
२४ असोज, काठमाडौं । जेनजी विद्रोहपछि मुलुकको राजनीतिक कोर्स नै बदलिएको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।
पुराना र प्रमुख राजनीतिक दलहरू भने रक्षात्मक अवस्थामा छन्, सम्हालिएर अगाडिको कोर्स तय गर्न सकिरहेका छैनन् । दलहरू रक्षात्मक बन्दा दल सम्बद्ध विद्यार्थी संगठनहरू आलोचित देखिन्छन् ।
विशेषगरी २३ भदौमा जेनजी विद्रोहका क्रममा विद्यार्थीहरूमाथि गोली चल्दा पनि विद्यार्थीको कुरा नगरेको आरोप उनीहरूले खेपिरहेका छन् । हुन पनि जेनजी आन्दोलनका क्रममा उनीहरूको भूमिका आफ्नै नेताहरूको बचाउमा छ ।
उजुरबाजुरमा अनेरास्ववियु
सडकमा यति ठूलो क्षति हुँदा पनि एमालेको विद्यार्थी भातृ संगठन अनेरास्ववियु पार्टीभित्र सुधारको पक्षमा उभिन सकेको छैन ।
बरू, अनेरास्ववियुले काठमाडौंका मेयर बालेन शाह र जेनजी आन्दोलनका नेता सुदन गुरुङविरुद्ध उजुरी दर्ता गर्यो। उजुरीमा तोडफोड, आगजनी र एक प्रहरीको हत्या गरेको आरोप लगाइएको थियो।
उक्त उजुरी जेन जी युवाहरूले केपी शर्मा ओली र रमेश लेखकको गिरफ्तारीको माग गरेको छोटो समयपछि दर्ता भएको हो जसमा #arrestkpoli ह्यासट्याग ट्रेन्ड भयो।
उजुरी दर्तापछि अनेरास्ववियुमाथि तीव्र आलोचना भयो। पूर्व सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै विद्यार्थी संगठनलाई पक्षपाती र पार्टी नेताहरूका कठपुतली भएको आरोप लगाइन्।
श्रेष्ठले सामाजिक सञ्जालमा लेखिन्, ‘यूनिफार्ममा भएको विद्यार्थीलाई गोली हान्यो, मतलब छैन विद्यार्थी संगठनलाई । तर गोली चलाउन आदेश दिने दलको प्रमुख माथि उजुरी गर्यो तुरन्त जाई लाग्यो । यसैले दलीय भ्रातृ संगठन खारेज गर्नुपर्छ ।’
आम साधारणले पनि अनेरास्ववियुको आलोचना गरिरहेका छन् । कानुनका विद्यार्थी यतिशले भदौ २३ को आन्दोलनका क्रममा विद्यार्थीहरूको मृत्यु र उनीहरूप्रति गरिएको क्रुर व्यवहारले अनेरास्ववियुलाई कुनै फरक नपरेको भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न उठाए।
उनले लेखे, ‘श्रेयम चौलागाईँ । वर्ष १९ । केपी ओली सरकारले कलेज ड्रेसमै गोली हानेर हत्या गरेको। समीक बडालहरू कसका लागि राजनीति गर्दैछन् ?’
गुम्यो अवसर !
अनेरास्ववियु मात्र होइन अन्य दलसँग सम्बद्ध विद्यार्थी संगठनहरूले पनि २३ भदौको घटनामा ज्यान गुमाएका वा घाइते भएका विद्यार्थीहरूसँग ऐक्यबद्धता जनाउन असफल रहे।
शिक्षाविद् विद्यानाथ कोइराला संवेदनशील समयमा पनि आफ्ना राजनीतिक नेताको बचाउ गरेर विद्यार्थी नेताहरूले विद्यार्थीका अधिकारप्रति कुनै चासो छैन भन्ने प्रमाणित गरेको बताउँछन्। कोइरालाले भन्छन् ‘यी विद्यार्थी नेताहरूले प्रमाणित गरे, उनीहरू वास्तविक अर्थमा विद्यार्थी होइनन्, राजनीतिक दलहरूकै कठपुतली हुन्।’
उनका अनुसार, विश्वविद्यालयको वातावरण बिगार्ने र सम्पत्ति तोडफोडमा संलग्न नेताहरूलाई जेनजी आन्दोलनपछि आफ्नो छवि सुधार्ने मौका थियो, तर उनीहरूले त्यो मौका गुमाए। ‘उनीहरूले घाइते वा मारिएका विद्यार्थीहरूको पक्षमा उभिन्थे भने जनताले उनीहरूलाई फरक रूपमा हेर्ने थिए। तर उनीहरूले उल्टै नेताहरूको गल्तीको बचाउ गरे,’ कोइरालाले थपे।
दलका युवा र विद्यार्थीले पहिलेदेखि नै पार्टीभित्र प्रश्नको संस्कार बसाउन सकेको भए यतिठूलो विद्रोह र क्षति बेहोर्नुनपर्ने विश्लेषकहरू बताउँछन् ।
‘तर सडकमा यति ठूलो विद्रोह र क्षतिपछि पनि विद्यार्थी संगठनहरू दल सुधारको लागि आवाज उठाउने भन्दा सडकले अस्वीकार गरेको नेतृत्वको प्रतिरक्षामा प्रयोग हुनु दुःखद छ,’ ती विश्लेषकले भने ।
प्रतिरक्षाको भारी
अनेरास्ववियुका नेताहरू भने आफूहरूले पार्टी नेताहरूको मात्रै बचाउ नगरेको दाबी गर्छन्। अनेरास्ववियुका महासचिव दीपक धामी, जेनजी आन्दोलनका क्रममा प्रभावितहरूलाई सहयोग गर्न उनीहरूले विभिन्न कामहरू गर्दै आएको बताउँछन्।
उनी भन्छन् ‘हामीले हिंसाको विरोधमा औपचारिक विज्ञप्ति जारी गर्यौं, घाइतेहरूका लागि रक्तदान गर्यौं र श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्यौं। हामी कसैको बचाउ गर्दै छैनौं, न्यायपूर्ण अनुसन्धानको माग गर्दैछौं। निष्पक्ष अनुसन्धान बिना कसैलाई दोषी भन्न मिल्दैन।’
कांग्रेसको विद्यार्थी संगठन नेविसंघका प्रवक्ता सुरज सेजुवालले भने विद्यार्थी संगठनहरूले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको स्वीकार गरे।
‘हामीले केही काम त गरेका छौं, तर त्यो पर्याप्त छैन,’ सेजुवालले भने, ‘हामीले अझै आफ्ना नेताहरूलाई सुधार्न वा पार्टीभित्र सकारात्मक परिवर्तन ल्याउन सकेका छैनौं।’
सेजुवालका अनुसार, नेविसंघले आन्दोलनको दिनै विज्ञप्ति जारी गर्दै तत्कालीन सरकारको राजीनामा मागेको र ८ सेप्टेम्बरलाई ‘जेनजी डे’ घोषणा गरेको थियो।
‘हामीले सरकारलाई निष्पक्ष अनुसन्धान गर्न, मृतकहरूलाई सहिद घोषणा गर्न र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका थियौं’ उनले भने, ‘हामी आर्थिक सहयोग गर्न चाहन्थ्यौं तर त्यसो गर्न हाम्रो क्षमता पुग्दैन।’
देखिएन स्वीकारोक्ति
जेनजी प्रदर्शनका घाइते केशव फागो लिम्बु (२४ वर्ष) दल सम्बद्ध विद्यार्थी संगठनहरूले यति ठूलो घटनापछि पनि सुधारको संकेत नगरेको बताउँछन् ।
‘यी विद्यार्थी नेताहरूले सधैं पार्टीका लागि काम गरे, विद्यार्थीका अधिकारका लागि होइन’ उनी भन्छन्, ‘यदि उनीहरू साँच्चै विद्यार्थीका पक्षमा बनाइएका संगठन हुन् भने जेनजी आन्दोलनसँग ऐक्यबद्धता जनाउने थिए । तर उनीहरू आफ्ना नेताहरूको बचाउमै व्यस्त भए।’
विश्लेषकहरू भने विद्यार्थी संगठनहरू ऐक्यबद्धताको अभावका कारण उनीहरू सार्वजनिक चासोबाट टाढा रहन पुगेको बताउँछन् । ‘जेन जी आन्दोलनले उठाएका मुद्दा सर्वसाधारणका मुद्दा हुन्। विद्यार्थी नेताहरूले प्रत्यक्ष सहभागी नभए पनि रचनात्मक रूपमा समर्थन गर्न सक्थे,’ राजनीतिक विश्लेषक सौगात गौतमले भने, ‘उनीहरूको क्रियाकलापले सार्वजनिक मुद्दासँगको दूरीलाई देखाउँछ।’
गौतमले थपे, ‘विद्यार्थी संगठनहरूको हालको क्रियाकलापले यी संगठनहरू अप्रासंगिक भएको र अब खारेज हुनुपर्छ भन्ने जनताको अविश्वासलाई अझ बलियो बनाएको छ।’
जेनजी आन्दोलनको अर्को माग राजनीतिक नेतृत्वमा सुधारको थियो। दोस्रो र तेस्रो तहका केही नेताहरूले सुधारको कुरा गरे पनि विद्यार्थी नेताहरू भने यस विषयमा निष्क्रिय देखिएका छन् ।
गौतम भन्छन्, ‘विद्यार्थी संगठनहरू पुनः असफल भएका छन्। उनीहरूले साँच्चै कसको प्रतिनिधित्व गर्छन् भन्ने प्रश्नले अझ ठूलो रूप लिएको छ।’
प्रतिक्रिया 4