+
+
Shares

माओवादीमा जाँदा केहीले टिकट पाउलान्, अरूको सत्यानाश हुनेछ 

म पार्टी महासचिव छु, मलाई अध्यक्षले बहिस्करणमा पारे भनेर म कहाँ चिच्याउँदै जाऔं ? तर हामीले यो एकताका लागि जेजे गर्‍यौं, यहाँभित्र अपनाइएको प्रक्रियाले पनि देखाउँछ- अब केही हुनेवाला छ । 

घनश्याम भूसाल  घनश्याम भूसाल 
२०८२ कात्तिक १३ गते २२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कम्युनिस्ट आन्दोलनको एकता आवश्यक छ र विगतको एकता भागबण्डामा आधारित भएर असफल भएको कमरेड भुसालले बताए।
  • वाम आन्दोलन संकटमा छ र एमाले, माओवादी, एकीकृत समाजवादीका नेतृत्व असफल भएका छन् भुसालले उल्लेख गरे।
  • भुसालले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन आवश्यक रहेको र नयाँ क्रान्तिकारी सिद्धान्त निर्माण गर्नुपर्ने बताए।

सबैका लागि मेरो प्रस्ताव हो– एकताबद्ध वाम आन्दोलनका लागि पार्टीको एकता र कम्युनिस्ट आन्दोलनको एकता। म ‘एकताबद्ध वाम आन्दोलन’ को कुरा गर्दैछु।

कम्युनिस्ट आन्दोलनको एकता हाम्रो लागि जहिलेसुकै महत्त्वपूर्ण रहँदै आएको छ। २०१७ सालपछि जब यो आन्दोलन विभाजित भएपछि नै एकताको प्रस्ताव धेरै महत्त्वपूर्ण रह्यो। आज पनि उत्तिकै महत्त्वपूर्ण छ।

तर, म एउटा सन्दर्भबाट सुरु गर्छु, हामीले ३ जेठ २०७५ मा माओवादीसँग एकता गर्‍यौं। वैशाखको अन्तिमसम्म पनि एकता नहुनेतर्फ जाँदै थियो। तर जेठ ३ गते फेरि हामीले एकता गर्‍यौं। पहिले केले रोकेको थियो र केही दिनमै केले भयो ? नि:सन्देह त्यो सहमतिले बताउँछ कि त्यो एकता भागबण्डामा आधारित थियो।

आम रूपमा हाम्रा समस्या के हुन् ? नेकपा एमालेका समस्या के हुन् ? नेकपा माओवादी केन्द्रको शक्ति के हो ? हाम्रो शक्ति के हो ? भन्ने लेखाजोखा नगरी, दुवैको शक्तिको बढोत्तरी गर्ने र दुवैका कमजोरीहरूलाई हटाउने मूल्याङ्कनका साथ हामी अगाडि बढेका थिएनौं। बरु, त्यो एकता नेताहरूको झगडामा भयो र त्यसैगरी त्यो समाप्त भयो । 

मैले एउटा लामो लेख लेखेको थिएँ, ‘यसमा रहेका कमजोरीहरू नेताहरूका स्वार्थका कारणले गर्दा यो एकता भयो, यसको संगठनात्मक, राजनीतिक र सैद्धान्तिक पाटोमा जोड दिन सकिएन । छिटोभन्दा छिटो क्लियर गर्न सकिएन भने, एकता त गरिसक्यौँ, अब भए पनि हामीले त्यसलाई पूरा गर्न सकेनौँ भने यो दुर्घटनाग्रस्त हुनेछ, विभाजित हुनेछ।’

मैले बडा प्रष्ट लेखेको छु- विभाजित हुनेछ।

यत्रो शक्ति विभाजित भएपछि राष्ट्रिय राजनीतिमा एउटा शून्यता आउनेछ, र त्यो शून्यतालाई भर्नका लागि अन्य प्रयत्नहरू हुनेछन्। त्यसले ‘कलर रेभोलुसन’ को मञ्चन हुनेछ, मैले शब्दसहित लेखेको छु। कलर रेभोलुसनको मञ्चन हुनेछ, ‘सेनालाई आरती उतारिनेछ।’ यो मुलुकमा भयंकर डरलाग्दो, द्वन्द्व बढ्नेछ। दुर्भाग्यले त्यस्तै भयो। 

वाम आन्दोलन संकटमा, प्रयोगहरू असफल

अब परिस्थिति के हो भन्दा, वाम आन्दोलनमा हाम्रा प्रयोगहरू असफल भए । माओवादीका प्रयोग असफल छन् । एमालेका प्रयोगहरू असफल भए र हाम्रा पनि प्रयोगहरू असफल भए।

हाम्रा सफल भएका छन् वा छैनन् भनेर हामीलाई कसले के भन्यो ? राष्ट्रपतिले बोलायो वा बोलाएन ? जस्ता कुराले पार्टीले आफ्ना उपलब्धि त्यति मिनिमाइज गर्न हुँदैन। हामीले ‘पुनर्गठन र रूपान्तरण’ भनेका थियौं, त्यहाँनेर के गर्‍यौं भन्ने कुराले नै हामीलाई बताउनेछ।

यस अर्थमा यी तीनवटै शक्तिहरू (एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी) को कारणले वाम आन्दोलन संकटमा छ। यी तीनवटै शक्तिहरू असफल भएका छन्, यी तीनवटै शक्तिका प्रयोगहरू असफल भएका छन्। यसको अर्थ हो, यसको मुख्य नेतृत्व असफल भएको छ।

वाम आन्दोलनलाई एकताबद्ध नपार्ने हो भने हामी अझ डरलाग्दो अवस्थामा पुग्छौं । मैले हिजो ‘ब्ल्याक होल’ भनेको छु । ब्ल्याक होल, ब्ल्याक होल, ब्ल्याक होल- भयंकर अँध्यारो छ। हामीले हरेक पटक कठोर धक्का खाएका छौं। यो कुरालाई ध्यान गरिएला । यो केन्द्रीय कमिटी हो, ध्यान देला भन्ने लाग्छ मलाई।

वर्तमान अवस्था: दक्षिणपन्थ र विभाजनको जोखिम

आजकै अवस्था यस्तो छ : 

१. एमाले अझ घोर दक्षिणपन्थी हुँदैछ। यो भयंकर दक्षिणपन्थी, नाङ्गो दक्षिणपन्थी हुँदैछ, र यो बर्बादीको नजिक जाँदै छ।

२. आजकै अवस्थामा माओवादी अवसरका लागि भौंतारिएर मात्रै हिँडेको छ। हिजो क्रान्तिको नाममा ३१ लाख भोट पाएको माओवादी आज ११ लाखमा आएको छ। अब कतिमा आउने हो ? यसलाई सफलता मान्दै जाने हो भने एउटा कुरा हो, यसलाई असफलता मान्दै जाने हो भने अर्को कुरा हो।

 ३. यो के भएको हो ? त्यसको डीएनएमा के समस्या छ ? एमालेको डीएनएको समस्या के हो ? हाम्रो डीएनएको समस्या के हो ? भन्ने कुरा हामीले नखुट्ट्याई जहाँसुकै गए पनि जति धेरै गए पनि हुन्छ भन्ने होइन । त्यत्रो संसद्, त्यत्रो बलियो गठबन्धन, त्यत्रा लाखौँ कार्यकर्ताहरूको आँखा सबै भुइँमा छ, नेता भुइँमा छ, राज्य भुइँमा छ, राष्ट्रपति भुइँमा छ, सारा चिज भुइँमा छ। यो कुरालाई हामीले हेर्नुपर्छ ।

एमालेले जुन बाटो लिएको छ, यो विघटनको बाटो हो। दक्षिणपन्थका विरुद्धमा त्यहाँ भित्रका थोरै पनि वामपन्थीहरूले किन छिटो विद्रोह गरेनन् ? किन गर्छन् वा गर्दैनन्, यो अर्को कुरा हो। तर तिनले विद्रोह नगरी सुख छैन। त्यो दक्षिणपन्थीका विरुद्ध विद्रोह तीव्र भएको छ। अहिलेको प्रक्रियाले त्यसलाई तीव्र पारेको छ, र अझ तीव्र हुँदै जानेछ।

र, यो पनि लेखेर राखियोस्, माओवादी आज जे छ त्यो रहन्नँ । त्यसको डीएनए नै त्यही कारणले यदि जाँच भएन भने माओवादी विभाजित हुन्छ। म नाम लिन्न, अरू पनि केही भयंकर-भयंकर विभाजन छन्। म तिनीहरूसँग राम्रैसँग उठबस गर्छु। सबैतिर विभाजन छ, सबैतिर समस्या छ।

समस्या डीएनएमा छ। अन्त हेरेर, मुख हेरेर, मान्छे हेरेर, नाम हेरेर, ‘म यति वर्ष थिएँ,’ वा ‘मैले ०६२ सालमा यसो गरेँ’ भनेर, वा ‘हामी केटाहरूले ०३६ सालको गीत गाएर, ०४६ सालको गीत गाएर, अस्ति ०६२/६३ मा यस्तो गरेका थियौँ’ भनेर हुँदैन। यसले उत्तर दिँदैन । आजका प्रश्नको उत्तर आजकै अवस्थामा दिनुपर्छ। आजका प्रश्नको उत्तर हिजोको इतिहासमा खोज्नु , यो गलत हुँदैछ।

यो अवसर, यो विभाजन यो डीएनएको राम्रो जाँच भयो भने, यो समग्र वामपन्थी आन्दोलनको यो राम्रो टेस्ट भयो भने, यो भयंकर अवसर बनेको हो। यसर्थ हामीले यसलाई सोचौँ। नआत्तियौं है ! आत्तिनका लागि चाहिँ हामीसँग कुनै समय छैन । त्यो धैर्यताका साथ सबै कुरा गर्न हामीले हेरौँ ।

सडकको अराजकता र दायित्व

हामी वामपन्थीहरूलाई अब एकताबद्ध पार्नका लागि त्यस्तो बल, बाध्यता, त्यो छोटो समयमा हुन्छ। मैले ख्याल गर्नुस्, अस्ति सुशासन र रोजगारीको बेलामा मैले पटक–पटक भनेको थिएँ, मैले लेखेको छु कि सडक अराजक हुँदैछ, सत्ता फासिस्ट हुँदैछ। यो कतै गएर ‘क्र्यास’ हुँदैछ। सडक खाली हुँदैछ। यो सडक अरूले प्रयोग गर्दैछन्, पुनरुत्थानवादी षड्यन्त्रकारीहरूले प्रयोग गर्दैछन्, पपुलिस्टहरूले प्रयोग गर्दैछन्।

त्यसो गर्दा सकेसम्म छिटो राष्ट्रका एजेन्डाहरूका साथ सडकमा जाऔं, सडक कब्जा गरौं भनेर मैले पटक–पटक भनेको थिएँ। क्रान्तिकारी शक्तिले यदि सडक कब्जा गर्दैन भने, यो क्र्यास हुँदैछ। यही भन्दै थिएँ मैले। आज पनि त्यही दायित्व अझ तिव्रताका साथ, अझ गुरुत्वका साथ यो दायित्व हाम्रो अगाडि छ। यसर्थ, हामीलाई धेरै राम्रो सुरुवातका लागि समय छ । हामीले साँच्चै राजनीतिक हिसाबले सोच्ने हो, सैद्धान्तिक हिसाबले सोच्ने हो, वैचारिक हिसाबले सोच्ने हो भने अवस्था छ।

अब, हैन, मान्छेको संख्या, के-के को के-के गरेर हेर्ने हो भनेदेखि संकटै संकट छन्, हर पाइलामा संकट छन्।

एकताको सैद्धान्तिक आधारमा प्रश्न

अब रह्यो, पार्टीको नाम, झण्डा, संगठनात्मक सिद्धान्त, मार्गदर्शक सिद्धान्त, समाजवादी कार्यक्रम (कार्यदिशा) यी मिले भन्यौँ हामीले । ‘जनताको बहुदलीय जनवाद’ भन्ने एउटा शब्द निकालिदिने हो भने। एमालेसँग पनि केही नमिल्नुपर्ने कुनै कारण छैन। माओवादीसँग अहिले एकताका लागि जति कुरा हामीले मिलेका छन्, त्यति मिल्दा एमालेसँग पनि एकता हुन सक्छ, जुन कुरा गलत हुन्छ।

यसले यो नभएर, हामीसँग चाहिँ, पार्टीको नाम, झण्डा, यो संरचनात्मक सिद्धान्त नभएर मार्गदर्शक सिद्धान्त- मार्क्सवादले ‘निर्वाह’ नलेखिएका हुनाले आन्दोलन बिग्रेको होइन । यो त माओवादीसँग पनि थियो, हामीसँग पनि थियो, एमालेसँग पनि थियो । किनकि, त्यही भएर हुने हो भने, हुने अर्कै कुरा हो। यी त कम्युनिस्टका सामान्य प्रारम्भिक परिचयात्मक कुराहरू हुन् के। म भन्छु- ‘यहाँ भुसाल, मेरो जन्म यहाँ भयो, म यति वर्षको भएँ, यस्तो यस्तो’ भन्या जस्तो हो । यो परिचयात्मक कुरा हो। कुनै कम्युनिस्ट पार्टीको सामान्य परिचयात्मक कुरा, ‘मूल विषय के हो ?’ भन्ने कुरा यसले बताउँदैन।

जे भनिँदैछ, यो पनि मिल्यो, यो पनि मिल्यो- गन्दाखेरी कतिवटा मिल्यो, विश्वास मिल्यो, नाम मिल्या छैन। के ‘समिति’ भन्छन्, ‘कमिटी’ भन्छन् । यसले भन्छन्- त्यो पनि कुनै विवादको कुरा हुने कुरा हो र ? यो उनीहरूले ‘समिति’ भन्छन्, हामीले ‘कमिटी’ भन्छौँ। हाम्रा विद्यार्थी हेर्नुस् त ! मुलुकको संकट आएको आवश्यकता, अनि हाम्रा मेलमिलापका विषय र हाम्रा भिन्नताका विषय ! बाफ रे ! यो डरलाग्दो त्यो कुरा हामी आज गर्दैछौं।

त्यसो गर्दा, संकट टरेको हैन है ! संकट अझ डरलाग्दो गरी आउँदैछ। आँखामा पट्टी बाँधेर अगाडि नबढौँ। हामीले अझै राम्रो गृहकार्य गरौँ। एकता जरुरी छ। गृहकार्य उति नै जरुरी छ।

राजनीतिशास्त्रले किन काम गरेन ?

पहिलो कुरा त यो २३ र २४ गते मुलुकमा के भएको हो ?

हामीले प्रतिवेदनमा देखेका छौँ- यस्तो भयो, यस्तो भयो, यो माग राख्यो, त्यो गर्‍यो, हामी त्यहाँ राष्ट्रपतिले बोलाए, त्यहाँ गयौँ। यो त घटना प्रक्रियाको कुरा भयो, सामान्य पत्रकारले भन्ने कुरा हो। एउटा राजनीतिक पार्टीले त्यति भनेर पुग्छ ? यसको वैचारिकी के हो ? यसको सैद्धान्तिक मूल के हो ? जसले हामीलाई बाटो देखाउँछ, भविष्यको बाटो देखाउँछ।

यस हिसाबले हेर्दा किन हाम्रो राजनीतिशास्त्रले काम गरेन ? मैले पटक–पटक सोधेको छु- राजनीतिशास्त्रले काम गरेन । युनिभर्सिटीमा पढाइने राजनीतिशास्त्रमा के भन्छ भने, समाजमा अन्तरविरोध हुन्छ। अन्तरविरोधले त्यसको समाधान खोज्छन् मान्छेले। त्यो समाधान पार्टीमा भेटाउँछन्। पार्टीले त्यो नारा बोक्छ। त्यो लोकप्रिय हुन्छ र अनि त्यो पार्टीले तिमीलाई यहाँसम्म लैजान्छ। संसद्ले पास गर्छ, सरकारबाट पास गर्छ र समाजको त्यो अन्तरविरोध त्यहाँबाट रिलिज भएर जान्छ। यसरी तल अन्तरविरोध आउँछन्, माथिबाट रिलिज हुँदै जान्छ। राजनीतिशास्त्रले पढाएको यही हो।

यहाँ त न पार्टी, न राज्य, न संसद्- डाङडुङ, गर्ल्याङगुर्लुङ, पार्टी बिनाका, पार्टीको झण्डा बिनाका मान्छेले आएर चाहिँ कसरी यो लडाइदियो ? मैले त भनेको छु, सार्वभौम सत्ता, जसलाई हामीले राजनीतिशास्त्रमा के भन्छौँ भने- बाह्य र आन्तरिक कुनै पनि दबाबबाट मुक्त राष्ट्रको सर्वोच्च शक्ति भनेर जुन भन्छौँ, त्यो समेत घुँडा टेकेको छ । एउटा आर्मीको बन्दुक र राष्ट्रपति बाहेक हामी छैनौं, केही पनि थिएन। त्यो पनि भाग्दै गरेको राष्ट्रपति उहाँका शिवपुरी कि यहाँ, उसमा भैरवगणमा पुग्दै गरेको राष्ट्रपति। यो किन, कसरी भयो बाबा ? यो राजनीतिशास्त्रले नपढाएको कुरा। यसको हामीले उत्तर दिनुपर्छ।

पुराना नेता/पार्टी भन्ने भाष्यको सैद्धान्तिक जवाफ

किन राज्यले राजनीतिक पार्टी र नेतालाई घुँडा टेकेको ? यसको उत्तर दिनुपर्छ। ‘पुराना पार्टी’, ‘पुराना नेता’ भन्ने कुराको भाष्य के हो ? यो कुरा नेल्सन मण्डेलामा किन लागु भएन ? हाम्रो कमरेड मनमोहनमा किन लागु भएन वा अरू अरूमा किन लागु भएन ? आज ‘पुराना नेता’ र ‘पुराना पार्टी’ भन्ने भाष्य किन आएको ? यसको के सैद्धान्तिक जवाफ छ ? छ कि छैन ? मैले त्यसैलाई वैचारिक युगको कुरा गरेको। यसको सैद्धान्तिक जग छ ?

छ। ‘पुराना पार्टी’, ‘पुराना नेता’ भन्ने कुरा किन नभनौँ भने- हिजो पञ्चायतको कालमा मान्छे कमजोर थियो, नाजुक कमजोर जनता, कमजोर नागरिक (त्यो प्रजा थियो अथवा जनता भएर पनि कमजोर थियो भन्नुस् न)। उसँग ‘बाकस र कुण्ड’ थिएन। संगठित हुने स्वतन्त्रता थिएन, अनेक स्वतन्त्रता, प्रेस स्वतन्त्रता थिएन, अनेक स्वतन्त्रता थिएन। यसले गर्दा व्यक्ति र समूह कमजोर। हामी त्यहाँ गयौँ र के भन्यौँ भने,‘हामीले भनेको मान, तिमीलाई बलियो बनाउँछौँ। तिमीलाई यो अधिकार दिन्छौँ, तिमीलाई यो अधिकार दिन्छौँ।’ भनेर हामीले भन्यौँ।

मान्छे आफ्नो अधिकारका लागि, आफ्नो बलियो हुनका लागि आए। ह्यारी साहेबले एक झमट बलियो बनाएर अस्ति ६२/६३ को सफलताको बाटो बाँकी रहेका सबै बन्धन किन हाले ? त्यो जात, क्षेत्र, लिङ्ग, वर्ण- यिनका बीचमा जे-जे ती बाधा–बन्धनहरू थिए, त्यतिसम्म मान्थ्यो त्यसले। मान्छे बलियो भयो।

तर, हामीले के देख्यौँ भने,उही पञ्चायतमा जस्तो कमजोर मान्छेलाई, कमजोर नागरिकलाई हामीले आज पनि कमजोर मानेर ‘तिमीलाई हामीले बाटो देखाउन सक्छौं’ भन्दैछौँ। ऊ आफैं बलियो भइसक्यो। हामीले ‘बलियो बनाउँछौँ’ भन्दैछौँ। ऊ आफैं बलियो भइसक्यो र तपाईंसँग प्रश्न, सवाल–जवाफ तपाईंसँग गर्ने भइसक्यो। तपाईं पञ्चायतकै आँखाले ‘म नेता हुँ, मेरो पार्टी छ, १० जना भयौँ, मेरा पछि लाग’ भन्दै हुनुहुन्छ। किन आउँछ मान्छे ? तपाईंको पछि लागेर के पाउँछ मान्छेले ? नागरिकले के पाउँछ ? आफ्नो जीवनमा के पाउँछ ?

हिजो स्वतन्त्रता पाउँथ्यो, प्रेस स्वतन्त्रता पाउँथ्यो, वाक स्वतन्त्रता पाउँथ्यो, संगठनको स्वतन्त्रता पाउँथ्यो, पहिचान पाउँथ्यो। महिलाहरूको नाम थिएन। बाको मात्रै नाम हुन्थ्यो, आमाको नाम हुँदैनथ्यो। भाइको मात्रै नाम हुन्थ्यो, बहिनीको नाम हुँदैनथ्यो। त्यो समाजमा हामीले ‘तिमी बहिनी, तिमीलाई नाम दिन्छौं’ भन्यौँ। आज बहिनीको नाम छ। हामीले के दिइराख्या छौं ? बहिनीको नाम भइसकेको कति भइसक्यो ? हामीले के दिइराख्या छौं ? तर हाम्रो माइन्डसेट- ‘पञ्चायतमा हामीले नेतृत्व गरेका हौँ’ भनेर अब हामीले ‘तिमीलाई दिन्छौं’ भनेर जुन भन्दैछौँ, सैद्धान्तिक रूपले, वैचारिक रूपले भयंकर ठूलो गल्ती गर्दै छौं।

अब पार्टी यसरी चल्दैन। तपाईं त्यत्तिकै बलियो भइसक्यो नागरिक। अब अर्को कुरा सोच्नुपर्छ। योभन्दा बढी कुरा दिनुस्। अब तपाईंले हकार्एर हिँड्दै हुनुहुन्छ। अब छलफलमा मात्रै हिँड्छ मान्छे। छलफल गर्न तयार हुनुहुन्छ नेता ? छलफल गर्न तयार छ पार्टी ? छलफल गर्न तयार छन् मान्छे ? जनता छलफल गर्छन्, तपाईं आदेश गर्नुहुन्छ। तपाईं मेरा जुवा भाँच्छन् तिनीहरूले, भाँच्दै गएका छन्।

सबभन्दा ठूलो वैचारिक रूपले एउटा समस्या यहाँनेर छ, जसलाई हामीले नजरअन्दाज गरेका छौँ। यस्ता प्रश्न नबोल्ने, ‘पार्टीको नाम मिल्यो, झन्डा मिल्यो’ भन्ने ? यो भयंकर ठूलो धोका हुँदैछ।

यस अर्थ, राजनीतिशास्त्र लेखिने काम गरेन फेरि मैले भनेँ। घटना विवरण- कति मरे, कति जले- यो त सबैलाई थाहा छ। किन राजनीतिशास्त्रले काम गरेको भन्दा-

पहिला के थियो भन्दा, हामीले भनेको, हामीले लेखेको, जानेको, जनतालाई बताएको राज्य हो । सामान्यतया एङ्गेल्सले भनेजस्तो, लेनिनले भनेजस्तो, अरू थुप्रो राजनीतिशास्त्रीहरूले भनेजस्तो, समाजशास्त्रीहरूले भनेजस्तो राज्य दोहनकारी हुन्छ, दमनकारी हुन्छ। 

लोकतन्त्रमा पार्टीहरूले जनताको प्रतिनिधित्व गर्छन्। तिनीहरू जनताको आवाज उनीहरूले जनताको पक्षबाट राज्यसत्तासँग लडिरहन्छन्, मात गरिरहन्छन्, त्यसलाई नजिक ल्याइरहन्छन्, बाध्य पारिरहन्छन्। यसो गर्दा जनता पार्टीको पक्षमा बसेको, किनभने जनताको प्रतिनिधित्व पार्टीले गरिरहेको छ। क्रान्तिकारी पार्टीले आज गर्ने त्यो हो।

अब भयो के भन्दा, दलाल पूँजीवादले, जुन मैले गएको १५/१७ वर्षदेखि, २० वर्षदेखि, दलाल पूँजीवादले कसरी खरिद गर्छ पार्टीहरू, नेताहरू, कार्यकर्ता, संसद्, मन्त्री, प्रधानमन्त्री कसरी खरिद गर्छ भनेर मैले भन्दै आएको छु। भइदियो के भने- नेता, नेता जस्तो रहेनन्। उता दलाल पूँजीपतिको खेलौना !

संसद्- कुन कानुन पास गर्ने, कुन कानुन पास नगर्ने, कुन कानुन छिटो पास गर्ने, कुन कानुन छिटो पास नगर्ने, उसले टेन्डर गर्छ। यसो गर्दा, सांसद् दलाल पूँजीपति जस्तो, आफ्नो नेता दलाल पूँजीपति जस्तो, दलाल पूँजीपति न्यायाधीश जस्तो, न्यायाधीश पुलिस जस्तो। यो सबै एक ठाउँमा भएपछि यो पार्टी भन्ने चिज खाली भयो। पार्टीले काम गरेन।

पार्टी दलाल पूँजीपतिको ‘हथौडा’ जस्तो, नेता दलाल पूँजीपतिको ‘हथौडा’ जस्तो। अघि भने मैले- राज्य, पुलिस र न्यायाधीश र पार्टी, सांसद, नेता फरक भएनन् । जनताले हेर्दाखेरी त सबै दलाल पूँजीपति हुन्, जनताको शोषण गर्ने हुन्, दोहन गर्ने हुन्, राज्यको दोहन गर्ने हुन्, हिजोभन्दा आज धनी हुने हुन्, आजभन्दा भोलि धनी हुने हुन्।

यो कारणले गर्दा जनताको पार्टी भएन । त्यो कारणले गर्दा जनताले पार्टी पर्खिएनन् र गए। अपराधीहरूले हाने, ठिक हो। तर अपराधीहरूले हानेको कुरा किन मज्जाले हेरेर बस्यो मान्छेले भन्दा, आफ्नो नेतालाई नेतै ठानेन, आफ्नो पार्टीलाई पार्टी नै ठानेन। मतदाताले आफूले भोट दिएको पार्टीले आफ्नो प्रतिनिधित्व गर्दैन भने, त्यसले कमरेड, कति दिन ? तीन दिन तपाईंले गर्नुहुन्छ, मैले गर्छु, अर्काले गर्छ, अर्काले गर्दैन भने तपाईंले गर्नुहुन्छ, अर्काले गर्नुहुन्छ भने अर्काले गर्छ। यसर्थ, यो प्रश्नमा हामीले सोच्न सकिएन- किन राजनीतिशास्त्रले काम गरेन ? वा, किन हामीले यो पुराना नेता, पुराना नेता भनेर हेरेको हैन। फेरि पनि भन्दै छु- त्यो माइन्डसेट ‘म हिजो नेता थिएँ’ भनेर, पञ्चायतको बेलामा नेता थिएँ भनेर पञ्चायतमा जस्तै बलियो बनाउँछु, अब तिमी माथि बलियो भइसक्यौ ! तपाईंले बलियो बनाउनु हुन्न। त्यही तरिकाले हामीले जे भन्दैछौँ, त्यो तरिकाले, त्यो एजेन्डाले बलियो बनाइँदैन।

यो कुरा यो दस्तावेजमा लेखिनुपर्ने हो आज यत्रो समय पछाडि, यत्रो महाविस्फोट पछाडि पनि हाम्रो निद्रा खुल्दैन भने, आज पनि ‘नेताले भन्यो’, ‘फलानोले भन्यो’ भनेर पछाडि लाग्ने हो भने, यो म्यानेज कसरी हुन्छ भन्ने दलालको जिम्मेवारी जस्तो हुन्छ । जुन चुनाव गराएर, चुनाव नगर्दा फाइदा हुन्छ, अब कसलाई जिताउँदा फाइदा हुन्छ, कसलाई ल्याउँदा फाइदा हुन्छ । अल्गोरिदमको प्रक्रिया हो उसको। फेसबुक आदि इत्यादि मिडियामा प्रचार गरेर अल्गोरिदमलाई प्रभावित पारेर गर्दा हुन्छ के ? सबै गर्छ, सबै गर्छ। हामीभन्दा शक्तिशाली छौं के ! जनतालाई एकत्र पारेर मात्रै पार्टी बलियो हुन्छ, अर्को कुनै नोकझोकले पार्टी नेताहरू बलिया हुँदैनन्।

नवौं महाधिवेशनपछिको दिशा

हामीले बहुत मुस्किलले नवौं महाधिवेशनसम्म आउँदा समाजवादी कार्यदिशा समात्यौं, त्यो राम्रै भएको थियो। किनभने आठौँ महाधिवेशनमा हामीले यो ल्यायौँ । राजनीतिमा कमरेड पुष्पलालपछि नेपाली समाजको चरित्र, वर्ग बनोट, क्रान्तिको चरित्र र समाजवादी कार्यदिशा भनेर हामीले ल्याऔं । कमरेड प्रचण्डको भनाइ यस्तै भन्ने हो भने त्यो सन्तोषको कुरा हो । हामी सबैको भाष्य- जनवादी क्रान्ति पूरा भयो, अब हामी जाने समाजवादतिर हो। दलाल पूँजीवादलाई निस्तेज गर्दै हामी समाजवादको तयारी गर्छौं भनेर सबै पार्टीहरूले भनेका छन्। हामी आठौं महाधिवेशनमा त्यो प्रस्तावमा सहमत हुने ती सबै साथीहरूको लागि यो कुरा गौरवको कुरा हो।

तर, त्यसपछाडि मेरो कुरा भन्नुहुन्छ भने यहाँ केही कमरेडहरू हुनुहुन्छ। त्यतिखेरको स्थायी कमिटीको दुई जना कमरेडहरू हुनुहुन्छ। एमालेको स्थायी कमिटीको, मभन्दा बाहेक उहाँहरूलाई थाहा छ कि, मैले ‘यो कार्यदिशा मात्रै बनाएर हुँदैन, अब हामीले कार्यक्रम बनाउनुपर्छ र त्यो कार्यक्रमको एउटा कार्यनीति, कार्यनीति, संगठन बनाउनुपर्छ’ भनेर नै लडेँ। ओलीजीसँग मेरो अर्को कुनै अन्तरविरोध थिएन, व्यक्तिगत रूपमा मेरो कुनै माग पनि थिएन, अन्तरविरोध पनि थिएन। मेरो कार्यक्षेत्र पनि ‘यो दिनुस्, त्यो दिनुस्’ मैले कहिल्यै भनिनँ। मेरो माग, यति मात्रै थियो । मैले १२ वटा पेस गरेको रहेछु त्यतिखेर, पछि मैले हेरेँ।

मेरो एमालेमा अन्तिम बैठकमा पनि मैले त्यही राखेँ र भनेँ कि, कमरेड, त्यो प्रधानमन्त्रीको उम्मेदवार पार्टीको तर्फबाट कसलाई प्रस्ताव गर्नेभन्दा ओलीलाई प्रस्ताव गर्ने त्यो मिटिङ थियो। त्यो मिटिङमा मैले भनेँ, ‘अब तपाईंको पालो पुग्यो। अब लोकप्रियताकै हिसाबले पनि तपाईं ओरालोमा हुनुहुन्छ। यसर्थ, पार्टीलाई अगाडि बढाउने हो भने, अर्को उचाइ दिने हो भने, सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्रीको घोषणा गरौँ र चुनावमा जाऔँ।’

ओलीजीलाई बैठकमा त्यसरी भनेपछि के हुनुपर्थ्यो, त्यो सबै भयो। त्यसपछाडि मैले टिकट नपाउनु स्वाभाविक थियो। मैले टिकट पाउन्नँ भन्ने मलाई थाहा थियो। किन छोडेँ भन्दा, एउटा कारण मात्रै- मैले अघिल्लो चुनावमा कांग्रेस र राप्रपाले संयुक्त भएर उठाएको र मैले हराएको दीपक बोहोरालाई मलाई टिकट नदिएर दिएपछि मैले त्यही चुनाव क्षेत्रमा अब दीपक बोहोराको प्रचार गरेर पार्टीमा आउँदाखेरि मैले त्यो गर्नुपर्ने भयो, र ‘यो तहको हुर्मत लिएपछि अब यहाँ यसको पनि प्रतिवाद गरिएन भनेदेखि हुँदैन’ भनेर म निक्लेको थिएँ। यदि त्यहाँ कुनै मेरो कमरेडलाई त्यतिखेर एमालेकै साथीलाई दिएको भए, म हिँड्दैनथेँ, एकदम स्वाभाविक।

मैले यो कुरा किन उठाएको भने सन्दर्भ कमरेड पार्टी कस्तो हुन्छ ? जुझारु पार्टी बनाउने, अनुशासित पार्टी बनाउने, अपानि मान्ने यो गर्ने ? चुनाव जित्ने, धेरै भोट ल्याउने, धेरै सदस्यता बनाउन सक्ने ? दगुर्ने, बहुत सक्रिय हामीले यस्तो भन्दै आएका छौँ।

मान्छेमा के गुण चाहिन्छ ? एउटा क्रान्तिकारीमा । तर क्रान्तिकारीलाई यो पटक–पटक यदि क्रान्तिकारी हो भनेर उठ्ला, क्रान्तिकारी विचार दियो भने- तँ उठ्छ, ‘अपानि, पालन गर, आदेश पालन गर’ भन्नै पर्दैन, उ स्वतः आफैं हिँडिहाल्छ नि ! त्यसको विचार, राजनीति सबै हिँडाइदिएपछि, संगठन सबै गुटबन्दीले क्यान्सर लागेजस्तो संगठन छ, विचार, राजनीति छैन, त्यसपछाडि के हुन्छ? चल्छ मान्छे ?

यसर्थ, पुष्पलालले भन्नुभए जस्तै क्रान्तिको ग्यारेन्टी गर्न सकिन्छ। कमरेड, ‘शान्तिपूर्ण रूपले संसदीय बाटोबाट क्रान्ति हुन्छ’ भनेर नभन्ने हो भने जनतालाई धोका दिने हो । ‘यसरी हुन्छ,’ भनेर नबताउनु। कहाँ हिँड्दैछौँ हामी भन्दा, टिकट लिन हिँड्दैछौँ, अलि ठूलो मासमा जान हिँड्दैछौँ, यसरी क्रान्तितिर गइँदैन ।

हामीले पुष्पलालले कति राम्रो गरी राख्नुभएको थियो- सिद्धान्त हुन्छ पहिला। सिद्धान्तले सचेत मान्छेलाई संगठित गर्नु पर्‍यो। त्यो संगठित मान्छे परिचालित हुन्छ, परिचालित गर्नु पर्‍यो। यो परिचालित भएपछि मानौं पाँच जना मान्छे छन्, सिद्धान्त बुझे। यी पाँच जना संगठित भए। यिनले नारा गरे, जुलुस गरे, पोस्टर टाँसे, भाषण गरे, १०० जनाका बीचमा गए, १५ जना मान्छे थपे भने तिनलाई प्रशिक्षित गरेर फेरि अब १५ जना (ती समेत गर्दा २० जना मान्छे भयो)। त्यो २० जनाको संगठन अब हिजो पाँच जनाको थियो, अब २० जनाको भयो। अब पाँच जनाको जुलुस हैन, अब २० जनाको जुलुस निक्लने भयो।

एवं रितले यो कुरालाई साँच्चै वैज्ञानिक रूपमा, मार्क्सले भनेको जस्तो प्रकृति विज्ञान जत्तिकै क्रान्तिको कुरा बताउन सकिन्छ। क्रान्ति कहिल्यै नहार्ने गरी संसदीय बाटोबाटै हामी समाजवादमा जाने, कसैले त्यो प्रक्रियालाई अवरुद्ध गर्छ भने, जनताको साथले अस्ति (भदौ २३/२४ गते) को कुराले त अझ एउटा ठूलो सम्भावना ल्याइदिएको छ। जनतालाई सचेत पार्ने हो भने, जनताले कसरी सारा बार भत्काएर क्रान्ति पनि गर्नसक्छ भन्ने कुराको धेरै ठूलो उद्घोष हो है कमरेडहरू। यो पनि बुझौँ हामीले।

अस्ति (२३/२४ गते) को घटनाबाट सिक्ने, राजनीतिक, सैद्धान्तिक रूपले सिक्ने भनेको यो सबै गर्न सकिन्छ। प्रतिक्रान्ति रोक्न सकिन्छ। कतै एक ठाउँमा हार्‍यौँ भनेदेखि फेरि जित्न सकिन्छ। एउटा चुनाव हार्‍यौँ भने अर्को चुनाव जित्न सकिन्छ, अथवा क्रान्तिले नहार्ने कुराको ग्यारेन्टी साँच्चै गर्न सकिन्छ। तर किन भइराख्या छैन ? भन्दा, हामी मार्क्सवादी पार्टी बनाइराख्या छैनौँ, क्रान्तिकारी पार्टी बनाइराख्या छैनौँ।

योभन्दा अझै लामो, अझै चर्को भाषामा कमरेड ओलीसँग मैले धेरै पटक भनेको छु, ‘कमरेड, हामी गल्ती गर्दैछौं।’ आज पनि हामी यही कुरा गर्दैछौं। अस्ति संगठनात्मक सिद्धान्तमा केही लेखेका छौं हामीले। त्यही संगठनात्मक सिद्धान्तको पाटो पढ्नुभयो भने पनि कमरेड, यो दस्तावेज अर्कै बन्थ्यो। हामीले गरेको केके हो ? केही त्यो थाहा छैन। के हो मूल कुरा के हो ? त्यो कुरा पनि थाहा छैन। अनि त्यसपछाडि चाहिँ भएको छ, ‘नाम, झण्डा मिल्यो’ भनेर आएको छ। यो तरिकाले जनतालाई हामीले धोका दिन्छौँ है कमरेडहरू, यो कुरालाई हामीले ध्यान दिऊँ भन्ने लाग्छ मलाई ।

यसर्थ, दलाल पूँजीपतिसँग मैले धेरै पटक प्रशिक्षणहरूमा (अचेल त हामीकहाँ यहाँ प्रशिक्षणहरू कम भएका छन्, एमालेमा हुँदा धेरै पटक भनेको छु मैले)- एउटा क्रान्तिकारी, ‘म क्रान्तिकारी आज दिनभरि कति भएँ, कति भइनँ’ भन्ने कुरा मजाले छुट्याउन सकिन्छ। तपाईं बिहान उठ्नु भयो, के गर्नुभयो, के गर्नुभयो, के गर्नुभयो ? दलितलाई घरभित्र बस्न आनाकानी गर्नुभयो भने तपाईं प्रतिक्रान्तिकारी हुनुभयो।

महिलाको बारेमा पक्षमा बोल्नुभयो भने त्यहाँनेर क्रान्तिकारी हुनुभयो। गरिबको पक्षमा कुनै बोल्नुभयो भने त्यहाँ तपाईं क्रान्तिकारी हुनुभयो। फेरि गएर तपाईंले चाहिँ अर्को कसैलाई ठग्नुभयो दुई रुपैयाँ, चार रुपैयाँ भने, त्यहाँ तपाईं गएर क्रान्तिकारी रहनुभएन। ठ्याक्कै तोकेर भन्न सकिन्छ- एक दिनमा को क्रान्तिकारी भयो कि भएन भनेर। अरूलाई ढाँट्ने कुरा अर्को कुरा हो, नत्र आफूलाई थाहा हुन्छ। दिनभरिको चेकलिस्ट हेरेर तपाईंले के लेख्नुभो, के बोल्नुभो, कोसँग कस्तो व्यवहार गर्नुभो, समानतापूर्ण व्यवहार गर्नुभो कि गर्नुभएनदेखि लिएर हरेक क्रान्तिकारीले एक दिनमा आफू त्यो दिन कति क्रान्तिकारी भएँ, कति क्रान्तिकारी भइनँ भनेर छुट्याउन सक्छ।

यस्तो हो नि त क्रान्तिकारी पार्टी बनाउने कि कांग्रेस जस्तै, राप्रपा जस्तै भएर क्रान्तिकारी बनिन्छ भनेदेखि नि यो पार्टी किन चाहियो र ?

त्यसो गर्दा क्रान्तिलाई ग्यारेन्टी गर्नुपर्छ। ‘समाजवाद यसरी आउँछ भनेर यसरी, यसरी, यसरी, यसरी ल भन्नुस्, केही प्रश्न छ ?’ भन्दा ‘ल छैन, ठिक छ, बाटो उज्यालो छ, एकदम क्लियर छ। ल जाऔँ’ भनेर बनाउन सकिन्छ, बनाउनुपर्छ। यस्ता विषयमा यो छ, यो दस्तावेज केही बोल्दैन।

पुनर्गठन र नेतृत्व परिवर्तनको आवश्यकता

तेस्रो कुरा (मूलभूत रूपले यी दुइटा कुराले हामीलाई धेरै ठूलो कुरा गर्छ)। यी सैद्धान्तिक कुरामा हामीले खेलबाड नगरौँ। खेलबाड गरियो भने यो एकता धोका हुन्छ। अब यहाँ आएर जनतालाई धोका नदिऊँ, कार्यकर्तालाई धोका नदिऊँ ।

तेस्रो कुरा मैले सचिवालयमा पनि भनेको छु, कमरेड प्रचण्ड, कमरेड माधवकुमार नेपालसँग पनि भनेको छु कि लेनिन मरेपछि कम्युनिस्ट आन्दोलनमा यो ‘जनवादी केन्द्रीयता’ भन्ने अपमानमा मात्रै लागु भएको छ। नेतासँग जोडिएपछि त्यो ‘धोती लाउँछ’, कामै गर्दैन।

इतिहासभरि हेर्नुहोस् ! हामी महाकाली गर्‍यौँ, के गर्‍यौँ, दुनियाँ केके सम्झौता दुनियाँ गर्‍यौँ, पछि केके भा’छन्। नेता जहिले पनि बहुमतमा हुन्छ, जस्तोसुकै गल्ती गरे पनि, जस्तोसुकै अपराध गरे पनि। आज देउवा बहुमतमा, ओली अहिले पनि बहुमतमा, प्रचण्ड बहुमतमा। हामीमाथि प्रश्न नउठ्ने!

यो ‘जनवादी केन्द्रीयता’ भनेर जुन लेखेका छौं, त्यो भनेको के हो?

जेननजीका नाममा ‘डिस्कर्ड’ मा मान्छे जम्मा भएर ८,०००/१०,००० भएर प्रधानमन्त्री बनाउने जुग आयो । प्रजातन्त्रको त्यत्रो अभ्यास हुँदैछ। गर्ने हो भने अहिले पनि गर्न सकिन्छ- प्रत्यक्ष लोकतन्त्रको अभ्यास । अभ्यास गर्न सकिने यो प्रविधिको हिसाबले भन्ने हो भने- ‘ल यो मुद्दा आयो, यो मुद्दा के गर्ने?’ ‘जिल्लाभित्रका पार्टी सदस्यहरू ‘एलर्ट’ हुनुहोला, बैठक सुरु हुँदैछ’ भनेर, अनि त्यहाँ बैठकमा ‘ल यो एजेन्डामा कति जनाले भोट हाल्नुहुन्छ ? ल यो सदर, यो एजेन्डा आयो, के हुन्छ ? ल सदर’ भनेर भन्नुहुन्छ।

जिल्ला कमिटी ठूलो हुन पर्ने कुरै छैन। अब त तिनको बीचमा धेरै सानो ग्याप, ग्यापै छैन भन्दा पनि हुन्छ। हामीले भन्दा तलकाले कति जाने, जाने ? धेरै जानिसक्या छ, धेरै जानिसक्या छ। हामीलाई के लाग्छ भने, हामीले मात्रै जानेका छौं । त्यस्तो होइन । बदलिएको त्यही हो। अस्ति हानेको त्यसैले हो। त्यो जेनजी भनेको त्यही हो।

त्यो असंगठित छ तर भयंकर शक्तिशाली असंगठित हो । खेलवाड नगरौँ । क्रान्तिमा हामी त्यसरी गयौँ भने देवीलाई ल्याउने हो। देवीलाई ल्याएर फूलमाला लगाएर राम्रो कुरा हो, सम्मान गर्नुपर्छ। फूलमाला लगाएकी देवी अन्ततिर फूलमाला लगाउन जान्छिन्। धेरै पटक यहाँ १५ जना फूलमाला लगाउँछन्, तिनै १५ जना अर्कोतिर गएर फूलमाला लगाउँछन्। तल हाम्रो चुनावमा त्यस्तै हुन्छ नि ! त्यस्तै हुन्छ। यसर्थ, यो संगठनात्मक सिद्धान्तको बारेमा पनि सोचौं ।

आज कम्युनिस्ट आन्दोलनको बीचमा फेरि एकताको कुरा गर्दा हिजो किन एकताबद्ध भएका थियौं ? डीएनएमा के थियो ? विभाजित किन भएको थियो ? कमरेडहरूलाई थाहा छ।

हामीले सार्वजनिक रूपमा ‘संविधान र संसद्को रक्षाका लागि नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण गरेका हौँ भन्ने दाबी गरेका छौँ। तर यसको मिति र समयक्रमलाई गम्भीरतापूर्वक विश्लेषण गर्नु आवश्यक छ।

प्रश्नहरू स्पष्ट छन्: हामीले (ओलीविरुद्ध) मुद्दा कहिले दायर गर्‍यौं ? करिब दुई महिनाअघि। म स्वयं पनि त्यसको पक्षमा थिएँ।

  • सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापनाको फैसला र परमादेश कहिले जारी भयो ? २०७८ असार २८ गते।
  • हामीले नेकपा (एकीकृत समाजवादी) पार्टी कहिले गठन गर्‍यौं ? २०७८ भदौ ९ गते।

संसद् पुनर्स्थापना भएर संविधान जोगिएको सुनिश्चितता भएको डेढ महिनापछि मात्रै पार्टी गठन गरियो।

संसद् पुनर्स्थापनाको प्रक्रियामा हामी (कमरेड माधवकुमार नेपाल, कमरेड बेदुराम भुसाल, कमरेड वामदेव गौतमसहित) सुरुमा करिब १४–१५ जना नेताहरू एकै ठाउँमा थियौँ। संविधान जोगाउने भन्ने बृहत् उद्देश्य पूरा भइसकेपछि हामीले हाम्रो शक्तिलाई कसरी परिचालन गर्‍यौं र के–कस्ता परिणाम हासिल गर्‍यौं ?

हामीले यो अवस्थाको गहन मूल्याङ्कन गर्नुपर्दैन ? यसको जिम्मा हामीले लिनुपर्दैन ?

त्यत्रो पार्टी फोडेको हो नि हामीले। त्यसपछि के गर्‍यौं ? मैले कमरेड अध्यक्ष, देउवा, प्रचण्ड, उहाँका टोलीहरूको अगाडि भनेको छु कि- ‘नेकपा (एमाले) फुटाएर त्यो फुटाइएको चोइटालाई तपाईंहरूले प्रयोग गर्ने अर्थमा तपाईंहरूले बुझ्नुभो, गलत बुझ्दै हुनुहुन्छ।’

यही भाषामा भनेको छु, ‘गलत बुझ्दै हुनुहुन्छ है तपाईंहरूले।’

तर, परिणाम त त्यस्तै भएको छ नि ! मरिसकेको कांग्रेस (राजनीतिक शब्द नहोला, राजनीतिक अर्थमा मरिसकेको कांग्रेस) ब्युँझिएर आयो। त्यसपछाडि हामीले के गरेका छौँ ?

वाम आन्दोलनमा यसको कुनै दिन कतै अदालतमा मूल्याङ्कन हुने छ कि छैन ?

कांग्रेस ब्युँझिएर कहाँ गयो ? हामी यहाँ छौँ। एमालेमा त्यो दक्षिणपन्थ त्यसरी चाहिँ चुलिँदैछ ।

जबकि त्यहाँ बराबर थियौँ । एमाले २०७१ देखि २०७४ सम्म ओलीले कुनै ठूलो निर्णय किन गर्न सकेन ? कहिलेदेखि गर्न थाले ? त्यही एकताका नाममा ९ जनाको सचिवालय बनायो, त्यहाँ पनि दुई जनाले निर्णय गर्ने बनाएपछि सकियो त्यसपछाडि । दुई जना मिलुन्जेल चल्यो, नमिल्दा चलेन । त्यही भएको हैन त्यहाँ ? त्योभन्दा अगाडि ओलीले केही गर्न सकेका थिए ? त्यहाँबाट ओलीले सुरु गरे। ओलीले शक्ति त्यहाँबाट पाए।

कहाँबाट ? त्यो एकताबाट दक्षिणपन्थले डरलाग्दो घनघोर व्यक्तिवादले शक्ति प्राप्त गर्‍यो । हेर्नुस् है, एकताले कसले के प्राप्त गर्‍यो ? के पनि प्राप्त गर्छ ?

ओली यस्तो ओली थिएनन्। हामीले कचाकुचुक पारेकै थियौँ। त्यतिखेरको स्थायी कमिटीका केही कमरेड छौं हामी। बहस हुन्थ्यो। मैले त्यतिखेर मैले भनेको ओलीलाई- तपाईं मान्छेको रगत खकार कसरी जाँच गर्नुहुन्छ र ?

त्यो तहको बहस थियो त्यहाँ। यो कुराको कुनै मूल्याङ्कन नगरी अघि मैले भने नि- माओवादी किन यहाँ माओवादी भएर हिँडेको छ ? मधेश यात्रा गर्छ, यतापट्टि काठमाडौंमा ढोका खुलेपछि दौडिहाल्छ। के हुँदैछ यो माओवादी ? कता के गर्दैछ ?

माओवादीको कमिटी हो, हाम्रो कमिटी हो, अरूको कमिटी हो भन्ने कुराको साङ्गोपाङ्गो मूल्याङ्कन गर्‍यौं भने यो बेला नेकपा (एकीकृत समाजवादी) का लागि असाधारण एउटा अवसर छ। यो अवसर हो । माओवादी पनि ओरालोमा, हामी पनि ओरालोमा, अनि उकालो लाग्छौं रे !

यात्रा, राजनीति, सिद्धान्त, बाटो, संरचना सबै ओरालोको छ। अनि दुइटा मिलेपछि उकालो लागिन्छ कि झन् बढी गुरुत्वले तलतिर तान्छ ? सोचौं। एकताले मात्रै शक्ति प्राप्त हुँदो रहेनछ । एकताले अर्कैले शक्ति प्राप्त गर्दोरहेछ ! यस अर्थ, हाम्रो बीचको एउटा समग्र मूल्याङ्कन हुनुपर्छ । हाम्रै पार्टीको पनि मूल्याङ्कन हुनुपर्छ । किन हामी यस्तो ओरालो लाग्यौं ?

त्यसैले आज हामीले खोजेको पुनर्गठन एउटा व्यक्ति हटाउने भन्ने अर्थमा मात्रै होइन । तर व्यक्ति यस्तो अवरोध बन्यो आज कि समाजले इन्कार गरिसकेको छ। मैले त्यही भएर भनेको थिएँ- प्रचण्ड कमरेड, माधव कमरेडको अगाडि भनेको छु- तपाईंहरूले छोड्नुहोस्, भूमिका बदल्नुहोस्। त्यो भूमिकामा सान्दर्भिक हुनुहोला। यो भूमिकामा अब समाजले मानेन के गर्नु हामीले ? हामीले त मानेकै हो, कार्यकर्ताले त मानेकै हो, सदस्यले त मानेकै हो, तर समाजले मानेन कमरेड, मानेन।

यसर्थ यसमा तपाईंहरूले सोच्नुहोस्। पुनर्गठन सुरु गरौँ। पुनर्गठन भनेको यो राजनीतिको जिम्मा लिएको पहिलो तहको नेतृत्वले तत्काल राजीनामा गर्नुहोस्। मैले यही भनेको थिएँ। यो वार्ता सकिनेबेला मलाई एकचोटि बोलाइएको थियो, त्यतिखेर मैले उहाँहरूलाई यही भनेको थिएँ- बाटो खोल्नुहोस्, तपाईंहरू। हामी लैजान्छौँ। सैद्धान्तिक रूपले हामी योग्य छौं।

मैले भनेँ नि- हामीले प्रस्ताव गरेका चाहिँ विचारहरू आज सबै पार्टीमा अभ्यास भइरहेका छन् । अनि हामी जुनियर हौँ ! तपाईंहरूको कुन विचारले काम गर्दैछ र हाम्रो कुन विचारले काम गर्दैछ ? लौ हेरौं त ! सोचौं।

अब सोच्न तयार भयौँ भने, साँच्चै नयाँ विषयमा हामी जाने छौँ। नयाँ सिद्धान्त हामीले निर्माण गर्ने छौँ, र कम्युनिस्ट आन्दोलनको बृहत् वाम एकताका लागि साँच्चिको क्रान्तिकारी आधार तयार हुनेछ र हामी अगाडि जानेछौँ। यो हाम्रो लागि अवसर हुनेछ, यो कुरालाई ध्यान दिऊँ।

पार्टी विभाजनको औचित्य

लगानीको औचित्य लगानीले निश्चित गर्छ कि आम्दानीले गर्छ ? लगानी कति औचित्यपूर्ण थियो भनेर कहाँ देखिन्छ ? यहाँ घाटै–घाटा छ।

लगानी गर्ने कि नगर्ने भन्ने कुरा त नाफा–घाटाले गर्छ होला नि त औचित्यको पुष्टि। नीतिको औचित्य कतिखेर हुन्छ ? त्यो योजना होला, परिणाम होला। तब न त्यो नीतिको औचित्य देखिन्छ।

नीति बनाएको छु । हेर त यहाँ मैले यतिवटा किताब छापेँ, यसो यसो भनेको छु भनेर हुन्छ ? कतिवटा छन् किताब यस्ता ? नयाँ नेपालका प्रारूप कति जनाले लेखे होलान् अस्ति ०६२/६३ पछाडि ? किन भएन ? त्यसरी मात्रै हुँदैन । यो औचित्य–अनौचित्यको कुरा ‘मैले यो गरेको थिएँ’ भनेर मात्रै हुँदैन। त्यसको परिणाम देखिनुपर्छ।

परिणाम के हो ? हिजो ठूलो स्वरका साथ ‘पुनर्गठन र रूपान्तरण’ भनेको यो एकीकृत समाजवादी आज हरेकले ‘यो पार्टी अब चल्न सक्दैन, लगेर बुझाइदिनु’ भन्नुपर्ने यो भयंकर अपमानको ठाउँमा किन आयौँ हामी ? 

घनश्याम भूसालको के दोष हो ? खोजौं, कमरेड माधव र झलनाथ खनालको के दोष हो खोजौं ।

तर, यो तहमा कसैका प्रति पनि व्यक्तिगत रूपमा आग्रह नराखी, तर यो मर्मका साथ खोज्यौं भने धेरै कुरा फेला पर्छ, धेरै कुरा फेला पर्छ।

अन्तिममा, यो २ गतेको होला, यो जुन एकता आदि इत्यादिको कुरा सुरु भयो। म सुरुदेखि नै भन्दैछु, यो गलत हुँदैछ है, यो प्रदेश प्रदेशमा भेला गरेको छ। अनि हाम्रो कमरेडहरू, प्रदेशका कमरेडहरू, माओवादीको कमरेडहरूलाई राखेर कमरेड प्रचण्डले ‘फलानो ठाउँका ठिक छन्, फलानो ठाउँका ठिक छैनन्’ भनेर माधव कमरेडका अगाडि बोल्दैछन्। मैले माधव कमरेडलाई दुई–तीन पटक भनेँ- कमरेड, यो विधि विपरीत छँदैछ, यो अनैतिक पनि हुन्छ है हाम्रा लागि।

उन (माओवादी) का समेत कार्यकर्तासँग हाम्रा कार्यकर्ता राखेर प्रचण्डले ‘त्यहाँका ठिक छन्, उहाँका बेठिक छन्’ भनेर गलत कुरा भयो भन्न थालेदेखि नै म क्रमशः यो कुराबाट बाहिर हुँदै गएँ । २ गतेपछिका तमाम निर्णयमा म बाहिरिएको छु। मलाई केही भन्नु छैन। म अन्त गएर पनि भन्दिनँ फेरि।

म पार्टी महासचिव छु, मलाई अध्यक्षले बहिस्करणमा पारे भनेर म कहाँ चिच्याउँदै जाऔं ? तर हामीले यो एकताका लागि जेजे गर्‍यौं, यहाँभित्र अपनाइएको प्रक्रियाले पनि देखाउँछ- अब के हुनेवाला छ । 

लेखेर राख्नुस् कमरेड। म विश्वासका साथ भन्दै छु। यो दुर्भाग्य अवसादपूर्ण हुँदैछ, ग्लानिपूर्ण हुँदैछ ।

माओवादी भित्रका गुटबन्दी, त्यहाँको त्यो हाम्रोभन्दा अर्कै हिसाबले आएको माओवादी (मैले भने, मैले त्यसलाई अहिले गाली गर्नका लागि हो भन्दै छैन) लाई गाली गर्न, विरोध गर्नका लागि भन्दै छैन। एउटा क्रान्तिकारी, ऊ अलि माओवादी अलि बढी परिवर्तनप्रति, क्रान्ति मुद्दाका प्रति आम रूपमा माओवादीले राम्रो सुन्छ, त्यो धेरै राम्रो कुरा हो। हामी एमाले ‘स्कुलिङ’ बाट आएका मान्छे अलि ‘लेजी’ छौं। त्यो कुरा, परिवर्तन, क्रान्ति, यो कुरा कम सुन्छौँ। यी सबका बावजुद आज माओवादी जहाँ छ, त्यो पार्टी जस्तो छ, त्योभित्रका गुटबन्दी जसरी चलिरहेका छन्, यो गुटबन्दीमा यत्तिकै विचार नगरीकन लगेर हालिदियो भने एक दुई जना कमरेडहरू अलिकति एकता देखाउन केही साथीलाई टिकट दिने र अरूको सत्यानाश बाहेक केही पनि हुनेछैन ।

त्यो ग्लानिपूर्ण हुनेछ । त्यो अवसादपूर्ण हुनेछ । त्यो धेरै अपमानपूर्ण हुनेछ । यो सोचिदिनु होला ।

(एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा व्यक्त विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?