News Summary
Generated by OK AI. Editorially reviewed.- मनोचिकित्सक आदित्य डंगोलले कार्यालय कर्मचारीहरूमा तनाव र मानसिक स्वास्थ्य समस्या देखिएको बताए।
- तनाव सामान्य हो, तर दैनिकीमा असर परेमा जटिल बन्न सक्छ र निदान आवश्यक हुन्छ।
- कार्यस्थल र समाजमा मानसिक स्वास्थ्यबारे जनचेतना अभावले समस्या बढाउन सक्छ।
तपाई तनावमुक्त हुनहुन्छ ? हरेकलाई सोध्ने हो भने कुनै न कुनै कारणले तनावमै भइरहेको जवाफ आउन सक्छ ।
अर्को प्रश्न यस्तै छ, मनोपरामर्श लिन सबैभन्दा बढी कस्ता व्यक्ति आउँछन् ? भनेर सोध्यो भने मनोविद् र मनोचिकित्सकको जवाफ हुन्छ, ‘सबैभन्दा बढी विभिन्न कार्यालयमा काम गर्ने कर्मचारी ।’
ह्याप्पी माइन्डमा कार्यरत मेन्टल हेल्थ प्रोफेशनल आदित्य डंगोल पनि यसै भन्छन् । हेर्दा केही नभएजस्तो देखिने कार्यालयका कमर्चारीहरू प्राय एन्जाइटी, प्यानिक अट्याक र डिप्रेसनका लक्षण लिएर आउने गरेको उनी बताउँछन् ।
हुन पनि हो, २४ घण्टाको आधा समय कार्यालयमा बित्छ । त्यो क्रममा त्यहाँको वातावरणले नै मानसिक स्वास्थ्य कस्तो रहला भनेर भन्न सकिन्छ । यदि वातावरण अनुकूल नभए तनाव बढ्न सक्छ । यसले कार्यमा असर पार्ने मात्र होइन, मानसिक स्वास्थ्यमा पनि असर पारिरहेको हुन्छ ।
यिनै विषयमा मेन्टल हेल्थ प्रोफेशनल आदित्य डंगोलसँग अनलाइनखबरका लागि मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश :
तनाव अधिकांशको जीवनको हिस्सा बनेको छ, यो अवस्था कति बेला सामान्य मान्ने ? कति बेला यसले जटिल रुप लिन सक्छ ?
हामीलाई कुनै परिस्थितिको माग पूरा गर्न गाह्रो लाग्छ । त्यो बेला शारीरिक रुपमा अनुभव हुने भावना हो, तनाव । यो सामान्य अनुभव हो । जुन केही बेरमा कुन कुराले गर्दा तनाव भइरहेको हो । त्यसको समाधान भए पछि सकिन्छ ।
तर, त्यो तनावले दिनहुँ घोचिरहन्छ । दैनिकीमा असर पार्ने गर्छ भने यो समस्या जटिल बन्न सक्छ । अझ यो तनाव पनि समस्या हो भनेर थाहा नपाउँदा यो समस्या थप जटिल बन्न सक्छ ।
जहाँ बढी कामको दबाब हुन्छ, त्यहीँ बढी तनाव हुन्छ भनिन्छ । त्यसोभए सबैभन्दा बढी तनाव त कार्यास्थलका कर्मचारीमा होला नि ?
हो, चर्चा नगरिएको तर गम्भीर हुनुपर्ने विषय भनेको नै कार्यस्थलमा हुने तनाव हो । कार्यस्थल भनेको हामीले आफ्नो अधिकांश समय बिताउने ठाउँ हो । यहाँ विभिन्न जिम्मेवारी दिइएको हुन्छ । निश्चित कामको समयसीमा तोकिएको हुन्छ । कामको सिलसिलामा अनेकौ व्यक्तिहरूसँग अन्तरक्रिया गर्नुपर्ने हुन्छ । हामीले वर्षौंसम्म शैक्षिक र आर्थिक लगानी गरेर यो ठाउँमा पुगेका हुन्छौँ, त्यसैले यहाँ धेरै कुरा दाउमा हुन्छ।

जब हामीले यी जिम्मेवारीहरू र अपेक्षाहरू पूरा गर्न सकिँदैन भन्ने लाग्छ, तब शारीरिक, भावनात्मक र मानसिक रूपमा हामीले अनुभव गर्ने अनुभूतिले तनावको रुप लिन सक्छ।
यो तनावलाई नकारात्मक नलिई सामना गर्न सक्यो भने यसले समस्या गर्दैन । सामना गर्न नसक्दा वा गुम्स्याएर बसिरहँदा कहिलेकाहीँ यो समस्याको रूपमा देखा पर्न सक्छ । यसो भन्दैमा सबैमा यो तनावले समस्या गर्छ भन्ने होइन । जो तनावले बोझ अनुभव गर्छन्, उनीहरूको केसमा यस्तो हुनसक्छ भन्न खोजिएको हो ।
कार्यस्थलमा कस्तो व्यत्तिलाई कस्तो अवस्थाले बढी तनाव गराउन सक्छ ?
कार्यस्थलमा तनाव र चिन्ता पैदा गराउने भनेको जसालाई धेरै हदसम्म अस्पष्ट जिम्मेवारी दिइएको हुन्छ, थेग्न नसक्ने कामको चाप, एकैपटक विभिन्न जिम्मेवारीहरू निभाउनु पर्ने अवस्था, भनेको जति पारिश्रमिक नपाउँदा, मननपरेको काम गर्नुपर्दा, मन नलगाई नलाई कुनै काम गर्नु पर्दा हुनसक्छ ।
जस्तो कि, विशेषगरी युवाहरू, जो इन्टर्नसिप वा सुरुवाती जागिरमा हुन्छन्, उनीहरूले मन नपर्ने काम गर्नुपर्दा र ‘नाइँ’ भन्न नसक्दा तनाव र चिन्ताको सामना गर्छन् । अपेक्षित तलब र उचित मूल्यांकनको अभाव पनि चिन्ताको ठूलो कारण हो ।
धेरै कार्यस्थलमा खुला सञ्चारको कमी छ, जसले कर्मचारीहरूलाई आफ्ना गुनासो वा समस्याहरू व्यक्त गर्न गाह्रो बनाउँछ । साथै, अनावश्यक दबाबले तनाव र चिन्ता बढाउँछ। उदाहरणका लागि, सुपरभाइजरले अस्पष्ट निर्देशन दिँदा वा फरक–फरक अपेक्षा राख्दा कर्मचारीहरू अलमलमा पर्छन्, जसले चिन्ता ट्रिगर गर्छ ।
अर्को भनेको कार्यस्थलमा समयसीमाभित्र काम सक्नुपर्ने दबाब वा अपेक्षा पूरा गर्न नसक्ने डरले तनाव निम्त्याउँछ । थप रूपमा, नेपालमा सफलताको होडले पनि तनाव र चिन्ता बढाएको छ। सामाजिक अपेक्षा, परिवारको दबाब, र आर्थिक असुरक्षाले कर्मचारीहरूलाई सधैँ उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाबमा राख्छ । यो दबाबले दिमागको एमीगडाला अत्यधिक सक्रिय बनाउँछ, जसले साना कुराहरूले पनि चिन्ता र डर निम्त्याउँछ ।
तनाव भइरहने हुन्छ नै । तर, यो तनावले आफूलाई असर पारिरहेको छ भनेर चाहिँ कसरी थाहापाउने ?
सुरुमा त आत्मविश्वासको कमी हुन्छ । अफिस जाने उर्जा नहुने, खाजा खाने समय कतिबेला आउँछ जस्तो हुने, कुराहरू छिटै बिर्सिने, निर्णय लिन गाह्रो हुने, ध्यान केन्द्रित गर्न नसक्ने, मन अन्तै डुलिरहने, बारम्बार एकै किसिमको गल्ती भइरहने, कामबाट उम्किन खोज्ने जस्तो लक्षण देखिन सक्छ ।
यो सँगै शारीरिक लक्षणको रुपमा झर्को लाग्ने, शरीर आलस्य हुने, निराश हुने वा रिस उठ्ने, कहिलेकाहीँ मन त्यसै आत्तिने, कलिहे अति उत्साहित भइदिने, टाउको भारी भइराख्ने हुन्छ भने पक्कै पनि त्यो कामबाट खुसी नभएको र त्यसले नै तनाव दिइरहेको छ भनेर बुझ्नुपर्छ ।
यो समस्या कति बेला जटिल बन्न सक्छ ?
यो तनाव र चिन्ताले व्यक्तिगत जीवनमा पनि गहिरो प्रभाव पार्छ । निद्रा बिग्रिन्छ, खानपिनमा अनियमितता आउँछ, र राति अबेरसम्म फोन चलाउने बानी बढ्छ । परिवार र साथीहरूसँगको सम्बन्धमा तिक्तता आउँछ, किनभने तनावको रिस वा चिडचिडाहट घरमा पोखिन सक्छ । लामो समयसम्म तनाव र चिन्ताले डिप्रेसन हुनसक्छ ।
चिन्ताले मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने वा डर लाग्ने जस्ता अनुभव पनि गराउँछ ।
लामो समयसम्म यस्ता लक्षणहरू रहिरह्यो भने, हृदयरोग, उच्च रक्तचाप वा पाचन प्रणालीमा समस्या निम्तिन सक्छ । त्यो मात्र होइन, योग्य भएका काममै पनि आत्मविश्वास आउँदैन । जसले गर्दा जीवनको गुणस्तर बिग्रिन सक्छ ।
यस्ता समस्या भएर पनि थाहा नपाउँदा कस्तो प्रभाव पार्न सक्छ ?
मानसिक स्वास्थ्यबारे खुला कुराकानी गर्ने चलन कम छ । धेरैले तनाव र चिन्तालाई कमजोरीका रूपमा लिन्छन्, जसले गर्दा मानिसहरू आफ्ना समस्याहरू लुकाउँछन् । कोही भने आफू तनावमा भएको र यसलाई सामना गर्ने तरिका छ भनेर नजान्दा प्रभावित भइरहेका हुन्छन् । यो दबिएको तनावले दिमागमा एक किसिमको बोझ बसिरहेको हुन्छ ।
यदि यो समस्या थाहा नभए वा लुकाइएमा दबिएको तनावले मस्तिष्कको एमिगडालालाई अत्यधिक सक्रिय बनाउँछ, जुन डर र तनावको प्रतिक्रिया नियन्त्रण गर्ने भाग हो । यसले सानो कुरालाई पनि ठूलो खतरा ठानेर चिन्ता र डरमा परिवर्तन गरिदिन्छ । लामो समयसम्म तनाव रहँदा स्मृति र सिक्ने क्षमतामा कमी आउँछ ।
बिर्सने र ध्यान केन्द्रित गर्न नसक्ने समस्या हुनसक्छ ।
तनाव हार्मोन कोर्टिसोलको स्तर बढ्दा मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्स प्रभावित हुन्छ । यो भाग जुन निर्णय लिने र भावना नियन्त्रण गर्ने भाग हो, फलस्वरुव जसले चिडचिडाहट र निराशा बढाउँछ । दबिएको तनावले मस्तिष्कमा रासायनिक असन्तुलले सेरोटोनिन र डोपामिनको कमी पैदा गर्छ, जसले डिप्रेसन गराउन सक्छ ।
नेपालमा मानसिक स्वास्थ्यलाई कमजोरी ठान्ने चलनले यस्ता समस्याहरूलाई लुकाइन्छ, यसकारण मस्तिष्कमा निरन्तर बोझ बनाउँछ। यो बोझले दीर्घकालमा न्यूरोप्लास्टिसिटीलाई कमजोर बनाउँछ र मस्तिष्कको नयाँ कुरा सिक्ने र अनुकूलन गर्ने क्षमता घट्छ । समयमै समस्यालाई पहिचान नगर्दा मस्तिष्कको संरचना र कार्यमा स्थायी क्षति पुग्न सक्छ ।
यस्तो समस्या भएमा व्यवस्थापनका लागि व्यक्तिगत रूपमा के गर्न सकिन्छ ?
तनाव र चिन्ता व्यवस्थापनका लागि पहिलो कदम भनेको शारीरिक गतिविधि हो । नियमित हिँडडुल, योग वा व्यायाम गर्नाले तनाव हार्मोन कोर्टिसोलको स्तर घटाउँछ । कार्यस्थलमा पनि छोटो ब्रेक लिएर हिँड्ने वा स्ट्रेचिङ गर्ने बानीले फरक पार्छ ।
दोस्रो, तनाव र चिन्तालाई दबाएर होइन, फुकाउने बानी गर्नुपर्छ । विश्वासिलो पात्रसँग कुरा पोख्ने गर्नुपर्छ ।
तेस्रो, सुपरभाइजरसँग स्पष्ट कामको प्रतिक्रिया सोध्ने र सुधार गर्नुपर्ने केही छ भने आफैँ कुरा राख्ने । खुला सञ्चारले कर्मचारीलाई आफ्नो भूमिका र अपेक्षा स्पष्ट हुन्छ ।
चौथो, आफ्नो जिम्मेवारीको सीमा निर्धारण गर्न र ‘नाइँ’ भन्न सिक्नुपर्छ ।
नेपालमा धेरै कर्मचारीहरू ‘नाइँ’ भन्न डराउँछन्, जसले अनावश्यक दबाब बढाउँछ । पाँचौँ, आफूसँग सकारात्मक कुराकानी गर्नुपर्छ । उदाहरणका लागि, ‘मैले गल्ती गरेँ, ठिकै छ, म सिक्छु’ भन्ने सोचले आत्मविश्वास बढ्छ ।
जति गरे पनि हुँदैन वा, त्यो कामले खासै उपलब्धि दिइरहेको छैन भन्ने लागिरहन्छ भने त्यो जागिर छाडेर नयाँ अवसर खोज्न सकिन्छ । यदि तनाव र चिन्ताले दैनिक जीवन प्रभावित गरिरहेको छ भने, साइकोलोजिस्ट वा थेरापिस्टसँग परामर्श लिनु उत्तम हुन्छ ।
कोग्निटिभ बिहेभियर थेरापी, डायलेक्टिकल बिहेभियर थेरापी, वा माइन्डफुलनेस–आधारित थेरापीले चिन्ता र तनाव व्यवस्थापनमा सहयोग गर्छ । यसले हराइको आत्मविश्वासलाई बलियो बनाएर एउटा लयमा ल्याउन मद्दत दिन्छ ।
कर्मचारीमा यो समस्या भइरहयो भने कामको गुणस्तर र उत्पादशीलमा पनि प्रभाव पार्छ । यस्तोमा कार्यालयले पनि केही कदम चालेर यसको व्यवस्थापन गर्न सक्छन्, त ?
कार्यस्थलले कर्मचारीको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ । पहिलो, कार्यस्थलले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर स्वस्थ र उत्पादनशील वातावरण बनाउन सक्छ ।
जस्तै, कर्मचारीको काम वा उसको पारिश्रमिकदेखि हरेक कुरा गोपनीयतामा राख्नुपर्छ । दोस्रो, काम मात्र भन्दा पनि यसलाई असर नगर्ने गरी कामसँगै मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गर्न सक्छ । जस्तो कि, टिम आउटिङ, खेलकुद वा रमाइला कार्यक्रमहरूले कार्यस्थलको वातावरण रमाइलो बनाउँछ ।
तेस्रो, भनेको कर्मचारीहरूलाई साइकोलोजिस्ट वा काउन्सिलरसँग परामर्श गर्ने अवसर दिनुपर्छ । नेपालमा यस्ता सुविधाहरू कमै छन्, तर यो निकै प्रभावकारी हुन्छ। खुला सञ्चारको वातावरण बनाउनुपर्छ, जहाँ कर्मचारीहरूले आफ्ना गुनासो वा समस्याहरू गोप्य रूपमा व्यक्त गर्न सकून्।
चौथो, लचिलो कार्य समय र स्वायत्तताले कर्मचारीहरूलाई आफ्नो काम आफ्नै तरिकाले व्यवस्थापन गर्न सहयोग गर्छ । उदाहरणका लागि, सम्भव भए घरबाट काम गर्ने सुविधा वा लचिलो समयसीमाले तनाव र चिन्ता कम गर्छ ।
अन्तमा, कार्यस्थलले कर्मचारीको कामको उचित मूल्यांकन र पुरस्कारको व्यवस्था गर्नुपर्छ, जसले उनीहरूको मनोबल र प्रेरणा बढ्छ ।
नेपालमा मानसिक स्वास्थ्यबारे जनचेतना कस्तो छ ? यसले तनाव व्यवस्थापनमा कसरी प्रभाव पार्छ ?
नेपालमा मानसिक स्वास्थ्यबारे जनचेतना निकै कम छ । धेरैले तनाव र चिन्तालाई कमजोरीको रूपमा लिन्छन्, जसले गर्दा मानिसहरू खुला रूपमा कुरा गर्न हिचकिचाउँछन् । यो सांस्कृतिक र सामाजिक मान्यताले तनाव र चिन्ता व्यवस्थापनलाई जटिल बनाउँछ । उदाहरणका लागि, थेरापी वा परामर्श लिनुलाई लज्जास्पद ठानिन्छ ।
यसलाई बदल्न जनचेतना अभियानहरू आवश्यक छन् । स्कूल, विश्वविद्यालय र कार्यस्थलहरूमा मानसिक स्वास्थ्यबारे छलफल गर्नुपर्छ। । यदि तनाव र चिन्ताले जीवन प्रभावित गरिरहेको छ भने, ढिलो नगरी विशेषज्ञसँग परामर्श लिनुपर्छ। सानो कदमले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।

 
                    










 २०८२ जेठ  २९ गते ८:३०
                        २०८२ जेठ  २९ गते ८:३०                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                         
                         
                         
                         
                         
                         
     
     
     
     
     
                             
                             
                             
                             
                             
                             
                                        
प्रतिक्रिया 4