+
+
Shares

लेखक होइन, प्रकाशित किताबको शताब्दी समारोह

फिट्सजेराल्डको मृत्यु हुँदा दोश्रो विश्व–युद्ध शुरू भइसकेको थियो । हिटलरको नेतृत्वमा जर्मनीले यत्रतत्र ताण्डव देखाइरहेको थियो ।

जयदेव गौतम जयदेव गौतम
२०८२ भदौ २१ गते ६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२५ मा अमेरिकी लेखक एफ.स्कट फिट्सजेराल्डको उपन्यास 'द ग्रेट ग्याट्सबी' प्रकाशित भएको एक शताब्दी पूरा भएको छ।
  • यो उपन्यास अमेरिकामा सबैभन्दा बढी पढिने र सर्वकालीन सर्वश्रेष्ठ अमेरिकी उपन्यास मानिन्छ।
  • फिट्सजेराल्डको मृत्यु पछि दोस्रो विश्वयुद्धमा अमेरिकी सेनाले उपन्यासका डेढ लाख प्रति सैनिकहरूलाई वितरण गरी यसको लोकप्रियता बढाएको थियो।

अङ्ग्रेजी पात्रो ग्रीगोरी क्यालेन्डरमा अहिले सन् २०२५ चलिरहेको छ । ठिक यही वर्ष अमेरिकी उपन्यासकार स्कट फ्रान्सिस फिट्सजेराल्डले उहिल्यै लेखेको चर्चित उपन्यास ‘द ग्रेट ग्याट्सबी’ पहिलो पटक प्रकाशित भएको ठीक एक सय वर्ष पुगेको छ । र, अनौठो लाग्ने गरी अङ्ग्रेजी साहित्यका पारखी एवं त्यो साहित्य पढ्न रुचाउनेहरू यतिबेला लेखक फिट्सजेराल्डको होइन, बरु उनको उपन्यास ‘द ग्रेट ग्याट्सबी’ को चर्चा बढी गरिरहेछन्, उपन्यास छापिएको एक सय वर्ष –एक शताब्दी– पुगेको भन्दै त्यसका विविध पक्षहरूबारे विभिन्न कोणबाट परिचर्चा र तर्क–वितर्क गरिरहेका छन् ।

संसारमा यस्ता अवसर विरलै आउँछन्, जतिबेला लेखकको होइन बरु उसले लेखेको किताबको बढी चर्चा हुने गर्छ, यद्यपि किताबको चर्चा हुने भएपछि त्यसका लेखकको चर्चा त आफैँ नै पनि र स्वभाविक तवरले नै भइहाल्ने तथ्यलाई नकार्नु हुँदैन । नेपाली खण्डकाव्य ‘मुना–मदन’ को कुरा उठ्यो भने स्वतः त्यसका सर्जक महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम पनि आइहाल्छ, भलै चर्चा बढी चाहिँ मुना–मदनकै किन नहोस् ।

उपन्यास ‘द ग्रेट ग्याट्सबी’ को विशेषता बनेको छ, यो अमेरिकामा लगभग सबैभन्दा बढी पढिएको र सर्वाधिक पढिने उपन्यास हो । यसलाई बीसौं शताब्दीका सर्वाधिक उम्दा उपन्यासहरूमध्ये एक मानिन्छ भने अमेरिकामा त –केही अपवादलाई छाड्ने हो भने– सर्वकालीन सर्वश्रेष्ठ अमेरिकी उपन्यासको दर्जा प्राप्त छ । यस उपन्यासको लोकप्रियताको मापनका लागि यही एउटा तथ्य पर्याप्त छ, प्रकाशित भएको एक सय वर्षको अवधिमा यो उपन्यास तीन करोडभन्दा बढी प्रति बिक्री भइसकेको छ (रोचक के भने पहिलो पटक छापिँदा यही किताब पच्चीस हजार प्रति पनि बिकेको थिएन !), र पछिल्लो समयमा यस किसिमको बिक्री अझै घटेको छैन, बरु बढेको बढै देखिएको छ (अमेरिकी पत्रिका ‘द न्यूयोर्कर’ का अनुसार त अहिले विश्वव्यापी रूपमा यस उपन्यासको बिक्री वर्षेनी पाँच लाख प्रति देखिएको छ) ।

के छ त्यस्तो एफ.स्कट फिट्सजेराल्डले आफू केवल अठ्ठाइस वर्षको हुँदा लेखेको/छापिएको यस उपन्यास ‘द ग्रेट ग्याट्सबी’ मा, जसले यसलाई महानतमको सीमाहीनता प्रदान गर्दछ ? प्रकाशनको एक शताब्दी भइसक्दा पनि फिट्सजेराल्डको तत्कालीन सामाजिक परिवेशमा तडकभडकपूर्ण जीवन बिताउने, पागलपनको हदसम्मै प्रेम गर्ने र प्रेमकै लागि प्राण गुमाउने अनि न्यूयोर्क शहर नजिकै लङ आइल्याण्ड क्षेत्रमा मृत्यु वरण गर्ने रहस्यमयी लखपति मानिसबारे पचास हजारभन्दा कम शब्दमा लेखिएको एउटा सानो र पातलो उपन्यास किन अमेरिकामा सबैभन्दा धेरै पढिने आख्यान –फिक्शन– का रूपमा सुस्थापित छ ?

यसमा उपन्यासको शीर्ष पात्र, नायक, ‘ग्याट्सबी’ बारे उसको नयाँ छिमेकी एवं येल युनिभर्सिटीको स्नातक निक क्यारावेले सविस्तार कथानक भनेको दर्शाइएको छ । खास नाम जेम्स ग्याट्ज (र, छोटकरीमा ‘जिम्मी’) भए पनि पछि नाम फेरेर भएको ‘जे ग्याट्सबी’ ले युवावस्थामा छिमेकी युवती डेजीसँग प्रेम गर्छ । त्यतिबेला ग्याट्सबीसित खल्तीमा लगभग सुको दाम हुँदैन तर डेजी राम्रो खातेपिते सम्पन्न परिवारकी छोरी हुन्छे । त्यस कारण केटासँग रकम नभएकै कारण त्यो प्रेम अगाडि बढ्न सक्दैन र ग्याट्सबी विश्व–युद्ध लड्न सेनामा भर्ती भएर युद्धमोर्चामा जान्छ । त्यही अवधिमा डेजीको विवाह एक जना धनाढ्य तर फितलो चरित्र भएको पुरुष टम बुक्याननसित हुन्छ ।

सन् १९२२ मै छापिएको उनको कथा–सङ्ग्रह ‘टेल्स अफ द ज्याज एज’ ले उनलाई समकालीन कथाकारहरूको सूचीमा शीर्ष स्थानमा पुर्‍याइसकेको थियो ।

डेजीको लोग्ने टम बुक्यानन पुश्तैनी धनाढ्य भए पनि ऊ धनको मात चढेको अहङ्कारी, इर्ष्यालू, पूर्वाग्रही, हठी अनि परस्त्रीगामी पनि हुन्छ । कथाको अर्को चरणमा ग्याट्सबी रहस्यमय लखपतिको रूपमा देखा पर्छ । विश्व युद्धबाट फर्केर सेैन्य सेवा पनि छाडेपछि घरजग्गा किनबेच, शेयर कारोबार र केही अन्य वैध–अवैध व्यवसाय गर्दै आफ्नै बलबूतामा बनेको ‘सेल्फ मेड मिलियनर’ रहस्यमय लखपति बनेको हुन्छ । न्यूयोर्क नजिकै लङ आइल्याण्डको ‘वेस्ट एग’ क्षेत्रमा ग्याट्सबीको ठूलो र आकर्षक आवास हुन्छ, जहाँ उसले लगभग सधैँजसो शहरका धनाढ्य अनि पार्टीप्रेमी ‘सोसलाइट’हरूलाई निम्त्याएर भड्किला भोजभतेर गरिरहन्छ । यस्तै एक भोजमा पहिले उसको भेट निक क्यारावेसँग हुन्छ र पछि निकको सहयोगमा उसकै भतिजी डेजीसँग ग्याट्सबीको पुनः भेट हुन्छ । डेजीको परिवारको बसाइँ ग्याट्सबीको आवासभन्दा ठीक पारि ‘इष्ट एग’ क्षेत्रमा हुन्छ ।

‘द ग्रेट ग्याट्सबी’ उपन्यासको कथानक

सन् १९२० देखि त्यसपछिका करीब पन्ध्र वर्षलाई ‘ज्याज युग’ भनिन्छ । अफ्रिकन–अमेरिकन संस्कृतिको रूपमा अमेरिकी राज्य न्यू ओर्लिन्सबाट विकसित भएर संसारभर विस्तारिएको ज्याज गीत–सङ्गीतले पहिलो विश्व–युद्धले दिएको निराशा र अवसादलाई थामथुम पार्न धेरै सघाउँथ्यो । दुःख, पीडा र अवसादलाई बिर्सेर खुशी खोज्दै आह्लादमा रमाउनु एक किसिमको जीवनशैली नै बनेको थियो । यही अवधिमा अमेरिकामा मदिरा, अर्थात् अल्कोहल, किन्न–बेच्न–खान–उत्पादन गर्न सबै प्रतिबन्ध लगाइएको अवस्था थियो (यद्यपि विशेष गरी धनाढ्य र कुलीन वर्गीय मानिसहरू तस्करी गरिएको मदिरा, स्यामपेन र वाइन चाहिँ उपभोग गरिरहेका हुन्थे) । अमेरिकामा नयाँ उद्योगधन्दा खोल्ने, नयाँ उद्यम र व्यवसाय सञ्चालन गर्ने अनि नयाँ व्यावसायिकता –प्रोफेसनालिजम– को विकास गर्दै करोडपति र अर्बपति बन्ने नयाँ समाज पनि विकसित हुँदै जाँदो थियो । त्यसैलाई ‘रोरिङ ट्वान्टीज’ भन्ने गरिएको छ । फिट्सजेराल्डको ‘द ग्रेट ग्याट्सबी’ उपन्यासको पृष्ठभूमि यही सामाजिक परिवेश हो ।

डेजी र टम बुक्यानन हालै मात्र आफ्नो पुरानो बस्ती शिकागो राज्य छाडेर त्यस नयाँ ठाउँमा आएका हुन्छन् । निकले टमलाई कलेज समयदेखि नै चिनेको हुन्छ (उसरी टम येल युनिभर्सिटीको एक उम्दा स्टार फुटबल खेलाडी पनि थियो) । त्यहीँ एक साँझ खाना खाइरहेको समयमा निक र डेजीकी बालसखा तथा अहिलेकी गल्फ च्याम्पियन जोर्डन बेकरबीच चिनाजानी हुन्छ । उही जोर्डनबाट निकले थाहा पाउँछ, टमले परस्त्री गमन गर्छ, त्यो स्त्री न्यूयोर्कमा बस्छे र टमलाई नियमित फोन गरिरहन्छे । त्यही साँझ निकले ग्याट्सबीलाई आफ्नो घर अगाडिको घाँसे आँगन –लन– मा एक्लै उभिएर पारि बन्दरगाहमा बलिरहेको हरियो बत्तीतिर एकोहोरो हेरिरहेको देखेको थियो ।

एक दिन मन नलागी–नलागी निक क्रोधित एवं रक्सीले मात्तिएको टमलाई साथ दिँदै रेल चढेर न्यूयोर्क शहर जान्छ । बाटोमा उनीहरू ओर्लिन्छन् र एउटा ग्यारेज/घरमा जान्छन् । त्यहाँ मेकानिक जर्ज विल्सन र उसकी श्रीमती (अनि टमकी प्रेमिका) मर्टल बस्ने गरेका हुन्छन् । मर्टल उनीहरू दुई जनासँग मिसिन्छे र उनीहरू तीन जना भई टमले मर्टलसित शारीरिक सम्बन्ध बनाउनका लागि भाडामा लिइराखेको सानो अपार्टमेन्टमा पुग्छन् । लगत्तै त्यहाँ पाहुनाहरू निम्त्याइन्छन् र पार्टी शुरू हुन्छ । तर पार्टी चलिरहेकै समयमा मर्टलले डेजीको नामको पटकपटक उल्लेख गरेपछि क्रोधित टमले मर्टललाई थप्पड हान्छ र उसको नाक पनि भाँचीदिन्छ । त्यससँगै पार्टी पनि सकिन्छ ।

एक बिहान निकले ग्याट्सबीको शानदार आवासमा हुने सन्ध्याकालीन पार्टीमा सहभागी हुने औपचारिक निम्तो पाउँछ । त्यो भोजमा आफूले कसैलाई पनि नचिनेको पाउँदा निकले विस्मात् मान्दछ र त्यहीँ टन्न रक्सी खाँदै उभिइरहेको बेला उसले जोर्डनलाई भेट्छ । त्यही बेला एक जना पुरुष आउँछ र रक्सीको गिलास चियर्स गर्दै आफू जे ग्याट्सबी भन्दै आफ्नो परिचय दिन्छ, अनि निक र आफूले विश्व–युद्धको बेला सेनाको तेस्रो इन्फ्यान्ट्री डिभिजनमा सँगै काम गरेको स्मरण गराउँछ ।

जुलाईको अन्त्यतिर निक र ग्याट्सबीले ‘स्पीकीजी’ रेस्टुराँमा दिउँसोको खाना खान्छन्, त्यहाँ पनि ग्याट्सबीले आफूले सेनामा छँदा गरेका बहादुरीका कथा र अक्सफोर्ड पढ्दाका कुरा सुनाएर उसलाई प्रभावित पार्न खोज्छ । त्यसको केही समयपछि निकले प्लाजा होटलमा जोर्डनलाई भेट्छ, जहाँ जोर्डनले उसलाई ग्याट्सबी र डेजी एकअर्कासित पहिले नै परिचित रहेको अनि दुवैबीच प्रेम–सम्बन्ध रहेको तर सैन्य सेवामा रहेको ग्याट्सबी बाहिर सरुवा भएपछि डेजीले टमसित विवाह गरेको बताउँछे ।

अब चाहिँ ग्याट्सबी आफू धनी एवं सम्पन्न भइसकेपछिको अवस्थामा डेजीले अहिलेको आफ्नो सम्बन्धबारे पुनर्विचार गर्ने र उनीहरू दुईबीच फेरि सम्बन्ध जोडिने आशा गर्न थाल्छ । ग्याट्सबीले निकको सहयोग लिएर डेजीलाई आफ्नो घरको जमघटमा बोलाउँछ र उनीहरूबीच फेरि निकटता बढ्न थाल्छ ।

सेप्टेम्बरमा एक दिन आफ्नो घरमा दिवाभोज चलिरहेको बेला टमले डेजी र ग्याट्सबीका बीचमा विशेष सम्बन्ध रहेको थाहा पाउँछ । पछि प्लाजा होटल सुइटको एक जमघटमा त्यही सम्बन्धका विषयमा ग्याट्सबी र टमबीच विवाद हुन्छ । ग्याट्सबीले बरु डेजी आफूले कहिल्यै पनि टमलाई प्रेम नगरेको भन्नुपर्छ भन्दै हठ गर्छ । तर डेजी आफूले टमलाई पनि र ग्याट्सबीलाई पनि दुवै जनालाई प्रेम गर्ने गरेको बताउँछे । यही बेला टमले ग्याट्सबी तस्कर भएको र मदिरा तस्करी गर्दै धन थुपारेको खुलासा गर्छ । यो तथ्य थाहा भएपछि डेजीले आफू टमसितै बस्ने निर्णय सुनाउँछे । यसरी डेजीले आफूलाई कहिल्यै पनि छोड्ने छैन भन्ने आत्मविश्वासले भरिएको टमले घृणापूर्वक ग्याट्सबीलाई आफ्नो गाडीमा बसाएर डेजीलाई घरसम्म छोड्न भन्छ ।

इष्ट एग आवासतिर फर्किंदै गर्दा ग्याट्सबी र डेजी चढेको गाडी जर्ज विल्सनको ग्यारेज अगाडि भएर जाँदै गर्दा कारले अचानक मर्टललाई ठक्कर दिन्छ र घटनास्थलमै मर्टलको मृत्यु हुन्छ । घर फर्किसकेपछि ग्याट्सबीले निकलाई त्यो दुर्घटना भएको बेला कार चाहिँ डेजीले चलाएको तर डेजीलाई बचाउनका लागि त्यसको जिम्मेवारी आफूले लिने बताउँछ, तापनि निकले उसलाई अभियुक्त बनेर सजाय भोग्नुभन्दा बरु कतै भाग्न सल्लाह दिन्छ तर ग्याट्सबीले त्यो सल्लाह स्वीकार गर्दैन ।

यसै बीचमा टम न्यूयोर्कको ग्यारेज पुग्छ र विल्सन जर्जलाई भेटेर उसकी श्रीमती मर्टललाई ठक्कर दिने गाडीको मालिक ग्याट्सबी भएको बताउँछ । क्षुब्द एवं आक्रोशित जर्जलाई अवश्य पनि त्यही गाडीको मालिक नै मर्टलको प्रेमी हुनुपर्छ भन्ने लागिरहेको हुन्छ । अनि त्यसपछिको चाँडै एक दिन जर्जले बिन्दास आफ्नो घरको पौडीपोखरीमा नुहाउँदै गरेको ग्याट्सबीलाई गोली हानी हत्या गरीदिन्छ र त्यसपछि आफूले आफैँलाई गोली हानी आत्महत्या गर्छ

यसै बीचमा टम न्यूयोर्कको ग्यारेज पुग्छ र विल्सन जर्जलाई भेटेर उसकी श्रीमती मर्टललाई ठक्कर दिने गाडीको मालिक ग्याट्सबी भएको बताउँछ । क्षुब्द एवं आक्रोशित जर्जलाई अवश्य पनि त्यही गाडीको मालिक नै मर्टलको प्रेमी हुनुपर्छ भन्ने लागिरहेको हुन्छ । अनि त्यसपछिको चाँडै एक दिन जर्जले बिन्दास आफ्नो घरको पौडीपोखरीमा नुहाउँदै गरेको ग्याट्सबीलाई गोली हानी हत्या गरीदिन्छ र त्यसपछि आफूले आफैँलाई गोली हानी आत्महत्या गर्छ ।

ग्याट्सबीको हत्या भएको धेरै दिनपछि उसका पिता हेनरी ग्याट्ज अत्यन्त थोरै सङ्ख्यामा भएका मलामीको समूहमा मिसिन आइपुग्छन् । ग्याट्सबीको घरायसी पार्टीमा नियमित आइरहने मानिसहरू लगभग कोही पनि उसको मलामी हुन आउँदैनन् । डेजी र टम बुक्यानन पनि गाडी चढेर कतै टाढा बाहिर घुम्न हिँड्छन् । उनीहरू कसैलाई ग्याट्सबीको मृत्युले पटक्कै छुँदैन ।

उता, ग्याट्सबीको मृत्युपछि निकलाई न्यूयोर्कप्रति घृणा लाग्न थाल्छ र ऊ के निष्कर्षमा पुग्छ भने ग्याट्सबी, डेजी, टम, र ऊ आफैँ पनि देशको मध्यपश्चिमी क्षेत्रका बासिन्दा हुन् र उनीहरू देशको पूर्वी क्षेत्रमा बसोबासका लागि सुहाउँदा छैनन् । निकको भेट टमसँग हुन्छ तर उसले टमसित हात मिलाउन मान्दैन । टमले मर्टललाई ठक्कर दिने गाडीको मालिक ग्याट्सबी भएको भनेर आफूले नै जर्जलाई बताएको भनेर निकलाई भन्छ ।

देशको आफ्नै मध्यपश्चिम क्षेत्र (मिनेसोटा, एलिनोई, क्यानसस, उत्तर र दक्षिण डेकोटा आदि समेत बाह्र राज्य) तिर फर्किनुभन्दा पहिले निक अन्तिम पटक ग्याट्सबीको घर जान्छ र त्यहाँबाट हेर्दा केही टाढा डेजीको घर छेउको बन्दरगाहमा हरियो बत्ती बलिरहेको देख्छ ।

टम बुक्याननजस्ता पुरानो समयदेखिको धनका मालिक बनेकाहरू आफू र आफ्ना वरपर भइरहेका घटनाहरूप्रति निस्पृह हुन्छन्, त्यस्ता कुराहरूप्रति बेवास्ता गर्ने स्वभाव भएका हुन्छन् । अन्त्यमा एउटा ईष्र्यालु लोग्नेको गोली लागेर ग्याट्बीको मत्यु हुन्छ र निक चाहिँ आफ्नो साथीको दुःखद एवं विस्मयकारी मृत्यु अनि उसको अमेरिकी जीवनशैलीको अर्थ खोज्दै बस्न विवश हुन्छ ।

प्रकाशनपछि उदेक लाग्दा प्रन्ध वर्ष

समय बित्यो । उपन्यासकारको पनि मृत्यु भइसक्यो । तर, चर्चित अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ का लागि दुई दशकभन्दा बढी समयदेखि सिनेमा र पुस्तक समीक्षा लेख्दै आइरहेका साहित्यिक पत्रकार ए.ओ.स्कटका शब्दमा, ‘उपन्यासको एक सहायक पात्र निक क्यारावेले गरेको ग्याट्सबीको निधनमाथि र त्यसपछिको चिन्तन समाप्त भएको छैन, र, न ग्याट्सबीको कथाको पुनरावृत्ति नै थामिएको छ ।

अमेरिकी हाइस्कूलका विद्यार्थीहरू ‘अमेरिकी सपना’ (अमेरिकन ड्रीम), ‘हराएको पुस्ता’ (लस्ट जेनरेशन) र उपन्यासको अन्त्यमा वर्णित पानीजहाज रोकिने ठाउँ ‘डक’ मा देखाइएको हरियो बत्तीको साङ्केतिक अर्थ धुइँपत्ताल खोजिरहेछन्– हिजो पनि, आज पनि र भोलि सुदूर भविष्यमा पनि।’

‘नाटककार, सिनेमा निर्माता, कार्टुनिष्ट, र्‍यापर गायक–गायिका र अनेक उपन्यासकारहरूले नै पनि फिट्सजेराल्डको यस कृतिप्रति विशेष सम्मान देखाउँदै यसलाई फरक ढङ्गले, आआफ्नै ढङगले भन्ने वा देखाउने प्रयास गर्दै आएका छन् । यस उपन्यासमाथि कम्तीमा चार ओटा त हलिउड फिल्म नै बनेका छन्, अनगिन्ती टेलिभिजन धारावाहिक बनेका छन्, नाटक–ओपेरा–गीतसङ्गीत बनेका छन् । यति मात्र होइन, ग्याट्बसी सम्बन्धी चिन्तन गर्दा हामी धन, जाति, रोमान्स र इतिहासबारे समेत विचार गरिरहेका हुन्छौं ।’

मार्च/अप्रिल सन् २००२ मा चर्चित पत्रिका ‘बुक’ म्यागेजिनले सन् १९०० पछि हालसम्मको, अर्थात् पछिल्लो एक शताब्दीको, अर्थात् बीसौं शताब्दीको, आख्यान –फिक्शन– मा चित्रित पात्रहरूमध्ये सर्वश्रेष्ठ पात्रको सूची जारी गरेको थियो, र त्यस सूचीमा पहिलो स्थानमा आउन सफल पात्रको नाम थियो– जे ग्याट्सबी ।

यसरी पात्र–सूचीको शीर्षमा आउने क्रममा ग्याट्सबीले जे.डी.स्यालिङ्गर लिखित ‘क्याचर इन द राई’ को पात्र होल्डेन कलफिल्ड, भ्लादीमिर नोबोकोभको ‘लोलिता’ का दुई पात्र हम्बर्ट हम्बर्ट र लोलिता, जेम्स ज्वायस लिखित ‘यूलिसस’ को मूलपात्र लियोपोल्ड ब्लूम, हार्पर ली सिर्जित ‘टू किल अ मकिङ बर्ड’ को बहुचर्चित पात्र एटीकस फिन्च, फ्रान्ज काफ्का रचित ‘मेटामोर्फोसिस’ को शीर्ष पात्र ग्रेगर साम्सा, इयान फ्लेमिङ लिखित ‘क्यासिनो रोयल’ को पात्र जेम्स बोन्ड, जे.के.रोलिङ लिखित ‘ह्यारी पोर्टर एन्ड द सोर्सरर्स स्टोन’ को पात्र ह्यारी पोर्टर आदि तमाम लोकप्रिय आख्यानात्मक पात्रहरूलाई उछिनेको थियो ।

तर ‘द ग्रेट ग्याट्सबी’ प्रकाशनपछिको कुरा गर्नुभन्दा पहिले उनका अन्य उपन्यासबारे केही चर्चा गरौं । यो उपन्यास लेख्नुभन्दा पहिले फिट्सजेराल्डका दुई ओटा उपन्यास र दुई ओटै कथा–सङ्ग्रह छापिइसकेका थिए । उनको पहिलो उपन्यास, अर्थात् डेब्यू नोभेल, सन् १९२० मा छापिएको थियो– ‘दिस साइड अफ प्याराडाइज’ शीर्षकमा । उनको पहिलो उपन्यास चर्चित भयो, लगभग पचास हजार प्रति बिक्री भयो, उनले प्रशंसापूर्ण स्याबासी पाए, र उनी एक जना उम्दा उपन्यासकारका रूपमा पनि दरिए ।

तर दुई वर्षपछि सन् २०२२ मा निस्केको उनको दोस्रो उपन्यास ‘द ब्यूटीफूल एन्ड ड्याम्ड’ चाहिँ खासै रुचाइएन, न त समालोचकहरूबाट कुनै तारीफ मिल्यो, तर किताबको बिक्री भने राम्रै भयो । त्यही वर्ष उनको एउटा लघु उपन्यास (नोभेला) पनि प्रकाशित भयो, ‘द डायमण्ड एज बीग एज द रीज’ । तर भाषा र शैलीको तारीफ भए पनि यस किताबको बजार भने ठीकै मात्र रह्यो ।

सन् १९२२ मै छापिएको उनको कथा–सङ्ग्रह ‘टेल्स अफ द ज्याज एज’ ले उनलाई समकालीन कथाकारहरूको सूचीमा शीर्ष स्थानमा पुर्‍याइसकेको थियो । यो समय, अर्थात् प्रथम विश्वयुद्ध सकिएपछि, बीसौं शताब्दीको दोश्रो दशक अमेरिकामा ‘विशेष गर्जन’को समय थियो, ‘रोरिङ ट्वान्टीज’ को अवधि थियो । अमेरिकी समाज र जीवनशैलीमा तीव्र परिवर्तन आउँदै थियो । भर्खर शुरू भएको ज्याज सङ्गीतको बढ्दो बोलबाला थियो । उपभोक्तावाद चर्किंदो थियो । मनोरञ्जनका लागि नयाँनयाँ स्वरूप छिटोछिटो विकसित हुँदै थिए । चिल्ला पत्र–पत्रिका र हलिउडको दबदबासँगै न्यूयोर्कको ब्रोडवे क्षेत्रमा एकपछि अर्को प्रदर्शन एवं शोहरूले मनोरञ्जन क्षेत्रमा नयाँ बान्की थपेको थियो । फिट्सजेराल्डका रचनाहरूमा यी सबै परिवर्तन कलात्मक कलेवरमा कलकलाउन थालेका थिए ।

साहित्यका पारखीहरूबाट दोस्रो उपन्यासको स्वागत नभएको देखेर उदेकिएका फिट्सजेराल्ड आफ्नो तेस्रो उपन्यास लेख्नेतिर लागे । दुई–तीन पटक खेस्रा कोरीसकेपछि सन् २०२४ मा उनले अन्तिम खेस्रा –रफ ड्राफ्ट– तयार पारे अनि आफ्ना सम्पादक म्याक्सवेल पर्किन्सलाई बुझाए । सर्सर्ती पढिसकेपछि सम्पादक पर्किन्सले फिट्सजेराल्डलाई त्यो खेस्रा पुनर्लेखन गर्नुपर्ने भन्दै त्यसो गर्दा नै बेस हुने भनी सहमत पनि गराए ।

उनले राम्रै परिश्रम गरे । थपघट गरे र भाषा पनि कसी कसाउ गर्दै पुनर्लेखन सिद्ध्याए । किताबको आवरणमा एक चर्चित तस्वीर ‘सेलेस्टियल आइज’ थियो, जुन वास्तवमा एकजना स्पेनिश चित्रकार तथा ग्राफिक डिजाइनर फ्रान्सिस कुगाटले बनाएको तस्वीर सापटी लिएर राखिएको थियो । तर उनी किताबको शीर्षकबारे अझै ढुक्क हुन सकिरहेका थिएनन् । पुनर्लेखन पनि सकिसकेपछि फिट्सजेराल्डले आफ्नो यस उपन्यासको शीर्षक ‘ट्रीमाल्कियो इन वेस्ट एग’ भनेर राखेका थिए तर अझसम्म पनि चित्त भने राम्ररी बुझेको थिएन ।

तर अन्ततः प्रकाशनका लागि पठाउँदा भने त्यो शीर्षक बदलियो र नयाँ शीर्षक नामाकरण भयो, ‘द ग्रेट ग्याट्सबी’, अनि प्रकाशन संस्था ‘चाल्र्स स्क्रीब्न’र्स सन्स’ ले अप्रिल १० सन् १९२५ मा पहिलो पटक यो उपन्यास बजारमा सार्वजनिक गर्‍यो । कालान्तरमा बित्दो समयसँगै यही शीर्षक भएको उपन्यासले इतिहास रच्न पुग्यो ।

खासमा, प्राचीन रोमन साम्राज्यकालीन राजा नीरोका एक प्रिय दरबारिया थिए ‘गायस पेट्रोनियस आर्बीटर’ । उनै पेट्रोनियसले नीरो–शासनकालमै एउटा व्यङ्ग्यात्मक उपन्यास लेखेका थिए, ‘स्याटीरिकोन’ शीर्षकमा । यो उपन्यास रोमन साम्राज्यकालमा लेखिएको पहिलो उपन्यास पनि मानिन्छ । यसै उपन्यासको मूलपात्र हो ‘ट्रीमाल्कियो’, जो पहिला दास भएर बाँचिरहेकोमा पछि स्वतन्त्र हुन्छ र अनेक कार्य–व्यापार गर्दै धनाढ्य बनेको हुन्छ । अनि त आफूलाई सम्पन्न देखाउन उसले समाजका सम्भ्रान्त एवं धनीमानी मानिसहरूलाई निम्त्याउँदै नियमित भड्किलो भोजभतेर आयोजना गरिरहन्छ । ठीक यस्तै चरित्र फिट्सजेराल्डका उपान्यासको मूलपात्र जे ग्याट्सबीको हुन्छ ।

तर समीक्षक र समालोचकहरूबाट सकारात्मक एवं उत्साहवर्द्धक प्रतिक्रिया पाए पनि ‘द ग्रेट ग्याट्सबी’ को पहिलो संस्करणले खासै बजार तताउन सकेन । प्रथम दुई उपन्यासको दाँजोमा आधा पनि बिक्री भएन, र पहिलो वर्षभर यो उपन्यास मुश्किलले बाइस हजार प्रतिभन्दा केही बढी मात्र बिक्री हुन सक्यो । यसले उनलाई निकै निराश तुल्यायो ।

यद्यपि उनको जीवनशैली खर्चिलो थियो, उनी महँगो जीवन बाँच्न रुचाउँथे र थप आय आर्जनका लागि उनले त्यो समयका अत्यन्त चर्चित पत्रिकाहरू द स्याटर्डे इभनिङ पोष्ट, कलियर्स वीक्ली र एस्क्वायर आदि पत्रिकाका लागि नियमित लेख्ने गरेका थिए, असल पनि कमसल पनि कथाहरू लेखे ।

तर ‘द ग्रेट ग्याट्सबी’ ले उनले सोचे जस्तो बजार लिन नसकेको तथ्यले उनी हताश पनि भए, र उद्विग्न पनि । यही बीचमा उनकी पत्नी जेल्डा सेयर मानसिक रोग ‘शिजोफ्रेनिया’ले आक्रान्त हुन पुगिन् । तापनि समयको व्यवस्थापन मिलाउँदै यही अवधिमा उनले आफ्नो चौथो र अन्तिम पूर्ण उपन्यास ‘टेन्डर इज द नाइट’ लेखे, जुन सन् १९३४ मा प्रकाशित भयो । यो उपन्यास पनि बजारमा खासै चलेन । यसले गर्दा उनी अझ निराश भए । र, अन्ततः हृदयाघात भएर चौवालीस वर्षको उमेरमा फिट्सजेराल्डको निधन भयो । यसरी मृत्यु हुँदासम्म पनि उनले आफूलाई एक असफल उपन्यासकार मात्र ठान्ने गरेका थिए ।

(प्रसङ्गवश, फिट्सजेराल्डको अन्तिम तर अपूर्ण उपन्यास रह्यो, ‘द लाष्ट टाइकून’, जुन सन् १९४१ मा छापिएको थियो । उनका साथी तथा लेखक–समालोचक एडमण्ड विल्सनले सम्पादन गरेर यो उपन्यासलाई अधूरै अवस्थामा प्रकाशन गरेका थिए । विल्सनले यो अधूरो उपन्याससँगै यही किताबमा लेखकका अन्य केही रचना र ‘द ग्रेट ग्याट्सबी’ उपन्यास पनि सम्पूर्ण प्रकाशित गरेका थिए । र, के पनि भने, उपन्यास ग्याट्सबी र उपन्यासकार फिट्सजेराल्डका लागि यो र अन्य केही पक्ष नयाँ घुम्ती –टर्निङ प्वाइन्ट– भएकाले यसको उल्लेख प्रस्तुत आलेखमा पटक–पटक आउनेछ) ।

शुरूका वर्षहरूमा ‘द ग्रेट ग्याट्सबी’ ले सोचे जस्तो बजार लिन नसक्नुमा अनेक कारण थिए । सबभन्दा ठूलो त त्यो उपन्यास निस्केको केही समयपछि नै अमेरिकासमेत विश्वमै शेयर बजार धराशायी भएको थियो र सबैतिर बेरोजगारी एवं गरीबी अत्यधिक बढेको थियो भने औद्योगिक उत्पादन अनि अन्तर्राष्ट्रिय व्यापारमा नाटकीय ह्रास हुँदै महान मन्दी (द ग्रेट डिप्रेशन) शुरू भइसकेको थियो र त्यसले गर्दा धन–सम्पत्ति, मनोरञ्जन एवं निरन्तर भोजभतेरयुक्त पार्टीहरू भइरहने ग्याट्सबीको भड्किलो जीवनशैलीभन्दा जनमानसलाई तत्कालीन ‘महान अवसाद’ ले आक्रान्त पारेको थियो । यसको सोझो प्रभाव उपन्यासको बिक्रीमा परेको थियो । मानौं समयले गर्दा फिट्सजेराल्डको लेखनशैली र उनको कथानक समाजबाट पाखा पर्न गयो !

यद्यपि उपन्यासको समीक्षा सबैतिरबाट राम्रो आयो । द न्यूयोर्क टाइम्स, लस एन्जल्स टाइम्स, न्यूयोर्क पोष्ट, न्यूयोर्क हेराल्ड ट्रिब्यून, द शिकागो डेली ट्रिब्यून आदि पत्रिकाहरूले उच्च प्रशंसा गरे भने द डालास मर्निङ न्यूज, सेन्ट लुई पोष्ट–डिस्प्याच, न्यूयोर्क इभनिङ वल्र्ड आदि पत्रिकाले ‘उपन्यास फिट्सजेराल्डका पछिल्ला उपन्यास जस्तो नभएर कमसल रहेको’ भन्दै आलोचना गरे । यी सबै आलोचना–समालोचना पढिसकेपछि फिट्सजेराल्डले आफ्ना साहित्यिक मित्रहरूलाई भने, ‘कुनै पनि समीक्षकले यो उपन्यासलाई र यसले के भन्न खोजिरहेको छ भन्ने अर्थ–सन्देश नै बुझेनन् ।’ उनको अर्को गुनासो के पनि थियो भने उपन्यासका मूल पात्र जे ग्याट्सबी र लेखक फिट्सजेराल्डको जीवनका बीचमा रहेका समानताहरू पनि समीक्षकहरूले पर्गेल्न सकेनन् ।

यति सबै भइसक्दा पनि उपन्यास फिट्सजेराल्डले कम्तीमा पचहत्तर हजार प्रति त सामान्य पनि बिक्री होला भन्ने अनुमान गरेका थिए । तर ग्याट्सबी उपन्यासको बिक्री त बीस हजारको हाराहारीभन्दा धेरै माथि जानै सकेन । उपन्यासका दुई संस्करण छापिए पनि अपेक्षित बिक्री नभएर धेरैजसो प्रतिहरू पसल र गोदाममै थन्किन पुगे । यस उपन्यासका लागि उनले केवल दुई हजार डलर रोयल्टी पाएका थिए ।

धन्न सन् १९२६ मा ‘द ग्रेट ग्याट्सबी’ उपन्यासमाथि नाटक र केही पछि हलिउड कम्पनी प्यारामाउन्टले मूक सिनेमा (साइलेन्ट फिल्म) बनाए, र त्यसले गर्दा उनले राम्रै लेखकस्व पाए । तर यति सब भइसकेपछि पनि किताबको बिक्री र उनकै अन्य नयाँ रचनाले पनि पाठकलाई रिझाउन सकेनन् । यसले गर्दा सन् १९४० मा उनको मृत्यु हुँदासम्म त उपन्यास ‘द ग्रेट ग्याट्सबी’ मानौं समाजबाटै लोप भइसकेको थियो ।

लेखकको मृत्युसँगै किताबको कालजयी पुनर्जन्म

लेखक फिट्सजेराल्डको मृत्यु हुँदा दोश्रो विश्व–युद्ध शुरू भइसकेको थियो । हिटलरको नेतृत्वमा जर्मनीले यत्रतत्र ताण्डव देखाइरहेको थियो । यही बेला अमेरिकामा ‘द ग्रेट ग्याट्सबी’ उपन्यासको मानौं पुनर्जन्म भयो, कालजयी स्वरूप लिएर । अनि त सारा परिदृश्य नै बदलियो ।

खासगरी उनका साथीहरू म्यालकम काउली र एडमण्ड विल्सनसमेत कतिपय साहित्य–समीक्षक एवं लेखकहरूको प्रयासले गर्दा, केही शुभचिन्तक प्रकाशकहरूले गर्दा, र अर्को चाहिँ अमेरिकी सेनाले गर्दा । कोलम्बिया विश्व्विद्यालयका प्रोफेसर तथा प्रतिष्ठित समीक्षक लियोनेल ट्रिलिङले ‘द ग्रेट ग्याट्सबी’ लाई जन मिल्टन, योहान वुल्फग्याङ गुथे, विलियम बट्लर यीट्स, फ्योदोर दोस्तोएभस्की आदिको समकक्षमा राख्दै आधुनिक साहित्यको उच्चासनमा पुर्‍याइदिए । दोश्रो विश्व–युद्धको समयमा अमेरिकी सैनिक नेतृत्वको ‘आम्र्ड सर्भिसेज एडिशन’ विभागले ‘द ग्रेट ग्याट्सबी’का डेढ लाखभन्दा धेरै प्रति देशभित्र वा देशबाहिर विभिन्न स्थानमा खटिएका आफ्ना जवानहरूलाई पढ्नका लागि उपलब्ध गराएको थियो ।

यो उपन्यासमा उनीहरूले विशिष्ट ‘अमेरिकन सुगन्ध’ फेला पारे, सङ्घर्ष र सफलताको कथा फेला पारे, अनि जीवनको जीवन्तता, प्रेमिल भाव, त्याग र व्यक्तिवादी भावनाको कठोर यथार्थ पनि उस्तै गरी देखे । नाजीवाद र फासीवादको तुलनामा अमेरिकी खुल्लापन र उदारवादको बाक्लो झल्को पनि उनीहरूले यसै उपन्यासमा फेला पारे । र युद्धभूमिबाट फर्केर आएपछि आफ्ना ती पठन–भावना सबैतिर साझा गरे । यसको पनि परिणाम थियो, ‘द ग्रेट ग्याट्सबी’ को बिक्री प्रकाशनको थालनीका वर्षहरूको तुलनामा अब दोश्रो विश्व–युद्धपछि छ गुणा अर्थात् पाँच सय प्रतिशतले बढेको थियो ।

अनि त दोश्रो विश्व–युद्धको समाप्तिपछि ‘द ग्रेट ग्याट्सबी’ को चर्चा आफैँ चुलिँदै जान थाल्यो । त्यसको कथानकलाई लिएर हलिउड फिल्म बने, टेलिभिजन धारावाहिक बन्दै जान थाले, नाटकहरू खेलिन थाले र यसरी विस्तारै त्यस उपन्यासका पात्र सदाबहार ‘आर्केटाइप’ बन्दै जान थाले । सिनेमा र फेशन पत्रिकाहरूमा ग्याट्सबीको समयावधिका पहिरन पनि छाउन थाले । त्यससँगै उपन्यासका पेपरब्याक संस्करण त ह्वात्तै बढे ।

त्यसो त यस उपन्यासमाथि पहिलो पटक हलिउड फिल्म सन् १९२६ मै बनिसकेको थियो, त्यो चाहिँ साइलेन्ट फिल्म थियो, एक मूक सिनेमा (भनिन्छ, हाल त्यस फिल्मको ट्रेलर मात्र बाँकी छ र फिल्म भने हराइसकेको छ) । तर दोश्रो विश्व–युद्धपछि सन् १९४९ मा फेरि एक पटक र सन् १९७४ मा तेस्रो पटक यसमाथि हलिउड फिल्म बन्यो । अझ सन् २०१३ मा ‘द ग्रेट ग्याट्सबी’ माथि हलिउडले चौथो पटक फिल्म बनायो, जुन बढी सफल पनि भयो, र, जसमा लियोनार्डो डी क्याप्रियो, टोबी मेग्वायर, क्यारी मलीगन, जोएल एजरटन, एस्ला फिशर आदि नामूद हलिउड कलाकार थिए भने भारतका लोकप्रिय चलचित्रकर्मी अमिताभ बच्चनले पनि दुई घण्टा बाइस मिनेट लामो यस फिल्ममा अभिनय गरेका थिए ।

उपन्यासका पात्रलाई आधार बनाएर हलिउड सिने नगरीले अरू पनि केही फिलिम बनाएको छ ।

खासमा उनका साथी एवं साहित्य–समीक्षक एडमण्ड विल्सनले उनको अधूरो उपन्यास ‘द लाष्ट टाइकून’ सँगै सन् १९४१ मा एउटै किताबमा ग्याट्सबीको सम्पूर्ण पाठ पनि प्रकाशित गरिसकेपछि अमेरिकी लेखक–वृत्तमा फिट्सजेराल्ड र उनको लेखनप्रति नयाँ बहस शुरू भयो । अब चाहिँ ‘द ग्रेट ग्याट्सबी’ एक उम्दा आख्यानका रूपमा हेरिन, भनिन, पढिन र चर्चिन थालियो । यही बीच दोश्रो विश्व–युद्धमा खटिएका अमेरिकी सैनिकहरूका लागि डेढ लाखभन्दा धेरै प्रति छापिनुका साथै वितरण नै भएपछि त मानौं सम्पूर्ण रूपले फिट्सजेराल्डको पुनरोदय भयो ।

अब चाहिँ फिट्सजेराल्डका बारेमा लामालामा प्राज्ञिक लेखहरू छापिन थाले, ‘द ग्रेट ग्याट्सबी’ लाई कमसल र सनसनीखेज रचना नमानेर उपल्लो स्तरको सिर्जना भन्न थालियो । अस्पतालमा भएको आगलागीमा फिट्सजेराल्डकी पत्नी जेल्डाको मृत्यु भएको तीन वर्षपछि सन् १९५१ मा कोर्नेल युनिभर्सिटीका प्राध्यापक आर्थर मिजेनरले ‘द फार साइड अफ प्याराडाइज’ शीर्षकमा फिट्सजेराल्डको पहिलो र ठूलो पुस्तकाकार जीवनी लेखे । यो जीवनी बेस्टसेलर भएर बिक्यो र यसले साहित्यिक समीक्षक एवं पाठकहरूबीच ग्याट्सबी उपन्यासप्रति नवीनीकृत चासो ह्वात्तै बढाइदियो ।

सन् १९६० आइपुग्दा नपुग्दै, अर्थात् उपन्यास पहिलो पटक छापिएको पैंतीस वर्षपछि, यो उपन्यास विश्वव्यापी बजारमा वर्षेनी एक लाख प्रति बिक्री हुँदै आइरहेको थियो । त्यसको चौध वर्षपछि यसलाई अमेरिकी साहित्यको ‘प्रमुख कृति’ (मास्टर वर्क) र लगत्तैपछि ‘महान अमेरिकी उपन्यास’ (ग्रेट अमेरिकन नोभेल) को दर्जा दिन थालियो । अझ पछि सन् २००० को दशकको मध्य आउँदा नआउँदै ‘द ग्रेट ग्याट्सबी’ लाई आजसम्म लेखिएका महानतम उपन्यासहरूमध्येको एक मान्न थालिएको छ । यो उपन्यास हाल सेप्टेम्बर २०२५ सम्ममा विश्वका विभिन्न बयालीस भाषामा अनुवाद भइसकेको छ ।

किताब चिरायु तर लेखक अल्पायु !

साहित्यमा अक्सर स्कट फिट्सजेराल्ड भनेर चिनिने उनको पूरा नाम फ्रान्सिस स्कट की फिट्सजेराल्ड हो । उनी एक जना अमेरिकी उपन्यासकार, कथाकार र निबन्धकार हुन्।

पिता एडवर्ड फिट्सजेराल्ड र आमा मेरी (मोली) म्याक्कीलानको मिनेसोटा राज्यको सेन्ट पल भन्ने ठाउँमा चार छोरी र एक छोरा परिवारमा सेप्टेम्बर २४ सन् १८९६ मा जन्मेर डिसेम्बर २१ सन् १९४० मा क्यालीफोर्निया राज्यको लस एन्जल्स क्षेत्रमा चौवालीस वर्षको उमेरमा निधन भएका फिट्सजेराल्डका चार उपन्यास, चार कथा–सङ्ग्रह र १६४ ओटा कथा अनि केही फुटकर निबन्ध प्रकाशित छन् ।

आफ्ना उपन्यासहरूमा तत्कालीन अमेरिकामा निकै प्रचलनमा आएको ज्याज संगीत युगको तडकभडकयुक्त जीवनशैली प्रस्तुत गर्ने लेखकका रूपमा उनी बढी प्रख्यात छन् । चौबीस वर्षको उमेरमै आफ्नो पहिलो उपन्यास छपाएर प्रशस्त चर्चा, नाम र दाम कमाउन सफल भएका उनको दोश्रो उपन्यास पनि सफल रह्यो । तर त्यसपछि भने त्यही किसिमको सफलता उनको लेखनले पाएन, अझ जीवनको पछिल्लो चरणसम्मै पनि उस्तै सफलता र प्रशंसा मिल्न सकेन ।

अन्ततः निराशा र उद्दिग्नतामै चौवालीस वर्षको उमेरमा उनको जीवनलीला सकियो । तेस्रो पटक भएको हृदयाघातले उनलाई परलोकवासी बनाएको थियो । तर संयोग, उनी
अचेल बीसौं शताब्दीका महानतम अमेरिकी लेखकमध्ये एक मानिन्छन् । किन, र कसरी त ?

उनको जन्म मिनेसोटा राज्यको एक मध्यम वर्गीय परिवारमा भए पनि उनको लानपालन मूलतः न्यूयोर्क राज्यमा भएको थियो । त्यहीँ प्रिन्सटन युनिभर्सिटीमा अध्ययन गर्दै गर्दा उनको गहिरो मित्रता अर्का भावी लेखक एवं साहित्य–समीक्षक एडमण्ड विल्सनसँग भएको थियो ।

यही अवधिमा शिकागो शहरकी पार्टी–जमघटप्रेमी युवती गिनेभ्रा किङसँग उनको प्रेम–सम्बन्ध गाँसियो । तर त्यो चाँडै नै असफलतामा टुङ्गियो । (पछि गिनेभ्राले शिकागोकै एक जना धनाढ्य व्यावसायीसँग विवाह गरेकी थिइन्) । उनले पढ्दा–पढ्दै युनिभर्सिटी छाडे, उनी ड्रप–आउट भए, र सन् १९१७ मा पहिलो विश्व–युद्ध लड्न जाने अमेरिकी सेनामा भर्ती भए ।

युद्धका लागि अलाबामा राज्यमा खटिएका बेला फुर्सदमा रमाइला क्लब धाउने गर्दा उनको भेट उतैकी युवती जेल्डा सेयरसँग भयो । त्यतिबेला फिट्सजेराल्डले जेल्डासित विवाहको प्रस्ताव राखेका थिए, तर उनको आर्थिक अवस्था कमजोर रहेको भन्दै जेल्डाले त्यो प्रस्ताव स्वीकार गरेकी थिइनन् । तापनि, केही समयपछि भने, फिट्सजेराल्डको पहिलो उपन्यास ‘दिस साइड अफ प्याराडाइज’ (१९२०) साहित्यिक अनि व्यापारिक दुवै तवरले सफल भएपछि जेल्डा उनीसँग विवाह गर्न सहमत भइन् । पहिलो उपन्यासले नै फिट्सजेराल्डलाई दशककै उम्दा लेखकहरूको सूचीमा दर्ज गराइदियो ।

युद्ध समाप्त हुनुभन्दा पहिले केही महिना उनी न्यूयोर्क नजिकै लङ आइल्याण्ड क्षेत्रमा सरुवा भएका थिए भने युद्ध सकिएर उनले सैन्य जीवन छाडेपछि उनी न्यूयोर्क सिटीमा बस्न थालेका थिए ।

उनीहरूको एक मात्र सन्तानका रूपमा छोरी जन्मिएकी थिइन्, जसको नाम पिताकै जस्तो गरी ‘फ्रान्सिस स्कट फिट्सजेराल्ड’ र छोटकरीमा बोलाउनका लागि ‘स्कटी’ राखिएको थियो ।

यी छोरी पनि पछि गएर पत्रकार र लेखक बनेकी थिइन्, डेमोक्र्याट पार्टीका लागि वक्तत्व–लेखक र कार्यकर्ता पनि भएकी थिइन्, अनि दुई पटक विवाह गरिसकेर चार सन्तानकी आमा बनेको अवस्थामा घाँटीको क्यान्सरले गर्दा चौंसठ्ठी वर्षको उमेरमा सन् १९८६ जूनमा उनको मृत्यु भएको थियो ।

स्कटीका जेठा छोराले सत्ताइस वर्षको उमेरमा आत्महत्या गरेका थिए । यस तथ्यले उनलाई आजीवन पीडा दिइरह्यो, र यही आहत अवस्थाले गर्दा उनले अत्यधिक धूमपान गर्न थालेकी थिइन् ।

तेस्रो उपन्यासको रूपमा छापिएको ‘द ग्रेट ग्याट्सबी’ ले आफूले सोचे जस्तो स्वागत–सम्मान नपाएपछि चिढिएका फिट्सजेराल्ड फिल्मी पटकथा लेख्न सपत्नी जनवरी सन् १९२७ मा हलिउड नगरी, लस एन्जल्स पुगे । छोटै अवधिमा त्यहाँ फिट्सजेराल्डको नायिका लुई मोरानसँग प्रेम–सम्बन्ध कसिन पुग्यो । मोरानलाई पात्र बनाएर उनले कथा ‘म्याग्नेटिजम’ लेखे भने पछि गएर ‘टेन्डर इज द नाइट’ उपन्यासकी एक प्रमुख पात्र पनि बनाए ।

तर उनीहरूबीचको सम्बन्ध जेल्डालाई फिटिक्कै रुचेन, उदेक र आक्रोशले भरिएकी उनले आत्मघाती तवरले एउटा पार्टी चलिरहेको बेला आफैँलाई आगो लगाएर आत्मदहनको प्रयास गरेकी थिइन् । मोरानसँगको सम्बन्धले फिट्सजेराल्ड दम्पतीको जीवन अप्ठ्यारो परिस्थितिमा पुग्न थाल्यो ।

अर्कोतिर हलिउडको वातावरण पनि उनीहरूलाई उस्तो रुचेन, र यसले गर्दा त्यहाँ आएको तीन महिना पनि नपुग्दै उनीहरूले त्यो ठाउँ नै परित्याग गरे, र अर्को राज्य डेलावेयर बसाइँ सरे । अनि फेरि न्यूयोर्क बस्न पुगे ।

न्यूयोर्कमा म्यानहटनको वेस्ट साइड क्षेत्रमा एउटा कोठा भाडामा लिएर बसेको बेला फिट्सजेराल्डले विज्ञापन एजेन्सीका लागि काम गरे । तर उनी साहित्यमा नाम र दाम कमाउन चाहन्थे, यसका लागि उनले कथा र व्यङ्ग्यहरू लेखेर स्थानीय पत्रिकाहरूमा पठाए । अन्ततः एक सय बाइस पटक अस्वीकृत भएपछि मात्र उनको एउटा कथा ‘बेब्स इन द वूड्स’ छापिने भयो र त्यसका लागि उनले तीस डलर लेखकस्व पाएका थिए ।

न्यूयोर्क बस्दा खासै आय आर्जन भएन । यसले गर्दा उनले आफूलाई राम्रो जीवनशैली दिन सक्दैनन् भन्दै जेल्डाले फिट्सजेराल्डसितको मँगनी विच्छेद गरिन् । फिट्सजेराल्ड किंकत्र्तव्यविमूढ भए किनभने केवल केही वर्षको अन्तरालमै दुई युवतीले उनीसँगको सम्बन्ध अन्त्य गरेका थिए । उनका कथा कसैले किनिरहेको थिएन, उनीसँग नयाँ कपडा किन्न र मन लागेको खान पर्याप्त पैसा थिएन । हताश भएर उनले आत्महत्या गर्ने विचार पनि गरेका थिए, तर गर्न चाहिँ कहिल्यै त्यसो गरेनन् ।

उनी त्यहाँ सबथोक छाडेर मिनेसोटास्थित आफ्नै घर फर्किए । अब उनले किताबको सफलतामा ‘वार या पार’ हुने गरी फेरि एउटा उपन्यास लेख्ने अन्तिम निश्चय गरे । त्यसका लागि उनले सँगी–साथीसितको बसाउठी छाडे, पार्टीहरूमा जान छाडे, मदिरा सेवन छाडे, र अरूअरू सबै कुराबाट पृथ्क बसेर लेख्न थाले । आफूले पहिले लेखिराखेको कथा ‘द रोमान्टिक इगोइष्ट’ लाई नै नयाँ शीर्षक ‘दिस साइड अफ प्याराडाइज’ राखेर दिनरात नभनी पुनर्लेखन गरी सिद्ध्याए । यस उपन्यासमा उनले आफूले प्रिन्सटन युनिभर्सिटीमा पढ्दाखेरीको समय अनि गिनेभ्रा, जेल्डा र अन्यसँग आफूले जोडेको प्रेम–सम्बन्धलाई आधारभूमि बनाएका थिए ।

उपन्यास पुनर्लेखन गर्दै गर्दा फिट्सजेराल्डले कार मेकानिकको काम गर्ने गरेका थिए । यही बेला एक दिन हुलाकीले उनलाई स्क्रीब्नर्स प्रकाशनले उनको पुनर्लिखित उपन्यास छाप्न स्वीकृत भएको खबर ल्यायो । उनको डेब्यू उपन्यास मार्च २६, १९२० मा बजारमा आयो र लगत्तै उल्लेखनीय बिक्री पनि भयो । पहिलो वर्षमै करीब चालीस हजार प्रति बिक्री हुँदै उपन्यासले सफलताको झण्डा गाड्यो ।

उपन्यासलाई सांस्कृतिक सनसनी भनियो र उपन्यासकार एफ.स्कट फिट्सजेराल्ड अमेरिकाभर घरेलु नाम बन्न पुग्यो । उपन्यास र उपन्यासकारको प्रशंसा चुलियो, यसलाई ‘वर्ष पुस्तक’ भन्न थालियो, यसलाई अझ अमेरिकी कलेज जीवनमाथि लेखिएको पहिलो यथार्थ उपन्यास पनि भनियो, र, यसपछि त उनका पहिले पहिले अस्वीकृत भएका कथाहरू धमाधम छापिन थाले, भने ती कथाको लेखकस्व पनि उच्च दरमा आउन थाल्यो ।

अब चाहिँ जेल्डाले ‘फिट्सजेराल्डले उनलाई व्यवस्थित जीवन दिन सक्छन्’ भन्ने सोच्दै पहिले आफूहरूबीच तोडिएको मँगनीलाई पुनर्जीवन दिइन्, र अप्रिल ३, १९२० मा उनीहरूको विवाह भयो (यद्यपि त्यस बेला चाहिँ फिट्सजेराल्डलाई जेल्डाप्रति पहिले जस्तो बिछट्ट माया भने थिएन, र यस सम्बन्धमा उनले आफ्ना एक जना साथीसित भनेका पनि थिए, ‘ऊ मरे पनि मलाई फरक पर्दैन तापनि अरू कसैले ऊसँग विवाह गरेको पनि म सहन सक्दिनँ’) ।

कतिपय परिचितहरूका अनुसार, त्यति बेला उनीहरूबीच दम्पतीभन्दा मित्रताको भाव नै बढी थियो । तर उपन्यासको सफलताले वैवाहिक जीवनको शुरूआत गराइदिएपछि राष्ट्रिय स्तरमा भने उनीहरू बहुचर्चित दम्पती (नेशनल सेलिब्रेटी) बनेका थिए ।

धेरै पछि उनीहरूका छिमेकी र निकट परिचितहरूले भने अनुसार, पैसा प्रशस्त आउन थालेपछि उनीहरू मोज–मस्तीपूर्ण जीवन बिताउन व्यस्त भएका थिए । उनीहरू केटाकेटीले जसरी मनोरञ्जन गर्थे, उटुङ्ग्याइँ भन्न मिल्ने हदसम्म । कहिले ट्याक्सीको छतमा बसेर यात्रा गर्न रमाइलो मान्थे । भड्किला पार्टी र भतेरहरूमा नियमित जान्थे । यसै क्रममा जिन र फलफुलको मिश्रण भएको ककटेल मदिरा उनीहरूको सर्वाधिक प्रिय पेय बन्यो । मदिराले लठ्ठ परेपछि भतेरहरूमा उनीहरू झकाए जस्ता हुन्थे तर घरमा भने एकअर्कासँग वादविवादमा उत्रिन्थे ।

विवाद चर्कंदै गएको बेला दुवै जना एक अर्कामाथि वैवाहिक विश्वासघात गरिरहेको आरोप लगाउँथे । आआफ्ना साथीहरूसँग आफूहरूको वैवाहिक जीवन धेरै लामो समयसम्म नटिक्ने पनि भनी रहन्थे । यही बीचमा सन् १९२१ को हिउँदमा जेल्डा गर्भवती भइन् । फिट्सजेराल्ड आफ्नो दोश्रो उपन्यास ‘द ब्यूटीफूल एण्ड ड्याम्ड’ लेख्ने तयारीमा जुटेका थिए । सन्तान जन्माउन उनीहरू आफ्नो पुर्ख्यौली घर मिनेसोटाको सेन्ट पल पुगे । त्यहीँ अक्टोबर १९२१ मा जेल्डाले छोरी स्कटीलाई जन्म दिएकी थिइन् ।

फिट्सजेराल्डको दोश्रो उपन्यास पहिले त पत्रिका ‘मेट्रोपोलिटान म्यागेजिन’ ले सन् १९२१ को अन्त्यतिर धारावाहिक श्रृङ्खलाका रूपमा छाप्यो भने उनको प्रथम प्रकाशक स्क्रीब्नर्सले मार्च २०२२ मा पहिलो संस्करण र लगत्तै दोश्रो र तेस्रो संस्करण पनि छाप्यो । उनको एघार कथाहरूको सङ्ग्रह पनि यसै वर्ष छापियो । उनले लेखन सफलताको अर्को शिखर चुमे । त्यही वर्ष अक्टोबरमा उनले आफ्नो कथा ‘द भेजीटेबल’ को नाट्य रूपान्तरण गरे तर त्यसलाई दर्शकहरूले फिटिक्कै रुचाएनन् ।

अब फिट्सजेराल्ड दम्पती लङ आइल्याण्डको ग्रे नेक क्षेत्रमा बसाइँ सरेका थिए । उनले आर्थिक गर्जो टार्न धमाधम कथाहरू लेख्दै गए । अनि नलेखेको समयमा र खाली बेलामा उनीहरू पार्टी र रंग–रमाइला जमघटहरूमा जाने र मस्त मदिरा सेवन गर्दै रमाउने गर्दथे । यस्तै जमघट र त्यहाँ भेट हुने अनेक थरी नवधनाढ्य मानिसहरूमध्येबाट उनले आफ्नो अर्को उपन्यास, र श्रेष्ठतम –आफ्नो ‘म्यागनम ओपस’– रचना, ‘द ग्रेट ग्याट्सबी’ का लागि कच्चा पदार्थ बटुलेका थिए ।

मे १९२४ देखि डिसेम्बर १९२६ सम्म फिट्सजेराल्ड परिवारले कहिले पेरिस त कहिले इटालीमा गर्दै दुई वर्ष यूरोपमा बितायो । तर यो उस्तो सुखद र सम्झना लायक बसाईं थिएन । यद्यपि उनले यूरोप छँदा गरट्रूड स्टेन, सिल्भिया बीच, जेम्स ज्वायस, एज्रा पाउण्ड, अर्नेष्ट हेमिङ्ग्वे आदि अनेक साहित्यकार र साहित्यप्रेमीसँग नजिकको मित्रता गाँस्ने अवसर पाए, तर फिट्सजेराल्ड दम्पतीको जीवनशैली पूर्णतः अनियञ्त्रित रह्यो । एक पटक (डिसेम्बर १, १९२४ मा) त फिट्सजेराल्ड मदिराले लठ्ठ भएको अवस्थामा रोमको सडकमा झगडा गरेको अभियोगमा पक्राउ परेर प्रहरी हिरासतमा पुर्‍याइएका थिए, जहाँ उनले एक जना अधिकृतलाई मुक्का प्रहार गरेका थिए र त्यसपछि उपस्थित अन्य प्रहरी मिलेर उनलाई रामधुलाइ गरेका थिए !

जेहोस्, एक वर्षभन्दा लामो अवधि लगाएर उनले रोममै बसेको बेला ग्याट्सबी उपन्यासको अन्तिम खेस्रा अनि त्यसको परिश्रमपूर्ण पुनर्लेखन सबै सकाए र त्यो किताब अमेरिकामा प्रकाशित पनि भयो । यसमा उनले आफ्नो लङ आइल्याण्ड क्षेत्रको बसाईं–अनुभव, आफ्नै श्रीमती जेल्डा र आफूले आजीवन बिर्सन नसकेकी कलेज जीवनकी पहिलो तर अप्राप्य प्रेमिका गिनेभ्रा किङ आदिलाई आधार बनाएका थिए । उपन्यासकी नायिका डेजी बुक्याननका रूपमा उनले उही गिनेभ्रा किङलाई कल्पना गरेका थिए ।

अमेरिका फर्केर केही वर्ष बसेपछि उनीहरू फेरि यूरोप पुगे । त्यहीँ एक पटक स्वीट्जरल्याण्डमा जेल्डाले आफूहरू यात्रा गरिरहेको कारको स्टीयरिङ समातेर कारलाई डाँडाबाट तल खसालेर आफू, पति र नौ वर्षीया छोरीलाई मार्ने असफल प्रयास गरेकी थिइन् । तत्कालै उनलाई अस्पताल लगिएपछि उनलाई त कडा किसिमको ‘शिजोफ्रेनिया’ नामक मानसिक रोग लागेको पहिचान भएको थियो । उनले यूरोपमा पनि र फेरि अमेरिका फर्केपछि पनि धेरै समय मनोचिकित्सा क्लिनिकमा बिताउनु परेको थियो । अनि यस्तोमा उनको चिकित्सा–खर्च जोहो गर्न फिट्सजेराल्ड उपन्यास नलेखेर नियमित कथा लेख्ने गर्थे ।

यही अवधिमा समयको जेनतेन व्यवस्थापन गर्दै फिट्सजेराल्डले आफ्नो चौथो उपन्यास ‘टेन्डर इज द नाइट’ लेख्न थालेका थिए । उनीहरू मेरील्याण्ड राज्यको टाउसन शहरमा बस्ने गर्थे । जेल्डाले पनि पतिको नयाँ उपन्यासको कथानक जस्तै आत्मकथा झल्किने गरी उपन्यास लेखिन् र छाप्नका लागि पतिकै प्रकाशन संस्थामा पठाइन् । ‘सेभ मी द वाल्ज’ शीर्षकको त्यो उपन्यास आफूले लेख्दै गरेको उपन्यासकै नक्कल जस्तो भएको, ‘प्लेगियरिजम’ भएको र अत्यन्त कमसल भएको भन्दै फिट्सजेराल्ड निकै रिसाए, तापनि केही थपघट गर्न जेल्डालाई सहमत गराए र प्रकाशक स्क्रीब्नर्सलाई त्यो उपन्यास छाप्नका लागि अनुरोधसहित सहमत गराए । तर अक्टोबर १९३२ मा छापिएको त्यो उपन्यास व्यावसायिक र साहित्यिक दुवै तवरबाट पूर्ण असफल रह्यो ।

फिट्सजेराल्डको नयाँ उपन्यास अप्रिल १९३४ मा छापियो । यसमा उनले आफूहरूको पछिल्लो समयको भोगाइ र आफ्नो हलिउड बसाईंकालीन प्रेमिका लुई मोरानलाई पात्रका रूपमा कल्पना गरेका थिए । यो उपन्यास पनि शुरू समयमा पन्ध्र हजार प्रति पनि बिकेन (तर पछि भने ग्याट्सबी उपन्यास जस्तै बिक्रीमा उल्लेखनीय ढङ्गले उकालियो) ।

आफ्नो लोकप्रियता र कथा–उपन्यासका पाठकहरू ह्वात्तै घट्दै गएपछि फिट्सजेराल्ड निरन्तर आर्थिक मारमा पर्दै जान थाले । किताबहरूबाट लेखकस्व उनले केवल अस्सी डलर पाउन थाले । अनि परिवारको भड्किलो जीवनशैली र जेल्डाको चिकित्सा खर्चले चाँडै नै उनी ऋणमा डुब्दै जान थाले । उनले आफ्ना एजेन्ट हेराल्ड ओबर र प्रकाशक पर्किन्ससित ऋण लिँदै काम चलाउन थाले । तर केही पछि ओबरले ऋण दिन बन्द गरे, फिट्सजेराल्डलाई लाग्यो– उनले अत्यधिक रक्सी खाने गरेको हुँदा नै ओबरले ऋण दिन छाडेको हो । उनले आफ्नो एजेन्टसँगको सम्बन्ध नै विच्छेद गरी दिए ।

तर धेरै रक्सी खाइरहेपछि अल्कोहोलिज्म–प्रभावले गर्दा सन् १९३५ पछि फिट्सजेराल्डको लेखन र मानसिक क्षमता नराम्ररी खल्बलियो । उनका साथी तथा समीक्षक एवं सम्पादक एच.एल.मेनकेनले जून १९३४ मा लेखे अनुसार, पत्नी जेल्डा चाहिँ अस्पतालबाट बाहिर निस्कन नमिल्ने गरी आवासीय रूपमा उपचाररत थिइन्, भने पति चाहिँ आफ्नी सानी छोरीसँगै पार्क एभेन्यू क्षेत्रमा बस्दथे । अवस्था कस्तो थियो भने सन् १९३३ देखि १९३७ सम्मको अवधिमा फिट्सजेराल्डलाई अत्यधिक रक्सी सेवनले देखाएको अस्वस्थकर असरले गर्दा आठ पटक त अस्पतालमा भर्ना नै गर्नुपरेको थियो ।

यही बीचमा एक जना पत्रकार मिशेल मोकले सेप्टेम्बर १९३६ मा फिट्सजेराल्ड उम्कनै नसक्ने गरी अल्कोहोलिक भइसकेको र यसले गर्दा अब उनी लेख्नै नसक्ने पनि भएको उल्लेख गर्दै राष्ट्रिय स्तरमै सम्प्रेषण (सिन्डीकेट) हुने लेख ‘द न्यूयोर्क पोष्ट’ मा छपाएकी थिइन् । आफ्नो प्रतिष्ठा धूलीसात् पार्ने त्यो लेख पढेपछि फिट्सजेराल्डले झन् बढी डिप्रेसनले समातिएर आत्महत्या गर्ने असफल प्रयास समेत गरेका थिए ।

उता लगातार आत्महत्या प्रयास गरिरहेपछि जेल्डालाई अझ कडा थुनुवा (एक्सटेन्डेड कन्फाइनमेन्ट) उपचारका लागि नर्थ क्यारोलाइना राज्यको एशभिलस्थित ‘हाइल्याण्ड हस्पीटल’ सरुवा गरियो । झण्डै टाट पल्टिइसकेका फिट्सजेराल्ड नजिकैको एक सस्तो होटलमा करीब दुई वर्ष बसे । यसै समयमा उनकी आमाको अप्रत्याशित निधन भयो । उनी अझ डिप्रेशनमा पुगे । यस्तो अवस्थामा उनी दिनमा करीब चालीस ओटासम्म बियर–शिशी रित्याउँथे !

यसरी नै समय बितिरहेको बेला सन् १९३७ मा उनलाई अचानक फेरि हलिउडबाट पटकथा र संवाद लेखनका लागि निम्तो आयो, वार्षिक करीब तीस हजार डलर रकम पारिश्रमिकमा (यो रकम अहिले सन् २०२५ मा साढे छ लाख डलरभन्दा धेरै हुन्छ) । यसमध्ये धेरैजसो रकम उनले जेल्डाको मनोचिकित्सा र छोरी स्कटीको स्कूल–पढाइमा खर्च गरेका थिए ।

हलिउड नगरीकै कुरा । फिट्सजेराल्डले आफ्नो जीवनकी अन्तिम सहचर साथी एवं फ्रीलान्स पत्रकार शीला ग्राहमलाई आफ्ना किताब उपहार दिने भनेर हलिउडका तमाम किताब पसल चहारेका थिए, तर कतै कुनै पसलमा उनले लेखेको एउटै किताब उपलब्ध थिएन । यो तथ्य हृदङ्गम गर्दै आफू कतिसम्म तिरस्कृत हुन पुगेको र बिर्सिइएको रहेँछु भनेर उनले बुझे । डिप्रेशन झन्झन् बढ्यो । पहिलेदेखि नै अनियञ्त्रित रक्सीको लत थप बाक्ल्यिो ।

डिसेम्बर २१ सन् १९४० मा घरमै कुर्सीमा बसेको बेला अचानक उनी कुर्सीसँगै भुइँमा ढले । सँगै भएकी ग्राहमले उनलाई हल्लाइन्, बोलाइन् तर कठोर हृदयाघात भएका उनका ओंठ मात्र हल्लिए, के बोलेको हो भन्ने सुनिएन । फिट्सजेराल्ड मुर्दा भइसकेका थिए ।

मुर्दाहरू बोल्दैनन् । उनी पनि बोलेनन् । शायद उनले पछिल्ला धेरै वर्षदेखिको आफ्नो दुःख्याहा जिन्दगीबाट मोक्ष पाएका थिए । तर आफू बाँचेको जीवनको अन्तिम वर्ष उनले पत्नी जेल्डालाई हेर्न, भेट्न र बोल्नसम्म पाएनन् । छोरी स्कटी पनि पढाइको सिलसिलामा भासर युनिभर्सिटी, न्यूयोर्कमा भएकीले पिता फिट्सजेराल्डले उनलाई पनि देख्न–भेट्न पाएनन् ।

केही समयपछि उनको पार्थिव शरीर हलिउड नगरीबाट मेरील्याण्ड राज्य ल्याइयो र एक शव–बाकसभित्र उनलाई त्यहीँ रकभिल चिहानघरको एक खाडलमा सधैँका लागि सुताइयो । उनको मलामी जानेहरूमा उनकै एक मात्र छोरी स्कटी, उनका साहित्यिक एजेन्ट हेरोल्ड ओबर र उनका आजीवन सम्पादक म्याक्सवेल पर्किन्ससहित जम्मा तीस जना थिए ।

उनको श्रद्धाञ्जलि आलेख (अबिच्यूरी) मा ‘द न्यूयोर्क टाइम्स’ पत्रिकाले उनलाई एक शानदार उपन्यासकार भएको संज्ञा दिँदै ‘द ग्रेट ग्याट्सबी’ लाई उनको महानतम रचनाका रूपमा जिकिर गरेको थियो ।
भविष्यवाणी, नियति या फगत संयोग !

चर्चित अमेरिकी कवयित्री उपन्यासकार तथा फिट्सजेराल्डकी मित्र गर्टुड स्टेनलाई ‘द ग्रेट ग्याट्सबी’ उपन्यास औधी मन परेको थियो । उनलाई उपन्यासकार फिट्सजेराल्डको लेखनशैली पनि रुचिकर लाग्थ्यो।

उनै स्टेनले उति बेलै, जतिबेला उपन्यास ‘द ग्रेट ग्याट्सबी’ को बिक्री शून्य बराबर थियो र त्यसका लेखकको लोकप्रियता दिनहूँ ओह्रालो लाग्दै थियो, अर्थात् सन् १९३३ मै, लेखकहरूको एक जमघटमा भविष्यवाणी गर्दै भनेकी थिइन्, ‘फिट्सजेराल्ड (र उनको ‘द ग्रेट ग्याट्सबी’) भविष्यमा त्यतिबेला पनि पढिँदै जाने छन् जतिबेला उनका धेरैजसो बहुचर्चित समकालीन लेखकहरू बिर्सिइसकेका हुनेछन् ।’

त्यो समयमा फिट्सजेराल्ड ओह्रालो लागेका मृग थिए, अनि त्यस्तोमा लेखक स्टेनले भनेको कुरालाई कसले र कति जनाले पो पत्याएका होलान् र ? तर नियति, भाग्य वा संयोगलाई कसले पो ठम्याउन सकेको छ र ?

आखिर कालक्रम त्यस्तै भयो, परिस्थिति त्यस्तै गरी विकसित हुँदै गयो र लेखक फिट्सजेराल्डको मृत्यु भएको करीब एक वर्षपछि सारा परिदृश्य नै फेरियो । उनको उपन्यास ‘द ग्रेट ग्याट्सबी’ को पुनर्जन्म भयो ।

खासमा, फिट्सजेराल्डको मृत्युपछि उनी र उनको लेखनको आलोचना गर्ने ठूलो जमात सक्रिय थियो । कतिपय त उनलाई ‘असफल रक्स्याहा र क्षयीकृत ज्याज युगको थोत्रो अवशेष’ सम्म पनि भन्थे । तर उनका साथी एडमण्ड विल्सनले उनको पाँचौं तर अधूरो उपन्यास ‘द लाष्ट टाइकून’ लाई फिट्सजेराल्डकै विस्तृत बूँदा–टिपोट अनि आवश्यक सम्पादनसहित र सँगै त्यही एउटै किताबमै ‘द ग्रेट ग्याट्सबी’ उपन्यास पनि समावेश गर्दै फिट्सजेराल्डको मृत्यु भएकै वर्ष प्रकाशित गरे । अनि त्यसपछि त ती उपन्यासकार र उनका किताबमाथि नयाँ चरणबाट समीक्षा र चर्चा–परिचर्चा तीव्र रूपले अगाडि बढ्यो ।

त्यसमाथि अमेरिकी सैन्य प्रशासनले दोश्रो विश्व–युद्धमा देश–विदेशमा खटिएका आफ्ना जवानहरूलाई अध्ययन–मनोरञ्जनका लागि डेढ लाखभन्दा धेरै प्रति छपाएर–किनेर वितरण गरेपछि त सारा साहित्यिक माहोल नै फेरियो ।

न्यूयोर्क युनिभर्सिटीका प्राध्यापक जन कूलले आफ्नो एक प्राज्ञिक आलेखमा लेखे, ‘तपाईंलाई यदि स्पेनबारे जान्न मन छ भने हेमिङ्ग्वेको ‘द सन अल्सो राइजेज’ पढ्नुस् । तपाईंलाई यदि अमेरिकाको दक्षिण भेगीय जीवन जान्न मन छ भने लेखक विलियम फकनर पढ्नुस् । तर यदि तपाईंलाई समग्र अमेरिका के कस्तो छ भनेर जान्न मन छ भने फिट्सजेराल्डको ‘द ग्रेट ग्याट्सबी’ पढ्नुस् । फिट्सजेराल्ड पढ्नै पर्ने अनिवार्य अमेरिकी लेखक हुन् ।’

फिट्सजेराल्ड त्यत्तिकै लेखक भएका थिएनन्, अँ उनलाई आफू लेखक बन्न सक्छु भन्ने दह्रो आत्मविश्वास भने पक्कै थियो । उनका कुनै पनि कथा छापिनुभन्दा पहिले उनले विभिन्न प्रकाशकहरूबाट एक सय बाइसभन्दा धेरै अस्वीकृति–पत्र पाएका थिए ! अझ उनको पहिलो उपन्यास छाप्ने प्रकाशन संस्थाले उनले पटक पटक पुनर्लेखन र परिमार्जन गरेको त्यही उपन्यासको पाण्डुलिपि पनि तीन पटक फिर्ता पठाएको थियो !

तर अहिले उनै फिट्सजेराल्ड जन्मेको मिनेसोटा राज्यको सेन्ट पलस्थित घर सन् १९७१ देखि नै सरकारी तवरबाटै ‘राष्ट्रिय ऐतिहासिक सङ्ग्रहालय’ घोषित र संरक्षित छ । न्यूयोर्कमा रहेको ‘होफस्ट्रा युनिभर्सिटी’ ले सन् १९९० देखि ‘एफ.स्कट फिट्सजेराल्ड सोसाइटी’ स्थापना गरेको छ, जुन अहिले अमेरिकी साहित्य महासंघ (ए.एल.ए.) मा आबद्ध छ । कोभिड–१९ महामारीको समयमा यो सोसाइटीले उनको उपन्यास ‘दिस साइड अफ प्याराडाइज’ छापिएको शताब्दी समय भएको अवसरमा त्यसको अनलाइन अध्ययन अभियान सञ्चालन गरेको थियो ।

यस्तै सन् १९९४ देखि सेन्ट पल क्षेत्रस्थित प्रतिष्ठित नाटकघर ‘वल्र्ड थिएटर’ को नाम परिवर्तन गरेर ‘फिट्सजेराल्ड थिएटर’ बनाइएको छ ।

चौवालीस वर्षको उमेरमा लेखक फिट्सजेराल्डको मृत्यु भयो । उनी अल्पायु भए, र, चाँडै संसारबाट अस्ताए । तर उनले लेखेको उपन्यास ‘द ग्रेट ग्याट्सबी’ शुरूका वर्षमा अल्पायु देखिएको भए पनि करीब पन्ध्र वर्षपछि भने सम्पूर्ण रूपले पुनर्जीवित भयो, उच्च प्रशंसा र उच्च सम्मानसहित उच्चतम आर्थिक मूल्य पनि पाउँदै ।

तर प्रशंसा, आदर र सम्मानको यो राष्ट्रव्यापी लहर हेर्न लेखक फिट्सजेराल्ड भने जीवित थिएनन् ।

(अगस्त २९, २०२५ ।। हेमार्केट, भर्जिनिया ।।)

लेखक
जयदेव गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?