ग्राहकलाई प्रत्यक्ष लाभ पुर्याउने छ,’ उनी भन्छन्, ‘भविष्यमा अझ नयाँ र परिष्कृत सेवा ल्याउँछौं ।’
ग्लोबल आईएमई बैंकले ग्राहक सुविधा मध्यनजर गर्दै विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहक लाभान्वित गर्दै आएको छ ।
संसद् अवरोध खोल्न दुई बुँदामा सहमतिको प्रयास भइरहेको छ।
सहमति अनुसार, अख्तियारको छानबिन र अध्यागमन कमजोरी सुधारमा ध्यान दिइएको छ।
रास्वपा ले छुट्टै प्रस्ताव ल्याएको र सत्तापक्षले स्वीकार नगरेको बताइएको छ।
२९ जेठ, काठमाडौं । प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार, यसअघि नै प्रस्ताव भएको २ बुँदे सहमतिमा टेकेर अगाडि बढ्ने प्रयास भइराखेको छ ।
बुधबार संसद् भवन नयाँ वानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले संसद्को अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भइराखेको बताएका थिए ।
उनका अनुसार, अख्तियारको छानबिनलाई सरकारले पूर्ण सहयोग गर्ने र अध्यागमनमा भइरहेका कमजोरी सच्याउन आवश्यक पहल गर्ने विषयलाई दुई बुँदामा समेटेर सहमतिको प्रयास भइराखेको हो ।
विपक्षी दलका नेताहरू आज पनि संसद् भवन परिसरमा जुटेर सोही दुई बुँदे मस्यौदाबारे छलफल गरिरहेका छन् ।
कांग्रेस र माओवादीका बीचमा दुई बुँदामा सहमति गर्नेगरी यसअघि नै मस्यौदा प्रस्तुत भएको थियो । पहिलो बुँदामा अख्तियारले अनुसन्धान सकिनेबेलासम्म सरकार र संसदले सहयोग गर्ने उल्लेख छ ।
अख्तियारले जानकारी अनुसन्धान सकाएपछि सरकारले २०६४ साल यता भिजिट भिसामा विदेश जानेसक्ने अपारदर्शी रुपमा आर्थिक लेनदेन भए/नभएको अध्ययन गर्न आवश्यक निकाय वा संयन्त्र बनाउने भनेर दोस्रो बुँदामा राख्ने गरी मस्यौदा तयार भएको छ ।
यस्तो मस्यौदामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने तयार भएको छैन ।
सुरुमा मौन रहेको एमाले पछिल्लो समय प्रस्तावित दुई बुँदे सहमतिको मस्यौदाअनुसार अगाडि बढ्न सकिने निष्कर्षमा पुगेको हो । यही विषय एमालेका सांसद भट्टराईले पत्रकारहरूसँग राखेका हुन् ।
रास्वपाले भने छुट्टै ५ बुँदे प्रस्ताव ल्याएको छ । जसमा भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने प्रस्ताव छ । यसलाई सत्तापक्षले स्वीकार गरेको छैन ।
प्राकृतिक सम्पदा, जडीबुटी तथा वनस्पति संरक्षण व्यवस्थापनका लागि तीन वर्षसम्म प्रतिबन्ध लगाइएको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
हुम्लाको लिमी उपत्यका क्षेत्रमा तीन वर्षसम्म जडीबुटी संकलन र पशु चराउन प्रतिबन्ध लगाइएको छ।
वडाध्यक्ष पाल्जोर तामाङले संरक्षण र जैविक विविधता कायम राख्न नियम लागु गरिएको बताए।
प्रतिबन्ध उल्लंघन गरेमा कानुनी कारबाही हुने उनले बताए।
२९ जेठ, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका- ६ को लिमी उपत्यका क्षेत्रमा तीन वर्षसम्म जडीबुटी संकलन गर्न नपाइने भएको छ।
प्राकृतिक सम्पदा, जडीबुटी तथा वनस्पति संरक्षण व्यवस्थापनका लागि तीन वर्षसम्म प्रतिबन्ध लगाइएको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
उनका अनुसार भेँडाबाखा, चौँरी लगायत पशुचौपया चराउन समेत प्रतिबन्धित गरिएको छ ।
वडाले सूचना प्रकाशन गरेको मितिदेखि तीन वर्षसम्म जडीबुटी संकलन गर्न, भेँडा बाखा-चौँरी चराउन पूर्ण रूपमा प्रतिबन्धित गरिएको उनले बताए । नियम उल्लंघन गर्न जोकसैलाई प्रचलित कानुनअनुसार वडाले कारबाही गर्ने तामाङले बताए।
वन सम्पदा, संरक्षण वातावरणीय सन्तुलन कायम राख्न तथा जैविक विविधता जोगाउन यो नियम लागु गरिएको वडाध्यक्ष तामाङको भनाइ छ ।
काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत उसु खेल निर्धारित समयमा सुरु हुन सकेन।
खेलको क्रममा विवाद र झडपको सम्भावना हुँदा प्रहरी तैनाथ गरिएको थियो।
दुई उसु महासंघबीचको विवादका कारण खेल सञ्चालनमा समस्या आएको हो।
२९ जेठ, काठमाडौं । काठमाडौंमा जारी राष्ट्रपति रनिङ शिल्डअन्तर्गत बिहीबार उसुको खेल निर्धारित समयमा सुरु हुन नसकेपछि प्रहरी तैनाथ गरेर खेल सञ्चालन गरिएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा उसु खेलका दुई महासंघबीचको विवादका कारण प्रहरी नै तैनाथ गरेर खेल सञ्चालन गर्नुपरेको थियो ।
झडपकै स्थिति सिर्जना भएको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ आइपुगेको भनेर अनलाइनखबरलाई जानकारी आएको थियो । यसबारेमा बुझ्दा प्रहरीले भने कुनै झडप नभएको जनायो ।
त्यहाँ भएका पदाधिकारीहरूले पनि केही विवाद नभएको बताइरहँदा एक कर्मचारीले भने तालाबन्दी गर्न सक्ने देखिएपछि प्रहरी तैनाथ गरेर सम्भावित विवाद हुन नदिएको अनलाइनखबरलाई बताए ।
‘एनओसीबाट मान्यता प्राप्त उसु महासंघले तालाबन्दी गर्न खोजेका थिए तर अहिले उनीहरू पनि खेलकै लागि तयार भइसकेका छन्, यो खेल चाहिँ सरकारी मान्यता प्राप्त उसु महासंघले आयोजना गर्दै छ, त्यस्तो झडप नै त केही भएको छैन’ उनले भने ।
नेपाल उसु महासंघको नाममा दुई संघ अस्तिस्वमा रहेकोले पनि पछिल्लो समयम उसुमा विवाद देखिँदै आएको थियो ।
शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष रहेको उसु महासंघलाई सरकारी मान्यता छ भने अर्को उसु महासंघ नेपाल ओलम्पिक कमिटीमा आबद्ध छ र अन्तर्राष्ट्रिय मान्यता छ ।
दुवै महासंघ मिलाएर एकै महासंघ बनाउन प्रयास भएपनि त्यो सफल हुन सकेको छैन । दुवैले आफू नै मुख्य पदमा हुनुपर्ने माग राखेपनि यो विवाद मिल्न सकेको छैन ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसद्को अवरोध खोल्ने विषयमा अनौपचारिक छलफल गरिरहेका छन्।
भिजिट भिसा प्रकरणमा अनुसन्धान जारी रहेपछि संसद् बैठक पुनः सञ्चालनको सम्भावना छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय छानबिन समिति गठनको माग राख्दै विरोध जनाएको छ।
२९ जेठ, काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा छ । यी तीन पार्टी अनौपचारिक छलफलमा छन् । दिउँसो २ बजे तीन पार्टीबीच औपचारिक बैठक बस्ने तय भएको छ ।
केहीबेरमा विपक्षी दलहरूको बैठक बस्नेछ । विपक्षी दलहरूको बैठक पछि कांग्रेस, एमाले र माओवादी केन्द्रबीच छुट्टै छलफल हुन लागेको हो ।
प्रतिनिधि सभाको बैठक जेठ १३ गतेदेखि कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।
एमालेका सांसदहरू संसद्को अवरोध खुलाउने विषयमा कांग्रेस, एमाले र माओवादी एकै ठाउँमा रहेको बताउँछन् । माओवादीका नेताहरू सत्तापक्ष लचक भए संसद्को अवरोध खोल्ने बताउँछन् ।
भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारले अनुसन्धान सकाएपछि सरकारले २०६४ साल यता भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन भए÷नभएको अनुसन्धान गर्ने गरी सरकारले आवश्यक निकाय वा संयन्त्र बनाउने प्रतिवद्धता जनाउने गरी सहमतिको प्रयास जारी छ । यसमा कांग्रेस, एमालेसँगै माओवादी पनि सहमत रहेको एमाले नेताहरूको दाबी छ ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मानेको छैन । रास्वपाले संसदीय छानबिन समिति नै गठन गर्नुपर्ने अडान लिइरहेको छ ।
नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशनको समय तालिका निर्धारण गरी कार्यादेश दिने तयारी गरेको छ।
सभापति देउवाले अब थपिएको समयभित्र महाधिवशेन गर्नैपर्ने निर्देशन दिए थिए ।
२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन गराउन समय तालिका निर्धारण गरेर कार्यादेश दिने भएको छ ।
महाधिवशेन गराउन नसकेका भ्रातृ संस्थालाई समयावधि तोकेर नयाँ समिति ल्याउन निर्देशन दिने भएको छ ।
अधिवेशन हुन नसकेका भ्रातृ संस्थाको अवस्थाबारे कांग्रेसले निर्देशक समितिसँग ब्रिफिङ लिन सुरु गरेको छ ।
बिहीबार दलित संघका निर्देशक समितिका सदस्यसँग सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतले संस्थाको अवस्थाबारे जानकारी लिएका छन् ।
बैठकमा सहभागी लक्ष्मी परियारका अनुसार सबै भ्रातृ संस्थालाई टिओआर दिएर महाधिवशेन गर्ने कुरा भएको छ ।
बैठकमा दलित संघका लागि निर्देशक समितिमा रहेका सहमहामन्त्री जीवन परियार, लक्ष्मी परियार र शान्ति विकले दलित संघभित्रको समस्याबारे जानकारी गराएका थिए ।
सभापति देउवाले अब थपिएको समयभित्र महाधिवशेन गर्नै पर्ने निर्देशन दिएका थिए ।
महामन्त्री थापाले तदर्थ समितिमा रहेका सबै भ्रातृ संस्थालाई तालिका सहितको कार्यादेश दिने र तोकिएको समयावधिमा महाधिवेशन गर्नुपर्ने विचार राखेका थिए ।
महाधिवेशन गराउन नसकेका भ्रातृ संस्थाको अवधि पुनः एकपटक थप्ने कांग्रेसमा मोटामोटी सहमति भइसकेको नेताहरूले जानकारी गराएका छन् ।
अन्तिम पटकका लागि बढीमा कात्तिकसम्मको समयावधि हुने गरी भ्रातृ संस्थालाइ समय उपलब्ध गराउने तयारी पार्टीले गरेको छ ।
कांग्रेसले महाधिवेशन हुन नसकेका भ्रातृ संस्थाको निर्देशक समितिका सदस्यहरूलाई क्रमशः बोलाएर ब्रिफिङ लिने भएको छ ।
भ्रातृ संस्थाको महाधिवेशन गराउन पार्टीबाट समन्वय र सहजीकरण गर्ने गरी १० वटा भ्रातृ संस्थाका लागि निर्देशक समिति गठन गरिएको छ ।
निर्देशक समितिमा एक जना संयोजक हुने गरी केन्द्रीय सदस्यबाट प्रत्येकमा ३/३ जना तोकिएको छ ।
कांग्रेसमा १३ भ्रातृ संस्थामा पाँच वटाले महाधिवशेन गरेका छन् । प्रमुख भ्रातृ संस्थाहरु नेविसंघ, तरुण दल, महिला संघले निर्वाचित समिति ल्याउन सकेका छैनन् ।
गोरखा र तनहुँको आँबुखैरेनी गाउँपालिकाले अत्यधिक गर्मीका कारण आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरे।
नगरपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि दुई दिन विद्यालय बन्द राख्ने निर्णय जानकारी दिए।
गाउँपालिकाले विद्यार्थीलाई घरभित्र बस्न, प्रशस्त पानी पिउन र गर्मीमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
२९ जेठ, गोरखा । अत्यधिक गर्मीका कारण गोरखाको पालुङटार नगरपालिकाका विद्यालयहरुमा आजदेखि पठनपाठन बन्द गरिएको छ । नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुइदिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए ।
उनले भने, ‘गर्मीका कारण बालबालिकालाई समस्या हुनसक्ने भएकाले नगरपालिकाले मातहतका सबै विद्यालय आज र भोलि बन्द गर्ने निर्णय गरेको हो।’ असार १ गतेबाट नियमित रूपमा पठनपाठन हुने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिकाले पनि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आज र भोलि गर्मी बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाको निर्णय अनुसार गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै दुई दिन बिदा दिने निर्णय गरिएको हो । गाउँपालिकाले सूचना जारी गर्दै सम्पूर्ण विद्यालय सञ्चालक, अभिभावक तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
‘गर्मीका कारण देखिएका समस्या न्यूनीकरण गर्न विद्यालय बन्दको निर्णय गरिएको हो, सबैले आवश्यक सतर्कता अपनाउन अनुरोध छ’, गाउँपालिका अध्यक्ष शुक्र चुमानद्वारा जारी सूचनामा उल्लेख छ ।
गाउँपालिकाले विद्यार्थीलाई घरभित्र वा शीतल स्थानमा बस्न, प्रशस्त पानी पिउन, दिउँसो घाममा बाहिर ननिस्कन, ताजा फलफूल तथा पोषिलो खाना खान र साँझ बिहानमा मात्र शारीरिक व्यायाम वा खेलकुदमा सहभागी हुन अनुरोध गरेको छ ।
पार्टीले आवश्यक ठानेमा पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष बन्न सक्ने सम्भावना रहे पनि अहिले चलिरहेको चर्चा ओलीलाई कमजोर बनाउन चाहनेहरूबाट भइरहेको नेता राईले बताए ।
नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष बन्ने कुरा नसुनेको बताए।
राईले भण्डारीले देश र पार्टीको चासो राख्नु स्वाभाविक भएको र आवश्यक परे निर्णय लिन सक्ने बताए।
उनले वर्तमान चर्चा ओलीलाई कमजोर बनाउन चाहनेहरूबाट भइरहेको बताए।
२९ जेठ, खोटाङ । नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष बन्छु भन्ने आफूले नसुनेको बताएका छन् ।
प्रेस चौतारी नेपाल खोटाङले गरेको पत्रकार सम्मेलनमा राईले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताबारे टिप्पणी गरेका हुन् ।
‘एमाले अध्यक्ष बन्ने, केपी ओलीलाई रिप्लेस गरेर अध्यक्ष बन्ने कुरा हामीले सुनेको छैन, मैले सुनेको छैन,’ उनले भने ।
कोशी प्रदेश इन्चार्ज रहेका राईले पूर्वराष्ट्रपति भण्डारीले देश र पार्टीहरुको बारेमा चासो राख्नुलाई अस्वभाविक रूपमा हेर्न नहुने पनि बताए ।
‘उहाँ (विद्या भण्डारी) सक्रिय राजनीतिकर्मी र सफल राष्ट्र अध्यक्ष भएकाले देश र राजनीतिमा चासो राख्नु स्वभाविक कुरा हो । उहाँले एमालेलाई पनि सुझाव दिन सक्नु हुन्छ, अन्य राजनीतिक दलहरूलाई पनि सुझाव दिन सक्नु हुन्छ,’ राईले भने ।
यदि पार्टीले आवश्यक ठानेर आग्रह गर्दा भने पूर्वराष्ट्रपति भण्डारीले निर्णय लिन सक्ने उनले बताए । ‘भोलि पार्टीले त्यो आवश्यकता ठान्यो, छलफलको विषय बन्यो, पार्टीले आग्रह गर्ने स्थिति बन्यो, त्यो सन्दर्भमा उहाँले निर्णय गर्ने कुरा हो,’ राईले भने ।
पार्टीले आवश्यक ठानेमा एमाले अध्यक्ष बन्न सक्ने सम्भावना रहे पनि अहिले चलिरहेको चर्चा ओलीलाई कमजोर बनाउन चाहनेहरूबाट भइरहेको उनले बताए ।
फिफा महिला वरियतामा नेपाल एक स्थान तल झरेर १००औं स्थानमा पुगेको छ।
नेपालले फेब्रुअरीमा खेलहरू खेलेपछि एक स्थान सुधार गरेको थियो।
पुरुषतर्फ नेपाल १७५औं स्थानमा रहेको छ।
२९ जेठ, काठमाडौं । फिफा महिला वरियतामा नेपाल एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ स्थान तल झरेर १००औं स्थानमा पुगेको छ ।
यसअघि ९९औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ०.१२ अंक घटेर नयाँ वरियतामा १००औं स्थानमा झरेको हो। एसियाली राष्ट्रहरुमध्ये नेपाल २०औं स्थानमा छ ।
नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमा चारदेशीय फुटबल प्रतियोगिता खेलेको थियो जहाँ लेबनान र कीर्गिस्तानलाई हराउँदा म्यानमारसँग एक खेल बराबरी गरेको थियो भने फाइनलमा म्यानमारसँग पराजित भएको थियो । त्यसपछि चार स्थान सुधार गरेर ९९औं स्थानमा पुगेको नेपाल फेरि एक स्थान खस्किएको हो ।
त्यसपछि नेपालले थाइल्याण्डसँग २ मैत्रीपूर्ण खेल खेल्दा पराजित भएको थियो ।
फिफा वरियताको शीर्ष स्थानमा अमेरिकी टोली यथावत् रहँदा स्पेन दोस्रो, जर्मनी तेस्रोमा यथावत् छ । ब्राजिल चौथोमा उक्लँदा इंग्ल्याण्ड पाँचौंमा झरेको छ । एसियाली राष्ट्र जापान २ स्थान खस्किएर सातौंमा पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागले एक हप्ताभित्र नेपालभर मनसुन सक्रिय हुने जनाएको छ।
विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले पूर्वी भूभागमा मनसुन प्रवेश भइसकेको र वर्षा हुने सम्भावना रहेको बताइन्।
यस वर्ष देशभर अधिकतम र न्यूनतम तापक्रम औसत भन्दा बढी हुने सम्भावना छ।
२८ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ ।
यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो ।
विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, अहिले कोशी प्रदेश वरपर नै मनसुन सक्रिय रहेको र त्यो प्रक्रिया सर्ने क्रममा छ ।
‘हरेक प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ । अब छिट्टै एक हप्ताभित्र नै नेपालमा मनसुन सक्रिय हुने देखिन्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘मनसुनी वायु कोशी प्रदेशसम्म मात्रै छ । तर, मनसुन आउनका लागि अनुकूल वातावरण बन्दैछ । अब एक हप्तासम्म मनसुन प्रोगेसको अवस्था देखिन्छ ।’
केहि दिन सवै प्रदेशमा हल्कादेखि भारी बर्षाको सम्भावना देखिएको उनले बताइन् । कँडेलले यस वर्ष देशभर बर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढी मापन हुने सम्भावना देखिएको उल्लेख गरिन् ।
‘यसवर्ष १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको थियो । हामीले बुधबार बिहीबारबाट पानी गर्ने गतिविधि हुन्छ भनेर भनेका थियौं,’ कँडेलले भनिन्, ‘सोही अनुसार देशव्यापी रुपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएका छन् । आगामी दिनमा पनि वर्षाका गतिविधि वृद्धि हुँदै जाने क्रम देखिन्छ ।’
मलेखु-मुग्लिन नारायणगढ सडक खण्ड ३० जेठदेखि राति बन्द हुने भएको छ।
सडक निर्माण कार्यका लागि आरसीसी बिम राख्न क्रेन प्रयोग गर्नुपर्ने भएकाले राति सवारी बन्द गरिनेछ।
सवारीसाधनहरू बिहान ३ बजेपछि मात्र सञ्चालनमा आउनेछन्।
२९ जेठ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु-मुग्लिन नारायणगढ सडक खण्ड ३० जेठदेखि रातिको समयमा बन्द हुने भएको छ ।
मलेखु-मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।
डीएसपी हमालका अनुसार निर्माणाधीन उक्त क्षेत्रमा आरसीसी बिम राख्नका लागि ठूलो साइजको क्रेन प्रयोग गर्नु पर्ने भएकोले सवारीसाधन बन्द गर्नु परेको हो ।
उल्लेखित ती दिनमा राति १०:३० बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन (अत्यावश्यक सवारी बाहेक) बन्द हुने सूचनामा उल्लेख छ ।
सूचना अनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिनि र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिनेछ ।
साउथ स्टार राम चरणको फिल्म ’द इन्डिया हाउस’ को सेटमा पानीको ट्याङ्की फुटेर दुर्घटना भएको छ।
घटना पानीको एक्सन दृश्यको छायांकनको क्रममा भएको र केही सदस्य घाइते भएका छन्।
फिल्मको छायांकन रोकिएको छ र दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
भारतको हैदराबादमा रहेको साउथ स्टार राम चरणको आगामी फिल्म ’द इन्डिया हाउस’ को सेटमा दुर्घटना भएको बताइएको छ । सेटमा रहेको पानीको ट्याङ्की फुटेर बाढीको जस्तो अवस्था सिर्जना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
सेटमा भएका सबै सामग्री नष्ट भएका छन् । सबै सामान असरल्ल भएका छन् । यो दुर्घटना पानी प्रयोग गर्ने एक्सन दृश्यको छायांकनको क्रममा भएको थियो । पानीको ट्याङ्की फुटेपछि हजारौं लिटर पानी सुटिङ फ्लोरमा पोखियो । यो दुर्घटनाका कारण ‘द इन्डिया हाउस’को सम्पूर्ण सेट डुबेको जस्तो देखिन्थ्यो ।
उपकरणमा धेरै क्षति भएको छ । घटनामा एक सहायक कोरियोग्राफर र चालक दलका केही सदस्य पनि घाइते छन् । घाइतलाई अस्पताल लगिएको छ । घटनाको समयमा राम चरण सेटमा थिए कि थिएनन् भन्ने कुरा स्पष्ट छैन, तर फिल्मको छायांकन अहिलेलाई रोकिएको छ ।
హీరో నిఖిల్ సినిమా షూటింగ్లో భారీ ప్రమాదం
ది ఇండియన్ హౌస్ సినిమా షూటింగ్లో ఘటన
శంషాబాద్ సమీపంలో సముద్రం సీన్స్ తీసేందుకు ఏర్పాటు చేసిన భారీ వాటర్ ట్యాంక్ పగిలిపోవడంతో లొకేషన్ మొత్తం వరద
दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल छ । सेटमा पानी पसेपछि चालक दलका सदस्यले क्यामेरा र उपकरणहरू बचाउने प्रयास गरिरहेको देखिएको छ । क्लिपमा सम्पूर्ण सेट पनि पानीमा डुबेको देखिएको छ ।
यो फिल्म सन् २०२३ मा घोषणा गरिएको थियो । त्यसबेला तेलुगु सुपरस्टारले लन्डनमा फिल्मको टिजर पनि देखाएका थिए । यो फिल्म निर्माताको रूपमा राम चरणको पहिलो फिल्म हो । रिलिज मिति अहिलेसम्म घोषणा गरिएको छैन ।
प्रतिनिधि सभा अवरोधको विषयमा विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजे बस्नेछ।
बुधबारको बैठकले रास्वपाले प्रस्ताव गरेको ५ बुँदे सहमतिको मस्यौदालाई स्वीकार गरेको थियो।
सत्तापक्षले त्यसलाई स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएको कारण विपक्षी दलहरूको फेरि बैठक बस्न लागेको हो।
२९ जेठ, काठमाडौं । विपक्षी दलहरूको बैठक बस्दै छ । प्रतिनिधि सभाको जारी अवरोधको विषयमा उनीहरू छलफलमा जुट्न लागेका हुन् ।
नेताहरूका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमै बस्नेछ ।
प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । त्यसअगाडि विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।
बुधबार बसेको विपक्षी दलहरूको बैठकले रास्वपाले प्रस्ताव गरेको ५ बुँदे सहमतिको मस्यौदालाई स्वीकार गर्दै त्यसका सत्तापक्षको धारणा मागेको थियो । सत्तापक्षले त्यसलाई स्वीकार गर्न नसकिने भनेको छ ।
यो अवस्थामा फेरि विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।
५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभग्राही संस्थाको लागत सहभागिता रहेको छ ।
झापाको भद्रपुर नगरपालिकाले दुई सहकारीलाई धान रोप्ने मेसिन र सिड ट्रे प्रदान गर्यो।
मेसिन र सिड ट्रेको लागत रू ५८ लाख ५३ हजार हो, जसमा नगरपालिकाले ७५ प्रतिशत र सहकारीले २५ प्रतिशत लागत भाग लिएका छन्।
नगरले कृषिउपज उत्पादनका लागि प्रोत्साहन रकम र आवश्यक सामग्री अनुदानमा उपलब्ध गराएको छ।
२९ जेठ, बनियानी । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक/एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ ।
एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर र छ हजार थान सिड ट्रे प्रदान गरिएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।
उनका अनुसार रू ५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभग्राही संस्थाको लागत सहभागिता रहेको छ ।
‘यो मेसिनले एक घण्टामा सातदेखि आठ कठ्ठा क्षेत्रफलमा धान रोप्छ’, उनले भने, ‘यसले धान उत्पादनमा लागत घटेर किसान लाभान्वित हुने विश्वास छ।’
नगरले वितरण गरेको १२ हजार थान ‘सिड ट्रे’मा एक पटक बिउ राख्दा करिब १२० देखि १५० बिघा क्षेत्रफलमा धान रोप्न पुग्नेछ ।
प्रोत्साहन रकम
नगरपालिकाले धान, मकै, फापर, कोदो, तोरी, तरकारीलगायतका कृषिउपज उत्पादनका आधारमा प्रोत्साहन रकमसमेत प्रदान गरेको छ । नगरको चालु आर्थिक वर्ष २०८१÷८२ को कृषि कार्यक्रममार्फत् किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाका सहायक कृषि प्रसार अधिकृत हेमराज पन्तले जानकारी दिए ।
तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तरगत तीन हजार नौ सय ३५ कठ्ठामा तोरीखेती गर्ने गर्ने दुई सय ४३ वटा कृषक/संस्थालाई प्रतिकठ्ठा रू पाँच सयका दरले २० लाख उपलब्ध गराइएको कृषिप्रसार अधिकृत पन्तले बताए ।
त्यस्तै, आलु खेती प्रवर्द्धन कार्यक्रम अन्तरगत यहाँका एक सय ४४ कृषक÷संस्थालाई रू १५ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको छ । छ सय ६२ कठ्ठामा आलुखेती गरेबापत प्रतिकठ्ठा रू दुई हजारको दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।
यस्तै, रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तरगत ५५ वटा कृषक/संस्थालाई तीन सय १५ कठ्ठामा कोदो खेती गरे बापत प्रतिकठ्ठाको रू सात सयका दर र ५९ वटा कृषक/संस्थालाई चार सय ८८ कठ्ठामा फापरखेती गरेबापत प्रतिकठ्ठाको रू पाँच सयको दरले गरी रू पाँच लाख नगद प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
यस्तै, नगर प्रमुख तरकारीखेती प्रवर्द्धन कार्यक्रम नजा अन्तरगत न्यूनतम पाँच कठ्ठामा तरकारी खेती गर्ने ५१ जना किसानाई आवश्यक पर्ने कृषि यन्त्र–औजार, बीऊ–बिजन, मल तथा बिषादी ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । मागको आधारमा प्रति कृषक रू १८ हजार सात सय ५० बराबरको सामग्री उपलब्ध गराइएको कृषिप्रसार अधिकृत पन्तले बताए ।
बगर खेती कार्यक्रम उनका १२ कृषकलाई रू पाँच लाख उपलब्ध गराइएको छ । यसबाट २० बिघाभन्दा बढी बगरमा खरबुजा खेती गर्न उत्साहित भई किसानले आयआर्जन गर्न सफल भएका छन् ।
लुम्बिनी प्रदेश सरकारको रु २० लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अपर्याप्तताका कारण अधुरै रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद रेग्मीले बताए ।
राप्ती सोनारी गाउँपालिका–९ मा गणेश माध्यमिक विद्यालयको भवनको निर्माण रकम अभावले अधुरो छ।
विद्यालयको व्यवस्थापनले पर्याप्त बजेट नहुँदा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य भएको बताए।
वडाध्यक्ष सोहनलाल थारुले भवन पूरा गर्न आवश्यक रकमको व्यवस्था गर्न लागिपरेको जानकारी दिए।
२९ जेठ, राँझा । राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ ।
लुम्बिनी प्रदेश सरकारको रु २० लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अपर्याप्तताका कारण अधुरै रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद रेग्मीले बताए ।
‘कक्षाकोठा अभाव भएकाले प्रदेश सरकारको सहयोगमा काम थालियो तर पर्याप्त पैसा नहुँदा भवन बनाउन सकिएको छैन’, अध्यक्ष रेग्मीले भने, ‘भवन नहुँदा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य छन्।’ कक्षा १२ सम्म पढाई हुने यो विद्यालयमा हाल चार सय ४० विद्यार्थी अध्ययनरत छन् ।
तराईको गर्मीमा टिनको छानामुनि पढ्नुपर्ने बाध्यताबाट बालबालिकालाई मुक्त गर्न आफूहरु क्रियाशील रहेको राप्ती सोनारी गाउँपालिका वडा नं-९ का वडाध्यक्ष सोहनलाल थारुले बताए ।
दाता तथा सरकारी निकायसँग भवन पूरा गर्न आवश्यक रकमको व्यवस्थाका लागि आफू लागिपरेको उनले बताए ।
गायिका अञ्जु पन्त र गायक खेम सेन्चुरी लण्डन पुगेर १७ औं नेपाली ओपन कन्सर्टमा प्रस्तुति दिनेछन्।
कन्सर्टमा ५ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ र ‘एकताको लागि संगीत’ भन्ने नाराका साथ आयोजना हुँदैछ।
बेलायतको फार्नब्रो रग्बी फुटबल क्लबमा हुने कन्सर्टमा नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्।
काठमाडौं । चर्चित गायिका अञ्जु पन्त र गायक खेम सेन्चुरी सांगीतिक प्रस्तुतिको लागि लण्डन पुगेका छन् । उनीहरूले त्यहाँ आयोजना हुने १७ औं नेपाली ओपन कन्सर्टमा प्रस्तुति दिनेछन् ।
मगर संघ यूकेले शनिबार आयोजना गर्न लागेको कन्सर्टमा उनीहरूले प्रस्तुति दिनेछन् । उनीहरूसँगै ‘भ्वाइस अफ नेपाल’को सिजन ३ का प्रतियोगी विजय मगर पनि लण्डन पुगेका छन् ।
कलाकारहरूलाई मगर संघ बेलायतका अध्यक्ष लालु पुनले स्वागत गरे । नेपाली कला संस्कृति, संगीत, जगेर्ना र प्रवर्धन गर्ने उद्देश्यसहित संस्थाले हरेक वर्ष नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको छ ।
कन्सर्टमा ५ हजार जना दर्शक सहभागी हुने अपेक्षा छ । कन्सर्टको नारा ‘एकताको लागि संगीत’ तय गरिएको छ । बेलायतको फार्नब्रो रग्बी फुटबल क्लबमा बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुने कन्सर्टमा बालबालिका, युवा र ज्येष्ठ नागरिकलाई मोरञ्जनात्मक कार्यक्रम पनि संचालन गरिने भएको छ । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् ।
गायक तथा संगीतकार सेन्चुरी शुक्रबारदेखि सुरु हुने ‘भ्वाइस किड्स’को चौंथो सिजनका कोच समेत हुन् । भ्वाइस किड्सको नयाँ सिजनको प्रिमियर विहिबारदेखि हुँदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ।
विष्टले भने, ‘स्पष्टीकरण सोध्ने/दिने पार्टी पद्धतिमा भइरहन्छ, ठूलो कुरा होइन, मैले पठाइसकेँ।’
उनी असार २ मा मुम्बई जाने तयारीमा छन्, तर कार्यक्रममा सहभागी नहुने बताएका छन्।
२९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ ।
केन्द्रीय समिति सदस्य समेत रहेका विष्टलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।
अनुशासन समितिका कार्यवाहक प्रमुख रमाकान्त रिजालले स्पष्टीकरण सोधिएको विषयमा भने जानकारी दिन अस्वीकार गरे ।
रिजालले अनलाइनखबरसँग भने, ‘छानबिनमा भएको कुरा मिडियामा बोल्न मिल्दैन । उहाँ माथि छानबिन भइरहेको छ । ७/१० दिनपछि थाहा पाउनु हुन्छ ।’
पार्टीमा केही विषयमा द्धिविधा भए स्पष्ट पार्नका लागि स्पष्टीकरण सोध्ने प्रचलन रहेकाले यसलाई ठूलो रुपमा लिनु नपर्ने विष्टले बताए । उनले भने, ‘स्पष्टीकरण सोध्ने/दिने पार्टी पद्धतिमा भइरहन्छ । ठूलो कुरा होइन । मैले स्पष्टीकरण पठाइसके ।’
स्पष्टीकरणका लागि तोकिएको समयावधि र विषय रिजाल र विष्ट दुवैले खुलाउन चाहेनन् ।
विष्ट असार २ मा भारतको मुम्बईमा हुने रास्वपाको कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्लेसँगै जाने तय भएको छ ।
रास्वपा निकट प्रवासी नेपाली सम्पर्क मञ्च भारतको महाराष्ट्र राज्य समितिका प्रथम राज्य भेला आह्वान गरिएको छ ।
भेलाको प्रमुख अतिथिमा उपसभापति डा. वाग्लेलाई निमन्त्रणा गरिएको छ । विष्ट मुम्बइ आउने गरी त्यहाँको समितिले प्रचार गरेपनि उनी त्यहाँको कार्यक्रममा सहभागी नहुने भएका छन् । विष्टले भने, ‘आन्तरिक कामहरु छ । मुम्बईको कार्यक्रममा जान्न होला ।’
स्पष्टीकरण सोधिएका प्रदेश सभापति विष्ट पेशाले इञ्जिनियर हुन् ।
क्यूएफएक्सले ‘अञ्जिला’ फिल्मलाई १०० रुपैयाँ शुल्कमा प्रदर्शन गर्न थालेको छ।
फिल्मले ८ करोड ८४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ र १०० दिन नजिक पुगेको छ।
निर्देशक मिलन चाम्स बेलायत पुगेका छन् र फिल्मको प्रदर्शनलाई समर्थन गरिएको छ।
काठमाडौं । २०८१ सालको सुपरहिट फिल्म ‘अञ्जिला’लाई मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले विहिबारदेखि १०० रुपैयाँ शुल्कमा देखाउन थालेको छ ।
क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टकी प्रबन्ध निर्देशक तृप्ती गिरीले वितरकको निर्णयअनुसार सो शुल्कमा प्रदर्शन थालेको बताइन् । २९ फागुनमा रिलिज भएको मिलन चाम्स निर्देशित फिल्म प्रदर्शनको १०० दिनको नजिक पुगेको छ ।
चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो फिल्म अहिले पनि चलिरहेको छ । विहिबार यो फिल्मका लागि ३ शो तय थिए । निर्माता प्रेमकुमार श्रेष्ठले मुलुकका अन्य हलमा पनि १०० रुपैयाँमा फिल्म देखाउने तयारी भैरहेको बताए ।
उनले भने, ‘सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा चलचित्र देखाउने भनेको छ । यसमा हामीले पनि समर्थन गरेका छौँ । सय दिनसम्म ऐतिहासिक रिलिज भइरहनु नेपाली चलचित्रको लागि सुखद कुरा हो । सबै दर्शकले हेर्न पाउन् भन्ने उद्देश्य लिएका छौँ ।’
चलचित्र विकास बोर्डको बक्सअफिसमा अहिलेसम्म ‘अञ्जिला’ले ८ करोड ८४ लाख ग्रस बराबरको कमाइ गरेको छ । यो फिल्म राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित छ ।
यसमा एन्जिला आफैले शीर्ष भूमिका निर्वाह गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठको अभिनय छ । प्रदर्शनको ९० औँ दिनमा पूर्वमन्त्री सुदन किराँतीले ’अञ्जिला’ हेरेर प्रतिक्रिया दिएका छन् ।
किराँतीले यो फिल्मलाई प्रेरणादायी भएको बताउँदै भनेका छन्, ‘पूर्वी पहाडी भेगको किराँती समाजको यो कथा हेरिरहँदा म आफैलाई हेरिरहेँ, नदेखीकन पटक पटक देखिरहेँ । आँखा बन्द गरिरहेँ तर आँसु झरिरह्यो ।’ यो फिल्म प्रदर्शनको लागि निर्देशक मिलन चाम्स अहिले बेलायत पुगेका छन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपाल–भारतबीच कनेक्टिभिटी र आर्थिक साझेदारी आवश्यक बताइन्।
उनले दुई देशले डिजिटल, ऊर्जा र पूर्वाधार क्षेत्रमा सहकार्य गर्न जोड दिइन्।
मन्त्री राणाले साझा चुनौतीहरू सामना गर्न संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरिन्।
२९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकी छन् ।
नेपाल–भारत रणनीतिक संवादसम्बन्धी बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले नेपाल–भारत बीच व्यापार, पारवहन र लगानीमा सहयोगलाई तीव्रता दिई कनेक्टिभिटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत् समृद्धिमा रूपान्तरण गर्ने समय आएको उनको भनाइ थियो ।
उनले भनिन्, ‘म एउटा यस्तो भविष्यको प्रतिक्षामा छु कि जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बईको बजारमा पुग्छ र एक भारतीय पर्यटक दिल्लीमा बिहानको बैठक सकेर साँझको उडानमा पोखरा पुग्छ । यो त्यस्तो निकटता होस् कि दुई देशका नागरिकको आर्थिक समृद्धिको आधार बनोस् ।’
नेपाल–भारत सम्बन्ध सभ्यताको सुरुवातमा राखिएका जगहरूमा निर्मित रहेका प्रसंग उल्लेख गर्दै मन्त्री डा. राणाले हाम्रा नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति र भावनामा आधारित रहेकाले उनीहरुबीचको जनसम्पर्क, सहकार्य र कनेक्टिभिटीले नै दुवै देशको समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्ने बताइन् ।
नेपाल र भारतले सडक, रेलवे, जलमार्ग, हवाईमार्ग, डिजिटल पूर्वाधार लगायतमा लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाल बढाउनुपर्नेमा उनको जोड थियो । उनले भनिन्, ‘हाम्रा दुई देशबीचको निर्वाध सम्पर्क सञ्जालले क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृंखलाहरूमा मात्र सहयोग गर्दैनन्, पारवहन व्यापार र सीमा अर्थतन्त्रलाई पनि स्तरोन्नति गर्न सक्नेछन् । यसबाट दुवै देशका नागरिक लाभान्वित हुन सक्नेछन् ।’
मन्त्री डा. राणाले हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताउँदै अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरुलाई साझा रुपमा केन्द्रित गर्नुपर्नेमा जोड दिइन् ।
पछिल्लो समयमा ऊर्जा क्षेत्र दुई देशबीचको सहयोगको प्रमुख उदाहरणका रूपमा रहेको बताउँदै मन्त्री राणाले नेपालको विशाल जलविद्युत् सम्भावनाले स्वच्छ, नवीकरणीय ऊर्जा स्रोत प्रदान गर्ने र यो आउने पुस्ताका लागि उपयोगी हुने बताइन् ।
आगामी दशकमा नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने भारतको प्रतिबद्धताले नेपाल–भारत ऊर्जा सहयोगको प्रतितिधित्व गरेको बताउँदै नेपाल र भारतले पारस्परिक रूपमा प्रसारण अन्तरसम्बन्ध, ग्रिड कनेक्टिभिटी र विद्युत् आदानप्रदान, सीमापार बिजुली व्यापार विकास गर्ने सहित विद्युत क्षेत्रमा सहयोगलाई थप मजबुत बनाएका प्रसंग पनि उनले उल्लेख गरिन् ।
मन्त्री डा. राणाले भारतमा ठूलो मात्रामा डिजिटल सिप र नवप्रवर्तन रहेका र नेपालमा बढ्दो युवा र प्रविधि–प्रेमी जनसंख्या रहेको प्रसंग उल्लेख गर्दै भनिन्, ‘हामीले पारस्परिक सहकार्यमा टेक हबहरू, स्टार्ट–अपहरू र डिजिटल नवप्रवर्तन प्लेटफर्महरूलाई प्रवर्धन गर्नुपर्छ र हाम्रा युवाहरूलाई सँगै काम गर्न, प्रविधिको प्रयोग गर्दै समृद्धिको बाटोमा अघि बढ्न दिनुपर्छ ।’
आज विश्व द्रुत प्राविधिक परिवर्तन, परिवर्तनशील भूराजनीतिक गतिशीलतामा रहेको तथा विश्वव्यापी जलवायु परिवर्तनले निम्त्याउने जोखिमहरू बढ्दै गएको अवस्थामा दुई देशबीच साझा चुनौतीसँग जुध्न संयुक्त सहकार्य आवश्यक रहेको बताउँदै नेपालमा हालै सम्पन्न सगरमाथा संवादको पहिलो संस्करणमा भारत सरकारको सहयोग र समर्थनका लागि उनले आभार पनि व्यक्त गरिन् ।
नेपालले आफ्ना छिमेकी र मित्रहरूसँगको साझेदारीमा नयाँ युगमा शान्ति, स्थिरता र समृद्धिको भविष्यको अपेक्षा गरेको बताउँदै मन्त्री डा. राणाले यस प्रकारका प्लेटफर्महरूले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाई विचारहरूको आदानप्रदानलाई प्रवर्द्धन गर्ने र जनता जनता बीचको सम्पर्कलाई थप मजबुद बनाउन सहयोग पुर्याउने बताइन् ।
डिज्नीको यो फिल्मले बक्स अफिसमा अहिलेसम्म ७७१ मिलियन डलरभन्दा धेरै कमाइ गरेको छ । यो फिल्म सन् २०२५ को दोस्रो सबैभन्दा ठूलो हलिउड रिलिज समेत बनेको छ । शीर्ष कमाई गर्ने एनिमेटेड फिल्म ‘ए माइनक्राफ्ट मुभी’लाई समेत यसले उछिनेको छ ।
कम बजेटमा बनेको ‘लिलो एण्ड स्टिच’ले विश्व बक्सअफिसमा ७७१ मिलियन डलरभन्दा बढी कमाइ गर्यो।
फिल्मको सफलता मुख्यत: कलाकारको भूमिका, कथावस्तु र उच्च गुणस्तरको भिजुअल इफेक्टमा आधारित छ।
यसले देखाएको छ कि कम बजेटका फिल्म पनि बलियो कथावस्तु र कन्टेन्टले सफलता प्राप्त गर्न सक्छन्।
काठमाडौं । यतिबेला कम बजेटमा बनेको हलिउड फिल्म ‘लिलो एण्ड स्टिच’को चर्चा छ । बलियो कथावस्तु तर लो-बजेटको यो फिल्म ठूलो स्टार र बिग बजेटको ‘मिसन इम्पोसिबल ८’जस्ताको लागि विश्व बक्सअफिसमा चुनौति बनेको छ ।
डिज्नीको यो फिल्मले बक्स अफिसमा अहिलेसम्म ७७१ मिलियन डलरभन्दा धेरै कमाइ गरेको छ । यो फिल्म सन् २०२५ को दोस्रो सबैभन्दा ठूलो हलिउड रिलिज समेत बनेको छ । शीर्ष कमाई गर्ने एनिमेटेड फिल्म ‘ए माइनक्राफ्ट मुभी’लाई समेत यसले उछिनेको छ ।
यो फिल्म हिट हुनुमा लिलोको भूमिका निर्वाह गर्ने ६ वर्षीया माइया केलोहा र २०२५ लिलोको अराजक साथी बन्ने सानो अदम्य एलियन बीचको चरित्र चित्रण र नयाँ कथावस्तुलाई मानिएको छ । यो फिल्मले विश्वका ठूला अन्तर्राष्ट्रिय बजारमा उछाल कमाइ गरेको छ ।
कलाकारको छनोट र चरित्र चित्रणको गहिराई, उच्च गुणस्तरको भिजुअल इफेक्ट, एल्भिस प्रिस्लेको संगीत र त्योसँग जोडिएको नोस्टाल्जियालाई यसको सफलताको कारण मानिएको छ ।
१०० मिलियन डलरमा बनेको यो फिल्मले विश्व बक्सअफिसमा उति उछाल कमाइ गर्नेछ भनेर सायदैले सोचेका थिए । यो सफलताले कम बजेटमा बनेका फिल्म पनि कथावस्तुमा बलिया हुन्छन् र फिल्ममा कन्टेन्ट बलियो हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।
अर्कोतर्फ, बक्सअफिसमा एकसाथ प्रदर्शनमा आएको टम क्रुजको ‘मिसन इम्पोसिबल ८’ अहिलेसम्म हलिउडमा निर्माण भएको सबैभन्दा महंगो बजेटको फिल्म बताइएको छ । यो फिल्मको बजेट ४०० मिलियन डलर हो । एकातिर महंगो बजेटको फिल्म र अर्कोतर्फ लो-बजेटको फिल्म, यो बक्सअफिस अन्तरविरोधले विश्व फिल्मलाई कन्टेन्ट महत्वपूर्ण हो भन्ने सम्झाएको छ । किनभने ‘मिसन इम्पोसिबल ८’मा क्रुजजस्ता ठूला स्टार एकातिर थिए भने मार्केटिङ रणनीति पनि सोहीअनुसार गरिएको थियो ।
सन् २०२५ को मेमोरियल डे सप्ताहन्तमा ‘लिलो एण्ड स्टिच’ यो अवसरमा सर्वाधिक कमाउने फिल्म समेत बन्यो । यो अहिलेसम्मको सबैभन्दा ठूलो ‘मेमोरियल डे ओपनर’ बन्यो । मिसन इम्पोसिबल ८ ले फ्रान्चाइजीको रेकर्ड त बनायो तर, ‘लिलो एण्ड स्टिच’ले बलियो ओपनिङ गर्यो ।
काठमाडौं जिल्ला अदालतमा तीनकुने घटनाका प्रतिवादीहरूको थुनछेक बहस ९औं दिन पनि जारी छ।
सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् र ६१ जनाविरुद्ध मुद्दा दायर भएको छ।
प्रतिवादीहरूमा केहीलाई धरौटी बुझाएर रिहा गरिएको छ।
२९ जेठ, काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस आज पनि जारी छ ।
काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो ।आज ९औं दिन पनि थुनछेक बहस चलिरहेको हो ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भइरहेको थुनछेक बहसमा सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । ११ जेठमा दायर भएको मुद्दाको १८ दिन बित्दा पनि आदेश आउन सकेको छैन ।
तीनकुने घटनामा प्रतिवादीमध्ये अहिले ३९ जना प्रतिवादी हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । चार जना भने नाबालक रहेकाले भक्तपुर पठाइएको थियो ।
औषधि नीति सुझाव समितिको प्रतिवेदनमाथि नौ संघसंस्थाले आपत्ति जनाएका छन्।
संघसंस्थाले प्रतिवेदन लागू भएमा औषधि आपूर्ति र मूल्यमा समस्या आउन सक्ने चेतावनी दिएका छन्।
उनीहरूले तत्काल औषधि मूल्य नीति कार्यान्वयन गर्न र स्वास्थ्य सेवामा सुधार गर्न माग गरेका छन्।
२८ जेठ, काठमाडौं । औषधिको मूल्यमा सुझाव दिन गठित औषधि नीति सुझाव समितिको प्रतिवेदनमाथि ९ वटा संघसंस्थाहरूले आपत्ति जनाएका छन् ।
प्रतिवेदनमा सेवाग्राही र व्यवसायीहरूलाई मानसिक त्रास, असुरक्षा, लगानीको जोखिम र अपमानको भावनाका साथै चिकित्सक र स्वास्थ्यकर्मीलाई गम्भीर लाञ्छना लगाइएको उनीहरूको भनाइ छ ।
औषधि उत्पादक संघ उपाध्यक्ष सन्तोष बराल उक्त प्रतिवेदनप्रति असन्तुष्टि रहेको बताए ।
‘उक्त प्रतिवेदन कार्यावन्यन हुँदा औषधिको मूल्य प्रत्येक वर्ष तल झर्ने देखिएको छ । भारतबाट आयत हुने औषधिको मूल्य बराबर नै राखिनुपर्छ भन्ने हाम्रो माग हो,’ बरालले अनलाइनखबरसँग भने, ‘यो प्रतिवेदन जस्ताको जस्तै लागू हुने हो भने औषधि आयत गर्न सकिँदैन । केही वर्षमा औषधि आयत नै गर्न नसक्ने अवस्थामा पुग्छौं ।’
उनले औषधिको सस्तो नाराले गुणस्तरीय हुन नसक्ने जिकिर गरे ।
‘गुणस्तरमा ध्यान दिनुपर्छ । भारतमा मूल्य तोक्ने विधि नेपालमा नै त्यहि लागू गर्नुपर्छ हाम्रो माग हो,’ उनले थपे ।
औषधिको मूल्यमा सुझाव दिन गठित औषधि नीति सुझाव समितिको प्रतिवेदन लागु भएमा एक महिनाभित्र औषधिको हाहाकार हुन सक्ने चेतावनी समेत दिएका छन् ।
मंगलबार समितिले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाइएको थियो।
संयुक्त रूपमा विज्ञप्ति जारी गर्ने संघसंस्थामा औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि आयातकर्त संघ, नेपाल मेडिकल एसोसिएसन , नेपाल पशु औषधि व्यवसायी संघ , स्वास्थ्य तथा मेडिकल आपूर्ति संघ, नेपाल आयुर्वेद औषधि उत्पादक संघ, नेपाल निजी अस्पताल संघ र नेपाल औषधि थोक व्यवसायी संघ रहेका छन् ।
समितिले औषधि मूल्य नीतिको प्रभावकारी कार्यान्वयनका लागि तत्काल निर्णय गर्नुपर्नेमा जोड दिँदै हालसम्म मन्त्रालयले कुनै ठोस निर्णय नगरेको आरोप लगाएको छ ।
२०७५ साल माघ २ गते औषधि मूल्य परामर्श परिषद्को निर्णयअनुसार गठित समितिले प्रतिवेदन पेश गरिसकेको भए पनि त्यसलाई सरकार र स्वास्थ्य मन्त्रालयले बेवास्ता गर्दै आएको औषधि स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समिति आरोप छ ।
समितिले औषधि मूल्य निर्धारण, वितरण प्रणाली सुधार, गुणस्तर, आपूर्ति र व्यवस्थापनसम्बन्धी सिफारिसहरू तत्काल लागु गर्नुपर्ने बताएको छ ।
‘प्रतिवेदन कार्यान्वयन नहुँदा स्वास्थ्य सेवामा प्रत्यक्ष असर परेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवेदन कार्यान्वयन नगर्दा औषधि सेवा र स्वास्थ्य क्षेत्रमै नकारात्मक प्रभाव पर्न सक्ने समितिको चेतावनी छ ।
भविष्यमै आउन सक्ने सम्भावित आपतकालीन परिस्थितिमा औषधि आपूर्तिमा समेत समस्या आउन सक्ने भन्दै समितिले पूर्वतयारीका लागि पनि औषधि मूल्य नीति तत्काल लागू गर्नुपर्ने माग गरेको छ ।
समितिले सरकार र सम्बन्धित निकायहरूलाई औषधि, स्वास्थ्य सेवा र सामग्री क्षेत्रको सुधारका लागि सजग भएर जिम्मेवारी वहन गर्न आग्रह गर्दै आवश्यक परेमा थप दबाबमूलक कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ ।
औषधि उद्योग, आयातकर्ता र वितरण व्यवसायीलेले औषधि मूल्य नीति तत्काल लागु नगरे हालको औषधि आपूर्ति प्रणाली थप जटिल हुने र औषधिको मूल्यवृद्धि तथा अभाव जस्ता समस्या आउने चेतावनी दिएका छन् ।
औषधि क्षेत्र सुधार र उपभोक्ताको हितका लागि सरकारले चाँडो कदम चाल्नुपर्ने उनीहरूको माग छ ।
विज्ञप्तिमा भनिएको छ, ‘औषधि परामर्श परिषद्को बैठकले गरेको वैज्ञानिक र भौतिकीय यथार्थमा आधारित निर्णय तत्काल लागु नगरेमा हामी बाध्यात्मक आन्दोलनमा जानुपर्छ ।’
औषधि तथा स्वास्थ्य सेवामा समस्या आएसम्म यसको सम्पूर्ण जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरकारले लिनुपर्ने उनीहरूको चेतावनी छ ।
मध्यपूर्वमा बढ्दो सैनिक तनावले समुद्री व्यापारमा असर पार्न सक्ने बेलायती अधिकारीहरुको चेतावनी छ । पछिल्ला समाचार बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा आपूर्तिमा संकट पर्न सक्ने भयका कारण तेलको मूल्यमा ४ प्रतिशत बढोत्तरी देखिएको छ ।
अमेरिकाले सुरक्षा जोखिम बढेको भन्दै इराकमा आफ्नो दूतावास आंशिक रुपमा खाली गर्न थालेको छ।
इरानमाथि इजरायलले आक्रमणको तयारी गरेको सूचना प्राप्त भएपछि कर्मचारी फिर्ता बोलाउन थालिएको अमेरिकी अधिकारीहरुको भनाइ छ।
तर, इराकबाट कर्मचारी फिर्ता बोलाउने निर्णय खतराका कारण हो वा इरानलाई तर्साउनका लागि हो भन्ने स्पष्ट छैन।
२९ जेठ, काठमाडौं । अमेरिकाले इराकमा रहेको आफ्नो दूतावास आंशिक रुपमा खाली गर्न थालेको छ । इरानसँग तनाव बढ्दै गएपछि अमेरिकाले बग्दादमा रहेको दूतावासका अनावश्यक कर्मचारी र उनीहरुका परिवारजनलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सुरक्षाको उच्च जोखिमका कारण यस्तो कदम चालिएको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि नै अमेरिका र इरानबीच थप तिक्तता बढेको छ ।
अमेरिकी अधिकारीहरुले ठोस कारण नबताएपनि इजरायलले बुधबार इरानमाथि आक्रमणको तयारी गरेको सूचना प्राप्त भएपछि यस्तो निर्णय लिएको बताएका छन् ।
इरानले इराकमा रहेका अमेरिकी प्रशासनिक र सैन्य अड्डामा आक्रमण गर्न सक्ने अधिकारीहरुको चेतावनी छ । अमेरिका र इरानबीच आणविक कार्यक्रमसम्बन्धी वार्तामा प्रगति देखिएको छैन । आणविक कार्यक्रमकै कारण अमेरिकाले इरानमाथि आर्थिकसहित थुप्रै प्रतिबन्ध लगाएको छ ।
मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकोफले वार्ताको छैटौं चरणका लागि तयारी भइरहेको बताएका छन् । उनले आगामी आइतबार ओमानको मस्कटमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेट्ने कार्यक्रम तय भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले भने, ‘हामी हाम्रा सबै दूतावासमा आवश्यक कर्मचारी संरचना निरन्तर मूल्याङ्कन गरिरहेकै छौं, पछिल्लो विश्लेषणअनुसार हामीले इराकमा मिसन कटौती गर्ने निर्णय गरेका हौं ।’
बुधबार राष्ट्रपति ट्रम्पले वाशिङ्टन डीसीस्थित केनेडी सेन्टरमा पत्रकारसँग कुरा गर्दै अमेरिकीहरुलाई इरान आसपासका क्षेत्र छाड्न भनेका थिए । ‘हामीले अमेरिकीहरूलाई त्यस क्षेत्र छोड्न सल्लाह दिएका छौं, किनभने त्यो खतरनाक बन्न सक्ने सम्भावना छ, अब के हुन्छ, त्यो हेर्नैपर्छ’, उनले भनेका थिए ।
राष्ट्रपति ट्रम्पले इरानको आणविक हतियार विकास कार्यक्रममाथिको प्रतिबन्ध कायम राख्ने अडान दोहोर्याएका थिए । इरानको आणविक हतियार विकास कार्यक्रम रोक्ने भन्दै उनले भने, ‘हामी यस्तो हुन दिने छैनौं ।’ प्रतिबन्धका बावजुद इरानले युरेनियम प्रशोधन रोक्नेबारे विश्वास घट्दै गएको उनको आशय थियो ।
यसै साता मात्रै उनले इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहूसँग ४५ मिनेट लामो ‘तनावपूर्ण’ फोनवार्ता गरेका थिए । नेतान्याहूले कूटनीतिक समाधान भन्दा सैन्य कारवाहीमा जोड दिने गर्छन् ।
इराकबाट कर्मचारी फिर्ता बोलाउने निर्णय साँच्चै खतराका कारण हो वा इरानलाई तर्साउनका लागि हो भन्ने स्पष्ट छैन । तर, इरानी रक्षा मन्त्री अजीज नासिरजादेले अमेरिकाले आक्रमण गरे आफ्ना मुलुक आसपासका क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरुलाई निसाना बनाउने चेतावनी दिएका छन् ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले पनि कुवेत, बहराइन लगायतका मध्यपूर्वी देशहरूमा रहेका अमेरिकी सेनाका परिवाजनलाई पनि स्वेच्छिकरुपमा स्वदेश फर्कन अनुमति दिएको रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
बुधबार अमेरिकी काँग्रेसको एक प्यानलमा बोल्दै पेन्टागनका एक अधिकारीले इरान आणविक हतियार विकासमा शक्तिशाली बन्दै गइरहेको संकेत गरेका थिए । तर, इरानले भने युरोनियम प्रशोधन कार्यक्रम आफ्नो आन्तरिक सुरक्षाका लागि भएको दाबी गर्दै आएको छ ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार इराकमा हाल करिब २,५०० अमेरिकी सैनिक तैनाथ छन् । मध्यपूर्वमा बढ्दो सैनिक तनावले समुद्री व्यापारमा असर पार्न सक्ने बेलायती अधिकारीहरुको चेतावनी छ ।
पछिल्ला समाचार बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा आपूर्तिमा संकट पर्न सक्ने भयका कारण तेलको मूल्यमा ४ प्रतिशत बढोत्तरी देखिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल बीच बुधबार भेटवार्ता भएको छ।
कार्यपालिका बैठकको सदस्य सचिव रहने प्रमुख प्रशासकीय अधिकृतलाई बोलाइएको थिएन ।
उनीहरूले छिट्टै कार्यपालिका बैठक राख्ने र विवाद समाधान गर्ने सहमति जनाएका छन्।
बैठकको मिति निश्चित भएको छैन।
२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ ।
केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ ।
‘हिजो लामै बैठक भयो । उपप्रमुख पनि आफ्नो धेरै कुरा राख्नु भयो । प्रमुखले पनि केही कुरा राख्नुभयो । बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक चाहिँ तत्काल राख्ने र अन्य विवादको विषय हल गर्दै जाने कुरो भएको छ । बैठक कहिलेको लागि भनेर निश्चित भएको छैन,’ महानगरका एक वडाध्यक्षले भने ।
कार्यपालिकाको लागि लक्षित बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने बोलाइएको थिएन । ‘जनप्रतिनिधिहरुको मात्रै बैठक भएको हो । उहाँलाई बोलाउन मेयर बालेन इच्छुक हुनुभएन । त्यही भएर खबर नभएको हो’, एक वडाध्यक्ष भन्छन् ।
कार्यपालिका बैठकको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत हुने स्थानीय सरकार सञ्चालन ऐनमा प्रावधान रहेको छ ।
काठमाडौं महानगरको कार्यपालिका बैठक बस्न नसकेको करिब ५ महिना नाघिसकेको छ । १४ पुसमा १६औं नगरसभा बैठक बस्नु अगाडि बसेको कार्यपालिका बैठक त्यसपछि बस्न सकेको छैन ।
गायक प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती सिन्धुपाल्चोकको चौतारामा मनाइयो।
प्रतिष्ठानले विभिन्न संगीतकर्मीलाई नगदसहित सम्मान प्रदान गर्यो।
कार्यक्रममा प्रेमध्वजको जीवन र योगदानको चर्चा र गीत प्रस्तुतिहरू भए।
काठमाडौं । गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती उनकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा मंगलबार मनाइएको छ ।
गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा ४ संगीतकर्मीलाई नगदसहित सम्मान प्रदान गरियो । नगद १ लाख १ रुपैयाँसहित प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट गायिका मीरा राणालाई सम्मान गरियो ।
गायिका राणा कार्यक्रममा सहभागी हुन नसकेपछि सो सम्मान उनको भाई विजेन्द्र मिश्रलाई प्रदान गरिएको थियो । प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मानबाट वाद्य संगीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रुपैयाँसहित पुरस्कृत गरियो ।
प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२ बाट गायक सुरजकुमार थापालाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरियो । प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत सम्मान सिन्धुपाल्चोकका गायक चन्द्रसिंह घलेलाई नगद २५ हजार रुपैयाँसहित प्रदान गरियो ।
प्रतिष्ठानकी संस्थापक अध्यक्ष तथा गायक प्रधानकी पत्नी किरण प्रधान, प्रमुख अतिथि चौतारा सांगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, नगरपालिकाकी उपप्रमुख सीता थापा, गीतकार तथा कवि दिनेशहरि अधिकारी, गायिका तीर्थ थापाले प्रदान गरे ।
प्रतिष्ठानकी कोषाध्यक्ष तथा प्रेमध्वजकी भाञ्जी भुवन मास्केले चौतारावासीको तर्पmबाट गरिएको सम्मान ग्रहण गरेकै हलमा आएर कार्यक्रम गरिएको जनाउँदै खुसी व्यक्त गरिन् ।
गीतकार अधिकारीले प्रेमध्वजको व्यक्तिगत तथा सांगीतिक जीवनबारे चर्चा गर्दै प्रधान व्यक्तिको रुपमा पनि निकै सरल र असल स्वभावको रहेको बताए । उनले सिन्धुपाल्चोकका विद्यार्थी प्रेमध्वजको बारेमा विद्यावारिधी गर्नुपर्ने चर्चा गर्दै चौताराको कुनै स्थल प्रेमध्वजको नाममा नामाकरण गर्न, प्रेमध्वजको नाममा छात्रवृत्ती र पुरस्कार स्थापना गर्नसमेत स्थानिय सरकारलाई आग्रह गरे ।
नगर प्रमुख सापकोटाले प्रेमध्वज राष्ट्रिय विभूतिका साथै सिन्धुका नीधि भएको चर्चा गर्दै उनको नाममा चोक, चौतारा निर्माण गर्न वा उनको योगदानको कदर गर्न कन्जुस्याई नगर्ने बताए ।
कार्यक्रममा गायक सुरजकुमार थापा, चन्द्रसिंह घले र रोशन श्रेष्ठले प्रेमध्वजका गीत प्रस्तुत गरेका थिए । स्थानिय वनदेवी माविका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए ।
गायक प्रधानको २०७८ सालमा निधन भएको थियो । प्रधानको नाममा उनको परिवारले २०७९ सालमा गोल्डेन भ्वाइस प्रेमध्वज स्मृती प्रतिष्ठानको स्थापना गरेको हो । जसले प्रेमध्वजको जन्मजयन्तीको अवसर पारेर प्रत्येक दुई वर्षमा नेपाली सुगम संगीतमा साधनारत संगीतकर्मीलाई सम्मान गर्दै आएको छ ।
कालीमाटी बजारले बिहीबारका लागि मूल्यसूची सार्वजनिक गरी फलफूलको मूल्यमा परिवर्तन देखाएको हो।
झोले स्याउको मूल्य ५ रुपैयाँले बढेर २ सय ४५ रुपैयाँ पुगेको छ।
अनारको मूल्य ६ रुपैयाँ घटेर २ सय २० रुपैयाँमा आएको छ र मौसमको मूल्य ८ रुपैयाँले बढेको छ।
२९ जेठ, काठमाडौं । स्थानीय बजारमा स्याउ र मौसमको मूल्य बढ्दा अनारको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूचीले यी फलफूलको मूल्यमा घटबढ देखाएको हो ।
आज कालीमाटी बजारमा झोले स्याउको मूल्य बढेको छ । हिजो बुधबार प्रतिकिलो २ सय ४० रुपैयाँमा किनबेच भएको झोले स्याउको मूल्य आज ५ रुपैयाँले बढेर २ सय ४५ रुपैयाँ पुगेको छ । यस्तै फुजी स्याउको मूल्य भने प्रतिकिलो २ सय ८२ रुपैयाँ कायम छ ।
आज अनारको मूल्य प्रतिकिलो ६ रुपैयाँ घटेको छ । बुधबार प्रतिकिलो २ सय २६ रुपैयाँमा किनबेच भएको अनार आज २ सय २० रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाएको छ ।
आज मौसमको मूल्य पनि प्रतिकिलो ८ रुपैयाँ बढेको छ । आज मौसम प्रतिकिलो १ सय ९३ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार प्रतिकिलोको १ सय ८५ रुपैयाँ थियो ।
शुक्रबारदेखि काठमाडौंको हलमा नेपाली फिल्म ‘महाभोज’ र हलिउड फिल्म ‘ब्यालेरिना’ तथा ‘हाउ टु ट्रेन योर ड्रागन’ प्रदर्शन हुनेछन्।
‘महाभोज’ सोसल ड्रामा हो र १३३ मिनेटको रनटाइमसहित ११० शो प्रदर्शनमा आएको छ।
‘ब्यालेरिना’ र ‘हाउ टु ट्रेन योर ड्रागन’ले क्रमशः ६५ र ५५ शो पाएका छन्।
काठमाडौं । शुक्रबारदेखि हलमा एक नेपालीसहित ३ फिल्म प्रदर्शनमा आउँदैछन् । नेपाली भाषाको ‘महाभोज’देखि हलिउडको ‘ब्यालेरिना’ र ‘हाउ टु ट्रेन योर ड्रागन’ रिलिज हुँदैछन् ।
‘महाभोज’ सोसल ड्रामा जनरामा आधारित छ । सहकारी संस्थामा वचत गरिएको रकम अपचलन हुँदा यसले वचतकर्ताको सामाजिक र आर्थिक जीवनमा ल्याउने उतारचढावको कथा यसमा छ ।
दिनेश राउत निर्देशित फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछान, अञ्जना बराइली, मलिका महत, आर्यन सिग्देलको अभिनय छ । १३३ मिनेट रनटाइमको फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ ।
‘महाभोज’ले देशब्यापी ११० शो पाएको छ ।
तपाईंले हलिउडको बहुचर्चित एक्सन फिल्म ‘जोन वीक’ हेर्नुभएको छ भने, ‘ब्यालेरिना’ दर्शनीय हुनसक्छ । किनभने, यो फिल्म सोही युनिभर्सको पात्र र कथावस्तुमा आधारित छ । यो फिल्मले देशब्यापी ६५ शो पाएको छ ।
लेन वाइजम्यानद्वारा निर्देशित र शे ह्याटनद्वारा लिखित, फिल्मले एड्रेनालाईनले भरिएको जोन विक ब्रह्माण्डलाई नयाँ र घातक महिला मुख्य शीर्ष कलाकारसहित अघि बढाएको छ ।
एना डे आर्मासले रुनीको भूमिका निर्वाह गरेकी छिन्, जो ‘जोन विक ३’मा प्रस्तुत गरिएको ब्याले–केन्द्रित हत्या कलामा प्रशिक्षित एक युवा हत्यारा हुन् । यो कथाले फ्रान्चाइजीको सिग्नेचर शैलीमा ब्याले, गोली र क्रूर कोरियोग्राफीको मिश्रण गर्दै आफ्नो परिवारका हत्याराविरुद्ध बदला लिन रुनीको अथक प्रयासलाई पछ्याउँछ ।
एडल्ट सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम १२७ मिनेट छ ।
शुक्रबार हलिउडको अर्को बहुप्रतीक्षित फिल्म ‘हाउ टु ट्रेन योर ड्रागन’ समेत प्रदर्शन हुँदैछ । यो फिल्मले देशब्यापी ५५ शो पाएको छ ।
बर्क टापुमा रहेका भाइकिंग र ड्रयागन दुवैलाई विगतको खतराले अहिले पनि चुनौति दिइरहेको छ । यस्तोमा, उक्त खतराको सामना गर्न यी दुईले एक आविष्कारशील भाइकिंग हिचकी र नाइट फ्युरी ड्रयागन टुथलेस बीचको मित्रतामार्फत नयाँ भविष्य निर्माण कार्यमा अघि बढ्छन् ।
पीजी सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम १२५ मिनेट छ ।
व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरे।
उनीहरूले सुनमा लगाइएको कर खारेज गर्न र व्यवसायीमैत्री नीति बनाउन माग गरे।
सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र हिरामा १३ प्रतिशत भ्याट लगाएको छ।
२९ जेठ, काठमाडौं । व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न पनि माग गरेका छन् ।
अहिले सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ ।
व्यवसायीहरूले भने सुन पनि विलासिताको वस्तु नभएको तर्क गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सुनचाँदी कारोबारको लागि व्यवसयीमैत्री एवं उपभक्तामुखी प्रष्ट नीति-नियमावली र निर्देशिका निर्माण गर्न माग गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढाएर १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ।
सुनको भाउ वैशाख ९ गते हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ।
चाँदीको मूल्य १५ रुपैयाँ घटेर २ हजार १ सय ५० मा झरेको छ।
२९ जेठ, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
चाँदी उच्च मूल्यबाट प्रतितोला १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला २ हजार २६५ रुपैयाँ रहेको चाँदी आज २ हजार १ सय ५० मा झरेको हो ।
‘म्युजिक खबर अवार्ड २०८१’ काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले वरिष्ठ गीतकार यादव खरेललाई सम्मान गरे।
अवार्डमा सुगम, आधुनिक, लोकदोहोरी, पप, चलचित्र र म्युजिक भिडियो विधाका उत्कृष्ट कलाकार र सिर्जनाकर्मीलाई सम्मानित गरियो।
आयोजक संस्थाले ५० प्रतिशत निर्णायक, ४० प्रतिशत पब्लिक र १० प्रतिशत आयोजकको भोटबाट उत्कृष्टको चयन गरेको जनाएको छ।
काठमाडौं । ‘म्युजिक खबर अवार्ड २०८१’ प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले वरिष्ठ गीतकार यादव खरेललाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरे ।
५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित उनलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो । ‘पर्यटनको लागिग संस्कृति’ नारासहित म्युजिक खबरले १२ वर्षदेखि अवार्ड गर्दै आएको छ ।
सुगम संगीततर्फ गोविन्दमधुर आचार्य र बबिना भट्टराई सर्वोत्कृष्ट गायक गायिका घोषित भए । आधुनिक विधातर्फ नरहरि प्रेमी ‘घर छोडेको मान्छे’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने ।
महेश आचार्य ‘तिमी सँगै छैनौ’ गीतबाट सर्वोत्कृष्ट गीतकार बने । अन्जु पन्त र नरेश रेग्मीले ‘धर्ती र जुनको कहानी’बाट युगल गायनको अवार्ड चुम्न सफल भए ।
‘एउटा जुन’ गीतबाट सुशीलविक्रम शाहले ध्वनि सम्पादन विधा जिते । ‘ आदत’ गीतबाट विपिन आचार्यले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड चुमे । रुपेश थापाले ‘तिमीबिना चल्दैन’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो छायाकार बन्न सफल भए ।
‘लामपाते सुरती’बाट रविन विकले म्युजिक भिडियो सम्पादनको अवार्ड चुम्न सफल भए । अभिनेता विनोद श्रेष्ठ र उषा सुवेदीले ‘बिदाइ’ गीतबाट म्युजिक भिडियो मोडलको अवार्ड चुम्न सफल भए ।
शान थापाले ‘छुनै हुन्न जस्तो’ गीतबाट म्युजिक भिडियो निर्देशकको अवार्ड चुम्न सफल भए । एलिना चौहानले ‘तिमीबिना चल्दैन’बाट पपुलर सिंगर अफ दि इयरको अवार्ड चुम्न सफल भइन् ।
पपगायनतर्फ प्रेज्वल नेपाली सर्वोत्कृष्ट पप गायक बने । सारिका घिमिरे ‘कलियुगकी राधा’ गीतबाट सर्वोत्कृष्ट पप गायिका बनिन् । रमेश कोइराला सर्वोत्कृष्ट पप गीतकार बने । जुगल डंगोल सर्वोत्कृष्ट पप संगीतकार बन्न सफल भए ।
सुदीप भण्डारी (जिबब) सर्वोत्कृष्ट र्यापर बने । लोकदोहोरीतर्फ गायक सरोज लामिछानेले ‘खोली तरेको’ गीतबाट सर्वोत्कृष्ट गायक लोकदोहोरीको अवार्ड चुम्न सफल भए ।
सुनिता बुढा क्षेत्रीले ‘उजेली’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् । कृष्ण केसीले ‘ठूली’ गीतबाट सर्वोत्कृष्ट संगीत लोकदोहोरी, सन्तोष सापकोटाले ‘बस्यौ अलग्गै’ गीतबाट सर्वोत्कृष्ट गीतकार बने ।
लोकदोहोरीतर्फ सामना शाह ‘आँसुको वर्षात्’ गीतबाट सर्वोत्कृष्ट महिला गीतकार, तेजेन्द्र दूरा ‘तिम्रो जवानी’ गीतबाट सर्वोत्कृष्ट संगीत संयोजक, खड्ग बाजुराली ध्वनि सम्पादनको विधा चुम्न सफल भए ।
मौसम हिमालीले लोकदोहोरी विधातर्फ ‘कश्मिरे पछ्यौरी’ गीतबाट सर्वश्रेष्ठ म्युजिक भिडियो निर्देशकको अवार्ड जिते । बादल घिमिरेले ‘कसम तोड्ने भा’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष र अस्मिता पुरीले फूलमाया गीतबाट सर्वोत्कष्ट म्यूजिक भिडियो मोडल महिलातर्फको अवार्ड चुम्न सफल भए ।
चलचित्र विधातर्फ गीतकार प्रमोद ढुंगाना फिल्म ‘उपहार’को ‘हारेको छैन’ गीतबाट सर्वोत्कृष्ट चलचित्र गीतकार बन्न सफल भए । अर्जुन पोखरेल ‘ज्वाइँसाब’ फिल्मको ‘कसम बत्तिको’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने ।
‘दिमाग खराब’को ‘झम्के झमाझम’ गीतबाट सुमिन खड्का र नम्रता खरेल सर्वोत्कृष्ट पाश्र्वगायक गायिका बन्न सफल भए । सविन सुवेदीलाई ‘छक्कापञ्जा ५’को ‘विहे भाको छैन’ गीतबाट इन्करेजमेन्ट अवार्ड प्रदान गरियो ।
उत्कृष्ट पाँचमा परेका मध्येबाट सर्वोत्कृष्ट बन्नका लागि निर्णायकको तर्फबाट ५० प्रतिशत पब्लिकको तर्फबाट (भोट) ४० प्रतिशत र आयोजकको तर्फबाट १० प्रतिशत गणना गरि गीतको मूल्यांकन गरिएको आयोजक संस्थाले जनाएको छ ।
‘एपीटी’ गीत सन् २०२४ अक्टोबरमा ब्रुनो मार्स र ब्ल्याकपिंकी रोजको सहकार्यमा सार्वजनिक भयो।
यो गीतले युट्युब र स्पोटिफाइमा रेकर्ड तोड्ने सफलता हासिल गरेको छ र विभिन्न पुरस्कार जितेको छ।
गीतको प्रेरणा कोरियाली खेल ‘अपार्टमेन्ट गेम’ बाट लिइएको हो र यसले सांस्कृतिक सीमाहरू पार गरेको छ।
विश्व संगीतमा अहिले अत्यन्त चर्चमा रहेको गीत हो ‘एपीटी’ । सम्भवत: तपाईंले यो गीतको केही अंश टिकटक, रिल्स, युट्युब सर्ट्स आदिमा सुन्दै आउनुभएको हुन सक्छ । ब्रुनो मार्स र ब्ल्याकपिंकी रोजको सहकार्यमा सन् २०२४ अक्टोबरमा सार्वजनिक यो गीतले रेकर्डमाथि रेकर्ड थपिरहेको छ ।
यो गीत विगत ७ महिनादेखि युट्युबको ग्लोबल ट्रेन्डिङमा छ । अनि हालै मात्र लगातार ३३औं सातासम्म बिलबोर्डको ‘हट्स १००’ मा समावेश हुँदै कीर्तिमान रचेको छ । रेकर्डकै कुरा गर्दा यसले ७ दिनभित्र स्पोटिफाइमा १०० मिलियन र १०० दिनभित्र १ बिलियन स्ट्रिम्सको आँकडामा पार गरेको थियो ।
इन्टरनेसनल फेडरेसन अफ द फोनोग्राफिक इन्डस्ट्री (आईएफपीआई) का अनुसार २०२४ मा विश्वभर सबैभन्दा बढी बिक्री हुनेमा यो गीत १७औँ नम्बरमा रहेको थियो । अमेरिकाको ग्लोबल एक्सक्लुसिभ चार्टमा लगातार १८ हप्तासम्म शीर्षस्थानमा रहेर यसले हालसम्म कायम नभएको कीर्तिमान राखेको थियो ।
सामाजिक सञ्जालमा लाखौं पटक प्रयोग गरिएको यो गीतले एसिया आर्टिस्ट अवार्ड्स २०२४ मा ‘सङ अफ त इयर’, जापान गोल्ड डिस्क अवार्ड्स २०२५ मा ‘सङ अफ त इयर बाइ स्ट्रमिङ’, एमटीभी भिडियो म्युजिक अवार्ड्स जापानमा ‘बेस्ट कोल्याब्रेसन भिडिओ’ सहितका अन्य थुप्रै पुरस्कार जितेको छ ।
यी सबै हुनुको बाबजुद यो गीतले के-पप र पश्चिमी संगीतलाई जोड्दै सांस्कृतिक तथा भौगोलिक सीमाहरू पार गरेको छ । लाखौं श्रोताहरूको मन फुरुङ्ङ पारेको छ । यस्तो गीतको कस्तो छ त कथा ?
गीतको जन्म
गीतको बोल ‘एपीटी’ (APT) र कोरसमा आउने ‘अपार्टमेन्ट’ (कोरियाली भाषामा ‘आपतेउ’) पिएर खेल्नु पर्ने कोरियाली खेल ‘अपार्टमेन्ट गेम’बाट प्रेरित छ । खासमा यो गीतको रचना गर्भ नै यस खेलसँग जोडिएको छ ।
रोज स्वयंले भनेकी छिन् कि, उनलाई आफ्नो घरमा साथीहरूसँग यो खेल खेल्न खुबै मनपर्छ । एकपटक स्टुडियोमा यही खेल अरूसँग खेल्ने क्रममा खेललाई लिएर गीत बनाउने विचार उनलाई फुरेको थियो । तर तत्कालै उनले गीत बनाएकी थिएनन् । सो परियोजनामा ब्रुनो जोडिएपछि भने गीतको रचना पूरा भएको थियो ।
कस्तो हो ‘अपार्टमेन्ट’ खेल ?
समूहमा खेलिने यो खेल दक्षिण कोरियामा अत्यन्त लोकप्रिय छ । यसमा सहभागी सबै खेलाडीले आफ्ना हातहरू एक-अर्काको माथि टेबलको बीचमा राख्छन् । त्यसरी राखेपछि ती हातहरूको संरचनालाई अपार्टमेन्ट भवनको फ्लोर वा तलाको रूपमा कल्पना गरिन्छ ।
अब समूहमा तोकिएको एक जना लिडरले अनियमित रूपमा कुनै एक सङ्ख्या भन्छ । त्यो संख्याले अपार्टमेन्टको तलालाई जनाउने गर्छ । अब सबैभन्दा तल हात हुने खेलाडीले आफ्नो हात निकालेर सबैभन्दा माथि राख्छ । त्यो क्रममा उसले प्रत्येक हातहरू ठूलो स्वरमा गन्दै जान्छ ।
अनि लिडरले भनेको नम्बर जुन खेलाडीको हातसँग मिल्छ, उसले दण्डस्वरूप कुनै पेय पिउनुपर्ने हुन्छ ।
यस खेलमा खेलाडीको संख्या यति नै हुनुपर्छ अथवा यो नै मदिरा पिउनुपर्छ भन्नेबारे कुनै निश्चित नियम छैन । अहिले दक्षिण कोरियामा ठूलो जनसंख्या अपार्टमेन्ट भवनमा बस्ने गर्छन् । त्यस्ता भवन ३० तलाभन्दा बढी हुन सक्छन् । सोहीकारण यस प्रकारको खेलको सुरुआत भएको कथनहरू चलनचल्तीमा छन् ।
गीतका सर्जक
गीतको चर्चा गरिरहँदा सर्जकहरूको चर्चा गर्न भुल्नु हुन्न । तीमध्येको प्रमुख रोज (वास्तविक नाम रोजेन पार्क) सन् १९९७ फेब्रुअरी ११ मा न्युजिल्यान्डमा जन्मिएर अस्ट्रेलियामा हुर्किएकी थिइन् ।
विश्वभर उनी प्रसिद्ध के-पप समूह ब्ल्याकपिंक (दक्षिण कोरियाको महिला कला समूह) को सदस्यका रूपमा चिनिन्छिन् । सन् २०२१ देखि भने उनले आफ्नो एकल करियर सुरु गरिन् । ‘अन द ग्राउन्ड’ नामक ट्य्राकबाट एकल करियर सुरु गरेकी उनले सन् २०२४ डिसेम्बर ६ मा ‘रोजी’ नामको एल्बम सार्वजनिक गरेकी थिइन् ।
यता ब्रुनो मार्स आफैंमा चर्चित अमेरिकी पपस्टार हुन् । विशेषगरी आर एन्ड बी (संगीतमा देखिएको पछिल्लो शैली) र पप संगीतका कारण उनी परिचित छन् । उनले रोज, लेडी गागासहित अन्य थुप्रै कलाकारहरूसँग सहकार्य गरिसकेका छन् ।
रोज र ब्रुनो मार्सबीचको यस कामलाई धेरैले ‘प्रभावशाली’ र ‘सहकार्यको शिखर’ भनेर वर्णन गरिरहेका छन् । तर उनीहरूको सम्बन्ध भने रोजले ब्रुनो मार्सलाई ‘अपार्टमेन्ट गेम’सँग परिचय गराउँदादेखि भएको मान्न सकिन्छ ।
किनकि यो गीत सार्वजनिक हुनुअघि नै उनीहरूले इन्स्टाग्राममा सँगै यस खेल खेलेको र रोजले मार्सलाई कोरियाली भाषा सिकाएको भिडियोहरू शेयर गरेका थिए ।
यद्यपि गीतको निर्माणमा रोज र ब्रुनो मार्स विशेष भए पनि यो उनीहरूको एउटा समूहले लेखेको हो । जसमा उनीहरू बाहेक एमी एलन, क्रिस्टोफर ‘ब्रडी’ ब्राउन, फिलिप लरेन्स, थेरन थोमस, रोगेट चाहायेद, ओमर फेडी र सर्कट छन् । यसबाहेक गीत बनाउन प्रेरणा लिइएको अन्य सिर्जनाको स्रष्टालाई पनि लेखन श्रेय दिइएको छ ।
ब्लकबस्टरको उत्पादन खर्च र आम्दानी
यो ब्लकबस्टर गीत बनाउन कति खर्च लाग्यो भन्ने डेटा प्रत्यक्ष रूपमा उपलब्ध छैन । तथापि गीत उत्पादनमा चर्चित स्टारहरू जोडिनु, त्यसमा पनि स्तरीय रेकर्डिङ, भिडिओ र ब्रान्डिङ हुनुले राम्रै खर्च भएको अनुमान गर्न सकिन्छ ।
यता उपलब्ध मेट्रिक्सका आधारमा भने यो गीतले उल्लेखनीय आर्थिक सफलता हासिल गरेको भन्न सकिन्छ । गीत विभिन्न स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध छन् । जसमा यो गीतले रेकर्ड ब्रेकिङ स्ट्रिम पाएको छ ।
एक कोरियन मिडियाका अनुसार गीत रिलिजको दुई हप्तामा मात्रै १३.३ अर्ब कोरियन वन बराबर आम्दानी भएको भएको थियो । यो रकम स्ट्रिमिङ् सेवाहरूबाट मात्र भएको थियो । तर अहिले गीत रिलिज भएको पनि निकै लामो समय भइसकेको छ ।
त्यसमा पनि अन्य स्रोतबाटका आय (जस्तै: एल्बम विक्री, रेडियो रोयल्टी इत्यादि) सार्वजनिक भएका छैनन् । तर आम्दानी धेरै भएको भन्नेमा भने शंका छैन ।
गीतको सांगीतिक तत्व
यो गीतलाई विधागत रूपमा भन्दा पप-पङ्क, इन्डी रक र इलेक्ट्रोपपको मिश्रण भन्न सकिन्छ । गीतमा एक प्रकारको उत्साह र आकर्षण पाउन सकिन्छ । चञ्चलता, रमाइलो, मोहक भएकाले यस गीतले श्रोतालाई सजिलै तान्न सक्छ । गीतमा वेभ नोस्टाल्जिया (पुरानो सम्झनाहरूबाट प्रेरित सांगितिक शैली) का झल्को पनि दिइएको छ ।
गीतमा टोनी बसिलको १९८२ को हिट ‘मिक्की’को अंश पनि राखिएको छ । यो गीतमा अङ्ग्रेजी र कोरियन भाषा प्रयोग भएको छ । यसले गर्दा नयाँ शैली लाग्नु स्वभाविक नै छ ।
विशेषगरी यो गीतमा पार्टीको माहोल छ । गीतले युवाको सहजता र जिम्मेवारीभन्दा आनन्दलाई प्राथमिकता दिने भावनालाई जोड दिएको छ । ‘भोलि सुतौंला, तर आज राति रमाइलो गरौं’ जस्ता शब्दहरूले यो कुराको पुष्टि गर्छन् । गीतको पृष्ठभूमि नै रमाइलो पार्टी भएकाले दुवै कलाकारले गीतभर त्यसको भाव आउने गरी गायक छन् ।
सफलताको कारण
‘एपीटी’लाई मिलेको विश्वव्यापी सफलताका मुख्य कारणहरूमा कोरियाली खेल ‘अपार्टमेन्ट’, फरक भूगोलका चर्चित दुई कलाकारहरूबीचको सहकार्य, गीतमा भएको विधागत मिश्रण, सामाजिक सञ्जाल, मार्केटिङ रणनीतिहरू पर्छन् ।
यससँगै कलाकारहरूको रेकर्ड लेबल (गीत/संगीतको उत्पादन, बजारिकरण, वितरण र प्रवर्द्धन गर्ने कम्पनी) सँगको सम्बन्धलाई पनि कारण मान्न सकिन्छ ।
यो गीतको रेकर्ड लेबल द ब्ल्याक लेबल र एट्लान्टिक रेकर्ड्स हुन् । यीमध्येमा द ब्ल्याक लेबलसँग रोज र एट्लान्टिक रेकर्ड्ससँग ब्रुनो मार्सको लामो समयदेखि सहकार्य हुँदै आइरहेको थियो ।
समग्रमा बिल्कुलै भिन्न दुई फरक संगीत उद्योग (के-पप र पश्चिमी पप) का प्रमुख कलाकारहरू भिन्न र कहिल्यै नसुनिएको धुन लिएर आउनु नै यो गीतको सफलताको प्रमुख कारण हो ।
कालीमाटी बजारमा बिहीबार लोकल र भारतीय लिचीको मूल्य घटेको छ।
लोकल लिचीको मूल्य प्रतिकिलो १४ रुपैयाँले घटेर ११६ रुपैयाँमा पुगेको छ।
भारतीय लिचीको मूल्य प्रतिकिलो २०५ रुपैयाँबाट २०४ रुपैयाँमा झरेको छ।
२९ जेठ, काठमाडौं । बजारमा लिचीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार लिचीको भाउ घटेको देखाएको हो ।
अहिले कालीमाटी बजारमा लोकल र भारतीय गरी २ प्रकारका लिची किन्न पाइन्छ । आज लोकल लिचीको भाउ प्रतिकिलो १४ रुपैयाँले घटेको हो । बुधबार प्रतिकिलो १३० रुपैयाँमा कारोबार भएको लोकल लिचीको भाउ आज प्रतिकिलो ११६ रुपैयाँ कायम छ ।
यस्तै भारतीय लिचीको भाउ सामान्य घटेको छ । हिजो बुधबार प्रतिकिलो २०५ रुपैयाँमा कारोबार भएको भारतीय लिची आज प्रतिकिलो २०४ रुपैयाँमा कारोबार भइरहेको छ ।
जेठ पहिलो सातादेखि बजारमा लिची आउन थालेको थियो । त्यतिबेला लिची प्रतिकिलो अधिकतम ३०० देखि औसत २७६ रुपैयाँसम्म कारोबार भएको थियो ।
२९ जेठ, त्रिवेणी । नवलपरासी पूर्वको दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी सिमेन्ट उद्योगको गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।
गत पुसमा भारततर्फबाट आउने ओभरलोड गाडी गुड्दा अधिक भारका कारण पुल भाँचिएको थियो । पुल भत्किने जोखिम बढेपछि अधिक भारवहन भएका गाडी डाईभर्सनबाट गुड्ने गरेका थिए ।
यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ बनाइएको पुल दोस्रो सातादेखि सञ्चालन गर्ने योजना छ ।
प्रधानमन्त्रीले आफू झोले भएको कबुल गरेपछि दलहरूले यसलाई सामाजिक र राजनीतिक पहिचानको रुपमा प्रचार गरे।
गनेस पौडेलले 'नायक हत्या' शृङ्खलामा मानव सभ्यताको इतिहास र नेपालको राजनीतिक परिदृश्यमा नायकहरूको हत्या र छायाँकरणको चर्चा गरे।
काठमाडौंका मेयर बालेन शाहको स्वतन्त्र र जनमुखी कार्यशैलीले ठूला दलहरूलाई चुनौती दिँदै उनीमाथि असहयोग र आक्रमण भइरहेको छ।
शब्दहरूको अर्थ सधैं शब्दकोशमा हेरेर हुँदैन, यसलाई सामाजिक जीवनमा हेर्नुपर्छ। खासगरी राजनीतिको वरिपरि बसेर राजनीतिबाट आजीवन फाइदा लिने र शक्तिको वरिपरि रहनको निम्ति आफ्नो विवेकलाई बन्धक लगाउने अर्थमा चर्चित रहँदै आएको छ ‘झोले’ शब्द। प्रधानमन्त्रीले नै कबुल (कन्फेस) गरेर आफू झोले भएको सार्वजनिक जानकारी गराए।
त्यसपछि प्रधानमन्त्री सम्बद्ध दलका अर्थमन्त्रीदेखि महासचिव हुँदै सबैले त्यही पोस्टर सेयर गर्ने लहर चलाए। यस्तो लाग्यो कि यो उनीहरूले आर्जन गरेको नयाँ पहिचान हो। उनीहरूमा संस्कृति बन्दै गरेको झोले जिन्दगीको प्रवृत्तिलाई उजागर गर्न सहज हुने देखेर यो शब्दलाई आलेखमा प्रयोग गर्ने निर्णय गरेको हुँ।
नायक हत्याको शृङ्खला बोकेको समाज
केही समयदेखि लेखक गनेस पौडेलले आफ्नै सोलोकास्ट मार्फत महाभारत कथाको विवेचना गरिरहेका छन्। उनैले एउटा शृङ्खला ‘नायक हत्या’ यो समाजमा कति गहिरो गरी बसेको छ भन्ने विवेचना गर्दा कैयौं पौराणिक सन्दर्भदेखि आजको समयमा समेत त्यसका उदाहरणहरू दिएका छन्।
पौराणिक समाजदेखि आधुनिक युगसम्म, मानव सभ्यताको इतिहासमा नायकहरूको निर्माण र तिनको हत्या शृङ्खला निरन्तर चलिरहेको छ। यस्तो अभ्यास नेपालको राजनीतिक परिदृश्यमा पनि स्पष्ट देखिन्छ। महाभारत सम्बन्धी सोलोकास्ट ‘नायक हत्या’ शृङ्खलामा उनले महाभारतका पात्रहरू— जस्तै भीष्म, कर्ण, द्रोणाचार्य, भीम, नकुल र सहदेवको नायकत्वलाई अर्जुनको महिमामण्डनका लागि कसरी छायाँमा पारियो भन्ने देखाएका छन्।
नेपालको सन्दर्भमा आधुनिक नेपालको प्रशासनिक आधार तयार पारेका पृथ्वीनारायण शाहदेखि सुरु गरेर भीमसेन थापा कसरी षड्यन्त्रको सिकार बनाइयो ? लोकतन्त्रको जग बलियो बनाउन संघर्ष गरेका बीपी कोइरालाले जेल र अपमानको सामना किन गर्नुपर्यो भनेर लेखक पौडेलले उल्लेख गरेका छन्।
उनले त्यसमा हालैका उदाहरणमा कुलमान घिसिङ, जसले विद्युत् क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याए, उनलाई पनि बर्खास्ती र विवादको घेरामा पार्ने प्रयास भयो भनेर उल्लेख गरेका छन्।
यो ‘नायक हत्या’को प्रवृत्ति आज काठमाडौंका मेयर बालेन शाहमाथि पनि लागू भइरहेको देखिन्छ, जो युवा पुस्ताको आशा र नयाँ राजनीतिको प्रतीक बनेका छन्। बालेनले काठमाडौंमा विभिन्न अवरोधका बीच पार्किङ व्यवस्थापन, सीप मेला, सांस्कृतिक पुनर्जागरण र फोहोर व्यवस्थापन जस्ता जनमुखी कामहरू मार्फत पारदर्शी र निष्ठावान् नेतृत्वको उदाहरण प्रस्तुत गरेका छन्।
तर, ठूला दलहरू र बौद्धिक वर्गको एक हिस्साले उनको यो नायकत्वलाई कमजोर पार्ने रणनीति अपनाइरहेको देखिन्छ। बालेनमाथि विभिन्न आरोप, बदनाम गर्ने प्रयास र सत्ताको अवरोधले यही प्रवृत्तिलाई पुष्टि गर्छ।
उदाहरणका लागि, उनले काठमाडौंको फोहोर व्यवस्थापनमा गरेको प्रगति र सांस्कृतिक सम्पदाको संरक्षणमा देखाएको अठोटलाई कतिपयले व्यक्तिगत स्वार्थ वा प्रचारको रूपमा चित्रण गर्ने प्रयास गरेका छन्। यस्ता प्रयासहरूले उनको नायकत्वलाई ‘हत्या’ गर्ने उद्देश्य राख्छन्, जसरी महाभारतमा कर्णको दानवीरताको उपयोग उनकै विरुद्ध गरियो वा भीमको बललाई गीताको छायाँमा पारियो।
राजनीतिक एकाधिकारको समस्या
नेपालको राजनीतिक परिदृश्य लामो समयदेखि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको कब्जामा घुमिरहेको छ। गणतन्त्रको उदयसँगै यी दलहरूले सत्ताको बागडोर सम्हालेका छन्, र केही पहिचानवादी दलहरू र बेलाबखत आउने राजावादीहरूको उपस्थिति बाहेक, नेपालको राजनीति यिनै प्रमुख दलहरूको वरिपरि केन्द्रित छ।
यो परिदृश्यलाई समाजको चरम राजनीतीकरणले थप बल पुर्याएको छ। शिक्षक, कर्मचारी, न्यायालय, उद्योग–वाणिज्य संगठन, बुद्धिजीवी समूह, पेशागत संगठनदेखि गाउँका खानेपानी समितिसम्म, हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेपको गहिरो जरा गाडिएको छ।
यस्तो अवस्थामा यी दलहरूले जति नै अलोकप्रिय भए पनि, जति नै भ्रष्टाचार र बदमासी गरे पनि, निर्वाचनमा जित हासिल गरिहाल्छन् भन्ने आत्मविश्वास बोकेका छन्। उनीहरू आफूलाई सत्ताको स्वाभाविक हकदार ठान्छन्, मानौं सत्ता उनीहरूको जन्मसिद्ध अधिकार हो।
तर, यो आत्मविश्वासको आधार क्रमशः खण्डित हुँदैछ। देशमा सामान्य रोजगारीका अवसरहरूको अभाव, युवाहरूलाई स्वदेशमै टिकाउने आधारहरूको क्षयीकरण, र गाउँहरू रित्तिंदै गएको दु:खद् वास्तविकताले जनताको मनमा निराशा र आक्रोश बढाएको छ। अबको केही दशकमा सिंगो युवा पुस्ता विदेश पलायन भएको देख्नुपर्ने संकट गहिरिंदैछ।
यस्तो अवस्थामा ठूला दलहरूको नेतृत्वमा रहेको सरकारले प्रभावकारी काम गर्न नसक्दा, र बारम्बार सत्ताको दुरुपयोग गर्ने घटनाहरू बाहिर आउँदा, जनताको विश्वास झन् खस्किएको छ। हालै लन्च भएको रेटमाइनेता प्लेटफर्ममा नेताहरूलाई प्राप्त अपभोट र डाउनभोटले यो सत्यलाई प्रष्ट पार्छ। त्यो प्लाटफर्ममा हालसम्म ठूला राजनीतिक दलहरूका ठूला नेताहरू कसैको पनि १५ प्रतिशत पनि अप्रुभल रेटिङ छैन भने नयाँ पार्टीका नेता तथा स्वतन्त्रहरूको रेटिङ निकै राम्रो छ।
अंकमै भन्दा केपी ओली, गगन थापादेखि शेरबहादुर देउवाहुँदै धेरै नेताहरूको रेटिङ १० प्रतिशत भन्दा कम छ भने अर्कोतर्फ बालेन शाह, गोपी हमाल, सागर ढकाल, सुमना श्रेष्ठदेखि सोबिता गौतमसम्मको रेटिङ ९२ प्रतिशतभन्दा माथि छ।
हुन त यस्ता प्लेटफर्महरूले सम्पूर्ण जनसंख्याको राय प्रतिनिधित्व नगरे पनि ठूला दलहरूको जनसमर्थन, विशेषगरी युवा पुस्तामाझ स्वात्तै घट्दै गएको संकेत गर्छ। युवाहरूले यी दलहरूको गतिविधिमा आफूलाई सम्बन्धित देख्न छाडेका छन् र यो असन्तुष्टिको आगोले नयाँ राजनीतिक सम्भावनाहरूलाई जन्म दिएको छ।
गत निर्वाचन : नसोचेको खोलाले बगाएको क्षण
बालेनसँग चुनाव लडेकाहरू ।
हुनत २०७४ कै स्थानीय निकायको निर्वाचनमा रन्जु दर्शना र किशोर थापाले अपत्यारिलो भोट लेराएकै हुन्। त्यसले २०७९ को मेयरको चुनावमा मान्छेहरूले नयाँ व्यक्तिलाई भोट हाल्ने सम्भावना त देखिएकै थियो तर बाजी नै मार्ने हैसियतमा पुग्छन् भन्ने धेरैलाई लागेको थिएन तर त्यो स्थानीय र आम निर्वाचनले नेपालको राजनीतिक परिदृश्यमा एउटा नयाँ अध्यायको प्रारम्भ गरेको छ।
स्वतन्त्र उम्मेदवारहरूले स्थानीय निकायको चुनावमा ल्याएको मत र त्यसलगत्तै भएको राष्ट्रिय चुनावमा दल खोलेर ६ महिनामै भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले ठूला दलहरूलाई अप्रत्यासित झट्का दिएको थियो।
निर्वाचनअघि यी दलहरूले सामाजिक सञ्जालको लोकप्रियता र शहरी जनमतलाई गम्भीरतापूर्वक लिएका थिएनन्। उनीहरूले यस्ता शक्तिहरूले केही मत त प्राप्त गर्न सक्लान्, तर ठूलो खतरा बन्न नसक्ने ठानेका थिए। तर, काठमाडौं महानगरपालिका लगायत केही उपमहानगरहरूमा स्वतन्त्र उम्मेदवारहरूको विजय र रास्वपाको अभूतपूर्व सफलताले उनीहरूको यो भ्रम चकनाचूर भएको छ।
रास्वपाले शहरी क्षेत्रमा ल्याएको मत र यसको प्रभावको कुरा ठूला दलहरूले राम्ररी बुझेका छन्। यस्ता नयाँ शक्तिहरूलाई कमजोर पार्न उनीहरूले विभिन्न रणनीति अपनाइरहेका छन्। नयाँ दललाई सरकारमा सहभागी गराएर फकाउने, नफकिएमा धम्काउने, असहयोग गर्ने वा घेराबन्दी गरेर बदनाम गराउने जस्ता कार्यहरूमा उनीहरू सक्रिय छन्।
उदाहरणका लागि, एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा र रवि लामिछानेप्रति देखाएको छोटो अवधिको सद्भाव त्यसैको एउटा हिस्सा थियो। रास्वपालाई सरकारमा सहभागी गराएर उनीहरूको नैतिक धरातल कमजोर बनाउने प्रयास सफल भएको देखिन्छ। रास्वपाले संसद्मा २१ सिट जिते पनि, रवि लामिछानेमाथिको कानूनी कारबाहीले उनीहरूको प्रभाव कम भएको छ। यसले ठूला दलहरूलाई रास्वपाबाट तत्काल ठूलो खतरा नरहेको आत्मविश्वास दिएको छ।
यही अवस्थामा उनीहरूको निशानामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह परेका छन्। ठूला दलहरूले उनलाई बदनाम गर्ने, कमजोर पार्ने र उनको प्रभावलाई सिध्याउने रणनीति अख्तियार गरेको प्रष्ट देखिन्छ। तर, यो केवल व्यक्तिगत आक्रमण होइन; यो एउटा ठूलो आक्रमणको हिस्सा हो— जसको उद्देश्य वैकल्पिक राजनीतिक शक्तिको उदयलाई रोक्नु हो।
बालेन शाहमाथि किन आक्रमण?
धेरैलाई लाग्न सक्छ, बालेन शाहलाई सिध्याएर ठूला दलहरूले के प्राप्त गर्लान्? वा, बालेन को हुन् र उनलाई यति धेरै डराउनुपर्ने कारण के हो? यो प्रश्नको जवाफ बुझ्न उनको प्रभाव, उनको कार्यशैली र उनले प्रतिनिधित्व गर्ने सम्भावनालाई गहिरिएर हेर्नुपर्छ।
विश्वका धेरै राजधानीका मेयरहरूले ठूलो राजनीतिक पूँजी आर्जन गरेको इतिहास छ। उदाहरणका लागि, टर्कीको इस्तानबुल शहरका मेयरमाथि राष्ट्रपतिले गरेको षड्यन्त्रको विरोधमा लाखौं मानिस सडकमा उत्रिएका थिए। यस्तै कैयौं ठूला शहरहरूका मेयर त्यो देशको एक हिसाबले भावी कार्यकारी नेता हुने प्रचलन छ।
नेपालमा पनि बालेन शाह केवल काठमाडौंका मेयर मात्र होइनन्; उनी नयाँ राजनीतिको आशाको प्रतीक बनेका छन्। उनको निडर र पारदर्शी कार्यशैलीले विशेषगरी युवा पुस्तालाई आकर्षित गरेको छ।
बालेनले ठूला दलका नेताहरूसँग कुनै पनि प्रकारको लेनदेन वा सम्झौता गरेका छैनन्। उनको यो स्वतन्त्र र अडिग छविले ठूला दलका नेताहरूलाई असहज बनाएको छ। विशेषगरी हालका प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा एमालेले बारम्बार उनको सार्वजनिक आलोचना गरेका मात्र छैनन्, सकेसम्म घेराबन्दीमा पारेर सिध्याउने लक्ष्य राखेका छन्।
संघीय सरकारको नियन्त्रणमा रहेका कार्यकारी प्रमुखहरू र स्थानीय तहका कांग्रेस र एमालेका जनप्रतिनिधिहरूलाई प्रयोग गरेर बालेनमाथि असहयोग र घेराबन्दी गर्ने रणनीति अपनाइएको देखिन्छ। उदाहरणका लागि, कुनै कर्मचारीले गल्ती गरेको विषयमा बालेनले कारबाही गर्न खोज्दा ती कर्मचारीको सरुवा नगरेर वा अन्य जनप्रतिनिधिहरूलाई उचालेर उनलाई कमजोर बनाउने प्रयास भएको छ। यस्ता घटनाहरूले ठूला दलहरूको नियत स्पष्ट पार्छ— बालेनलाई असफल बनाएर उनको जनसमर्थनलाई खण्डित गर्नु।
त्यसैको योजना अनुसार केपी ओली प्रधानमन्त्री बन्नासाथ काठमाडौं महानगरको कार्यकारी अधिकृत परिवर्तन गरे। उनले एक कर्मचारी पठाए, उनीमाथि काठमाडौं महानगरको कार्यालयमा प्रवेश गरी नक्सापासको प्रणालीलाई बाइपास गरेर अनियमित तरिकाले नक्सा पासको अनुमति दिएको आरोप लागेको छ। स्वयं मेयरले उनलाई छानबिन गर्दा समेत केन्द्रीय सरकारले अर्को कार्यकारी अधिकृत नपठाई उनैलाई प्रयोग गरी अहिले मेयर शाहको दाहिने हात मानिने प्रहरी प्रमुखलाई बर्खास्त गराएको छ।
उपमेयर सुनिता डंगोलसँग बालेन । एमालेले अहिले सुनितालाई प्रयोग गरेर बालेनलाई कमजोर बनाउन खोजिरहेको छ ।
उपमेयर सुनिता डंगोलको अगुवाइमा निलम्बित प्रमुख प्रशासकीय अधिकृतलाई पुनर्बहाली गरेर बालेनलाई पहिल्यै कमजोर बनाइएको थियो। यो घटनाले ‘हामी झोले हौं र यसमा गर्व गर्छौं’ भन्ने राजनीतिक समूहको वर्चस्वलाई झल्काउँछ, जुन प्रधानमन्त्रीदेखि कार्यकर्तासम्म फैलिएको छ।
बालेनलाई किन उनीहरू खतरा देखिरहेका छन् ?
बालेन शाहले २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर जिते। उनी नेपालका ठूला राजनीतिक दलहरू (नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र) को परम्परागत वर्चस्वमाथि गम्भीर चुनौती बनेका छन्। उनको निडर, पारदर्शी र जनमुखी कार्यशैलीले विशेषगरी युवा पुस्ता र आम जनताको असन्तुष्टिलाई सम्बोधन गर्दै वैकल्पिक राजनीतिक शक्तिको उदयको सम्भावना प्रस्तुत गरेको छ।
काठमाडौं नेपालको राजनीतिक, सांस्कृतिक र आर्थिक केन्द्र भएकाले यहाँका मेयरको प्रभाव स्थानीय स्तरमा मात्र सीमित नरही राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत पुग्छ। यसको उदाहरण टर्कीको इस्तानबुलका मेयर एक्रेम इमामोग्लुमाथि राष्ट्रपति रेसेप तायिप एर्दोगानले गरेको षड्यन्त्र र त्यसविरुद्ध लाखौं जनताको सडक प्रदर्शनमा देखिन्छ।
बालेनले ठूला दलहरूसँग कुनै सम्झौता वा लेनदेन नगरी आफ्नो स्वतन्त्र छवि कायम राखेका छन्, जसले उनलाई जनताको नजरमा विश्वसनीय बनाएको छ। तर ठूला दलहरू, विशेषगरी एमाले अध्यक्ष ओलीले उनको सार्वजनिक आलोचना गर्दै आएका छन्।
बालेनको सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, भ्रष्टाचार विरुद्धको कडा अडान र फोहोर व्यवस्थापन, सडक मर्मत जस्ता स्थानीय मुद्दाहरूमा देखाएको सक्रियताले उनलाई युवा मतदाताहरूको आकर्षणको केन्द्र बनाएको छ, जसलाई ठूला दलहरूले आफ्नो परम्परागत मत आधार र सत्तामाथिको एकाधिकारमाथिको खतराको रूपमा लिएका छन्।
ठूला दलहरूको नियन्त्रणमा रहेको केन्द्र सरकार र स्थानीय तहमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरूले बालेनको कार्ययोजनामा असहयोग गर्दै आएका छन्। उदाहरणका लागि, कर्मचारी सरुवा, बजेट विनियोजन र नीतिगत निर्णयहरूमा केन्द्रबाट अवरोध सिर्जना हुने गरेको छ। जबकि स्थानीय स्तरमा जनप्रतिनिधिहरूलाई बालेन विरुद्ध उक्साएर उनको नेतृत्वमाथि प्रश्न उठाउने प्रयास भइरहेको छ।
यी असहयोगहरूले बालेनको कार्यसम्पादनलाई प्रभावित पार्ने र उनको जनमुखी छविलाई धमिल्याउने रणनीति झल्काउँछ। बालेन केवल मेयर नभई नयाँ पुस्ताको नेतृत्वको प्रतीक बनेका छन् र उनको स्वतन्त्र र जनकेन्द्रित दृष्टिकोणले ठूला दलहरूको कमजोर जनाधार र भ्रष्टाचारका मुद्दाहरूलाई उजागर गरेको छ।
२०८४ को सम्भावना र चुनौती
नानीमैया दाहाल।
नेपालको आगामी २०८४ को आम निर्वाचन राजनीतिक इतिहासमा कोसेढुङ्गा सावित हुन सक्छ। हाल लोकतन्त्रका आधारभूत मान्यता विपरीत बनेको ठूला दुई दलहरूको गठबन्धन सरकारले सिर्जना गरेको निराशाको जगमा नयाँ दल वा शक्ति जन्मिन सक्छ।
गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ प्राप्त गरेको मतले विशेषगरी शहरीकरण बढेका क्षेत्रहरू— झापा, मोरङ, सुनसरी, हेटौंडा, चितवन, बुटवल, काठमाडौं, भक्तपुर, ललितपुर, तनहुँ र पोखरासम्म नयाँ दलहरूको सम्भावनालाई संकेत गर्छ। बढ्दो शहरीकरणले यो मतले अर्को निर्वाचनमा गुणात्मक फड्को मार्न सक्छ।
स्वयम् रास्वपा संसद्मा आएदेखि विभिन्न घेराबन्दीमा परेर आफ्नो गर्न सक्ने क्षमताको सांगठनिक र राजनीतिक कामहरू गर्न सकिरहेको छैन त्यसैले उसले नै यो गति कायम राख्न सक्छ वा सक्दैन, त्यो अनिश्चित छ।
तर काठमाडौं महानगरका मेयरले निर्वाचित भएर आएपछि यो तीन वर्षमा अनेक ठूला व्यवधानका बीच जसरी कामहरू गरेका छन् त्यसले उनको व्यक्तित्वलाई एउटा मेयरको रूपमा मात्र नराखी एउटा शहरी मतदाताहरूको राजनीतिक प्रतिनिधित्व गर्दछ र यो अझै दुई वर्ष कायम गरे भने आफ्नो अहिलेकै प्रभाव र संगठनको आधारमा ध्रुवे हात्ती जस्ता मैमत्त भएका ठूला दलहरूलाई राम्रै दख्खल राख्ने राजनीतिक पूँजी उनले आर्जन गरेका छन्।
यही पूँजी थप राजनीतिक बनेर उनले नयाँ या स्वतन्त्र मान्छेहरूको मोर्चालाई बनाएर अगाडि बढाए भने त्यो ठूलो चुनावी भूकम्प हुन जान्छ र त्यसलाई रोक्नको निम्ति अहिले ठूला दलहरू उनलाई जसरी हुन्छ सिध्याउने ध्याउन्नमा लागेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार पिँडालुको मूल्य घटेको जानकारी दिएको छ।
पिँडालुको मूल्य थोकमा २५.४५ प्रतिशत घटेर प्रतिकिलो ८२ रुपैयाँ पुगेको छ।
वैशाख अन्तिम साता पिँडालु प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो।
२९ जेठ, काठमाडौं । स्थानीय बजारमा पिँडालुको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार पिँडालुको मूल्य घटेको देखाएको हो ।
आज पिँडालुको मूल्य थोकमा प्रतिकिलो २५।४५ प्रतिशत घटेको छ । बुधबार प्रतिकिलो १ सय १० रुपैयाँमा किनबेच भएको पिँडालु आज प्रतिकिलो २८ रुपैयाँले घटेर ८२ रुपैयाँमा किनबेच भइरहेको छ ।
वैशाख अन्तिम साता पिँडालु प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो ।
काभ्रेपलाञ्चोकमा बीपी राजमार्गको चार खण्ड पुनर्निर्माणका लागि ठेक्का कम्पनी छनौट भई सम्झौता प्रक्रिया जारी छ।
ठेक्का लागत अनुमानभन्दा ३० प्रतिशत कममा एक अर्ब ४२ करोड रुपियाँ प्रस्तावित भएको हो।
सरकारले ८ अर्ब ५० करोड बजेट छुट्याएको र बाढीले क्षतिग्रस्त स्थानमा दिगो पुनर्निर्माणको माग गरिएको छ।
२९ जेठ, काभ्रेपलाञ्चोक । गत वर्षको असोज दोस्रो साता रोशीखोलामा आएको बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्गको चार खण्डमध्ये एउटा खण्ड पुनर्निर्माण गर्ने ठेकेदार कम्पनी छनौट भएको छ ।
राजमार्ग पुनर्निर्माणका लागि काभ्रेतर्फको चारसयबेसीदेखि डालाबेसीसम्म साढे आठ किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि थानी/एवान/कमलजित जेभीले ठेक्का पाएको डिभिजन सडक भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सीडीई सुमन योगेशले जानकारी दिए ।
कार्यालयका प्रमुख योगेशले निर्माण व्यवसायी कम्पनी छनोट भइसकेकाले सम्झौताको चरणमा रहेको बताए । ‘चारसयबेसीदेखि डालाबेसीसम्मको सडक पुनर्निर्माणका लागि निर्माण कम्पनी छनौट भइसकेको छ । अबको एक साताभित्र उक्त निर्माण व्यवसायी कम्पनीसँग सम्झौता हुनेछ’ योगेशले भने ।
लागत अनुमानभन्दा ३० प्रतिशत कममा ठेक्का
बीपी राजमार्गको साढे आठ किलोमिटर खण्ड पुनर्निर्माणका लागि निर्माण व्यवसायीले भ्याटसहित एक अर्ब ४२ करोड रुपियाँ कबोल गरेको छ । कार्यालयले यो खण्ड पुनर्निर्माणका लागि २ अर्ब रुपैयाँको लागत अनुमान गरेको थियो । तर निर्माण कम्पनीले ३० प्रतिशत कम रकम प्रस्ताव गरेर ठेक्का पाएको हो । यो खण्ड पुनर्निर्माणका लागि ११ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।
सीडीई योगेशले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको भकुण्डेबेसीदेखि चारसयबेसीसम्मको ११ किलोमिटर सडक पुनर्निर्माणका लागि प्राविधिक मूल्याङ्कनको काम भइरहेको जानकारी दिए । बर्खेखोलादेखि नेपालथोकसम्म ४ किलोमिटर सडक पुनर्निर्माणका लागि पनि ११ कम्पनीले भाग लिएका छन् । यो खण्ड सडक जिभिजन कार्यालय खुर्कोटले हेरिरहेको छ ।
डालाबेसीदेखि बर्खेखोलासम्म सडक जाइका र नेपाल सरकार मिलेर बनाउने
गत असोज दोस्रो साता रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्गको भकुण्डेबेसी–नेपालथोक खण्ड क्षतिग्रस्त भएकाले ४ वटा प्याकेजमा ठेक्का आह्वान गरिएको थियो ।
काभ्रेतर्फ भकुण्डेबेसीदेखि चारसयबेसीसम्म ११.८ किलोमिटर, चारसयबेसीदेखि डालाबेसीसम्म ८.५ किलोमिटर, डालाबेसीदेखि बर्खेखोलासम्मको ५.५ किलोमिटर र सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्म ४ किलोमिटर सडक पुनर्निर्माण हुँदैछ ।
पुनर्निर्माण गर्न सबैभन्दा अप्ठ्यारो ठानिएको डालाबेसीदेखि बर्खेखोलासम्मको ५.५ किलोमिटर सडकखण्ड भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकार मिलेर गर्नेछन् ।
डालाबेसी–बर्खेखोला खण्डअन्तर्गत जाइकाले ३.२ किलोमिटर सडक पुनर्निर्माण गर्ने छ भने २.३ किलोमिटर सडक नेपाल सरकार आफैंले पुनर्निर्माण गर्नेछ । यसअघि डालाबेसीदेखि बर्खेखोलासम्मको ५.५ किलोमिटर सडक निर्माणका लागि जाइकालाई अनुरोध गरिएको थियो ।
भकुन्डेदेखि नेपालथोकसम्मको सडक दुई लेनमा बनाइने
भकुन्डेदेखि नेपालथोकसम्मको पुनर्निर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन (दुई लेन) बनाउने गरी ठेक्का आह्वान भएको छ । बीपी राजमार्गमा हाल भएको सवारी चापले समेत दुई लेन सडकको आवश्यकता महसुस भएको सीडीई योगेशले बताए ।
डिभिजन सडक भक्तपुरले निकट भविष्यमै पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने उनको भनाइ छ ।
क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकारले ८ अर्ब ५० करोड बजेट छुट्याएको छ । काभ्रेपलाञ्चोक जिल्लातर्फ तीन खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुली खण्डका लागि १ अर्ब बजेट सुनिश्चितता आएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।
वर्षायाम सुरु हुन लागेकाले वर्षाअघि क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणको काम सुरु नहुने कार्यालयले जनाएको छ । आगामी वर्षको वर्षायाम अघि पुनर्निर्माण गरिने सडक खण्डमा पर्खाल लगाउनेलगायतका कामहरु सम्पन्न गरी कालोपत्रेको काम बाँकी राख्ने लक्ष्यका साथ कामलाई तीव्रता दिने सीडीई योगेशले बताए ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख योगेशका अनुसार गत वर्षको बाढीले बीपी राजमार्ग अन्तरगतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय मिटर, कटुञ्जे घुमाउनेमा पाँच सय मिटर, लास्कोटबेसीमा दुईसय मिटर र चारसयबेसीमा पाँच सय मिटर सडक क्षतिग्रस्त भएको थियो ।
यसैगरी गिम्दीबेसीमा तीन सय मिटर, खार्पाचोकबेसीमा तीन सय मिटर, नार्केमा आठ सय मिटर, पिन्थलीबेसीमा चार सय मिटर, दाउन्नेमा तीन सय मिटर, मङ्गलटार बोक्सीकुनामा छ सय मिटर, चिउरीबासमा दुईसय मिटर, भ्याकुरेखोला कालढुङ्गामा एक किलोमिटर सडकमा क्षति पुगेको थियो ।
यस्तै डालाबेसीमा आठ सय मिटर, पिप्लको दुई स्थानमा गरी सात सय मिटर, माम्तीमा आठ सय मिटर, बर्खेखोला तीन सय मिटर, चालिसेमा चार सय मिटर सडक पूर्णरूपमा ध्वस्त भएको थियो । क्षतिग्रस्त स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको छ ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर सडक) निर्माण कार्य सुरु गरिएको थियो । २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिकरूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । जाइकाले उक्त राजमार्ग निर्माण गर्दा २६ अर्ब येन खर्च गरेको थियो ।
वर्षायाममा यातायात अवरुद्ध हुन नदिने प्रयास
सडक डिभिजन कार्यालय भक्तपुरले अस्थायी रुपमा सञ्चालनमा ल्याइएको बीपी राजमार्गमा यस वर्षको बाढीले यातायात सन्चालनमा अवरोध नहोस् भनेर विशेष ध्यान दिइएको जनाएको छ । त्यसका लागि पहिलाको उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालन गरिएको छ । तर गत वर्षको असोजको जस्तै वर्षा र बाढी आएमा भने क्षति रोक्न नसकिने सीडीई योगेश बताउँछन् ।
‘सामान्य बाढीले क्षति नहोस् भनेर चौकीडाँडा, कटुञ्जेबेसी, मङ्गलटार, माम्तीमा ग्याबिन जालीको पर्खाल लगाइएको छ । खोलाका ठूला बोल्डर ल्याएर राखेका छौं,’ सीडीई योगेशले भने ।
साथै बाढीपहिरोका कारण हुन सक्ने अवरोध तत्काल हटाउनका लागि सडक पुनर्निर्माणका लागि ठेक्का लागेको खण्डमा निर्माण व्यवसायीका १५/१५ वटा उपकरणका साथै डिभिजन कार्यालयका डोजर, टिपर, लोडरलगायतका सात वटा उपकरणहरु तयारी अवस्थामा राखिने उनले जानकारी दिए ।
दिगो रूपमा निर्माण गर्न पालिका अध्यक्षको आग्रह
राजमार्गअन्तर्गत क्षतिग्रस्त स्थानमा अस्थायी रुपमा सडक निर्माण गरिएको भए पनि ठूलो बाढी आउदा क्षति गर्न सक्ने भएकाले मनसुन नजिकिँदै जाँदा स्थानीय भने चिन्तित छन ।
बीपी राजमार्गमा क्षति पुगेपछि स्थानीयको जीविकोपार्जनमा असर परेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए । ‘सडकको कारण यहाँका स्थानीयले उत्पादन गरेका तरकारी, दुग्ध पदार्थ बजार लान समस्या छ, पालिकालाई पनि आर्थिक रुपमा नोक्सानी भएको छ,’ अध्यक्ष लामाले भने ।
उनले बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको पालिका भित्र विभिन्न खण्ड दिगो रूपमा निर्माण गर्न सरोकारवाला निकायलाई आग्रह गरे ।
मुख्यसचिव अर्यालले गरे अनुगमन
मुख्यसचिव एकनारायण अर्यालले बीपी राजमार्ग क्षेत्रमा बाढीले क्षति पुर्याएका स्थानमा आवश्यक पूर्वाधार निर्माणको काम वर्षा अगावै सक्न निर्देशन दिएका छन् । बुधबार क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्दै मुख्यसचिव अर्यालले सरोकारवाला निकायलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
मुख्य सचिव अर्यालसहित भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा, आयोजना प्रमुख र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी अनुगमनमा आएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको घरपझोङ गाउँपालिका-४ भ्रप्सोमा पार्टीको कार्यालय भवनको शिलान्यास गरे।
उहाँले बिहीबार बौद्ध परम्पराअनुसार भवनको शिलान्यास गर्नुभएको हो र छ कोठाको भवन निर्माणका लागि जग्गादान भएको छ।
प्रचण्डले भवन निर्माणपछि संगठन विस्तार र मुस्ताङको विकासमा सहजता आउने विश्वास व्यक्त गर्नुभएको छ।
२९ जेठ, मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका-४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीको कार्यालय भवनको शिलान्यास गरेका छन् ।
बौद्ध परम्पराअनुसार उनले बिहीबार पार्टी कार्यालयको भवन शिलान्यास गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माणका लागि वारागुङ मुक्तिक्षेत्र-२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका छन् ।
शिलान्यासका क्रममा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे ।
साथै उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
नेपाली चलचित्रको परिवर्तन केवल प्रविधि, प्रस्तुति र अभिनयको स्तरमा मात्र सीमित छैन। अचेल नेपाली माटोमै उम्रिएको र आफ्नै परिवेशमा गुथिएको कथावस्तु, नेपालीपनको सुगन्ध भेटिन्छ।
पौडेल शल्यचिकित्सक तथा कविले नेपाली चलचित्रको वर्तमान स्थिति र परिवर्तनलाई विश्लेषण गर्नुभएको छ।
उहाँले नेपाली चलचित्रमा मौलिकता र नेपालीपनको महत्व र गीत–संगीतको भूमिका चर्चा गर्नुभएको छ।
उहाँले सफल र असफल चलचित्रको मापदण्ड र नेपाली चलचित्रको सांस्कृतिक महत्त्वलाई उजागर गर्नुभएको छ।
पछिल्ला तीन वर्षमा मैले पन्ध्रभन्दा बढी नेपाली चलचित्र हेरेछु। म कुनै समीक्षक होइन, न त कला र सृजनाको गहिरो आकलन गर्न सक्ने विश्लेषक। प्राविधिक दृष्टिकोणले फिल्मको विश्लेषण गर्न सक्ने वा गुण-दोष छुट्याउने तहको व्यक्ति पनि होइन। एक सामान्य नेपाली दर्शक हुँ, जो सिनेमा हेर्न मन पराउँछ, कथाले छोएपछि अनुभूतिलाई शब्द मार्फत पोख्ने प्रयास गर्छ। यही प्रयासको सानो प्रतिबिम्ब मात्र हो, यो लेख।
नेपाली चलचित्रमा पछिल्ला केही वर्षयता सकारात्मक परिवर्तनको लहर चलेको स्पष्ट महसुस हुन्छ। नेपाली चलचित्रको परिवर्तन केवल प्रविधि, प्रस्तुति र अभिनयको स्तरमा मात्र सीमित छैन। अचेल नेपाली माटोमै उम्रिएको र आफ्नै परिवेशमा गुथिएको कथावस्तु, नेपालीपनको सुगन्ध भेटिन्छ।
पहिले-पहिले नेपाली चलचित्रमा हिन्दी वा अन्य विदेशी सिनेमाको प्रभाव प्रष्ट देखिन्थ्यो। प्रेमकथा होस् वा द्वन्द्वप्रधान, यिनीहरू प्रायः नक्कल जस्तै लाग्थे। यद्यपि, पश्चिमेली र हिन्दी चलचित्रबाट अधिकतम प्रभावित भएर लेखिएका वा बनाइएका कैयौं चलचित्रमा पनि आंशिक रूपमा नेपाली माटोको सुगन्ध र नेपालीपन मिसिएको नपाइने होइन, र केहीले नेपाली मौलिक कला–संस्कृतिलाई उजागर गर्ने भरथेग प्रयास पनि गरिरहेका थिए, तर ती प्रयास सशक्त थिएनन्, सतही र कमजोर थिए।
अहिले स्थिति फेरिएको छ। अहिले गाउँ घरका कथा, भुईंका कथा, दबिएका कथाहरू आफैं बोल्न थालेका छन्। ठूलो पर्दामा जीवन्त रूपमा देखिन थालेका छन्। आफ्नै समाज, आफ्नै परिवेशबाट उठेका कथाहरू पर्दामा हेर्न पाउँदा म जस्ता हजारौं नेपाली दर्शक पक्कै पनि हर्षित, उत्साहित र गर्वित महसुस गर्छौं। यो परिवर्तनले नेपाली चलचित्रलाई नयाँ उँचाइतर्फ उन्मुख गराइरहेको छ।
‘घामपानी’, ‘गाउँ छोडेको बाटो’, ‘बाह्र गाउँ’, ‘साम्भाला’, ‘अन्जिला’ अनि ‘पूर्णबहादुरको सारङ्गी’जस्ता चलचित्रले हामीलाई हाम्रै जीवन, हाम्रै समाजको ऐना देखाए। पछिल्लो चलचित्र ‘ऊनकोस्वीटर‘लेत्योपरम्परालाईअझमौलिकतरिकालेपस्किएरअझआत्मीयबनायो। चलचित्रशुरूभएदेखिनैलाग्यो, ‘हो, योतहाम्रैकथाहो—हाम्रैगाउँको, हाम्रैमनको। अनि यी परिदृश्यहरू हाम्रै जीवनका संघर्ष र सपना हुन्।’ यी चलचित्रहरूले हामीले केही वर्षयता देख्दै आएको नेपाली सिनेमाको रूपान्तरणलाई अझ सशक्त रूपमा उजागर गरेको कुरालाई नकार्न सकिंदैन।
दर्शककोअपेक्षा
कुनै पनि चलचित्र हेर्दा दर्शकको पहिलो उद्देश्य विशुद्ध मनोरञ्जन प्राप्त गर्नु हो। चलचित्र मनोरञ्जक विविध पक्षबाट हुन्छ। जस्तै चलचित्रको कथावस्तु, पात्र चयन र कलाकारिता, संवाद र दृश्यहरू अनि सबैभन्दा महत्वपूर्ण पक्ष हो गीत–संगीत। चलचित्र र त्यसको कथा क्षणिक हुन्छ भने गीत–संगीत कालजयी हुन्छ।
तुलसी घिमिरेको निर्देशनमा बनेको ‘चिनो’ चलचित्र त्यसबेलाको सबैभन्दा सफल चलचित्र हो। जसले त्यो चलचित्र सिनेमाघरमा गएर हेरे, उनीहरूले अहिले त्यो क्षण सम्झिँदा चलचित्रको सम्पूर्ण कथा नसम्झेलान्। तर ‘मोहनी लाग्ला है’ भन्ने गीत सुन्ने बित्तिकै चिनो चलचित्र र राते काइँलालाई पक्कै सम्झन्छन्। त्यसरी नै, ‘मायाको बारीमा प्रीतिको फूल’ (कुसुमे रुमाल), ‘कान्छी हे कान्छी (कान्छी), ‘सुन कथा एउटा गीत’ (साइनो), ‘यो कथा हो सपना मेरो’ (सपना), ‘चियाबारीमा हो चियाबारीमा’ (लाहुरे) जस्ता गीतहरूले ती चलचित्रहरूलाई कालजयी बनाएका छन्।
एक दुई दशकयता पनि सफल सिनेमा आए। हेरियो। हेरुन्जेल सिनेमा असाध्य मन पर्यो। तर अहिले कथा याद छैन, गीत जिब्रोमै झुन्डिएका छन्, जस्तो कि – तिम्रो मनैको फूल टिपी, चोरीदेउ चोरीदेउ, मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न, सुर्के थैली खै, कुटुमा कुटु आदि। यी गीतहरूले चलचित्रको कथा र लोकप्रियतालाई हदैसम्मको उँचाइ दिलाए।
परन्तु आजकल संगीतलाई चलचित्रमा त्यति स्थान दिएको देखिंदैन। कथा सुहाउँदो र कथालाई अघि बढाउने सान्दर्भिक गीत भन्दा पनि व्यावसायिक प्रयोजनको लागि वा औपचारिकताको लागि मात्र एक–दुई वटा गीत समेटिएको पाइन्छ जुन गीतको कथासँग कुनै तालमेल हुँदैन। शायद त्यसै कारणले होला फिल्म संगीत खस्किंदै गएको। कमजोर संगीतका कारण केही औसत र राम्रै फिल्महरू पनि हेरुन्जेल खल्लो लाग्छन्। सशक्त संगीत विनाको चलचित्र, नुन विनाको तरकारी जस्तै लाग्दछ— रंगीन त छ तर स्वादहीन।
सफलरअसफलचलचित्रहरू
चलचित्र सफल भयो कि असफल ? यसको उत्तर रेखाबाट होइन, धेरै कोणबाट खोज्नुपर्छ। यो प्रश्नको उत्तर केवल बक्स अफिसमा होइन, दर्शकको मुटुमा खोज्नुपर्छ। निर्माताको नजरमा लगानी उठेर नाफा कमाउनु सफलता हो भने, कलाकारका लागि दर्शकको हृदयमा स्थान बनाउनु नै सर्वोत्तम पुरस्कार हो। आलोचक र समालोचकले कलात्मक गहिराइ खोज्छन् भने, दर्शकको चाहना भनेको अन्ततः मनोरञ्जन हो, चाहे त्यो भावनात्मक होस् या हास्यात्मक, वीर रसको होस् या करुण रसको।
साँचो कुरा के हो भने, दर्शक कहिल्यै पूर्वाग्रही हुँदैनन्। उनीहरूले ‘यो फिल्म हेर्ने, त्यो नहेर्ने’ भनेर पूर्वयोजना बनाउँदैनन्, सल्लाह गर्दैनन्। तर यस्तो लाग्छ संसारभरिका दर्शकहरूले सल्लाह गरेरै कुनै चलचित्रलाई अभूतपूर्व सफलता दिलाउँछन् त कुनै चलचित्र रिलिज भएको एक दुई दिनमै दर्शक नपाएर पाखा लाग्छन्। दर्शकहरू त केवल नयाँ अनुभव बटुल्ने अवसरको खोजीमा हुन्छन्।
फुर्सतको समयलाई सदुपयोग गर्दै परिवार वा साथीभाइसँगै फिल्म हेर्न जानुलाई बिदा वा उत्सव मनाउने एउटा उत्तम विकल्पको रूपमा अपनाउँछन्। कहिलेकाहीं मन पर्ने कलाकारको नामले केही दर्शकहरू हलसम्म तानिएलान् तर केवल नामले मात्र फिल्म टिक्दैन, चल्दैन। यदि त्यसो हुने हो भने, तारा जस्तै चम्कने स्टारहरूको हरेक चलचित्र सधैं सफल हुन्थ्यो। तर वास्तविकता फरक छ, किनभने दर्शक अन्ततः कथा, भावना र प्रस्तुतिमा बाँधिन्छन्, नाममा होइन।
राम्रो चलचित्र दर्शकले सहजै चिन्छन्। त्यसैले राम्रो चलचित्र सबैलाई मन पर्छ नायक जो होस्। राम्रो गीत बारम्बार गुन्जिरहन्छ गायक जो होस्। प्रभावशाली कथा र आत्मामा गुञ्जिने फिल्म संगीत बारम्बार दोहोरिन्छ, मुखमा झुन्डिन्छ, हृदयमा गड्छ र अमर हुन्छ।
चलचित्र विविध स्वादका हुन्छन्, केहीले हँसाउँछन्, केहीले रुवाउँछन् अनि केहीले गम्भीर जीवनदर्शनमा डुबाउँछन्। तर हाँसो मात्र मनोरञ्जन होइन; कहिलेकाहीं आँशुले पनि गहिरो सन्तोष दिलाउँछ। ‘दर्पणछायाँ’ वा ‘जात्रा’ हेर्दा हाँसोले पेट दुख्दछ भने, ‘दक्षिणा’, ‘अन्जिला’, वा ‘पूर्णबहादुरको सारङ्गी’ हेर्दा सुँक्क सुँक्क रुने दर्शकको हृदय पनि उत्तिकै तृप्त हुन्छ। ‘बाह्र गाउँ’ को द्वन्द्व होस् या ‘साम्भाला’को मौन पीडा, दुवैले दर्शकलाई आफ्नै तरिकाले सुखान्त तवरले बन्धक बनाउँछन् र अन्ततोगत्वा दर्शकलाई अलौकिक प्रसन्नता दिलाउँछन्।
हरेक चलचित्र एक अन्तरमनको संघर्ष हो, विचारको, मिहिनेतको र कलाको घर्षण हो। निर्माता, निर्देशक, कलाकार, सबैले नयाँ सृजनामा प्राण दिन्छन्, आफ्नो बलबुताले भ्याएसम्म अध्ययन र मिहिनेत गर्छन्। कहिलेकाहीं चलचित्रका लागि असाध्यै ठूलो लगानी हुन्छ, विश्वका सुन्दरतम दृश्यहरू पर्दामा ल्याइन्छन्। तर त्यो चमकधमक मात्रै पर्याप्त हुँदैन। यदि फिल्मको केन्द्रमा सशक्त कथा छैन भने, ती दृश्यहरू पनि केवल फुस्रो सजावट मात्र लाग्न थाल्छन्।
त्यसोभए, के हो त चलचित्रलाई जीवन्त बनाउने त्यो मुख्य खुराक ? सबैभन्दा महत्वपूर्ण खुराक भनेकै चलचित्रको विषयवस्तु हो जसलाई कथा र पटकथाको रूपमा पर्दामा उतारिन्छ। मौलिक विषयवस्तु, नयाँ दृष्टिकोण, गहिरो पात्र निर्माण, यिनै चलचित्रका सच्चा मेरुदण्ड हुन्। मौलिक कथावस्तु र कथामा नयाँपन सबैभन्दा महत्वपूर्ण आकर्षण हुन्।
जब दर्शकले कुनै पात्रमा आफूलाई देख्छ, आफ्नो जीवन, समाज वा सपनाहरू त्यस कथाभित्र भेट्छ, तब त्यो चलचित्र उसकै बन्न पुग्छ। दुईदेखि तीन घण्टा त्यो पर्दामा आफूलाई हराएर, आफ्नै जिन्दगीको केही अंश फेरि बाँच्न खोज्छ। कथाभित्र हराएर एउटा जिन्दगी फेरि भोग्न खोज्छ। यसरी दर्शकलाई बाँध्ने शक्ति सफल चलचित्रको सार हो।
यदि कथाले दर्शकको मनस्थितिलाई पक्रिन सक्यो भने दर्शकहरू बाँधिन्छन् नत्र भड्किन्छन्। सफल चलचित्र यहीं अब्बल सावित हुन्छन् भने असफल चलचित्र यहीं चुक्छन्। सफल चलचित्र त्यही हो, जसले दर्शकको चेत, मन र आत्मालाई स्पर्श गर्छ। असफल चलचित्र त्यही हो, जसले केवल आँखामा त झल्किन्छ, तर हृदयमा बस्न सक्दैन। साँचो अर्थमा सफल चलचित्र त्यही हो जुन आँखाले मात्र हैन, मनले पनि हेर्ने गरिन्छ, हृदयले महसुस अनि आत्माले स्वीकार गरिन्छ।
चलचित्रकोमुटुरआत्मा : गीत–संगीत
चलचित्रको मुटु कथा हो भने, आत्मा संगीत हो। जब एकपटक पर्दामा गुन्जिरहेको कुनै गीतले मन छुन्छ, त्यसले चलचित्रलाई सजीव बनाउँछ। संगीतले दर्शक–श्रोताहरूलाई भावनामा बगाउँछ, दृश्यहरूलाई गहिराइ दिन्छ।
गीत–संगीत चलचित्रको आत्मा किन पनि हो भने, जसरी आत्मा विना जीवनको कल्पना गर्न सकिंदैन, त्यस्तै मौलिक र उत्कृष्ट गीत–संगीत विना चलचित्रमा प्राण हुँदैन। यसलाई केवल पृष्ठभूमि सजाउने साधन वा व्यावसायिक प्रचारको माध्यम हैन, कथा बनोटको गहिरो अभिव्यक्ति भनेर बुझिनुपर्छ, प्रयोग गरिनुपर्छ।
चलचित्र केवल दृश्यहरूको शृङ्खला मात्र होइन, त्यो त संगीतले भरिएको जीवन्त अनुभव हो, जहाँ गीतले भावना बोल्छ, संगीतले कथालाई बगाउँछ, अनि दर्शक त्यो धारासँग बग्छन्। हामी फेरि त्यही आत्मीय संगीतको खोजीमा छौं, जुन कानले मात्र हैन, मनले पनि सुन्छ हृदयले आत्मसात् गर्छ।
सुगम संगीत र कर्णप्रिय मौलिक गीतको खडेरी परिरहेको समयमा अलिकति पनि आशा जगाउन आएको छ ‘धान पाक्यो रापले, फकाउँछ काफ्ले’ गीत। आजभन्दा दश–बीस वर्षपछि पनि यो गीत गुन्जिरहनेछ, अनि यही गीतको कारणले ऊनको स्वीटर चलचित्र इतिहासको पानामा जीवित रहिरहनेछ। ‘चरी चट्ट परी’, ‘चेप्टे चेप्टे पेरुङ्गो’, ‘चरीले काफल टिप्यो’ जस्ता गाउँघरे चलनचल्तीका शब्द र मौलिक भाकामा रचिएका गीतहरूले खडा गरेको धरोहरमा एउटा अर्को कोसेढुङ्गा थपिएको छ भन्दा अत्युक्ति नहोला।
चलचित्र कलाको विशिष्ट र उत्कृट स्वरुप हो। कालजयी र सफल सिनेमा बन्नलाई कथा र संगीत दुई अपरिहार्य पाटा हुन्। चलचित्र केवल मनोरञ्जन होइन, सांस्कृतिक दस्तावेज हो। एउटा युगको अभिलेख हो। ‘अन्जिला’, ‘पूर्णबहादुरको सारङ्गी’ र ‘ऊनको स्वीटर’ जस्ता सृजनाहरू केवल कथा होइनन्, ती त आत्मीय अनुभूति हुन्, जसले हामीलाई हाम्रो अस्तित्वसँग जोड्दछन्।
हामी जस्ता मनोरञ्जनप्रेमी चलचित्र-पारखीहरूको समान आकाङ्क्षा हुन्छ- कलाकर्मीले चलचित्र बनाउँदा कलामा ध्यान दिंदा कथा कमजोर नहोस्, भुईंमान्छेको कथा बुन्दा वा कुनै समुदाय, जाति वा धर्मको सबल पक्षलाई उजागर गर्न खोज्दा अर्को पक्षलाई अवहेलना नहोस्, कुनै जात, जाति, समुदाय वा धर्म र संस्कृतिमाथि आघात नपुगोस्।
अन्जिला, पूर्णबहादुरको सारङ्गी र ऊनको स्वीटर जस्ता सृजना केवल चलचित्र मात्र होइनन्, अविस्मरणीय अनुभूति हुन्, सर्जक र दर्शकलाई जोड्ने आत्मीय कडी हुन्। यी चलचित्रहरू हामी सबै नेपालीको कथासँग मेल खाने, मन छुने र पहिचान दिलाउने सिनेम्याटिक दस्तावेजहरू हुन्। यी सबै उल्लिखित चलचित्रहरू सकिएपछि केहीबेर म चुपचाप बसें– सोचें, महसुस गरें, अनि लामो सास फेरेर भनें, “यस्तो चलचित्रले नेपाली सिनेमाको पहिचान अझ प्रगाढ बनाउँछ। भोलिको पुस्ताले पनि यी चलचित्रहरू हेरेर पुर्खाहरूको जीवनचरित्र बुझ्नेछ।”
कुलमान घिसिङले भने, ‘भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपालले प्रत्येक वर्ष कम्तिमा ६ खर्ब कमाउने छ।’
यसले नेपालको GDP मा १५ देखि २० प्रतिशत योगदान पुर्याउने उनको भनाइ छ।
घिसिङले जलविद्युतका कारण इलेक्ट्रिक गाडीको प्रयोग बढेको उल्लेख गरे ।
२९ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपालले प्रत्येक वर्ष कम्तिमा ६ खर्ब कमाउने बताएका छन् ।
सर्लाहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने, ‘भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सक्यौं भने करिब–करिब ६ खर्बदेखि ७ खर्ब पैसा कमाउने छ प्रत्येक वर्ष । त्यो भनेको हाम्रो ४५/५० खर्ब जीडीपीको १५/२० प्रतिशत रकम हाम्रो विद्युत् निर्यातबाट मात्र हुने छ ।’
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र घिसिङ कार्यकारी निर्देशक पदमा रहेका बेला भएको भारत भ्रमणमा भारतलाई १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको थियो ।
घिसिङले नेपालमा जलविद्युत्बाट यातायात क्षेक्रमा ठूलो त्रान्ति ल्याएको पनि बताए । ‘ट्रान्सपोर्टेसनमा ठूलो क्रान्ति आएको छ त्यो विद्युत् भएर हो,’ घिसिङले भने, ‘लोडसेडिङ भएको भए आज इलेक्ट्रिकल भेइकल, चार्जिङ स्टेसनको नाम पनि देख्न सकिन्नथ्यो । तर अहिले टोटल गाडीमा अब १० प्रतिशत इलेक्ट्रिकल गाडी आइसक्यो ।’
उनले अब धेरै ठाउँमा खाना पकाउने ग्याँस र पेट्रोल डिजेल प्रतिस्थापन गर्नुपर्ने बताए । त्यसो गर्न सकिए व्यापार घाटा कम हुने उनको भनाइ छ ।
भारतमा साढे ९५ किलो सुन तस्करी प्रकरणमा मुछिएका आरोपी कालोसूचीमा राखेको भोलिपल्टै काठमाडौंबाट दुबई उडेको भेटिएको छ । दुई कर्मचारीलाई जिम्मेवारीबाट हटाएर तीन महिना अघिको यो घटनालाई गृह प्रशासनले गोप्य राखेको थियो ।
९५ किलो सुन तस्करी प्रकरणमा ‘मोस्ट वान्टेड’ रहेका जागेश्वर शाह कालोसूचीमा राखेको २४ घन्टा नवित्दै दुबई उडेको पुष्टि भएको छ।
स्रोतका अनुसार जागेश्वर र उनका छोरा आशिफ शाहलाई कालोसूचीमा राखिदिन भारतीय दूतावासले पत्राचार गरेको थियो।
अनुसन्धानले प्राविधिक त्रुटि भन्दै घटनालाई औपचारिक रूपमा पुष्टि गरे पनि विस्तृत छानबिन आवश्यक देखिएको छ।
२९ जेठ, काठमाडौं । अध्यागमन विभागले कालोसूचीमा राखेको २४ घन्टा नवित्दै एक जना अभियुक्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर दुबई पुगेको खुलेको छ ।
भारतमा साढे ९५ किलो सुन तस्करी प्रकरणमा ‘मोस्ट वान्टेड’ रहेका आरोपी जागेश्वर शाह कालोसूचीका बाबुजद विमानस्थलबाट उम्किएको भेटिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार, जागेश्वर र उनका छोरा आशिफ शाहलाई अध्यागमनको कालोसूचीमा राखिदिन भन्दै काठमाडौंस्थित भारतीय दूतावासले पत्राचार गरेको थियो ।
पत्रको आधारमा १९ मार्च २०२५ मा अध्यागमन व्यवस्थापन सम्बन्धी सफ्टवेयर ‘नेपाली पोर्ट’मा देखिने गरी उनीहरुलाई कालोसूचीमा राखिएको थियो । विमानस्थल अध्यागमनलाई लिखित पत्र समेत पठाइएको थियो ।
तर, कालोसूचीमा राखेको भोलिपल्टै जागेश्वर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई गएको पुष्टि भएको अनुसन्धानमा संलग्न एक अधिकारीले अनलाइनखबरलाई बताए ।
अधिकारीहरुका अनुसार, उनका छोरा आशिफ शाह भने दूतावासले पत्र पठाउनु अगावै काठमाडौंबाट उडिसकेका थिए ।
‘बुबालाई समात्न सकिने पर्याप्त आधारहरु हुँदा हुँदै उनी सहजै दुबई भाग्न सफल भए’, अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘यसमा विमानस्थलमा अध्यागमनका अधिकारीहरुको नियत थियो वा थिएन भन्ने विस्तृत अनुसन्धान हुनेछ ।’
भारतमा अपराध गरेर भागेका कतिपय आरोपीहरुले स्थलमार्गबाट नेपाल छिरेर सेल्टर लिने गरेका छन् । विचौलियाको सहयोगमा उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक समेत पुगेका उदाहरणहरु छन् । यस्तोमा भारतीय सुरक्षा अधिकारीहरुले त्यहाँ गम्भीर प्रकृतिका अपराध हुने वित्तिकै सीमा क्षेत्रमा निगरानी बढाउने गर्छ ।
‘नेपालमा भएका गम्भीर प्रकृतिका अपराधमा संलग्न कतिपय आरोपी समेत भागेर भारतसम्म पुग्ने गरेका हुन्छन्, त्यस्तोमा उनीहरुले तिनलाई नियन्त्रणमा लिन सहयोग गर्छन्’, अन्तरदेशीय अपराध अनुसन्धानमा खटिने एक प्रहरी निरीक्षक भन्छन्, ‘बदलामा उनीहरुले आफ्नो देशमा भएका गम्भीर अपराधमा संलग्न भारतीयलाई नियन्त्रणमा लिन सहयोग अपेक्षा गर्छन् ।’
तर, यो प्रकरणमा अनुसन्धानमा सहयोगको साटो उल्टै अपराधी भगाउन उच्च तहकै कर्मचारीको मिलेमतो हुनसक्ने देखिएपछि भारतीय अधिकारीहरु असन्तुष्ट बनेको स्रोत बताउँछ ।
जागेश्वर विदेश उड्ने बेला उनी कालोसूचीमा रहेको सूचना नै स्क्रीनमा पपअप नभएको भन्ने बयानलाई आधार मान्दै छानबिन समितिले सुन तस्कर भागेको घटनालाई ‘प्राविधिक त्रुटि’ भनेको छ । तर, अख्तियारका अनुसन्धान अधिकारीहरु भने यसमा विस्तृत जाँच हुने बताउँछन्
सहसचिव तीर्थ भट्टराई विमानस्थल अध्यागमन कार्यालय प्रमुख रहेका बेला कर्मचारी संयन्त्रकै मिलेमतोमा सुन तस्करलाई भगाइएको भन्दै भारतीय दूतावासका अधिकारीहरु असन्तोष व्यक्ति गरेको एक उच्च सुरक्षा अधिकारी बताउँछन् ।
यस्तोमा भारतमा अपराधमा संलग्न बाबुछोरा कसरी भागे भन्नेमा दूतावासका अधिकारीहरुले समेत चासो राख्दै ताकेता गरेपछि गृह प्रशासनले छानबिन गर्न समिति बनाएको थियो । स्रोतका अनुसार, अध्यागमन विभागका सूचना प्रविधि शाखा प्रमुख अनुप न्यौपानेको नेतृत्वमा छानबिन समिति बनेको थियो ।
तर, समितिले सुन तस्कर भागेको घटनालाई ‘प्राविधिक त्रुटि’ भन्दै प्रतिवेदन बुझाएको छ । जागेश्वर विदेश उड्ने बेला उनी कालोसूचीमा रहेको सूचना नै स्क्रीनमा पपअप नभएको भन्ने बयानलाई आधार मानेर यसमा नियत नभएको निष्कर्ष निकालिएको स्रोत बताउँछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकारीहरुले भने त्यसबारे विस्तृतमा अनुसन्धान गर्नुपर्ने थुप्रै विषयहरु अझै बाँकी रहेको बताउँछन् । ‘कम्प्युटरमा देखिने गरी त्यहाँ सीसी टीभी छैनन्, मुछिएको कर्मचारीबाहेक अरुले त्यो पपअप भए नभएको पुष्टि गर्न सक्ने स्थिति छैन’, एक अधिकारी प्रश्न गर्छन्, ‘त्यस्तोमा त्यसलाई प्राविधिक त्रुटि मात्र मान्न कसरी सकिएला ?’
गुजरात राज्यको अहमदाबादमा मार्च २०२५ मा एन्टी टेरोरिज्म स्क्वाड (एटीएस) र डाइरेक्टोरेट अफ रेभिन्यू इन्टलिजेन्स (डीआरआई) ले ९५.५ किलो सुन बरामद गरेको थियो ।
आविष्कार अपार्टमेन्टमा मेघ शाहको नाममा भाडामा लिइएको फ्ल्याटबाट सुनसँगै ७० लाख भारतीय रुपैयाँसमेत बरामद भएको थियो । यो सुन र बरामद नगदको सम्बन्ध गम्भीर अपराधसँग जोडिने भारतीय सुरक्षा अधिकारीहरुको दाबी छ ।
बरामद सुनको विस्कुट दुबईबाट तस्करी भएर आएको समेत अनुसन्धान अधिकारीहरुले आशंका गरेका थिए । त्यही मामलामा जाँच चलिरहेका बेला अनुसन्धान अधिकारीहरुले दुई जना आरोपी भागेर नेपाल पुगेको सूचना पाएका थिए ।
सुन प्रकरणमा जोडिएका जागेश्वर शाह र उनका छोरा आशिफ शाह काठमाडौंसम्म पुगेको देखिएपछि काठमाडौंस्थित भारतीय दूतावासलाई यसबारे समन्वय गर्न भन्दै अनुसन्धान अधिकारीहरुले भनेको स्रोतको भनाइ छ ।
विगतमा यस किमिसका अपराध अनुसन्धानमा भारतीय सुरक्षा अधिकारी आफैं काठमाडौंसम्म आउने गरेका थिए । तर, केही महिनाअघि लरेन्स विश्नोई समूहका सदस्यलाई खोज्दै आएका टोली आफैं पक्राउ परेपछि भारतमा अन्तरदेशीय अपरेशनमा कडाइ गरिएको छ ।
गुजरातमा एटीएस र डीआरआईको संयुक्त अपरेशनमा बरामद साढे ९५ किलो सुन ।
‘दूतावासमा सूचना आउने वित्तिकै अध्यागमन विभागमा खबर पुगेको रहेछ, भारतीय अधिकारीहरुले विभागलाई गम्भीरतापूर्वक लिइदिन समेत भनेका रहेछन्’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘तर, दूतावासका अधिकारीहरुले सूचना दिनु अगावै आशिफ भागिसकेको खुलेको थियो ।’
छोरा भागिसकेका कारण बुबा जागेश्वर समेत भाग्नसक्ने प्रबल सम्भावना थियो । त्यसैले उनलाई थप गम्भीरताका साथ खोज्नुपर्ने थियो ।
जानकारहरुका अनुसार, भारतीय अधिकारीहरुले पत्र पठाएको दिन संयोगवश सहसचिव भट्टराई अध्यागमन विभागमै थिए । ‘त्यो बेला विभागका डिजीले उनलाई भारतीय अधिकारीहरुको पत्रबारे जानकारी समेत गराएका रहेछन्’, आयोग स्रोत भन्छ, ‘तर, भोलिपल्ट जागेश्वर अनौठो किमिसले उम्किए ।’
कालोसूचीमा राख्न भनिएको भोलिपल्ट भारतीय प्रहरीको खोजी सूचीमा रहेका जागेश्वर निधक्क साथ बोर्डिङ पास र राहदानी बोकेर अध्यागमन डेस्कतिर सुइँसुइँ हिँडिरहेको सीसी टीभीमा देखिन्छ
स्रोतका अनुसार, कालोसूचीमा राख्न भनिएको भोलिपल्ट भारतीय प्रहरीको खोजी सूचीमा रहेका जागेश्वर निधक्क साथ बोर्डिङ पास र राहदानी बोकेर अध्यागमन डेस्कतिर सुइँसुइँ हिँडिरहेको सीसी टीभीमा देखिन्छ ।
‘सीसी टीभीको दृश्य हेर्दा उनी तलबाटै मोबाइलमा कोहीसँग बोल्दै डेस्कतिर आएको जस्तो देखिन्छ’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यसपछि उनले राहदानी र कागजपत्र देखाएको देखिन्छ । त्यसक्रममा केही संवाद भएजस्तो पनि देखिन्छ ।’
अधिकारीहरुका अनुसार, कालोसूचीमा राखिएको व्यक्ति दुबई उडेको थाहा पाएलगत्तै अध्यागमन विभागबाट भट्टराईलाई त्यसबारे सोधिएको थियो । सुरुमा उनले शंकास्पद व्यक्ति उडेकोबारे अनविज्ञता जनाएको स्रोतको दाबी छ ।
‘हिजो भर्खर त ब्ल्याक लिस्टमा राखेको छ, उडेको छैन भन्दै उहाँले सुरुमा जानकारी गराउनु भएको रहेछ’, स्रोतले भन्यो, ‘तर, फेरि बुझेर खबर गर्नुस् भनेपछि भट्टराईले नै जागेश्वर भागिसकेको पुष्टि गरेका रहेछन् ।’
त्यसपछि विभागबाट आईटी विभाग प्रमुख अनुप न्यौपानेलाई जाँच गर्न विमानस्थल पठाइएको थियो ।
विमानस्थल अध्यागमनमा तीन सिफ्टमा कर्मचारीहरु खटिने गर्छन्, हरेक सिफ्टको मुख्य नेतृत्व डिपार्चर अफिसर (डीओ) ले गर्छन् । कालोसूचीमा राखिएका व्यक्ति भागेपछि सुरुमा त्यो सिफ्टका डीओ कमल उपाध्यायलाई विभागमा तानेर छानबिन गरिएको थियो ।
त्यसक्रममा निरौलाले समेत जागेश्वर कालोसूचीमा रहेको भन्ने पहिले थाहा नभएको स्पष्टीकरण दिएका थिए । उपाध्यायसँग सोधपुछ गरेपछि नेपाली पोर्टमा जागेश्वरलाई प्रस्थान अनुमतिका लागि स्वीकृति दिने अधिकारी को रहेछन् भनेर हेरिएको थियो ।
नेपाली पोर्ट विमानस्थल अध्यागमनमा २०७६ सालदेखि आवतजावत गर्ने यात्रुहरुको पूर्ण विवरण राख्नका लागि प्रयोग हुँदै आएको सफ्टेवयर हो । त्यसमा नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीको बायो–मेट्रिक विवरण, फिंगरप्रिन्टसँगै फोटो समेत राख्ने गरिन्छ । त्यसमा सम्बन्धित व्यक्तिलाई विदेश जान प्रस्थान अनुमति दिने अधिकारीको विवरण समेत रेकर्ड रहन्छ ।
‘त्यसक्रममा जागेश्वरलाई मुरारी निरौला नामक कर्मचारीले डेस्कबाट प्रस्थानका लागि अनुमति दिएको भेटिएको थियो’, एक अधिकारी भन्छन्, ‘उनी डेस्कमा रहेका बेला जागेश्वर त्यहाँ रहेको सीसी टीभी फुटेज समेत भेटिएपछि उनलाई जिम्मेवारीबाट तानिएको थियो ।’
स्रोतका अनुसार, मुरारीलाई गृह मन्त्रालयले जिम्मेवारीबाट तानेको थियो भने उपाध्यायलाई विभागले तानेको थियो । तर, छानबिन समितिले उनीहरुको यसलाई प्राविधिक त्रुटि देखाएपछि उनीहरुलाई कुनै कारबाही भएन । समितिले ‘कहिलेकाहीँ सरकारी सर्भरमा समस्या आउँदा त्यस्तो हुनसक्ने विवरण’ दिएको स्रोतको दाबी छ ।
सहसचिव भट्टराईको पालामा चार महिनामा २१३ जना शिख समुदायका भारतीय नागरिकलाई समेत विदेश पठाइएको खुलिसकेको छ । उनीहरुलाई दूतावासको नो अब्जेक्सन लेटर (एनओसी) विनै विदेश पठाएको अख्तियारको छानबिनमा भेटिएको हो ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, उनको कार्यकालमा फर्जी एनओसीका आधारमा समेत भारतीय नागरिकलाई विदेश पठाएको भेटिएको छ ।
‘शिख समुदायका व्यक्तिलाई विदेश पठाएको एउटा पाटो मात्र हो, अरु प्रकृतिका थुप्रै मानिसहरुलाई समेत तेस्रो मुलुक पठाइएको छ’, ती अधिकृतले भने, ‘ट्राभल एजेन्सी र केही मेनपावर कम्पनीसँग सहसचिव भट्टराईको सिधा सम्पर्क रहेको समेत देखिएको छ ।’
विमानस्थल अध्यागमनमा भिजिट भिसाका नाममा लामो समयदेखि संगठित असुली भइरहेको भन्दै सूचना आएपछि अख्तियारले झण्डै डेढ महिलादेखि गोप्य अनुसन्धान गरिरहेको थियो । केही ठोस प्रमाणहरु हात परेपछि अख्तियारका अधिकारीहरुले ५ जेठदेखि ‘कोभर्ट अपरेशन’ थालेका थिए ।
तर, तेस्रो दिनमा अख्तियारको अपरेशनबारे गृह प्रशासनलाई सूचना चुहियो, सहसचिव भट्टराई एकाएक मन्त्रालय सरुवा भए । त्यसपछि आयोगका अधिकारीहरुले भोलिपल्टै कार्यालयमा छापा हानेर भट्टराईलाई नियन्त्रणमा लिएका थिए ।
भट्टराईको तीन वटा मोबाइल नियन्त्रणमा लिएर साँझ छाडिएको थियो । अहिले उनको मोबाइलको डिजिटल फरेन्सिक जाँचको रिपोर्ट आइसकेको छ भने भट्टराईले असुली गरेको रकम राखेको सम्भावित स्थानबारे समेत आयोगका अधिकारीहरुले पत्ता लगाइसकेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जेठ २९ का लागि थोक मूल्य निर्धारण गरेको हो।
मूल्य तुलना गर्दा केही उपजको मूल्यमा प्रतिशत फरक देखिएको छ।
समितिले विभिन्न फलफूल र तरकारीका मूल्यहरू स्थिर र परिवर्तन भएको विवरण प्रस्तुत गरेको छ।
२९ जेठ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८६, आलु रातो प्रतिकिलो ४०, आलु रातो (भारतीय) प्रतिकिलो ३५, आलु रातो (मुडे) प्रतिकिलो ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४१ रुपैयाँ रहेको छ ।
गाजर (लोकल) प्रतिकिलो ७०, गाजर (तराई) प्रतिकिलो ५०, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ६०, मूला सेतो (लोकल) प्रतिकिलो ३४, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३२, भन्टा लाम्चो प्रतिकिलो २५, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो ४०, मकै बोडी प्रतिकिलो ६५ कायम भएको छ ।
जापान, विश्वमै आधुनिक प्रविधि, व्यवस्थित समाज, अनुशासन, उत्कृष्ट शिक्षा र शान्ति सुरक्षाको प्रतीक देश हो। नेपालका युवाहरूका लागि यो देश पछिल्ला केही दशकयता अध्ययन र रोजगारीको प्रमुख गन्तव्य बनिरहेको छ। विशेषगरी, विद्यार्थी भिसामा जापान आउने नेपालीको संख्या पछिल्ला वर्षहरूमा उच्च दरमा वृद्धि भइरहेको छ।
जापानको अध्यागमन विभाग (इमिग्रेशन सर्भिस एजेन्सी)का अनुसार, २०२४ डिसेम्बरसम्ममा २ लाख ३३ हजार ४३ जना नेपाली जापानमा छन्। तीमध्ये ६४ हजार ८१६ विद्यार्थी भिसामा छन्। जापान विद्यार्थी सेवा संगठन (जेएएसएसओ) को रिपोर्ट अनुसार, २०२४ को मे १ सम्ममा जापानमा ३ लाख ३६ हजार ७०८ विदेशी विद्यार्थी थिए, जसमा चीनपछिको दोस्रो स्थानमा नेपाली थिए। यो तथ्यांक सार्वजनिक भएयता पनि थुप्रै नेपाली विद्यार्थी जापान भित्रिइसकेका छन्।
नेपालमा बसेर हेर्दा जापान अध्ययनको मात्रै होइन, सम्पन्न जीवनको पनि पर्याय जस्तै देखिन्छ। कन्सल्टेन्सीहरूले बनाएका रङ्गीन सपना, ‘काम गर, पैसा कमाऊ, पढ, बचत गर’ भन्दै तिनले देखाउने चमकमा युवाहरू आकर्षित हुन्छन्। तर जापान आइपुगेपछि अधिकांशको त्यो सपना केवल सपनामै सीमित हुन पुग्छ। यहाँ आइपुगेपछि विद्यार्थीको जीवन सुरु हुन्छ श्रमिक जीवनशैली अनि सँगै पढाइलाई अगाडि बढाउनुपर्ने बाध्यात्मक परिस्थिति पनि।
जापान सरकारले विदेशी विद्यार्थीलाई सातामा २८ घण्टा मात्रै काम गर्न अनुमति दिएको छ। १६–१८ लाख रुपैयाँ ऋण गरेर नेपालबाट आएका विद्यार्थीका लागि २८ घण्टा काम गरेर कोठा भाडा, कलेज शुल्क, खानपिन र ऋणको ब्याज तिर्न सम्भव हुँदैन। यसैले धेरै विद्यार्थी नियम विपरीत ‘ह्यान्ड क्यास’ (अवैध) काममा संलग्न हुन्छन्, जुन कानुनी रूपमा जोखिमपूर्ण हुन्छ। अध्यागमनले थाहा पायो भने विद्यार्थीको भिसा खारेज हुन सक्छ, नेपाल फिर्ता हुने खतरा पनि छ र भविष्यमा जापान पुनः आउन प्रतिबन्ध लाग्न सक्छ।
मानसिक तनाव, मौन पीडा
जापानमा रहेका नेपाली विद्यार्थीहरू आर्थिक मात्र होइन, मानसिक रूपमा पनि ठूलो पीडामा छन्। यहाँ महँगी उच्च छ। कोठा भाडा, विभिन्न बिल (जस्तैः पानी, ग्यास, बत्ती, सिम कार्ड) यातायात, हेल्थ इन्स्योरेन्स, ट्युसन फी आदिले विद्यार्थीलाई चौतर्फी चाप दिन्छ। कामको चाप, भाषागत अवरोध, फरक सांस्कृतिक र सामाजिक परिस्थितिले गर्दा मानसिक स्वास्थ्यमा असर पुर्याउने गर्छ।
पछिल्ला वर्षहरूमा केही नेपाली विद्यार्थीले आत्महत्या गरेको घटनाहरू समेत सार्वजनिक भएका छन्। यो स्थिति अत्यन्तै चिन्ताजनक हो। अध्ययन, जीवनयापन र ऋणको चपेटामा परेका धेरै विद्यार्थी भित्रभित्रै टुटिरहेका छन्, तर त्यो बाहिर व्यक्त गर्न सक्दैनन्। कतिपय रुममेटसँगको बेमेलको पीडामा पनि छन्। परिवारबाट टाढा भएको पीडा छँदैछ।
चुनौतीसँगै अवसर
यद्यपि, जापानमा चुनौती मात्रै छैनन्, यहाँ अवसर पनि छन्। त्यसका लागि जुन उद्देश्यका लागि जापान आएको छ, त्यो उद्देश्यमा पूरा ध्यान दिनुपर्छ। जापानको शिक्षा प्रणालीले विद्यार्थीलाई प्राविधिक, पेशागत र व्यावहारिक सीप सिकाउने विशेषता बोकेको छ। सेनमोन गाक्को जस्ता शिक्षालयहरूले विद्यार्थीकै क्षमता अनुसार दक्षता अभिवृद्धि गराउँछन्, जुन नेपाल फर्केर अपनाउन सकिन्छ, जसले आर्थिक सबलतामा उल्लेख्य भूमिका खेल्छ।
त्यो शिक्षा नेपालभन्दा बाहिर भविष्य खोज्नेहरूका लागि पनि सहयोगी हुन्छ। जापानको शिक्षा सीपमूलक र व्यावहारिक छ। यहाँ शिक्षालाई सीप विकास र दक्षतासँग जोडेर हेरिन्छ। कामको क्रममा विद्यार्थीले अनुशासन, समय व्यवस्थापन, ग्राहक सेवा, प्रविधिको प्रयोग र विविध संस्कृति सिक्ने अवसर पाउँछन्।
जापानी भाषा सिक्न गाह्रो भए पनि सिकेपछि यो विश्वभर मान्यता प्राप्त सीप बन्छ। धेरै नेपाली विद्यार्थी, जो सुरुमा भाषा बोल्न सक्दैनथे, उनीहरू अहिले ‘नटू नाइनेन’ (N2) वा ‘नाइनेन इच्ची क्यू’ (N1) पास गरेर दक्ष अनुवादक वा गाइडको रूपमा काम पनि गरिरहेका छन्। धेरै नेपाली विद्यार्थी भिसामा जापान आएर अध्ययन गरेर जापानमै सफल व्यवसायी पनि भएका छन्।
समुदाय र सहकार्यको सकारात्मक पक्ष
जापानका विभिन्न शहरहरूमा रहेका नेपाली विद्यार्थी संघ–संस्था, एनआरएन जापान र स्वस्फूर्त सहयोगी समूहहरूले दुःखमा परेका विद्यार्थीलाई सहयोग गरेका उदाहरण प्रशस्तै छन्। जस्तै– कोठा खोज्न सहयोग, मनोपरामर्श सेवा, कानूनी जानकारी र आपतकालीन राहत सबैमा समुदायको भूमिका महत्त्वपूर्ण रहँदै आएको पनि छ।
वास्तवमा, जापानमा नेपाली विद्यार्थीको आपसी सञ्जाल बलियो बन्दै गएको छ। धेरैजसो विद्यार्थीले दुःख सहँदै पनि अर्कोलाई दुःख नहोस् भनेर आफूले सिकेका कुरा बाँड्ने संस्कार विकास गरेका छन्, जुन नेपालीपन र नेपालीत्वको सकारात्मक झल्को दिन्छ।
अभिभावक र सरकारको जिम्मेवारी
जापान जाने सपना देख्ने विद्यार्थीका लागि नेपाल सरकारको भूमिका अझ प्रभावकारी हुनुपर्छ। जापान पठाउनुअघि कम्तीमा तीन महिने पूर्वतयारी तालिम अनिवार्य गरिनुपर्छ, जसमा जापानी भाषा, संस्कृति, कानूनी नियम, वित्तीय योजना र मानसिक स्वास्थ्यको चेतना समावेश गरिनुपर्छ जस्तो लाग्छ।
नेपाल सरकार, शिक्षा मन्त्रालय र वैदेशिक अध्ययन विभागले र सम्बन्धित निकायले समन्वय गरेर यस सम्बन्धी सकारात्मक पहल र पैरवी गर्न सक्छन्। त्यस्तै, जापानस्थित नेपाली दूतावास, एनआरएन, नेपाली विद्यार्थी समाज जापान र स्थानीय नेपाली संघ–संस्थाले ‘विद्यार्थी सहायता केन्द्र’ सञ्चालन गर्न सक्ने खालको पहल गर्न आवश्यक छ। यस्तो केन्द्रले परामर्श, आवास, आपतकालीन राहत, कानूनी सहायता र रोजगारी सल्लाह प्रदान र सहयोग गर्न सक्छन्।
अभिभावकहरूले पनि विदेशलाई चमत्कारी ठान्न छाड्नुपर्छ। सबै जनाले छिट्टै कमाउँछन्, ऋण तिर्छन्, जमाउँछन् बनाउँछन् भन्ने सोच राख्नुहुँदैन। छिटो सबै कुरा प्राप्त हुँदैन, केही समय, वर्ष खर्चिनुपर्छ । जापान सम्भावनै सम्भावनाले भरिपूर्ण देश पनि हो। विद्यार्थीकालमै सबै सपना पूरा नगरे पनि त्यसपछि सपना पूरा गर्ने मार्ग प्रशस्त छन्। सफलतासँगै संघर्ष पनि अनिवार्य छ भन्ने यथार्थ स्वीकार्नुपर्छ।
जापान आउने नेपाली विद्यार्थीका लागि यहाँको जीवन सुनौलो अवसर र कडा संघर्षको संगम हो। जहाँ चुनौतीका पहाड छन्, त्यहाँ सम्भावनाका ढोका पनि खुला छन्। शर्त एउटै हो—सही तयारी, अनुशासन, मानसिक सन्तुलन र दीर्घकालीन दृष्टिकोण। जापानको अनुभव पीडा मात्र होइन, परिपक्वता र परिवर्तनको पाठ पनि हो। विद्यार्थीलाई पीडाको मात्र होइन, सम्भावनाको पनि कथा लेख्ने वातावरण दिनु सबैको जिम्मेवारी हो- सरकारको, समाजको, अभिभावकको र स्वयं विद्यार्थीको पनि।
मनोचिकित्सक आदित्य डंगोलले कार्यालय कर्मचारीहरूमा तनाव र मानसिक स्वास्थ्य समस्या देखिएको बताए।
तनाव सामान्य हो, तर दैनिकीमा असर परेमा जटिल बन्न सक्छ र निदान आवश्यक हुन्छ।
कार्यस्थल र समाजमा मानसिक स्वास्थ्यबारे जनचेतना अभावले समस्या बढाउन सक्छ।
तपाई तनावमुक्त हुनहुन्छ ? हरेकलाई सोध्ने हो भने कुनै न कुनै कारणले तनावमै भइरहेको जवाफ आउन सक्छ ।
अर्को प्रश्न यस्तै छ, मनोपरामर्श लिन सबैभन्दा बढी कस्ता व्यक्ति आउँछन् ? भनेर सोध्यो भने मनोविद् र मनोचिकित्सकको जवाफ हुन्छ, ‘सबैभन्दा बढी विभिन्न कार्यालयमा काम गर्ने कर्मचारी ।’
ह्याप्पी माइन्डमा कार्यरत मेन्टल हेल्थ प्रोफेशनल आदित्य डंगोल पनि यसै भन्छन् । हेर्दा केही नभएजस्तो देखिने कार्यालयका कमर्चारीहरू प्राय एन्जाइटी, प्यानिक अट्याक र डिप्रेसनका लक्षण लिएर आउने गरेको उनी बताउँछन् ।
हुन पनि हो, २४ घण्टाको आधा समय कार्यालयमा बित्छ । त्यो क्रममा त्यहाँको वातावरणले नै मानसिक स्वास्थ्य कस्तो रहला भनेर भन्न सकिन्छ । यदि वातावरण अनुकूल नभए तनाव बढ्न सक्छ । यसले कार्यमा असर पार्ने मात्र होइन, मानसिक स्वास्थ्यमा पनि असर पारिरहेको हुन्छ ।
यिनै विषयमा मेन्टल हेल्थ प्रोफेशनल आदित्य डंगोलसँग अनलाइनखबरका लागि मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश :
तनाव अधिकांशको जीवनको हिस्सा बनेको छ, यो अवस्था कति बेला सामान्य मान्ने ? कति बेला यसले जटिल रुप लिन सक्छ ?
हामीलाई कुनै परिस्थितिको माग पूरा गर्न गाह्रो लाग्छ । त्यो बेला शारीरिक रुपमा अनुभव हुने भावना हो, तनाव । यो सामान्य अनुभव हो । जुन केही बेरमा कुन कुराले गर्दा तनाव भइरहेको हो । त्यसको समाधान भए पछि सकिन्छ ।
तर, त्यो तनावले दिनहुँ घोचिरहन्छ । दैनिकीमा असर पार्ने गर्छ भने यो समस्या जटिल बन्न सक्छ । अझ यो तनाव पनि समस्या हो भनेर थाहा नपाउँदा यो समस्या थप जटिल बन्न सक्छ ।
जहाँ बढी कामको दबाब हुन्छ, त्यहीँ बढी तनाव हुन्छ भनिन्छ । त्यसोभए सबैभन्दा बढी तनाव त कार्यास्थलका कर्मचारीमा होला नि ?
हो, चर्चा नगरिएको तर गम्भीर हुनुपर्ने विषय भनेको नै कार्यस्थलमा हुने तनाव हो । कार्यस्थल भनेको हामीले आफ्नो अधिकांश समय बिताउने ठाउँ हो । यहाँ विभिन्न जिम्मेवारी दिइएको हुन्छ । निश्चित कामको समयसीमा तोकिएको हुन्छ । कामको सिलसिलामा अनेकौ व्यक्तिहरूसँग अन्तरक्रिया गर्नुपर्ने हुन्छ । हामीले वर्षौंसम्म शैक्षिक र आर्थिक लगानी गरेर यो ठाउँमा पुगेका हुन्छौँ, त्यसैले यहाँ धेरै कुरा दाउमा हुन्छ।
जब हामीले यी जिम्मेवारीहरू र अपेक्षाहरू पूरा गर्न सकिँदैन भन्ने लाग्छ, तब शारीरिक, भावनात्मक र मानसिक रूपमा हामीले अनुभव गर्ने अनुभूतिले तनावको रुप लिन सक्छ।
यो तनावलाई नकारात्मक नलिई सामना गर्न सक्यो भने यसले समस्या गर्दैन । सामना गर्न नसक्दा वा गुम्स्याएर बसिरहँदा कहिलेकाहीँ यो समस्याको रूपमा देखा पर्न सक्छ । यसो भन्दैमा सबैमा यो तनावले समस्या गर्छ भन्ने होइन । जो तनावले बोझ अनुभव गर्छन्, उनीहरूको केसमा यस्तो हुनसक्छ भन्न खोजिएको हो ।
कार्यस्थलमा कस्तो व्यत्तिलाई कस्तो अवस्थाले बढी तनाव गराउन सक्छ ?
कार्यस्थलमा तनाव र चिन्ता पैदा गराउने भनेको जसालाई धेरै हदसम्म अस्पष्ट जिम्मेवारी दिइएको हुन्छ, थेग्न नसक्ने कामको चाप, एकैपटक विभिन्न जिम्मेवारीहरू निभाउनु पर्ने अवस्था, भनेको जति पारिश्रमिक नपाउँदा, मननपरेको काम गर्नुपर्दा, मन नलगाई नलाई कुनै काम गर्नु पर्दा हुनसक्छ ।
जस्तो कि, विशेषगरी युवाहरू, जो इन्टर्नसिप वा सुरुवाती जागिरमा हुन्छन्, उनीहरूले मन नपर्ने काम गर्नुपर्दा र ‘नाइँ’ भन्न नसक्दा तनाव र चिन्ताको सामना गर्छन् । अपेक्षित तलब र उचित मूल्यांकनको अभाव पनि चिन्ताको ठूलो कारण हो ।
धेरै कार्यस्थलमा खुला सञ्चारको कमी छ, जसले कर्मचारीहरूलाई आफ्ना गुनासो वा समस्याहरू व्यक्त गर्न गाह्रो बनाउँछ । साथै, अनावश्यक दबाबले तनाव र चिन्ता बढाउँछ। उदाहरणका लागि, सुपरभाइजरले अस्पष्ट निर्देशन दिँदा वा फरक–फरक अपेक्षा राख्दा कर्मचारीहरू अलमलमा पर्छन्, जसले चिन्ता ट्रिगर गर्छ ।
अर्को भनेको कार्यस्थलमा समयसीमाभित्र काम सक्नुपर्ने दबाब वा अपेक्षा पूरा गर्न नसक्ने डरले तनाव निम्त्याउँछ । थप रूपमा, नेपालमा सफलताको होडले पनि तनाव र चिन्ता बढाएको छ। सामाजिक अपेक्षा, परिवारको दबाब, र आर्थिक असुरक्षाले कर्मचारीहरूलाई सधैँ उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाबमा राख्छ । यो दबाबले दिमागको एमीगडाला अत्यधिक सक्रिय बनाउँछ, जसले साना कुराहरूले पनि चिन्ता र डर निम्त्याउँछ ।
तनाव भइरहने हुन्छ नै । तर, यो तनावले आफूलाई असर पारिरहेको छ भनेर चाहिँ कसरी थाहापाउने ?
सुरुमा त आत्मविश्वासको कमी हुन्छ । अफिस जाने उर्जा नहुने, खाजा खाने समय कतिबेला आउँछ जस्तो हुने, कुराहरू छिटै बिर्सिने, निर्णय लिन गाह्रो हुने, ध्यान केन्द्रित गर्न नसक्ने, मन अन्तै डुलिरहने, बारम्बार एकै किसिमको गल्ती भइरहने, कामबाट उम्किन खोज्ने जस्तो लक्षण देखिन सक्छ ।
यो सँगै शारीरिक लक्षणको रुपमा झर्को लाग्ने, शरीर आलस्य हुने, निराश हुने वा रिस उठ्ने, कहिलेकाहीँ मन त्यसै आत्तिने, कलिहे अति उत्साहित भइदिने, टाउको भारी भइराख्ने हुन्छ भने पक्कै पनि त्यो कामबाट खुसी नभएको र त्यसले नै तनाव दिइरहेको छ भनेर बुझ्नुपर्छ ।
यो समस्या कति बेला जटिल बन्न सक्छ ?
यो तनाव र चिन्ताले व्यक्तिगत जीवनमा पनि गहिरो प्रभाव पार्छ । निद्रा बिग्रिन्छ, खानपिनमा अनियमितता आउँछ, र राति अबेरसम्म फोन चलाउने बानी बढ्छ । परिवार र साथीहरूसँगको सम्बन्धमा तिक्तता आउँछ, किनभने तनावको रिस वा चिडचिडाहट घरमा पोखिन सक्छ । लामो समयसम्म तनाव र चिन्ताले डिप्रेसन हुनसक्छ ।
चिन्ताले मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने वा डर लाग्ने जस्ता अनुभव पनि गराउँछ ।
लामो समयसम्म यस्ता लक्षणहरू रहिरह्यो भने, हृदयरोग, उच्च रक्तचाप वा पाचन प्रणालीमा समस्या निम्तिन सक्छ । त्यो मात्र होइन, योग्य भएका काममै पनि आत्मविश्वास आउँदैन । जसले गर्दा जीवनको गुणस्तर बिग्रिन सक्छ ।
यस्ता समस्या भएर पनि थाहा नपाउँदा कस्तो प्रभाव पार्न सक्छ ?
मानसिक स्वास्थ्यबारे खुला कुराकानी गर्ने चलन कम छ । धेरैले तनाव र चिन्तालाई कमजोरीका रूपमा लिन्छन्, जसले गर्दा मानिसहरू आफ्ना समस्याहरू लुकाउँछन् । कोही भने आफू तनावमा भएको र यसलाई सामना गर्ने तरिका छ भनेर नजान्दा प्रभावित भइरहेका हुन्छन् । यो दबिएको तनावले दिमागमा एक किसिमको बोझ बसिरहेको हुन्छ ।
यदि यो समस्या थाहा नभए वा लुकाइएमा दबिएको तनावले मस्तिष्कको एमिगडालालाई अत्यधिक सक्रिय बनाउँछ, जुन डर र तनावको प्रतिक्रिया नियन्त्रण गर्ने भाग हो । यसले सानो कुरालाई पनि ठूलो खतरा ठानेर चिन्ता र डरमा परिवर्तन गरिदिन्छ । लामो समयसम्म तनाव रहँदा स्मृति र सिक्ने क्षमतामा कमी आउँछ ।
बिर्सने र ध्यान केन्द्रित गर्न नसक्ने समस्या हुनसक्छ ।
तनाव हार्मोन कोर्टिसोलको स्तर बढ्दा मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्स प्रभावित हुन्छ । यो भाग जुन निर्णय लिने र भावना नियन्त्रण गर्ने भाग हो, फलस्वरुव जसले चिडचिडाहट र निराशा बढाउँछ । दबिएको तनावले मस्तिष्कमा रासायनिक असन्तुलले सेरोटोनिन र डोपामिनको कमी पैदा गर्छ, जसले डिप्रेसन गराउन सक्छ ।
नेपालमा मानसिक स्वास्थ्यलाई कमजोरी ठान्ने चलनले यस्ता समस्याहरूलाई लुकाइन्छ, यसकारण मस्तिष्कमा निरन्तर बोझ बनाउँछ। यो बोझले दीर्घकालमा न्यूरोप्लास्टिसिटीलाई कमजोर बनाउँछ र मस्तिष्कको नयाँ कुरा सिक्ने र अनुकूलन गर्ने क्षमता घट्छ । समयमै समस्यालाई पहिचान नगर्दा मस्तिष्कको संरचना र कार्यमा स्थायी क्षति पुग्न सक्छ ।
यस्तो समस्या भएमा व्यवस्थापनका लागि व्यक्तिगत रूपमा के गर्न सकिन्छ ?
तनाव र चिन्ता व्यवस्थापनका लागि पहिलो कदम भनेको शारीरिक गतिविधि हो । नियमित हिँडडुल, योग वा व्यायाम गर्नाले तनाव हार्मोन कोर्टिसोलको स्तर घटाउँछ । कार्यस्थलमा पनि छोटो ब्रेक लिएर हिँड्ने वा स्ट्रेचिङ गर्ने बानीले फरक पार्छ ।
दोस्रो, तनाव र चिन्तालाई दबाएर होइन, फुकाउने बानी गर्नुपर्छ । विश्वासिलो पात्रसँग कुरा पोख्ने गर्नुपर्छ ।
तेस्रो, सुपरभाइजरसँग स्पष्ट कामको प्रतिक्रिया सोध्ने र सुधार गर्नुपर्ने केही छ भने आफैँ कुरा राख्ने । खुला सञ्चारले कर्मचारीलाई आफ्नो भूमिका र अपेक्षा स्पष्ट हुन्छ ।
चौथो, आफ्नो जिम्मेवारीको सीमा निर्धारण गर्न र ‘नाइँ’ भन्न सिक्नुपर्छ ।
नेपालमा धेरै कर्मचारीहरू ‘नाइँ’ भन्न डराउँछन्, जसले अनावश्यक दबाब बढाउँछ । पाँचौँ, आफूसँग सकारात्मक कुराकानी गर्नुपर्छ । उदाहरणका लागि, ‘मैले गल्ती गरेँ, ठिकै छ, म सिक्छु’ भन्ने सोचले आत्मविश्वास बढ्छ ।
जति गरे पनि हुँदैन वा, त्यो कामले खासै उपलब्धि दिइरहेको छैन भन्ने लागिरहन्छ भने त्यो जागिर छाडेर नयाँ अवसर खोज्न सकिन्छ । यदि तनाव र चिन्ताले दैनिक जीवन प्रभावित गरिरहेको छ भने, साइकोलोजिस्ट वा थेरापिस्टसँग परामर्श लिनु उत्तम हुन्छ ।
कोग्निटिभ बिहेभियर थेरापी, डायलेक्टिकल बिहेभियर थेरापी, वा माइन्डफुलनेस–आधारित थेरापीले चिन्ता र तनाव व्यवस्थापनमा सहयोग गर्छ । यसले हराइको आत्मविश्वासलाई बलियो बनाएर एउटा लयमा ल्याउन मद्दत दिन्छ ।
कर्मचारीमा यो समस्या भइरहयो भने कामको गुणस्तर र उत्पादशीलमा पनि प्रभाव पार्छ । यस्तोमा कार्यालयले पनि केही कदम चालेर यसको व्यवस्थापन गर्न सक्छन्, त ?
कार्यस्थलले कर्मचारीको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ । पहिलो, कार्यस्थलले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर स्वस्थ र उत्पादनशील वातावरण बनाउन सक्छ ।
जस्तै, कर्मचारीको काम वा उसको पारिश्रमिकदेखि हरेक कुरा गोपनीयतामा राख्नुपर्छ । दोस्रो, काम मात्र भन्दा पनि यसलाई असर नगर्ने गरी कामसँगै मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गर्न सक्छ । जस्तो कि, टिम आउटिङ, खेलकुद वा रमाइला कार्यक्रमहरूले कार्यस्थलको वातावरण रमाइलो बनाउँछ ।
तेस्रो, भनेको कर्मचारीहरूलाई साइकोलोजिस्ट वा काउन्सिलरसँग परामर्श गर्ने अवसर दिनुपर्छ । नेपालमा यस्ता सुविधाहरू कमै छन्, तर यो निकै प्रभावकारी हुन्छ। खुला सञ्चारको वातावरण बनाउनुपर्छ, जहाँ कर्मचारीहरूले आफ्ना गुनासो वा समस्याहरू गोप्य रूपमा व्यक्त गर्न सकून्।
चौथो, लचिलो कार्य समय र स्वायत्तताले कर्मचारीहरूलाई आफ्नो काम आफ्नै तरिकाले व्यवस्थापन गर्न सहयोग गर्छ । उदाहरणका लागि, सम्भव भए घरबाट काम गर्ने सुविधा वा लचिलो समयसीमाले तनाव र चिन्ता कम गर्छ ।
अन्तमा, कार्यस्थलले कर्मचारीको कामको उचित मूल्यांकन र पुरस्कारको व्यवस्था गर्नुपर्छ, जसले उनीहरूको मनोबल र प्रेरणा बढ्छ ।
नेपालमा मानसिक स्वास्थ्यबारे जनचेतना कस्तो छ ? यसले तनाव व्यवस्थापनमा कसरी प्रभाव पार्छ ?
नेपालमा मानसिक स्वास्थ्यबारे जनचेतना निकै कम छ । धेरैले तनाव र चिन्तालाई कमजोरीको रूपमा लिन्छन्, जसले गर्दा मानिसहरू खुला रूपमा कुरा गर्न हिचकिचाउँछन् । यो सांस्कृतिक र सामाजिक मान्यताले तनाव र चिन्ता व्यवस्थापनलाई जटिल बनाउँछ । उदाहरणका लागि, थेरापी वा परामर्श लिनुलाई लज्जास्पद ठानिन्छ ।
यसलाई बदल्न जनचेतना अभियानहरू आवश्यक छन् । स्कूल, विश्वविद्यालय र कार्यस्थलहरूमा मानसिक स्वास्थ्यबारे छलफल गर्नुपर्छ। । यदि तनाव र चिन्ताले जीवन प्रभावित गरिरहेको छ भने, ढिलो नगरी विशेषज्ञसँग परामर्श लिनुपर्छ। सानो कदमले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।
स्थानीय अभिभावक कमला विक भन्छिन्, ‘हामी मेलापात छोडेर बिहान १ घण्टा पैदल हिँडेर छोराछोरी विद्यालयमा ल्याउँछौं तर विद्यालय सधैं बन्द देखिन्छ । हाम्रो समय पनि बर्बाद, बालबालिकाको भविष्य पनि बर्बाद ।’
२९ जेठ, तम्घास । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले करार शिक्षकहरूलाई हटाउने निर्णय गरेपछि उत्पन्न विवादले दुई विद्यालयको पढाइ नै प्रभावित भएको छ ।
मालिका गाउँपालिका–२ दर्लिङ्गमा रहेको शान्त समाज बालविकास केन्द्र र मालिका गाउँपालिका–७, घमिरमा रहेको बासखोला बालविकास केन्द्र बन्द भएका हुन् । ती दुवै विद्यालयका शिक्षकहरुको करार सेवालाई गाउँपालिकाले निरन्तरता नदिने निर्णय गरेपछि विद्यालयमा अध्ययनरत बालबालिकाहरुको भविष्य अन्योलमा परेको अभिभावकहरुको गुनासो छ ।
११ बालबालिका अध्ययनरत शान्त समाज बालविकास केन्द्रमा कार्यरत शिक्षिका कल्पना घर्तीलाई हटाउने निर्णय गाउँपालिकाले गरेको थियो । त्यसैले यो विद्यालय एक सातादेखि बन्द छ ।
स्थानीय अभिभावक कमला विक भन्छिन्, ‘हामी मेलापात छोडेर बिहान १ घण्टा पैदल हिँडेर छोराछोरी विद्यालयमा ल्याउँछौं तर विद्यालय सधैं बन्द देखिन्छ । हाम्रो समय पनि बर्बाद, बालबालिकाको भविष्य पनि बर्बाद ।’
बालविकास केन्द्रका सदस्य दानबहादुर घर्तीले पाँच वर्षदेखि सुचारु रहेको विद्यालय एक्कासि बन्द गरिँदा अभिभावकमा निराशा छाएको बताए । ‘हामीलाई शिक्षक हटाउने निर्णयबारे कुनै जानकारी छैन,’ उनले भने, ‘यहाँको भौगोलिक अवस्थाका कारण बालबालिका अन्यत्र स्थानान्तरण गर्न गाह्रो छ । खोलानाला तर्नुपर्छ, दूरी धेरै छ ।’
यसैगरी मालिका गाउँपालिका–७, घमिरमा रहेको बासखोला बालविकास केन्द्र समेत बन्द भएको छ । सो केन्द्रमा कार्यरत अस्थायी शिक्षिका राधिका खड्कालाई हटाउने निर्णयसँगै केन्द्र बन्द गरिँदा त्यहाँ अध्ययनरत ७ जना बालबालिका र तिनका अभिभावक प्रभावित भएका छन् ।
करार कर्मचारीको विवाद
पद सिर्जना नभई नियुक्त भएको भन्दै गाउँपालिकाले ३७ जना शिक्षक/कर्मचारीहरुको २०८२ वैशाखपछि करार अवधि नथप्ने निर्णय गरेको थियो । २०८२ बैशाख २३ मा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको थियो । निर्णय हुने दिनको कार्यपालिका बैठकमा उपाध्यक्षबाहेक १३ जना उपस्थित थिए । जसमा ४ वडाध्यक्षसहित ५ जना कार्यपालिका सदस्यले यस विषयमा फरक मत राखेका थिए ।
मालिका गाउँपालिका अध्यक्ष देबीराम अर्यालले एकलौटी रुपमा करार शिक्षकहरुको सेवा अवधि नथप्ने निर्णय गरेको भन्दै पालिकाभित्रै विवाद सिर्जना भएको छ । गाउँपालिकाका वडानम्बर–५ का वडाअध्यक्ष रेखाकुमार जिसीले पत्रकार सम्मेलन गरेरै निर्णय सच्याउनुपर्ने बताएका थिए ।
पालिकाको आन्तरिक विवाद चर्किएपछि करिब दुई महिना अघि मात्र मालिका गाउँपालिकामा पदस्थापन भएका प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले समेत सरुवा मागेर गाउँपालिका छाडेका थिए ।
गाउँपालिकाका तत्कालीन प्रवक्ता शोभाखर गिरीले स्थानीय सरकारले कोही कसैको जागिर खोस्ने विषय भन्दा पनि संघसंस्था ढल्ने स्थितिमा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।
२९ जेठ, काठमाडौं। काठमाडौंको कपनबाट एक जना वृद्ध बेपत्ता भएका छन् ।
प्युठानको टारी स्थायी घर भई कपन बस्दै आएका ६८ वर्षीय सिद्धिमणि सुवेदी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सुवेदी बुधबारदेखि सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । उनी बुधबार बिहान करिब साढे ९ बजे घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्कमा नआएको परिवारको भनाइ छ ।
घरबाट निस्किंदा उनले निलो र सेतो बुट्टा भएको सर्ट, हरियो (मेहेन्दी) रङको हाफपाइन्ट र निलो ‘fila’ लेखेको चप्पल लगाएका थिए ।
आफन्तका अनुसार उनलाई बिर्सिने रोग छ । प्रहरीले हराएका सुवेदीलाई कसैले भेटाए मोबाइल नम्बर ९८६११४३१६५/ ९८५१०७८०७५ वा नजिकको प्रहरीलाई खबर गरिदिन भनेको छ ।
२९ जेठ, काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि भूमि समस्या समाधान आयोगले निवेदन आह्वान गरेको छ ।
उनीहरुलाई जग्गा वितरणका लागि आयोगले पुन: सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ ।
निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक खटिएका छन् । उनीहरू मार्फत निवेदन दिन सकिने आयोगले जनाएको छ ।
यो सूचना पहिलोपटक वैशाख ३१ गते प्रकाशित भएको थियो ।
वैकुण्ठधाम समितिले माडीको धनलक्ष्मी झरनालाई पर्यटन विकास गर्न पहल थालेको छ।
झरना करिब ६० मिटर उचाइबाट खस्ने र धार्मिक तथा पर्यटकीय महत्वको स्थल हो।
सिँढी र पूर्वाधार अभावले अझै पूर्ण रुपमा पर्यटकलाई आकर्षित गर्न सकेको छैन।
भरतपुर (चितवन), २९ जेठ । दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । यसबारे धेरैलाई जानकारीसमेत छ, तर माडीमै रहेको सुन्दर ‘धनलक्ष्मी झरना’ का विषयमा भने धेरैजसो बेखबर छन् । करिब ६० मिटर उचाइबाट खस्ने यो झरनालाई समेटेर पर्यटन विकास गर्न वैकुण्ठधाम क्षेत्र व्यवस्थापन समितिले अग्रसरता देखाएको छ ।
वैकुण्ठ तालभन्दा माथि करिब डेढ घण्टाको पैदल यात्रापछि पुगिने धनलक्ष्मी झरना स्थानीयस्तरमै नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको वैकुण्ठधाम पूजा तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारले बताए ।
तालदेखि झरनासम्म पुग्नका लागि आधा बाटोसम्म सिँढी निर्माण भइसकेको छभने बाँकी सिँढी आगामी वर्ष पूरा गरिने योजना रहेको उनले जानकारी दिए । ‘बजेटको अभावका कारण सोचेअनुसार काम गर्न सकिएको छैन, झरना पुग्ने बाटो मात्रै बनाउन सके पनि धेरै पर्यटक लैजान सकिने थियो’, परियारले भने ।
माडी नगरपालिका-८ का पूर्ववडाध्यक्ष कृष्ण अधिकारीका अनुसार माडीको यस क्षेत्रमा विसं २०२०/२२ तिरबाट बस्ती बस्न थालेको हो । सोही समयदेखि वैकुण्ठ ताल वरपर मेला गर्ने र बाल चतुर्दशीमा शत् बीउ छर्ने परम्परा सुरु भएको हो । त्यस अवसरमा माडी मात्रै नभई चितवन, छिमेकी जिल्ला र भारतीय सीमावर्ती क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन् । अधिकारीले यहाँ आए धन प्राप्त गर्ने चाहना पूरा हुने किंवदन्ती भएकाले झरनालाई धनलक्ष्मी झरनाको नाम दिइएको बताए ।
भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ छ, यो ठाउँ । खरकट्टाबाट ताल रहेको जङ्गलको छेउसम्म मोटर गुड्न सक्ने तीन किलोमिटर पक्की सडक छ । गाडीबाट झरेपछि लगभग २० मिनेट उकालो हिँडेर वैकुण्ठे ताल पुगिन्छ । त्यहाँबाट डेढ घण्टाको यात्रामा झरना पुग्न सकिन्छ ।
‘अचेल धार्मिक कारण र घुमफिरका लागि पनि मान्छेहरू झरना भएको ठाउँमा आउने गर्छन्’, वडाध्यक्ष अधिकारीले भने, ‘सिँढीसहितको पूर्वाधार निर्माण गर्न सके अझै धेरै पर्यटक यहाँ ल्याउन सकिन्छ । हाल झरनासँगै वैकुण्ठधाम क्षेत्रका नै पर्यटकीयस्थललाई प्रवर्द्धन गर्न थालिएको छ ।’
वैकुण्ठधाम क्षेत्रभित्र पर्ने वैकुण्ठताल, धनलक्ष्मी झरना, वैकुण्ठेश्वर शिवालय मन्दिर, कैलाश पर्वत, प्रेम दह, मनमोह भिर, दुई खोला दोभान, चमेरे गुफा र आरण्य बौद्ध विहार प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हुन् ।
यिनै सम्पदाका कारण माडी पर्यटकहरूको चासोको केन्द्र बन्न थालेको उनको भनाइ छ । साथै कान्तिपुर सामूहिक खेती, ‘फार्म स्टे’ र अयोध्या मार्गजस्ता योजनाहरूले यहाँको पर्यटनलाई समुदायसँग जोड्दै थप आकर्षक बनाएको अधिकारीले बताउँछन् ।
वैकुण्ठ क्षेत्रलाई एकीकृत रुपमा विकास गर्ने योजना बनेपछि धनलक्ष्मी छहरासम्म पर्यटक पुर्याउने गरी काम अगाडि बढाउन लागिएको नगर उपप्रमुख खेमप्रसाद महतोले बताए । ‘झर्नाप्रति आकर्षण बढ्दै छ । जङ्गलभित्रै रहेकाले धेरैले जानकारीसमेत पाएका छैनन् । यसको प्रचार गर्न र पूर्वाधार निर्माण गरे भविष्यमा महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्नसक्छ । त्यसैले अब आवश्यक बजेटको व्यवस्था गरेर काम गर्छौं’, उनले भने ।
माडी भौगोलिक हिसाबले निकै आकर्षक छ, तर दर्जनौँ खहरे खोला र तीन तर्फबाट चितवन निकुञ्जसँग जोडिएका कारण जङ्गली जनावरले स्थानीयलाई दुःख दिने गरेका छन् ।
निकुञ्जका बाघ, गैँडा देखाएर अन्यत्र पर्यटन फस्टाए पनि माडीमा यसबाट लाभ लिनेभन्दा क्षति बेहोर्ने परिरहेको गुनासा छन् । झर्ना, ताल र धार्मिक क्षेत्रहरू रहेको यस क्षेत्रको विकासका लागि सोहीअनुसार योजना बनाइएको नगर उपप्रमुख महतोले बताए ।
दक्षिण भारतीय सिनेमा उद्योगले विश्वव्यापी सफलता हासिल गरी बलिउडलाई चुनौती दिएको छ।
सन् १९१३ देखि १०० वर्षभन्दा पुरानो इतिहास भएको दक्षिण भारतीय सिनेमाले विभिन्न भाषामा फिल्म निर्माण गर्दै विशिष्टता देखाएको छ।
सफलताको मुख्य कारण विविध भाषामा विश्वव्यापी रिलिज, मौलिकता, र प्रविधि तथा प्रचार रणनीतिले यसलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएको हो।
हालैका वर्षहरूमा दक्षिण भारतीय सिनेमा असाधारण तरिकाले उचाइमा पुगेको छ । एक समय थियो-जुनबेला बलिउडलाई भारतीय सिनेमाको प्रतिनिधि मानिन्थ्यो । तर आजकल दक्षिण भारतको सिनेमा उद्योग रफ्तारमा बढेकाले तत्कालै त्यसो भन्न अलि हतारो भएको हो कि भन्ने लाग्ने अवस्था बनिरहेको छ ।
विशेषगरी तेलुगु, तामिल, मलयालम र कन्नड फिल्महरूले बक्स अफिस र दर्शकको मन जित्ने सवालमा बलिउडलाई उछिन्न थालिसकेका छन्।
‘केजीएफ’, ‘पोनियन सेल्भन’, ‘आरआरआर’, ‘कान्तारा’, ‘कल्की २८९८ एडी’ जस्ता चलचित्रहरूको विश्वव्यापी सफलता र केही अघि सम्पन्न ७०औं राष्ट्रिय फिल्म पुरस्कारमा दक्षिण भारतीय सिनेमाको वर्चश्वले यस प्रवृत्तिलाई अझ पुष्टि गर्छ ।
यो अवस्थाका आधारमा भन्न सकिन्छ कि, दक्षिण भारतीय सिनेमा अब केवल भारतमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म फैलिसकेको छ ।
दक्षिण भारतीय सिनेमाको इतिहास
यसमा मुख्यतया चार प्रमुख भाषिक उद्योगहरू-तामिल, तेलुगु, कन्नड र मलयालम पर्छन् । समग्रमा यिनको इतिहास 100 वर्षभन्दा पुरानो छ ।
मुम्बईमा दादासाहेब फाल्केले ‘राजा हरिश्चन्द्र’ (१९१३) बनाएपछि यसको प्रभाव मद्रास (अहिले चेन्नई) सम्म आइपुग्यो । दक्षिण भारतमा बनेको पहिलो फिचर फिल्म ‘कीचक वधम्’ (१९१८) हो । जुन तामिल भाषाको थियो ।
आर. नटराज मुदलियारले निर्देशन गरेको यो फिल्म आवाजविहीन थियो । आजकल उनलाई ‘तामिल सिनेमाका पिता’ पनि भन्ने गरिन्छ । उनले नै त्यस भेगमा पहिलो फिल्म स्टुडियो स्थापना गरेका थिए ।
त्यस्तै सन् १९३१ मा ‘आलम आरा’ रिलिज भएपछि दक्षिण भारतीय सिनेमामा पनि आवाज सहितका फिल्महरू बन्न थाले । तुलनात्मक रूपमा मलयालम सिनेमामा आवाजको सुरुवात अलि ढिलो भएको थियो ।
तर दक्षिण भारतीय फिल्म निर्माणको प्रमुख केन्द्र मद्रास (चेन्नई) बन्न थालेपछि भने एक प्रकारको क्रान्ति नै भयो । त्यससमयमा चलचित्रकर्मीहरू पनि परम्परागत पौराणिक कथाहरूबाट बाहिर निस्केर सामाजिक यथार्थवादतर्फ लाग्न थालेका थिए ।
सन् १९९० को दशकपछि भने व्यावसायिकताका लागि मसलेदार फिल्महरूको दबदबा रहन थाल्यो । यो समयमा एक्सन, कमेडी, रोमान्स, ड्रामाको मिश्रण भएका फिल्महरूले बक्स अफिसमा धूम मच्चाएका थिए ।
अहिले हालैका वर्षहरूमा भने दक्षिण भारतीय सिनेमाका लागि क्रान्तिकारी साबित भइरहेको छ । प्रविधिको विकास, कथा वाचनमा नयाँ शैली, महत्त्वाकांक्षी प्रोजेक्टहरूले यसलाई क्षेत्रीय सीमाबाट बाहिर निकालेर ‘प्यान-इन्डियन’ (अखिल भारतीय) पहिचान दिने अवस्थामा पुर्याइदिएको छ ।
तर दक्षिण भारतीय फिल्मलाई आजको उचाइमा पुर्याउन विभिन्न कालखण्डका अनेकौं प्रतिभाशाली व्यक्तिहरूको योगदान छ ।
यसमा आर.नटराज मुदलियार, एम.जी. रामचन्द्रन (एमजीआर), शिवाजी गणेशन, एन.टी. रामाराव (एनटीआर), अक्किनेनी नागेश्वर राव (एएनआर), के.बालचन्दर, भारतीराजा, रजनीकान्त, कमल हासन, चिरञ्जीवी, इलैयाराजा, ए.आर.रहमान, एस.एस. राजामौली, प्रशान्त नील, शंकर जस्ता निर्देशकहरूको ठूलो भूमिका छ ।
सफलताको कारण
व्यक्तिसँगै दक्षिण भारतीय सिनेमा सफल हुनुमा अन्य विविध कारण नि छन् । मुख्य कुरा भनेको यी चलचित्रहरू विभिन्न भाषाहरूमा भारतभर रिलिज हुन्छन् । त्यसले गर्दा अन्य भाषीहरूमाझ सहजै चलचित्र पुग्छ । भाषाको विविधिकरणसँगै यी फिल्महरू मौलिक, सांस्कृतिक रूपमा विशिष्ट र शैलीगत रूपमा नवीन हुनु पनि हो ।
आजभोलि भने दक्षिण भारतीय चलचित्रहरूमा फरक-फरक शैली र विधाका विषयहरू उठाउन थालिएको छ । सांस्कृतिक मौलिकता र विश्वसनीय कथा भन्ने सीपले गर्दा यी फिल्महरू विश्वव्यापी दर्शकहरूसँग गहिरो सम्बन्ध बनाउन सफल भएका छन् । ‘कान्तारा’ जस्तो चलचित्र स्थानीय परम्परा, भूमि विवाद, प्रकृति दोहन जस्तो गहिरो विषय उठाउँदै विश्वव्यापी दर्शकहरूमाझ रुचाइएको उदाहरण हो ।
अब त यस भेगका फिल्मको गुणस्तर पनि बलिउडभन्दा कम छैन । यसको पुष्टि त केही अघि भएको ७०औं राष्ट्रिय चलचित्र पुरस्कारमा भएको थियो । त्यहाँ मलयालम चलचित्र ‘आत्तम’ ले उत्कृष्ट चलचित्रको उपाधि जितेको थियो ।
त्यसबाहेक अन्य धेरै दक्षिण भारतीय चलचित्रहरूले विभिन्न विधाहरूमा पुरस्कार पाए । समग्रमा विभिन्न विधामा दक्षिण भारतीय चलचित्रले कुल २० वटा पुरस्कार हात पार्दा हिन्दी चलचित्र केवल ६ वटा पुरस्कारमा सीमित रहेको थियो ।
अझ त बलिउड छाडेर दक्षिण भारतीय सिने क्षेत्रमा चर्चित सिनेकर्मीहरू जान पनि थालेका छन् । तर धेरैले बलिउड र दक्षिण भारतीय सिनेमामा सँगसँगै काम गर्ने गरेको पनि पाइन्छ ।
यसबाहेक प्रचार रणनीतिलाई पनि कारण मानिएको छ । यस विषयमा सिने क्षेत्रको व्यापार विश्लेषक विपिन कुमार यस उद्योगमा हरेक चलचित्रको प्रचार रणनीति त्यसको विषयवस्तु र लक्षित दर्शकअनुसार तयार गरिने बताउँछन् । जुन चलचित्रको घोषणा, रिलिजअघिको प्रचार, रिलिजपछिको समीक्षाका लागि गरिने उनको भनाइ छ ।
सोहीकारणले बक्स अफिसमा नयाँ कीर्तिमान कायम भइरहेको बताइन्छ । यी क्षेत्रका फिल्मले घरेलु बजारमा मात्र होइन अमेरिका, मध्यपूर्व, दक्षिण-पूर्व एसिया लगायतका अन्तर्राष्ट्रिय बजारमा समेत कीर्तिमानी आम्दानी गरिरहेका छन् । त्यसमा भारतबाहिरका प्रवासी दर्शकहरू ठूलो योगदानकर्ता हुन् ।
उनीहरू आफैं पहिलो दिन चलचित्र हेर्न र आफ्ना साथीहरूलाई सिफारिस गर्न आतुर हुन्छन् । यसले गर्दा कुनै पनि सिनेमाको ओपनिङलाई बलियो बनाउने गर्छ ।
किन पछि पर्दैछ बलिउड ?
यसरी अहिले चलिरहेको दृश्यलाई सारांश भन्दा भारतीय सिनेमामा एउटा रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको छ । जुन दक्षिण भारतीय फिल्म उद्योग र बलिउडबीचको ‘युद्ध’ हो । बक्स अफिस त छँदैछ । यसबाहेक कथावस्तु, उत्पादनको गुणस्तर र दर्शकमाझ पुग्ने क्षमतामा पनि यो युद्ध फैलिएको छ ।
अब जुन उद्योग यी कुरामा चुक्छ, ऊ पछि पर्ने देखिन्छ । तर अहिले बलिउडमा मौलिकताको कमी देखिन थालेको छ । सफल विदेशी फिल्महरूको रिमेक वा पुरानै फर्मुलाका फिल्महरूमा बढी निर्भरता भइरहेको छ । त्यसमाथि ‘बाहुबली’, ‘आरआरआर’ र ‘केजीएफ’ जस्ता फिल्महरूको भव्य दृश्य, एक्सन र भिजुअल इफेक्ट्स (भीएफएक्स) ले ठूलो संख्यामा दर्शकहरूलाई लोभ्याइरहेको छ ।
यसले गर्दा अब बलिउड सचेत भइसकेको छ । दर्शकहरूलाई आकर्षित गर्न नयाँ र बलियो कथावस्तुमा ध्यान दिन थाल्नु, दक्षिण भारतीय निर्देशक, लेखक र कलाकारहरूसँग मिलेर काम गर्न थाल्नु त्यसको उदाहरण हो ।
२९ जेठ, काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अपनाउन लागिएको हो ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा तेस्रोपटक निर्वाचन तालिका संशोधन गरिएको थियो । तर सहमति नजुटेपछि आज बिहानबाट ८ बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको छ ।
निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ । त्यसका लागि ४० बढी मेसिन तयारी अवस्थामा राखिएको छ ।
एक हजार ५०० बढी प्रतिनिधिहरुले पदाधिकारीसहितको नयाँ कार्यसमिति चुन्ने छन् ।
अनेरास्ववियुको अध्यक्ष पदमा डा. सुजन कडरिया र प्रकाश पौडेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी र गणेशबहादुर शाही उम्मेदवार छन् । यसैगरी महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईको उम्मेदवार छन् ।
महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलबीच प्रतिस्पर्धा हुनेछ ।
उपमहासचिवमा अमर बहादुर शाही, कमल जोशी, प्रेमिका शाही तथा सचिवमा रक्षा बम, रोहित बम, मनोज राई, अनुप लामिछाने, स्मृती बराल, रेखा न्यौपाने, मदन भण्डारी, आकाश अधिकारी लगायत उम्मेदवार छन् ।
नेपालका राजदूत लोकदर्शन रेग्मीले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरे।
उहाँले नेपाल र अमेरिकाबीच सम्बन्ध निरन्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रपति ट्रम्पले नयाँ दायित्व बहन गर्न राजदूतलाई बधाई दिए र सहकार्यको प्रतिबद्धता व्यक्त गरे।
२९ जेठ, वाशिङ्गटन डिसी (अमेरिका) । अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
बुधबार राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेको नेपाली नियोगले जनाएको छ ।
कार्यक्रममा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपाली नागरिकका तर्फबाट राष्ट्रपति ट्रम्पको सुस्वास्थ्य, खुसी र सफल कार्यकालको कामना गरेका थिए । राजदूत रेग्मीले नेपाल र अमेरिकाबीचको द्विपक्षीय र पारस्परिक सम्बन्ध निरन्तर वृद्धि र मजबुत हुने विश्वास व्यक्त गरे ।
उनले अमेरिकाले सामाजिक, आर्थिकलगायत नेपालका विकास प्राथमितामा पुर्याउँदै आएको सहयोगका लागि आभारसमेत व्यक्त गरे ।
राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीलाई अमेरिकामा स्वागत गर्दै नयाँ दायित्व बहन गरेकोमा बधाई ज्ञापन गरे । उनले अमेरिकी सरकार दुई देशबीच सामूहिक चासोका साथ सहकार्यमार्फत सुमधुर र पारस्परिक सम्बन्ध थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका थिए ।
'शोले' चलचित्र ५० वर्षपछि पनि लोकप्रिय छ र यसले हिन्दी सिनेमाको दिशा परिवर्तन गर्यो।
सन् १९७५ मा रिलिज भएको यस चलचित्रले मुम्बईको मिनर्वा थिएटरमा पाँच वर्षसम्म निरन्तर प्रदर्शन भयो।
यसले भारतीय चलचित्र इतिहासमा धेरै रोचक तथ्यहरू र सांस्कृतिक प्रभावहरू छोडेको छ।
काठमाडौं । रमेश सिप्पीको ‘शोले’ (१९७५) ले हिन्दी सिनेमाको दिशा नै बदलिदियो । यसले संलग्न कलाकारहरूको जीवन परिवर्तन गर्यो । व्यावसायिक चलचित्रको सफलताको मानक बन्यो ।
यो चलचित्र दुई साथीहरू जय (अमिताभ बच्चन) र वीरु (धर्मेन्द्र) को कथा हो । उनीहरूले ठाकुर (संजीव कुमार) को तर्फबाट डाकु गब्बर सिंह (अमजद खान) लाई सजाय दिन्छन् ।
यसका पात्रहरूले बोल्ने संवादहरू आम व्यक्तिका मुखमा अहिले पनि झुण्डिरहेका छन् । कताकता यसका पात्रहरू हाम्रै सांस्कृतिक परम्पराको अङ्ग पनि बनेका छन् ।
अहिले चलचित्र रिलिज भएको ५० वर्ष भइसकेको छ । तर यसका यस्तै धेरै रोचक तथ्यहरू तपाईंलाई थाहा नभएको हुन सक्छ ।
१. सन् १९९९ मा बीबीसी इन्डिया र अन्य सर्वेक्षणहरूले ‘शोले’लाई मिलेनियमको चलचित्र घोषित गरेको थियो ।
२. सन् १९७५ देखि १९८० सम्म मुम्बईको मिनर्वा थिएटरमा ‘शोले’ लगातार पाँच वर्षसम्म निरन्तर प्रदर्शन भएको थियो ।
३. ‘शोले’ भारतको पहिलो ७० मिलिमिटर, स्टीरियोफोनिक साउन्ड चलचित्र थियो । तर मिनर्वा थिएटरमा फिल्मको प्रिमियर भने ३५ मिमी प्रिन्टले गरिएको थियो । किनकि ७० मिमी प्रिन्टहरू भन्सारमा अड्किएका थिए ।
४. चलचित्रका लेखक सलिम खान र जावेद अख्तरले साइनिङ रकमको रूपमा १० हजार भारु पाएका थिए, जुन १९७० को दशकमा ठूलो रकम थियो ।
५. अभिनेता संजीव कुमारले ‘ठाकुर’को नभई ‘गब्बर’ को भूमिका खेल्न इच्छा देखाएका थिए । त्यसैले निर्देशकलाई उक्त भूमिकामा आफू ठिक रहेको देखाउन उनले आफ्नो दाँत कालो पार्ने र कपाल मुण्डाउने सम्मको प्रस्ताव गरेका गरेका थिए ।
६. धर्मेन्द्र ठाकुरको भूमिका खेल्न चाहन्थे । तर निर्देशकले उनले त्यसो गरेमा हेमा मालिनी संजीव कुमारको हुन सक्छिन् भनेर सम्झाएका थिए । किनकि धर्मेन्द्र-हेमा प्रेमकथा भर्खर सुरु हुँदै थियो । तर संजीवले पहिले नै हेमालाई विवाहको प्रस्ताव गरिसकेका थिए ।
७. निर्माताहरूले सुरुमा जयको भूमिकाका लागि शत्रुघ्न सिन्हालाई विचार गरेका थिए ।
८. जयको भूमिकामा अमिताभ बच्चनलाई सलीम खानले सिफारिस गरेका थिए । यस कुरामा केही विरोध भए पनि पछि सबै सहमत भएका थिए ।
९. सुरुमा दिलीप कुमारलाई ठाकुरको भूमिका प्रस्ताव गरिएको थियो । तर उनले अस्वीकार गरे । पछि भने पछुतो लागेको उनले बताएका थिए ।
१०. डेनी डेन्जोङ्पालाई गब्बर सिंहको भूमिका प्रस्ताव गरिएको थियो । तर त्यसबेला उनी ‘धर्मात्मा’ को सुटिङमा व्यस्त थिए ।
११. राधा (जया बच्चन)ले बत्ति निभाउने र जय (अमिताभ बच्चन)ले हार्मोनिका बजाउने एक मिनेटको दृश्य खिच्न सिनेमेटोग्राफरलाई २० दिन लागेको थियो । किनकि यो कुरा सूर्यास्तको ‘म्याजिक आवर’मा खिचिएको थियो ।
१२. गब्बरले ठाकुरको परिवारलाई मार्ने दृश्य खिच्न टिमलाई तीन शेड्युलमा २३ दिन लागेको थियो ।
१३. गब्बर सिंह चलचित्रको केवल ९ दृश्यहरूमा देखिन्छन् ।
१४. सलीम खानका बुबाले उनलाई गब्बर नामक एक कुख्यात डाकुको कथा सुनाउने गर्थे । उनी प्रहरी थिए । त्यहीबाट फिल्मको पात्र गब्बर सिंहको नाम आएको हो ।
१५. फिल्मको पात्रको नाम ठाकुर बलदेव सिंह वास्तवमा सलीम खानका ससुराको नाम हो ।
१६. बैंगलोरको हरियाली क्षेत्रमा सुटिङ गर्दा धेरैले राजस्थान जस्ता क्षेत्रमा खिचिनुपर्ने भनेर असन्तुष्टि जनाएका थिए ।
१७. यो फिल्म सुरुमा ६ महिनाभित्रमा खिचिसक्ने योजना थियो । तर सुटिङ नै एक वर्षभन्दा बढी समय लगाएर गरिएको थियो । यसको कारण भनेको कलाकारहरूको तालिका नमिल्नु थियो ।
१८. गब्बर लुक्ने दृश्यहरू बैंगलोरको रामनगरमा शूट गरिएको थियो । पछि सो ठाउँको नाम नै निर्देशक रमेश सिप्पीको सम्मानमा ‘सिप्पी नगर’ नामाकंन गरिएको थियो ।
१९. फिल्मको क्लाइमेक्स दृश्यका लागि वास्तविक गोलीहरू प्रयोग गरिएको थियो । त्यसो गर्दा अमिताभ बच्चन बालबाल बचेका थिए । किनकि धर्मेन्द्रले गोली हान्द इन्चभरले मात्र चुकेको थियो ।
२०. यो फिल्म अघि डाकुहरूलाई धोतीकुर्तामा देखाइन्थे । तर यसमा भने गब्बर सिंहलाई एक आधुनिक डाकुको रूपमा देखाइएको छ । त्यसमाथि पनि उसले सैनिक पोशाक लगाउने गर्छ ।
२१. गब्बर पात्रको लुगा मुम्बईको चोर बजारबाट किनिएको थियो । त्यसलाई अमजद खानले दिनरात लगाएर पुरानो बनाएका थिए ।
२२. गब्बर सिंहको चरित्र यति प्रसिद्ध भयो कि ब्रिटानिया बिस्कुटले अमजद खानले बिस्कुट खाँदै गरेको विज्ञापन बनायो । कुनै पनि खलनायक चरित्रलाई लिएर कम्पनीको उत्पादनमा प्रचार गरिएको यो पहिलो भारतीय घटना थियो । तर विज्ञापन सफल भयो । र तत्कालै उत्पादनको विक्री दोब्बर भयो ।
२३. ग्लुकोज बिस्कुटदेखि ग्राइप वाटरसम्मको विक्री वितरणमा ‘शोले’ प्रयोग गरिएको छ ।
२४. ‘शोले’को स्क्रिप्ट सुरुमा प्रकाश मेहरालाई दिइएको थियो । तर त्यसबेला उनी ‘जंजीर’मा व्यस्त थिए । त्यसपछि मात्र स्क्रिप्ट रमेश सिप्पीको हातमा पुगेको थियो ।
२५. सुरुमा ठाकुरको भूमिकामा प्राणलाई विचार गरिएको थियो । उनले त्यसअघि सिप्पीका अन्य चलचित्रहरूमा काम गरिसकेका थिए । तर रमेश सिप्पी संजीव कुमारको प्रतिभामा आश्वस्त थिए।
२६. फिल्ममा एउटा पानी ट्यांकीको दृश्य छ । जहाँ चढेर वीरुले आत्महत्या गर्ने धम्की दिन्छन् । तर स्क्रिप्टमा त्यो लिखिएको थिएन । लेखक जावेदले बैंगलोर एयरपोर्ट जाँदै गर्दा गाडीमा बसेर त्यो सिन लेखेका थिए ।
२७. जयको सिक्का पल्टाउने सीप ‘गार्डेन अफ इभिल’बाट प्रेरित भएर लिइएको थियो ।
२८. ठाकुरको परिवारको हत्या गर्ने दृश्य ‘वान्स अपन अ टाइम इन त वेस्ट’ बाट प्रभावित थियो ।
२९. सुरुको स्क्रिप्टमा सूरमा भोपाली (जगदीप)को पात्र थिएन । त्यो जावेदले पछि मात्र थपेका थिए ।
३०. रेकर्ड गरिए पनि ‘के चाँद सा कोई चेहरा’ नामको गीत फिल्म समावेश गरिएको थिएन । यो गीत आनन्द बख्शीले लेखेका थिए भने मन्ना डे, किशोर कुमार र भूपेन्द्रले गाएका थिए ।
३१. ‘के चाँद सा कोई चेहरा’मा गीतकार बख्शीले पनि गाएका थिए । तर फिल्ममा यो गीत नराखेका कारण उनले निर्माण टोलीसँग लामो समय गुनासो गरिरहे । किनकि उनले सोचेका थिए कि सो गीतबाट उनले गायकको रूपमा करियर बनाउन सक्थे ।
३२. अभिनेता सचिन पिलगांवकरलाई पारिश्रमिक स्वरूप एउटा फ्रिज दिइएको थियो ।
३३. धर्मेन्द्रले रोमान्टिक दृश्यहरूमा बारम्बार लाइट बिग्रियोस् भनेर लाइट ब्वाइहरूलाई पैसा दिन्थे । यसको कारण हेमा मालिनीलाई बारम्बार अँगालो हाल्नु थियो ।
३४. फिल्मको ओरिजिनल इन्डिङमा ठाकुरले आफ्नो खुट्टा प्रयोग गरेर गब्बरको हत्या गरेका थिए । किनभने उनको दुवै हातहरू गब्बरले काटिदिएको हुन्छ ।
३५. तर सेन्सर बोर्डले उक्त दृश्य धेरै हिंसात्मक भएको भन्दै अन्त्य परिवर्तन गर्न लगाएको थियो । त्यसले गर्दा यसको क्लाइमेक्स फेरि खिचिएको थियो ।
३६. ‘मेहबूबा’ गीतमा देखाइएको दृश्यहरू स्क्रिप्टमा थिएन । तर निर्देशक सिप्पीले लन्डनमा डेमिस रुसोसको ‘से यू लभ मी’ सुनेपछि यसको रचना गरेका थिए ।
३७. चलचित्र छायांकन हुँदै गर्दाको समयमा नै सम्पादन पनि सुरु गरिएको थियो ।
३८. यस फिल्म सुरुमा ३ लाख फिट निगेटिभमा खिचिएको थियो । तर पछि घटाएर २० हजार फिटमा झारिएको थियो ।
३९. जावेदले सुरुमा फिल्मको नाम ‘अंगारे’ राखेका थिए । पछि मात्र ‘शोले’ राखिएको थियो । जुन सलीम खानको विचार थियो ।
४०. ‘मेहबूबा’ गीत आशा भोसलेले गाउन नमानेपछि आर.डी. बर्मनले आफैँ गाएका थिए । भोसलेलाई बुढी जिप्सी महिलाको आवाजमा गाउन लगाइएको थियो ।
४१. सुरुको चलचित्रको बजेट १ करोड थियो । तर अन्तिम खर्च ३ करोड पुगेको थियो ।
४२. जावेदलाई सुरुमा सबैले यो फिल्म फ्लप हुने बताएका थिए । तर त्यस्तो भन्ने सबै गलत प्रमाणित भए ।
४३. बक्स अफिसको प्रारम्भिक रिपोर्टहरूले ‘शोले’ फ्लप हुने देखिएको थियो । तर निर्माण टोलीले फिल्मले १ करोड कमाउने छ भनेर विज्ञापन गरेका थिए ।
४४. यो चलचित्र १०० भन्दा बढी सिनेमाघरहरूमा २५ हप्तासम्म लगातार प्रदर्शन भएको थियो ।
४५. दर्शकमाझ ब्लकबस्टर साबित भएको ‘शोले’ले मात्र एक फिल्म फेयर अवार्ड (बेस्ट एडिटिङ) जितेको थियो ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
प्रतिक्रिया 4