+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares
अन्तरलिंगीको कथा–१ :

यौनांग अस्पष्ट थियो, पिसाब चुहिएर शरीर नै गन्हाउन थाल्यो

बाटोमा साथीहरूले घेरेर यौनाङ्ग हेर्ने, मजाक गर्ने गर्थे । यसले अमरलाई स्कुल जान डर लाग्थ्यो ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ मंसिर १२ गते ११:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमरले जन्मदेखि पिसाब चुहिने समस्या भोग्दै सामाजिक भेदभाव र मानसिक पीडाबाट गुज्रिएर आफ्नो अन्तरलिंगी पहिचान स्थापित गरेका छन्।
  • उनले २०७३ मा वीर अस्पतालमा सफल शल्यक्रिया गराएर पिसाब चुहिने समस्या रोक्न सफल भएका छन् र अहिले नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन्।
  • अमर अहिले क्याम्पेन फर चेन्जमा फिल्ड अफिसरको रूपमा काम गर्दैछन् र अन्तरलिंगी समुदायका अधिकारका लागि सक्रिय छन्।

जन्मँदा उनी छोरी थिइनन् । छोरो पनि थिएनन् । के थिए त ? यौनाङ्ले त्यसको स्पष्ट जवाफ दिदैनथ्यो । त्यसमाथि अर्को दुःख थपिएको थियो, पिसाब चुहिने । उनी हुर्कँदै गए, पिसाब चुहिने समस्या यथावत रह्यो। अब कसरी आफूलाई ढाकछोप गर्ने ?

यही प्रश्नले पिरोल्न थालेपछि उनी मान्छेहरूको भीडबाट अलग हुँदै गए । साथीबाट, आफन्तबाट अनि समाजबाट । उनी एक्लो भए, नितान्त ।

‘म किन यस्तो जन्मिएँ ? मलाई मात्र किन यस्तो भयो ?’ यसको जवाफ आमासँग थिएन, बाबासँग थिएन ।

साथीहरू भन्थे, ‘ओइ बासमति ? ओइ मुतुवा ?’

तिनीहरूले जबरजस्ती कट्टु खोलिदिन्थे । अनि जिस्काउँदै भन्थे, ‘तँ छोरा होइन, छोरी पनि होइन ।’

गाउँ–छिमेकले हरेक भेटमा सोध्ने प्रश्न उही हुन्थ्यो, ‘यो छोरा कि छोरी ?’

‘म को हुँ त ?’ बाल्यकालमा यही प्रश्नले उनलाई रुवाइरह्यो । साथीहरूले खेलकुदमा सामेल नगराउने । भेट्यो कि, जिस्क्याउने । चलाउने । कट्टु तानिदिने । उनलाई घरको संघार नाघेर बाहिर निस्कनै गाह्रो भयो ।

कहिलेकाहीँ रहरले भीडमा मिसिन्थे, रमझममा पुग्थे । तर, पिसाब चुहिने डरले यसरी अत्याउँथ्यो कि उनी हतार–हतार त्यहाँबाट अलग हुन्थे ।

बुबाआमाले उनलाई छोराको रूपमा हुर्काए । कागजातका ‘लिंग’मा पुरुष लेखियो ।

साथीहरूले अमरलाई खेलमा समावेश गर्दैनथे, जसले गर्दा अमर घरबाट बाहिर निस्किन डराउँथे । घरमै बस्न रुचाउँथे, तैपनि समाजका मानिसहरूले ‘छोरा कि छोरी’ के हो भनेर परिवारमा प्रश्न गरिरहन्थे ।

उनी भिडभाड भएका ठाउँबाट टाढा रहन्थे, र घरमा नयाँ पाहुना आएमा लुकेर बस्थे । पिसाब चुहिने र उनीहरूबाट नराम्रो शब्द सुन्नु पर्ने डरले ।

‘मलाई किन यो समस्या ? किन मलाई मात्र यो अपमान ?’ यस्ता विचारहरूले अमरलाई रातभरि सुत्न दिँदैनथे ।

उनले तेस्रो लिंगीव्यक्तिहरूबारे कतैकतै सुनेका थिए, तर उनीहरूको व्यवहार र पहिचान अमरसँग मेल खाँदैन थियो । आफ्नो पहिचान पहिल्याउन नसकेको कुराले उनलाई अझ एक्लो महसुस गराउँथ्यो ।

कसैले नराम्रो शब्द प्रयोग गरेर जिस्काएमा उनी राति एक्लै रोइरहन्थे, आँसुले तकिया भिजाउँथे । यो दबाबले १०–१२ वर्षको उमेरमै आत्महत्या गर्ने सोच आयो । ‘हरेक व्यक्तिलाई शरीर देखाउनु भन्दा मर्नु नै राम्रो, तब कसैले हेर्न आउँदैन’ उनी सोच्थे ।

प्रयास पनि गरे, तर सफल भएनन् । यो पीडा केवल शारीरिक थिएन, यो आत्मिक घाउ थियो जसले अमरलाई जीवित रहनुको अर्थ प्रश्न गराउँथ्यो ।

स्कुल जीवन झन् पिडादायी

स्कुल जान थालेपछि अमरको समस्या झन् गहिरियो । शिक्षक र साथीहरूलाई उनको अवस्थाबारे थाहा थिएन, र अमरलाई पनि आफ्नो पहिचान स्पष्ट थिएन । पिसाब चुहिने समस्याले कपडा भिज्ने हुँदा साथीहरू र शिक्षकहरूले कपडा खोलेर हेर्ने गर्थे । ‘यो के हो ? के भएको ?’ यस्ता प्रश्नहरूले अमरलाई लज्जित बनाउँथ्यो ।

कक्षामा उनी अन्तिम बेन्चमा बस्थे, पढाइमा जिज्ञासा भए पनि प्रश्न सोध्न सक्दैनथे । शिक्षकहरूले पनि सोध्दैनथे, साथीहरू नजिक पर्दैनथे ।

बाटोमा साथीहरूले घेरेर यौनाङ्ग हेर्ने, मजाक गर्ने गर्थे । यसले अमरलाई स्कुल जान डर लाग्थ्यो । बिहान १०–११ बजेसम्म सुतेको बहाना गरेर स्कुल छाड्ने गर्थे ।

हुर्कंदै जाँदा समस्या बढ्यो । कपडा भिजेर गन्ध आउने डरले तीन–चार तह कपडा लगाउन थाले । जाडोमा ठिकै थियो, तर गर्मीमा पासिना आएर घाउ हुन्थ्यो र त्यसको दुखाइ असह्य हुन्थ्यो । ‘यो दुखाइ कति दिन सहनु ? किन मलाई मात्र यस्तो समस्या भएको होला ? अमरको मनमा यस्ता प्रश्नहरू घुमिरहन्थे ।

धेरै कपडा लगाएका कारण संक्रमण भएर, घाउ भएर उनी बारम्बार बिरामी पर्थे । यसो हुँदा उनको पढाइमा पनि असर पर्दै गयो । हप्तामा एक–दुई पटक मात्र स्कुल जान्थे । समस्या बढ्दै गएपछि अभिभावकहरूले स्कुलमा कुरा गरे, शिक्षकहरूले बुझे पनि साथीहरूको मजाक रोकिएन । उनको बाल्यकाल विभेद र पीडामा डुब्दै गइरहेको थियो

उपचारको असफल प्रयास

सानैमा बुबाले अमरलाई कोहलपुर अस्पतालमा उपचार गराउन लगेका थिए रे । त्यहाँ सात–आठ महिना बसे, तर डाक्टरहरूले बच्चाका लागि शल्यक्रिया जोखिमपूर्ण र महँगो भएको भन्दै उपचार गर्न सकेनन् । अस्पतालबाट फर्किएपछि समस्या ज्यूँकात्यूँ रह्यो । आर्थिक समस्या पनि थियो ।

१६–१७ वर्ष पुग्दा उनको जीवनमा परिवर्तन आयो । सन २०१६ को कुरा हो, एक अन्तरलिंगी दाइसँग उनको भेट भयो, जो आफूलाई पुरुष भनेर पहिचान गर्थे तर स्वर छोरी जस्तो थियो । उनी काठमाडौंमा हुँदै गरेको अन्तरलिंगीहरू राष्ट्रिय सम्मेलनमा भाग लिन बोलाउन आएका रहेछन् । अमरलाई यो अवसरले उत्साहित बनायो, तर यात्राको टेन्शन थियो- पिसाबले कपडा भिज्ने डर । अभिभावकहरूले अनुमति दिए, तर आमा चिन्तित थिइन् ।

उनी र अर्का साथी जसको समस्या पनि अमरको जस्तै थियो उनीहरूलाई त्यो दाइले बसमा काठमाडौँ ल्याए । बसको सिट भिज्ने डरले उनीहरू प्लास्टिक ओछ्याएर बसे । बसमा मानिसहरूले ‘कसले पिसाब फेरेछ’ भनेर कुरा गरे, तर उनीहरू डराएर चुप्प लागे ।

काठमाडौं पुगेर सुन्धाराको होटलमा बसे, त्यहाँ पनि प्लास्टिक ओछ्याएर सुते । सम्मेलनमा अमरले आफूजस्तै अन्य साथीहरू भेटे । सम्मेलनमा कुल १०–११ जना अन्तरलिंगी थिए । त्यहाँ उनले आफू अन्तरलिंगी रहेछु भन्ने कुरा बुझे ।

उपचार र स्वास्थ्य सुधार

सम्मेलनमा अमरको समस्या देखेर क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक इशान रेग्मीले उनलाई अस्पताल लैजाने निर्णय गरे । अन्य अस्पताल महँगो भएकाले वीर अस्पतालमा गए । डाक्टरहरूले उपचार हुने तर समय लाग्ने सुनाए । त्यसपछि २०७३ मा अमर अस्पताल भर्ना भए । अस्पतालमा विभिन्न जाँच र इन्जेक्सनको दुखाइ सहनु पर्‍यो । यो पीडा उनले इशानलाई सुनाउन्थे र रुन्थे । अभिभावक काठमाडौँमा नभएकोले इशानले नै उनलाई अभिभावक जस्तै साथ दिई सहयोग गरे ।

अस्पतालमा पनि अमरले विभिन्न विभेद सहनुपर्यो । चिकित्सकहरूले उनको यौनाङ्गको फोटो भिडियो बारम्बार लिन्थे । नर्स र सरसफाइ गर्नेहरू गन्धको कारण उनीबाट टाढा रहन्थे, जसले अमरलाई थप पीडा दिन्थ्यो ।

वैशाखमा उनको पहिलो जटिल शल्यक्रिया भयो, त्यसको केही समयपछि अर्को शल्यक्रिया पनि भयो । २–३ वर्ष अस्पताल आउजाउ गरे । इशान रेग्मीको सहयोगमा उनकै कोठामा बसेर उनले उपचार गरे । शल्यक्रिया सफल भयो, पिसाब चुहिने समस्या रोकियो । तर अब उनी प्राकृतिक रूपमा पिसाब फेर्न सक्दैनन् ।

प्रत्येक ३–४ घण्टामा युरोलोजी पाइप प्रयोग गर्नुपर्ने भयो । संक्रमणको डरले वर्षमा ३–४ पटक जाँच गर्नुपर्छ, जुन अहिले पनि जारी छ । यो परिवर्तनले अमरलाई नयाँ आत्मविश्वास दियो, तर संघर्ष समाप्त भएको छैन ।

आगामी आशा

शल्यक्रियाले अमरको पढाइ २–३ वर्ष रोकियो । केही समय उनले काठमाडौंको एक रेस्टुरेन्टमा हेल्पर हुँदै कुकको रूपमा काम गरे । साथीहरू अगाडि बढे, अफू पछि परें जस्तो लागेर अमरलाई पढाइ छोड्ने सोच आयो । तर इशानले पढ्नुपर्छ भनेर सम्झाए, सहयोग पनि गरे । त्यसैले उनले नियमित पढेर प्लस टु पास गरी अहिले ब्याचलर गर्दै छन् । २०१७ देखि भने क्याम्पेन फर चेन्जमा फिल्ड अफिसर रूपमा बर्दियाबाट काम गर्दै छन् । पढाइ र काम सँगसँगै चलाइरहेका छन् ।

‘मेरो पीडाले मलाई बलियो बनायो । अब म अरू अन्तरलिंगीहरूलाई सहयोग गर्न चाहन्छु’ उनको अठोट छ । उनको सुझाव छ- समाजले अन्तरलिंगीलाई बुझ्नुपर्छ । उनीहरू न तेस्रो लिंगी हुन्, न असामान्य । यो प्राकृतिक विविधता हो ।

बाल्यकालदेखि विभेद, शारीरिक पीडा, सामाजिक अस्वीकार्यता र आत्मसंघर्ष पार गर्दै उनले अहिले आत्मपहिचान स्थापित गरेका मात्रै छैनन्, बरू आफ्नो समुदायका अन्य अन्तरलिंगी व्यक्तिहरूको अधिकार र आवाजका लागि पनि सक्रिय छन् ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?