
पुस्तक पढ्ने बानी हराउँदै छ र यसको बजार खुम्चँदै छ। पुस्तक समात्ने हातहरूले अरू नै मनोरञ्जनका साधनहरू समातिरहेका छन्। तर, एउटा प्रश्न छ, जसको उत्तरले मानिसलाई फेरि पुस्तककै संसारमा फर्काउने गर्छ- पुस्तक केका लागि पढ्ने ? पुस्तकको ज्ञान मानव विकाससँग कति र कसरी जोडिएको छ ?
सन् १९९७ देखि २०१२ बीच जन्म भएकालाई हामी जेन-जी पुस्ता भन्ने गर्छौं। यो पुस्ताले आफ्नो बाल्यकालमा पछिल्लो पुस्ताभन्दा फरक संसार देख्दै र भोग्दै हुर्केको हो, त्यसैले उनीहरूको भावनात्मक र मानसिक अवस्था पनि पछिल्लो पुस्ताभन्दा फरक छ र फरक छ उनीहरूको आवश्यकता पनि।
नेपाली भाषाको उत्पत्तिदेखि अहिलेसम्म नेपाली साहित्यले पनि आफ्नो स्वरूप उक्त कालखण्डको आवश्यकता अनुरूप परिमार्जन गर्दै आएको छ र अब नयाँ पुस्तान्तरणको ढोकामा उभिएको छ। अध्ययनले भन्छ- जेन-जी पुस्ता व्यावहारिक, गैर आख्यान प्रेमी, मनोरोग सम्बन्धी जिज्ञासु र ‘आफ्नो दैनिक जीवनमा प्रयोग हुने ज्ञान भएको’ साहित्य पढ्न चाहन्छ।
डा. नवराज केसीद्वारा लिखित पुस्तक ‘स्वस्पर्श’ पढिराख्दा जति म पुस्तकमा डुब्दै थिएँ उति नै खुशी थिएँ। कारण हो- यो पुस्तकले आउने पुस्तालाई साहित्यिक उपहार दिन सक्छ भन्ने सोच बलियो बनेकोले।
पुस्तक भुइँमान्छेका कथाले भरिएको छ। चर्चित पुस्तक ‘शून्यको मूल्य’ पढेर धीत नमरेका प्यासी पाठकहरूको लागि यो पुस्तकले कुवाको काम गर्नेछ। जङ्गबहादुर नामक बालकको पहिलो कथा पढ्दा म बारम्बार रोकिएँ, मुट्ठी कस्दै अघि बढें र त्यही मुट्ठीले आँसु पुछें, अनि सोचमग्न भएँ।
कथा सकिएपछि थाहा भयो- यो दुःखको कथाले दुःखको मानवीय मनोविज्ञान पो पढाउँदै रहेछ मलाई। अहिलेको पुस्ताले मानव शरीरले दुःखलाई कसरी स्वस्पर्श गर्छ र जीवनमा परिआउने दुःखलाई मानसिक रोग ननिम्त्याई कसरी भोग गर्ने भन्ने सिक्न चाहन्छ। हो, त्यसैले यो कथा उनीहरूकै लागि हो।
दोस्रो र तेस्रो कथा सकिंदा म केहीबेर फेरि घोरिएँ। हामीले आफ्नो मस्तिष्कमा स-साना परिवर्तन गर्न सके जीवनमा खुशीको वजन बढ्ने रहेछ। यी कथाभित्र यिनै ज्ञानहरू छन् अनि यहींनिर पुस्तकले आफ्नो गहिरो छाप छोड्छ, त्यो हो- बौद्ध ज्ञान र आधुनिक मनोविज्ञानको प्रयोग र सहज जीवनको निर्माण।
फरक-फरक दृष्टिले परिभाषित यी दुई ज्ञानका महासागर कहाँ र कसरी एकै छन् वा कति सामीप्यमा छन् भन्ने तथ्य जान्न पाउँदा म जस्तो पाठक रोमाञ्चक नहुने त कुरै भएन। यो तथ्य लेख्न लेखकले थुप्रै पुस्तक पढेको र थुप्रै गुम्बा धाएको बुझिन्छ जो आफैंमा पुस्तकको गहिराइ बढाउने काम हो।
पुस्तकको दोस्रो अध्याय मेरो अति मन परेको चौतारो हो। ‘हरेक मानिस फरक छ तर किन ?’ यो प्रश्नको जवाफ भेटिने अध्याय हो यो। यो अध्याय पढ्दै गर्दा मैले आफैंलाई सम्झिएँ। म कति शान्तिप्रेमी, स्थिर वा अस्थिर, बलियो वा कमजोर छु र कारण के हो ? अर्को अर्थमा कोही मान्छे किन बलियो हुन्छ र कोही किन छिट्टै डिप्रेसन अनि आत्महत्याको सोचसम्म लिन पुग्छ ?
मैले आफ्नो परिवार, पूर्वज, बाल्यकाल सबै सम्झिएँ अनि आफैंलाई मूल्याङ्कन गर्न पुगें। मानव मनोविज्ञानमा कला, संस्कृति, रीति, रिवाज, विभेद केवल समाजमा मात्र होइन त्यो भोग गर्ने समाजका सदस्यको मस्तिष्कमै जोडिने रहेछ भन्ने ज्ञान दिने यो अध्याय सशक्त छ, गहिरो छ।
कोरोनाकालमा कर्णाली प्रदेशको कोरोना फोकल पर्सन भूमिका पनि निभाएका लेखकले अक्सिजन लिंदै गरेको बिरामी र प्रकृतिको मूल्याङ्कन गर्छन्। त्यो बेलाको अक्सिजनको सिलिन्डरको मूल्य सात सय रहेछ, एउटा मान्छेले बाँच्नको लागि २१ सय बराबरको अक्सिजन दिनहुँ लिने रहेछ, अनि करिब साठी वर्ष बाँच्नेले पनि करिब ३ करोडको अक्सिजन प्रकृतिबाट निःशुल्क भोग गर्ने रहेछ। यस्तै यस्तै घाम, पानी र सम्पूर्ण प्रकृति भोगको मूल्याङ्कन हुँदो हो त बाँच्न पाउनु नै सबैभन्दा ठूलो सम्पत्ति पो रहेछ त।
यो पुस्तक आत्महत्या रोक्न एउटा चिकित्सकले सुनाउँदै गरेका कथा र काउन्सिलिङमा आधारित छ। अनि कथा पनि ‘क्याप्सुल’ हुने रहेछ, ओखती हुने रहेछ, प्रेरणा हुने रहेछ भन्ने तथ्यमा आधारित छ। यो अध्याय कि ‘सानी नानीको कथा’ को अन्त्यतिर म यसरी भक्कानिएँ- ठिक त्यसरी जसरी शून्यको मूल्यमा कर्णालीका भुन भुनेकी आमाको कथाले भक्कानिएको थिएँ।
यी पात्रहरू जीवनभर मभित्र रहने छन्। लेखकको शब्द र साहित्य प्रयोगको यो तागत मान्नै पर्छ। तर, बेला–बेला यी कथा अलि छोटा भए कि ? वा यिनको उपन्यास नै लेख्न सकिन्थ्यो होला भन्ने अधुरोपन लाग्छ। यो पुस्तकका लेखकलाई केही कथा लम्ब्याउनुपर्थ्यो कि भन्ने सुझाव यहींनिर दिन मन लाग्छ।
पुस्तकको अन्तिम अर्थात् तेस्रो अध्यायमा एउटा अति शक्तिशाली ‘क्लाइम्याक्स’ भाव आउँछ। शुरुमै लेखक भन्छन्, ‘तपाईं जस्तोसुकै मानसिक समस्याग्रस्त हुनुहोस् सुस्वास्थ्य, खुशी र सफलता सम्भव छ।’
सोही भनाइ पुष्टि गर्न यसैबीच प्रकट हुन्छन् चार नयाँ कथाहरू। फरक फरक विषयवस्तु बोकेका यी कथा फरक फरक प्रेरणा दिने खालका छन्। पुस्तकको प्राक्कथनमा भने झैं यी कथाले ओखतीको काम गरे झैं, तनाव, डिप्रेसन र आत्महत्याको सोच बनाएकालाई समस्यामुक्त खुशीको जीवन मार्ग देखाउन सक्षम देखिन्छन्।
कारण, यी कथा यस्तै यस्तै समस्या बोकेकाले कसरी कुन विधिले सफल गन्तव्यमा पुगे भन्नेमा आधारित छन्। जस्तो कि कहिल्यै विद्यालय जान नपाएकी बादी समुदायकी सानी नानीलाई भनिन्छ, ‘तँलाई विद्यालय आउन त दिन्छु तर तैंले कसैलाई छुन पाउदिनेस्, विद्यार्थी वा गुरु कसैलाई नछुनु अनि बेलुका घर फर्कंदा आफू बसेको भुईं गोबरले लिपेर फर्कनु’।
ती सानीले ‘हुन्छ’ भन्छिन् र आफ्नो अध्ययन यात्रा शुरु गर्छिन्। यस पश्चात् यी नानी कर्णाली भरका सबै बादी समुदायका स-साना नानीबाबुलाई उद्धार गर्ने हैसियत निर्माण गर्न कति सङ्घर्ष गर्छिन् त ? यो कथा पढाइ बिग्रिंदा वा परीक्षामा फेल हुँदा आत्महत्याको सोच बनाउनेहरूको लागि आरोग्यताको ओखती हुन सक्छ।
यो पुस्तक अहिलेको र आउने पुस्ताले छुटाउनै नहुने पुस्तक मध्ये एक हो। म सबै विद्यालय, विश्वविद्यालय र सरकारलाई पनि यो पुस्तक हरेक विद्यार्थीसम्म पुर्याउन आग्रह गर्छु। जीवन आफैंमा एउटा विद्यालय हो, सिकाइ जीवनको बाटो भन्ने जीवनका विद्यार्थीलाई भने आफैं खोजेर अध्ययन गर्न सिफारिस गर्छु।
पत्रकारितामा तीन दशक बिताएका केसी बीबीसी नेपाली सेवाका पूर्व संवाददाता हुन्।
प्रतिक्रिया 4