 
																						२२ चैत, काठमाडौं । भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको छ ।
यो निर्देशन हुबहु पालना भए भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा पर्नेछन् भने यसले पठाओ र इन्ड्राइभरसहित राइड सेयर सेवा दिएका दर्जनौं कम्पनी पनि प्रभावित हुने जोखिम छ । एपको प्रयोगमार्फत निजी सवारीमा यात्रु बोक्ने काम यस्ता राइड सेयर सेवप्रदायक कम्पनीले पनि गराइरहेका छन् । अझ पछिल्लो महिनाहरुमा त अफलाइनमै यस्तो सेवा लिने/दिनेहरु बढेका छन् ।
अझ पछिल्ला दिनमा विभिन्न लामो रुटमा समेत साना निजी गाडीहरुले मोलमोलाइ गरेर यात्रु ओसार्न थालेपछि सार्वजनिक यातायात व्यवसायीहरु भड्किएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले मंगलबार गृह मन्त्रालयमा एक ज्ञापनपत्र पेश गर्दै सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर पुर्याउने गरी निजी सवारीको रुपमा दर्ता भएका सवारी साधनहरु उद्देश्य विपरीत आफूखुशी भाडा तोकेर देशभर निर्वाद रुपमा यात्रु ओसारपसार गर्ने गरेको गुनासो गरेको थियो ।
‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १२ मा एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्ने नपाइने व्यवस्था भएपनि विभिन्न स्थानहरुमा निजी सवारी साधनहरुले सार्वजनिक सरह सवारी सञ्चालन गरेको महासंघको भनाइ थियो ।
‘यस्तो कार्यले द्वन्द्व र विवाद समेत हुने गरेकोले कानुन विपरीतका कार्यहरुको प्रभावकारी नियन्त्रणको व्यवस्थाका लागि सम्बन्धित निकायमा निर्देशन गरिदिनुहुन अनुरोध गरिन्छ’ ज्ञापनपत्रमा भनिएको थियो । यसकै आधारमा गृहले महासंघको पत्र संलग्न गरेर बुधबार आवश्यक कारबाहीका लागि भन्दै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरेको हो ।
महासंघका वरिष्ठ उपाध्यक्ष सराेज सिटौला काठमाडौंमा कोटेश्वर, गौशाला लगायतका क्षेत्रमा निजी सवारीहरुले नै सार्वजनिक जस्तैगरी यात्रुसँग भाडा उठाउँदै सेवा दिइरहेकाले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको बताए । यसले यात्रुलाई पनि जोखिममा पारेको भन्दै उनले प्रयोजन विपरीतको सवारीको प्रयोगलाई सरकारले निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ ।
‘पठाओ र इन्ड्राइभरलाई लक्षित गरेर यस्तो माग अघि सार्नुभएको हो भन्ने अनलाइनखबरको प्रश्नमा वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘निजी कार र स्कर्पियोले पनि लामो दूरीमा समेत यात्रु बोक्न थाले, निजी सवारी जथाभावी प्रयोग गर्दा अरु विकृति पनि बढेका छन्, हामीले कसैका विरुद्ध हैन, सार्वजनिक यातायातका पक्षमा आवाज उठाएका हौं ।’
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत रातो नम्बर प्लेटमा दर्ता भएर भाडामा यात्रु बोक्ने सवारीसाधनलाई रोक्न परिपत्र गरिएको बताउँछन् । ‘विगतमा पनि यस्तो परिपत्र हुन्थ्यो’ उनले भने, ‘दर्ता भएका राइड सेवा दिनेहरुप्रति यो लक्षित हैन, भाडाका यात्रु बोक्ने अन्य निजी चारपांग्रे सवारीलाई कारबाही गर्न भनेका हौं ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4