साहित्य सम्बन्धमा
घटनाको प्रत्यक्ष अवलोकनले मस्तिष्कमा गहन प्रभाव पार्दछ। यथार्थमा जस्तो संसार भोग्यो, उस्तै दृष्टि निर्माण हुन्छ। जम्काभेट हुँदा व्यक्तिले विश्वघटनाका विविध आयामलाई कुन गहिराइ र उचाइ, कति आयतन, दायरा र हदसम्म बोध गर्छ; त्यही नै उसको वास्तविक ‘जीवन–विश्व’ हो।
यसै आधारमा व्यक्तिमा सुझबुझ, अर्थ, स्वीकृति, मान्यता, दृष्टिकोण, विवेक, श्रम, क्षमता, इच्छाशक्ति, बाँच्ने शैली, विश्वास, अनुभूति, अनुभव, धारणा, प्रवृत्ति, नेतृत्व, निर्णय, अन्तरक्रिया, व्यवहार र चिन्तनप्रणाली जस्ता जीवनका तमाम आयाम विकास हुन्छन्।
जागरण र सचेतना व्यक्तिको गुणसापेक्ष हुने भएकाले जीवन र जगत् सम्बन्धी धारणा सबै मान्छेको समान हुँदैन। यस हिसाबले सबै मनुष्य जागृत (प्रबुद्ध) हुँदैनन्। परिवेशले मनोदशामा जस्तोसुकै प्रभाव छोडे पनि त्यसबाट मुक्त भएर आत्म–अन्तरदृष्टिबाट जीवन जस्तो छ, त्यस्तै भेद गर्न सकिएमा मात्र चेत–चैतन्यको बिम्ब मानव सृष्टि सार्थक हुने ठान्दछु।
साहित्य सौन्दर्य, शृङ्गार र अलङ्कारको खात मात्र होइन। थपमा; यो संसारको ऐतिहासिक पुनरावलोकन र लेखाजोखा, विद्यमान विश्व–चराचरको दर्शन, यथार्थको पूर्वाग्रहरहित चित्रण र तटस्थ उजागर, मौलिक लेखोट वा लेख्य सङ्ग्रह, बोध–अभिव्यक्तिका साथै विज्ञान र मूल्यको संयोजन अनि सम्भाव्य भविष्यको मोटामोटी आकलन र सुनिश्चित जीवन रूपान्तरणको मार्गचित्र पनि हो।
साथै, यो ठोस अनुभव, अनुभूति, वेदना, संवेदना, भावना, कल्पना, सन्देह, मनोदशा, मूल्य, धारणा र ज्ञान आदिको बिम्ब हो। कथा, कविता, गीत, नाटक, अभिनय, निबन्ध, उपन्यास, मनोवाद जस्ता आयामलगायत लेख, दस्तावेज र अनुसन्धानबाट प्राप्त तथ्य–विश्लेषण एवं संश्लेषणको निचोड नै साहित्य र आख्यानका रूप–स्थिति हुन्।
साहित्यिक आकाश विस्तारित छ। परन्तु, वैज्ञानिक बोधको दर्पण बन्नुपर्नेमा प्रगतिशील र अप्रगतिशीललगायत अनेक कित्तामा साहित्य विभक्त छ। मेरो बुझाइमा, यसरी विभक्त गर्नु सिर्जनामाथिको वक्रदृष्टि र बेइमानी हो।
स्रष्टा विचारनिर्माता, सूचना संवाहक र सचेतन सम्प्रेषक हो; तथ्यबाट सत्य बोध गराउने ऐना हो। स्रष्टाले दासता नस्वीकारी स्वतन्त्र भएर सार्वजनिक मञ्चमा खडा हुनुपर्छ। यस अर्थमा आख्यानकारको जीवन चुनौतीपूर्ण हुन्छ। परन्तु, जोखिम मोलेरै भए पनि तथ्य पर्गेल्ने साहित्य आजको आवश्यकता हो।
विषय प्रवेश
योगवासिष्ठको वैराग्य प्रकरणअनुसार– वैराग्य नभएका हृदयमा दर्शनका मर्मभाव प्रविष्ट गर्न कठिन हुन्छ। मान्छेको सिर्जना–सामर्थ्य पनि वैराग्यपनबाटै प्राप्त हुन्छ। परिस्थितिजन्य सङ्कटको यथानुभव गराउन सक्ने आख्यान त झनै कठोर साधनाबाट मात्र जन्मन्छ।
भौतिक रूपमा गुमनाम हुँदा मान्छेका अनुभव, ज्ञान, सामर्थ्य र संस्कृति सबै ओझेलमा पर्न सक्छन्। कतिपय मान्छे ‘नचिनिने गरी उड्ने वस्तु’ (यूएफओ) जस्तै बेलगाम उडिरहेका हुन्छन्। यस्तो वायुपङ्खी बेगयात्रामा अचानक व्यवधान तेर्सियो भने त्यसले उसभित्र कस्तो मानसिक व्याकुलता पैदा गर्ला ?
खास समय–स्थान परिवेश, आफू, अरू पात्र–कर्ता, घटना–परिघटना र प्रवृत्तिबारे कहीँकतैबाट बोध गरिएन भने त्यस तथ्यलाई मानसपटलमा उतारेर (दृश्यीकरण गर्दै) एक्लै एकान्तमा ऐनामा आफ्नै अनुहार हेर्दै, आँसु झार्दै भक्कानिएर रुन र मन चङ्गा हुने गरी खित्का छाडेर हाँस्न सक्ने कल्पनाशक्तिका धनकुबेर मात्र उम्दा आख्यानकार बन्छन्। साहित्य यस्तै रुने, हाँस्ने, उड्ने मन र वैराग्यता पैदा गर्ने सिर्जनाको साधन हो। ‘खुशीको गाउँ’ ले पनि धेरैलाई वैरागी बनाउनेछ, उडाउनेछ, रुवाउनेछ र हँसाउनेछ भन्ने मलाई लाग्छ।
जीवन रूपान्तरणको निमित्त लेखिसकिएको विषयमा पुनःलेखन गर्नुको कुनै अर्थ हुँदैन। लेखिएको विषयमा बारम्बार लेखिरहेको नाटक गर्नु समयको बर्बादी र पाठकलाई मूर्ख बनाउने चेष्टा गर्नु मात्र हो। अभि सुवेदी (२०७६) का अनुसार– यहाँ साहित्य नलेखिएको र मौन छ। यद्यपि, मौनताले पनि खतरनाक अर्थ बोलिरहेको हुन्छ। आजको दुनियाँमा यथार्थ लेख्नु खतरा मोल्नु हो। नलेखिएको विषय र बोल्न नसक्नेको निम्ति चुनौतीपूर्ण किसिमले लेख्नु सर्जकको दायित्व हो। शरणार्थी र बस्तीबीचको चुनौतीपूर्ण प्रेमिल कथानकले भरिएको ‘खुशीको गाउँ’ नलेखिएका मान्छेको मौनता भङ्ग गर्न लेख्नैपर्ने विषयमा कलात्मक ढङ्गले लेखिएको आख्यान ठान्दछु।
डुब्ने ‘कर्ता’ र देख्ने ‘द्रष्टा’ दुवै दृष्टिको सन्तुलित र संयोजित प्रस्तुति अब्बल आख्यानको चरित्र हो। प्रेमलाई केन्द्रीय तत्त्व मान्ने परम्परा भएकोले होला सायद, सर्जकले प्रेमसम्बन्धको आवरणमा शरणार्थी र गाउँले दृष्टि एवं तिनको जीवनकथालाई मार्मिक र करुण शैलीमा पटाक्षेप गर्नुभएको छ।
विविध असहजताका कारण मान्छेका मनमा खाँदिएका असीम पीडा, दर्द, चिन्ता, कुण्ठा र रोदन दबाएर आवरणमा बाँच्न सक्ने जीवनको अनावरण गर्न सक्ने आख्यानकारको मनोदशा र सामर्थ्य क्या गज्जब लाग्यो ! रहस्यमा रहेका जीवन र यावत् वास्तविकताको सुबोध्य शैलीमा अनावृत ‘खुशीको गाउँ’ पुस्तक पुनरावलोकन गर्ने अवसर पाएकोमा खुसी लागेको छ। आख्यानका विविध पक्ष–पक्षान्तरबारे मेरा दृष्टिकोण र धारणालाई यहाँ सङ्क्षिप्त रूपमा उल्लेख गरेको छु।
शरणार्थी जीवन
आख्यानमा– स्वतन्त्रताका लागि आवाज उठाउँदा जिब्रो थुतिएका; आफ्नै माटोमा गरिखाउँ भन्दा सर्वस्व लुटिएका; नेपालीपनकै भेषभूषा, भाषा र धर्म–संस्कृतिमा दरिएका कारण सर्वस्वहरणमा परेका; आफ्नो जिन्दगी र भविष्य नै अनिश्चित भएका; शरण परेर बाँच्नका लागि प्राणको याचना गर्दा समेत मृत्युवरण गर्न बाध्य भएका; दातृसंस्थाले दिएको सातुको भरमा प्राण धानेका; पुस्तौंदेखि रगत–पसिना बगाएको माटो र पहिचान खोसिएर ‘विकलाङ्ग’ बनेको शिविरको मनोदशा पढ्दा मन कटक्क खायो।
साथै, बाहिरबाट अर्काको भूमिमा प्रवेश गरेका भोटेहरू कसरी शासक बने? आफ्नो थातथलोमा आफैं शासित बन्नुपर्ने अवस्था कसरी पैदा भयो? के यसको कारण नेतृत्व नै हो? सर्जकले ज्यादै पेचिला प्रश्न उठाउनुभएको छ।
पारस्परिक अन्तरसम्बन्ध
सर्जकले शिविरको जीवन–अवस्था र रैथानेबीचको न्यानो सम्बन्ध उजागर गर्नुका साथै परिवेशले जुराएको जम्काभेटबाट राधिका र राजेन्द्रबीच मौलाएको प्रेमकथाले आख्यानलाई थप रोचक बनाएको छ। अर्को रोचक पक्ष, उल्टै शरणार्थी पो बस्तीको दाता बनेको कुराले म छक्क परें। यसरी प्रेमको आवरणमा गाउँले बस्ती र शरणार्थीबीचको आत्मीय र परस्पर सम्बन्धको पाटोलाई समेत सूक्ष्म ढङ्गले अनावरण गर्न सक्नु सर्जकको उत्कृष्ट कला हो।
प्रेमिल मनोवाद
प्रेम सृष्टिको सुन्दरतम सिर्जना हो। प्रेम मीठो अनुभूति हो। प्रेमको रङ, आकार, आयतन र गन्ध केही हुँदैन। प्रेमलाई जात, रङ, भाषा, लिङ्ग, उमेर र भौगोलिक सीमाले प्रभाव पार्दैन। हरेक व्यक्तिले देखेको, सुनेको र भोगेको आधारमा आ–आफ्नो परिभाषा दिए तापनि प्रेमको सर्वमान्य परिभाषा स्थापित छैन। तसर्थ, निस्वार्थ भावले एकअर्कालाई बुझ्नु र महसुस गर्नु नै प्रेम ठान्छु।
तर आज प्रेम ‘आइ लभ यू’ शब्दमा सीमित छ। ‘जेन–जी’ नामित पुस्ताको ‘फेसबुकिया’ प्रेमको ‘प्रलाप’ त झनै उराठ र उदेकलाग्दो प्रतीत हुन्छ। प्रेमको सही अर्थ र मूल्य पर्गेल्दै प्रेमसँग गाँसिएको मन र मस्तिष्कबीचको अन्तरद्वन्द्व झल्काउने आख्यानकारको रङ्गीन मनोवाद पनि कम चाखलाग्दो छैन। प्रेमलाई प्रेरणादायी शक्तिश्रोत ठान्दै सर्जक भन्नुहुन्छ:
“आफ्नै जीवनसँग प्रेम नहुनेको अर्कासँग झन् के होला? समयसँगै बदलिँदै जाने तर आफू बन्नै नदिने बाह्य परिवेशसँग कसैको केही नलाग्दो रहेछ। प्रकृतिले प्रेम गर्ने मन दिएको छ तर दुनियाँले प्रेम गर्ने छुट दिँदैन। भावनाको थोरै ताप पर्नासाथ पग्लिने प्रेमिल मन र साँचो प्रेममाथि बन्देज लगाएको छ समाजले। प्रेमविहीन पारेर कैयौं जिन्दगीलाई मरुभूमि (रेगिस्तान) बनाइदिएको छ। अब कसलाई सुम्पिने विश्वासको थैलो? कठै! ‘रमाइलो’ भन्ने पनि मनमा पीर नहुँदा मात्र हुने रहेछ। मनभरि ‘चोट’ र ‘पीर’ परेपछि दशैं, तिहार, चाडपर्व पनि खल्लो र निरर्थक लाग्दो रहेछ। प्रेमिल मन र भोक यस्तो अचम्मको हुने रहेछ कि, कैयौं रात भोकै सुते पनि मन बेखुसी छ भने भोक लागेको पत्तै नहुने रहेछ। मन खुसी हुँदा भोक लाग्ने, नहुँदा नखाँदा पनि हुने ! कस्तो हो यो मन र भोक !”
यही कारण कैयौं मान्छे सबै कुरा त्यागेर प्रेमीसँगै बाँच्ने आँट गर्दा रहेछन्। प्रेम मनसँग सम्बन्धित छ; दिमाग पो प्रेमको बाधक रहेछ। मनले स्वीकृति दिएपछि शरीर एक हुनु स्वाभाविकै हो तर समाजको व्यवस्थाले त्यो मनलाई छुट दिँदैन। समयअघि शारीरिक सम्बन्ध अवैध मान्छ समाजले। त्यही समाजको आज्ञा मान्दो रहेछ दिमाग; मनलाई बाँध्न दिमागले भूमिका खेल्दो रहेछ, तर दिमागलाई सधैं जित्न खोज्ने मनलाई रोक्न कति गाह्रो!
प्रेमबिना गरेको शारीरिक सम्बन्धले जीवनसाथी र श्रीमान्–श्रीमती बनाउँदैन। त्यस्तो सम्बन्ध त बलात्कारको सम्बन्ध हो। प्रेम, मन र समर्पण एउटासित, शरीर अर्कोसित भएर लोग्ने–स्वास्नी बनिन्थ्यो भने आज म पनि त्यो लोग्नेको स्वास्नी नै बनिरहेकी हुन्थें। एउटासँग गरेको प्रेम अर्कोतिर नसर्दो रहेछ। श्रीमान्–श्रीमतीको सम्बन्ध यस्तै शरीरको सम्बन्धले जोडेको हुँदो रहेछ। यस्तो सम्बन्ध जति सन्तोषजनक भयो त्यति नै वैवाहिक सम्बन्ध पनि मजबुत हुँदो रहेछ। सन्तोषजनक नहुँदा मेरो जस्तै हुन्छ…
यसरी पात्र मनोवादमा गहिरिनुहुन्छ। शिविर र बस्तीको जीवनलाई नजिकबाट नियाल्नुभएका सर्जकले उपनाम त ‘खुसी’ राख्नुभएको छ। तर, साँच्चै सर्जक खुसी हुनुहुन्छ त? भन्ने पनि लाग्यो। वंश परम्परा धान्नका लागि मात्र गरिने प्रेमविहीन वैवाहिक सम्बन्ध प्रेम होइन। क्षणिक आनन्दका लागि गरिने यौनसम्बन्ध त बलात्कारजस्तै हो।
प्रेमलाई उच्च सम्मान दिने ‘खुसी’ जीले– प्रेमको नियम जुनसुकै समाजमा पनि एउटै हुन्छ। न्यायिक समाजको मान्यता राख्नेले आफ्नो मात्र स्वार्थका लागि सोच्नु हुँदैन। कतिले त विवाहपूर्व नै बच्चा जन्माएर अपहेलित बनेका छन्। कैयौं मान्छेहरू त प्रेमबिना जन्मिएर बिनाप्रेम नै मर्दा रहेछन्। सत्य त यो हो कि सबै गर्भ प्रेमको उपज हुँदैन।
बलात्कारबाट बसेको गर्भ, करकापको यौन सम्बन्धबाट बसेको गर्भ पो घृणित र अपहेलित हुनुपर्ने! यति राम्रो प्रेमिल समागमबाट बसेको गर्भ त प्रेमको उपजका रूपमा स्वीकार गर्नुपर्ने थियो, त्यस्तो बच्चा जन्माउनलाई त सम्मान र प्रेम दिनुपर्ने थियो; तर सामाजिक व्यवस्थाले त्यही सुन्दर प्रेमका उपलब्धिलाई घृणा गर्ने उल्टो नियम बनाएको छ– भन्दै मन, दिमाग, प्रेमशक्ति र विद्रोहबीचको अन्तरद्वन्द्वलाई चुस्त शैलीमा व्यक्त गर्नुभएको छ।
प्रेमको मामलामा समाजले बनाएको नियम र मान्यता भत्कियोस् भन्ने कठोर रुझान राख्ने सर्जकले सङ्गतिहीन सम्बन्धविरुद्ध साँचो प्रेमको पक्षमा विद्रोहस्वरूप, खोक्रो दयाभाव राख्ने तर असमान व्यवहारबाट मानवीय मनमाथि तीर चलाउने दानवीय समाजउपर कडा प्रहार गर्नुहुन्छ।
सीमारहित प्रेम
आखिर सीमा त हुँदैन नि प्रेमको। प्रेम त सत्यवाहक र अमरत्वको प्रतीक हो। प्रेमले जीवन र जगत्को बोध गराउँछ। जीवन र जगत्को बोध गराउने यस्तो प्रेम कहिल्यै सीमामा बाँधिदैन। दुई मनबीचको व्यवधान र सीमारहित सम्बन्धको अर्को रूप नै प्रेम हो। सीमामा बाँधिने प्रेम त क्षणभङ्गुर हुन्छ। मान्छेको नैसर्गिक स्वतन्त्रतामाथि जबर्जस्त व्यवधान खडा गर्ने सीमाले मनुष्य जीवन उजाड, उराठ, नीरस र निरर्थक बनाउँछ।
राजेन्द्र र राधाको प्रेमिल सम्बन्ध र विवाहमाथि लादिएको सांस्कृतिक बन्देज सम्बन्धमा शिविरकी तिवारीनी दिदी, राजेन्द्र र राधाबीचको संवादलाई लेखकले ज्यादै मनभेदी भावमा जीवन्त चित्रण गर्नुभएको छ:
“हामी त स्वतन्त्रजस्ता देखिने पखेटा काटिएका पन्छी हौं। चारवटै खुट्टा काटेर फालिएका पशु हौं; कसैले घाँस, पराल, खोले–फाँडो राखिदिएमा मात्र पेट भर्न पाउँछौं, नभए भोकै बस्नुपर्छ। यस्तो अनिश्चित भविष्य लिएर अस्थिर जिन्दगी हामी आफैं बाँचिरहेका छौं, अरूलाई यो दलदलमा नफसाऊँ छोरा।”
“हामी शरणार्थीहरू त यति निरीह रहेछौं नि राधा, हामी जातमा मान्छे भएर पनि मान्छेको स्तरमा पुग्न सक्ने रहेनछौं। हाम्रो जस्तो मुटु हुने, हाम्रो प्रेम र भावना मिल्ने समाज त यो दुनियाँमै रहेनछ। यी भावनालाई, यी प्रेमलाई नबुझ्दा पनि हुने कस्तो मानवीय व्यवस्था? यी मानवीयता, संवेग, संवेदना, विवेक, बुद्धि भन्ने कुरा पनि मान्छेले आफ्नै स्वार्थका निम्ति प्रयोग गर्ने कुरा मात्र रहेछन्। स्वार्थभन्दा बाहिरका अवस्थामा त मान्छे कठोर र निर्दयी बन्दो रहेछ। तिमीले मसँग जीवन बिताउन तयार हुँदा तिम्रा बुबाआमा, तिम्रो परिवार, आफन्त, सारा समाज, मान्छे हुनुको हक–अधिकार मात्र होइन, तिम्रो स्वतन्त्रतासमेत गुमाउनुपर्छ।”
शिक्षा, श्रम र आत्मनिर्भरता
पढाइ र विद्यालाई भन्दा धन पुज्ने दुनियाँले सचेतलाई खुइल्याउनमा आनन्द मान्छ। अन्धविश्वास, कुरीति, कुप्रथा र कुसंस्कार पछि नअँगाल्नेको उछित्तो काट्छ। शिक्षित भनाउँदाहरू कथित ‘सिस्टम’ को ओत (ऐंच) मा बसेर शिर झुकाएर जागिर खाने नाममा मालिकको दास बन्नुमा गर्वानुभूति गर्छन्। यस्तो खोक्रो जीवनभन्दा त बरु आफ्नै श्रममा दाउरा बेचेर जीवन चलाउनु श्रेयस्कर ठान्नुहुन्छ आख्यानकार।
समाजले मान्छेको भन्दा प्रमाणपत्रको बढी सम्मान गर्ने भएको हुँदा प्रेमलाई साकार बनाएर सम्मानित जीवनकै लागि पढेर परीक्षा दिन कस्सिएकी पात्रमार्फत सर्जकले पढाइलाई इज्जत र महत्त्व दिनुहुन्छ। ठगीको कमाइले चौरासी व्यञ्जन खानुभन्दा मेहनतले सागसिस्नु वा मोहीमा नुन हालेर भोकमा प्रफुल्ल मनले भोजन गर्नु उचित ठान्ने आख्यानकारले श्रमप्रति घृणा र अनादर गर्दै फोस्रो इज्जत सिकाएर मनलाई उदासीन बनाउने प्रभुत्ववादी व्यवस्था र परपीडक संस्कृतिबाट मुक्त हुनुपर्छ भन्नुहुन्छ।
हत्केलामा जतिसुकै ठेला उठे पनि पौरखीले कहिल्यै दुःख मान्नु हुँदैन, आफूले बाँचेको जीवनमा सन्तोष मान्न सक्यो भने आनन्द र खुसी माग्न अन्त कहीँ पनि जान पर्दैन; पैसा कमाउन र समृद्धि प्राप्त गर्न विदेशै जानुपर्छ भन्ने छैन भन्नुहुन्छ आख्यानकार। अभाव र पीडामा जन्मिहुर्केकी, दाउरा बेचेर बाँच्ने नारीले स्वतन्त्र र आत्मनिर्भर जीवन हासिल गर्न सफल भएको दृष्टान्तले आफ्नै पौरखमा रमाउँदै स्वाभिमानपूर्वक बाँच्नुपर्छ भन्ने प्रेरणा दिएको छ।
छेडखान र आडम्बरउपर व्यङ्ग्य
छोरी कुटेर बुहारी तर्साउने अवस्था सिर्जना गराई विभेदकारी संस्कृतिको ढाँचा छ हाम्रो परिवेशमा। बुहारी बनेर घरका नातापाता सबैलाई गच्छेअनुसार खुसी पार्न र रिझाउन नसक्ने छोरीमान्छे अयोग्य ठहरिन्छन् र काम लाग्दैनन् भन्ने गरिन्छ। कतै सौता खेपेर बाँच्नुपर्ने हो कि भन्ने तनावका बाबजुद सधैं हँसिली भएर बस्नुपर्ने, अन्यथा अलच्छिनी भइने अवस्था सिर्जना गरिन्छ।
अर्को पक्ष, नारी–विश्वको महानता, महत्ता र मूल्यलाई धमिलो पार्ने यान्त्रिक आभूषणमा सजिने ‘पपेट’ महिलाप्रति पनि कठोर दृष्टिकोण राख्नुहुन्छ सर्जक। जस्तो– “कतिपय हिरोइन त स्तन र कम्मरको नापको आधारमा पो हुँदा रहेछन् ! अहिलेको समाजमा व्यवहारको कुनै स्तर छैन; व्यवहार जस्तो भए पनि भयो, शरीर र अनुहार राम्रो हुनुपर्छ अहिले, कस्तो उल्टो व्यवस्था !” अहिले त व्यवहार र चरित्रभन्दा बाहिरी आवरण सिँगार्नमा समय र पैसा खर्चने जस्ता आडम्बरी जीवन सर्जकलाई मन नपरेको पाएँ।
उदार नारी मनोदशा
बाध्यता हो या प्राकृतिक यथार्थ, वास्तविक जीवनमा हुन्छ कि हुँदैन मलाई जानकारी छैन। तर प्रेमप्रति उदार नारी मनोदशाको अनुपम दृष्टान्त पेस गर्नुभएको छ सर्जकले। आफ्नो श्रीमानलाई प्रेमिका भेट्न पठाउन सक्ने उदारता नारीमा हुँदो रहेछ भन्ने यो पुस्तक पढ्दा थाहा भयो। पात्र भन्छिन्– “मनलाई जत्रो र जस्तो पनि बनाउन सकिने रहेछ। यता मैले अर्काको लोग्नेमाथि मेरो भनेर हक जमाइरहेकी छु।”
गहिरो प्रेम भएको तर परिस्थितिले छुट्न बाध्य पारेको अवस्था, र राजेन्द्रको चिन्तामा ग्रस्त भई मरेर पनि बौरिएकी र एक्लै भए पनि राजेन्द्रलाई नै सम्झेर बाँचिरहेकी राधिकाको हालतबारे धनमायालाई जानकारी थियो। दुवैको खुसीमय जीवनको लागि नेपालमा भएकी राधिकासँग भेट्न अमेरिकाबाट नेपाल जान आफ्नो श्रीमान् राजेन्द्र तिवारीलाई सहमति र स्वीकृति दिन सक्ने, अनि आफ्ना छोराछोरीलाई राधिकालाई ‘सानीमा’ भन्नसमेत सिकाएकी धनमायाको नारी–उदारता ज्यादै घतलाग्दो छ।
आँसु र रोदन
आँसु र रोदनलाई नारीको मात्र एकलौटी गहना भन्छन् मान्छेहरू। कतिपय नारीले त रोएरै जित्छु पनि भन्दा हुन्। भन्छन्– पुरुष रुँदैन, रुने पुरुष त मरेसरह हो। होइन रहेछ यस्तो त। पुरुष रुँदैन भन्ने कुरा म मान्दिनँ। नरुने मन भएको पुरुष पनि हुन्छ र? प्रेम वियोगको पीडा एकनास लठ्याइरहने नशाजस्तो हुन्छ भनेर प्रेमको अनुभूति नै नगरेकालाई के थाहा!
‘खुसी’ जीले पनि यही कुरालाई मान्दै आउनुभएको थियो होला सायद, राजेन्द्र रोएको देखेपछि मात्र पुरुष रुन्छन् भन्ने सत्य बोध भएछ। “छोरो मान्छेभित्र दिल हुँदो रहेछ, छोरी मान्छेमा जस्तै उसमा पनि भावना हुँदो रहेछ, दुःख लाग्दो रहेछ, आँसु झर्दो रहेछ, चोट पर्दा घोप्टो परेर रुँदो रहेछ” भन्ने यथार्थ राजेन्द्रको भक्कानिएको रोदनबाट मात्र थाहा भएछ क्यारे उहाँलाई। आँसुले मनको मैलो पखाल्छ, रोएपछि मन हल्का हुन्छ भन्ने कुरो हो रहेछ। ‘एक्लै भक्कानिएर रुँदा मन हल्का भएको’ भन्ने हरफ पढ्दा मन भारी भएको अनुभव भयो।
समाज र भयमुक्त जीवन
संसारमा ‘समाज’ र ‘सामाजिक’ भन्ने कुनै चिज हुँदैन। हुन्छ त केवल मानिसको भौतिक उपस्थिति, उसको मन, मस्तिष्क र सांस्कृतिक मनोदशा मात्र। त्यसैले समाज भनेको भ्रम मात्र हो, मैले यसरी बुझ्छु। वास्तवमा खुसीको नारीविद्रोह त यहाँ पो देख्छु म त। वास्तवमा लुकाएर राखेका भित्री कुरालाई खुलाउन सक्ने व्यक्ति नै स्रष्टा बन्छ।
पाप र धर्मप्रति सजग आख्यानकारले पाप र धर्म मान्छेको मन र मानव–व्यवस्थासँग जोडिएको अपरिहार्य विज्ञान ठान्नुहुन्छ। खास चरित्रको भूमिका उदाङ्गो प्रकट नभएसम्म उसको सक्कली रूप देखिँदैन। सतहमा देखिँदा साधुसन्त जस्तो लाग्छ, तर भित्री अन्तर्य त अर्कै हुन्छ। समाजका अगाडि सामाजिक लाग्ने केही मान्छे गोप्य रूपमा त पशुजस्तो हुने रहेछन्। समाजका अगाडि गर्न हुँदैन भनेका कुराहरू पनि समाजका आँखाले नदेख्ने ठाउँमा गरिरहने रहस्यमय समाजको अन्तर्य बुझेका सर्जक सामाजिक भयबाट मुक्त भएको पाएँ।
वर्तमानलाई वास्ता नगरेर केही मान्छेहरू अनिश्चित भविष्यको चिन्तामा डुब्छन्। राजेन्द्र पात्रको भनाइमा सहमति जनाउँदै आख्यानकारले– अमेरिकीहरू आफ्ना लागि बाँच्छन्, आजका लागि बाँच्छन्। जति बाँच्छन्, खुसीसाथ बाँच्छन्। यहाँका हामी भोलि खुसी पार्नका लागि बाँच्छौं। अरूलाई खुसी पार्न बाँच्छौं। त्यही भएर कहिल्यै खुसी हुँदैनौं। त्यसैले स्वतन्त्र भएर आफ्ना लागि वर्तमानमा उन्नत जीवन बाँच्नुपर्छ– भन्दै आनन्द जीवनमार्गको सुझावसमेत दिनुहुन्छ सर्जक।
पत्रकारिता र सुझाव
पत्रकारलाई सुझाव दिनुहुने खुसी जीले मिसन–प्रेरित पीत पत्रकारितामा विश्वास गर्नुहुन्न। “पत्रकारले अरूको सुन्नुपर्छ। सुन्न नसक्ने मान्छे पत्रकार हुनै सक्दैन। धेरै सुनेर थोरै तर सत्य कुरा सम्प्रेषण गर्नुपर्छ पत्रकारले”– भन्दै पत्रकारिताको खास धर्म र कर्मप्रति सजग गराउन निष्ठावान् पत्रकारको आदर्श आत्मसात गर्नुपर्ने कुरामाथि जोड दिनुहुन्छ सर्जक।
“मेरो आफ्नै जीवनकथा किताब बनेर आएछ। आफ्नो जीवनकथा जस्ताको त्यस्तै राख्दा पनि उपन्यास हुँदो रहेछ। कति आकर्षक जीवन बाँचेछु मैले उपन्यासकी पात्र बनेर! संसारकै भाग्यमानी महसुस गरिरहेकी छु। आफ्नै जीवनकथाले भरिएको उपन्यासमा मैले आफैंलाई पढिरहेकी छु।” यसरी अन्तिम अनुच्छेद पढेपछि उपन्यासको पात्र त खुसी जी नै हुनुहुँदो रहेछ भन्ने थाहा भयो।
संश्लेषण
सामान्यतया: परिवेश, दृष्टिकोण, कथानक, पात्र, विषयवस्तु, शैली, सङ्घर्ष जस्ता तत्त्व मिश्रित चरणबद्ध ‘एल्गोरिथमिक’ प्रक्रियालाई आख्यान भन्ने गरिन्छ। ‘पेटेन्ट राइट’ अधीनस्थ गर्ने केही रुपासे समालोचकहरू आख्यानउपर– परम्परावादी, आधुनिकवादी, उत्तरआधुनिकवादी, स्वच्छन्दतावादी, अराजकतावादी, विनिर्माणवादी, प्रगतिवादी, यौनवादी, मनोविश्लेषणात्मक, आयामवादी, महिलावादी, आदर्शवादी, प्रतीकवादी, संरचनावादी, यथार्थवादी, नारीवादी, पुरुषवादी, जनवादी, लोकवादी, समाजवादी, पुँजीवादी जस्ता ‘उपमा’ र ‘लेबल’ लगाएर अनेक वाद र कित्तामा विभक्त गरिदिन्छन्।
कसैको सिर्जनालाई विशेषण पहिराइदिने विभेदकारी मनोदशासँग म सहमत छैन। जीवनको यथार्थता पर्गेल्ने आख्यानकारको मौलिक ‘सिर्जना’ र ‘विचार’ भएकोले यस आख्यानलाई मैले ‘खगिन्द्रावादी’ वा ‘खुसीवादी’ धाराको भन्छु।
कसैकसैले प्रेमकथालाई संयोगान्तबाट सुरु गरेर संयोगान्तमै टुङ्ग्याउँछन् त कसैले वियोगान्तमा। तर यो संयोगान्त प्रेमकथा हो। यसरी प्रेमचक्रभित्र घुमिरहने मान्छेको प्रेम, मन (अहङ्कार), चेतना र शरीरबीचको अन्तरद्वन्द्वात्मक सम्बन्धलाई औपन्यासिक शैलीमा प्रस्तुत यो आख्यानलाई मैले विशिष्ट ठानें।
आख्यानका यान्त्रिक सीमा कोरिएका छन्। तर कुनै पनि स्वतन्त्र साहित्यकार, आख्यानकार, समालोचक र सर्जक त्यस्तो सीमामा किमार्थ बाँधिदैन। सीमामा बाँधिएर बनिबनाउ ‘फर्म्याट’ मा ढालिने सर्जक सृजनशील हुन्छन् भन्नेमा मलाई विश्वास छैन। सच्चा सर्जकले ‘फर्म्याट’ का सबै सीमा भत्काएर अन्तर्निहित सबै ऊर्जा ओकल्छ। यो आख्यान सीमारहित सिर्जनाकै एक नवीन दृष्टान्त ठान्छु। यसउपर खोट लगाउनुपर्ने कुनै ठाउँ देखिनँ मैले। आख्यानकार सिद्धहस्त हुनुहुन्छ।
आख्यानकार भन्नुहुन्छ– मान्छे हिँड्छन् र त बाटो पनि जगमगाइरहन्छ। तर मान्छे नै बिरानो भएपछि बाटो पनि उजाड नै हुँदो रहेछ। एक छिमेकी परिवार बसाइँ सरेर जाँदा त मन थाम्न गाह्रो हुन्छ भने व्यक्तिगत, पारिवारिक, सामाजिक सम्बन्ध गाँसिएका हजारौं घरपरिवार एकैपटक उठेर जाँदा सर्जकको जन्मथलो खुदुनावारी कैदले सेरोफेरोका गाउँ, बस्ती र बाटोघाटाहरूमा सहिनसक्नुको ‘सन्नाटा’ अनुभव भयो। यस्तो ‘स्तब्धता’ को महसुस त सबैले गरे होलान् तर व्यक्त गर्न त लेख्न सक्ने, साहित्यिक र साहसिक मन नै चाहिंदो रहेछ– लेखक एक साहसी साहित्यिक योद्धा हुनुहुन्छ।
यस्ता साहसिक मनका मूर्खहरू चिन्तन गर्छन्, लेख्छन्, पढ्छन्। उता सज्जनहरू भने मूर्खहरूलाई देखेर खित्का छाडीछाडी छद्म हाँसो हाँसिरहन्छन्। यसैलाई तिनले आफ्नो धर्म र असल कर्म सम्झन्छन्। आखिर वास्तविकताको ठूलो हिस्सा त यस्तै खित्का छाडेर हाँस्ने अनि खादा लगाउन तछाडमछाड गर्ने सज्जनहरूले ओगट्दा रहेछन्।
तत्त्वबोध बेगरको यान्त्रिक समालोचना गर्नु केहीजनको निमित्त सकाम कर्म होला, तर द्रष्टाको दर्शनबाट प्राप्त अनुभवको गहिराइ, उचाइ र आयतन भेद गर्नु सहज थिएन। ‘नमर्दै स्वर्ग देख्न आतुर’ र ‘नपढी तत्त्ववेत्ता बन्न लालायित’ ‘सज्जन’ हरूको वर्चस्वमा पनि मैले पुस्तकको लेखाजोखा गर्ने आँट गरें। तर न्याय गर्न सकें कि सकिनँ, यसको समालोचना गर्ने जिम्मा मैले स्वयं सर्जकलाई दिएको छु।
अन्त्यमा: जीवनले भोगेका करुण पीडा र प्रेमानुभावित छालहरूबीचको सम्बन्धलाई आख्यानिक शिल्पशैलीमा प्रस्तुत ‘खुशीको गाउँ’ पुस्तकको समालोचना गर्ने अवसर दिनुहुने खुसीजीका आगामी पाइलाहरू बेलगाम र सतत् अगाडि बढ्दै जाऊन्। शुभकामना।
प्रतिक्रिया 4