+
+
Shares
कुइनेटो :

माओवादी आन्दोलनको इपिसेन्टरमा तीज विस्तारको कथा

तीज विस्तार हिन्दु संस्कृति नपुगेका प्रकृतिपूजक मगरबस्तीमा हिन्दु संस्कृति विस्तारकै अंग थियो कि के थियो ? होइन भने किन विस्तार गरे ? किन माओवादीले मगर लगायतका आदिवासी बस्तीमा तीज विस्तार गरे ? के थियो त्यसको अन्तर्यमा ?

नवीन विभास नवीन विभास
२०८२ भदौ १० गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादीले एकातिर तीज र महिला मुक्तिलाई जोडेर भाषणबाजी र गीत गाइरह्यो अर्कोतिर, तीजमा गीत गाउँदै पार्टी विस्तार गरिरह्यो।
  • पूँजीवादी उपभोक्तावादी संस्कृतिको रूपमा नेपाली बजार नै तीज भयो। त्यही बजारबाट रोल्पाका मगर समुदायमा तीज झन् विस्तार भयो।
  • नेपाली महिलाको महान् पर्व भन्दाभन्दै यस्तो भाष्य बन्यो कि, तीज नमनाउने त नेपाली महिला नै होइनन्। तथाकथित मूलधारे संस्कृतिको प्रभुत्वले थिचेर, किचेर तीज नमनाउने महिलालाई आफू नेपाली महिला हो कि होइन भनेर प्रश्न उठ्ने परिवेश बन्यो।

गाउँ–शहरमा तीजका गीत घन्किएका छन्, तीज आउनुअघि नै आफ्ना गच्छेअनुसार शुरु भएका पार्टी प्यालेस, घर र रेष्टुरेन्टका दर खाने कार्यक्रम अन्तिम चरणमा छन्। अहिले सडक र सामाजिक सञ्जालको व्यापकतासँगै नेपालभर फैलिएको तीज कुनै बेला सुदूरपश्चिम, कर्णाली, रोल्पा–रुकुमका मगरबस्तीमा थिएन। प्रकृतिपूजक मगरबस्ती रोल्पा, रुकुम, बाग्लुङका मगर बस्ती र मष्टोपूजक खसआर्य बस्ती कर्णाली र सुदूरपश्चिममा बहुदलीय व्यवस्था, माओवादी युद्ध र त्यसपछिको सडक र सामाजिक सञ्जालले व्यापक बनाएको थियो। कर्णाली र सुदूरपश्चिमका खसआर्य महिलाले समेत तीज मनाउँदैनथे। ती भेगमा सडक, सामाजिक सञ्जाल र ‘बजार’ले तीज व्यापक बनायो। आलेखको दोस्रो भागमा यसको विस्तार सम्बन्धी थप चर्चा गरौं।

भाग २

 १.३ सिज संस्कृति

युद्ध थाल्नुअघि रोल्पा–रुकुममा माओवादीले सिज (सिस्ने र जलजला) मितेरी अभियान चलायो। अभियानले नै माओवादी युद्ध रोल्पा–रुकुममा बीजारोपण र विस्तार गर्‍यो, जसको सूत्राधार रामबहादुर थापा ‘बादल’ थिए। उनी रापती इन्चार्ज भएर रोल्पा–रुकुममा युद्धको जग बसाले।

माओवादीले नाउँ नै दियो, सिज संस्कृति। सिजका दुई प्रमुख आयाम थिए, क्रान्तिकारी र जनसंस्कृति।

जनसंस्कृतिमा माओवादीले रोल्पा–रुकुममा प्रचलित चलन पछ्यायो। युवायुवती एक गाउँबाट अर्को गाउँ जान्थे। त्यसरी नै माओवादी स्थानीय र जिल्ला नेता टोलटोलमा पुगे। झोरेल्नी नाच्न महिलाहरू एक गाउँबाट अर्को गाउँ जाने र तिनलाई स्वागत अनि विदाइ गर्ने गर्थे। तिनले उपहार साटासाट गर्थे। ढुंगा र काठमा कोपेर पनि साटासाट गर्थे। त्यसलाई माओवादीले रुमालमा हँसिया हथौडाको बुट्टा भरेर, लालसलाम लेखेर, लालसलामको चित्र पनि बुट्टा भरेको रुमाल साटासाट गर्ने चलन चलायो।

‘तीजलाई पनि रोल्पा रुकुममा त सिज भनेर गाइयो। सिज भने पनि तीजको दिन नै मनाइयो। तिहारलाई पनि सिज भैलो भनियो। खासगरी तीज र भैलो मगर समुदायमा विस्तार भयो’ गणेशमान पुन रश्मि (माओवादी केन्द्रका केन्द्रीय कार्यालय मुख्यसचिव)ले भने, ‘पहिलेपहिले त तीज भनेर कोहीकोही प्रधान र जिल्ला सदस्य भएकाले मात्र मुसीकोट वा लिबाङ गएकाले मात्र थाहा पाउँथे। अरूले थाहा पाउँदैनथे। माओवादीले तीजमा शुभकामना र पुनर्मिलन गर्ने भन्यो, पछि तीज नै विस्तार भयो।’ 

२ राज्य

नेपालको शासन व्यवस्था र नेपाली समाजको संरचना हिन्दु जात व्यवस्थामा आधारित छ। नेपालको संविधानमा धर्मनिरपेक्ष लेखे पनि व्यवहारमा हिन्दु राज्यकै अभ्यास जारी छ। संविधानमा धर्मनिरपेक्ष उल्लेख गरेलगत्तै ‘स्पष्टीकरण’ भनेर ‘सनातन’ लेखेर हिन्दु धर्म नै लादिएको छ। राज्य व्यवस्था र नेपालको तथाकथित मूलधारे समाजको संरचना नै हिन्दु जात व्यवस्थाको जगमा उभिएपछि राज्यका सरकारी र गैरसरकारी अंगका चरित्र हिन्दु संस्कृतिको अभ्यासमा रह्यो।

हिन्दु महिलाको पर्व तीजलाई प्रकृतिपूजक मगर समुदायमा विस्तार गर्ने मूल संयन्त्र नै राज्य थियो।

तीज पर्व आउनुभन्दा महिना दिनअघिदेखि नै ‘नेपाली महिलाको महान पर्व तीज’ भनी सरकारी र गैरसरकारी सञ्चारमाध्यम प्रचारप्रसारमा लाग्छन्। पार्वतीले ब्रत बसी महादेव श्रीमान् पाएको भन्दै अविवाहितले महादेव जस्तो श्रीमान् पाउन ब्रत बस्ने र विवाहित महिलाले श्रीमानको दीर्घायुको कामना गर्न तीजमा ब्रत बस्ने मिथक सुनाउँछन्। सरकारी होऊन् कि गैरसरकारी सञ्चारमाध्यम, तिनले तीजलाई ‘नेपाली महिलाको महान् चाड’ भनेर प्रचारप्रसार गर्छन्। कांग्रेस, एमाले, माओवादी जस्ता तथाकथित मूलधारे राजनीतिक दलका नेता भाषणमा ‘नेपाली महिलाको महान चाड’ भनी प्रचार गर्छन्।

नेपाली महिलाको महान् पर्व भन्दाभन्दै यस्तो भाष्य बन्यो कि, तीज नमनाउने त नेपाली महिला नै होइनन्। तथाकथित मूलधारे संस्कृतिको प्रभुत्वले थिचेर, किचेर तीज नमनाउने महिलालाई आफू नेपाली महिला हो कि होइन भनेर प्रश्न उठ्ने परिवेश बन्यो। राज्य संयन्त्र, राजनीतिक दल, सञ्चारमाध्यमले नै यस्तो भाष्य बनाउनुको कारण थियो, राज्य संयन्त्र वा दल वा सञ्चारमाध्यमका प्रमुख वा सञ्चालक नै नेपालको शासक संस्कृति र शासक समुदायका हुनु। अपवादको रूपमा गैरशासक कोही भए पनि तिनका दिल दिमाग हिन्दूकरण भइसकेको हुनु। तीजमा सरकारी बिदा हुनु।

उसो भए, प्रकृतिपूजक मगर समुदायमा राज्यसंयन्त्र र तिनमा कार्यरत कर्मचारीले कसरी तीज विस्तार गरे ? यसबारे सदरमुकाम लिबाङ नजिकको घापा, थबाङ लगायतका केही घटना सम्झम् है।

रोल्पाको थबाङ गाउँ ।

सदरमुकाम लिबाङ नगरपालिकामै पर्ने तर मगर खाम/पाङ भाषी घापा गाउँमा कसरी तीज पुग्यो ? यसको थोरै कुरा सुनौं।

गाउँमा वडा कार्यालय थिए। स्वास्थ्यचौकी थिए। स्कूल थिए। पुलिसचौकी थिए। ती कार्यालयमा पुगेका कर्मचारी प्राय: शासक खलकीय पुगे। ती कर्मचारीसँगै बजार पनि सँगसँगै पुग्यो। महिलालाई ब्युटिसियन तालिम पनि दिए। गुन्युँको बदला सारी लगाउन सिके। गाउँका स्वास्थ्यचौकी, स्कूल, वडा कार्यालय, पालिका कर्मचारी, शिक्षक, पुलिस आदि पनि तीज लिएर गए। तिनले तीज मनाउन गाउँका चेलीलाई ‘नेपाली महिलाको महान् चाड तीज’ भनेर प्रचार गरिरहेका सरकारी तथा गैरसरकारी सञ्चारमाध्यम र राजनीतिक दल (कांग्रेस, एमाले, माओवादी लगायत) नेताका भाषण पनि सुनाउँदै हिंडे।

‘गाउँमा स्वास्थ्यकर्मी, वन हेरालु, शिक्षिकाले तीज त हामी महिलाको पर्व हो। राम्रो लगाउने र मीठो खाएर रमाइलो गर्नुपर्छ। कति बस्ने काम गरेर’ बमकुमारी बुढामगरले उनको गाउँ घापामा तीज पुगेको सम्झिइन्, ‘रोल्पा कांग्रेस सभापति (अहिले लुम्बिनी प्रदेश प्रमुख) कृष्णबहादुर घर्तीमगरकी फुपूले भन्थिन्, त्यो के जाती कर्मचारी आयो, स्वास्थ्यको कर्मचारी के। तीजमा नाच्न अनिवार्य जाने भन्दै पर्परी गरी हामीलाई मिनही शहीद स्मारकनेर तीजको कार्यक्रममा लगे। यो २०६३ को कुरा थियो।’

यो त भयो, सदरमुकाम लिबाङ रहेको रोल्पा नगरको कुरा। उत्तरी रोल्पाको थबाङमा बलभद्र माध्यमिक विद्यालयमा पढाउन दाङकी शान्ता शर्मा शिक्षिका भएर पुगिन्। शर्माले तीज मनाउने कामको अगुवाइ गरिन्। उनै शर्माकी विद्यार्थी सम्झना घर्तीमगर (कमरेड असिना) ले सम्झिइन्, ‘शान्ता म्याडम आउनुभयो, हामीले तीजमा प्रगतिशील तीज गीत गाउन थाल्यौं, तीज मनाउन लाग्यौं।’

२.१ तीज भएर पसेको बजार

तीज आउनुअघि नै बजार तीजमय हुन्छ। किनमेल बढ्छ। सारी किन्ने, गहना बनाउने होडबाजी हुन्छ। केही वर्षयता तीजको अघिल्लो रात दर खाने समय तन्केर एक महिनाअघिदेखि हुनेखाने वर्गका महिला पार्टी प्यालेस, तारे होटलमा दर खान थाल्छन्। जहाँ महिला अधिकारकर्मी, राजनीतिक दलका नेता, मानवअधिकारवादी, मन्त्री आदि अतिथि भएर जान्छन्।

आधुनिकताको बाटो भएर गाउँ पसेको पूँजीवाद र उपभोक्तावादी संस्कृतिको ‘बजार’वाल बाटो समाएर तीज विस्तार भयो। लेखक हेमन्त विवश सुदूरपश्चिममा तीज पुगेको समाचार सुनाउँदै थिए, ‘तीज नमनाउने सुदूरपश्चिममा सडक र सामाजिक सञ्जालसँगै तीज व्यापक भयो।’

तीजको बेला कपडा किनबेच गर्नेहरु ।

आधुनिकता, पूँजीवाद र यसको उपभोक्तावादी संस्कृतिको अंगकै रूपमा नेपालको मूलधारे संस्कृति प्रभावित भयो, जसको प्रभावमा किनाराकृत समुदाय पनि प्रभावित भए। तीज मान्ने र मनाउने नेपालको मूलधारे शासक संस्कृतिको प्रभावले प्रकृतिपूजक रोल्पाका मगर समुदायमा तीज विस्तारित भयो। पूँजीवादी उपभोक्तावादी संस्कृतिको रूपमा नेपाली बजार नै तीज भयो। त्यही बजारबाट रोल्पाका मगर समुदायमा तीज झन् विस्तार भयो। 

माओवादीले किन तीज विस्तार गर्‍यो ?

तीज विस्तार हिन्दु संस्कृति नपुगेका प्रकृतिपूजक मगरबस्तीमा हिन्दु संस्कृति विस्तारकै अंग थियो कि के थियो ? होइन भने किन विस्तार गरे ? किन माओवादीले मगर लगायतका आदिवासी बस्तीमा तीज विस्तार गरे ? के थियो त्यसको अन्तर्यमा ? पृथ्वीनारायण शाहको ‘गोर्खा विस्तार’सँग शुरु भएको एक भाषा (खस नेपाली) र एक संस्कृति(हिन्दु संस्कृति) लागू गर्ने अभियानले पूरै बिताल्न नसकेका प्रकृतिपूजक बस्तीमा तीज विस्तारभित्र के रहस्य लुकेको थियो ? यसको कारण खोज्न केही तथ्य केलाउनुपर्छ। 

माओवादी पार्टी संरचना र नेतृत्व

आदिवासी जनजाति, महिला, दलित, कर्णाली, मधेश र सुदूरपश्चिम जस्ता उत्पीडितका पक्षमा मुद्दा उठाउने माओवादीले नै रोल्पामा तीज विस्तार गर्‍यो। कसरी ? रोल्पाका मगर समुदायमा तीज विस्तार गर्ने वामदल, त्यसमा पनि माओवादी हो। कसरी विस्तार गरे भन्न सबभन्दा पहिले वामदलको नेतृत्व र इतिहास सम्झनुपर्ला।

नेपाल कम्युनिष्ट पार्टी गठन गरे, नेवार समुदायका युवाले। नेतृत्व पुष्पलाल श्रेष्ठको थियो भने बाँकी संस्थापक निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए। कतिले मोतीदेवीको नाम लिंदैनन्, त्यो अलग कुरा हो।

श्रेष्ठ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी केही समयको अन्तरालमै मनमोहन अधिकारी नेतृत्वमा पुग्यो। नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस नेतृत्वमा त बीपी कोइरालाहरू छँदैथिए। तथाकथित मूलधारे राजनीतिक दल नेतृत्व हिन्दु जात व्यवस्थाको सबभन्दा माथ्लो तहमा राखेको शासक जातिको कब्जा भयो। व्यक्ति नेतृत्वमा मात्र भएन कि, तिनका संस्कृति पनि शासक संस्कृतिमै सीमित रहे। तिनका नेतृत्व मात्र होइन, राज्यको जस्तै ‘एक भाषा, एक संस्कृति’ वामदलमा पनि रह्यो। दल नेतृत्व र दलको संस्कृति नै नेतृत्व जस्तै शासक जाति र संस्कृतिमा आधारित रह्यो।

नेपाली समाज बहुसंस्कृति नै छ। माओवादीले आदिवासी जनजातिको पक्षमा उभिने भन्दाभन्दै पनि माओवादी हिन्दु संस्कृतिसँग लहसियो

युद्ध थाल्दा (२०५२) १९ सदस्यीय माओवादी केन्द्रीय समितिमा रामबहादुर थापा बादल, देव गुरुङ, लोकेन्द्र विष्टमगर र मातृकाप्रसाद यादव रामसिंह मात्र शासक खलकीय थिएनन्। शासक जातिकामध्ये पोष्टबहादुर बोगटी दिवाकर र टोपबहादुर रायमाझी मात्र क्षेत्री थिए। पम्फा भुसाल विद्युत एक जना महिला र मातृकाप्रसाद यादव रामसिंह एकजना मात्र मधेशी थिए। बाँकी सबै पहाडी बाहुन थिए। युद्ध उत्तरार्धमा पुग्दा माओवादीको ३५ सदस्यीय केन्द्रीय समितिमा एक जना खड्गबहादुर विश्वकर्मा प्रकाण्ड दलित समुदायबाट थपिएका थिए। महिलामा एक जना हिसिला यमी पार्वती थपिएकी थिइन्। बादल, विष्टमगर, गुरुङ सहित आदिवासी जनजाति समुदायबाट गोपाल किराँती साइँला, नन्दबहादुर पुन पासाङ, वर्षमान पुन अनन्त, हितमान शाक्य सुमन थपिएका थिए।

 

नेत्रविक्रम चन्द विप्लव एक जना ठकुरी थिए भने बोगटी र रायमाझी सहित कुलप्रसाद केसी सोनाम, कृष्णबहादुर महरा अमरसिंह, शक्तिबहादुर बस्नेत सुरेशसिंह, राम कार्की पार्थ क्षेत्री, हेमन्तप्रकाश ओली सुदर्शन क्षेत्री थपिए। बाँकी पहाडी बाहुन नै बाहुन थिए। केन्द्रीय समितिको पनि सबभन्दा नेतृत्वदायी तहमा पहाडी बाहुन नै बाहुन थिए। पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य किरण, बाबुराम भट्टराई, सीपी गजुरेल लगायत पार्टीका सबभन्दा माथिल्लो तहमा थिए।

पार्टी संरचनामै हिन्दु जात व्यवस्थाको सबभन्दा माथिल्लो तहका एकल वर्चश्व थियो। माओवादीको नीति बनाउने तहमा शासक जातिकै एकल वर्चश्व थियो। नेपाल बहुल समाज छ भन्ने दृष्टिकोण भएका मानिस थिएनन्। तिनले जे सोचे, जे तिनले आफ्नो जीवन व्यवहारमा भोगेका र देखेका थिए, त्यसैलाई माओवादी आन्दोलन मार्फत प्रकृतिपूजक मगर बस्तीमा तीज विस्तार गरे। तिनले बनाउने नीति र कार्यक्रम तीजमैत्री हुने नै भए। गैरशासकीय खलकबाट प्रतिनिधित्व गर्नेका पनि दिलदिमागमा शासक संस्कृतिको प्रभुत्वले भुत्ते भइसकेको थियो। यसको कारण थियो, नेपालमा शाह वंशीय शासन शुरु भएपछि नेपालको विविधामाथि लगाउने अंकुशे झन् कसिलो हुँदैथियो। जसमा हिन्दु वर्णाश्रममा नपर्ने, गैरहिन्दु नेपालका आदिवासी सबैभन्दा ओझेलमा परेका थिए। शासक जातिले हिन्दु धर्म र यसले अंगीकार गरेका कुरा गैरहिन्दुलाई लाद्यो।

नेपाली समाज बहुसंस्कृति नै छ। माओवादीले आदिवासी जनजातिको पक्षमा उभिने भन्दाभन्दै पनि माओवादी हिन्दु संस्कृतिसँग लहसियो (रामलाल सी (विप्लव नेतृत्व श्रमिक समुदाय मोर्चा अध्यक्षसँगको कुराकानी)। माओवादीले नयाँ संस्कृति र जनवादी संस्कृति भनेर नारा लिए पनि व्यवहारत: विद्यमान हिन्दु संस्कृति नै बोक्यो। जसको उदाहरण तीज विस्तार थियो।

बहुसंस्कृति भएको नेपाली समाजमा माओवादीको आफ्नो नयाँ संस्कृति के हो भन्ने विषयमा माओवादीको कुनै तयारी र अध्ययन देखिन्न। माओवादीले के हो नयाँ संस्कृति र के लिएर जाने भन्ने कुरामा सुविचारित देखिन्न। त्यसो भए नयाँ संस्कृति भनेर के लिएर गयो त? नीति बनाउने ठाउँमा जुन समुदायको वर्चस्व थियो, तिनकै संस्कृतिलाई नै पार्टीको संस्कृति भनेर लगे। निर्णय गर्ने ठाउँमा त उनै पुराना न थिए/छन्। पहाडी बाहुन नै बाहुन। तिनले आफ्नो सोच र चिन्तन अनुसार संस्कृति निर्माण गर्ने गरे (गणेशमान पुनसँगको कुराकानी) 

पार्टी विस्तारमा तीजको प्रयोग

नेपालका कम्युनिष्ट पार्टीहरूले पार्टी विस्तारको माध्यम तीजलाई बनाए। तीजको माध्यमबाट गाउँ र शहरमा पार्टी स्थापित गर्ने कोशिश स्वरुप तीज लिएर वामदल पुगे। तिनले तीजलाई आफ्नो पार्टीका मुद्दा जनतामाझ स्थापित गर्ने र जनताकहाँ जाने माध्यम बनाए। जसको लागि ती दल पञ्चायतको लुकालो परिवेशमा तीजलाई पर्खिए। तीज आयो कि, आफ्ना महिला संगठन मार्फत तीजका गीतमा पार्टीका मुद्दा गाउन लगाए। वाम पार्टीले जनतामाझ जाने माध्यम नै तीजलाई बनाए। महिला मुक्तिका नारा लिएर पञ्चायत, बहुदल, युद्धकालमा तीज विस्तार भयो।

रोल्पाको पाछाबाङमा माओवादीको कार्यक्रममा सहभागीहरु ।

रोल्पाको छिमेकी जिल्ला दाङको बेलझुण्डी, बिजौरीमा तीजको दिन महिला मुक्तिका गीत गाउँथे। ब्रत बसेका महिलाले जसरी राता सारी लगाएर तिनले कम्युनिष्ट पार्टीका नीति र विचार पनि तीजको गीतबाट प्रभावित गर्थे। दाङमा नेकपा(माले), नेकपा(चौथो महाधिवेसन)ले आफ्ना राजनीतिक कुरा भन्न तीजलाई प्रयोग गरे।

‘विद्यार्थी संगठनमा लागियो। महिला उत्पीडनका गीत तीजमा गाउन थाले। कसरी तीजलाई उपयोग गर्ने भनेर तीज मनाउन थालियो। गाउँगाउँ गएर तीज मनाउन थालियो। घरघरमा पनि गयौं। छोरी पनि पढ्नुपर्छ भन्ने सुधारात्मक खाले, पढाउन पर्छ, छोराछोरी समान हुन् भन्ने गीत सुनेको हामीले। संगठनको जिम्मेवारी बढ्दै गयो। महिला भएकाले हामीलाई नेताहरूले तीजको गीत गाउन पठाउँथे। बेलझुण्डीतिर माले, मशालका महिला जम्मा भएर गाउँथे। नेताले हामी (महिला)लाई तीजमा गाउन र नाच्न हौसाए’ दाङ घोराहीको मसिनामा जन्मिएकी रेखा शर्माले पञ्चायतकालीन तीज सम्झिइन्।

वाम पार्टीले तीजलाई संघर्षको रूपमा मनाउन थाले। काठमाडौं पशुपति मन्दिर परिसरमा पनि ती दलका कार्यकर्ता तीज गीत गाउन गए। तीजका गीतमा महिला मुक्तिका गीत गाए। राज्यले गर्ने विभेदविरुद्ध गाए।

‘महादेवको पूजा गर्ने र ब्रत बस्ने गरिएन। तीजका सकारात्मक पक्षलाई आत्मसात् गरी अगाडि बढाउने भन्ने भयो। समाज रूपान्तरणमा प्रयोग गर्ने भनेर सचेततापूर्वक तीज प्रयोग गरेको हो। तीजको बेलामा राति कहिले हाम्रो गाउँमा जान्थिम् कहिले कुन गाउँमा। २०५४/५५ तिर काठमाडौं खुलामञ्चमा तीज कार्यक्रम गर्‍यौं। राज्य दमन विरुद्धका तीजका गीत गाउँथ्यौं। परिवर्तन आन्दोलनको पक्षमा गाउँथ्यौं। कमरेडहरूका शहादतका कुरा पनि तीजका गीतमा गाउँथ्यौं’ माओवादीले युद्ध थाल्दाखेरिकी महिला संघ(क्रान्तिकारी) अध्यक्ष हिसिला यमीले पशुपतिमा तीज गीत गाएर फर्केपछि पक्राउ गरेको सम्झिइन्, ‘जनआन्दोलनपछिको तीजमा हो। हामी प्रेरणा महिला समूह जस्तो संस्थाबाट गाउन गएर पनि घर फर्किसकेका थियौं। त्यसबेलाकी रानी ऐश्वर्यलाई त्यहाँ ढुंगा हानेछन्। त्यही आरोपमा मलाई पक्रेको हो। त्यसपछि त हामीलाई पशुपतिमा तीजको गीत गाउन जान नै प्रतिबन्ध लगायो अनि खुलामञ्चमा गाउन थाल्यौं।’

तीजलाई माओवादी लगायतका वामदलले आफ्ना संगठन विस्तारमा लगाए। पञ्चायतकालमा जसरी बहुदल आएपछि वाम दलले तीजलाई आफ्नो पार्टी विस्तारमा प्रयोग गर्ने क्रम जारी राखे। वामदलले पार्टी विस्तारको लागि तीजको सहारा लिए।

मगर खाम/पाङ भाषी भेग रोल्पामा नेकपा(मशाल)को प्रभाव रह्यो। त्यही मशाल नेकपा(एकताकेन्द्र) बन्यो। जसले २०४८ को चुनाव संयुक्त जनमोर्चा नेपालको नाममा भाग लियो। जनमोर्चा नेपालले तीजलाई आफ्नो राजनीति विस्तार गर्ने माध्यमको रूपमा प्रयोग गर्‍यो। मिश्रित गाउँमा मात्र होइन, खाम/पाङ भाषी मगर बसोबास रहेको कुरेली, मिरुल, थबाङ, उवा, जेलबाङ, रुकुमका तकसेरा, हुकाम, मैकोटतिर जनमोर्चाको प्रभाव रह्यो। त्यही जनमोर्चा नेपाल चुनावी मोर्चा भएको पार्टी नेकपा(माओवादी) बन्यो। रोल्पाको मगरबस्ती माओवादी मक्का भयो।

मगर र खसआर्य मिश्रित बस्ती बाहेकका खाम/पाङ भाषी मगर बस्तीमा पनि फाट्टफुट्ट तीज पुगिसकेको थियो।

जयपुरी घर्तीमगर

जयपुरी घर्तीमगरले सुनाइन्, ‘महिला संघ गठन गर्ने, महिलालाई पार्टीमा ल्याउन मनाउने उद्देश्यले तीज मेला नै लगायौं, पोखरा(राङ्सी, रोल्पा)मा।’ पछि त पार्टीले नै तीजका गीत भएको किताब पठायो। ती किताबमा लेखेका गीत गाएर तीज गाउन थाले।

‘गीतका किताब भनेर दिन्थे, सिर्जनशील गीत पनि गाउँथिम्’ जयपुरीले मगर बस्तीमा तीज विस्तार सम्झिइन्, ‘खुट्टा ढोग्ने र भोकै बस्ने गलत हो भन्थ्यौं। मनका कुरा भन्न पाउने, अन्यायको विरोध गर्ने सकारात्मक रूपमा हेर्ने र तीज पर्वलाई मनाउने भनेर संगठनले सम्प्रेषण गर्ने र महिला उत्पीडनको कुरा बाहिर लैजाने भनेर तीज मनाउन थाल्यौं। राजनीतिक हिसाबले महिलालाई बुझाउने उद्देश्यबाट पार्टीले तीज लगेर गयो।’

माओवादी गढ थबाङमा पनि तीज पुग्यो। सम्झना घर्तीमगर (कमरेड असिना)ले सम्झिइन्, ‘हामी महिला संगठनमा बस्यौं। संगठित गर्न के गर्ने त? प्रगतिशील तीज मनाउने भनेर लागियो। विद्रोह गर्ने भनेर संगठन बनाउँदै क्रान्तिकारीको मञ्चको रूपमा प्रयोग गर्ने भनेर तीजमा गाउन र नाच्न थाल्यौं।’ रोल्पामा तीजका गीत क्यासेटमा रेकर्ड गरेर गाउँगाउँ पुर्‍याएको माओवादीको केन्द्रीय सांस्कृतिक टोली सामना परिवारकी गायिका सीता आचार्यको सन्दर्भ माथि उल्लेख गरिसकिएको छ। 

तीजको प्रयोग गरी पार्टी विस्तार

खासमा माओवादीले तीज गीतलाई प्रयोग गरी, तीज पर्वलाई प्रयोग गरी आफ्नो राजनीतिक विचार विस्तार गरेको देखिन्छ। बाहिरबाट हेर्दा तीजको माध्यमबाट पार्टी विस्तार गर्ने भनेको देखिन्छ। जो पञ्चायतदेखि बहुदलीय व्यवस्था र युद्धकालमा पनि वामपार्टीले त्यसो गरेको देखिन्छ। तीजको माध्यमबाट पार्टी विस्तारको कुरा भन्न तलका कुरा सम्झनुपर्ला।

एक, माओवादीले तीज र महिला मुक्तिलाई जोडेर भाषणबाजी र गीतमा पनि उनिरह्यो।

दुई, तीजमा गीत गाउँदै र संगठन खोल्दै माओवादीले प्रचार र पार्टी विस्तार गरेको थियो।

बाहिर पार्टी विस्तार भने पनि अभ्यासमा भने तीज विस्तार भयो। यसो भन्नलाई निम्न कुरा सम्झनुपर्ला।

एक, गीतमै हेर्ने भने पनि, तीजका गीतमा सासूलाई गाली गरेको ठाउँमा संसदीय व्यवस्था र शोषण दमनको विरोध गरिएको थियो। गीतको तल वा माथि लेखिएको हुन्थ्यो फलानो ‘तीज गीत’को भाकामा। यसको मतलब शब्द मात्र फरक पारिएको थियो। महादेवको पूजा नगर्ने, पतिको दीर्घायुको ब्रत नबस्ने मात्र थिएन। बाँकी तीजकै दिन भेला हुने र गीतका भाका उही शब्द मात्र फरक थिए।

दुई, माओवादीले तीज नै विस्तार गर्‍यो। माओवादी पार्टी विस्तार जहाँ भयो, तीज पनि विस्तार भयो। माओवादीले लगेका तीज र राज्य संयन्त्रले लगेको तीजमा यत्ति फरक थियो– माओवादीले लगेको तीजमा ब्रत बसेनन्। महादेव र पति पुजेनन्। गीतको फल फरक थियो। राज्यसंयन्त्र, पूँजीवाद, उपभोक्तावादी संस्कृति, आधुनिकताले रोल्पाको मगरबस्तीमा ब्रत बस्ने, महादेवको पूजा गर्ने तीज विस्तार गरे भने माओवादीले ब्रत र पूजा विनाको तीज। कुल मिलाएर राज्यसंयन्त्र र राजनीतिक दल माओवादीले प्रकृतिपूजक मगरबस्तीमा तीज विस्तार गरे। 

उपनिवेशीकरण

माओवादी सहित राज्य संयन्त्र, आधुनिकता, उपभोक्तावादी संस्कृति लागिमिली गरेको तीज विस्तार नेपालमा हिन्दु सामन्तवादी राज्य व्यवस्थाको आन्तरिक उपनिवेशीकरणकै निरन्तरता थियो। उपनिवेशीकरणको तीव्रता पृथ्वीनारायण शाहको गोर्खा विस्तारसँगै चलेको अहिलेसम्म जारी छ। माओवादी आन्दोलनको बेला प्रकृतिपूजक मगर समुदाय बहुल रोल्पा रुकुममा जसरी तीज विस्तार भयो (हीरामणि दुखीसँगको कुराकानी)

तीज विस्तारबारे लेखक एवं युद्धकालीन माओवादीको अंग्रेजी पत्रिका वर्करका सम्पादक कुमार शाह सम्झन्छन्, ‘माओवादीसँगै तीज पनि गयो। तीजको दिन कार्यक्रम गर्न थाले। तीजका भाका लिएर गए। माओवादीले नारी मुक्तिसँग जोडेर लान खोजे, तर हिन्दुकरण गयो। नेपालमा जुन सांस्कृतिक विविधता छ, त्यसो भएन। माओवादीले आदिवासी स्वायत्तताको कुरा अलि पछि उठायो। संस्कृति सैद्धान्तिक हिसाबले उठायो तर यसरी लाने कार्यक्रमचाहिं दिन सकेन। जनजातिका भाषा, धर्म, भेषभुषा अलिकति अघि त आए तर खस बाहुनखाले हावी रह्यो। यसको कारण छ। धर्म र संस्कृति फरक हुन्, सैद्धान्तिक हिसाबले। तर नेपालको शासक संस्कृति भनेको धर्ममा आधारित संस्कृति हो। हिन्दु धर्ममा आधारित हिन्दु संस्कृति। शासक, कर्मचारी, टाठाबाठा कार्यकर्ता पनि तिनै छन्। यसको प्रभाव, लैजाने कुरा त मूलधारमा आएका भए त रहिरहने रहेछ। शासक संस्कृतिको दबदबा त रहिरह्यो। तीज विस्तार त्यही हो।’

माओवादी र राज्यसंयन्त्र सहितका बाँकी माध्यम मिलेर प्रकृतिपूजक मगर समुदायमा तीज विस्तार गरे। राज्य संयन्त्र, राजनीतिक दल, उपभोक्ता संस्कृति यी सारा चिजले यस्तो स्थिति बनाइदियो कि, रोल्पाका मगरबस्तीमा पनि तीज नमनाए त नेपाली महिला नै नपरिने डर।

सिज मितेरी अभियानताका जनसंस्कृतिमा माओवादीले रोल्पा र रुकुमका मगरबस्तीमा प्रचलित चलन पछ्यायो। माओवादीले माला र अबिरलाई ‘क्रान्तिकारी’ भन्दै प्रकृतिपूजक मगरमाझ व्यापक बनायो। रातो टीका थाहै नपाइकन रोल्पाका मगरबस्तीमा चल्यो। रातो भन्नेबित्तिकै क्रान्तिकारी, रेडबुक, रेड झण्डा, रेड टीका भनेर नथापाइकन गयो  ।

रोल्पा रुकुममा यसरी तीज थोपरियो। सोची सम्झी नगर्दा सांस्कृतिक रूपमा थोपरियो। माओवादीको हिन्दु संस्कृति थोपर्ने लक्ष्य त थिएन (गणेशमान पुन रश्मिसँगको कुराकानी)

माओवादी आन्दोलनले मगरबस्तीमा तीज व्यापक बनायो। आदिवासी जनजाति समुदायमा माओवादी तीज लग्यो। स्थापित गरायो। रातो टीका देशव्यापी बन्यो। देशैभरि गेट बने। यी नेपालको जात व्यवस्थामा बनेको शासकीय संस्कृति थिए। यसलाई पार्टीको संस्कृतिको रूपमा बनाउँदै जाँदा खाम/पाङ भाषी मगर बहुल क्षेत्रमा पनि तीज र रातो टीका चलन चल्यो (हीरामणि दुखीसँगको कुराकानी)

रेखा शर्माले सम्झिइन्, ‘तीजबारे न छलफल भयो न त मेरो दिमागमै पनि त्यो कुरा आयो। नयाँ गर्ने भन्यो तर उही हिन्दु संस्कृति विस्तार गरियो। पुरानो छोड्ने नयाँ नदिने, अन्तत: पुरानोमा फर्क्यो।’

राज्य नै ‘एक भाषा (खस नेपाली) एक संस्कृति(हिन्दु)’ नीतिअनुसार बलपूर्वक लागेको बेला विद्रोही अर्को शक्ति पनि तीज विस्तारमा लागेपछि के बच्थ्यो ? प्रकृतिपूजक मगर समुदायमा पनि तीज विस्तार भयो।

 टुंग्याउनी

राज्यसँगै माओवादी पनि सामेलिएपछि रोल्पाका मगरबस्तीमा पनि तीज विस्तार भयो। यसो भन्नुको कारण हो, माओवादीको प्रभाव नै रोल्पाका मगरबस्ती थियो। रोल्पा रुकुम जस्ता खामभाषी मगर बहुल भेगमा माओवादी नै मुख्य शक्ति भएर उदाएपछि उसको राजनीति विस्तारसँगै तीज पनि विस्तार भयो।

राज्यसंयन्त्र, आधुनिकता, पूँजीवादी उपभोक्ता संस्कृति र शासक संस्कृतिको प्रभुत्वको माध्यमबाट पनि तीज भेगमा पुग्थ्यो होला, पुगेको थियो। तर तीज विस्तार र व्यापकता माओवादी आन्दोलनले गर्‍यो। कारण थियो, माओवादी आन्दोलनको इपिसेन्टर नै मगरबस्ती थिए। माओवादी र राज्यसंयन्त्र सहितका बाँकी माध्यम मिलेर प्रकृतिपूजक मगर समुदायमा तीज विस्तार गरे।

माओवादी नभए तीज विस्तार हुँदैनथ्यो त ? मिश्रित बस्तीमा थोरबहुत राज्यसंयन्त्रले नै लगेको थियो, तर व्यापक थिएन। व्यापकताको गति माओवादीले विद्रोहले बढायो। माओवादी मूल भयो, तीज विस्तारमा सहयोगी त राज्यसंयन्त्र, आधुनिकता, एकल जाति र भाषा संस्कृतिको वर्चश्व र प्रभुत्व त छँदैथिए । राज्य संयन्त्र, राजनीतिक दल, उपभोक्ता संस्कृति यी सारा चिजले यस्तो स्थिति बनाइदियो कि, रोल्पाका मगरबस्तीमा पनि तीज नमनाए त नेपाली महिला नै नपरिने डर। माओवादीले गरेको तीज विस्तारले माओवादीले भन्ने गरेको किनाराकृत आदिवासी जनजाति, मधेश, महिला, सुदूरपश्चिम र कर्णालीको साथ रहने नारासँग विरोधाभास देखिन्छ। व्यवहारत: माओवादी पनि शासक जाति, समुदाय र हिन्दु संस्कृतिको विस्तार र पक्षपोषक पुष्टि गर्छ। र, माओवादी पनि बहुसंस्कृतिको मर्मलाई नारामै सीमित देखिन्छ।

लेखक
नवीन विभास

नवीन विभास लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?