+
+
Shares

स्टार्टअपमा झुम्दै युवा

नेपालमा युवाहरूको स्टार्टअप संस्कृति तीव्र गतिमा फुल्दैछ । नयाँ आइडिया, जोश र ऊर्जाले भरिएका युवाहरू आफ्नै व्यवसाय सुरु गर्न उत्साहित छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ साउन १२ गते २१:५९
एआई निर्मित प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा शार्क ट्यांक कार्यक्रमले उद्यमशिलताको जग भुइँतहमा गाड्न सफल भएको छ र युवा पुस्तामा स्टार्टअप कल्चर फस्टाइरहेको छ।
  • विराटनगरका कुनाल साह र विवेक न्यौपानेले आफ्ना स्टार्टअपमार्फत स्थानीय उत्पादन र जनशक्ति व्यवस्थापनमा नयाँ पहिचान बनाएका छन्।
  • सरकारले स्टार्टअपका लागि बजेट छुट्याए पनि कार्यान्वयनमा उपेक्षा भइरहेको छ र प्रारम्भिक चरणमा अनुदान र मेन्टरसिपको अभाव छ।

१२ साउन, काठमाडौं । पछिल्लो समय नेपाली ‘शार्क’ ले सामाजिक सञ्जालमा ‘एकछत्र राज’ गरिरहेका छन् । उनीहरूका कुरा आम जनसम्म सुनिन थालेका छन् ।

यसअघि यदाकदा उपस्थिति जनाए पनि आम जनमानसमा खासै चर्चा हुने गरेका थिएनन् । तिनै व्यवसायीले अहिले भुइँ तहसम्मै प्रभाव पारेका प्रशस्त उदाहरण सञ्जालमा छरपस्ट छन् ।

‘ठाउँको ठाउँ चेक काटेर दिने रहेछ नि ! त्यो पनि लाख-करोड,’ पहिलोपटक शार्क ट्यांक हेरेका नेपाली दर्शकका यस्ता प्रतिक्रियाले पनि यसको प्रभाव देखाउँछ । त्यसैले होला यसले उद्यमशिलताको जग भुइँतहमा गाड्न सफल हुने आकलन गरिएको छ ।

यद्यपि, यसमा ‘थिरथिर’ गर्दै आफ्नो खुट्टामा उभिन थालिसकेका व्यवसाय देख्न पाइन्छ । ‘रअ आइडिया’ भन्दा पनि केही व्यावहारिक प्रयोग गरिसकेका आइडिया नै यो स्टेजमा देखिन्छन् । जे-जस्तो भए पनि यसले आमयुवालाई आशावादी बनाएको छ ।

युवा आईटी उद्यमी विवेक कोइराला लेख्छन्, ‘जब म विद्यार्थी थिएँ, शार्क ट्यांक अमेरिका र अष्ट्रेलियाबाट निकै प्रभावित थिएँ । यो कार्यक्रममा उद्यमीहरू आफ्नो व्यापारमा लगानी उठाउन एञ्जल लगानीकर्ता (शार्कहरू) समक्ष आउँछन् । शार्कले उनीहरूको व्यापार राम्रोसँग बुझ्न प्रश्न गर्छन्, आलोचना गर्छन्, सुझाव दिन्छन्, र आफैँ लगानी गर्ने कि नगर्ने निर्णय गर्छन् । यो मेरो लागि निकै प्रेरणादायक थियो, किनकि मैले यसबाट व्यापार, लगानी, लेखा, रणनीति सिक्ने अवसर पाउनुको साथसाथै भविष्यमा आफ्नै स्टार्टअप सुरु गर्ने सपना देख्न थालेँ ।’

चिया गफमा होस् या अन्यत्र, युवा पुस्ता यसबारे चर्चा गरिरहेका भेटिन्छन् । यसरी पछिल्लो समय नयाँ पुस्ता ‘स्टार्टअप’ कल्चरमा मस्त झुमेका छन् । जस्तो, विराटनगरका कुनाल साह पढाइसँगै स्टार्टअप गर्दैछन् । १८ वर्षकै उमेरमा सुरु भएको स्टार्टअपप्रतिको लगावलाई उनले छोडेका छैनन् । बरु क्रमश: झन्‌झन् राम्रो हुँदैछ ।

कुनाल साह ।

पढाइको हिसाबमा पनि साह सुरुमा स्नातक तहमा बीसीए (कम्प्युटर एप्लिकेसन) पढ्न भर्ना भएका थिए । तर उक्त विषय पढ्दै व्यवसाय गर्न सोचेजस्तो सहज भएन । दोस्रो सेमेस्टरमा पुगेर ड्रपआउट भए । बीबीएस, उनको नयाँ शैक्षिक यात्राको सारथि बन्यो । बीबीएस पढ्दा वार्षिक रूपमा परीक्षा हुन्थ्यो । त्यसैले उनले स्टार्टअपलाई मज्जाले समय दिन भ्याए । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा काठमाडौंदेखि परीक्षा दिन पुग्छन् । परिवारको पनि राम्रो साथ रहेको छ । स्टार्टअप गर्दै पढ्ने कुरालाई सबैले साथ-सहयोग नै गरिरहेको उनको अनुभव छ ।

साह ‘साथी एडटेक प्राइभेट लिमिटेड’ अन्तर्गतको ‘इन्टर्न साथी’ र ‘ट्यालेन्ट साथी’ कम्पनी सञ्चालन गर्छन् । यी कम्पनीले जनशक्ति व्यवस्थापनमा सघाउँछ । जागिर खोज्ने र दिनेबीचको सेतु बनेको यही कम्पनीको सीईओ हुन्, साह ।

‘जति ठूलो भए पनि कम्पनीहरूलाई मान्छे हायर गर्नै गाह्रो हुने रहेछ । सुरुमा प्लाटफर्मको लागि इन्टर्न साथी ल्यायौँ । तर विस्तारै सर्भिस पनि दिनुपर्छ भन्ने लागेपछि ट्यालेन्ट साथी ल्यायौँ । अहिले हामीले कम्पनीहरूमा जनशक्ति प्लेसमेन्ट गर्ने सेवा दिन्छौँ,’ साहले भने, ‘हाम्रो मुख्य टार्गेट चाहिँ प्रविधि (आईटी) अनि मध्यमस्तरका कम्पनी नै हो ।’

२६ वर्षीय विवेक न्यौपानेले पनि आफ्नो स्टार्टअप ‘एग्री रुट्स’ मार्फत नेपालको स्थानीय खानालाई ब्रान्डिङ गरेर विश्व बजारमा पुर्‍याउने सपना बोकेका छन् । तीन महिनाअघि मात्र सुरु भएको यो स्टार्टअपले नेपालको परम्परागत खानालाई आधुनिक बजारमा ल्याएर नयाँ पहिचान दिन थालेको छ ।

पहिलोपटक शार्क ट्यांक हेरेका नेपाली दर्शकका प्रतिक्रियाले पनि यसको प्रभाव देखाउँछ । त्यसैले, शार्क ट्यांकले उद्यमशिलताको जग भुइँतहमा गाड्न सफल हुने आकलन गरिएको छ ।

विवेकको स्टार्टअप ‘एग्री रुट्स’को पहिलो उत्पादन हो- ठेकुवा । मिथिलाको परम्परागत मिठाइ, जुन छठ पर्वमा विशेष रूपमा खाइन्छ, यो ब्रान्डको रूपमा स्थापित थिएन । ‘हामीले बजारमा एउटा ‘ग्याप’ देख्यौँ,’ उनले भने, ‘ठेकुवाजस्तो स्वादिलो र सांस्कृतिक महत्व बोकेको खाना सबैले चिन्नुपर्छ । हाम्रै सुदूरपश्चिमदेखि विश्व बजारसम्म ।’

विवेकका अनुसार उनले यो परम्परागत मिठाइलाई सुरुवातमा दुई स्वादमा ल्याए- ओरिजिनल र चिनीरहित (सुगर-फ्री) । यसबाहेक, ‘एग्री रुट्स’ले मल्टिग्रेन सातु, चना सातुलगायतका लोकल खानेकुरा पनि बजारमा ल्याएको छ । यी उत्पादनहरूले स्थानीय कच्चा पदार्थ र परम्परागत स्वादलाई प्राथमिकता दिँदै स्वस्थ र अर्गानिक खानालाई प्रवर्द्धन गर्ने उनको विश्वास छ ।

‘फुड टेक्नोलोजी’ पढेका विवेकको अनुभवले पनि यसले सफल सुरुवात थालिसकेको छ । स्नातक सकेपछि ‘हाइलाइफ फुड्स’ मा इन्टर्नका रूपमा काम सुरु गरे, जहाँ क्वालिटी एस्युरेन्स अफिसरको रूपमा बढुवा गरियो । त्यसपछि उनले सास्ना बिस्कुट र पहाडी फुड्सजस्ता कम्पनीहरूमा काम गरे । सेल्स, मार्केटिङ, ब्रान्डिङ, आपूर्ति श्रृंखला (सप्लाई चेन) र उत्पादन व्यवस्थापनको अनुभव हासिल गरे । यिनै अनुभवले आफ्नो स्टार्टअप हुर्काउन र टिकाउन सकिने विश्वास उनको छ ।

‘म मात्र हैन, पछिल्लो समय युवाहरू यहीँ स्टार्टअप गरौँ, उद्यमशिलतामा भिजौँ भन्ने धेरै छन् । घरका सबै विदेश जाँदा म पनि यहाँ टिकेर केही गर्नुपर्छ भनिरहेको छु । हामी युवामा एकखाले स्टार्टअप कल्चरको विकास हुँदै गएको छ,’ विवेकले भने ।

यसबाहेक पठाओ नेपाल, दराज, आईएमई खल्ती, ईसेवालगायतका स्थापित स्टार्टअपहरूले पनि नयाँ पुस्तालाई यसप्रति आकर्षण थप्न मद्धत पुगेको देखिन्छ । स्टार्टअप गर्ने अधिकांशले अगाडिका सफल स्टार्टअपबाट प्रभावित भएर आफूले नयाँ आइडियालाई व्यवसायीकरण गर्न थाल्ने गरेको प्रशस्त उदाहरण भेटिन्छन् । अधिकांश उद्यमीले यस्ता अनुभव सुनाइरहेकै हुन्छन् । यी सबै कारण नेपालमा पनि युवा पुस्तामा ‘स्टार्टअप कल्चर’ फस्टाइरहेको जानकारहरूको तर्क छ ।

विवेक न्यौपाने ।

हट्दैछ असफलताको डर

आईटी कम्पनी ‘कोड हिमालय’ का सीईओ स्मरण दुवाडी पछिल्लो समय असफलताको डर हट्दै गएका कारण पनि नेपालका युवाहरूमा उद्यमशिलताको लहर चलेको बताउँछन् । उनका अनुसार जागिर खोज्ने परम्परागत बाटो छोडेर आजका युवाहरू आफैँ केही सिर्जना गर्ने र जागिर दिने सपना बोकेर अगाडि बढिरहेका छन् ।

‘अहिलेका युवाहरूमा जागिर खाने भन्दा जागिर दिने सोच बढ्दैछ । ‘केही गर्छु’ भन्ने आत्मविश्वास र जोश छ,’ उनले भने ।

दुवाडीका अनुसार अघिल्लो पुस्तामा स्टार्टअप भन्ने बित्तिकै ‘डर’ हुन्थ्यो । असफल हुने छुट नहुँदा झन् सहजै हात हाल्न सकिँदैनथ्यो । तर अहिले २१-२२ वर्षका युवाहरूमा पनि आत्मविश्वास भेट्छन्, उनी । सानैदेखि व्यावसायिक कुरा बुझ्ने, चासो राख्ने र नयाँ कुरा सिर्जना गर्न उत्साहित देखिन्छन्, पछिल्लो पुस्ता ।

हुन पनि ‘इन्भेस्टोपेडिया’ नामक एक पोर्टलले सन् २०२२ मा प्रकाशित गरेको एक रिपोर्टमा भनिएको छ- पैसाको अभाव, गलत बजारमा हुनु, अनुसन्धानको अभाव, खराब साझेदारी, प्रभावकारी मार्केटिङ, उद्योगमा विज्ञ नहुनुजस्ता कारण अधिकांश स्टार्टअप असफल हुने गरेका छन् । अमेरिकामै हेर्दा महिनामै धेरै स्टार्टअप जन्मन्छन्, तर बन्द हुने दर त्योभन्दा उच्च देखिन्छ ।

स्टार्टअपमा झुम्दै गर्दा यसको सम्भावित असफलताबारे पनि नयाँ पुस्ता सचेत देखिएका छन् ।

‘धेरै साना व्यवसायहरू हरेक महिना सुरु हुन्छ तर असफलता दर उच्च छ । तथ्यांकअनुसार, २० प्रतिशत पहिलो वर्षमा, ५० प्रतिशत पाँच वर्षभित्र र ६५ प्रतिशत स्टार्टअप १० वर्षभित्र असफल हुने गरेको देखिन्छ,’ रिपोर्टमा उल्लेख छ । यस्ता सबै कुरा रिसर्च गरेका र जानेकाले पनि युवाहरूले स्टार्टअपको प्रकृति बुझेको र सोहीअनुसार मानसिकता बनाएर आउने गरेको दुवाडीले बताए ।

अर्कोतर्फ, पछिल्लो समय स्टार्टअप कल्चर फस्टाउनुमा कलेजहरूको पनि हात रहेको दुवाडी सम्झन्छन् । त्यसका साथै विभिन्न संस्था, रियालिटी शोहरूले युवालाई स्टार्टअपको लागि मेन्टर, फन्डिङ र इकोसिस्टम बनाइरहेका छन् । ‘हामीले अस्ति भर्खर टेकस्पायर कलेजका तीनवटा समूहलाई फन्डिङ दिएर कम्पनी सुरु गर्न सहयोग गरेका छौँ । यो ट्रेन्ड फस्टाउँदो छ,’ उनले सुनाए ।

स्टार्टअपमा झुम्दै गर्दा यसको सम्भावित असफलताबारे पनि नयाँ पुस्ता सचेत रहेको आफूले पाएको दुवाडीको भनाइ छ । नास आईटी (नेपाल एसोसियसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज्) का सदस्यसमेत रहेका उनी भन्छन्, ‘नयाँ पुस्तालाई थाहा छ कि, ९६ प्रतिशत स्टार्टअप असफल हुन्छन् । त्यसैले असफलतालाई स्वभाविक ठान्छन् । र, ‘हारे पनि फेरि उठ्छु’ भन्दै नयाँ प्रयोग गरिरहेको देखिन्छ ।’ युवा जनसंख्या धेरै रहेकोले पनि यो अवसरलाई सदुपयोग गर्नसके अत्यधिक फाइदा लिनसकिने उनको तर्क छ ।

जोश छ, साथ छैन

नेपालमा युवाहरूको स्टार्टअप संस्कृति तीव्र गतिमा फुल्दैछ । नयाँ आइडिया, जोश र ऊर्जाले भरिएका युवाहरू आफ्नै व्यवसाय सुरु गर्न उत्साहित छन् । तर यो लहरलाई टिकाउन र माथि लैजान प्रारम्भिक चरणमा आवश्यक पर्ने साथ/सहयोगको अभाव रहेको बताउँछन्, किङ्ग्स कलेजका प्रेसिडेन्ट नरोत्तम अर्याल । ‘स्टार्टअप दुनियाँमा धेरै कुरा भइरहेको छ । युवाहरूमा जोश देखिन्छ । तर यसमा राज्यको तर्फबाट जति साथ हुनुपर्ने हो त्यो देखिँदैन,’ उनले भने ।

अर्यालका अनुसार विशेषगरी नयाँ प्रविधि, अनुसन्धान र उत्पादनका आइडियाहरूले विश्व बजारमा नेपालको पहिचान बनाउने सम्भावना छ । तर यसलाई राज्यले उपेक्षा गरिरहेको छ । उनले अनुभव सुनाए, ‘केही समयअघि एक विद्यार्थीले मकै छोडाउने रोबोट बनाए । च्याम्पियनसिपमा प्रदर्शन भयो, तर त्यसपछि त्यो रोबोट थन्कियो । कसैले चासो लिने, व्यावसायिक रूप दिने काम गरेनन् ।’

सरकारले सधैँ बजेट छुट्याउने तर कार्यान्वयनमा उपेक्षा गर्ने क्रम चलिरहेको छ । यस वर्षको बजेटमा पनि ‘जेनजी लक्षित स्टार्टअप’ कार्यक्रम सञ्चालन गर्ने भनिए पनि यसको कार्यन्वयनमा शंका रहेको विज्ञहरू बताउँछन् ।

जबकि, यस्ता नवप्रवर्तनलाई जीवन दिन व्यावसायीकरण गर्नुपर्छ । त्यसका लागि प्रयोग, युजर टेस्टिङ, प्रमाणीकरण (भ्यालिडेसन) र मेन्टरसिप चाहिन्छ । तर यस्तोमा साथ/सहयोग पाउने अवस्था अझै विकास नभइसकेको गुनासो अर्यालको छ ।

एउटा स्टार्टअप हुर्काउन जोश र आइडिया जरुरी छ, तर त्यो मात्र पर्याप्त नहुने विश्लेषण अर्यालले गरे । सँगसँगै मेन्टरसिप र आर्थिक सहयोग चाहिन्छ । उनले प्रयोगशाला, कार्यस्थल र मेन्टरहरूको अभावले धेरै सम्भावनाहरू बीचमै रोकिएका अनुभव पनि सुनाए ।

‘युवाहरू यसरी जोशिएको अवस्थामा हामीले आवश्यक बल दियौँ भने हजारौँ स्टार्टअप बाहिर आउँछन्, र ती मध्ये केहीले विश्व बजारमा ठूलो प्रभाव पार्न सक्छन्,’ उनले सम्भावना देखाए ।

बजेट छुट्याए पनि राज्यको उपेक्षामा स्टार्टअप

नेपाल सरकारले विगत एक दशकदेखि स्टार्टअपका लागि बजेट छुट्याउँदै आएको छ, तर ती रकम खर्च हुन सकेका छैनन् । आव २०७१/७२ मा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले ५० करोड रुपैयाँको ‘स्टार्टअप फन्ड’ घोषणा गरे, तर कार्यान्वयनको अभावमा त्यो रकम थन्कियो । यसको सुरुवात नै नमिठो बन्यो । त्यस्तै, आव २०७५/७६ मा ६० करोड र २०७६/७७ मा व्यवसाय गर्न चाहने व्यक्ति वा व्यवसायलाई अधिकतम ५० लाख अनुदानको व्यवस्थासहित कार्यविधि बनाइयो । ती पनि कागजमै सीमित रहे ।

यसरी सरकारले सधैँ बजेट छुट्याउने तर कार्यान्वयनमा उपेक्षा गर्ने क्रम क्रमश: चलिरहेको छ । यस वर्षको बजेटमा पनि ‘जेनजी लक्षित स्टार्टअप’ कार्यक्रम सञ्चालन गर्ने भनिए पनि यसको कार्यन्वयनमा शंका रहेको विज्ञहरू बताउँछन् ।

‘अहिले सरकारले २५ लाखसम्मको सहयोग त दिन्छ, तर यो दर्ता भइसकेका र निश्चित चरण पुगेका कम्पनीहरूलाई मात्र हो । तर हामीलाई विश्वविद्यालयमा हुने नयाँ प्रोजेक्ट, अनुसन्धान र प्रविधि विकासका लागि पहिल्यै अनुदान चाहिन्छ,’ किङ्ग्सका प्रेसिडेन्ट अर्यालले बताए ।

अर्यालका अनुसार विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूमार्फत खुला प्रतिस्पर्धा (ओपन कल) मार्फत अनुदान उपलब्ध गराउनुपर्छ । जब प्रारम्भिक चरणमा अनुदान पाइन्छ, तब मात्र स्टार्टअपहरू एक स्तर माथि उठ्न सक्छन् । त्यसपछि सरकार वा निजी क्षेत्रको थप सहयोगले तिनलाई थप उचाइ दिन सकिन्छ । तर सरकारले कागजमा बजेट छुट्याए पनि ‘व्यावहारिक कार्यान्वयन’को हकमा यो क्षेत्र सधैँ उपेक्षामा परेको अर्यालको तर्क छ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?