+
+

बसपार्क सुनसान, पार्किङ्ग सडकमै

रामहरि ओझा रामहरि ओझा
२०७९ पुष ८ गते १६:३२

पुस ८, डोटी । डोटीको जिल्ला प्रशासन कार्यालय अगाडि लहरै गाडीहरु रोकिएका छन् । सार्वजनिक यातायतका साधनहरु, मालवाहक ट्रक, नगर बस र मोटरसाइकल समेत पार्किङ्ग गरिएका छन् ।

सिलगढीमा मात्रै होइन्, जिल्लाकै व्यस्त बजार दिपायलमा पनि सडकै गाडी पार्किङ्ग गरिएका छन् । नजिकै ट्राफिक प्रहरीको बिट छ, तर पनि गाडीहरु सडकमै अव्यवस्थित पार्किङ्ग छन् ।

बसपार्क नभएर यी गाडीहरु सडकमै पार्किङ्ग गर्नु परेको भने होइन । जिल्ला सदरमुकाम सिलगढी बजारमा २०५४ सालमा बसपार्क निर्माण भई २०५५ सालदेखि सञ्चालनमा थियो । नगरपालिकाको स्वामित्ममा रहेको झण्डै चार रोपनी जमिनमा बनेको उक्त बसपार्क केही समय सञ्चालनमा पनि रह्यो, नगरपालिकाले पार्किङ्ग शुल्क उठाउन एक जना कर्मचारीको समेत व्यवस्था ग¥यो । १२ वर्षसम्म राम्रैसँग चलेको उक्त बसपार्क हिजो आज भने सुनसान छ ।

दिपायल पिपल्लामा पनि नगरपालिकाले बसपार्क निर्माण गरेको छ । २०६० सालमा २५ वर्षका लागि लिजमा लिइएको उक्त बसपार्क गाडी पार्किङ्ग हुँदैनन् । उक्त जग्गामा टिकट काउण्टर र यात्रु प्रतिक्षालय समेत निर्माण गरिएको छ तर यातायतका साधनहरुको टिकट होटेलहरुमा काटिन्छन् ।

त्यसो त दिपायल क्षेत्रमा बसपार्क वनाउने भनी नगरपालिकाले जमिन समेत खरिद गरेको छ । नगरपालिकाको वडा नं. २ मा ५ रोपनी ९ आना ३ पैसा २ दाम जमिन खरिद गरेर घेरबार समेत गरि बर्षौंदेखि बाँझो छोडेको छ नगरपालिकाले । उक्त जमिन बसपार्कका लागि अपायक भएको नगरपालिकाको तर्क छ ।

बसपार्क निर्माण गर्ने नाममा सरकारी लगानीको दुरुपयोग भएको स्थानीय नविन श्रेष्ठ बताउँछन् । उनी भन्छन् ‘सडकको दुवैतिर गाडी पार्किङ्ग गर्दा बाटो साँघुरो हुने र जाम समेत लाग्ने गरेको छ ।’ उनी यातायतका उचित व्यवस्थापन नगरेर सरोकारवाला निकायहरु दुर्घटनाको पर्खाईमा रहेका जस्तो देखिएको बताउँछन ।

कुनै बेला धेरै चहलपहल हुने बजार बसपार्क सञ्चालन नहुँदा सुनसान बनेको बताउँछन् स्थानीय व्यापारी गिरी बोगटी बोगटी । उनी भन्छन्, ‘बसपार्क सञ्चालन नहुँदा व्यापार व्यवसायमा समेत मन्दी आउनुका साथै धेरै जसो व्यक्ति पलायन हुने गरेका छन् ।’

भएका बसपार्कहरु सञ्चालन नहुँदा यात्रुहरूलाई कहाँ झर्ने र कहाँदेखि गाडी छुट्छ भन्ने अत्तोपत्तो नहुने दिपायल सिलगढी नगरपालिका–६ का प्रभु श्रेष्ठ वताउँछन् । उनले भने ‘कि त निर्माण गरिएको बसपार्क सञ्चालनमा ल्याउनु पर्‍यो, यदि हटाउन खोजेकै हो भने अर्को ठाउँमा व्यवस्थित बसपार्क बनाउनु पर्‍यो ।’

जिल्ला प्रहरी कार्यालयसँगैको चेकपोष्ट अगाडि मुल सडकको दायाँबायाँ पार्किङ्ग हुने साधनहरुले अछाम, बाजुरा आउजाउ गर्ने साधनहरुले निकै सास्ती खेप्नु परेको छ ।

एक–अर्कालाई दोषारोपण मात्रै

बसपार्क सञ्चालनमा ल्याउन खोज्दा यातायत व्यवसायीहरुले झगडा गर्न खोजेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्का बताउँछन् । उनी भन्छन् ‘यातायात व्यावसायीको मनोमानी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको गैरजिम्मेवारीपनले उक्त समस्या देखिएको हो ।’ उनी बसपार्क सबैको पायक पर्ने ठाउँमा नभएका कारण पनि समस्या भएको वताउँछन् । नगरपालिकाले मात्र एक्लैले यो समस्या समाधान गर्न नसक्ने नगरप्रमुख खड्काले बताए ।

ट्राफिक प्रहरीले पनि यातायात व्यवसायीलाई नै दोष लाउने गरेको छ । कुनै भीआईपी आउने बेला सडकमा रोकिएका साधनहरु लखटेर क्लिन गर्न सक्ने ट्रापिक प्रहरी सडकमा पार्किङ नगर्नुहोस् भन्दा चालकहरुले कहाँ पार्किङ्ग गर्ने भन्दै ठाडो जवाफ दिने गरेको बताउँछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख भीमबहादुर बोहरा भन्छन् ‘सडकमा पाकिङ्ग नगर्नुहोस् भन्दा हामीलाई पार्किङ्ग गर्ने ठाउँ देखाइदिनु पर्‍यो भन्छन् ।’

उनले नगरपालिकाले पार्किङ्ग बोर्डको व्यवस्था गरी निश्चित पार्किङ्ग क्षेत्र तोक्नु पर्ने र नगर प्रहरी परिचालन गरि सवारी साधनलाई उचित गर्नु पर्ने बताए । सवारी साधनको व्यवस्थापनका लागि नगर प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायत स्थानीयको प्रभावकारी समन्वय हुनुपर्ने उनले बताए ।

शैलेश्वरी यातायात प्रालिका अध्यक्ष गणेश मलासीका अनुसार बसपार्क सबैको पायक पर्ने स्थानमा नभएको र पहिले निर्माण गर्ने व्यक्तिहरूले उचित स्थानमा नबनाएका कारण सञ्चालनमा ल्याउन समस्या भइरहेको बताए ।

बसपार्क सञ्चालनमा ल्याउन संघर्ष समिति

सिलगढीमा रहेको बसपार्क सञ्चालनमा ल्याउन दबाव दिने भन्दै संघर्ष समिति गठन भएको छ । स्थानीय नविन श्रेष्ठको नेतृत्वमा गठन भएको संघर्ष समितिले बसपार्क सञ्चालनमा ल्याउन माग गर्दै नगर प्रमुख बाजीसिंह खड्का र प्रमुख जिल्ला अधिकारी कल्पना क्षेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।

सार्वजनिक यातायातका ठुला साना गाडीहरू बसपार्कबाटै छुट्नु पर्ने, बसपार्कमै पार्किङ्ग गर्नुपर्ने, बसपार्कमै टिकट काउन्टरबाट टिकट व्यवस्थापन गरि यात्रुहरू ओसारपसार गर्ने व्यवस्था गर्नु पर्ने संघर्ष समितिको माग छ । सिलगढीस्थित जिरो प्वाइन्टमा अस्थायी प्रहरी चेक पोष्ट राख्नका लागि आवश्यक पहल गर्नु पर्ने समितिको माग छ ।

समितिले आफ्ना मागहरुको वेवास्ता गरे आन्दोलनमा उत्रिने भन्दै चेतावनी समेत ज्ञापन पत्रमार्फत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?