
News Summary
Generated by OK AI. Editorially reviewed.- हालै भारी वर्षापछि नेपालमा पानीजन्य, कीटजन्य र हावाजन्य रोगहरूको जोखिम यथावत् रहेको छ।
- हैजा, टाइफाइड, लेप्टोस्पाइरोसिस लगायतका संक्रमणले ३० दिनभित्र प्रकोपको रूप लिन सक्ने सम्भावना छ।
- डेंगु र स्क्रब टाइफस जस्ता किटजन्य रोगहरू पनि वर्षातपछि तीव्र फैलन सक्ने जोखिम छ।
हालै मात्र भारी वर्षाको विपद सकिएको छ। केही ठाउँमा बाहेक मौसममा क्रमिक सुधार हुँदै गएको छ। तर भारी वर्षापछि निम्तिन सक्ने स्वास्थ विपदको जोखिम भने यथावत् नै छ।
विशेषत: पानी, कीट र हावाजन्य रोगहरूको सम्भावित जोखिम कायम छ । टाइफाइड, कमलपित्त, इकोलाई, लेप्टोस्पाइरोसिस जस्ता पानीजन्य संक्रामक रोगको जोखिम बढेको छ। त्यस्तै डेंगु र स्क्रब टाइफस जस्ता किटजन्य रोगहरू नेपालमा हाल देखिरहेकोले वर्षातको विपदपछि तीव्र फैलन सक्ने सम्भावना पनि छ।
छालामा देखिने संक्रमण बाढीपछि देखिने अर्को स्वास्थ समस्या हो । यदि हामीले अहिले नै सतर्कता अपनाउन चुक्यौं भने माथि उल्लेखित संक्रमणले अबको ३० दिनमा प्रकोपको रूप लिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन।
पानीजन्य रोगहरूमा हैजा एक प्रमुख सम्भावित तर गम्भीर स्वास्थ समस्याको रूपमा लिन सकिन्छ। दूषित वा ढल मिसिएको पानी पिउँदा हैजा संक्रमित हुनसक्ने सम्भावना अधिक रहन्छ।
हालै वीरगञ्जमा हैजा फैलनुमा पनि ढल मिसिएको पानीको उपभोग गर्नुलाई प्रबल कारकको रूपमा लिइएको थियो। तसर्थ, बाढी प्रभावित ठाउँमा पिउने पानीको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने हुन्छ।
चौलानी पानी जस्तो पखाला तारन्तार लाग्नु, मांसपेसी बाउँडिनु र बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन्। यस्ता लक्षण विस्थापित वा बाढी प्रभावित क्षेत्रमा देखिए हैजा संक्रमण हुनसक्छ । हैजा संक्रमण भएको १२ घण्टादेखि ५ दिनसम्ममा (अधिकांशमा २ देखि ३ दिनसम्ममा) माथि उल्लेखित लक्षण देखिन्छ ।
टाइफाइडलाई अर्को प्रमुख पानीजन्य संक्रमणको रूपमा लिन सकिन्छ। ज्वरो आउनु, टाउको तथा पेट दुख्नु, वाक-वाक लाग्नु, कब्जियत वा पखाला लाग्नु र कसै-कसैलाई छालामा बिबिरा देखिनु टाइफाइडका प्रारम्भिक लक्षण हुन्।
समयमा पहिचान र उपचार नगरिए आन्द्रामा प्वाल पर्ने, आन्द्रामा रक्तश्राप हुने लगायत अरू अंगहरूमा पनि जटिलता देखिने गर्दछ । जटिलता सामान्यतय लक्षण देखिन थालेको २-३ हप्तामा देखिन्छ । टाइफाइड संक्रमण भएको सामान्यतय ६ देखि ३० दिन भित्रमा लक्षण देखा पर्छ ।
बाढी प्रभावित क्षेत्रमा फैलन सक्ने अर्को सक्रमण लेप्टोस्पाइरोसिसलाई मान्ने गरिन्छ। सन् २०१४ मा मलेसियामा गरिएको एक अनुसन्धानमा भारी वर्षापछि लेप्टोस्पाइरोसिसको प्रकोप ह्वात्तै बढेको देखाइएको थियो।
सन् २०२४ मा प्रकाशित भारतको केरेला राज्यमा गरिएको एक अनुसन्धान लेखमा पनि बाढी नआएको वर्षमा भन्दा बाढी आएको वर्षमा लेप्टोस्पाइरोसिस संक्रमण व्यापक वृद्धि हुने गरेको निष्कर्ष निकालिएको थियो।
त्यस्तै बाढी प्रभावित हुने अरू दक्षिण एसियाली देशहरूमा पनि लेप्टोस्पाइरोसिसको संक्रमण भारी वर्षापछि वृद्धि हुने गरेको विभिन्न तथ्यांकले देखाउँछन्।
यो संक्रमण विशेषत संक्रमित जनावर, अझ संक्रमित मुसाको पिसाबबाट (वा संक्रमित पानी वा हिलोबाट) छालामा भएको घाउमार्फत वा नाक, मुख, आँखाको माध्यमबाट सर्ने गर्छ। मानिसबाट मानिसमा सर् सक्ने सम्भावनालाई भने दुर्लभ मानिन्छ।
ज्वरो आउने, टाउको दुख्ने, वाक-वाक लाग्ने, आँखा रातो हुने, शरीरमा बिबिरा देखिने जस्ता सुरुवाती लक्षण हुन् भने जटिलता देखिन थालेमा जण्डिस देखिने (कलेजोमा समस्या देखिने), मिर्गौला लगायत अरू अंगमा पनि समस्या देखिने गर्छ।
यहाँ चाखलाग्दो के छ भने, विदेशी अध्यनहरूले बाढी र लेप्टोस्पाइरोसिस संक्रमणबीच बलियो सम्बन्ध रहेको देखाउने गरेको भए तापनि नेपालमा वर्षेनीजसो बाढीको समस्या हुँदा पनि बाढीपछि उल्लेखनीय (वा ह्वात्तै) संख्यामा संक्रमण बढेको भन्ने पर्याप्त अनुसन्धानहरू देखिँदैनन्।
यद्यपि, वर्षेनी गर्मी सिजनमा अस्पतालमा लेप्टोस्पाइरोसिस संक्रमण केहीमा भने देखिँदै आइरहेको छ। संक्रमण भएको २ देखि ३० दिनमा लेप्टोस्पाइरोसिसका लक्षण देखापर्छ ।
डेंगु र स्क्रब टाइफस जस्ता किटजन्य रोगहरू अहिले पनि नेपालमा देखिइरहेको छ। झरी थामिएसँगै जमेका स्थिर पानीमा डेंगु फैलाउने लामखुट्टेको वृद्धि विकास सहज हुन्छ । लामखुट्टे फैलिएसँगै डेंगु प्रकोपको जोखिम पनि स्वाभाविक रूपमा बढ्छ।
तथ्यांकलाई आधार मान्ने हो भने हरेक २-३ वर्षको अन्तरालमा डेंगुको प्रकोप देखिने गरेको छ। काठमाडौँमा सन् २०१९ र २०२२ मा डेंगुको ठूलो प्रकोप देखिएको थियो। यसर्थ, कुनै पनि बेला डेंगुको अर्को प्रकोप काठमाडौँ देखिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन।
ज्वरो आउनु, टाउको तथा जोर्नी असाध्य दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा राता बिबिरा देखिनु, खानेकुराको नाम सुन्ने बित्तिकै वाक-वाक लाग्नु, पखाला लाग्नु आदि डेंगुका प्रारम्भिक लक्षण हुन्। यी लक्षणसँगै नाक वा गिजाबाट रगत बगे त्यो जटिल/कडा डेंगु पनि हुनसक्छ। यस्तो अवस्थामा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ।
त्यस्तै विस्थापितहरूमा स्क्रब टाइफसको समस्या देखिन सक्ने प्रबल सम्भावना छ । यो एक प्रकारको ‘चिगर माइट’ भन्ने किर्नाको टोकाइबाट हुन्छ ।
२०७२ सालको भूकम्पको समयमा विस्थापितहरूमा यो संक्रमणले धेरै प्रभावित पारेको विभिन्न अध्ययनले देखाउँछन्। ज्वरो आउनु, टाउको दुख्नु, आखा रातो हुनु, श्वास-प्रश्वासमा हल्का अवरोध महसुस हुनु, लिम्फ ग्रन्थी सुन्निनु आदि यो संक्रमणका प्रारम्भिक लक्षण हुन्।
शरीरमा ‘चिगर माइट’ले टोकेर हुने कालो पाप्रो (जसलाई ‘स्कार’ पनि भनिन्छ) देखिए स्क्रब टाइफसको सम्भावना प्रबल हुन्छ । डेंगु संक्रमण भएको ४ देखि १० दिनमा लक्षण देखापर्छ भने संक्रमण भएको ५ देखि २० दिनमा स्क्रब टाइफसका लक्षण देखिन्छन् ।
अन्त्यमा, माथि उल्लेखित बाहेक अरू संक्रमणहरू पनि नदेखिएला भनेर भन्न सकिँदैन। माथि उल्लेखित संक्रमण हाल नेपालमा देखिइरहेकोले सम्भावित प्रकोपको रूपमा संक्षिप्त वर्णन मात्र गर्न खोजिएको हो। माथि वर्णित संक्रमणहरूले सामान्यतया संक्रमण भएको ३० दिन भित्रमा लक्षणहरू देखाउने भएकोले अबको ३० दिन विशेष सतर्कता अपनाउनुपर्छ । यद्यपि, ३० दिनपछि पनि निगरानी (सर्भेलेन्स) को आवश्यकता भने रहिरहने छ ।
प्रकोपको तीब्रता/रफ्तार वा नियन्त्रण बाढी प्रभावित क्षेत्रमा हुने मानिसको आवतजावत, संक्रमणको पहिचान अनि हाम्रो प्रतिकार्यमा आधारित हुनेछ।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)
प्रतिक्रिया 4