News Summary
Generated by OK AI. Editorially reviewed.- एन्जाइटी र डिप्रेसन सामान्य मानसिक स्वास्थ्य समस्या हुन्, जसलाई समयमै चिन्न नसक्दा दैनिक जीवनमा असर पर्न सक्छ।
- एन्जाइटीमा शरीर बिना कारण डराउँछ भने डिप्रेसनमा बिना कारण उदासी र ऊर्जाको कमी हुन्छ।
- उपचारमा थेरापी, जीवनशैली सुधार र औषधि एकसाथ लागू गर्दा समस्या नियन्त्रण गर्न सकिन्छ।
एन्जाइटी र डिप्रेसन सामान्य मानसिक स्वास्थ्य समस्या भए पनि धेरैले समयमै चिन्न सक्दैनन् । डर, चिन्ता र उदासीपनले दैनिक जीवनमा असर पार्न थाले भने यसलाई सामान्य तनाव नभई रोगको संकेत मान्नुपर्छ । प्रारम्भिक लक्षण बुझेर उपचार गरेमा सजिलै नियन्त्रण र सुधार गर्न सकिन्छ ।
एन्जाइटी र डिप्रेसन के हुन् ?
एन्जाइटीलाई ‘डरको रोग’ र डिप्रेसनलाई ‘उदासीपनको रोग’ भन्न सकिन्छ । जीवनमा तनाव, डर वा उदासी हुनु सामान्य हो, तर जब यी भावनाहरूले दैनिक जीवनमा असर पार्न थाल्छन्, तब यो विकारमा परिणत हुन्छ ।
एन्जाइटी
यो अवस्थामा मन बलियो बनाउनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि शरीर बिनाकारण डराउँछ । दिमागले शरीरलाई नियन्त्रण गर्न सक्दैन, जसले गर्दा डर बढ्दै जान्छ ।
डिप्रेसन
यो उदासीपनको समस्या हो । खुसी हुनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि शरीर बिना कारण दु:खी हुन्छ, जसले जीवनमा रुचि घटाउँछ ।
यी दुवैलाई मनोरोगको बोर्ड विभाजनमा ‘न्युरोसिस’ अन्तर्गत राखिन्छ । न्युरोसिसमा बिरामीले आफूलाई गाह्रो भएको महसुस गर्छ, तर अरूले सजिलै थाहा पाउँदैनन् । यसको विपरीत, साइकोसिसमा बिरामीले आफूलाई ठिक ठान्छ, तर उसको व्यवहारले अरूलाई दुःख दिन्छ ।
एन्जाइटीका प्रारम्भिक लक्षणहरू
एन्जाइटीका लक्षणहरू मुख्य रूपमा शारीरिक र मानसिक हुन्छन् ।
-मुटु ढुकढुक गर्ने ।
-सास फेर्न गाह्रो हुने ।
-छटपटी हुने ।
-घाँटीमा केही अड्केको जस्तो महसुस हुने ।
-मुख सुक्खा हुने ।
-राति निद्रा नलाग्ने ।
-शान्त बस्न नसक्ने ।
-शरीर भित्रै कामेको जस्तो हुने ।
यी लक्षणहरू प्रायः सबै बिरामीहरूमा देखिन्छन् । यदि यिनले दैनिक जीवनमा असर पार्न थाल्छन् जस्तै निद्रा, खानपान, कामकाज वा सम्बन्ध, तब यो एन्जाइटी डिसअर्डर हुनसक्छ ।
डिप्रेसनका प्रारम्भिक लक्षणहरू
डिप्रेसनका लक्षणहरू उदासी र ऊर्जाको कमीमा केन्द्रित हुन्छन् ।
-कोहीसँग बोल्न मन नलाग्ने ।
-कुनै कुरामा रमाइलो नलाग्ने ।
-पहिले रुचि भएका कुराहरूमा इच्छा नहुने ।
-शरीर २४ घण्टा गलेको जस्तो हुने ।
-थोरै काम गर्दा पनि थाकेको महसुस हुने ।
-खुसी हुन धेरै मेहनत गर्नुपर्ने ।
यी लक्षणहरूले पनि दैनिक जीवनमा असर पार्दा यो डिप्रेसन डिसअर्डर बन्छ ।
एन्जाइटी र डिप्रेसनमा फरक कसरी छुट्टाउने ?
यी दुवैका लक्षणहरू ओभरल्याप हुन सक्छन्, जस्तै निराशापन दुवैमा देखिन सक्छ । तर मुख्य फरक एन्जाइटीमा डर र चिन्ता जस्तै मुटु ढुकढुक, छटपटी हुन्छ । डिप्रेसनमा उदासी र ऊर्जाहीनता जस्तै रुचि नहुने, थकान हुन्छ ।
उपचारमा हामी लक्षणहरू छुट्टाउने भन्दा पनि कारण पत्ता लगाउँछौँ । यदि सुरुमा डरका लक्षण थिए र पछि उदासी थपियो भने, एन्जाइटीलाई प्राइमरी र डिप्रेसनलाई सेकेन्डरी मानिन्छ । प्रायः यी दुवै सँगसँगै देखिन्छन् ।
हाइपोकोन्ड्रियासिस : एक सम्बन्धित समस्या
कतिपय मानिसहरूमा ‘मलाई ठुलो रोग लाग्यो’ भन्ने डर हुन्छ, जसलाई हाइपोकोन्ड्रियासिस भनिन्छ । यसमा पटक–पटक डाक्टरकहाँ जाने । सबै जाँच गर्ने, तर नतिजा सामान्य आए पनि विश्वास नगर्ने । अस्पताल र डाक्टर फेर्ने गर्छन् । यो एन्जाइटी वा डिप्रेसनसँग जोडिएको हुन सक्छ । यदि शारीरिक जाँचमा केही देखिन्न भने, मानसिक पक्षबाट उपचार गर्न सकिन्छ ।
समाजको दृष्टिकोण र समस्या दबाउने प्रवृत्ति
हाम्रो समाजमा ‘सधैँ खुसी हुनुपर्छ’ भन्ने सोच बलियो छ । यसले गर्दा मानिसहरू आफ्ना भावनाहरू दबाउँछन्, जसले लक्षणहरूलाई मानसिकबाट शारीरिकतर्फ धकेल्छ । तनाव समाधान भए पनि नकारात्मक छाप रहिरहन्छ, जसले रोग निम्त्याउछ । सानो भावना पनि ठूलो रोग ठानेर डराउनु हुँदैन । दैनिक जीवनमा असर नपरेसम्म आत्तिनु पर्दैन ।
एन्जाइटी र डिप्रेसनका कारणहरू
एन्जाइटी र डिप्रेसनका कारणहरू बहुआयामिक हुन्छन् । परिवारमा कसैलाई मनोरोग छ भने जोखिम बढ्छ । कसैको व्यक्तित्व नै आत्तिने वा चिन्ता लिने हुन्छ । यस्ता स्वभाव भए सानो तनावले पनि असर पार्छ।
परिवारमा समस्या, कामको दबाब, आर्थिक समस्या, पढाइ वा सम्बन्धका मुद्दाहरू । युवाहरूमा प्रेम सम्बन्धमा दरार जस्ता जीवन घटनाहरू पनि यसको कारण बन्न सक्छ । एकैचोटी ठूलो दुर्घटना वा हानिका कारण पनि मानसिक समस्या देखा पर्न सक्छ । हरेक बिरामीको जीवन फरक हुने भएकाले कारणहरू व्यक्तिगत रूपमा हेर्नुपर्छ ।
उपचार र छुटकारा पाउने तरिका
एन्जाइटी र डिप्रेसनबाट छुटकारा पाउन सकिन्छ, तर यसका लागि उपचारको विभिन्न उपाय अपनाउनु पर्ने हुन्छ । यस्ता समस्यालाई औषधिले मात्र ठिक पार्दैन, यसले सजिलो बनाउँछ ।
उपचारका मुख्य तीन पक्ष
यस्ता समस्याबाट छुटकारा पाउन सोचाइमा परिवर्तन गर्नुपर्छ । जसका लागि मनोविद्हरूबाट थेरापी लिन सकिन्छ । मनाेविद्ले व्यक्तित्व मूल्याङ्कन गरेर समस्यालाई कसरी ह्यान्डल गर्ने भन्ने कुरा सिकाउँछन् ।
जीवनशैलीमा परिवर्तन पनि उपचारको महत्वपूर्ण पक्ष हो । नियमित व्यायाम, ध्यानले औषधिजस्तै दिमागमा सकारात्मक परिवर्तन ल्याउँछन् ।
समस्या निम्तिने कारण पत्ता लगाएर समाधान खोज्नुपर्छ । जस्तै, पारिवारिक झगडा भए दुवै पक्षलाई उपचारमा संलग्न गर्नुपर्छ । उदाहरणका लागि एक जोडीमा श्रीमानको डिप्रेसनले रिस निम्त्याउदा श्रीमतीलाई एन्जाइटी भएको थियो । दुवैको उपचारले सुधार आयो ।
औषधि, थेरापी र जीवनशैलीमा सुधार गर्ने उपाय एकसाथ लागू गरेमा औषधि बन्द गरेपछि पनि समस्या फर्किँदैन । तनाव जीवनभर रहन्छ, तर यसलाई व्यवस्थापन गरेर खुसी जीवन बिताउन सकिन्छ ।
प्रतिक्रिया 4