+
+
Shares

नवकेतन स्टुडियो : बिहेमा नेपाल आउँदा फुरेको कथाबाट बन्यो सुपरहिट फिल्म

त्यही समयतिर देव आनन्द नेपालको शाही परिवारको एउटा विवाहमा सहभागी हुन काठमाडौं आएका थिए । यहाँ उनले हिप्पीहरूलाई देखे।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते २१:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवकेतन प्रोडक्सन हाउसले सन् १९५० देखि २०११ सम्म ३६ फिल्महरू उत्पादन गरी बलिउडमा सबैभन्दा लामो समयसम्म चल्ने ब्यानरमध्ये एक बनेको छ।
  • नवकेतनले हिन्दी फिल्ममा शहरी नायकको सुरुवात गरेको थियो र सन् १९६५ मा रिलिज भएको 'गाईड' फिल्मलाई उत्कृष्ट मानिन्छ।
  • देव आनन्द र चेतन आनन्दले सन् १९४९ मा नवकेतन ब्यानर स्थापना गरी शहरी कथामा आधारित फिल्महरू निर्माण गर्न थालेका थिए।

बलिउडमा सन् १९३० देखि १९६० सम्म आफ्नै जग्गा किन्ने, त्यसमा भव्य स्टुडियो बनाउने र फिल्म निर्माण गर्ने चलन थियो ।

आरके स्टुडियो, राजकमल कलामन्दिर, फिल्मिस्तान त्यस्तै स्टुडियोहरू थिए । तर, त्यो समयमा एउटा फिल्म कम्पनी थियो, जसले चाहेर पनि आफ्नो स्टुडियो बनाउन सकेन ।

यद्यपि त्यसले करिब ६० वर्षसम्म फिल्महरू बनाइरह्यो । त्यो प्रोडक्सन हाउस थियो-चेतन आनन्द र देव आनन्दको ‘नवकेतन’।

हुन त चेतन र देव आनन्दले सन् १९५० को आसपास मुम्बईको गोरेगाउँमा आफ्नो स्टुडियो बनाउन जग्गा पनि किनेका थिए । तर त्यो जग्गा कानुनी विवादमा फस्न गयो । जसले गर्दा उनीहरूले जग्गा हात पारेनन् ।

त्यसको विकल्पमा उनीहरूले महबुब खानको महबुब स्टुडियोलाई आफ्नो काम चलाउन स्टुडियो बनाएका थिए । महबुब खान देव आनन्दका नजिकका साथी थिए । उनले देव आनन्द जीवित हुँदासम्म आफ्नो स्टुडियो सधैं उपलब्ध गराइरहेका थिए ।

अर्कै स्टुडियोबाटै काम गरेता पनि उनीहरू नवकेतन फिल्म्सबाटै चिनिन्थे । आज यो स्टुडियोको कथाबिना त्यस समयको हिन्दी सिनेमाको कथा पनि अधुरो जस्तै रहन्छ ।

000

नवकेतनको मुख्य विशेषता यसले हिन्दी फिल्ममा शहरी अर्थात् अर्बन नायक भएको फिल्महरूको सुरुवात गरेको थियो । त्यस समयका वी शान्ताराम, राज कपूर वा महबुब खान लगायतका स्टुडियोहरूले धनी गरिब, सामाजिक वा ग्रामीण कथाहरूमा आधारित फिल्महरू बनाइरहेका थिए ।

तर उनीहरूभन्दा फरक नवकेतनका फिल्महरूको कथावस्तु पूर्णरूपमा शहरी थियो । हरेक स्टुडियोलाई चिनाउने प्राय: कुनै न कुनै फिल्म बनेको हुन्छ । जस्तै; महबुब स्टुडियोको ‘मदर इण्डिया’, आरके स्टुडियोको ‘आवारा’ आदि ।

नवकेतनको हकमा भने सन् १९६५ मा रिलिज भएको ‘गाईड’ बन्यो । यो फिल्मलाई हिन्दी सिनेमाका उत्कृष्ट फिल्ममध्येको एक मानिन्छ ।

तर, त्यस्ता फिल्महरू सधैं बन्दैनन् । वर्षौंको मेहनतले बनाउनुपर्छ । नवकेतनले पनि सन् १९५० देखि २०११ सम्म ३६ फिल्महरू उत्पादन गर्‍यो । जसले ‍यो स्टुडियो बलिउडमा सबैभन्दा लामो समयसम्म चल्ने ब्यानरहरूमध्ये एक बन्यो ।

 

नवकेतनको सुरुवात

सन् १९४८ मा बम्बे टकिजको फिल्म ‘जिद्दी’ हिट भएको थियो । त्यसमा मुख्य भूमिकामा रहेका देव आनन्द बलिउडका उदाउँदो स्टार बनिसकेका थिए ।

यता उनका ठूला दाइ चेतन आनन्द इन्डियन पिपल्स थियेटर असोसिएसन (इप्टा)सँग जोडिएका थिए । त्यसको केही वर्षअघि मात्रै उनले आफ्नो चर्चित पहिलो फिल्म ‘नीचा नगर’ बनाएका थिए ।

उनको उक्त फिल्मले अन्तर्राष्ट्रिय स्तरमा धूम मच्चाएको थियो । किनकि कान फिल्म फेस्टिभलमा अवार्ड जित्ने यो पहिलो भारतीय फिल्म हो ।

यी दुवै दाइभाइ फिल्म क्षेत्रमा नै थिए । अनि दुवैले कुनै पनि हस्तक्षेपबिना आफ्नै तरिकाका फिल्महरू बनाउन चाहन्थे । यही सोचका साथ उनीहरूले सन् १९४९ मा आफ्नो ब्यानरको सुरुवात गरे ।

ब्यानरको नाम ‘नवकेतन’ भने चेतन आनन्दका छोरा केतनको नामबाट राखिएको थियो । नवकेतनको हरेक फिल्ममा नायक देव आनन्द नै हुने उनीहरूबीच सल्लाह थियो ।

गुरुदत्तमाथि बाजी र नवकेतनको भाग्य

नवकेतनको पहिलो प्रस्तुति थियो, ‘अफ्सर’ (१९५०) । रुसी लेखक निकोलाई गोगोलको नाटक ‘द इन्स्पेक्टर जनरल’ बाट प्रेरित भएर यो फिल्म बनाइएको थियो । फिल्ममा चेतनको वामपन्थी विचारबाट प्रभावित ‘नीचा नगर’को झिल्को पनि थियो । यो एउटा आर्ट फिल्म थियो । जुन देव आनन्दको कमर्सियल रूपको ठिक उल्टो थियो । जसले गर्दा ‘अफ्सर’ नराम्ररी फ्लप भयो।

त्यसो हुनाले देव आनन्दलाई एउटा यस्तो निर्देशकको आवश्यकता थियो, जसले नवकेतनका लागि हिट फिल्म बनाउन सकोस् । र त्यसकै खोजीमा उनका नजिकका साथी गुरुदत्त भेटिए ।

ती दिनहरूमा देव र गुरु दुवै हलिउडमा थ्रिलर फिल्मका लागि चिनिन्थे । तर, गुरुदत्तले त्यो बेलासम्म कुनै पनि फिल्महरू बनाएका थिएनन् । दुवैले आफ्नो संघर्षका दिनहरूमा एउटा बाचा गरेका थिए-भविष्यमा जो पहिले सफल हुन्छ, उसले अर्कोलाई मौका दिने ।

त्यही वाचा र नवकेतनको आवश्यकता अनुसार देव आनन्दले गुरुदत्तमाथि बाजी लगाए । संयोगले फिल्मको नाम पनि ‘बाजी’ (१९५१) नै राखियो । यो एउटा मसालेदार क्राइम थ्रिलर थियो । यसमा निर्देशक गुरुदत्तले देव आनन्दलाई एउटा बिलकुलै नयाँ शैलीमा प्रस्तुत गरेका थिए ।

‘बाजी’ सुपरहिट भयो । ‘अफ्सर’को फ्लपले डगमगाएको नवकेतन स्टुडियो त्यसपछि पूरा रफ्तारमा दौडियो । यता गुरुदत्त पनि हिन्दी सिनेमाका नयाँ जादूगर बनेर उदाए ।

नवकेतनलाई चेतनको अलविदा

चेतन आनन्दको सिनेमा फरक थियो । आफ्नै तरिका, आफ्नै सोच र आफ्नै कलामा डुबेको । तर, कमर्सियल सिनेमाको दुनियाँ निर्दयी थियो । किनकि उनको निर्देशनमा बनेको अर्को फिल्म ‘आँधिया’ (१९५२) नराम्ररी असफल भयो । र फेरि नवकेतनको अर्को फिल्म ‘हमसफर’ (१९५३) को हालत पनि त्यस्तै रह्यो ।

त्यसैकारण नवकेतन स्टुडियो र चेतन आनन्दलाई एउटा हिट फिल्मको आवश्यकता थियो । यसै समयमा नवकेतनमा उनीहरूका सबैभन्दा कान्छा भाइ विजय आनन्द उर्फ गोल्डीको प्रवेश भयो । उनले जम्मा १५ दिनमा ‘ट्याक्सी ड्राइभर’ (१९५४) को कथा लेखिदिए । त्यसमा चेतन आनन्द र उनकी पत्नी उमाले स्क्रिनप्लेमा प्राण भरे ।

यसरी ठूला दाइ निर्देशक बने, माइला दाइ हिरो र कान्छा भाइ लेखक बने । तीनै जना आनन्द भाइहरू मिलेर बनेको यो फिल्म बक्स अफिस पनि सफल बन्यो ।

‘ट्याक्सी ड्राइभर’ चेतन आनन्दका अघिल्ला फिल्महरूभन्दा फरक थियो । केही हदसम्म मेनस्ट्रिम सिनेमासँग जोडिएको थियो । तर फिल्म सुपरहिट बनेता पनि देव आनन्द र चेतन आनन्द आ-आफ्नो बाटो लाग्न थालिसकेका थिए ।

त्यो समयसम्म देव आनन्द ठूला स्टार बनिसकेका थिए । उनी आफ्नो स्टारडमअनुसार कमर्सियल फिल्महरू बनाउन चाहन्थे । अर्कोतर्फ चेतन फरक किसिमको सिनेमा बनाउन चाहन्थे ।

त्यसको ठोस परिणाम भने सन् १९५६ मा देखियो । त्यो साल उनीहरूको ब्यानरले ‘फन्टुश’ बनाएका थिए । जुन ठिकठाक रह्यो । तर यसपछि चेतन आनन्दले नवकेतनलाई अलविदा भने । र, आफ्नै प्रोडक्सन हाउस ‘हिमालय फिल्म्स’ सुरु गरे ।

गोल्डीसँग सुरु भयो नवकेतनको स्वर्णिम काल

चेतन आनन्द अलग्गिएपछि नवकेतनको बागडोर सबैभन्दा कान्छा भाइ विजय ‘गोल्डी’ आनन्दको हातमा आयो । त्यो बेला उनी जम्मा २४ वर्षका मात्र थिए । त्यही उमेरमै उनले आफ्नो निर्देशनमा ‘नौ दो ग्यारह’ (१९५७) बनाए । जुन फिल्म हिट भयो । यसले उनको निर्देशकीय क्षमता प्रमाणित गरिसकेको थियो ।

त्यसपछि नवकेतनको ब्यानरमा ‘तेरे घर के सामने’, ‘काला बजार’ आए । यी दुवै फिल्म हिट भए । भाइको निर्देशनमा बनेका ती फिल्महरूले देव आनन्दको स्टारडमलाई अझ नयाँ उचाइमा पुर्‍याइरहेको थियो ।

त्यसमा एसडी बर्मनको पनि ठूलो हात थियो । किनकि उनकै संगीतले नवकेतनको फिल्महरूमा आगो बालिरहेको थियो । संगीतकार बर्मन नवकेतनको पहिलो फिल्म ‘बाजी’ देखि नै जोडिएका थिए ।

त्यो समयसम्म आइपुग्दा नवकेतनले सधैँ नयाँ प्रतिभाहरूमाथि बाजी लगाइरहेको थियो । उदाहरणका लागि, गुरुदत्तका सहायक रहेका राज खोसलालाई ‘काला पानी’ निर्देशित गर्ने मौका दिइएको थियो । जुन हिट भएको थियो ।
तर, नवकेतनलाई सबैभन्दा बढी चिनाएको ‘गाईड’ले हो ।

यो फिल्मको सुरुवात ‘हम दोनौं’ (१९६१) फिल्मको सफलतासँग जोडिन्छ । ‘हम दोनौं’ बर्लिन फिल्म फेस्टिभलमा पुगेको थियो । त्यहाँ देव र गोल्डीको नोबेल पुरस्कार विजेता पर्ल एस बकसँग भेट गरेका थिए । उनी निर्णायक मण्डलमा थिइन् । र, ‘हम दोनौं’ देखेर प्रभावित भएकी थिइन् ।

कुराकानीका क्रममा उनले देव र गोल्डीलाई आरके नारायणको ‘गाईड’ पढेको र त्यसलाई फिल्म बनाउनु पर्ने बताइन् । जुन सुझाव देव आनन्दलाई मनपर्‍यो । अनि भारत फर्केपछि उनले आरके नारायणबाट ‘गाईड’ को अधिकार किने । त्यसमै आधारित भएर पर्ल एस बकले स्क्रिप्ट लेखेकी थिइन् । तर त्यो पढेपछि देव आनन्दलाई मन परेन ।

त्यसपछि हिन्दी ‘गाईड’लाई फेरि गोल्डीले लेखे । र त्यही आधारमा बनेको ‘गाईड’ गोल्डीको सबैभन्दा यादगार फिल्म बन्यो ।


फिल्मले हिन्दी सिनेमाको बन्धनहरू तोड्यो । फिल्ममा एउटा विवाहित महिलाको प्रेम कथा देखाइएको छ । उनले आफ्नो आफ्नो पतिलाई छोडेर कोहीसँगग ‘लिभ-इन’ मा बस्नु पर्ने हुन्छ ।

नायक-नायिका यस्तो नै हुनुपर्छ भन्ने संरचना भएको समयमा ‘गाईड’ले अर्कै दृष्टिकोणबाट कथा भनेको थियो । त्यसले गर्दा नै यो पहिलो हिन्दी फिल्म बन्यो, जसले चारवटै मुख्य फिल्मफेयर अवार्ड जित्यो । उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशक र उत्कृष्ट फिल्म । यो नवकेतनको उत्कर्ष थियो ।

हरेक उचाइपछि एउटा मोड आउँछ । फेरि, नवकेतनमा दरार आउन थाल्यो । गोल्डी र देव आनन्दबीचको दूरी बढ्न थाल्यो । गोल्डी अब अभिनेता पनि बन्न चाहन्थे । यता देव आनन्द निर्देशनमा हात हाल्न चाहन्थे ।

समस्या यो थियो कि गोल्डी त्यति राम्रो अभिनेता थिएनन् । र, देव त्यति उत्कृष्ट निर्देशक थिएनन् । उनीहरूको त्यही चाहले दुई भाइबीच एउटा नभनिएको रेखा कोरियो ।

तैपनि ‘गाईड’को दुई वर्षपछि दुवैले मिलेर ‘जुअल थिफ’ (१९६७) बनाए । यो फिल्म पनि हिट भयो । यो नवकेतनका लागि देव-गोल्डीको अन्तिम फिल्म बन्यो ।

यो फिल्मपछि देव आनन्दले आफ्नो निर्देशनमा पहिलो फिल्म ‘प्रेम पुजारी’ बनाए । फिल्ममा भएका एसडी बर्मनका गीतहरू सुपरहिट थिए । तर फिल्म नराम्ररी फ्लप भयो ।

आशा गोल्डीकै थियो । जसले गर्दा उनले ‘तेरे मेरे सपने’ (१९७१) निर्देशन गरे । तर यो फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेन त्यसपछि त गोल्डीले नवकेतन छोडे । अब सबै जिम्मेवारी देव आनन्दको काँधमा थियो ।

नवकेतनको पुनर्जागरण-‘हरे राम हरे कृष्णा’

त्यही समयतिर देव आनन्द नेपालको शाही परिवारको एउटा विवाहमा सहभागी हुन काठमाडौं आएका थिए । यहाँ उनले हिप्पीहरूलाई देखे । र उनीहरूको जीवनशैलीबाट अत्यन्तै प्रभावित भए ।

त्यसले उनलाई फिल्मको एउटा विचार दियो । अनि भारत फर्कनेबित्तिकै उनले नयाँ स्क्रिप्टमा काम थाले । त्यो ‘हरे राम हरे कृष्णा’ (१९७१) को स्क्रिप्ट थियो ।

फिल्ममा युवाहरूलाई हिप्पी बन्दै, ड्रग्स र सेक्सको वातावरणमा डुबेको देखाइएको थियो । यस्तो विषय हिन्दी सिनेमामा पहिले कहिल्यै पनि आएको थिएन ।

फिल्म सुपरहिट भयो । यसले देव आनन्दलाई सफल निर्देशक पनि बनायो । नवकेतनको पुनर्जागरण पनि भयो । स्टुडियोको पहिचान पनि बन्यो ।

दुःखको कुरा, उनको निर्देशनमा यो मात्र एक सफल फिल्म रह्यो ।सन् २०११ सम्म उनले नवकेतनका लागि एकपछि अर्को दर्जनौं फिल्महरू त निर्देशित गरे, तर उनले बदलिँदो समयसँग ताल मिलाउन सकेनन् ।

‘हीरा पन्ना’, ‘जानेमन’, ‘देश परदेस’, ‘लूटमार’, ‘अब्बल नम्बर’ जस्ता फिल्महरूको गीत त हिट बने । तर, फिल्महरू सुपर फ्लप भए ।

यता नवकेतनबाट निस्केपछि गोल्डी आनन्दले पनि ‘ब्ल्याकमेल’, ‘राम बलराम’ र ‘राजपूत’ जस्ता ठूला बजेटका फिल्महरू निर्देशिन गरे । तर, उनले पनि नवकेतनमा जस्तो सफलता दोहोर्‍याउन सकेनन् । एक अभिनेताको रूपमा पनि उनले आफ्नो कुनै ठाउँ बनाउन सकेनन् ।

000

यिनका बाबजुद, नवकेतनले आफ्नो स्वर्णिम दिनहरूमा हिन्दी सिनेमालाई जुन धरोहर दियो, त्यो आउँदोपुस्तामा सधैँ स्मरणयोग्य हुने छ । नवकेतनका यादगार फिल्महरू, नयाँ प्रतिभाहरूलाई दिइएका अवसरहरू र बेजोड संगीतको छाप सिनेमामा सधैँ रहनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?