+
+
Shares
विचार :

कमजोरी आत्मसात गरौं, राजनीतिको नयाँ कोर्स सुरु गरौँ

समग्र विश्वास गुमेको छ र विश्वासलाई फेरि आर्जन गर्ने नयाँ नेतृत्वप्रति सकारात्मक भावका साथ मद्दत गर्ने वातावरणलाई सहज बनाउने संस्कार कहाँबाट सापटी लिने हो, यो नै आजको मुख्य चुनौति हो ।

जनार्दन शर्मा जनार्दन शर्मा
२०८२ भदौ २८ गते १२:५६

गत सोमबार र मंगलबार नेपाली जेन-जी युवाहरुले गरेको आन्दोलनले दुईवटा गम्भिर परिस्थितिको सिर्जना गरेको छ। पहिलो, हामीले यो राष्ट्र, समाज र हाम्रै परिवारका भविष्य, आशा र भरोषा हाम्रा होनहार युवाहरु गुमायौँ र यसको क्षतिपूर्ति कुनै हिसावले पनि हुन सक्दैन । झन् नागरिक स्तरबाट उठेका अपेक्षित र जायज माग लिएर सडकमा आउँदा राज्यबाट भएको अकारण एवं अत्याधिक वलको प्रयोगबाट भएको युवाहरुको शहादतले सम्वन्धित परिवार, समाज र समग्र राष्ट्र अनन्त शोकमा डुबेको छ। दोस्रो, आन्दोलनका क्रममा ठूलो भौतिक, आर्थिक तथा मानसिक क्षति भएको छ, जुन कुरा म केही पछि व्याख्या गर्ने छु ।

आजको परिस्थिति आउनमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा कुनकुन शक्ति वा समूहको के भूमिका रहेको छ त्यो बिस्तारै उजागर हुँदै जानेछ र त्यसको दीर्घकालीन प्रभावको पनि विश्लेशण हुँदै जानेछ। तर यो भयङ्कर र दुखद घटनाको मूल कारण चाहिँ लामो समयदेखिको हाम्रा सरकार र राजनीतिक दलहरुको जनता र जनजीविकाप्रतिको उपेक्षा हो र भ्रष्टमतिको रबैया हो । आउने दिनमा यी राजनीतिक दलहरु र तिनका नेतृत्वको असक्षमताको पनि अझ थप र गहिरो अध्ययन र चर्चा अवश्य होला।

यो विध्वङ्श समेतको आन्दोलन भ्रष्टाचार, कुशासन, जनजीविकाका आधारभूत सवालप्रतिको उपेक्षा र गुटवाद एवं परिवारवादबाट आक्रान्त नेपाली अविकासका विरुद्ध युवाहरूको आवाज हो जुन भयानक गतिमा बुलन्द भयो । त्यसमाथि हाम्रा भविष्य, आशा र भरोषाका रुपमा रहेका होनहार युवाहरुविरुद्ध राज्यबाट जुन दमन गरियो र त्यसमाथि पनि आन्दोलनभित्र घुसपैठ गरेर राज्यका रणनीतिक महत्वका संरचना, संस्था र समग्र तथ्य तथ्याङ्क एवं श्रेष्ताहरु समेत खरानी पारियो यो कदापि माफीयोग्य कार्य होइन।

यो आन्दोलनले मुलुकको आर्थिक तथा व्यावसायिक क्षेत्रमा जुन नोक्सानी र जानाजानी हमलाबाट समग्र क्षेत्र त्रस्त बनायो, त्यसको क्षतिपूर्ति हाललाई सम्भव नै छैन । यसले अर्थतन्त्र र व्यवसायिक मनोविज्ञानलाई अल्पकाल एवं दीर्घकाल दुवै परिस्थितिका लागि अत्यन्त नराम्रो संकेत र मनोदशा छाडेर गरेको छ । व्यक्ति वा व्यवसायलाई लक्षित गरेर व्यक्ति र सम्पत्तिमाथि जुन हमला भएको छ उक्त कुरा जेन-जी आन्दोलनको उद्देश्य पक्कै पनि थिएन। यो ध्वङ्शले भौतिक संरचनाको नोक्सानिको कुरा मात्र होइन लगानी, पुनर्निर्माण र व्यवसायिक आत्मविश्वासमा झन् ठूलो क्षति भएको छ ।

हाललाई क्षतिको पूर्ण विवरण आइसकेको त छैन तर पनि मेरो अनुमानमा आन्दोलनले हाम्रो जिडीपीको १० देखि १२ प्रतिशतभन्दा बढी क्षति भएको हुनसक्छ र हामी फेरि उठेर अगाडि बढ्दै आजको अवस्थामा आइपुग्नअर्को १० देखि १५ वर्ष लाग्नेछ । त्यो पनि राजनीतिक चेत, संरचना र पद्धति सही भएमा।

आज हाम्रा राजनीतिक संरचनाहरूमा न नैतिक बल बाँकी रह्यो न त सही नीति नै । यो समग्र विचलनले आजको यो दुर्घटना निम्त्याउनु अस्वाभाविक होइन ।

आज हमीले अत्यन्त तितो यथार्थलाई आत्मसाथ गर्नैपर्छ कि मुलुक दुई दशक अगाडिदेखि समावेशी एवं समन्यायिक पद्दतिको संघीय गणतन्त्रमा आइसके छ । यसबिचमा वनेका दर्जनौँ सरकारहरुले र तमाम राजनीतिक दलहरुले जनता समक्ष विकास र समृद्धिको खपिनसक्नु प्रतिज्ञा गरकै हुन् । तर दुखको कुरा ती प्रतिज्ञाहरुको डेलिभरी (कार्यान्वयन) चाहिँ अत्यन्त निरासाजन्य र कमजोर भयो । जनताले अपेक्षा गरेको न्यूनतम सेवा पनि पाउन सकेनन् । बरु दशकौँदेखिका मुख्य राजनीतिक र प्रशासनिक नेतृत्व चाहिँ मोटाउँदै गएको सत्य हो ।

कुरो प्रष्ट बुझौँ, जनजीविकाका सवालहरूमा कुनै पनि सरकार र पार्टीले गम्भीरतापूर्व नलिएकै कारण गरिबी, गरिब, उत्पीडित वर्ग, दलित, महिला, अल्पसंख्यक, मजदुर र किसानको जीवनमा तात्विक भिन्नता आएन । यस प्रकारको कुशासनको सुधार गर्न र जनसम्बन्ध बनाइराख्न लागिपरौं भनेर हामी केही राजनीतिकर्मीहरु बारम्बार चिच्याइयौँ तर पनि संस्थागत रूपले समग्र रूपमा त्यसको आत्मसाथ मुख्य राजनीतिक र प्रशासनिक नेतृत्वले नगर्दासम्म नहुँदो रहेछ भन्ने कुरा पनि सँगसँगै महसुस भएको छ।

केही बोल्न खोज्दा र केही गर्न खोज्नेहरूलाई उल्टै आरोपित गर्नेतिर राजनीति गयो । कुनै पनि संस्था राम्रो हुन त्यसको नैतिक सांस्कृतिक धरातल र नीतिगत व्यवस्था राम्रो हुनुपर्दछ, जुन हुनै सकेन । जसका कारण आज हाम्रा राजनीतिक संरचनाहरूमा न नैतिक बल बाँकी रह्यो न त सही नीति नै । यो समग्र विचलनले आजको यो दुर्घटना निम्त्याउनु अस्वाभाविक होइन ।

विषयहरु उठाइयो वा उठ्यो, सच्चिने ठाउँहरु देखियो वा देखाइयो, सम्भावनाहरु देखायो, कमजोरीहरु कहाँ कहाँ छन् भनेर देखायो, उल्टो दलाल, अन्तर्राष्ट्रिय शक्तिहरूबाट परिचालत जस्ता बनिबनाउ आरोपहरू लगाएर भ्रमित गर्ने प्रयास गरियो । विस्तारै अवस्था बहस गर्न डराउनुपर्ने सम्मको भयो ।

आफूले योगदान गरेको संस्थाबाट निकालिने भएमा बाँच्नुपर्ने भयले हो कि वैचारिक स्पष्टता विनाको राजनीतिक संगठनिक संरचनाका कारणले हो, सबैमा स्तुतिगानको प्रतिस्पर्धा देखिनु हाम्रो लागि दुर्भाग्यपूर्ण कुरा रह्यो । तर विद्रोहबाट आएको शक्तिको एक कर्मठ कार्यकर्ता हुनुको नाताले यसविरुद्ध मेरो सधैँ जुझारुपना रह्यो ।

यो आन्दोलनले स्पष्ट नेतृत्व स्थापना गर्न सकेको छैन । नेतृत्व निकै अन्योलमा छ । स्पष्ट बनौँ, फेरि पनि देश चल्न राजनीति नै चाहिन्छ ।

राजनीतिक नेतृत्व र सरकार दुवैले परिणाममुखी कामप्रतिको हुटहुटी, विधी, पद्दति र सुशासनको परिपालनामार्फत हामी राजनीतिकर्मीलाई मात्र होइन समग्र देशकै लागि विकास र समृद्धिको परिणाममुखी मार्गचित्रमा अघि बढ्न उत्साहित गर्दै जनताको आत्मविश्वास बढाउनुपर्नेमा, सत्ताको तानातान र सत्तास्वार्थ केन्द्रित अत्यन्त गैरजिम्मेवार अभिव्यक्तिहरुले जनतामा निराशा बढ्दै गयो ।

नेतृत्व प्रशंसामा अलमलियो भने हामी संसदमा भए पनि राष्ट्रका एजेन्डाहरूको कार्यान्वयनमा पछि पर्यौ । जनताका समस्याहरूमा ध्यान पुगेन । हामीले प्रतिज्ञा गरेका आश्वाश्वनहरुको डेलिभरी भएन । गरिब, पिछडिएका एवं दलित जनताले अझै लोकतन्त्रको उपयोग गर्न पाएनन्। शिक्षा, स्वास्थ्य, रोजगार एवं प्रत्यक्ष जनसरोकारका विषयमा ख्याल नै पुगेन । मानसिक अस्थिरताले राजनीतिक अस्थिरता निम्त्यायो । बेलैमा सोचौं, बेलैमा सोचौं भन्दा दलहरु एवं तिनका नेतृत्वले सुनेनन् । संसद भनेको मात्र भत्ता खाने थलो हो जस्तो हुन पुग्यो । यी सबका पछाडि हामी जिम्मेवार छौँ ।

अब परिस्थिति असामान्य भएको छ । जेन-जी पुस्ताको आन्दोलनले मुद्दाहरू उठायो । भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने, राजनीतिक अस्थिरता हटाउने, परिवारवादको अन्त्य गर्ने आदि जस्ता आन्दोलनका मुद्दा जेन-जी पुस्ताले स्थापित गर्ने प्रयासमा छ, तर यो आन्दोलनले स्पष्ट नेतृत्व स्थापना गर्न सकेको छैन । नेतृत्व निकै अन्योलमा छ । स्पष्ट बनौँ, फेरि पनि देश चल्न राजनीति नै चाहिन्छ । पुरानो लिगेसी र सम्बन्धका जराहरु बलिया नै रहन्छन् जसले रुपान्तरणमा बाधा हाल्छ । संस्थाहरु बलियो बनाउन सोच, व्यवहार ररणनीतिका बलिया आधारहरु आवश्यक हुन्छन् ।

यतिबेला भावनात्मक एवं आर्थिक रुपले हामी निकै नराम्रो गरी धाराशायी भएका छौं । मुख्य कुरा त हाम्रो संस्कार हो, जुन आज नैतिक र प्रगतिशील छैन। आन्दोलनका क्रममा स्टोरहरू फुटाएर वा व्यक्तिका घर तोडफोड गर्नुको उद्देश्य गलत गर्नेलाई चेतावनीका रुपमा नभई लुटपाटका रूपमा देखियो । यो हाम्रो समाजमा विद्यमान भ्रष्ट संस्कारको निरन्तरता हो । या भ्रष्ट संस्कृतिको जरा हो । यी तमाम चुनौतीका बीचबाट आगामी यात्रा तय गर्नुछ ।

राष्ट्र, राष्ट्रियता अत्यन्त संकटमा छ । संकटबाट बचाउने कुरा पनि कुन संस्था र कुन नेतृत्वमार्फत भन्ने प्रश्न उठेको छ । समग्र विश्वास गुमेको छ र विश्वासलाई फेरि आर्जन गर्ने नयाँ नेतृत्वप्रति सकारात्मक भावका साथ मद्दत गर्ने वातावरणलाई सहज बनाउने संस्कार कहाँबाट सापटी लिने हो, यो नै आजको मुख्य चुनौति हो । केही दिनपछि फेरि उही कुसंस्कारको पुनरागमन सुरु नहोला भन्न सकिन्न । त्यसका लागि विगतका गल्तीबाट सिक्ने कुरामा पछि पर्नु हुँदैन । हामी सबैका लागि राष्ट्र र जनता नै मुख्य कुरा हो ।

अब नयाँ परिस्थितिमा सबैले हातेमालो गरौँ, आफ्ना कमजोरी आत्मसाथ गरौँ, जेन-जी पुस्ताको उभार र अपेक्षासँगै संवैधानिक परिधिलाई ठूलो क्षति नगरी राजनीतिको नयाँ कोर्स सुरु गरौँ ।

लेखक
जनार्दन शर्मा

शर्मा नेकपा माओवादी केन्द्रका उपमहासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?