+
+
Shares

सिंहदरबार जल्दा इतिहास खरानी

अब हाम्रो नयाँ पुस्ताले कति टाढासम्म देख्ला र देशलाई सही दिशातिर डोहोर्‍याउला ? अध्येता नेपालको प्रश्न पनि उस्तै छ, ‘ऐतिहासिक दस्तावेज रहने ठाउँहरू सबै जले । अब कहाँ खोज्ने इतिहास ?’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ भदौ २५ गते १९:५७
बुधबार बिहान कैद गरिएको जलेको गरेको सिंहदरबारको तस्वीर।

२५ भदौ, काठमाडौं । मंगलबार दिउँसो सवा २ बजे सिंहदरबार पुग्दा दक्षिणतर्फको गेट अगाडि फलामका छेकबार थिए । गेटभित्र थिए– नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी थिए ।

सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा युनिटका जवानहरूको अनुहार भने मलिन देखिन्थे । हातमा हतियार थियो, तर आफैं सुरक्षित महसुस गरिरहेका थिएनन् ।

दक्षिण गेटबाट भित्र छिर्दा पश्चिम गेटतिर नेपाल आर्मीको एउटा टोली दौडिरहेको थियो । पश्चिम गेटबाट प्रदर्शनकारी सिंहदरबार प्रवेश गरेका थिए । केहीबेरमै उनीहरूलाई बाहिर निकालेर सुरक्षाकर्मीले सिंहदरबारको सुरक्षा नियन्त्रणमा लिए ।

सिंहदरबारको सुरक्षा नियन्त्रणमा आएको सूचना प्रवाह गर्न नपाउँदै पूर्वी गेट अगाडि टायर बालेर प्रदर्शनकारीहरूले नारा लगाउन थाले ‘अहिले जलाउँछौं, भोलि बनाउँला’, ‘हामी भत्काउँछौं, हामी नै बनाउँछौं’, ‘अब छोड्दे, अब छोड्दे ।’

गेटमा परिचालित तीनवटै सुरक्षा निकायका टोली नयाँ बानेश्वरस्थित संसद भवन जलाउने प्रर्दशनकारीहरू पुगेपछि भने पछाडि हट्ने वातावरण बन्यो । प्रदर्शनकारीले फलामका छेकबार हटाए ।

उनीहरूले प्लास्टिकको डिभाइडरभित्र बोेरा बालेर पेट्रोल खनाए । सुरक्षा निकाय पछाडि हट्यो । सुरक्षाकर्मीले सिंहदरबार गेटमा तीन फन्का बेरिएको फलामको साङ्लो एक फन्कामा झारेर ताला लगाइदिए ।

प्रदर्शनकारीले गेट तोडफोड सुरु गरेपछि सुरक्षाकर्मीहरू सिंहदरबारभित्र संघीय मामिला मन्त्रालयको अगाडि हुँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय छेउतिर गए । प्रदर्शनकारी गेट तोडेर छिरे ।

सुरक्षा निकाय गाडी चढेर बाहिरिएसँगै प्रदर्शनकारीले नेपालको झन्डा देखाएर सुरक्षाकर्मीहरूलाई बिदा गरे । सुरक्षाकर्मीहरू सिंहदरबारबाट बाहिरिँदा गेट छेउमै रहेको सुरक्षा पोस्टमा आगो दन्किरहेको थियो ।

मंगलबार राति कैद गरिएको जल्दै गरेको सिंहदरबारको तस्वीर।

त्यतिबेलासम्म पश्चिम गेट र पूर्वी गेटबाट पनि प्रदर्शनकारी छिरिसकेका थिए । पश्चिम गेटबाट प्रवेश गरेकाहरूले गृह मन्त्रालयबाट तोडफोड सुरु गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै कांग्रस र नेकपा एमालेको संसदीय दलको कार्यालयसम्म पुगे । दक्षिण गेटबाट प्रवेश गरेकाहरूले संघीय मामिला मन्त्रालयबाट तोडफोड सुरु गरे । तोडफोडसँगै आगो लगाए ।

सिंहदरबारबाट पत्रकारलाई बाहिरिन समेत सकस परेको थियो । ‘पत्रकार हो ! बाहिर जाऊ’ प्रदर्शनकारीमध्ये एकले भने ।

‘अबको रिर्पोटिङ हामी गरौंला’ अर्कोले थपे । सिंहदरबार पूर्णत: प्रदर्शनकारीको नियन्त्रणमा गयो ।

क्षणभरमै नेपालको राजनीतिक–प्रशासनिक केन्द्र सिंहदरबारका संरचना ध्वस्त भयो । नेपालको हालसम्मकै सर्वाधिक ठूलो सरकारी भवन, सबैभन्दा ठूलो प्रशासनिक कम्प्लेक्स खण्डहर भयो ।

नेपालको राजनीतिक र प्रशासनिक सत्ताको केन्द्र, जसलाई कतिपयले ‘नेपालको सत्ता–मन्दिर’ पनि भन्छन्, सिंहदरबार धेरैपटक आगोको लपेटामा पर्‍यो, केही बलिया धक्का भूकम्पहरूको पनि भेट्टायो ।

तर, यसपटक यो लगभग पूर्ण रूपमा जल्यो, जसलाई कसैले पनि बचाउन सकेन । जबकि सिंहदरबारले वर्षौंवर्षदेखि धेरै संस्था र व्यक्तिहरूलाई आश्रय दिंदै आएको छ ।

 जसोतसो बाहिर निस्किएँ र सडकछेउको घर चढेर आगोको मुस्लोले निलिरहेको सिंहदरबारका सुन्दर दरबारहरू हेरिरहें । मन शुन्य भयो । काला मुस्लाहरूले संघीय मामिला मन्त्रालय, ऊर्जा मन्त्रालय लगायत भवन जलिरहेको थियो ।

तातोले ग्यासका सिलिन्डर पड्किँदा बेलाबेला झल्याँस्स बन्थेँ । सँगै पड्किरहेका थिए, गाडीका पार्टपूर्जा पड्किरहेका थिए । धुँवाले आकाश ढाकेको थियो । नयाँ बानेश्वरस्थित संसद भवनबाट निस्केको धुवाँ र सिंहदरबारको धुवाँले आसपासको बस्ती पूरै धुँवाले ढकमक थियो ।

आकाशमा कालो बादलले पानी दिएर जान्छ । मुलुकका यी प्रशासनिक भवनहरू निल्दै निस्किरहेको यी काला धुँवाहरूले कति नेपालीलाई प्रवास धकेल्ने हो, कतिको रोजागरी खोस्ने हो ? कतिले के के गुमाउने हो ? मलाई भने प्रश्नहरूले पुरे ।

तथापि, युवाहरू सडकमा निस्फिक्री देखिन्थे । कुनै भयानक युद्ध जस्तो जहाँ प्रतिकार गर्ने कोही छैन । यी भवनहरू जलेकोमा उनीहरूको अनुहारमा कुनै बेचैनी थिएन । यस्तो लाग्थ्यो, बरू उनीहरूलाई खुसी थपिररहेको थियो ।

बुधबार बिहान कैद गरिएको जलेको संघीय संसद भवनको तस्वीर।

समयमै क्षति रोक्न राज्य संयन्त्र किन लागेन ? कि हाम्रो राष्ट्र–राज्य नै राम्ररी बनिसकेको छैन ? मनका अनेका प्रश्न उठे जसले मनलाई जोडिरहेका धेरै विश्वासका तारहरू छिनाले ।

आगोले निलेको भवनहरू नेपालीकै रगत–पसिनाले बन्ला । विछाडे सहेर विदेशिएका युवाहरूले पठाउने रेमिटेन्सले बन्ला । तर, महत्वपूर्ण काजगाज, हाम्रो इतिहास, यसलाई कसले बनाउने ?

पछि, संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीलाई सोधें । उनका अनुसार, सिंहदरबार मात्रै जलेको छैन, यसको इतिहास जलेको छ । सन् १९०८ मा चन्द्र शमशेरले निर्माण गरेका यो दरबार लामो समयसम्म एशियाकै सबैभन्दा ठूलो महल मानिन्थ्यो ।

प्रवक्ता गिरीका अनुसार नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको कार्यालय खरानी भएको छ । संसद भवनको एक नम्बर बिल्डिङ अगाडि राखिएका गाडी र बाइकहरूका अस्थिपञ्जर मात्र बाँकी छन् । संसद् भवनकै दुई नम्बर बिल्डिङ अगाडि राखिएका सवारी तोडफोड भएका छन् ।

‘क्षतिको यकिन विवरण आएको छैन । तर, ठूलो क्षति भएको छ,’ प्रवक्ता गिरीले भने ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनसँग गफिएँ । उन अनुसार सिंहदरबारभित्र ३० बढी भवन रहेका छन् । ‘५/६ वटा राणाकालीन, १५/१६ वटा नयाँ र अरू समेत गर्दा ३० भन्दा बढी भवन रहेका छन्,’ उनले विस्तारमा बताए ।

सिंहदरबारबाट निस्केर बबरमहलतिर पुग्दा काठमाडौं जिल्ला अदालत, विशेष अदालत, सडक विभाग, अन्य सरकारी कार्यालय जलिरहेका थिए । यी भवनमा रहेका कागजात जलेर आगोको राता र रापिला मुस्ला बन्दै आकाशतिर कतै हराइरहेका थिए ।

केहीबेरमै सर्वोच्च अदालतको भवनबाट पनि आगोको मुस्लो निस्क्यो । माइतीघर नजिकै रहेको सरकारी वकिलको कार्यालयमा पनि आगो दन्कियो । नजिक रहेका निजी संरचनामा पनि आगो लाग्यो ।

मंगलबार अपरान्ह कैद गरिएको तस्वीरमा जल्दै गरेको सर्वोच्च अदालत।

बबलमहल पुग्दा ट्राफिक प्रहरी नै जेनजीसँग ‘हो मा हो’ मिलाइरहेका थिए । विस्तारै साँझ पर्न थालेपछि प्रदर्शनकारीहरूले सुरक्षा निकायका गाडीहरू नियन्त्रणमा लिए ।

‘हत्यारा सरकार’ लेखिएको ब्यानरमा सिंहदरबार परिसर परिक्रमा गरे । सुरक्षा निकायको गाडी प्रयोग गरेर माइतीघरबाट नयाँ बानेश्वरसम्म ओहोरदोहोर पनि गरे । सडकबीचमा युवाहरूको सेलेब्रेसन चलिरहेको थियो । साइडमा रहेका सरकारी कार्यालयमा दनदनी आगो बलिरहेको थियो । आगोको मुस्लो छेउ पुग्दा र ग्यासका सिलिण्डर पड्केर आवाज आउँदा उनीहरू खुसीयालीमा हुटिङ गर्दथे ।

सिंहदरबारमा आगोले के के निलिरहेको छ ? जवाफ खोज्न घर फर्किएपछि तथ्यांक केलाएँ । भवन निर्माण विभागको अभिलेख अनुसार सिंहदरबारभित्र दुई हजार बढी कोठा रहेछन् ।

संख्याको विशालता मात्रै होइन, शक्ति र गुणले पनि यो निकै महत्वपूर्ण छ । राणा शासनदेखि लोकतन्त्र, बहुदल, राजतन्त्र हुँदै गणतन्त्र, एकात्मकदेखि संघीय शासनसम्म सबै शासकीय मोडहरू हेरेको सिंहदरबार आफैंमा ऐतिहासिक संरचना हो ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका दुई किलोमिटरको दुरीमा छ । रामशहपथ देखि नयाँ वानेश्वरसम्म रहेका तीन वटै निकायका संरचना क्षणभरमै खण्डहर भयो । भवन मात्रै खरानी भएनन्, त्यसभित्र रहेका ऐतिहासिक दस्तावेजहरू जलेका छन् ।

‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत परिसर सुरक्षाका दृष्टिले संवेदनशील ठाउँ हो । यी क्षेत्रमा राज्यको उच्च सुरक्षा हुन्छ । यो क्षेत्रमा बस्दा सुरक्षित भइन्छ भन्ने थियो तर, आज सिंहदरबार नै रहेन । बाँकी सुरक्षा के होला !’ बबरमहल निवासी एक युवा भन्दै थिए ।

उनी सिंहदरबारभित्रै पाँचौं तहमा काम गर्ने कर्मचारी रहेछन् । उनको चिन्ता सिंहदबार र सरकारी कार्यालय जल्नुभन्दा ज्यादा नेपालको ऐतिहासिक कागजात जल्यो भन्नेमा थियो । उनी भन्दै थिए, ‘नेताहरूको प्रवृत्तिले समस्या पारेको हो । त्यतातिर केन्द्रित भएको भए हुन्थ्यो । अब सिंहदरबार जलाएपछि नेपालको कैयन ऐतिहासिक दस्तावेज रहेन । यसले इतिहास नै कस्तो लेखिने हो भन्ने चिन्ता छ ।’

मंगलबार लागेको आगो बुधबार बिहानसम्म पनि निभेको छैन । सम्भवत: आगोलाई पनि गाह्रो भइरहेको छ इतिहास बोकेको सिंहदरबार निल्न ।

मंगलबार राति कैद गरिएको जल्दै गरेको सिंहदरबारको तस्वीर।

सम्बन्धित कार्यालयले क्षतिको आकलन सुरु गरेका छन् । अब कसरी अगाडि बढ्ने भन्ने अन्योल छ ।

संघीय संसद सचिवालयले सूचना नै निकालेर संसदीय कामकारबाही अनिश्चित समयका लागि स्थगित गरेको छ । ‘संसद बैठक बस्न सक्ने स्थिति छैन । यस्तोमा सूचना निकालेर जनतालाई जानकारी दिनुपर्छ भनेर सूचना निकालेका छौं,’ संसद सचिवालयका प्रवक्ता गिरीले भने ।

प्रदर्शनकारीहरूले संसद विघटनको माग राखेका छन् । आगामी दिन कसरी अगाडि बढ्छन्, सबै अनिश्चियको घेरामा छन् । यस्तो लाग्छ कि नेपालको राजनीति शुन्यमा फसेको छ ।

मंगलबार सिंहदरबारको गेट तोड्नु खोलिदिन आग्रह गर्नेक्रममा जेनजीहरूले भनेका छन्, ‘अहिले जलाउँछौं, भोलि बनाउँला । हामी भत्काउँछौं, हामी नै बनाउँछौं । अब छोड्दे, अब छोड्दे ।’

यो नाराले मलाई बिथोलिरहेको छ । एकपछि अर्को आन्दोलन, एकपछि अर्को विद्रोहले विद्रोह गर्न सिकाएको छ, तर निर्माण गर्न मुस्किल छ भनेर सिकाउने सकेन कि ? न्यूनतम् भौतिक क्षतिमा अधिकतम राजनीतिक उपलब्धि हासिल कसरी गर्ने भनेर कहिले सिक्ने होला ?

अब कहाँ खोज्ने इतिहास ?

२४ असार २०३० मा पनि सिंहदरबारमा आगलागी भएको थियो । अध्येता जगत नेपालका अनुसार ‘त्यसबेला अन्जानवश आगलागी भएको’ भनिएको छ ।

‘उक्त आगो नियन्त्रणका लागि राज्य पूरै लागेको थियो, वीरगञ्जबाट दमकल मगाइएको थियो’ उनले भने, ‘यसपटक जल्दा राज्य नै नभएको जस्तो भयो । आगो लगाउने भए, निभाउने कोही भएन ।’

जगत नेपाल, अध्यता।

आगलागी हुन सक्छ भन्ने पूर्वानुमान नागरिकस्तरमा रहँदा समेत रहेको अवस्थामा राज्यले सुरक्षा गर्न नसक्ने बिडम्बनापूर्ण अवस्था नेपालले व्यहेरोको उल्लेख गर्दै उनी भन्छन्, ‘यसको मूल्य नेपालले युगौगुगसम्म चुकाउनुपर्ने हुन्छ ।’

अध्येता नेपालका अनुसार, २०३० सालमा सिंहदरबार जल्दा सुगौली सन्धि सम्बन्धी कागजात जलेको भन्ने गरिएको छ । सुगौली सन्धिको कपी नेपालसँग नहुनुले पनि यसलाई बल पुर्‍याउँछ । यसपटक कति त्यस्ता कागजात जले होला !

‘कतिपय सरकारी कागजात ३०/४० वर्षपछि मात्रै सार्वजनिक गर्ने खालका हुन्छन् । ती के थिए अब नेपालसँग रहने छैन’ उनी भन्छन्, ‘भोलिको जेनेरेसनले इतिहास खोज्दा भेटाउँदैनन् । मौखिक कुराले हुँदैन र कागजात नहुँदा नेपाल पछि पर्छ । यसको दोष हाम्रो पुस्ताले लिनुपर्ने भएको छ ।’

राज्यका महत्वपूर्ण दस्ताजेव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राखिन्छ । यो भवन पूरै जलेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा समेत त्यस्ता कागजात हुन्छन् ।

कतिपय दस्तावेज राष्ट्रपति निवास शीतल निवासमा राखिन्छन् । यी कार्यालय पनि जलेका छन् । सर्वोच्च अदालतमा रहेका महत्वपूर्ण फैसला र कागजातहरू जलेका छन् ।

कसैले भनेको छ, इतिहास नभएको राष्ट्र बच्चा जस्तै हुन्छ । विन्स्टन चर्चिलले भनेका छन्, ‘तिमी जति टाढा फर्केर हेर्छौ, त्यति नै टाढा भविष्यतिर देख्न सक्छौ ।’

अब हाम्रो नयाँ पुस्ताले कति टाढासम्म देख्ला र देशलाई सही दिशातिर डोहोर्‍याउला ?

अध्यता नेपालको प्रश्न पनि उस्तै छ, ‘ऐतिहासिक दस्तावेज रहने ठाउँहरू सबै जले । अब कहाँ खोज्ने इतिहास ?’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?