+
+

बुफे : थरीथरी व्यञ्जन, तर खाने कसरी ?

यादवप्रसाद पाण्डे यादवप्रसाद पाण्डे
२०७९ माघ ८ गते १३:२२

काठमाडौं । अहिले होटल-रेस्टुरेन्टमा गरिने पार्टीमा मात्रै होइन घरमै हुने भोजभतेरमा पनि बुफे राख्ने चलन बढेको छ । त्यहाँ अनेकथरी व्यञ्जन हुन्छ, जुन हामी एउटै प्लेटमा एकै पटक उठाइदिन्छौं । पटकपटक आहार कक्षमा जान लाज वा अल्छी मान्छौं ।

यसरी एकै ठाउँमा थरीथरी खानेकुरा राखेर खाँदा आपसमा त्यसको स्वाद नमिल्ने पनि हुन्छ । खासमा बुफेबाट खाना लिने तरिका के हो ? कस्तो परिकार पहिला खाने, कुन परिकार पछि खाने ?

होटेल रेस्टुरेन्टमा गएर खानेकुरा अर्डर गरेपछि त्यो तयार भएर आउनका लागि केही समय कुर्नुपर्ने हुन्छ । व्यस्त समयमा खाना खान गएको बेला धेरै समय कुर्नु नपरोस् भनेर आजभोलि बुफे राखिएको हुन्छ ।

बुफेमा स्टाटर, सुप, मेन कोर्स र डिजर्ट गरेर चार कोर्समा खानेकुरा राखिएको हुन्छ । जुन पहिले नै तयार गरेर राखिएको हुन्छ । छोटो समयमा  चारवटा कोर्सको खानेकुरा खान चाहनेहरूको लागि यो बुफे सिस्टम बनेको हुन्छ । तर धेरैले खानेकुरालाई आनन्दपूर्वक खान भने जानेको देखिंदैन ।

बुफेमा खाने तरिका                      

बुफेमा समावेश भएका हरेक खानेकुरालाई स्वाद लिएर आनन्दले थपीथपी खानुपर्छ ।  बुफेको खानामा विविधता हुन्छ । आफूलाई मन परेको खानेकुरा रोजेर खान सकियोस् भनेर त्यो विविधता राखिएको हो । तर धेरै व्यक्तिको बुझाइ के हुन्छ भने सबै खानेकुरा एउटै प्लेटमा हालेर खाने हो ।

धेरैलाई थपेर खायो भने इज्जत जान्छ र यो व्यक्ति कति पटक थप्न गएको भनेर अरूले भन्छन् कि भन्ने लाग्छ । जसले गर्दा थप्न जानु नपरोस् भनेर सबै खाना एउटै प्लेटमा ल्याएर खाने गर्छन् । त्यसरी सबै कुरा एकै ठाउँ मिसाएर खाँदा खानाको स्वाद आउँदैन ।  त्यसैले बुफेमा खाँदा आफूलाई मन परेको खानेकुरा एउटा–एउटा गरेर स्वाद लिएर समय लगाएर थपीथपी खानुपर्छ ।

बुफेको अर्को उद्देश्य भनेको खाना खेर नजाओस् भन्ने पनि हो । सामान्यतया रेस्टुरेन्टहरूमा एउटा खाना २०० देखि २५० ग्राम ‘पोरसनको’ हुन्छ । सबै व्यक्तिले २५० ग्राम खाना नखान सक्छन् र खाना खेर जान सक्छ । कुनै व्यक्तिलाई १०० ग्राम मात्र खान मन छ भने बुफेमा त्यति मात्र लिएर खान सक्ने भयो ।

खानाको कोर्स छुट्याइएको बुफेमा हरेक कोर्सको लागि छुट्टाछुट्टै प्लेट पनि राखिदिएको हुन्छ । स्टाटरको लागि सानो प्लेट, सुपको लागि कचौरा, मेन कोर्सको लागि ठूलो प्लेट र डिजर्टको लागि सानो प्लेट । त्यसैले सबै खाना ठूलो डिनर प्लेटमा राखेर खानु पर्दैन । छुट्टाछुट्टै प्लेट छैन भने त्यही प्लेटमा एउटा खाना खाई सकेर अर्को खाना खान सकिन्छ ।

कस्तो परिकार पहिला खाने, कुन परिकार पछि खाने ?

बुफेमा स्टाटर, सुप, मेन कोर्स र डिजर्ट गरेर चार कोर्स खानेकुरा राखिएको हुन्छ । सबैभन्दा पहिले स्टाटर खानुपर्छ त्यसमा सलाद, अमिलो चटपटे खालको खानेकुरा खानुपर्छ । यस्ता खानाले भोक जगाउँछ । स्टाटरपछि सुप खाने र केही समयपछि मेन कोर्स खाने हो ।

मेन कोर्सको खानाका धेरै विविधता हुन्छ । त्यसमा आफूलाई मन परेको खानेकुरा छानेर खाने र अन्तिममा डिजर्ट गुलिया खानेकुरा खाने हो । खानाको अन्तिममा गुलियो खाना खाने चलन त पहिलेदेखि नै छ ।

(स्टीमपिक इन्टरनेसनलका निर्देशक पाण्डेसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?