+
+

‘गाइड’ फिल्मका देवानन्दजस्ता डा. रिजाल

कसैले 'सन्तानेश्वर महादेव' भने, कसैले 'पलायनवादी'

ऋचा अर्याल ऋचा अर्याल
२०७४ फागुन २० गते १३:५९

नेपालमा पहिलो पटक टेष्टट्यूब बेबी जन्माउने प्रविधिमा सफलता प्राप्त गरेका डा. भोला रिजाललाई एकदिन एकजना बाबाले अनौठो कुरा सोधेछन् । बाबाको प्रश्न थियो, ‘तपाईलाई त सन्तानेश्वर महादेव भन्दा रहेछन्, तपाई स्वयंलाई यो कुरा थाहा छ कि छैन ?’

देश विदेशका निःसन्तान दम्पतीलाई धमाधम टेष्टट्यूब बेबी दिलाइदिएकाले डा. रिजाललाई ‘सन्तानेश्वर महादेव’ भनिएको रहेछ । ‘भोला भनेको महादेव र सन्तानेश्वर भनेको निःसन्तानहरुलाई सन्तान दिने ईश्वर रहेछन् । बाबाले त्यसो भन्दा मलाई राम्रै पनि लाग्यो’, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रिजाल भन्छन् ।

पछिल्लो समय डा. रिजाल चिकित्सा क्षेत्रबाट थोरै भएपनि टाढिन चाहन्छन् । तर, चिकित्सकका रुपमा आफूप्रति गरिएको यही विश्वासका कारण उनी यो क्षेत्रबाट सहजै टाढिन सकेका छैनन् । आफ्नो मौजुदा अवस्थालाई उनी भारतका चर्चित लेखक आर. के. नारायणको पुस्तकमा आधारित हिन्दी चलचित्र ‘गाइड’का नायक देवानन्दसँग तुलना गर्छन् ।

सन् १९६५ मा निर्मित चलचित्र ‘गाइड’का मुख्य पात्र राजु (देवानन्द) जेलबाट रिहा भएपछि एक्लै भट्कीरहेको बेला एउटा मन्दिरमा गएर सुतीरहेका हुन्छन् । एकजना साधु बाबाले उनलाई पिताम्बर बस्त्र ओढाइदिन्छन्, जसले गर्दा गाउँका मानिस राजु गाइडलाई पनि साधु सन्त नै ठान्छन् ।

हुँदाहुँदा परिस्थिति कस्तो सिर्जना हुन्छ भने पुरातात्विक क्षेत्रहरुमा पर्यटक घुमाएर जिविकोपार्जन गर्दै आएको एउटा सामान्य गाइड अन्ततः आफै प्रख्यात साधु कहलिन्छ । गाउँलेहरु राजुलाई खडेरी अन्त्यका लागि वर्षा गराउन १२ दिनसम्म उपवास बस्नसमेत बाध्य पार्छन् । विचरा राजु उपवाससमेत बस्छन् । बाह्रौं दिनमा वर्षा पनि हुन्छ, गाउँमा हर्षोल्लास छाउँछ, तर यता राजु गाइडको निधन हुन्छ ।

‘जसरी गाइड फिल्ममा देवानन्दले एउटा परिवेशबाट बाहिरिन्छु भन्दा पाएका थिएनन्, मैले पनि यो पेशाबाट थोरै बाहिरिन्छु भन्दा सकेको छैन’, डा. रिजाल भन्छन्, ‘विश्वास कमाउन गाह्रो छ, कमाइसकेपछि जोगाउन झन् कठिन रहेछ ।’

चिकित्सा क्षेत्रबाट बाहिरिन चाहेकै कारण कतिपयले डा. रिजाललाई ‘पलायनवादी’समेत भने । कसैकसैले ‘चिकित्सा जगतलाई आध्यात्मिकतासित जोडेर पलायन हुन खोजेको’समेत आरोप लगाए । त्यसो भन्नेहरुप्रति डा. रिजालको कुनै गुनासो छैन । ‘मलाई पलायनवादी भन्नेहरुमा आत्मज्ञानको कमी देख्छु । आत्मज्ञान भएको मान्छेले यस्तो कुरा गर्दैगर्दैन’, उनी भन्छन् ।

आध्यात्मिक आनन्दमा रमाउँदै

हो, चिकित्सा विज्ञानभन्दा माथि उठेर डा. भोला रिजाल अचेल जीवन र जगतको अध्यात्मिक आयाममा पनि रमाउन थालेका छन् । ध्यान, सतसंग, भजन र भगवानप्रति उनमा अगाध आस्था र लगाव छ ।

हुन त डा. रिजाल जीवनका हरेक रंगमा रमाउँछन् । चिकित्सकका रुपमा विरामीको उपचारसँगै उनी कहिले ‘सगरमाथा रोइरहेको’ गीत लेखिरहेका हुन्छन् । कहिले ‘गाउँले साथी’लाई सम्झदै गाइरहेका हुन्छन् । शान्तिको पुकार गर्दै पर्दामा अभिनय गरिरहेका हुन्छन् । अनि कहिले समाजसेवा गरिरहेका हुन्छन् ।

चावहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा अहिले पनि उत्तिकै सक्रिय भएर जटिल शल्यक्रिया गर्ने डा. रिजालले आध्यात्मिक प्रेरणाकै कारण मुक्तीनाथमा समेत रोगीहरुको सेवा गरिरहेका छन्, त्यो पनि कमलनयन स्वामीजीको ज्ञान तथा संकल्पमा । उनले २०५७ सालदेखि निरन्तर रुपमा मुक्तीनाथ क्षेत्रमा ‘मुक्तिनाथ स्वास्थ्य सेवा श्रम केन्द्र’ नामक अस्पताल निःशुल्क सञ्चालन गर्दै आएका छन् ।

भगवानप्रति अगाध आस्था


एउटा चिकित्सक विज्ञानमा विश्वास गर्छ, गणित र सूत्रहरुमा भर पर्छ । तर, डा. रिजाल त्यसमा मात्र सीमित छैनन् । चिकित्सकीय पेशामा उनको लगाव जति छ, भगवानप्रतिको आस्था र झुकाव पनि उत्तिकै गहिरो छ । उनको बुझाई भगवान भनेको कुनै वस्तु हैन, एउटा शक्ति हो, यदि त्यो शक्तिलाई मान्दा आफूलाई राम्रो काम गर्ने प्रेरणा मिल्छ भने किन नमान्ने ?

‘भगवान भनेको आस्था हो । यदि त्यो आस्थाको केन्द्रलाई नमान्ने हो भने आमाले हामीलाई नौ महिना पेटमा राखेर हुर्काएको र जन्म दिएको कुरा मान्ने की नमान्ने ?’, डा. रिजालको प्रश्न छ ।

उनको विश्वासमा यो संसारभन्दा माथि यस्तो कोही छ, जसले हामीलाई हेरिरहेको छ, हाम्रो निगरानी गरिरहेको छ । ‘यदि हामीले त्यसलाई नै नमान्ने हो भने यो संसारमा मलाई हेर्ने, मेरो कामको मूल्यांकन गर्ने अरु कोही छैन भनेर मान्नुपर्ने हुन्छ । त्यसो हो भने यो संसारमा धर्म र पाप भन्ने कुरा नै रहँदैन’, उनको ठम्याइ छ ।

सानैमा ‘छोटे डाक्टर’

डा. रिजाल केटाकेटी उमेरको घटना सम्झन्छन् । उनी करिब दश वर्षको हुँदा इटहरीमा एउटा ठूलो आगलागी भयो । त्यही आगलागीमा परेर कयौं घर नष्ट भए । कयौं मानिस जले ।

‘म एउटा सानो केटो, तैपनि मैले आगलागी भएको ठाउँमा गएर आगोे निभाउने प्रयास गरें । मैले पीडितको घरघरमा गई आगलागीबाट जलेका घाइतेहरुलाई मल्हम लगाएको देख्दा सबै मान्छेहरु मलाई छोटे डाक्टर भनेर बोलाउँथे’, उनी सम्झन्छन् ।

केही समयपछि आगलागी पीडितको घरमा जाँदासमेत रिजाललाई मानिसहरु चिया पिउन अनुरोध गर्थे । त्यसपछि उनलाई लाग्यो, यस्तै सेवा गर्‍यो भने पो सबैले मान्दा रहेछन् । सेवा भावले नै उनलाई डाक्टर बन्न प्रेरित गरेको हो । परिवारको इच्छा, हजुरबुवाको शिक्षा तथा आध्यात्मिक परिवारिक पृष्ठभूमिका कारण चिकित्सा क्षेत्रमा लाग्दा पनि अध्यात्मतिर आफ्नो झुकाव बढ्दै गएको डा. रिजाल बताउँछन् ।

आफैलाई परेपछि, ‘गाइनोकोलोजिस्ट’ 

सरला रिजालसँग विवाह गर्दा डा. रिजाल १५ वर्षका थिए । पत्नी सरला केवल १२ वर्षकी थिइन् । सानै भएपनि सरलालाई डा.रिजालको ‘छोटे डाक्टर’वाला कहानी थाहा थियो । पढेलेखेको परिवारकी भएकाले सरलालाई पढाइको महत्वबारे पनि ज्ञान थियो । त्यसैले, सरलाले डा. रिजाललाई पढ्नमा सधैं प्रोत्साहित नै गरिन् । चाहे त्यो बनारस पढ्न जाँदा होस् या एमबीबीएस पढ्न ढाका जाँदा नै किन नहोस् ।

वि.सं २०३५ तिरको एउटा घटनाले भने डा. रिजाललाई प्रसूतिको डाक्टर नै बनायो । ति दिनहरुमा डा. रिजाल पत्नी सरलासहित राजविराजमा बस्थे । कान्छो छोरा गर्भमा रहेको बेला पत्नी सरलालाई प्रसूति व्यथा लाग्यो, तर राजविराजमा उपचार सम्भव भएन । तात्कालीन अञ्चलाधीश महेशकुमार उपाध्यायको सहयोगमा सरलालाई राति १२ बजे उनकै गाडीमा राखेर बिहान करिब ४ बजे विराटनगर पुर्‍याइएको थियो, जहाँ डा. कस्तुरी मल्लको टीमले सरलाको शल्यक्रिया गरेको थियो ।

आफू चिकित्सक हुँदाहुँदै पनि विरामीको जटिलता तथा अस्पतालको अवस्थाका कारण पत्नी सरलाको अवस्था गम्भीर बनेको देखेपछि डा. रिजालले त्यसै दिन अठोट गरे, स्त्री रोग तथा प्रसूतिको विशेषज्ञ बनेर रोगीको सेवा गर्ने ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ बन्ने अठोट लिएर उनी थप अध्ययनका लागि बंगलादेशको ढाका गए । पढाइका क्रममा करिब तीन वर्ष उनले आफ्ना प्रोफेसर मातहत रहेर धेरै काम गर्नुपर्‍यो ।

‘त्योबेला मैले जति सिक्ने मौका पाएँ, शायद कसैले पनि पाउँदैन’, उनी सम्झन्छन्, ‘बंगलादेशको गाउँगाउँ पुगेर निःसन्तान दम्पतिको उपचार तथा उनीहरुबारे अनुसन्धान गर्ने अवसर मलाई प्राप्त भयो ।’

नेपाल फर्केपछि डा. रिजाल निःसन्तान दम्पतिको क्षेत्रमा काम गर्न थाले । लामो समयको अथक प्रयासपछि उनले त्रि.वि. शिक्षण अस्पतालमा टेष्टट्युव बेबीमार्फत पहिलो बच्चा जन्माउने प्रविधिमा सफलता पाए । हुँदाहुँदा उनलाई ‘सन्तानेश्वर महादेव’ नै भन्न थालियो ।
मानिसहरुमा आफूप्रतिको विश्वासका कारण यो क्षेत्रबाट चाहेर पनि निस्कन नसकेको उनी स्पष्ट पार्छन् । ‘मैले प्राक्टिस गर्न थालेकै झण्डै ४५ वर्ष भयो । यस दौरान कतिको उपचार गरियो, त्यो त यकिन भएन । यत्ति हो, मानिसहरुले मप्रति देखाएको विश्वास अझै कायम राख्न सकेको छु ।’

यही विश्वास तथा आस्थाबीच डा. रिजालको जीवनमा दुईवटा गीत छन्, जसले उनलाई सदैव आध्यात्मिक जीवन बाँच्न तथा चिकित्सा पेशामा निरन्तर लागिरहन प्रेरणा दिइरहेको छ । एउटा हो, ‘सौ वरसके जिन्दगीमे एक पल’ बोलको गीत । अनि अर्को हो:

‘इन्साफ के डगर पे, बच्चो दिखाओ चलके
यह देश हे तुम्हारा, नेता तुम ही हो कल के ।
दुनिया के रञ्ज सहना, और कुछ ना मुह से कहना
सच्चाइयो के बल पे, आगे को बढ्ते रहना ।’

‘यी दुई भिन्नाभिन्नै गीतका हरेक पंक्तिलाई सदैव अर्तिका रुपमा ग्रहण गर्छु र हरघडी सम्भिmँदै जीवनमा लागू गर्न खोज्छु’, उनी भन्छन् ।

फुर्‍यो कि लेखीहाल्यो

डा. रिजालको रुचि साहित्यमा पनि उत्तिकै छ । उनले हालसम्म थुप्रै चलचित्र र एल्मबमहरुका लागि सयौं गीत लेखिसकेका छन् । डा. रिजाल दिनमा १० देखि १२ घण्टा चिकित्सा पेशामा खटिन्छन् । चिकित्सा पेशामा खटिदा मात्र हैन, अन्य जुनसुकै काममा जाँदा होस्, उनको साथमा एउटा कलम तथा नोटबुक सधैं हुने गर्छ ।

शल्यक्रिया गर्दा नै किन नहोस्, दिमागमा कुनै गहकिलो कुरा फुर्नासाथ उनी आफूसितै रहेको डिक्टाफोनमा रेकर्ड गरिहाल्छन् । गाडी चलाउँदा चलाउँदै कुनै कुरा फुर्‍यो भने उनी गाडी साइडमा रोकेर नोटबुकमा टिप्छन् या रेकर्ड गर्छन् । त्यतिमात्र हैन, राति सुत्ने बेलामा पनि उनी टेबलमा कपी लिएर बस्न थालिहाल्छन् । र, आफूले सोचेका तथा मनमा बुनेका जस्तोसुकै कुरा किन नहोस्, उनी लेख्न थालिहाल्छन् । चाहे त्यो एक लाइन नै किन नहोस्, त्यही लाइनलाई उनी क्रमशः पूर्णता दिँदै जान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?