विराटनगर एफसी विराट गोल्डकपको फाइनलमा
१४ चैत, काठमाडौं ।घरेलु टोली विराटनगर एफसी विराट गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति भएको पहिलो सेमिफाइनलमा विराटनगरले जावलाखेल युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा ५९औं मिनेटमा मेसुको ओलमोले गोल गर्दै अग्रता दिलाएका थिए । विमल घर्तिमगरले प्रहार गरेको बल जावलाखेलका गोलकिपर अनिस देउलाले क्लियर गर्न खोज्दा मेसुकेले जाली चुमाउँदै विराटगनरका लागि गोलको खडेरी तोडेका थिए ।
५७ औं मिनेटमा युसुफ थपलियाले गरेको प्रहार पोस्टमाथि लागेर बाहिरिएको थियो । ८६औं मिनेटमा समिराज थोकरको हेडर पनि खेर गएको थियो । लगातार गोल फर्काउने प्रयास जावलाखेलले गरे पनि सफल हुन सकेन ।
८७औं मिनेटमा अभिषेक गुरुङले विराटनगरका लागि दोस्रो गोल गरे । विराटनगरका ओलाओले अफिजलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका अभिषेकले टप कर्नरबाट उत्कृष्ट फिनिसिङ गरेका थिए ।
पाँच मिनेट समय थप गरिएको थियो । सोही अतिरिक्त समयको तेस्रो मिनेटमा युसुफ थपलियाले जावलाखेलका लागि १ गोल फर्काएका थिए । त्यसपछि पनि जवालखेलले लगातार दबाब बनाए पनि सफल हुन सकेन ।
प्रतियोगिता अन्तर्गत मंगलबार डिफेन्डिङ च्याम्पियन एपीएफ र केरलाको लुका सकर क्लब भिड्ने छन् ।
उपाधि विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।
यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने छ ।
प्रतिक्रिया 4