+
+
Shares

नेताहरूले नदेखेको खरानीमुनिको आगो

सत्तामा हुनेहरू कसरी जनताको मनोविज्ञानबाट कटेका हुन्छन् भन्ने यो एउटा महत्वपूर्ण उदाहरण हो, आफ्नै सन्तानहरू कुन मनोदशामा छन् भन्ने थाहा नहुने अभिभावक जस्ता ।

झलक सुवेदी झलक सुवेदी
२०८२ भदौ २८ गते ८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ र २४ भदौका घटनाहरूले नेपालको राजनीतिक अस्थिरता र सामाजिक असन्तोषलाई उजागर गरे जसले दीर्घकालीन स्थिरतामा चुनौती पुर्‍याएको छ।
  • भदौ २४ गतेका हिंसात्मक घटनाहरूमा विभिन्न राजनीतिक दलका स्वार्थ समूह र असंगठित वर्किङ क्लासका युवाहरू संलग्न रहेको तथ्य सार्वजनिक भएको छ।
  • नेपालको अधुरा क्रान्ति र राजनीतिक सम्झौताले विकास र सामाजिक रूपान्तरणमा अवरोध पुर्‍याएको र यसले विद्रोह र ध्वंशको सम्भावना निरन्तर बनाइरहेको छ।

२३ र २४ भदौका घटनाहरू इतिहासका रक्तिम अक्षरमा मात्र लेखिने छैनन् । २३ भदौ उज्यालोतिरको संकेत थियो तर, २४ गतेको साँझ अँध्यारोतिरको संकेत गरेर गयो ।

एउटा आँधीलाई विनासको सीमा तोकेर बोलाउन नसकिएजस्तै आन्दोलनहरूलाई पनि विध्वंशको सीमा तोकेर संयोजन गर्न सकिन्न । तर २४ गतेका घटनाहरू पर्दामा देखिएजस्ता थिएनन्, असामान्य थिए ।

इतिहासमा पढेको सन् १७८९ को पेरिसका घटनाहरू सम्झाउँथे । नेपथ्यमा अर्थोक केही हुँदैथ्यो । को थियो पछिल्ला उद्दण्डता र ध्वंशको जिम्मेवार ? अनि को हो कलिला युवायुवतीको बलिका लागि उत्तरदायी ? त्यसको न्यायिक छानबिन र दोषी किटान नगरी अनि त्यसका अर्थराजनीतिक कारणहरूको उपचार नगरी देशमा दीर्घकालीन स्थिरता कायम गर्न गाह्रो छ ।

यसको अर्थ इतिहासको घाउ कोट्याएरै जीवन चल्छ भन्ने पनि होइन । खरानी टक्टक्याउँदै उठ्नुपर्छ । नयाँ सम्भावनाको खोजी गर्नुपर्छ र नयाँ यात्रा तय गर्नु नै पर्छ । घटनाका कार्यकारण सम्बन्धहरूको सूक्ष्म अध्ययन-विश्लेषण गरेर अगाडि बढ्नुपर्छ । जीवनको यो रित समाज र देशको हकमा पनि लागु हुन्छ ।

नेपाल फेरि उठ्नेछ । अहिलेको अन्योल अस्थायी हो र धेरै हदसम्म अहिलेका एक्टरहरू पनि विस्तारै इतिहासको गल्छेडामा कतै छुट्नेछन् ।

ध्वंश गरेजस्तो सहज हुन्न निर्माण । यसका लागि समय र धैर्य दुवै चाहिन्छ । हामी विस्तारै त्यतै लम्कने छौं । निभेका बत्तीहरू तेल थपेर बालिने छन्, थुर फालेर चहकिने छन् । गृहयुद्ध, नाकाबन्दी, भूकम्प र कोरोनाका अनेक झञ्झावात बेहोरेर पनि हामी अगाडि बढिरहेका थियौं । इतिहासका चुनौतीको सापेक्षतामा हाम्रो गति सुस्त भयो, हिँडाइमा अलमल भयो, खुराकमा कसैको नियन्त्रण भयो । कसैका थाल रित्ता भए । परिणाम हामीले देखिसक्यौं ।

संविधान बनेपछिका यी १० वर्षमा सञ्चालित सरकारमा मुख्य भूमिका खेलेका, सांसद भएका, दलको केन्द्रीय नेतृत्वमा बसेका, प्रदेश र स्थानीय तहको नेतृत्व गरेका र तत् तत् तहमा पार्टी चलाइरहेका एमाले, कांग्रेस र माओवादी जस्ता दलका नेतालाई जनतामा गुम्सिएर बसेको भयानक असन्तोष ज्वालामुखी बनेर विष्फोट हुन लागेको छनक पनि नहुनु उदेकलाग्दो कुरा हो ।

सत्तामा हुनेहरू कसरी जनताको मनोविज्ञानबाट कटेका हुन्छन् भन्ने यो एउटा महत्वपूर्ण उदाहरण पनि हो, आफ्नै सन्तानहरू कुन मनोदशामा छन् भन्ने थाहा नहुने अभिभावक जस्ता ।

काठमाडौंमा जेन-जीले विशाल प्रदर्शन तयारी गरिरहेको बेला प्रधानमन्त्री अध्यक्ष रहेको नेकपा एमालेका २५ सय जति नेता-कार्यकता तीन दिन गोदावरीमा जम्मा भएका थिए । त्यहाँ जम्मा हुनेले आसन्न संकटको न चाल पाए न त्यहाँ छलफल भयो । यसले २०४६ सालका अन्तिम महिनाहरूमा आयोजित पञ्चर्‍यालीको सम्झना गराउँथ्यो ।

अब पनि त्यही विचार, त्यही नेतृत्व, त्यही कार्यशैलीको खाजा-सामल बोकेर लोकतन्त्र र समाजवादको सपना बेच्ने झेली कल्पना नगरे हुन्छ ।

आफ्नो पाइतालाबाट बग्दै गएको बालुवाको अनुभूति गर्न नसक्ने गरी यिनीहरू कति सत्ताको मादमा लट्ठिएका रहेछन् भन्ने संकेत हो यो । सहभागीहरू काठमाडौंबाट भ्रमको विशाल गुलाफ लिएर आफ्ना क्षेत्रमा फर्किनसक्दै उनीहरूका कार्यालय, घर र सार्वजनिक सम्पत्तिमा हुन लागेको आक्रमण, सडकमा आउन लागेका कलिला युवायुवतीको आक्रोशको भेउ नपाउनेहरू कसरी समाजको, देशको नेतृत्व गर्न लायक रहलान् ?

जेनजीलाई यस मानेमा सम्मान छ कि तिनले मक्किएर पुरानो भइसकेको तथा युगको बोझको रूपमा रहेको दलीय नेतृत्वलाई रंगमञ्चबाट ओरालेर बाहिर निकाल्ने बाटो देखाए । तिनले हाम्रो लोकतन्त्रलाई धमिराले झैं खाएका संस्थाहरू कति कमजोर छन् भन्ने कुरालाई उदाङ्गो बनाएर देखाइदिए ।

हाम्रो अर्थतन्त्रले कताबाट बाटो बिराइरहेको छ भन्ने अध्ययन सामग्री दिए । सुरक्षा संयन्त्रको खोक्रोपना उजागर गरे । जनतालाई हेप्ने, सत्ता प्राप्ति र रक्षाका लागि सबै मूल्यहरूलाई बलिदान दिनेहरू एक दिन दण्डित हुनेछन् भन्ने सन्देश इतिहासबाट सिक्नेका लागि सधैंलाई पुग्ने गरी दिए ।

पार्टीको नेतृत्वमा रहेका या जान पालो पर्खिबसेकाहरूलाई पनि सन्देश दिए समयले सधैं तिमीहरूलाई पर्खिंदैन, जे गर्ने हो आजै गर । तिमीहरू आफ्नो भविष्य चाहन्छौ र देशको नेतृत्वमा दाबी गर्ने हौ भने आफ्नो काँधलाई दुर्गन्धित गरिरहेको नेतृत्वलाई काँधबाट फाल र उचित व्यवस्थापन गर ।

अब अघि बढ्ने उपायहरू पत्ता लगाऊ र हाम्रा मागहरूलाई सुन । सबैभन्दा ठूलो कुरा आजको अवस्था आउनुका पछि तिमीहरूले नेतृत्व गरेको या नेतृत्व दाबी गरेको दल जिम्मेवार छन् । अब पनि त्यही विचार, त्यही नेतृत्व, त्यही कार्यशैलीको खाजा-सामल बोकेर लोकतन्त्र र समाजवादको सपना बेच्ने झेली कल्पना नगरे हुन्छ ।

दोहोरिरहने दुःखान्त

किन नेपाली समाज अपेक्षा गरेझैं रूपान्तरण भएन ? हामी कहाँ चुक्यौं जसले हामीलाई हरेक १०-२० वर्षमा क्रान्ति र आन्दोलनका आँधीले ललकार्छ । किन हरेक पुस्ताले राजनीतिक हस्तक्षेपका लागि बलि दिइरहनु परेको हो ? सात, छत्तीस, छयालीस, बैसट्ठी-त्रिसट्ठी किन क्रान्तिका अन्तिम बिसौनी बनेनन् ?

यसको मुख्य कारण हो सम्झौता । क्रान्तिलाई पूरै दृढताका साथ त्यसका लक्ष्यसम्म विस्तार गर्न नसक्नु । यसका आन्तरिक र बाह्य दुवै कारण छन् । कतिपयलाई यो भनाइ पटक्कै मन पर्दैन कि हाम्रा क्रान्ति अधुरा थिए ।

२००७ सालको क्रान्ति मोहन शमशेरलाई निरन्तरता दिएर सम्झौता गरियो । क्रान्तिका लक्ष्यहरू संस्थागत गर्नुपर्ने मुख्य शक्ति नेपाली कांग्रेस थियो (कम्युनिष्टहरूलाई त उनीहरूले शक्ति आर्जन गर्लान् भनेर क्रान्तिमा प्रत्यक्ष सहभागी हुनबाट समेत कांग्रेस र भारतले रोकेका थिए) । तर व्यवस्थापन नेहरूले गरे । त्यसका भूराजनीतिक कारणहरू थिए जसलाई कांग्रेसले क्रस गर्न सकेन ।

९ वर्ष दरबारले खेलाएर बस्यो । प्रधानमन्त्रीका रूपमा बीपीले तय गर्न खोजेको क्रान्तिका लक्ष्यहरू हासिल गर्ने यात्रामा १८ महिनामै ब्रेक लगाइयो । सामन्तवादको मुख्य आधार मानिने भूमि सम्बन्धमा बदलाव र किसानहरूलाई जमिनको मालिक बनाउने मूल अभिभार पूरा हुन नसक्दा सात सालको क्रान्ति असफल भयो ।

सात सालको क्रान्तिले जसलाई इतिहासको मञ्चबाट बिदा गर्नुपर्ने थियो, त्यसैको साथ-सहयोगमा महेन्द्रले कु गरे र राज्यको स्रोत र साधन विस्तारै आफ्नो नियन्त्रणमा लिए । अहिले पनि उनले केन्द्रित गरेको स्रोतको प्रयोग लोकतन्त्रका विरुद्ध भइरहेको छ । चैतको तीनकुने घटना त्यसको एउटा उदाहरण मात्र हो ।

२०३६ सालमा बलिदान गरेर जनमत संग्रह घोषणा गर्न बाध्य पारियो । त्यो विश्व शीतयुद्धका अन्तिम वर्षहरूतिर थियो । भर्खर अफगानिस्तानमा सोभियत सेना पसेको थियो । भियतनामी सेना कम्बोडियामा थियो । अमेरिका र पश्चिमा शक्ति कम्युनिष्टहरूलाई निषेध गर्न सक्रिय थिए । त्यसको प्रभाव कांग्रेसमा पनि थियो (२०३३ को मेलमिलाप नीतिपछि बीपीका भनाइ अध्ययन गर्नेले यो थाहा पाउँछ) । जनमत संग्रहमा पञ्चायत विरोधी शक्ति एकजुट हुन नसकेपछि निर्दलीयतालाई नै जिताइयो । आन्दोलन र बलिदान खेर गयो ।

२०४६ सालमा पनि दरबारसँग सम्झौतामा आन्दोलन बिसाइयो । पुरानै ब्युरोक्रेसी, पुरानै अदालत र न्यायप्रणाली, पुरानो जिल्ला र स्थानीय निकाय । राज्य कतै पनि पुनर्संरचना भएन । केवल राजा, कांग्रेस र कम्युनिष्टका बीचमा शक्ति बाँडफाँट गरेर आन्दोलन सकियो ।

पञ्चायतमा दरबारले ठूलो हिस्सामा कब्जा जमाएको राज्यको स्रोतमाथि अब दरबार, कांग्रेस र कम्युनिष्टका बीच औकातअनुसार विभाजन हुन थाल्यो । अर्थराजनीतिक रूपान्तरणमा जहाँ हस्तक्षेप हुनुपर्ने थियो, त्यहाँ भएन । पश्चिमा प्रेस्क्रिप्सनमा लागु गरिएको नवउदारवादले जे दियो या जे खोस्यो त्यो नै त्यसपछिका असन्तोषको कारण बन्यो ।

२०६३ मा माओवादीसमेतको सहभागितामा भएको आन्दोलन र क्रान्तिले राज्यको केही हदसम्म पुनसंरचना गर्‍यो तर अर्थतन्त्रको संरचनागत परिवर्तनमा जे-जति सुधार गरिनुपर्थ्यो, त्यसमा कसैको ध्यान गएन । पहिले माओवादीलाई शहरीया सम्भ्रान्त वर्गले प्रतिरोध गर्‍यो र काम गर्न दिएन । पछि माओवादीले नै यो वर्गसँग आत्मसमर्पण गर्‍यो ।

न यहाँ कहिल्यै भूमि सुधार गरियो न औद्योगिकीकरणका गम्भीरतम प्रयास भए । युवाहरू निर्यात गरेर आएको रेमिट्यान्स, त्यसले बढाएको आयात र आयातमा निर्भर राज्यकोषको गोलचक्कर बढ्दै जाँदा बेरोजगारी, चरम निराशा, असन्तोष मात्र फैलियो ।

स्वतन्त्र राष्ट्रिय औद्योगिक अर्थतन्त्रको निर्माण गरेर निर्वाहमुखी अर्थोपार्जनमा आश्रित जनसंख्यालाई आधुनिक क्षेत्रमा काम दिन सकेको भए, कृषिलाई ठूला फर्महरूमा जाने बाटो खोल्न प्रेरित गर्न सकेको भए अवस्था बदलिन्थ्यो । त्यसमा त चुक्यौं चुक्यौं सरकार र दलको नेतृत्व भित्रभित्रै आक्रोशको कारण बन्ने गरी राज्यका अंगहरूको दलीयकरण, दलको गुटकरण, गुटको व्यक्तीकरण हुँदै केही सीमित व्यक्तिको आलोपालो म्युजिकल चेयरमा राजनीति साँघुरिदै जाँदा जे नहुनु पर्ने थियो त्यो भयो, जे हुनुपर्ने थियो त्यो भएन ।

विकासको उदाहरण बन्यो झापाको भ्यु टावर, झापा र डडेलधुराको खेलमैदान र सभाहल । भैरहवा र पोखरा विमानस्थलले हाम्रा नाजुक भूराजनीतिक कडी देखाइदिए र पनि हामीले चेतेनौं ।

अधुरा क्रान्तिहरूको सिलसिला, क्रान्तिकारीहरूको परम्परागत एलिट समूहमा रूपान्तरण र आम जनताको सीमान्तीकरण हरेक क्रान्तिपछि यस्तै हुँदै गयो । आम मान्छेले निर्दोष आक्रोशलाई साधन बनाएर केही स्वार्थ समूहले गरेको ध्वंशको योजनाले यतिबेला देशलाई दशौं वर्ष नपुरिने खाल्डोमा हालेर ध्वस्त पार्‍यो ।

निराश ‘वर्किङ क्लास’

टीभीका पर्दा र सञ्जालका भित्ताहरू हेर्दै गर्दा आन्दोलनका अनेक रूप देखिए । मेरो टोल-छिमेकका जेन-जी युवायुवतीका, मेरा पारिवारिक आफन्त भित्रैका टिनएजर बाबुनानीका फेसबुक टिकटकतिर आएका पोस्ट र कमेन्ट हेर्दा यो आन्दोलनमा पुस्ता थियो, वर्ग छ्यासमिस थियो ।

प्लस टुदेखि मास्टर तहसम्म पढेका या पढ्दै गरेका, सानोतिनो जागिर सुरु गरेका या विदेश जाने तरखर गरेका, भरखर करिअर थालेका या बेरोजगारीका अभावका दिन बिताउँदै गरेका । एलिट क्लासको सानो संख्या हुँदो हो, अधिकांश थिए शहरीया मध्यम तथा निम्नमध्यम वर्गका । कामदार वर्गका थोरै देखिन्थे ।

यो एउटा भावुक स्वाभिमान बोकेर शान्तिपूर्ण रूपमा हाम्रो नेतृत्वले यो पुस्ताको जीवनको भविष्यबारेको फैसलाका विरुद्ध नोट अफ डिसेन्ट लेख्न गएको थियो । त्यसमध्येको एउटा समूह शिरमा कफन बाँधेर जे परे पनि सहने भन्ने पंक्तिको थियो । वास्तविक जेन-जीको प्रतिनिधित्व यसले गरेको थियो ।

यहाँ देखिएको के भने, राजनीतिक स्वार्थ समूहका सदस्यहरू र ट्यापे-मुन्द्रे लगायत लम्पट सर्वहारा तप्काका सदस्यहरू बाहेक यसमा मूलतः शहरको अर्ध बेरोजगार र असंगठित क्षेत्रमा काम गर्ने वर्किङ क्लासको बहुलता थियो । उनीहरू २०६३ सालको आन्दोलनमा चप्पल वर्गका रूपमा परिचित थिए ।

पहिलो दिनको भिडन्तमा पनि स्वार्थ समूहको प्रवेश थियो । रास्वपा र बालेन समर्थकहरूको एउटा हिस्सा थियो । बालेन अघिल्लो दिनबाटै आन्दोलन आफ्नो कमान्डमा राख्ने प्रयत्नमा रहेका देखिन्थे जो शहरको उदाउँदो राजनीतिक क्लासका पपुलिस्ट हुन्, सम्भ्रान्त हुन् ।

आन्दोलन सुरु हुनुभन्दा पहिलेका टिकटक चित्रहरूमा नेपोबेबीवाला जुन हल्लाखल्ला थियो, त्यो चाहिँ अचानक रातारात बनेको/बनाइएको थिएन । हामी नेपाल यसका लागि लामो समयदेखि तयारी गरिरेहको थियोझैं लाग्छ, जसलाई केही देब्रे ढल्कुवा पश्चिमा व्यक्तित्वहरूले अमेरिकाले लगानी गरेको र कलर रिभोलुसनको एउटा हिस्सा भनेर टिप्पणी गरेका छन् । त्यसलाई पुष्टि गर्ने केही सामग्री दिने पनि तिनको प्रयास छ ।

विदेशमा बस्ने नेपालीको एउटा ठूलो हिस्साले पनि त्यसलाई समर्थन र सहयोग गरेको थियो जो नेपाली नेताहरूको भ्रष्टाचार र प्रशासनिक काम गराइबाट वाक्क थिए । यो हतारमा रहेको पुस्ता पनि त हो ।

भोलिपल्ट जे-जस्तो भयो, त्यसको छनक सायद थोरैलाई मात्र थियो । इन्डोनेसिया र बङ्गलादेशबाट सिकेका यी तरिकाहरू कलर रिभोलुसनकै निरन्तरताको झल्को दिन्छन् ।

सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन र अरू सार्वजनिक व्यक्तिगत भौतिक संरचनाहरू जे-जति जलाइए र ध्वस्त बनाइए, जसजसलाई आक्रमण गरियो त्यो सामान्य आक्रोशको अभिव्यक्ति होइन । सोच विचार गरेर, लामो समय योजना बनाएर, त्यस्तो योजना लागु गर्ने सानोतिनो समूह प्लान्टेड गरेर मात्र यस्तो गर्न सकिन्छ । हामी आफैं आन्दोलनबाट हुर्केको हुनाले यस्तो प्लान कसरी गरिन्छ भन्ने धेरथोर अनुभव छ ।

default

फागुनमा दुर्गा प्रसाईंका मान्छेहरूले तीनकुनेमा मच्चाएको उद्दण्डतता, एकवर्ष पहिले ल्होत्से मलमा भएको घटना, भदौ १६ काण्ड, ऋतिक रोशन काण्ड जस्ता घटनाले यस्तो समूहलाई कसरी विध्वंशका लागि परिचालित गरिन्छ भन्ने एउटा मोडुस ओपेरान्डी देखाउँछन् । स्वतस्फूर्त जानेलाई यस्तो योजना पहिले नै थाहा हुने कुरै भएन ।

र, विध्वंश र लुटपाटमा संलग्नहरूको समूह देख्दा त्यसमा प्रष्टसँग दुईथरी समूह देखिन्छन् । एउटा सचेत, क्याम्पससम्म अध्ययन गरेको, मध्यम वर्गको उपल्लो हिस्सालाई प्रतिनिधित्व गर्ने समूह । यो मुख्य योजनाकार थियो । यसमा राजनीतिक रूपमा कुनै न कुनै स्वार्थ भएका समूहका सदस्यहरू थिए ।

मैले आजसम्म सुनेका आधारमा यस्तो पंक्तिमा राजावादीहरूका भिन्नभिन्न समूह, रास्वपा समर्थकहरू, माओवादी, एमाले र कांग्रेसका समर्थक तर भुइँ तहकाहरू समेत सामेल थिए । कामदार वर्गका मानिसहरू यसमा सामेल थिए । फ्रस्टेट र निराश युवाहरूको ठूलो पंक्ति थियो । र, लुटपाटमा संलग्नहरूमा पेशेवर अपराधीहरू, जसमा जेलबाट भागेका पनि पर्छन् र शहरी गरिबको पंक्ति थियो जो भिडबाट हुने आत्मसुरक्षाको अनुभूतिका कारण यस्तो लुटपाटमा लागेको थियो ।

जुनसुकै आन्दोलन या क्रान्तिले पनि जबसम्म आफ्नो समयको आधारभूत अन्तरविरोध ठम्याएर हल गर्दैन, सानातिना सुधार र लिपापोती मात्र गर्छ, त्यसले विद्रोहका सम्भावना जीवित राखिरहन्छ । अहिले पनि भएको त्यही हो ।

भिडमा भएकोले उसले चोर्‍यो, म पनि चोरिहालौं, यत्रो भिडमा म नमिसिएर के हुन्छ र भन्दै आफ्ना सामान्य दैनिक आवश्यकताको पूर्तिको लोभमा फसेकाहरू सामेल थिए । पोखरा र काठमाडौंका यस्तो भिड नियाल्ने साथीहरूको अनुभवमा यसपालि यी शहरमा सानोतिनो रोजगारी या व्यापार गरेर बस्ने भारतीयहरू उल्लेख्य संख्या लुटपाटमा थिए ।

यहाँ देखिएको के भने, राजनीतिक स्वार्थ समूहका सदस्यहरू र ट्यापे-मुन्द्रे लगायत लम्पट सर्वहारा तप्काका सदस्यहरू बाहेक यसमा मूलतः शहरको अर्ध बेरोजगार र असंगठित क्षेत्रमा काम गर्ने वर्किङ क्लासको बहुलता थियो । उनीहरू २०६३ सालको आन्दोलनमा चप्पल वर्गका रूपमा परिचित थिए ।

यो पछिल्लो समूह नेपालको अर्थनीतिले उत्पादन गरेको त्यस्तो वर्ग हो जसको स्थायी ठेगाना विस्तारै हराउँदै गएको छ, जीवन दैनिक ज्यालादारीमा मात्र निर्भर छ, गरिबीका कारण सन्तानलाई हाइस्कुलसम्मको शिक्षा दिन पनि असमर्थ छ, बसाइँ सरिरहन्छ, कहिले खान्छ र कहिले भोकै पर्छ, शहरको चकाचौंध उज्यालोभित्र अँध्यारा चिसा छिँडीहरूमा यसको बास छ । परिवार विघटनको तीव्र महामारीबाट गुज्रेको छ ।

ठेकेदारले, साहुले, डाक्टरले, पुलिसले, टोले गुण्डाले, पसलेले, सवारी साधन हुनेले, पैसा हुनेले, शक्ति हुनेले हेपेको वर्गमा पर्छ यो । यो समूह नेपालको सबैभन्दा सीमान्त समूह हो । न बुढेसकालको सुरक्षाको सम्भावना छ न विदेश जान या सन्तानलाई पठाउन स्रोत जुटाउन सक्छ ।

हाम्रा शिक्षा र स्वास्थ्य नीतिले पेलिएको यो वर्गले पनि भ्रष्टाचारको कुरा सुनेको छ, नेताहरूले प्वाँ प्वाँ र पुँ पुँ गर्दै तर्साउँदै हिँडेको अनुभव गरेको छ । यसका आक्रोस पोख्ने ठाउँ यस्तै हुलमुल हो जहाँ उसले आफूलाई तुलनात्मक रूपमा सुरक्षित महसुस गर्छ ।

आफूसँग पनि शक्ति भएको अनुभव गर्छ । बदलाको भावले आगो सल्काएपछि एकछिन आफूलाई बादशाह नै ठान्छ र शिर ठाडो पारेर जसलाई पनि हेर्ने आँट गर्छ । राजनीतीकरण गर्न सक्दा यो नै विद्रोहको र पुनर्निर्माणको मुख्य शक्ति बन्नुपर्ने हो ।

जहिलेसम्म अर्थतन्त्रको पिँधमा रहेको यो समूह संस्थागत रूपमा सामाजिक सुरक्षाको घेरामा अटाउँदैन तहिलेसम्म अनेक समयमा यसले आफ्नो हजारौं वर्षको शोषणको बदला लिन यस्ता मौकाको प्रयोग गर्छ नै । यो हाम्रो समाजले छोपेर राखेको खरानीमुनिको आगो हो । यो विस्फोट हुन ठिक्क परेको बारुद हो ।

जुनसुकै आन्दोलन या क्रान्तिले पनि जबसम्म आफ्नो समयको आधारभूत अन्तरविरोध ठम्याएर हल गर्दैन, सानातिना सुधार र लिपापोती मात्र गर्छ, त्यसले विद्रोहका सम्भावना जीवित राखिरहन्छ । अहिले पनि भएको त्यही हो ।

अब झन् अर्थतन्त्रलाई दसौं वर्ष ठहरावमा राख्ने र विकसित हुन नसक्ने अवस्था बनेको छ । अलिकति रुवान्डाबाट सिक्न सके हामीले यही खरानीबाट पनि महल ठड्याउन सक्नेछौं । सबै सीमान्त समूहलाई मूलप्रवाहमा लिएर हिँडने वातावरण बन्नेछ । अन्यथा विद्रोह र ध्वंशको यो दुष्चक्र अहिलेभन्दा शक्तिशाली भएर हामीलाई लखेटिरहने छ ।

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?