+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माओले अमेरिकालाई भनेझैं ट्रम्प रूसलाई भन्दैछन् ‘कागजी बाघ’

चीनमा यो वाक्यांश झिलाओहु भन्ने शब्दबाट आएको हो, जसको अर्थ हो –  ‘कागजको बाघ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते ७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई \'कागजी बाघ\' भन्दै सैन्य क्षमतालाई व्यङ्ग्य गरेपछि अन्तर्राष्ट्रिय राजनीतिक बहस चर्किएको छ।
  • रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटोको सम्पूर्ण शक्ति विरुद्ध लडिरहेको र आत्मविश्वासी रहेको जवाफ दिएका छन्।
  • माओत्सेतुङले सन् १९४६ मा अमेरिकालाई \'कागजी बाघ\' भनेका थिए र यो शब्द चीनमा साम्राज्यवादी पश्चिमलाई जनाउन प्रयोग हुँदै आएको छ।

१९ असोज, वासिङ्गटन । करिब ८० वर्षअघि चीनका नेता माओत्सेतुङले मनोबल बढाउन अमेरिकालाई कागजी बाघ अर्थात् पेपर टाइगर  भनेका थिए ।

अहिले, त्यही शब्दलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्दै रूसमाथि व्यङ्ग्य गरेपछि अन्तर्राष्ट्रिय राजनीतिक बहस चर्किएको छ ।

सेप्टेम्बर २३ मा ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले रूसलाई ‘कागजी बाघ’ भन्दै रूसी सैन्य क्षमतालाई व्यङ्ग्य गरे । यस टिप्पणीले क्रेमलिनलाई आक्रोशित बनायो ।

यद्यपि ट्रम्प केही समय चुप लागे, मङ्गलबार अमेरिकी सेना अधिकारीहरूलाई सम्बोधन गर्दा उनले पुनः प्रश्न उठाए, ‘तिमीले चार वर्षदेखि लडिरहेको युद्ध एक हप्तामै सकिनुपर्ने हो – के तिमी कागजी बाघ होइनौ ?’

बिहीबार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जवाफ फर्काउँदै भने, ‘हामी नाटोको सम्पूर्ण शक्ति विरुद्ध लडिरहेका छौँ र अघि बढिरहेका छौँ । हामी आत्मविश्वासी छौँ । यदि हामी कागजी बाघ हौँ भने, नेटो के हो त ?’

ऐतिहासिक सन्दर्भ

यो शब्दको प्रयोगले चिनियाँ क्रान्तिकारी इतिहासको चिरपरिचित नारालाई पुनः चर्चामा ल्याएको छ । एसिया सोसाइटीका वरिष्ठ विश्लेषक जोन डेलुरी भन्छन्, ‘एक चिनियाँ इतिहासकारका रूपमा ट्रम्पले माओको मनपर्ने अभिव्यक्ति उधारो लिएर रूसमाथि प्रहार गर्दा मलाई हाँसो लाग्यो ।’

माओले सन् १९४६ मा अमेरिकी पत्रकार अन्ना लुइस स्ट्रङलाई दिएको अन्तर्वार्तामा अमेरिकी एटम बमलाई ‘कागजी बाघ’को संज्ञा दिएका थिए । उनका अनुसार, अमेरिकाले शक्तिको ढोङ गर्छ तर वास्तवमा त्यो कमजोर छ । चीनमा यो वाक्यांश झिलाओहु भन्ने शब्दबाट आएको हो, जसको अर्थ हो –  ‘कागजको बाघ ।’

चिनियाँ प्रचार साहित्यमा यो शब्दले साम्राज्यवादी पश्चिम, विशेषतः अमेरिकालाई जनाउँथ्यो । माओले बारम्बार भनेका थिए, ‘सबै प्रतिक्रियावादीहरू कागजी बाघ हुन् ।’

पार्टीका सिद्धान्तकारहरूका अनुसार यो ‘रणनीतिक सोच’ र ‘प्रचारको तीक्ष्ण हतियार’थियो ।

सन् १९७० को दशकमा अमेरिका–चीन सम्बन्ध सुधार भएपछि यो प्रचारित नारा कम प्रयोगमा आयो । तर पछिल्लो समय द्विपक्षीय सम्बन्ध फेरि चिसिएसँगै यसको प्रयोग दोहोरिन थालेको छ ।

हालै, चीनको विदेश मन्त्रालयले पनि यही वाक्यांश प्रयोग गर्दै अमेरिकाको नीतिको आलोचना गरेको थियो । ‘अमेरिका एउटा कागजी बाघ मात्रै हो, यसको ढोङमा नपर्नुहोस्’, प्रवक्ताले भनेका थिए ।

ट्रम्पले रूसमाथि टिप्पणी गर्दा यो पुरानो चिनियाँ प्रचार वाक्यांश फेरि चर्चामा आयो । वासिङ्टन पोस्टका स्तम्भकार युजिन रोबिन्सनले फेब्रुअरीमा ट्रम्पको विदेश नीतिलाई ‘कागजी बाघ’भनेका थिए ।

हार्वर्ड प्राध्यापक लरेन्स ट्राइबले मे महिनामा ट्रम्पको आप्रवासन नीतिको आलोचना गर्दै पनि यही शब्द प्रयोग गरेका थिए ।

राजनीतिक विश्लेषकहरूका अनुसार अहिले अमेरिका र रूसले एकअर्कालाई ‘कागजी बाघ’ भनिरहेको बेला शक्ति सन्तुलनको नयाँ यथार्थ झल्किने सङ्केतसहित चिनियाँ राष्ट्रपति सी जिनपिङ भने चुपचाप हेरेर बसेका छन् । एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?