
अष्ट्रेलियाको अनकन्टार गाउँमा चौकीदारीको ड्युटी । अरु काम त खासै केही हुँदैन, तर हातमा लौरो लिएर १० घण्टा गेटमा उभिनै पर्छ । थकानले होला, हाई हाई गर्दै १० घण्टा बिताउन १० महीना जस्तो लाग्ने । त्यही माथि जाडोको मौसम ।
७ दिनको लगातारको १० घण्टे ड्युटीपछि भोलि विदा । टाउको कन्याएको जस्तो गरेर देब्रे हातमा लगाएको घडीबाट साथीलाई कल गरें । शायद विज्ञान र प्रविधिको अद्भुत विकासले होला, यस्तै यस्तै बेलामा मेरो दिनदिनै नुहाएको टाउको पनि आजकल धेरै चिलाउँछ ।
संयोग भन्ने कि अवसर, उसको र मेरो विदा पनि एकैदिन हुन्छ ।
‘आइज न बेलुका दाजुभाइ बसम्, लास्ट थकाइ लागेको छ यार ।’ ऊ फेरि मेरो नेपालदेखिकै साथी ।
‘ओके म काममै छु, बेलुका भेटौंला ।’ शायद उसले पनि टाउको कन्याउँदै थियो होला, फोन राखिदियो ।
तर ऊ आउने कन्फर्म, मनमा एउटा छुट्टै अनुभूति भयो ।
करीब एक महीनापछि उसँग फेरि बस्दैछु । उसँग नेपालमा तोङ्बा खाँदै गल्लीमा हल्ला मच्चाएको यादहरु एकाएक ताजा भए ।
मैले काममा भएकी बुढीलाई मेसेज गरें- ‘आज ओभरटाइम गर्नुपर्ने भयो, घर आउँदा ढिलो हुन्छ, तिमी खाएर सुत ।’
म झुट बोल्न सिक्दैछु, यस्तो ‘ओभरटाइम’ बेला बेलामा गरिरहन्छु ।
उताबाट एक शब्दको मीठो रिप्लाई आयो, ‘हस् ।’
बुढीलाई पनि थाहा भइसकेको छ मेरो ‘ओभरटाइम’को बारेमा । अरु बेला भोलिपल्ट विदा हुने दिन सधैं ‘ओभरटाइम’ हुन्छ भन्दै गाली गर्थी । किन हो कुन्नि, यो पटक भने गाली गरिनँ ।
‘ह्या जेसुकै होस्’ यता साथीसँग बस्ने भएपछि म खुशी थिएँ ।
घडीले ५ बजेको जनाउ दियो । हत्तपत्त लुगा फेरेर म निस्किएँ ।
बिहान ७ बजेदेखिको ड्युटी सकेर आधा घण्टामा म नजिकैको ‘पब’मा गएँ । साथी पनि ‘जक्सन’मा आइसकेको रहेछ । त्यो ‘पब’ हाम्रो ‘रेगुलर जक्सन’ बनेको थियो ।
सञ्चो बिसञ्चो कुरा गर्दै हामी एक एक वटा बियर लिएर टेबुलमा बस्यौं । मौसम जति जाडो भए पनि पिउन त चिसो बियर नै मज्जा ।
गफ गर्दागर्दै कतिवटा बियर थपियो याद भएन । याद नभएको अर्थ झ्याप भएर होइन, नगनेर हो ।
रमाइलो कुरा गर्दागर्दै एक्कासी उसले एउटा दुःखेसो पोख्यो । बियर लागेछ केटोलाई, मनमनै सोचें ।
अहिलेसम्म उसले यसरी मेरो अगाडि दुःख पोखेको मलाई याद थिएन । रक्सी खान बसेपछि रमाइलो गर्ने मान्छे हो ऊ, विन्दास पाराको ।
‘तीजको माहोल शुरु भयो कि बुढीले फेरि किचकिच गर्न शुरु गर्छे यार’, अर्कै प्रसङ्गमा रमाइलो कुरा भइरहँदा निन्याउरो हुँदै एक्कासी ऊ बोल्यो । उसलाई पुलुक्क हेरें, उसको अनुहार मलिन थियो, गम्भीरता प्रष्टसँग देखिन्थ्यो ।
जिन्दगीका हँसिला पलहरुलाई सम्झँदै कति दिनपछि रमाइलो महसूस भइरहेको माहोल किन बिगार्नु हैन ।
‘ल अझ एक एक बियर थपम्,’ प्रसंग बदल्ने प्रयास गरें । काउण्टर गएर फेरि एक एक वटा बियर लिइयो । तर ऊ प्रसङ्ग बदल्ने मूडमा थिएन ।
‘के भयो भन् ?’ मेरो पुरानो साथी ऊ । मैले अलि ठूलो आवाजले प्रश्न गरें, हकारे जस्तो गरेर ।
‘बुढीले सारी किन्दिनु भनेकी छ’, उसले निन्याउरो पारामा उत्तर दियो ।
‘जाबो यति सानो कुरामा पनि किन चिन्ता, किन्दे न त एउटा सारी ।’
‘एउटा भए पो किन्दिनु त’ उ झन ‘सिरियस’ भयो, ‘मलाई दिक्क लागिसक्यो यार बुढीलाई सारी किन्दा किन्दा ।’
उसले भनेको ‘किन्दा किन्दा’ शब्द सुनेपछि अबचाहिं म पनि गम्भीर भएँ ।
‘तीज आउन अझै एक महीना बाँकी छ, हरेक दिन पार्टी, पार्टी पिच्छे नयाँ सारी ।’ उसले एकोहोरो बोल्दै गयो । ‘कसरी सकिन्छ यार ?’
‘सारी मात्र किनेर नहुने, सारी अनुसारको ब्लाउज, सारीको कलर अनुसारको जुत्ता, त्यही अनुसारको गहना’, ऊ एकोहोरो बोल्दै गयो । म उसको कुरा सुन्दै गएँ । के भनौं, के नभनौं भयो मलाई, अक्कबक्क भएँ ।
‘आइ एम फेड अप विथ दिस’, रक्सी खाएपछि कहिलेकाहीं अङ्ग्रेजी पनि बोल्छ ऊ ।
‘भयो छोड यी कुरा, अब घर जानुपर्छ ढिला भइसक्यो ।’ यसो घडी हेरेको रातिको ९ बजिसकेको रहेछ ।
कसिला हात मिलाएर हामी छुट्टियौं ।
घर पुगें । बुढीले खाना तताएर ल्याइदिई । अरु दिन ‘ओभरटाइम’ गरेर गएको बेला वास्ता नगर्ने बुढी यो पालि घर पुग्दा झन् बढी माया गरी । म अचम्मित भएँ ।
भोलिपल्ट विदा भएको दिन बुढाले अलिकति रक्सी खायो भन्ने कुरालाई सहज रूपमा लिन थाली भनेर म भित्रभित्र गर्व महसूस गरें ।
‘भोलि साथीहरुले तीजको दर खान बोलाएका छन्, एकजोर कपडा किन्छु है’ सुत्नु अगाडि बुढीले भनी । अघि मैले गरेको गर्व धेरै बेर टिक्न सकेन ।
झल्यास्स साथी सम्झिएँ, उसले भनेका कुराहरु सम्झिएँ । मेरो घरमा पनि सारी काण्ड हुन लागेको भेउ पाएँ, अनि बुढीलाई भनें, ‘हस् ।’ अरु त के नै भन्न सक्छु र म पनि ?
प्रतिक्रिया 4