News Summary
Generated by OK AI. Editorially reviewed.- डा. अर्चना थापाको उपन्यास 'अग्निगर्भा'मा नायिका तेजश्रीलाई फिनिक्स चरासँग दाँजिएको छ, जसले जीवनका समस्यासँग जुध्न तयार छ।
- 'अग्निगर्भा'ले नेपाली समाजमा महिलाको स्वाभिमान, अस्तित्व र आर्थिक योगदानको महत्वलाई उजागर गरेको छ।
- उपन्यासले लैंगिक भेदभाव, यौनिक अल्पसंख्यकको कथा र गाउँघरका पुराना चलनहरूलाई समेटेर समाजको यथार्थ प्रस्तुत गरेको छ।
‘खरानीबाट निस्केकी तेजश्रीमा फिनिक्स जागेको थियो। उसका आँखामा आत्मविश्वास र जीवनरागका लप्का दन्किन थालेका थिए। अग्निकवच पहिरिएकी उसले आफ्नो निहुरेको काँधलाई सिधा बनाइ । आफ्ना केश समेटेर जुरो बनाइ र हल बाहिर फ्यालेका सामानतिर पाइला चाली। एउटा बोरामा बल्दै निभ्दै गरेको झिल्कालाई उसले हातले माडेर निभाइ।’ (पेज २६८) उपरोक्त हरफहरू हालसालै प्रकाशित, लेखक डा. अर्चना थापा लिखित उपन्यास ‘अग्निगर्भा’बाट साभार गरिएको हो।
उपन्यासकार थापाले तेजश्रीलाई ‘फिनिक्स चरा’को विम्बसँग दाँज्नुभएको छ; जुन चरा, केवल ‘मिथ’मा बाँच्छ, यथार्थमा होइन। तर, त्यो यति सशक्त चरा हो, जसको सम्बन्ध सूर्यसँग हुन्छ; जलेर पनि खरानीबाट उठ्छ भन्ने कथा इजिप्ट, पर्सिया तथा अन्य सभ्यतासँग जोडिएको छ। ग्रीक माइथोलोजीसँग जोडिएको उक्त चरा अमर छ, भव्य र चमत्कारी छ; जुन सदियौं जीवित रहन्छ। त्यसैगरी, अग्निगर्भाकी नायिका तेजश्री पनि आफैंमा तेज बोकेर, जीवनका हर समस्यासँग जुध्न तयार रहन्छिन्।
‘अग्निगर्भा’ शीर्षकले नै यो कृति आगोबारे हो भन्ने बुझिन्छ। त्यो आगो, पृथिवी भित्र लुकेको ज्वाला पनि हुनसक्छ या उपन्यासकी नायिकाको मन र दिमागमा रहेको तप्त मनस्थितिको गाथा पनि हुनसक्छ; अथवा रामायणकी सीतालाई आफ्नो गर्भभित्र समाहित गर्न सक्ने आगोको लप्का पनि हुनसक्छ।
आगो, जसले हरेक परिवारको पेट भर्न दिनको सुरुआत गर्छ; जीवनको अन्तिम घडीमा माटोमा मिलाउन साथ पनि दिनसक्छ।
अग्निगर्भाकी नायिकाको मनमा हुर्हुरिएको आगो भने उनको स्वाभिमान, अस्तित्व र आफ्नो खुट्टामा टेक्न गरिएको प्रयासको दैनिकी हो। चुल्होको चम्का र गाला लिपेर घरका हरेक सदस्यको पेट भर्ने जिम्मादेखि लिएर, स्वास्थ्य अवस्थाको रेखदेख गर्नु; सेवा पुर्याउनु, सन्तान जन्माउनु, सन्तानको हेरविचार गर्नु रहेको छ। जुन दैनिकीलाई, देशको अर्थव्यवस्थाले आजसम्म पनि घरभित्रको काम भनेर आर्थिक योगदान मान्न तयार छैन।
अचम्म त के छ भने, प्रायःजसो ठूला होटलहरूमा पुरुष सेफ हुन्छन् र उनीहरूको तलब सुविधा पनि जति ठूलो होटल उति नै धेरै हुन्छ; तर, घरभित्रको चुलोमा दिनरात खट्नेहरूको कतै/कुनै कदर हुन्न। अझ, ‘आमाको हातको खाना मिठो हुन्छ’, ‘विवाहपश्चात् छोरीले खाना बनउनै पर्छ, त्यसैले सिक्नै पर्छ’ भन्ने भाष्य निर्माण गरिन्छ। यो ‘लाइफ स्किल’ हो, छोराहरूले पनि सिक्नुपर्छ भनेर, घरपरिवारले त्यति ध्यान पुर्याएको देखिन्न।
घरको काम गर्न सहयोगी राख्यो भने त्यसको बदलामा श्रमको मूल्य तिर्नुपर्छ तर घरमा श्रीमती, आमा, बुहारी आदिको नातामा रहेर गरेको योगदानको कुनै मूल्य हुँदैन। यस्तै यस्तै तथ्यहरूलाई मिहीन रूपमा केलाएर यो उपन्यास लेखिएको छ। उपन्यास पढिरहँदा, कल्पनाको कथा पढेको जस्तो लाग्दैन; दिन प्रतिदिनको समाज पढिरहेको जस्तो महसुस हुन्छ।
उपन्यासकारले, आगोमा खेल्ने र आगोको लप्कालाई सकारात्मक हिसाबले साथ लिएर हिंड्ने महिलाहरूको गाथालाई पाठकसामु ल्याएर आँखा खोलिदिन खोज्नुभएको छ।
अग्निगर्भाको कृतिकारको यो पहिलो कृति होइन। उहाँको,पहिलो कथासङ्ग्रह ‘कठपुतला’मार्फत ‘यन्त्रमानव(पुरुष)ले चलाएको युटोपिया राज्यको कथा बुनिदिएर पाठकहरूलाई गजबले झक्झक्याइदिनुभएको थियो।
त्यो नवीन शैलीमा बुनिएको कथा संग्रहले नेपाली कथा लेखनको इतिहासमा एउटा फरक स्थान ओगटेको छ। त्यसबाहेक, उहाँको सम्पादनमा ‘टेलिङ अ टेल’, ‘स्वअस्तित्वको खोज’ र ‘स्मृतिकथामा सत्व’ यसअघि नै पाठकमाझ आइसकेका छन्।
ती पुस्तकहरूमा उहाँले, समाजका विभिन्न जाति, वर्ग, समुदाय तथा यौनिक अल्पसंख्यक आदिले भोगेका तथ्यहरूको संकलनलाई ‘निजात्मक अनुभूति’को रूपमा पेश गर्नुभएको छ।
तीबाहेक, लेखक/उपन्यासकार थापा, लैंगिक विषयको अध्येता पनि हुनुहुन्छ। तसर्थ पनि, उहाँको उपन्यासले समाजमा लुकेको लैंगिक तथा अल्पसंख्यकमाथि गरिने विभेदलाई उपन्यासको माध्यमबाट सरल भाषामा प्रस्तुत गर्न सक्षम हुनुभएको छ।
उपन्यासको सुरुआत एउटा किंवदन्तीबाट हुन्छ। हामीलाई थाहा छ, किंवदन्ती भनेको त्यो कथा हो, जुन सत्य हुन पनि सक्छ; नहुन पनि सक्छ। जे भए पनि, त्यसलाई पिंढी दरपिंढी सुनाउँदै लगिन्छ र संस्कृतिको हिस्सा बनाइन्छ।
एउटा अनिकाल परेको गाउँबाट जङ्गल पस्न थालेका, हिंड्न नसकेर ढल्न थालेका मानिसहरूलाई बालुवामुनिबाट निस्किएकी एक वृद्धाले आफूले बोकेको काँडेपातको भारीबाट पात भाँच्दै भित्रको गुदी ख्वाएर बचाउन थालिन्। उनी त्यो लस्करलाई गाउँको सीमा पार गराएर बालुवामुनि नै बिलाइन्।

पछि उनको बारेमा सोधखोज गर्दै जाँदा थाहा पाए, उनीहरूलाई बचाउने ती ‘घ्युकुमारी’ नाम वृद्धालाई सात वर्ष अगाडि गाउँबाट बोक्सीको आरोपमा निकालिएको रहेछ।
यहाँनिर लेखकको कल्पनाको उडानको तारिफ गर्नैपर्छ। उहाँ आफैं यसबारेमा लेख्नुहुन्छ, ‘कथा-किंवदन्तीमा सत्यको अंश कति होला ? किंवदन्ती केवल कल्पना मात्र होला त ? किंवदन्तीहरू नहुँदा हुन् त कल्पना पनि रङ्गहीन हुँदो हो! किंवदन्ती विनाका कथाहरू कति नीरस हुँदा हुन् ! कथा नहुनु र जीवन हुनु कति सम्भव होला !’
लेखकले उदाहरण दिनुभएको किंवदन्ती, कथा होइन; नेपालका गाउँघरमा हुने सत्य घटनामा आधारित कथा नै हुन्। हामीले असहाय र एक्लो जीवन भोगिरहेका ज्येष्ठ नागरिकहरू, त्यसमा पनि महिलाहरूलाई सजिलै बाँच्न दिंदैन। उनीहरूबाट आफूहरूलाई चाहिने जति सबै कुराहरू लिन पछाडि पनि पर्दैन। त्यस्तैमध्ये एउटा कथालाई टपक्क टिपेर साहित्यिक भावले पस्किनुभएको छ।
लेखकले, कुनै बेला, मिडियाले उहाँसँग गरेको कुराकानी भन्नुभएको छ, “स्पष्टवक्ता तथा जे–जस्तो काम पनि गर्न सक्छु भन्ने सकारात्मक सोच र आँट भएका महिला मन पर्छन् मलाई ।” सोही भनाइलाई उहाँले ‘तेजश्री’को चरित्रमा बखूबी निभाउनुभएको छ। कथा अनुसार, तेजश्रीको विवाह, आफ्नो माइतीको आर्थिक हैसियतभन्दा माथिल्लो हैसियत भएका परिवारका शिक्षित छोरासँग हुन्छ; जो, उच्च शिक्षाको लागि अमेरिका गएका हुन्छन्। उनलाई घरमा आफ्ना बाबुआमाको स्याहार गर्ने श्रीमती, घरमा काम गर्ने मजदुर चाहिएको थियो, त्यो काम तेजश्रीले गर्दै आएकी छिन्। तेजश्रीलाई शिर ठाडो पारेर हिंड्ने छुट थिएन; बोल्ने स्वतन्त्रता त झन् हुने कुरै भएन। तर, लेखकले तेजश्रीलाई हिम्मत हार्ने छुट दिनुभएन।
हुनत, एकपटक तेजश्रीले, आफूलाई सल्काएर जीवन सिध्याउन नचाहेकी पनि होइनन्; तर, डाक्टर सुजाताले उनलाई सम्झाउँदै भनिन्, ‘पहिला त स्टोभ पड्केर र पड्काएर दुर्घटना हुन्थे। धेरै आइमाईले भान्सामा ज्यान गुमाएका छन् तर एउटा कुरा बुझ्नुस्, भान्सामा जलेर ज्यान गुमाउनेलाई शहीद भनिंदैन।….’ (पेज३५)
सुतेर उठ्दा, चर्किएको भित्तालाई देखेर आफ्नो (पतिसँगको)सम्बन्ध चर्किएको कल्पना गर्दै रहँदा, चर्किए पनि भित्ताले धर्म नछाडि उभिइरहेको छ भन्ने सोचलाई सम्बन्ध नटुटाउने मनस्थिति बनाउँदै बलियो भएर उभिने सन्देश मान्ने तेजश्रीको जीवन संघर्ष कहिल्यै पनि सजिलो भएन।
आफूले जन्माएर, बाबुको सहायता विना नै हुर्किएकी छोरीले समेत आफूमाथि गर्ने नकारात्मक व्यवहार होस् वा घरका हरेक सदस्यको अपमानजनक व्यवहार र बोली होस्, लेखकले नायिकालाई सहेरै आफ्नो बाटोमा अडिग भएर अगाडि बढ्न तयार पार्नुभएको छ।
उपन्यासमा, हालको समााजमा देखिने हरेक यथार्थ, बाधा, व्यवधान, नयाँ पुस्ताको विद्रोह सबै सबै समेटिएको छ। उपन्यासकारले दीति र केतकी बिचको सम्बन्धको एउटा दृश्य खडा गरेर यौनिक अल्पसंख्यकको कथा पनि बुन्न भ्याउनुभएको छ।
उपन्यासमा थुप्रै पात्रहरू छन्; तीनोटा किंवदन्ती छन् र हरेक पात्रका तानाबाना एक अर्कासँग जोडिएका छन्। हुँदाहुँदा, अमेरिकाबाट रिसर्चको लागि आएपुगेकी सिमोनले, तेजश्रीको पतिलाई अमेरिकामै भेटेको खबर सिमोनबाट सुन्नु; सिमोनबाटै, पति अमन ‘माया’ नाम गरेकी महिलासँग बसेको तथ्य पत्ता लाग्नु र कालान्तरमा, सिमोन फर्किएर गएपछि, अमनसँग नगरी बच्चा जन्माएर गाउँ आउन लागेको खबर पाउनु उपन्यासका रोचक नाटकीय मोडहरू हुन्।
हाम्रो सोच कस्तो भइसक्यो भने, विदेशमा बस्ने वा विदेशीले लेखेका पुस्तकहरू र त्यसमा लेखिने विषयवस्तु अब्बल हुन्छन्; नेपाली महिलाहरूले त केही लेख्नै जानेका हुँदैनन्, बुझ्दैबुझ्दैनन्।
उदाहरणको लागि, लैंगिक विषयवस्तु अध्ययन गर्न चाहने नेपाली महिलाहरूको बिच एउटा पुस्तकको नाम खुब चर्चित छ; जसको नाम हो— ‘द सेकन्ड सेक्स’; लेखक हुन्, सिमोन डि ब्युवोर। उक्त पुस्तकमा, सिमोनले महिलालाई समाजले हेर्ने दृष्टिकोणबारे स्पष्ट पार्दै, पुरुषले महिलालाई दोस्रो दर्जाको रूपमा हेर्ने कुरा ठीक होइन।
समाजमा लैंगिक भूमिका, समाजले बनाएको नीति र नियम हुन्, यो जन्मजात नै लिएर आउने प्राकृतिक कुरा होइन। पुरुषहरू आफ्नो उन्नतिको लागि हरसम्भव प्रयास गरेर अगाडि बढ्छन्; तर, महिलाहरूलाई उनीहरूको प्रतिभा र प्रयत्न समेत अगाडि ल्याउन नदिई घरभित्र कैद गर्दिन्छन्।
विवाह र मातृत्वको नाममा महिलालाई, घरभित्रै मात्र रहेर शक्तिविहीन भएर बाँच्न बाध्य पार्छन्। त्यसैले, महिलाहरूले आफ्नो आर्थिक र बौद्धिक स्वतन्त्रताको लागि अगाडि बढ्नैपर्छ भन्ने सन्देश दिएको छ। त्यसलाई ‘सेकेन्ड वेभ अफ फेमिनिज्म’को नाममा पछिल्लो चरणको महिलावादी आन्दोलनका अभियन्ताहरूलाई सोच्ने खुराक दियो।
अग्निगर्भाको कथाले पनि सिमोनको किताबबाट पाइने शिक्षा शाब्दिक कला र वर्णनबाट प्रदान गरेको छ। कथाको सुरुमा केही नजान्ने ठानिएकी, औपचारिक शिक्षा आर्जन नगरेकी तेजश्रीले जीवनको उत्तरार्धमा आएर आप्नो ससुराले लिएको ऋण समेत तिरिदिन सक्षम महिलाको स्थानमा उभिएकी छ।
उपन्यासको अर्को पक्ष, यसले गाउँघरमा समेत हराउँदै गइसकेको चलन, जस्तो; ‘मलामीले बाटोमा छर्ने पैसा’, ‘तीतेपाती र वनमारा झारको मुन्टाले घाउको रगत बग्न रोकाउनु’, ‘गर्मी याममा खटिरा निस्केको जीउमा सुन्तलाको बोक्राको धुलो र बेसारको मिश्रण लेपन गर्ने’, जङ्गली तुलसाको पातको रसमा अरू बुटीको धुलो मिसाएर पिनास ठिक पार्नै आदि आदि कुराहरू पनि उल्लेख गरिएको छ।
त्यसमा खानाको बयान त यति धेरै गरिएको छ कि, पढ्दापढ्दै खाना सम्झिएर मुख रसाउने गरी लेखिएको छ। लेखकको कथानक उडान नेपाल र नेपाली समाजमा मात्रै सीमित छैन; लेखक शुभ्रा नामक पात्रको मुखबाट गर्भवती अवस्थामा महिलाले माटो खाने प्रसंग सुनाउँछिन्, ‘घाना भन्ने ठाउँमा लुगुरु जनजातिका महिलाले पनि माटो खाँदा रहेछन्। उनीहरू रातो माटो खनेर ल्याउँछन्। अनि त्यसलाई दुई दिनसम्म घाममा सुकाएर ढिकीमा धान कुटे जस्तै कुटेर छान्छन्। अनि छानेको माटोमा कागतीको रस र अलिकति पानी हालेर चकलेट जस्तो लाम्चो बनाएर सुकाउँछन्। त्यो बजारमा किन्न पाउँदो रहेछ। उनीहरू त्यो माटो खाँदा रहेछन्।’
गर्भवती र सुत्केरीको कुरा आउँदा, बच्चा जन्मिएपछि हुनसक्ने पोष्टपार्टम डिप्रेसन समेत उल्लेख गर्न भ्याउनुभएको छ, उपन्यासकारले।
त्यसैगरी, विदेशको अर्को सन्दर्भ, इन्डोनेसियामा पाइने महँगो ‘पुप कफी’को बारेमा पनि उल्लेख छ; जुन कफी, पाम सिवेट प्रजातिका बिराला जस्तै देखिने जनावरले कफीको गेडा खाएर गरेको दिसाबाट कफीको गेडा निकालेर त्यसलाई धोइपखाली गरेर पिंधेपछि तयार गरिन्छ।
समग्रमा भन्नुपर्दा, उपन्यासले नेपाली समाजको विविधता मात्रै होइन, बृहत्तर भागलाई समेटेको छ। भाषा र शैली सललल बगेको छ। उपन्यासकारको पहिलो कृति ‘कठपुतला’मा जस्तो क्लिष्ट भाषा यस पुस्तकमा बेहोर्नुपर्दैन; तर पनि, लेखकको संस्कृत भाषाको पृष्ठभूमिले गर्दा एकाध ठाउँमा त शब्दकोशको सहारा नखोज्नुपरेको पनि होइन।
पुस्तकमा घोत्लिंदै गर्दा अश्लील गालीगलौजका वाक्यहरू नराखेको भए हुन्थ्यो कि भन्ने मनमा आएकै हो। त्यसलाई लेखकले वाञ्छनीय नै ठहर्याउनुभएको होला !
अन्त्यमा, यथार्थ यो हो कि, यो उपन्यास पढेपछि अहिलेको नेपाली समाजको हरेक पक्ष, सकारात्मक, नकारात्मक छिद्र सबैको यथेष्ट जानकारी प्राप्त हुन्छ।
प्रतिक्रिया 4