
२८ चैत, धनगढी । नेपालमा विपद् पूर्वतयारी र जोखिम न्यूनीकरण गर्न स्थानीय नेतृत्वको तल्लो तह (वडा)सम्मै सक्रिय भएर लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
दोदा जलाधार क्षेत्रमा जलवायु र प्रकोपको जोखिमलाई सम्बोधन गर्न डिपीनेट र नीड्स नेपालले धनगढीमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्का सदस्य तथा पूर्वशिक्षामन्त्री डा. गंगालाल तुलाधरले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणको आवश्यकतामा स्थानीय नेतृत्वको तल्लो तहसम्मले प्रयास गर्नुपर्ने बताए ।
उनले राष्ट्रिय विपद् व्यवस्थापन परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई छलफल कार्यशालाका सुझावहरु प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै डिपीनेटका अध्यक्ष सूर्यबहादुर थापाले दोदा जलाधार क्षेत्रमा जलवायु र प्रकोप जोखिमको लागि एकिकृत जलाधार व्यवस्थापन कार्यक्रम अगाडी बढाउनका लागि राजनीतिक प्रतिवद्धताको संयन्त्र निर्माण गर्नुपर्ने बताए
उनले भने, ‘विपद् जोखिम न्यूनीकरणलाइ विकासका हरेक गतिविधिहरूमा समाहित गर्दै विभिन्न तहमा निर्माण गरिएको कानुन, नियमावली, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्छ ।’
यस्तै सुदूरपश्चिम प्रदेश पूव मन्त्री खड्गराज भट्टले असीमित मानवीय लोभलाई उजागर गर्दै भावी पुस्ताका लागि दोदा जलाधार संरक्षण गर्न सरोकारवालालाई आग्रह गरे ।
कार्यक्रममा सहभागीहरूले सरोकारवालाहरुको पहिचान, स्रोत नक्सांकन, र आवश्यक रणनीतिहरूमा ध्यान केन्द्रित गर्नको लागि सुझाएका थिए ।
कार्यक्रममा विभिन्न प्रदेश सभा सदस्य, नगर तथा गाउं पालिका प्रमुख, र विभिन्न क्षेत्रका सरोकारवालाहरुको सहभागिता थियो ।
प्रतिक्रिया 4