+
+
Shares

मान्यवर तीन पत्रुको अन्तर्ध्यान

आन्तरिक लोकतन्त्र उर्फ जनवादयुक्त, जीवन्त र जोधाहा पार्टीले मात्र लोकतन्त्र र स्वतन्त्रताको शेषांशलाई जोगाउन, वृद्धि र विस्तार गर्न सक्छ । यो प्रयोजनका लागि पहिलो र अनिवार्य शर्त तीन पार्टीका तीन मान्यवर पत्रुत्रयको अन्तर्ध्यान हो ।

खगेन्द्र संग्रौला खगेन्द्र संग्रौला
२०८२ भदौ ३० गते १०:२३

शासन–सत्तालाई तीन ठूला पार्टीका तीन ठूला नेताको निजी मौजातुल्य बनाइएको कटु सत्य प्रत्यक्ष छ । यी तीन ढ्याके नेताको साझा दर्शन भने पनि, साझा सिद्धान्त भने पनि यस्तो छ— आलोपालो सत्ता, बाँडीचुँडी सत्ताको सुस्वादु भान्सा ।

विचार, व्यवहार र आचरण हेरी यी तीन ठूला पार्टीलाई लोकबोलीमा तीन ‘पुराना पार्टी’ भन्न थालिएको छ । र, सँगसँगै भन्न थालिएको छ यी तीन ‘पुराना पार्टी’का तीन ठूला बोसलाई ‘पुराना नेता’ । कतिले त कटाक्षको लयमा केपी ओली, प्रचण्ड र शेरबहादुर देउवालाई ‘तीन पत्रु पार्टीका तीन पत्रु नेता’ भनेको पनि जताततै सुनिन्छ ।

संविधानमा निर्जीव अक्षरमा लोकको हित गर्ने लोकतन्त्र लेखिएको छ, तर सत्तामा देखिएको छ तीन पार्टीका तीन ‘पत्रु’ मान्यवरको लुब्ध भोगतन्त्रको नग्न क्रीडा ।

बहुधा सत्तामा लम्पट कर्ताको असीम लोभले असीम भोगको लालसा जगाउँछ । भोगको अतिशय लालसाले अतिशय भ्रष्टाचार जन्माउँछ । भ्रष्टाचारको प्रगाढ नशाले कर्तामा अहंकार पैदा गर्छ । शासनको आसनमा बसेको कर्ता जब अहंकारले मैमत्त हुन्छ, त्यसले आफूलाई सर्वज्ञानी ठान्छ । त्यसले कसैका कुरा सुन्दैन, आफू मात्र नित्य अनर्गल बकबक गरिहिंड्छ ।

त्यसलाई न आफूले टेकेर उभिएको धरातलको यथार्थबोध हुन्छ, न त्यसले नाकअगाडि भन्केको झिंगोभन्दा पर देख्न सक्छ ।

दृष्टान्त आँखासामु छर्लङ्ग छ । सामाजिक सञ्जाल बन्द गर्ने सत्ताधारी शठहरूलाई सामाजिक सञ्जाल जेन्जी पुस्ताको प्राणवायु सरहको नशा हो भन्ने सरल सत्यको रत्तिभर हेक्का रहेन । नतिजास्वरुप सडकमा जब जेन्जी जमातको उत्तेजित र आक्रोशित भेल उल्र्यो, तीन ‘पुराना पार्टी’का तीन पत्रु कर्ताका दुष्कर्महरूको अवश्यंभावी परिणति भसक्कै दृष्टिगोचार भयो ।

अहंकारले मैमत्त यी तीन पत्रु मान्यवर हिजोसम्म घरीघरी कर्कश लवजमा डिङ हाँक्दै थिए— मेरो पार्टीका यति लाख सदस्य छन्, उति लाख मतदाता छन् । मेरो पार्टीको लोकप्रियता यतै बढ्दो छ, उतै बढ्दो छ । जनमत, लोकप्रियता र सामर्थ्यमा मसँग दाँजिने छ क्वै यस जगत्मा ? चौरासीमा एक्लै बहुमत ल्याएर म देखाइदिन्छु र सत्तामा मेरो एकल रजगज राज चल्नेछ ।

जेन्जीको मौलिक विद्रोही संस्करणको आवरणमा जब जेन्जीको भष्मासुर संस्करणको ताण्डव शुरु भयो, यी तीन ‘पत्रु’ मान्यवरको जनमत, लोकप्रियता र सामर्थ्यको यथार्थ चित्र नाङ्गा आँखामा छर्लङ्गै हुने गरी उजागर भयो ।

कोलाहलमय यथार्थको ऐना हेर्दै लोक सोध्छ— यी तीन ‘पत्रु’ मान्यवर जेन्जीको भष्मासुर संस्करणको घेरामा पर्दा यिनको त्यत्रो जनमत कहाँ थियो ? सेनाले पक्राउको शैलीमा यिनको उद्धार वा चर्मरक्षा गर्दा यिनको त्यत्रो लोकप्रियता किन क्रियाहीन भयो ?

सेनाले यिनलाई ब्यारेकमा शरण दिंदा यिनको त्यत्रो सामर्थ्य किन निस्तेज रह्यो ? जेन्जीको भष्मासुर संस्करणले यिनको हवेली कब्जा गरी यिनको निर्मम रामधुलाइ गर्दा यिनको चौरासीकोे विराट बहुमत किन रमिता हेरिबस्यो ?

कारण स्पष्ट छ— ‘पत्रु नेतात्रय’ र तिनको एकाधिकारयुक्त पार्टीका जरा भौतिक यथार्थको ठोस धरातल र आम जनमानस दुवैबाट उखेलिएका छन् । र यी पत्रुत्रय र तिनका निजी मौजातुल्य पार्टी मर्नुअघि प्वाँख पलाएका छिचिमिरातुल्य भएका छन् ।

जेन्जीको भष्मासुर संस्करणले यी तीन ‘पत्रु’ मान्यवरको देहमा दागा धर्दै यिनका हवेली जलाउँदा त्यसप्रति लोकले जस्तो प्रतिक्रिया गर्‍यो, त्यो उति प्रीतिकर छैन । सडक, गल्ली र चोक–चौतारीमा यिनप्रति सहानुभूति प्रदर्शन गर्ने एउटै वचन पनि सुनिएन । बरु जेन्जीको आततायी संस्करणले यिनको प्राण हरण नगरेकोमा विस्मात् मानेको पो सुनियो !

लोकले यस्तो प्रतिक्रिया गरिरहँदा तीन पत्रु मान्यवरको पक्षमा बोल्न यिनका पार्टीको एउटा चरो–मुसो पनि अघि सरेन ।

जेन्जीको भष्मासुर संस्करणले घर फोर्दा यी तीन पत्रु महोदयका हवेलीका कोठामा कतै नोटका बिटाको चाङ देखियो, कतै सुनका लाप्साका किस्सा सुनियो । श्रम र आर्जनका नाउँमा वरको सिन्को पर नसार्ने यिनका पत्नी र पुत्रीहरूका पाँच–दश लाख रुपैयाँका भ्यानिटी ब्याग देखिए ।

पत्रु त्रयका नाडीमा सत्तरी–पचहत्तर लाख रुपैयाँका घडी टल्किए । सत्ताका गद्दामा बसेर सार्वजनिक सम्पत्ति लुटीलुटी थुपारेको यो नगद र जिन्सी एवं यो उग्र विलासमा पत्रु नेता त्रयको यथार्थ चिनारी स्वतः बोल्छ ।

मेरो यो कथनले कुनै व्याख्या माग्दैन । पत्रु नेता त्रयले दोस्रो पुस्ताका आफूमाथि आश्रित भक्त र भिक्षार्थीहरूको काँधमा बोकिएर गरेका यी यावत् दुष्कर्मद्वारा यिनले मौजातुल्य बनाएका पार्टी कलङ्कित भएका छन् । र, यिनका दुष्कर्महरूले व्यवस्थाको अनुहार नै कुरुप बनाएका छन् ।

अहिले मौलिक जेन्जीको हुङ्कारयुक्त विद्रोह र जेन्जीको भष्मासुर संस्करणको चौतर्फी विध्वंसपछि पत्रु नेता त्रयमाथि आश्रित ठूला पार्टीका दोस्रो पुस्ताका पङ्गु जीवहरू आदर्शका वाचा गर्दै के के गनगन गरिरहेछन् । तिनको बोलीमा बेमौसमको अनाकर्षक बाजा ध्वनित हुन्छ ।

आलोपालो सत्तासीन पत्रु नेतात्रयका दुष्कर्महरूबाट पार्टी र व्यवस्थाप्रति समेत लोकको मोहभङ्ग भएको छ । ठूला दलका दोस्रो पुस्ताका नेताहरूप्रति पनि लोकको आकर्षण, मोह, आशा र विश्वास पूरापूर भत्किएको छ । लोक मानसमा पत्रुत्रयका अनुहार हेर्ने र तिनका बोली सुन्ने चाहना शून्यप्रायः छ ।

दोस्रो पुस्ताका नेताहरूप्रति पनि लोकको अरुचि र मोहभङ्ग उति नै प्रगाढ छ । तसर्थ तीन पार्टीका शीर्ष पत्रुत्रय र तिनलाई काँधमाथि बोक्ने दोस्रो तहका पङ्गु आत्माहरूले हाल सार्वजनिक परिदृश्यमा अनुहार नदेखाउनु र आफ्नो विकर्षक बोलीमा लगाम लगाउनु राम्रो हो ।

तीन ‘पत्रु’ मान्यवरलाई समयले इतिहासको रद्दीको टोकरीमा मिल्काएको छ । पार्टीको दोस्रो पुस्ताले पत्रु त्रयलाई काँध थापिरहनु पार्टी र व्यवस्था दुवैका लागि घातक छ ।

तसर्थ मान्यवर पत्रुत्रयलाई अतीतमा तिनले गरेका परिवर्तनकामी सत्कर्म वापत स्याबास् भन्दै र वर्तमान भद्रगोल परिस्थितिको पृष्ठभूमि निर्माणमा तिनले गरेका दुष्कर्म वापत धिक्कार भन्दै पार्टीका शीर्ष पदबाट माने ससम्मान, नमाने बलात् पाखा लगाउनु वाञ्छनीय छ । यो अनिवार्य कदममा एकपलको बियाँलो पनि घातक हुनसक्छ ।

आन्तरिक लोकतन्त्र उर्फ जनवादयुक्त, जीवन्त र जोधाहा पार्टीले मात्र लोकतन्त्र र स्वतन्त्रताको शेषांशलाई जोगाउन, वृद्धि र विस्तार गर्न सक्छ । यो प्रयोजनका लागि पहिलो र अनिवार्य शर्त तीन पार्टीका तीन मान्यवर पत्रुत्रयको अन्तर्ध्यान हो ।

बाटाका अवरोधकारी तगाराहरू नपन्छाई इतिहासले किमार्थ गति लिन सक्दैन ।

लेखक
खगेन्द्र संग्रौला

संग्रौला प्रगतिशील साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?