+
+
Shares

सिंहदरबारभित्र सग्लो संरचनाको खोजी (फोटोफिचर)

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृहमन्त्रालयमा शतप्रतिशत क्षति भएको छ । अन्य मन्त्रालयमा आंशिक क्षति छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ भदौ २७ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुख्यसचिव एकनारायण अर्यालले सिंहदरबारको स्थलगत अवलोकनपछि क्षति अपुरणीय भएको बताए।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृहमन्त्रालयमा शतप्रतिशत क्षति भएको अर्थसचिव घनश्याम उपाध्यायले उल्लेख गरे।
  • सिंहदरबारमा भएको आगजनीले ऐतिहासिक संरचना र अभिलेखमा ठूलो क्षति पुर्‍याएको छ र पुनर्निर्माणको काम सुरु गरिएको छ।

२७ भदौ, काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल शुक्रबार सिंहदरबारको स्थलगत अवलोकनमा पुगे । अवलोकनपछि उनले भने, ‘क्षति अपुरणीय छ ।’

एकातिर भौतिक क्षति छ भने अर्कोतिर अभिलेखको क्षति छ । मुख्यसचिव अर्याल भन्छन्, ‘रेकर्डको, अभिलेखको क्षति कल्पना गर्न सक्दैनौं । यो नेपालका लागि दुर्भाग्यपूर्ण हो ।’

भौतिक क्षतिको आकलन गरिसकेपछि ड्यामेज नभएको ठाउँबाट सेवा सूचारु गर्ने तयारी रहेको उनले बताए । यसैका लागि गरिएको हो, शुक्रबारको अध्ययन-अवलोकन ।

मुख्यसचिव अर्यालसँगै अन्य मन्त्रालयका सचिवहरू समेत अवलोकनमा पुगेका थिए ।

स्थलगत अध्ययन गरी फर्किएका अर्थसचिव घनश्याम उपाध्यायका अनुसार देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृहमन्त्रालयमा शतप्रतिशत क्षति भएको छ । अन्य मन्त्रालयमा आंशिक क्षति छ ।

अर्थमन्त्रालयको तल्लो तला, बाहिरको टहरा र गाडीहरूमा क्षति पुर्‍याएको पाइएको छ । उपाध्याय भन्छन्, ‘सिंहदरबारभित्र सग्लो संरचना भेट्न मुस्किल छ ।’

सिंहदरबार भित्रको क्षतिलाई रकममा तत्काल गणना गर्नसक्ने अवस्था नरहेको कर्मचारीहरू बताउँछन् ।

यद्यपि, संघीय संसद् सचिवालय र मन्त्रालयहरूले क्षतिको विवरण संकलनको काम थालेका छन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद् भवनको एक नम्बर बिल्डिङ अगाडि राखिएका गाडी र बाइकहरू तोडफोड भएका छन् । संसद् भवनकै दुई नम्बर बिल्डिङ अगाडि राखिएका केही सवारी तोडफोड भएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको कार्यालय जलेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनका अनुसार सिंहदरबारभित्र ३० बढी भवन रहेका छन् । ५-६ वटा राणाकालीन, १५-१६ वटा नयाँ र अरूसमेत गर्दा ३० भन्दा बढी भवन छन् ।

संसद् सचिवालयका साथसाथै मन्त्रालयहरूले समेत क्षतिको विवरण संकलन सुरु गरेका हुन् ।

गत सोमबारदेखि सुरु भएको जेन-जी आन्दोलनको दोस्रो दिन मंगलबार सिंहदरबार जलेको हो । प्रदर्शनकारीको निसानामा सरकारी भवन र कार्यालयहरू पर्दा सिंहदरबार कुरूप बन्न पुगेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक महर्जनका अनुसार पहिले १७०० कोठा भएको एसियाकै भव्य दरबारमा पछिल्लो समय बढेर २ हजार बढी कोठा पुगेका थिए ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सिंहदरबारको निर्माण सन् १९०८ मा सुरु गरेका थिए र करिब एक वर्षमा सम्पन्न भएको थियो ।

२४ असार २०३० मा सिंहदरबारमा आगलागी भएको थियो । अध्येता जगत नेपालका अनुसार त्यसबेला विद्युत् सर्ट भएर आगलागी भएको भनिएको छ ।

५२ वर्षपछि २४ भदौ २०८२ मा सिंहदरबारमा आगजनी गरिएको हो । यसपटकको आगजनीले सिंहदरबारको इतिहास नै मेटाउने गरी क्षति पुर्‍याएको छ ।

११७ वर्ष अघि अर्थात् सन् १९०८ (१९६५ साल) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी घरका रूपमा सिंहदरबार बनाएका थिए ।

१ वैशाख १९८२ मा चन्द्र शमशेरले यही दरबारबाट दासप्रथा उन्मुलनका लागि ऐतिहासिक घोषणा गरेका थिए । युरोपेली शैलीमा बनाइएको दरबारको प्रवेशद्वारमा रहेका सिंहका दुई मूर्ति छन् । यसैकारण यसको नाम सिंहदरबार रहन गएको हो ।

सिंहदरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए । यसको वास्तुकलालाई आजको दिनसम्म पनि निकै रोचक मान्ने गरिन्छ ।

डिजाइनहरूले सिहंदरबारको डिजाइन गर्न पल्लादियन, कोरिन्थियन, नियोक्लासिकल मेन्सन र बारोक जस्ता युरोपेली वास्तुकलाका विभिन्न शैलीहरूबाट ‘रिफ्रेन्स’ लिएका थिए ।

दरबारको निर्माण पूरा भएपछि चन्द्र शमशेरले यो भवन प्रधानमन्त्रीको सरकारी आवासको रूपमा २ करोड नेपाली रुपैयाँमा नेपाल सरकारलाई बेचेका थिए ।

१९८६ मङ्सिरमा उनको मृत्युपछि पद्म शमशेर बाहेक (जो आफ्नै ठूलो दरबारमा बस्थे) अन्य राणा प्रधानमन्त्रीहरूको सरकारी आवासको रूपमा यसलाई प्रयोग गरिएको थियो ।

सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर थिए । २००७ सालमा राणा शासनको अन्त्य भएपछि पनि उनी यहीँ बस्थे । २००९ सालमा उनलाई दरबार छोड्न आदेश दिइएपछि सिंहदरबारलाई राष्ट्रिय सम्पत्ति बनाइएको थियो ।

२०३० सालमा आगलागी हुनुअघि सिंहदरबारमा ८ वटा चोक र १७०० कोठा थिए ।

दरबारको सबैभन्दा ठूलो र भव्य रूपमा सजाइएको कोठाको नाम ‘द स्टेट हल’ राखिएको थियो । त्यो हलमा विदेशी आयातित कलाका सामग्रीले सजाइएको थियो । जसमा काँचका क्रिस्टलको झुमर, बेल्जियमका ऐना, इङ्ल्यान्डका रंगीन काँचका ढोका र इटालियन सिङ्गमरमर जस्ता सामग्री थिए ।

निर्माणको अलि पछि जुद्ध शमशेरले विदेशी पाहुनाहरूसँग भेटघाट गर्नका लागि ग्यालरी बैठक बनाएका थिए । त्यो समयमा मित्रराष्ट्रका राजदूतहरूले हनुमानढोकामा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने गर्थे । पछि त्यही ग्यालरी बैठकलाई संसद् भवनको रूपमा प्रयोग गरिएको थियो ।

२४ असार २०३० मा सिंहदरबारमा ‘विद्युत् सर्ट’ भएर आगलागी हुँदा मानवीय क्षति भएन । तर परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएको थियो । अनि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले ‘आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको’ भनेर राजीनामा दिएका थिए ।

आगलागीपछि सिंहदरबारको बाँकी रहेका भागहरूको पुनर्निर्माण र ध्वस्त भएका भागहरूको पुनःनिर्माण गरिएको थियो । त्यसबेला पहिलेका मूल वास्तुकलालाई सकेसम्म ब्युँताउने प्रयास गरिएको थियो । तर केही मौलिक संरचना र सजावटहरू भने गुमेका थिए ।

राणा शासनविरुद्ध लडेका दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिने फैसला जुद्ध शमशेरले यसै दरबारबाट सुनाएका थिए । त्यसका लागि त्यहाँ विशेष अदालत गठन गरी उनीहरूको मृत्युदण्डको फैसला गरिएको थियो ।

यति ऐतिहासिक भवनका धेरै भाग फेरि नभेटिने गरी जलेको छ ।

मुख्यसचिव अर्याल फेरि पनि भौतिकभन्दा ज्यादा अभिलेखको क्षति अकल्पिनीय रहेको बताउँछन् । उनी भन्छन्, ‘रेकर्डको, अभिलेखको क्षति कल्पना गर्न सक्दैनौं । नेपालका लागि दुर्भाग्यपूर्ण भयो ।’

           

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?