नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी :
अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ?
अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ ।
स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो।
त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन।
यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ?
वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन।
तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ।
समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ।
बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो।
तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ।
समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ?
अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो ।
त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो ।
तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।

किनकि पृष्ठभूमिको हिसाबले कुरा गर्दा पनि एमाले शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट समाजको क्रान्तिकारी रूपान्तरण गर्ने सिद्धान्त, कार्यनीति, कार्यदिशा बोकेर आएको पार्टी हो । त्यसमा काम गरेको पार्टी हो। हामी पनि आज त्यही विचारधारामा भइरहेको मान्छेहरूका लागि त सबैभन्दा नजिकको त यही हुन्थ्यो ।
तर माओवादी भनेको त १० वर्षको हिंसात्मक सशस्त्र युद्धबाट आएको, छुट्टै कार्यनीति, छुट्टै रणनीति बोकेर आएको, संघर्षको पृष्ठभूमि, समाजलाई हेर्ने, विश्लेषण गर्ने, संश्लेषण गर्ने दृष्टिकोण पनि फरक भएको पार्टीसँगको एकता त सहज र सजिलो एकता त होइन नि त भोलिका लागि पनि।
तर त्यो एकताको संवाद एमालेसँग कति बढेको छ ? माओवादीसँग कति बढेको छ ? विप्लवसँग कति बढेको छ ? महिन्द्र राय यादवसँग कति बढेको छ ? अरू साना वाम घटकहरूसँग कति बढेको छ ? आहुतीसँग कति बढेको छ ? त्यो त फेरि अस्ति स्थायी कमिटीको बैठकको हिसाबमा कुरो गर्दाखेरि उहाँहरूले माओवादीसँग मात्रै अगाडि बढेको भन्ने जस्तो, सबैसँग कुरा भएको तर बढेको यता पट्टि भन्ने कुराको रिपोर्टिङ गर्नुभएको थियो। त्यसपछि पनि १५ दिन बितिसके । यसबीचमा अझै नयाँ डेभलपमेन्ट पो केही भएको छ कि?
माओवादीसँगको एकता प्रक्रियामा अहिले समाजको वर्ग विश्लेषण र पार्टीको नाम जस्ता विषयमा सहमति भएको कुराहरू आएका छन् । तर यो विषयमा तपाईंहरूको पार्टीको एउटा समूहले कुनै जानकारी पाएको छैन त्यसो भए ?
छैन । किनभने वार्ता समिति त अध्यक्षले आफ्नो कन्फिडेन्समा बनाउनुभएको छ। त्यहाँ पदाधिकारी भन्ने सोझै कार्यालयकै टिम छ, त्यहाँ भएको होला। हामीलाई त थाहा पनि छैन। अनौपचारिक हिसाबले पनि थाहा पनि छैन।
तपाईंले नेतृत्व रूपान्तरणको आवश्यकता औँल्याउनुभएको छ । जेनजी आन्दोलनपश्चात् सबै दल र विशेष गरी एकीकृत समाजवादी तथा भावी एकीकृत पार्टीमा पुरानो नेतृत्वको विपक्षमा जुन व्यापक आवाज उठिरहेको छ, के तपाईंहरूको यो अडान त्यही पक्षमा हो ?
यो जेनजी आन्दोलन त हिजो अस्ति भदौको २३ गते भयो । त्योभन्दा ठीक दुई महिना एक हप्ता अगाडि नै मैले हाम्रो पार्टीभित्र नेतृत्वको पुनर्गठनको आवश्यकता छ भनेर म बुटवलको एउटा कार्यक्रममा बोलेर आइसकेपछि म शृङ्खलाबद्ध स्पष्टीकरणको शिकार भएको थिएँ।
कारण के थियो भने जुन सुशासनको प्रश्न हामीले उठाइरहेका थियौँ, सुशासनको लागि भ्रष्टाचार विरोधी अभियान संचालन गर्ने, आन्दोलन संचालन गर्ने भनेर समाजवादी पार्टीले त्यतिबेला एउटा अभियान नै/आन्दोलन नै संचालन गरेको थियो । यसको जागरणका कुराहरू गर्ने, प्रेस मिट गर्ने, एजेन्डा स्पष्टीकरण गर्ने, त्यसपछि आफ्ना मागपत्र पेस गर्ने लगायतका के-के गरिरहेको थियो । त्यो भिजिबल नै छ।
बैशाखको १७ गते त प्रधानमन्त्रीलाई कतिवटा बुँदामा सुशासन र रोजगारीको लागि, भ्रष्टाचार निवारण गर्नुपर्ने, भनेर हामीले मागपत्र पनि पेस गरेका थियौँ।
समय क्रममा हाम्रो नेतृत्वमाथि भ्रष्टाचारको अभियोग लाग्यो । त्यसपछि केही सार्वजनिक पदबाट स्वतः निलम्बन हुने कानुनी व्यवस्था थियो र पार्टीको अध्यक्ष या पार्टीको नेतृत्व पनि सार्वजनिक पद नै हो । तर पार्टी नेतृत्व के गर्ने भन्ने कुराका बारेमा खासमा कानुनमा कतै नबोलेको रहेछ र यो नैतिकताको प्रश्न रहेछ। जस्तो अभियोग लागेपछि ठहरियो भने कति कामका लागि अयोग्य हुने कानुनमै स्पष्ट छ । तर सफाइ पायो भने सकिइहाल्यो।
तर अभियोग चलिरहेकै क्रममा के गर्ने त ? खास यो दलको हिसाबले सदस्य हकमा के हुन्छ भन्ने कुरा कतै दल सम्बन्धी कानुनमा नलेखेको अथवा भ्रष्टाचार निवारण ऐन सम्बन्धी कानुनमा केही पनि नलेखेको भन्ने कुरा पनि सुन्नमा आयो ।
त्यो कारणले जब हाम्रो अध्यक्षलाई थुनसेक बहसमा प्रथमदृष्टिमा यो नीतिगत निर्णय थियो कि थिएन ? तपाईं प्रधानमन्त्री भएको बखत, त्यो कुरा पछि ठहर बमोजिम गरौँला, तर अहिलेको अवस्थामा यो भ्रष्टाचारजन्य कसुर नगरेको भन्न सकिने आधार र प्रमाणहरू नदेखिएको कारणले तपाईंलाई पूर्पक्ष गर्न धरौटीमा छोड्छु भनेर अदालतले त्यो आदेश दियो । उहाँ अभियोग लागिसकेपछाडि अहिले कानुनी र एउटा न्यायिक लडाइँमा पनि हुनुहुन्छ। न्यायिक लडाइँमा भएको मान्छेले सबैभन्दा पहिले नेतृत्व छोड्नु उहाँप्रतिको सहानुभूति, सद्भाव पनि बटुलिने कुरा थियो।
त्यो कारणले मैले त्यो प्रश्न यद्यपि उहाँसँग मात्रै होइन, अरू मान्छेहरूका पनि यस्ता केही इस्युहरू थिए हाम्रो पार्टीभित्र या पार्टीबाहिरका मान्छेहरूको बारेमा पनि बोल्नु त सामाजिक प्राणीको हिसाबले कुरा गर्दा अरूका बारेमा पनि बोलिहालिन्छ । समाजमा यस्तो छ भन्ने कुरा । किन यो सामाजिक निराशा भइरहेको छ, किन यस्तो ऐंठन भइरहेको छ त भन्दा यस्तो यस्तो कारणले भएको हो, मलाई यस्तो लाग्छ भनेर आफ्नो ओपिनियन नै भन्या हो मैले।
त्यो भनिसके पछाडि समाजवादी पार्टीको त सिंगो कमिटी चाहिँ यो किन बोलेको भनेर शृंखलाबद्ध स्पष्टीकरण र शृंखलाबद्ध स्पष्टीकरण पछाडि चाहिँ तखाड मखाड गर्दै मिडिया मार्केटिङ, मिडिया ट्रायल अनि त्यसपछि त्यो मिडिया सपिङ हुन्छ नि एउटा ट्रायल सपिङ जे भन्नुस्, त्यसपछाडि उहाँहरूले त्यही जेनजी आन्दोलनको दिन २३ गते त बसेर सायद मलाई निकाल्नुहुन्थ्यो होला हैन।
तर समयले यस्तो पारदियो कि मैले उठाएका कुरा ठिक थिए, जेनजीले पनि त्यही कुरा उठाए भन्ने कुरा चाहिँ आज स्थापित भइरहेको छ। किनकि भ्रष्टाचार र सुशासनको एक नम्बर एजेन्डा जेनजीले उठाए जुन यो पार्टीभित्र म, म जस्ता मान्छे लडिरहेका थिए। र यस्तो अभियोग लागेको मान्छेहरूले नेतृत्व गरिरहनु हुँदैन भन्ने कुरा त म त्यो पार्टीभित्र कारबाही खान तयार भएर बोलिरहेको थिएँ ।
अब यो बेला यो जेनजीले भनेको त्योभन्दा अगाडि तर उहाँहरू के गर्नुभयो भने अब एकदमै साखुल्ले पल्टिने, नेतृत्वको एकदम एउटा प्रिय मान्छे हुने पाए हुन्थ्यो भनेर पायक पर्ने कुरा गरेर आउनुभयो। त्यतिबेलाको पदाधिकारी वा सचिवालय के एउटा कमिटी छ स्थायी कमिटीभन्दा मास्तिर। त्यो कमिटीका मान्छे अनि अनुशासन आयोगले त तँछाडमछाड गर्दै मेरो लागि त स्पष्टीकरण सोध्छ, दुई दिन पछाडि स्पष्टीकरण सोधेँ भन्छ, दुई दिन अगाडि। त्यसोसम्म गरे यिनीहरूले त ।
त्यसैले अहिलेको पार्टी एकताको कुरा पनि उहाँले सहज ढंगले पार्टी पुनर्गठनको मार्गप्रशस्त गर्ने हो भने एकताको आधारहरू अरू नयाँ बन्न सक्छ। उहाँले पुनर्गठनलाई सहज ढंगले नछोड्दा खेरि एकताको आधार अर्कै बन्ने भयो।
एकताको विषयमा झलनाथ खनालले पनि एउटा डकुमेन्ट सार्वजनिक गर्नुभएको छ। र यही विषयलाई लिएर तपाईंहरूबीचमा सहमति नदेखिरहँदा यो विषयलाई लिएर पार्टी विभाजन हुन सक्ने सम्मको कुराहरू पनि सुनिँदै आएका छन् र यसमा के छ तपाईंको धारणा?
अब के विभाजन, के एकता ? मैले भनिहालेँ, अब माधव कमरेडले पार्टी अध्यक्ष छोडेर पार्टी पुनर्गठनको मार्ग प्रशस्त गर्दिने हो । यो बैठकबाट भने हामीले अघि चर्चा गरेको जस्तो समाजको रूपान्तरणको लागि वामपन्थी आन्दोलन र एजेन्डाहरूलाई अझ मुखरर गरेर, आज पपुलिस्ट वेस्टर्न कलर रिभोलुसनका मुद्दाहरू कसरी आए त भन्दा जब वामपन्थी आन्दोलनको ग्राउन्ड कमजोर भयो र त्यो कमजोर ग्राउन्डमा पपुलिजमले ठाउँ लिएको त हो नि ! त्यो त पश्चिम बंगालमा पनि त्यही भएको, ल्याटिन अमेरिकी देश सुरुमा पनि यही भएको छ। हुने बाटो त्यही नै हो। जब वामपन्थीहरूले आफ्नो एजेन्डा छोड्छन्, कमजोर अवस्थामा हुन्छन्, रक्षात्मक अवस्थामा बन्दै जान्छन्। त्यसपछि यो हुने त्यही ठाउँमा हो।
जस्तो एमाले शक्तिको हिसाबले ठूलो थियो। तर किन यसको एजेन्डा रक्षात्मक भए भन्दा त्यहाँभित्र पनि अरू खालको शक्ति संघर्षहरू भए। वामपन्थ एजेन्डा र मुद्दामा चाहिँ त्यो पार्टीमा पनि अन्तर्क्रिया बहसहरू र त्यही ती कुराहरू बाहिर ल्याउने जनसंगठनहरू खासगरी कमजोर भए।
जस्तो विद्यार्थीहरू, युवाहरू, महिलाहरू यी जनसंगठनहरू कमजोर भएकै कारणले यो भएको हो त।
एउटा पार्टी मात्रै कमजोर भएको छैन, सबै पार्टी कमजोर भएको छ। त्यही कारणले अहिले पुस्ताले नयाँ ढंगको कलर रेभोलुसनको गफ गरेको वेस्टर्न इन्जेक्टेड एजेन्डा र अभियानमा यी मान्छेहरू किन सहभागी भए भन्दा दलमा यस्ता मान्छेहरूले ठाउँ पाएनन्। आफ्ना कुराहरू राख्न पाएनन्। ती कुराहरू राखेर त्यसको समाधान खोज्ने सम्भावना देखेनन् ।
जसको कारणले यो परिस्थिति सिर्जना भएको हो । अब वामपन्थी आन्दोलनको पुनर्गठन, रूपान्तरणको कुरा हो भने त सबैभन्दा पहिले नेतृत्वले आफ्नो पार्टीबाट पुनर्गठन सुरु गर्नुपर्छ। तब मात्र सबै वामपन्थी आन्दोलनमा नेतृत्व पुनर्गठन र रूपान्तरणको अभियान सुरु भयो भने वामपन्थीहरू एक ठाउँमा बलियो ढंगले उभिने सम्भावना हुन्छ।
तर उहाँहरूले म बाहेकको पुनर्गठन हो, म बाहेकको रूपान्तरण हो भनेर नेतृत्वले जब यो कुराको दम्भ राखिरहनु हुन्छ, यी कुराहरू सम्भव हुँदैनन्। त्यसैले वामपन्थी एकता अथवा एक ढिक्का हुनुभन्दा एकता भन्दा अनेकतामा विभाजित हुने सम्भावना उत्तिकै रहन्छ । यो त द्वन्दवादको नियम नै हो। किनभने एकताको कुरा गर्दाखेरि एउटा व्यक्ति केन्द्रित राखेर गरिने एकताले पार्टीहरूलाई अनेकतामा विभाजन गर्ने सम्भावना उत्तिकै हुन्छ। हाम्रो पार्टीमा पनि त्यो सम्भावना जिउँका जिउँ छ।
एकता गर्दा प्रचण्ड संयोजक रहने, माधव नेपाल सहसंयोजक रहने खालको मोडलमा कुराकानी भएको भनेर बाहिर आइराखेको छ। उहाँहरू दुई जना नेतृत्वमा रहने गरी एकता हुने सम्भावना हुन्छ कि हुँदैन?
मैले पनि सुनेको त्यही हो। उहाँहरू दुई जना बाहेक अरू बाँकी पुनर्गठन गर्नेगरी एकताको कुरा गर्नुभयो त्यो बाटोतर्फ गयो भने पार्टी एकता होइन, पार्टी अनेकतामा विभाजित हुने सम्भावना धेरै हुन्छ ।
त्यसकारण त्यसका लागि नेतृत्वले आजै, इतिहासमा यत्रो जिन्दगी सारा समर्पण गरेको, सम्मानित, इतिहास भएको, यति परिपक्व नेतृत्वले आफै मात्रै नेतृत्वमा घामजुन रहँदासम्म रहने भन्ने कुरा छोडेर एउटा एड्भाइजरी प्यानल, एउटा सल्लाहकार प्ल्याटफर्ममा बसेर पनि, एउटा सल्लाहकार, एउटा सल्लाहकारहरूको छुट्टै प्रेसिडियम पनि बनाउन सकिन्छ, बनाएर उहाँहरूले वामपन्थी आन्दोलन विचार, राजनीति र ध्रुवीकरणको पक्षमा काम गर्नुभयो भने वामपन्थीहरू जोडिँदै जोडिँदै जाने कुरा हुन सक्ला। होइन, उहाँहरूको वरिपरि नै एकता हो, आजको आवश्यकता यही हो भन्ने बुझाइ उहाँहरूमा रह्यो भने आजको ग्राउन्डको रियालिटी भन्नु पूरै यसको यसको उल्टोपाल्टो भयो।

ग्राउण्डको रियालिटी उहाँहरूबाट भएन भन्ने छ। उहाँहरूको कारणले यो समस्या आयो भन्ने छ। यसलाई छोडेर हामी बाहेक अरू बाँकी पुनर्गठन गरेर आऊ भन्ने कुरा आजको वास्तविकताभन्दा फरक भएको भएर त्यही रूपको एकता हुन्छ हुँदैन भन्ने कुरा भनिहाल्न सक्ने अवस्था छैन।
तपाईंले अघि एमालेको प्रश्न उठाउनु भयो। अध्यक्ष केपी शर्मा ओलीले आफ्नै घर फर्किनुस् भनेर अस्ति आह्वान पनि गरिसक्नुभएको छ। एमालेसँगको एकताको विषयमा तपाईंको धारणा के छ ? कसरी एकता हुन सक्ने सम्भावना छ?
समाजवादी पार्टीको वर्तमान नेतृत्व र नेकपा एमालेको वर्तमान नेतृत्वको बीचमा एकताको संवाद हुने आधार देखिँदैन। तर समाजवादी पार्टीमा नेतृत्व पुनर्गठनको कुरा भयो भने एमालेसँग एकताको सम्भावना सबैभन्दा नजिक छ।
नेतृत्व पुनर्गठनको कुरा गर्ने तपाईंहरू जस्ता व्यक्तिहरू छुट्टै संवाद गरेर त्यहाँ एकीकृत हुने सम्भावना रहन्छ कि रहँदैन त?
पहिलो कुरा त पार्टी एकताको लागि नेतृत्व बाधक छ भने त्यो नेतृत्वले छोड्नु पर्यो। अहिले जुन नेतृत्वलाई केन्द्रमा राखेर जुन दलसँग हामीले एकता गर्ने कुरा गरिरहेका छौँ, त्योभन्दा ओपन-माइन्डेड भएर सोच्नुपर्यो । नेतृत्व नै बाधक हो भने नेतृत्वलाई पुनर्गठन गरेर एकताको लागि ओपन भयौँ भने पार्टी एकताको लागि यो एकदमै राम्रो वातावरण बन्ने छ । यो एकताको प्रभाव हिजो नेकपा हुँदा हामी माओवादी साथीसँगै बसेर काम गरेकै हो । त्यस हिसाबले वामपन्थी एकताको अनि ध्रुवीकरणको सम्भावना पनि अझ राम्रो हुने कुरा छ।
तर यो नेतृत्व आफैं रहेर, आफैं बसेर एकता भन्यो भने कतिपय पार्टीमा एकता सम्भव छैन । किनकि समाजवादी पार्टीको यही नेतृत्वसँग नेकपा एमालेले एकताको लागि आह्वान नै गरेन। कार्यकर्तालाई घर फर्केर नवीकरण गर काम गर भने पनि नेतृत्वलाई एकता गर्न आऊ भनेन नि त ! त्यसैले अस्तिको एमालेको केन्द्रीय कमिटीबाट के स्पष्ट भयो भने नेतृत्व फेरियो भने ऊ एकता पनि गर्न तयार छ, अर्को नेतृत्वसँग तर यही नेतृत्वसँग एमालेले एकता गर्न तयार छैन भन्ने बुझियो।
माओवादीमा चाहिँ यही नेतृत्वसँग मात्र एकता गर्ने कुरा फेरि सहज देखियो । भनेको त यी एकताहरू व्यक्ति केन्द्रित, व्यक्ति पक्षधर र व्यक्ति विरोधी दुइटै चिज भए। त्यसको लागि समाजवादीले सबभन्दा पहिले नेतृत्व पुनर्गठन गर्यो भने हामी एकताको एउटा मियो बन्न सक्ने रहेछौँ । हामीले नै एकता र ध्रुवीकरणको अभियान सुरु गर्न सक्ने रहेछौँ ।
यो कुरामा हाम्रो नेतृत्वले कसरी सोच्छ? नेतृत्व भनेको टिम पनि हो। उहाँहरू पदाधिकारी हुनुहुन्छ। उहाँहरूले कसरी सोच्नुहुन्छ? आज बैठकमा कसरी एजेन्डा ल्याउनुहुन्छ? त्यो कुराले धेरै कुरा निर्क्योल गर्ला।
अहिले तपाईं पनि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल जस्तै कुरा गरिरहनुभएको छ । तपाईंहरू तीन जनासहित या यो विचारसँग सहमत रहने छुट्टै समूहले छुट्टै डकुमेन्ट ल्याउँदै छ ?
त्यस्तो संगठित हिसाबले केही पनि ल्याएको छैन। यी आफ्ना व्यक्तिगत विचार हुन् । अहिले त्यस्तो संगठित ढंगले बैठकमा केही ल्याउने बेला पनि भएको छैन। किनकि आज त एकता प्रक्रिया के भएको छ, अब यो के हुन्छ, कसरी जान्छ त्यसबाट हेर्ने हो। तर नयाँ ढंगले जानुपर्ने परिस्थिति सिर्जना भयो भने गर्नुपर्ने नै हुन्छ। त्यसका लागि अहिले हामी बोलिरहेकै कुरा लिपिबद्ध गर्ने हो। त्यस्तो डकुमेन्टेसन गर्न जरुरी पनि हुन सक्छ। आवश्यकताको आधारमा गर्न सकिन्छ। तर अहिलेलाई त्यस्तो संगठित र समूहबद्ध ढंगले हाम्रो मत यो हो भनेर डकुमेन्टेसनको तयारी छैन ।
प्रतिक्रिया 4