News Summary
Generated by OK AI. Editorially reviewed.- २०७२ को संविधानपछि समृद्ध नेपालको सपना बोकेका नागरिक दशक लामो संघीय लोकतान्त्रिक अभ्यास भ्रष्टाचार र कुशासनमा फसेर थकित भइसकेका थिए।
- जेनजी पुस्ताले जात र वर्गको मिथक तोड्दै नागरिक सर्वोच्चताको नयाँ संस्कारमा आधारित नयाँ नेपालको निर्माण गर्ने जिम्मेवारी लिएको छ।
- समानता अभ्यासका पाँच सूत्र अपनाएर फरक पृष्ठभूमिका मानिससँग सम्बन्ध विस्तार गरी समावेशी, साहसी र समानतामा आधारित जीवनशैली विकास गर्न सकिन्छ।
२०७२ को संविधानपछि समृद्ध नेपालको सपना बोकेका नागरिक हिजोसम्म निराश थिए– दशक लामो संघीय लोकतान्त्रिक अभ्यास भ्रष्टाचार, अनियमितता र कुशासनको दलदलमा फसेर जनता थकित भइसकेका थिए । यही असन्तुष्टि जेनजी क्रान्तिको रूपमा विस्फोट भयो, ओली सरकारको अहंकारी सत्ता ढाल्यो र आम नेपालीमा नयाँ नेपालको आशा जगायो ।
सन् २०४० को नेपाल कस्तो होस् अब सोचौं— मैले यहाँबाट हेर्दा, त्यो नेपालमा युवाका हातमा खेतको माटो, कोडिङ स्क्रिन र गिटारका तार एकसाथ नाचिरहेका छन्; किसानका छोराछोरीले प्रविधिबाट उत्पादन बढाइरहेका; कलाकारले आडम्बरी पहिचानका भित्ताहरू भत्काउँदै सह–अस्तित्व र भाइचाराको संस्कार फैलाइरहेका छन् । कस्तो सुन्दर चित्र, हैन र ?
तर अहिले (सन् २०२५ मा) हाम्रो समाज त्यस्तो छैन । राजनीतिक परिवर्तन धेरै भए पनि सामाजिक चेतना उस्तै छ । ‘सबैका लागि समान अवसर’ अझै सपना मात्र बनेको छ । विद्यालयका खाजाघरदेखि वैवाहिक छनोटसम्म, जात र वर्गका अहंकार अझै बाँचिरहेका छन् । थिचिएका जाति र वर्गका पीडाहरू अझै पनि मौन आक्रोश बनेर उनीहरूका नसाभित्र रगतमा बगिरहेका छन् ।
अब आँखा खोलौं— हाम्रो असंवेदनशील व्यवहारले नागरिक समानता, सदाचार र राष्ट्रिय एकतालाई कमजोर बनाइरहेको छ । सामन्ती सोचको अन्त्य गरेर नागरिक सर्वोच्चताको नयाँ संस्कार शुरु गर्ने अवसर अहिले छ ।
हामी अहिले नयाँ नेपालको शून्य समयमा छौं— जहाँ प्रत्येक नेपालीले पूर्वाग्रह, जातीय र वर्गीय दम्भ त्यागी प्रेम, करुणा र समानताको संस्कारमा आधारित बलियो, अखण्ड र समृद्ध नेपाल विकासको जिम्मेवारी लिनुपर्छ । यही हो वास्तविक जेन–जी क्रान्तिको लक्ष्य-सबैलाई स्वीकार्य भावी नेपाल निर्माण गर्ने ।
भोलिको नेपाल अहिलेका क्याफ्टेरिया, टिकटक फिड र बिजनेस स्टार्टअप हबहरूमै जन्मिंदैछ । तर हाम्रोसामु तत्काल ठडिएको अहम् प्रश्न चैं के हो भने— के त्यो नेपाल अझै पुरानो जात र वर्गको मिथक टुक्राहरूमा बाँडिनेछ, वा मानव सहअस्तित्वको साझा भावनाले एक हुनेछ ? म आशावादी छु र विश्वास पनि गर्छु कि जेन–जी पुस्ता आफ्नै हातले नयाँ नेपालको नैतिक डीएनए पुनर्लेखन गर्न सक्ने एक सक्षम, निष्पक्ष र निडर पहिलो पुस्ता हो।
भविष्यको लागि सर्वस्वीकार्य नेपाली समाजको निर्माण गर्न नागरिक सर्वोच्चता नै राष्ट्रको आधार र धरातल रहने स्पष्ट धारणा बोकेको नयाँ नेपालको राष्ट्र संहिता पुनर्लेखन गर्नुपर्ने टड्कारो आवश्यकता छ । त्यसलाई मूर्त आकार, प्राण र दैनिक अभ्यासमा रूपान्तरण हुने जीवन्त व्यवहार दिने दायित्व र जिम्मेवारी निर्वाह गर्ने महत्वपूर्ण भूमिका वर्तमान समयमा जेनजी पुस्ताको पोल्टामा छ ।
समयको संवेदनशीलता, ऐतिहासिक दायित्व र कर्तव्यनिष्ठ भूमिकाको सँघारमा उभिएको जेनजी पुस्तालाई ठाडो प्रश्न यो छ कि– के जेनजी पुस्ताले जात र वर्गको मिथकरहित नागरिक सर्वोच्चताको अनुभूति हुने नयाँ नेपाल निर्माणको नेतृत्व गर्न सक्ला ?
विभाजनको पुरानो सफ्टवेयर
आज जात र वर्गका कुरा ठूला स्वरमा हुँदैनन्-ती अब हाम्रा बानी, हाँसो, रोजाइ र रोजगारका सञ्जालहरूमा फुसफुसाइन्छन् । यो विज्ञान र प्रविधिको उत्कृष्ट कालखण्डमा बाँचिरहेका हामी नेपालीको जीवनमा चलिरहेको जात र वर्गको अभ्यास आउटडेटेड पुरानो सफ्टवेयर हो । जुन नयाँ यन्त्र (हाम्रो उन्नत मस्तिष्क) भित्र नचाहिंदो रूपमा चलिरहेको छ । जसले हाम्रो सोच र ऊर्जालाई संक्रमित गरिरहेको छ ।
यी जात र वर्गका विभाजनहरू कुनै दिव्य सत्य होइनन् यी समाजमा शक्ति र सत्ता हत्याउन अमूक जाति र वर्गमा आफूलाई छुट्याएका बाठा मानिसहरूले नै बनाएका निश्चित सम्प्रदायको हितमा समर्पित षड्यन्त्रकारी सामाजिक–आर्थिक संरचनाहरू हुन्-श्रम, विवाह र अवसर नियन्त्रण गर्न प्रयोग गरिने घातक अस्त्र तथा हत्कण्डाहरू।
तर यो साक्षात् ज्ञानको अभावमा जब देशले आफ्ना छोराछोरी (नागरिक) हरूलाई वर्ग र जातको कित्तामा बाँड्छ, तब त्यो देश एकसाथ न माथि उठ्न सक्छ न समृद्धिको उचाइ छुन सक्छ । यो जात र वर्गको मिथक हाम्रो सामूहिक र साझा अस्तित्वको सम्भावनालाई बन्द गर्ने ताल्चा हो । यो ताल्चा तोड्न नसकिएसम्म समानता, सुशासन, न्यायिक र समृद्ध नेपालको सुन्दर सपना साकार हुँदैन ।
विश्व सन्दर्भ र समानता
सामाजिक समूह र साम्प्रदायिक वर्गीकरण यो केवल नेपालको मात्र संघर्ष होइन । अमेरिकामा रङका कारण विभाजन छ, साउथ एशियामा जात र वर्णको कारण, युरोपमा वर्ग र सम्पत्तिका कारण र अन्य महाद्वीप र उपद्वीपहरूमा आदि आदि कारणहरू छन् ।
विश्वका हरेक समाजमा सामन्तीहरूले आफ्नो श्रीवृद्धिका लागि चढ्ने असमानता तथा विभेदका अदृश्य भर्याङहरू छन्— फरक यति मात्र हो कि, ती भर्याङ भाँच्ने–भत्काउने साहस कुन समाजमा कसले गर्छ ! जेनजीका युवाहरूले बुझ्नुपर्छ-यो एक विश्वभरिकै विद्यमान समाजहरूको चुनौती हो, जसमा हामी पनि भागीदार छौं।
जेनजी लगायत तमाम युवा पुस्ता जलवायु न्याय, समानता र सम्मानका लागि लडिरहेको साझा विश्व आन्दोलनको अंग हो । अब हामी नेपालभित्रका जात, वर्ग, धर्म र साम्प्रदायिक पूर्वाग्रहहरू तोड्दैछौं, त्यसैले हाल हामी विश्वव्यापी मानवताको नयाँ कोड लेख्दैछौं ।
नयाँ सामाजिक डीएनएका कोडर
जेनजी नेपालको वर्तमान राजनीतिमा नयाँ मोड ल्याउने पुस्ता मात्र नभएर नेपालको समन्यायिक समाज व्यवस्थापनको लागि समाज परिवर्तनको नयाँ डीएनए कोड लेख्ने अवसर प्राप्त योग्य पुस्ता पनि हो । यो अवसरलाई जेन–जीले सदुपयोग गरे यो पुस्तालाई नयाँ सामाजिक सफ्टवेयरको महान डिजाइनरको उपाधि जित्नबाट कसैले रोक्न सक्तैन।
जेनजी पुस्ताले पहिल्यै ट्रेन्ड बदलिन योगदान गरिरहेको छ— फेसनमा विविधता, टेक्नोलोजीमा समावेशिता, भाषामा स्वतन्त्रता र आन्दोलनमा निर्भीकता ल्याएर । अब यही साहस जात र वर्गका ढुसीले मक्किएका मान्यता र अभ्यासका सामाजिक, सांस्कृतिक पर्खालहरू भत्काउन प्रयोग गर्नुपर्ने बेला हो यो ।
जेनजीहरू केवल भविष्यका प्रयोगकर्ता मात्र होइनौ-त्यसका प्रोग्रामर पनि हौ । समानता कुनै सहअस्तित्वको उत्तराधिकार मात्र होइन, यो एउटा अभ्यास गर्ने सीप पनि हो। स्वच्छ र स्वस्थ संस्कृति तब विकसित हुन्छ, जब युवा पुस्ताले रुढीग्रस्त पुरानो ढर्रा र स्क्रिप्ट नक्कल गर्न बन्द गर्छ (चाहे त्यो जुनसुकै धर्मसंस्कार, परम्परा, रीतिस्थिति, मूल्यमान्यता किन नहोस्; यदि त्यसले मानव प्रजाति बीच कुनै पनि प्रकृतिको घृणा र विभेद पाल्ने र मलजल गर्ने काम गर्छ भने त्यसलाई समाप्त गर्नुपर्छ)।
साझा समाज र समान पहिचान
नेपाल राष्ट्रको सर्वोच्च शक्तिको केन्द्रमा नागरिक नै हुनुपर्छ । राज्यका स्रोत, सेवा र अवसरको वितरण नागरिक सर्वोच्चताको आधारमा हुनुपर्छ । वर्ग, जात, धर्म वा थरका आधारमा विभाजन नगरी एक नागरिक बराबर एक भोटको समान मूल्य स्थापित गर्नुपर्छ।
राज्यका नजरमा ज्ञानेन्द्र शाह होस् वा आचार्य, राई, लिम्बू, तामाङ, परियार, यादव, झा वा डोम— सबैको नागरिक हैसियत समान हुनुपर्छ । जात, धर्म वा वर्गका नाममा असमानता र सहअस्तित्वमा खलल पुर्याउने सबै क्षेत्रका मान्यताहरू खारेज गर्नुपर्छ, र नागरिक सर्वोच्चताको उल्लंघन गर्नेहरूलाई कडा कानूनी कारबाही गर्नुपर्छ।
समानताको अभ्यास साना कदमबाट शुरु गर्न सकिन्छ— जस्तै, विद्यार्थीले विविध पृष्ठभूमिका नागरिकलाई समेटेर समावेशी कार्यक्रम आयोजना गर्न सक्छन् । उद्यमीले सबैलाई रोजगारीको समान अवसर दिन सक्छन्। कन्टेन्ट क्रिएटरले हास्य मार्फत जातीय पूर्वाग्रहमाथि प्रहार गर्न सक्छन् । यी साना तर सार्थक पहलहरू नै नयाँ नेपालका नयाँ कोडहरू व्यवहारमा रूपान्तरण गर्ने बाटो हुन्।
नयाँ नेपालको सांस्कृतिक शुद्धीकरण
कल्पना गरौं-एउटा नेपाल जहाँ जात र थरको अर्थ छैन, अवसर केवल प्रतिभाको पछि लाग्छ र नेतृत्व सहानुभूतिले मापन हुन्छ । त्यो समाजमा मानव अस्तित्वको समानता कुनै आदर्श होइन, जीवनशैली हुन्छ ।
मानव जीवनको मूल्य र मर्यादामा समानता नै नवप्रवर्तन, शान्ति र समृद्धिको इन्धन हो । हामी सभ्य र शिष्ट संस्कृति त्याग्न खोजिरहेका छैनौं— हामी त्यसलाई कलंकित गर्ने कुरीतिको अन्त्य गरी मानवीय सहअस्तित्व र सद्भावले सुसज्जित गुणहरू करुणा राख्दै, श्रेणी त्याग्दै संस्कार र संस्कृतिलाई स्वच्छ बनाउन खोज्दैछौं ।
सबैलाई स्वीकार्य भावी समाज निर्माणको आवश्यकता टड्कारो छ, त्यस समाजलाई समन्यायिक समाज बनाउने योजनामा अनिवार्य राख्नुपर्ने र सम्झौता गर्न नसकिने निम्न तीन वटा अनुपालनहरू प्रस्ताव गर्न चाहन्छु।
१. सामाजिक हैसियत भन्दा नागरिक हैसियत, २. विभाजन भन्दा विविधता, ३. प्रतिस्पर्धा भन्दा सहकार्य र साझेदारीलाई प्राथमिकता दिनुपर्नेछ । यही सोचको व्यावहारिक अभ्यास नै समान मानव अस्तित्व, लोकतन्त्र र दिगो विकासको आत्मा हो।
समानताको अभ्यासका पाँच सूत्र
समानताको बाटो शिक्षा, दीक्षा वा ज्ञान होइन, त्यो हामी सबैमा छ । तर त्यो शिक्षाबाट आर्जेको ज्ञानलाई व्यवहारमा लागू गर्ने बानी बसाल्नु चैं समानताको बाटोमा हिंड्नु हो । समानताको बानी बसाल्न यी निम्न पाँच अभ्यासहरू अपनाऔं ।
१. घर र विद्यालयमा सिकेका पुराना धारणाहरूलाई प्रश्न गरौं।
२. फरक पृष्ठभूमिका साथीहरूसँग सम्बन्ध विस्तार गरौं भोजन, कथा र अनुभवहरू साटासाट गरौं।
३. अनलाइन वा अफलाइन— पूर्वाग्रह देख्दा सहानुभूतिपूर्वक बोलौं।
४. कला, मिडिया वा स्थानीय परियोजनाबाट समावेशी सन्देश दिऊँ।
५. समानता र नागरिक जिम्मेवारीलाई जोड दिऊँ । यी अभ्यासहरू नियमित गरेमा चेतनशील, समावेशी, साहसी र समानतामा आधारित जीवनशैली विकास हुन्छ ।
जसलाई इतिहासले सम्झनेछ…
इतिहासले कहिल्यै पनि अन्यायका मौन दर्शकहरूलाई सम्झिंदैन; यसले पुनर्लेखन गर्ने साहसी पुस्तालाई सम्झन्छ । हामी त्यो अवसर प्राप्त पुस्ता हौं— शताब्दीयौंदेखिका सुधारकहरूले शुरु गरेको यात्रालाई पूरा गर्ने।
भोलिको नेपाल हाम्रो साहस र करुणाको कथा हुनेछ । जब १५ वर्षपछि विश्वले नेपाल हेर्नेछ, म आशा गर्छु उनीहरूले भन्नेछन्— “जेनजी त्यो पुस्ता थियो जसले मिथकलाई मानवतामा रूपान्तरण गर्यो।”
(लेखक सामाजिक विकासकर्मी हुन् ।)
प्रतिक्रिया 4