+
+
Shares

किमाथांका : चिनियाँ वैभव चियाइरहेको सीमान्त गाउँ

छेवैमा चीनको वैभव छ, वारि नेपालमा अभाव । व्यापारीको कुरा सुनेपछि तत्क्षण मनमा लाग्यो- छिमेकी जतिसुकै सुविधासम्पन्न होस्, संकटको बेला साथ पाउन मुश्किल हुने रहेछ ।

विपिन श्रीस विपिन श्रीस
२०८२ भदौ ११ गते २१:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी करिडोर तीन देश जोड्ने सडक भए पनि यसको सबैभन्दा बढी आवश्यकता नेपाल र नेपालीलाई नै छ ।
  • दोर्जे भोटेले भने- किमाथांकातिरबाट पनि ट्रयाक खोलिएको छ, तर गाडी गुड्न मिल्ने छैन । गाडी चल्ने भयो भने त व्यापारीलाई बोलाउनै पर्दैन, आफैं आउँछन्, चहलपहल हुन्छ ।
  • खाँदबारी किमाथांका सडक ब्रेकथ्रु भनेर खुशी मनाए पनि पूरै खुशी हुने स्थिति छैन ।

११ भदौ, संखुवासभा (किमाथांका)। पैदल यात्राको ११३औं दिनमा साउन १९ गते किमाथांका पुगें । संखुवासभाको खाँदबारीदेखि किमाथांकासम्म उत्तर–दक्षिण कोशी करिडोरको लम्बाइ १६२ किलोमिटर छ ।

कोशी प्रदेश अन्तर्गत चीनसँगको सीमावर्ती क्षेत्र किमाथांकाबाट भारतसँगको सीमावर्ती क्षेत्र जोगवनीसम्म पुग्दा यसको लम्बाइ ३९० किलोमिटर पुग्छ । आर्थिक वर्ष २०६५/६६ बाट शुरु भएको योजना २०७९/८० मा सक्ने लक्ष्य राखिएको थियो, तर सकिएन ।

आ.व. २०८७/८८ सम्म सक्ने संशोधित कार्यतालिका छ । कामना गरौं समयमै पूरा होस् । राष्ट्रिय गौरवका आयोजनाहरूको संक्षिप्त परिचय तथा आ.व. २०७८/७९ सम्मको प्रगति विवरण अनुसार आयोजनाको लागत १६ अर्ब २० करोड रुपैयाँ अनुमान गरिएकोमा संशोधित अनुमान ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।

नेपाल र चीनको सिमाना १,४१४ किलोमिटरभित्र थुप्रै चल्तीका तथा परम्परागत नाका भए पनि उत्तर–दक्षिण कोशी करिडोरलाई अहिलेसम्म चीन, नेपाल र भारत गरी तीन देश जोड्ने छोटो मार्गको रूपमा यसलाई लिइएको छ । मैले अझ छोटो बाटो पहिल्याएँ सडकका धेरै घुम्ती घुमिनँ । मान्छे हिंड्ने गोरेटो पछ्याएँ, गन्तव्यको आधाउधी जस्तो ।

एकल पदयात्राको १०६औं दिनमा सिलिचोङ गाउँपालिका हुँदै संखुवासभा प्रवेश गरे पनि कोशी करिडोरमा भने अरुण तेस्रो जलविद्युत् परियोजनाको पावर हाउस निर्माणस्थल पुखवा दोभान हुँदै मकालु गाउँपालिकाको नुम पुगेपछि पाइला टेकें ।

गाडी चल्ने ठाउँहरूमा प्राय: मानिसहरू हिंड्न छोडेका छन् । गाडी नगुड्ने/नपाइने घुम्तीयुक्त लामा सडकको विकल्पमा पुरानै गोरेटो बाटो प्रयोग गर्छन् ।

सडक खन्दा खलबलिएको भूगोलले कुनै कुनै ठाउँमा पुरानो बाटोको यात्रालाई पनि थप जोखिमयुक्त बनाएको छ ।

अरुण तेस्रो पावर हाउस निर्माण स्थल

नुमदेखि अरुण तेस्रो जलविद्युत् परियोजनाको बाँध निर्माणस्थल र त्यहाँदेखि माथि हेदाङ्नागढीसम्म घुम्तीहरू धेरै भए पनि गढीदेखि भोटखोला गाउँपालिकाको वरुणसम्म सडक अधिकांश भाग तेर्सो नै छ ।

म नुमबाट वरुण पुग्नुअघि समाटारमा बास बसेको थिएँ । वरुणसम्मका थुप्रै खोलामा पुल निर्माण गरिसकिएको छ । त्यसैले सहज देखिन्छ ।

वरुणदेखि हटिया जाने दुई विकल्प थिए : सडकै सडक र तल्लो बाटो । तल्लो बाटो जोखिमयुक्त छ, चिप्लियो कि अरुणमा पुगिन्छ, त्यसपछि कहाँ पुर्‍याउँछ ! अरुणको कुरा, माथिबाट ढुंगा आउन पनि सक्छ । मलाई सचेत गराइएको थियो । तर, सुत्केरी महिला सहित अरू पनि त्यही बाटो जाँदै छन् भन्ने सुनेपछि अरु हिंड्ने बाटो म किन नहिंडू भनेर तल्लै बाटो लागें ।

किमाथांका जाने जीर्ण सडक

अरुण किनारको जोखिमयुक्त बाटो हिंड्ने जो–कोहीलाई बताउनुपर्दैन, स्वत: थाहा हुन्छ, सुरक्षित यात्राको लागि पनि कोशी सडकको महत्व कति छ ?

वरुणबाट करिब साढे ३–४ घण्टाको यात्रापछि भोटखोला गाउँपालिकाको केन्द्र हटिया पुगें । साँझपख पालिका अध्यक्ष वाङ छेदर लामासँग भेट भयो । भोटखोलाका अध्यक्षसँग किमाथांकाको बारेमा नसोध्ने को नै होलान् र ?

‘किमाथांका नाका बाह्रै महिना चल्ने नाका हो, हिउँ पर्दैन’, उनले नाकाको महत्व दर्शाए । उनले एकीकृत चेक पोस्ट (इन्टिग्रेटेड चेक पोस्ट आईसीपी)को माग गरिरहेको पनि जानकारी दिए । उनको मागमाथि के कारबाही भइरहेको छ, माथिले नै जानुन् !

एक डेढ दशकमा सीमावर्ती चिनियाँ क्षेत्रमा भएको विकासका साक्षी अध्यक्ष लामाले हाम्रो कामगराइप्रति असन्तुष्टि पोखे । ‘१०–१५ वर्ष पहिले उनीहरूलाई हामी पाल्थ्यौं, अहिले उनीहरूले हामीलाई पाल्छन् ।’

मैले मनमनै महाशक्ति चीनको शक्ति सम्झें र सोधें, ‘अध्यक्षज्यू, हाम्रो सोच नभएको कि स्रोत… ?’ मेरो प्रश्न सकिन नपाउँदै उनको जवाफ आयो– ‘बेहोरा । हाम्रो बेहोरा ठिक छैन । हेर्नुस् त दुई उप–प्रधानमन्त्रीको क्षेत्रमा ।’ उनले यो वर्ष उपप्रधानमन्त्रीहरूका जिल्लामा परेका बजेटबारे संकेत गरे ।

हटिया गाउँ

उनले मलाई मेरो किमाथांका जाने योजना पुनर्विचार गर्न आग्रह गरे । जाने भए सुरक्षाकर्मीसँग समन्वय गर्न सुझाव दिए । हामी एउटै घरमा बास बसेका थियौं । मैले सोही घरमा बस्ने थिजुङलाई सोधें, ‘त्यो बाटो अरू मान्छे हिंड्छन् कि हिंड्दैनन् ?’ उनले भनिन्– ‘काम नपरी हिंड्दैनन् । तर, भोलि लिंगमतिरबाट स्वास्थ्यकर्मीहरू आउँदैछन् रे !’

उनले त्यति भनेपछि मनमनै सोचें, जब त्यहाँका मानिसहरू बर्खायाममा कठिन पदयात्रा गर्न बाध्य छन् भने म त्यो बाध्यता किन नबुझूँ ? म अनुकूल मौसममा मन बहलाउन निस्किएको थिइनँ, होइन ।

त्यही प्रतिकूलतालाई अनुकूलतामा कसरी बदल्न सकिन्छ भन्ने बुझ्न निस्किएको हुँ, आफ्नो उद्देश्यमा अडिग रहें । त्यो साँझ पनि झरी पर्‍यो । यो मौसम झरीको, झरनाको ।

भोलिपल्ट भोटखोला गाउँपालिकाको कार्यालय पुगें । अध्यक्ष लामा लगायत अन्य व्यक्तिहरूसँगको भलाकुसारीपछि कोठामा फर्किएर किमाथांका जाने तयारी गरें ।

दिउँसोको एक बजिसकेको थियो । ठूलै पानी पर्‍यो । पानी रोकिएपछि दुई बजेतिर किमाथांकाको लागि हिंडें । केही सय मिटर कोशी सडक हिंडेपछि फेरि गोरेटो बाटो लागें ।

बाटोमा होङगोङ जाने मानिसहरू भेटिए । हटियाबाट, त्यो पनि दिउँसो हिंडेर एकै दिनमा किमाथांका त म पुग्ने थिइनँ । तर, लिंगमसम्म पुग्छु कि भन्ने थियो । तर, बाटोमा भेटिएका मानिसहरूले म होङगोङसम्म पुग्न सक्ने प्रक्षेपण गर्थे ।

होङगोङ र लिंगम जाने बाटो छुट्टिने ठाउँमा एउटा गोठमा एक ज्येष्ठ नागरिकले खाजा पनि बेच्नु हुँदोरहेछ । हामी खाजा खाँदै थियौं । त्यतिकैमा युवतीहरूको एक टोली त्यहीं आइपुग्यो । थिजुङले भनेको स्वास्थ्यकर्मीको समूह शायद त्यही थियो ।

गोठ

म किमाथांका जाने भन्ने थाहा पाएपछि बाहिर उभिएको मैले सुन्ने गरी एक युवतीले ठूलो स्वरमा आदेशात्मक आग्रह गरिन््, ‘हामीसँग हिंड्नुस् । लिंगमबाट जान छिटो हुन्छ ।

होङगोङबाट एक्लै जाँदा हराउन सक्नुहुन्छ । लिंगम पुगेपछि मोटर बाटैबाटो छ ।’ ‘तपाईंहरूसँग हिंड्न सक्दिनँ हौ, तपाईंहरूले छोड्नुहुन्छ मलाई’, मैले आफ्नो मनस्थिति बताएँ । फेरि उही स्वर सुनियो, ‘तपाईंलाई लतारेर, घिसारेर भए पनि पुर्‍याउँछौं । भोटेनी हो, धोका दिन्नौं, हामी जहाँ बस्छौं, त्यहीं राख्छौं ।’

एक दिदीले हिंड्ने बाटोको बारेमा बताइन् । बहिनीले हिंड्दै गर्न भनिन् । यत्तिको ढाडस पाएपछि के चाहियो र ? झोला बोकेर बाटो लागें । झरी–बादल नभनी आफ्नो ज्यानको जोखिमको पर्वाह नगरी अरूको स्वास्थ्यको जोखिम कम गर्न सेवा गर्न हिंडेका स्वास्थ्यकर्मीहरूका लागि छ कोशी करिडोरको महत्व ।

झरी परिरहेकै थियो । जुकाको बिगबिगी । त्यतिका जुकाले त मेरो जीवनभर कहिल्यै पनि खाएका थिएनन् । ठाउँ–ठाउँमा उभिंदै नुन र स्यानिटाइजरले जुका हटाउँदै हिंड्यौं । राति आठ बजेतिर बास बस्ने ठाउँमा पुग्यौं, लिंगम ।

बिहान ९ बज्न लागेको थियो, किमाथांकाको बाटो लागें । च्याम्ताङमा खाना खाएर हिंडिरहेको थिएँ, बाटोमा नेपाली सेनाको टोलीसँग भेट भयो । केही पाइला सँगै चालेपछि म अघि लागें । नेपाली सेनाले नै फुटाएको हो कठोर चट्टान र बनाएको हो सहज बाटो ।

फर्किने बेला नेपाली सेनाले जिम्मेवारी लिएको हालका आयोजना प्रमुखलाई भेटें ।

साढे ३ बजेतिर किमाथांका इलाका प्रहरी कार्यालय पुगें । त्यहाँ खाजाको रूपमा ढिंडो खायौं । ‘प्रहरी मेरो साथी भनेको साँच्चिकै रहेछ’, मलाई ढिंडो दिने प्रहरीसँग ठट्टा गरें । त्यहाँबाट एक जना शेर्पा दिदीसँग ओरालो लागें ।

इलाका प्रहरी कार्यालय बस्तीदेखि किन यति टाढा राखेको होला भन्ने सोच्दै थिएँ । अरुण नदी वारि म । खोला पारि देखिएको गाउँ त चीनको डेन्दाङ पो रहेछ । पहिले नेपालकै तर, सीमा निर्धारण गर्दा नेपाली पक्षको कमजोरीले गर्दा उता परेको भन्ने त्यहाँबाट फर्किएपछि पढें । के कति सत्य हो ? परीक्षण गर्न सक्ने अवस्थामा म छैन ।

चीनको डेन्दाङ गाउँ

कोदो बारीको मनमोहक दृश्य हेर्दै शेर्पा दिदी र म बस्तीतिर ओर्लिंदै थियौं, माथि उक्लिंदै गरेको प्रहरीको टोलीले मैले क्यामेरा भिरेको देखेर चीनपट्टि फोटो खिच्दा ध्यान दिनुपर्नेमा सचेत गरायो । प्रहरीको सुझावलाई बेवास्ता गर्न पनि चाहिनँ ।

त्यसपछि एक किसिमले फोटो खिच्ने जाँगर कम भयो । शेर्पा दिदीले म बस्ने ठाउँमा पुर्‍याइदिनुभयो र खाँदबारी जाँदै गरेका आफ्नो बाबुहरूलाई बाटोमा भेटे/नभेटेको सोध्नुभयो ।

घरबाट निस्किएको सन्तान सुरक्षित तवरले गन्तव्यमा पुग्छ कि पुग्दैन भनी चिन्तित आमाहरूलाई छ कोशी करिडोरको महत्व ।

दोर्जे भोटे अंकल (जसको घरमा म बसें) ले प्रधानमन्त्री, मन्त्री पदधारीले किमाथांका आएको तर, समयमा काम सक्न ध्यान नदिएको भन्दै आक्रोश पोखे ।

किमाथांकातिरबाट पनि ट्रयाक खोलिएको छ, तर गाडी गुड्न मिल्ने छैन । ‘गाडी चल्ने भयो भने त व्यापारीलाई बोलाउनै पर्दैन, आफैं आउँछन्, चहलपहल हुन्छ’, उनले थपे ।

‘नेताहरूलाई हेलिकप्टरबाट उडाएर होइन, गाडीबाट गुडाएर पनि होइन, हिंडाएर ल्याउनुपर्ने अनि बल्ल बुझ्थे कि यहाँको बाध्यता’, स्थानीय एक युवा व्यापारीले भने ।

किमाथांका जाने सडक

खाँदबारी किमाथांका सडक ब्रेकथ्रु भनेर खुशी मनाए पनि पूरै खुशी हुने स्थिति छैन । हाम्रो भूगोल र मौसम नै यस्तो छ, हामीलाई सुन्दर लाग्ने खोला, नाला, झरनाले नै हामी हिंड्ने सडक बगाइदिन्छन् ।

‘कोरोनाको बेला यहाँ बिजोग थियो । बाटोमा तपाईंले देख्नुभयो होला नि घरको ढोकामा ताला लागेको । त्यही कोरोनाको बेला दु:ख भएर बसाइँ गएका हुन्’, अर्का युवा व्यापारीले कोरोना कहर सम्झाए, ‘पहिलेको जस्तो छैन अहिले । युवाहरू देख्नुभयो त ? सबै बुढाबुढी मात्रै छन् ।’

 बुढाबुढीलाई आफ्नो भूमि र युवाहरूलाई आफ्नो भविष्य प्यारो लाग्दो रहेछ । ‘हाम्रो पुर्खाहरूलाई काठमाडौं किन मन परेनछ’, मलाई ढाडस दिने टोलीकी एक युवतीले व्यङ्ग्य गर्दै भनिन् । बसाइँ जान बाध्य युवाहरूलाई घर फर्काउनका लागि महत्वपूर्ण हुनेछ कोशी करिडोर ।

चीन तर्फका भवनहरु

छेवैमा चीनको वैभव छ, वारि नेपालमा अभाव । ती व्यापारीको कुरा सुनेपछि तत्क्षण मनमा लाग्यो, ‘छिमेकी जतिसुकै सुविधासम्पन्न होस्, संकटको बेला साथ पाउन मुश्किल हुने रहेछ ।’

कोरोना कहर होस् या सदियौं अघि नेपाल र तिब्बत बीच मेल–बेमेल हुँदा पनि अरुण त निर्वाध छ । अरुण नदीको रूपमा बेरोकटोक नेपाल पस्छ ।

नागरिकको रूपमा हामी अनुमति विना एकअर्काको देशमा पाइला टेक्न सक्दैनौं । शायद देश रहेसम्म मानवताभन्दा माथि नागरिकता रहिरहन्छ । आफ्ना नागरिकलाई मानवीय सुविधा उपलब्ध गराउनु देशको पहिलो दायित्व हो ।

कोशी करिडोर तीन देश जोड्ने सडक भए पनि यसको सबैभन्दा बढी आवश्यकता नेपाल र नेपालीलाई नै छ ।

नेपालतर्फको गाउँ

राष्ट्रिय गौरवका आयोजनाहरूका संक्षिप्त परिचयमा पनि आयोजनाको लक्ष्य स्पष्ट पारिएको छ, ‘१ नं. प्रदेश अन्तर्गत भारतसँगको सिमाना जोगवनीदेखि चीनसम्मको सिमाना किमाथांका सडक त्रिदेशीय (चीन, नेपाल, भारत) व्यापारिक मार्गको रूपमा सञ्चालन भई आर्थिक क्रियाकलाप बढाई राष्ट्रकै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने, आन्तरिक तथा बाह्य पयर्टन प्रवर्द्धन गर्ने, यस क्षेत्रमा उत्पादित कृषिजन्य पदार्थलाई सजिलै बजारसम्म पहुँच गराई अन्य आर्थिक क्रियाकलाप बढाई राष्ट्रको उन्नतिको लक्ष्य हासिल गर्ने ।’

आयात निर्यात व्यापारको राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्व आफ्नो ठाउँमा छँदैछ । विषम परिस्थितिमा पनि नेपाली भूमिमा सीमास्तम्भ जस्तै खडा रहिरहेका सीमावर्ती नेपालीलाई नेपाल सरकार पनि छ है भन्ने अनुभूत गराउन, आत्मनिर्भर बनाउन, नेपालीलाई नेपाली भएकोमा गर्व गर्न सक्ने बनाउन कोशी करिडोरको ज्यादा महत्व छ ।

पहिले नेपालीलाई नेपालीसँग जोड्नुपर्छ । नेपाली नेपाली बीचको दूरी छोट्याउनुपर्छ, सहज बनाउनुपर्छ । जतिसुकै नजिक भए पनि देश भन्ने अवधारणा रहेसम्म अर्को देशसँगको सम्बन्ध एकतर्फी चल्दैन । कुनै विपत्तिले दुई देश बीचको नाका बन्द भयो भने पनि आफ्नो नागरिकको खाद्य सुरक्षा र राष्ट्रिय सुरक्षाकै लागि सडकको महत्व छ । पुलको नाम ‘मितेरी’ भए पनि विपत्तिको बेला ‘जोडौंला फेरि’ वाला हुने रहेछ ।

व्यापार गर्न जान लागेकाहरु

कोशी करिडोरले मकालु आधारशिविर लगायत पर्यटकीय क्षेत्रको प्रवर्द्धन, अरुण उपत्यकामा उत्पादित अलैंची, जडीबुटी लगायत कृषि उपजको पारवहनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग समेत निर्माण भइसकेको अवस्थामा यसले विशेषगरी पूर्वी क्षेत्र र समग्रमा मुलुककै आर्थिक समृद्धिको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । एकदेशीय निर्भरता कम गर्न सघाउ पुर्‍याउने विश्वास गर्न सकिन्छ ।

सडक पूर्वाधारको विकास भएपछि अहिले मानवीय श्रमद्वारा नाकालाई जीवन्त बनाइरहेका स्थानीय साना व्यापारी, त्यसमा आश्रित मजदुरहरूको हितलाई पनि रक्षा गर्ने गरी नीतिनिर्माण गरिनु आवश्यक छ ।

****

किमाथांका पुगेको भोलिपल्ट साउन २० गते बिहान सशस्त्र र नेपाल प्रहरी सहित व्यापारी र भरियाहरूको टोलीसँग म पनि कामा खोलाको मितेरी पुलसम्म पुगें ।

किमाथांका नाका चीन प्रवेश गर्ने पास भएका नेपालीका लागि आंशिक खोलिएको रहेछ, बिहान साढे ८ बजेदेखि दिउँसो दुई बजेसम्म । चिनियाँ पक्षले आफ्नो देश प्रवेश गर्ने हरेक व्यक्तिको विवरण राखेको देखें । नेपाली व्यापारीले कोदो, स्याउको धुलो, जडीबुटी लगायत निर्यात गर्ने र दैनिक उपभोग्य सामान चाउचाउ, पेय पदार्थहरू आयात गर्दा रहेछन् । मान्छेले बोकेर गर्ने व्यापारको परिमाण कति नै हुन्छ र ?

देश भनेको के हो भन्ने विश्वविद्यालयमा अध्ययन गरेका थियौं, गहिरो अनुभूति किमाथांका नाकामा पुगेर गरें । राजनीतिक व्यवस्थाको फरकपन महसुस गरें । कठिन भूगोलमा पनि राज्यको उपस्थितिलाई प्रभावकारी कसरी बनाउँदा रहेछन् भन्ने देखें ।

किमाथांका क्षेत्रमा नेपाल र चीनका बस्ती

सीमावर्ती क्षेत्रमा जडान गरिएका शक्तिशाली सीसीटीभीको संख्याले उनीहरू आफ्नो देशको राष्ट्रिय सुरक्षाप्रति कति संवेदनशील छन् भन्ने बुझ्न सकिन्छ । उस्तै भूगोल, भाषा, संस्कार र संस्कृति उस्तै छ । अब हामीले सडक पूर्वाधारको भरपर्दो व्यवस्थासँगै अन्तर्राष्ट्रिय नाकाको लागि आवश्यक सबै पूर्वाधारको व्यवस्था गर्नु जरूरी छ । सकेसम्म बस्ती हुँदै घुमाइएको सडकलाई अरुण किनारैकिनार तेर्सो हुने गरी खोल्न सके राम्रो हुन्छ ।

म किमाथांका भएको बेला बाबाले फोन गर्नुभएको रहेछ । तर नेपालतर्फको टावर कमजोर छ । बरु चीनको टावरले टिपेछ । चिनियाँ भाषामा खै के–के भनेछ । मोबाइलमा पनि चिनियाँ समय देखाइदिने । डेटा पनि रोमिङ हुने । म एकाध पटक झुक्किएँ पनि ।

फर्कंदा च्याम्ताङ, गोला र नुममा बास बसेर चिचिला र खाँदबारीतर्फ यात्रा गरें । सडकको स्तरवृद्धि गर्ने काम भइरहेको पाएँ ।

अरुण नदी किनारैकिनार यात्रा गर्दाको एक अनुभूति रोचक छ । कैयौं कञ्चन झरना, वरुणको निर्मल झोक्का, सफा सभा र संखुवा खोलाहरूले आफ्नो अस्तित्व अरुणमै मिलाउँछन्, अरुणको आकार बढाउँछन् । यो मौसममा अरुण नदी चीनबाटै धमिलो रङमा आउँदो रहेछ । बर्खामा पलाएका झरनाले अरुणको रङ बदल्न सक्दैनन् । यद्यपि, उनीहरूको आफ्नै सौन्दर्य हुन्छ ।

 


तस्वीरहरू : विपिन श्रीस

लेखक
विपिन श्रीस

श्रीस ७५३ पालिकाका केन्द्र पुग्ने लक्ष्य लिएर हिंडेका पैदलयात्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?