
आत्मकथा ‘वाक लाइक अ गर्ल’ पढ्नुअघि मेरो दिमागमा प्रबल गुरुङ एक सफल फेसन डिजाइनर मात्र थिए । एक ‘एलिट एचिभर’का रूपमा मैले प्रबललाई हेरेको थिएँ ।
मैले उनलाई सिंगापुरमा जन्मिएका, नेपालमा हुर्किएका भारतमा उच्च शिक्षा प्राप्त गरेका र अमेरिकामा आफ्नो व्यावसायिक जीवन व्यतित गर्दै आएको रूपमा बुझेको थिएँ । प्रबलले हासिल गरेको सफलता उनको व्यक्तिगत महत्त्वकांक्षा, परिवारको आर्थिक समर्थनमा प्राप्त गरेको भन्ने मेरो बुझाइ थियो ।
रेड कार्पेट, हलिउड र बलिउड, भग र हार्पर बजार जस्ता म्यागजिनमा कभर, अथवा ह्वाइट हाउसमा मिसेल ओबामाले पहिरिएको त्यो अविश्मरणीय रातो गाउन । कूल मिलाएर प्रबल गुरुङ एक ग्लोबल सेलिब्रिटी डिजाइनरको फ्रेमभित्र सीमित थिए ।
भनिन्छ, एउटा पुस्तकले ज्ञानको सागर खोलिदिन्छ, मेरो पक्षमा पनि यही भयो, जब मैले पढें ‘वाक लाइक अ गर्ल’ ।
१७ अध्याय, २९९ पृष्ठको यो संस्मरण एउटा अमर कथा हो, जसले दुःखको खरानीबाट जन्मिएको फिनिक्सलाई चित्रित गर्छ ।
यसका लागि तपाइँले कल्पना गर्नुपर्ने हुन्छ, ग्ल्यामरको संसार, रेड कार्पेटको चमक र विश्व मञ्चको फेसनभन्दा धेरै पहिला त्यहाँ एउटा नेपाली केटा थियो । जो असुरक्षित, डरले थर्थराउने, आफनो अस्तित्वको रहस्य खोज्दै हिँड्ने ।
जसले बाल्यकालमा यौन दुर्व्यवहारको गहिरो घाउ, विद्यालयका कोठाहरूमा सहनुपरेको अपमानजनक भेदभाव, समाजको क्रुर अस्वीकार र परिवारभित्रैबाट आएको हिंसाको आँधी ।
यी सबैले उसको आत्मालाई च्यातेर टुक्राटुक्रा पार्नुपर्ने थियो । तर प्रबल गुरुङ अरू सामान्य मानिसभन्दा फरक थिए । त्यही भएर उनी डग्मगाएनन, बरु संर्घष गरे फिनिक्सझैं, आफ्ना खरानीबाट जन्मिएर आकाश छुने साहस बोकेर ।
किताब पढिसकेपछि थाहा हुन्छ, प्रबललाई फेसन आइकनको साँघुरो परिभाषामा कैद गर्न सकिन्न । उनी चुनौतीहरूको प्रतिरोध र पूर्वाग्रहका पर्खालहरू भत्काउने एउटा कारिगर हुन् ।
एक पाठकको रूपमा तपाइँले शब्द मात्र होइन, भाव, संघर्ष र उत्साहलाई पनि महसुस गर्न सक्नुहुन्छ । प्रत्येक पृष्ठमा नयाँ कुरा तपाइँको मनमा ठोक्किन सक्छ, र अनगिन्ती ‘टेकअवे जन्मिन सक्छ ।
मेरो लागि त्यहीमध्येको एउटा क्षण हो- सन् २०१० मा भएको ह्वाइट हाउस करेस्पन्डेन्ट डिनर । २६ अप्रिल २०१० को त्यो दिन, प्रबल गुरुङको डिजाइनमा मिसेल ओबामा राष्ट्रपति बाराक ओबामाको हात समाउँदै देखा पर्छिन् ।
त्यो साँझ, अमेरिकी प्रथम महिला मिसेलले प्रबलद्वारा डिजाइन, हातले ड्रेप गरिएको, अफ द सोल्डर नेपाली कलरमा खेलेको रातो गाउन लगाएकी थिइन् । त्यो रातो गाउन प्रबलको जीवनको एउटा महत्वपूर्ण उपलब्धि थियो ।
उनले त्यो क्षणको प्रतीक्षा लामो समयदेखि गरिरहेका थिए । एक आप्रवासी फेसन डिजाइनरको रूपमा यो ठूलो उपलब्धि थियो । उनले पहिलो पटक त्यो खुसी शब्दमा आफ्नी आमासँग फोनमा साट्छन् ।
नेपालबाट आमाले भन्छिन्, ‘प्रबल तिमी अब फेसन डिजाइनर बन्यौ तर नबिर्सनु आजदेखि तिमीले गर्ने हरेक व्यावसायिक काममा नेपालको नाम जोडिनेछ ।’
यी शब्दले प्रबलको अगाडिको फेसन ट्रजेक्टरीलाई व्यक्तिगतभन्दा माथि बनाइदिन्छ । अनि त्यही संवादले उनलाई नेपाल, संस्कृति र पहिचानको जिम्मेवारी थपिदिन्छ ।
पुस्तक वाक लाइक अ गर्लमा प्रबलको वास्तविक नायक उनकी आमा दुर्गा राणा हुन् । दुर्गाले तीन सन्तान हुर्काउँदै जीवनका अनगिन्ती कठिनाइको सामना गरिन् । र, प्रबललाई सधैँ विश्वास दिलाइन्, तिम्रो भिन्नता तिम्रो कमजोरी होइन, यो बल हो । यही विश्वासले प्रबललाई आफ्नो समलैङ्गिक पहिचान स्वीकार गर्न प्रेरित गर्यो ।
बाल्यकालमा भोगिएको हिंसा, विद्यालयको अपमान, यौन उत्पीडन र बुबासँगको असुरक्षाको सामना गर्दा तिनै आमा दुर्गा हरेकपटक प्रबलका लागि आत्मबल बनेकी थिइन् । आमाबाट उनले आत्मसम्मान, स्वाभिमान र साहस सिकेका थिए ।
पुस्तकको हरेक पृष्ठमा देखिन्छ, यी सिकेका मूल्यहरूले प्रबललाई आफ्नै पहिचानमा दृढ रहन र जीवनका सबै चुनौतीहरूको सामना गर्न सक्षम बनाएका छन् । प्रबलको सफलता, साहस र आत्मविश्वासमा आमा दुर्गा सारथि बनिन् ।
एउटा औसत नेपाली युवाले भोगेको जस्तो पनि प्रबलको जीवनयात्रा सहज थिएन । सिंगापुरमा जन्मिएका उनी सानैमा आमासँगै नेपाल आएका थिए । बाल्यकालमा उनले ललितपुरको गोदावरीस्थित सेन्ट जेभिएर स्कुलमा पढे । तर त्यहाँको अनुभव सजिलो भएन । आज पनि उनलाई ती क्षणहरूले आघात दिएको महसुस हुन्छ ।
बाल्यकालमा भोगेको यौन उत्पीडनपछि दिल्ली पब्लिक स्कुलमा भोगिएको पलपलको अपमान यी सबै घटनाले प्रबलको मनोबल र आत्मविश्वासमा गहरो चोट पुर्यायो ।
विद्यालयमा प्रबलको संसार अरूभन्दा अलि फरक थियो । साथीहरूको भिडबाट उनी प्रायः एकान्तमै बस्ने गर्थे । त्यो एकान्त जुन अरू बच्चाहरूका लागि पीडा बन्न सक्थ्यो, उनको लागि आत्मखोजको आधार बन्यो ।
उनले किताबको पानामा आत्मीयता खोजे । शब्दहरूले उनलाई नयाँ भूगोल, नयाँ संस्कृति नयाँ मान्यता र नयाँ जीवनशैलीसँग परिचित गराउँथे ।
स्कुलका लाइब्रेरीमा भेटिएका म्यागजिनका तस्वीरहरूले उनलाई संसारकै फरक रङ देखाउँथे । रोलिङ स्टोन, लाइफ र अन्य अन्तर्राष्ट्रिय पत्रिकाहरूले प्रबलका लागि संसारको झ्याल खोलिदिए ।
उनको हिँडाइ, जसलाई कतिपयले केटीजस्तो भनेर हेला गर्थे, विद्यालयका गल्लीमा उनले सुनेका शब्दहरू कठोर तिरस्कार, जिस्काइ अनि अपमानका थिए । प्रबलका लागि ती पुस्तकालयका म्यागजिनका पात्रहरू जीवनका मानचित्र थिए ।

यसरी पुस्तकालय र पत्रिकासँगको सम्बन्धले उनलाई एक्लोपनबाट माथि उठायो, अपमानको घाउलाई आशाको शक्ति बनायो र एउटा नयाँ यात्रातर्फ धकेल्यो । जुन यात्रा आजको प्रबल गुरुङ बन्ने जग थियो ।
पुस्तकालयको शान्त कुनामा बसेर एउटा बालकले संसारलाई आकार दिन थालेको थियो । बाहिरको हल्ला साथीहरूको हाँसो यी सबै उनका लागि थिएन । किताबी संसारमा हराइरहेका प्रबलले पाना पल्टाउने क्रममा संगीतकार, मोडेल, विद्रोही र सिर्जनाकर्मीहरू भेटिरहेका थिए । जसले आफ्नै नियममा जीवन जिउँथे ।
डेभिड बोवीको साहसिक र बाइसेक्सुअल पहिचान, प्रिन्सको संगीतमा सीमाहरू नमान्ने सिर्जनात्मकता, जिमी हेन्ड्रिक्सको विद्रोही आत्मा, म्याडोनाको निडर शैली यी सबै प्रबलका लागि प्रेरणा बने । यी सबै आफ्नो समयका चेन ब्रेकर थिए । उनीहरूले सामाजिक नियम र पितृसत्तात्मक संरचनालाई चुनौती दिन्थे ।
प्रबलले यिनै प्रेरणालाई आत्मसात गरे । उनले स्वीकारिसकेका थिए, चुनौती, अस्वीकृति र अपमान जीवनका हिस्सा हुन् भनेर । उनी विश्वलाई देखाउन चाहन्थे कि, साहस सिर्जनशिलता र आत्मविश्वासले कसरी मानिसको जीवन परिवर्तन गर्न सक्छ । तर यो प्रबलको सोच मात्र थियो । त्यसलाई कार्यन्वयन गर्न उनीसँग ठोस कदम केही थिएन ।
चुनौतीपूर्ण वातावरणले प्रबललाई भित्री रूपमा हल्लाइरहेको थियो । जीवनको लक्ष्य अस्पष्ट थियो । मानविकीमा पढाइ पूरा गरेपछि उनलाई भविष्यको स्पष्ट लक्ष्य थाहा थिएन ।
दिल्लीको पढाइपछि उनको नजर मुम्बईतर्फ थियो । बलिउडको चमकधमकले उनलाई आकर्षित गरिरहेको थियो । र, मुम्बइमा उनी हस्पीटालीटीको कोर्ष गर्न थाले ।
त्यो शहर जसले संगीत, रङ, शैली र स्वतन्त्रताको अर्को आयाम देखाउनेछ भनी प्रबलले कल्पना गरेको भन्दा भिन्न बन्यो । मुम्बईको चमकधमकभित्र त्यही पुराना पीडा र अपमानसँग पलपल ठोक्किनु पर्यो । नेपाल र दिल्लीमा भोगेको अपमानभन्दा रत्ति फरक थिएन ।
मुम्बईमा केही समय बिताएपछि उनले बुझे, हस्पिटालिटी कोर्ष उनको लागि हैन भनेर, भित्री आवाज केही भिन्न चाहँदै थियो ।
केही समयको लागि मुम्बईबाट दिल्ली दिदी कुमुदिनीलाई भेट्न आएका प्रबललाई दिदीका प्रेमी राजेशले फेसनमा आफ्नो लक्ष्य बनाउन सुझाएका थिए । राजेशले भने- फेसनमा आफ्नो भविष्य बनाऊ, नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी निफ्टमा भर्ना होऊ । यही सुझाव प्रबलको जीवनमा टर्निङ पोइन्ट बन्यो ।
निफ्टमा भर्ना भएपछि उनको संसार पूर्ण रूपमा परिवर्तन भयो । फेसन शिक्षा त्यतिबेला नयाँ थियो । प्रबलका लागि यो नयाँ दुनियाँ रोमाञ्चक र चुनौतीपूर्ण दुवै थियो । त्यहाँ उनले फेसनको सबै आयाम अर्थात् कपडाको बनावट, रङ संयोजन, डिजाइन प्रविधि र रचनात्मक अभ्यास सही अर्थमा अनुभव गर्न पाए ।
निफ्टका सहपाठी र शिक्षक विल्कुल फरक थिए । पहिलेका अनुभवहरू जस्तो कठोरता, दबाब यहाँ थिएन । प्रबलले पहिलो पटक जीवन र पढाइको आनन्द सँगै लिइरहेका थिए ।
धेरै नयाँ साथीका बीचमा प्रबलको महत्वपूर्ण भेट भयो कोएल पुरीसँग । कोएल भारतका मिडिया टाइकुन अरुण पुरीकी छोरी थिइन् ।
छोटो समयमा राम्रो साथी बनेकी कोएलले भारतका सुप्रसिद्ध फेसन डिजाइनर मनिष अरोरासँग भेट गराइन् र यही भेट प्रबलको करिअरको पहिलो ठूलो मोड बन्यो ।
मनिष अरोरा जसलाई भारतको जोन गालियानो भनेर चिनिन्छ, उनीसँग प्रबलले काम गर्न थाले । मनिषसँग काम गर्दा प्रबलले फेसनको नयाँ आयाम अनुभव गरे । फेसन भनेको कपडा र रङसँगै सिर्जनात्मकता, व्यक्तिगत अभिव्यक्ति हो भनेर सिके ।
अब फेसन विस्तारै प्रबलको लागि आत्मविश्वासको भाषा, सीमा तोड्ने हिम्मत र आफ्नो पहिचान देखाउने शक्ति बन्दै थियो । भारतको फेसनबजार प्रबललाई साँघुरो लाग्दै थियो । उनको दृष्टि अब पेरिस, लन्डन र न्युयोर्कतिर मोडिएको थियो ।
अन्ततः त्यो दिन आयो । प्रबल न्युयोर्कको पार्सन्स स्कुल अफ डिजाइनमा भर्ना भए । ग्रिनविच भिलेजको मुटुमा रहेको यो संस्था हरेक सोच, हरेक सीमालाई चुनौती दिन तयार थियो ।
यहाँ टम फोर्ड, मार्क ज्याकब्सदेखि एलेक्जयान्डर वाङसम्मका फेसन आइकनले पढेका थिए । उनीहरूले फेसनलाई कपडाभन्दा ठूलो पहिचान र भावनाको भाषा बनाए । प्रबल त्यही इतिहास र भविष्यको बीचमा प्रवेश गरे ।
यस क्रममा उनले पहिलो पटक डोना करनको प्रतिष्ठित ब्रान्डमा इन्टर्नसिप पाए । यहाँ उनले टिमसँग मिलेर काम गर्ने, विचारलाई व्यवहारमा उतार्ने र वास्तविक बजारसँग जुध्ने प्रशिक्षण पाए ।
प्रबलको पेसागत यात्रा न्युयोर्कमा नयाँ मोडमा प्रवेश गर्दै थियो । बिल ब्लास जस्तो विश्वप्रसिद्ध ब्रान्डमा जागिरले उनलाई फेसनको गहिरो अर्थ, संवेदनशिलता र उद्योगको जटिल संरचना बुझ्न प्रेरित गर्यो ।
न्युयोर्क प्रबलका लागि केवल रेड कार्पेट र प्रशंसकको ताली मात्र थिएन । यहाँ उनलाई वास्तविक चुनौतीको सामना गर्नुपर्यो ।
नेपाल, भारतमा भोगिएका समस्याभन्दा भिन्न तर कठोर यहाँ उनले नस्लवाद, पूर्वाग्रही व्यवहार र आप्रवासी भएकै कारण भोगिएको अस्वीकृति अनुभव गरे । प्रबलले यो अनुभव आफ्नो पुस्तकमा स्पष्ट रूपमा उल्लेख गरेका छन् ।
एसियन भएको कारण शहरले उनलाई पूर्ण रूपमा स्वीकार गरेको थिएन । तर चुनौतीबाट विचलित नहुने प्रबलले कार्यस्थलमा गरिने सहकर्मीको नस्लवाद टिप्पणीहरूलाई चुनौती दिन थाले, फेसन विद्रोहबाट ।
प्रबललाई उनका प्रत्येक सिलाइ, रङ संयोजन र संरचनाले भित्री संघर्ष, साहस, आत्मविश्वास र सामाजिक चेतनाको कथा सुनाउँथ्यो । यसरी प्रबलको लागि फेसन कपडा मात्र नभएर सामाजिक संरचना र सांस्कृतिक पूर्वाग्रहलाई प्रश्न गर्ने शक्तिशाली उपकरण बन्दै गयो ।
सन् २००९ प्रबलको जीवनको अर्को अविस्मरणीय दिन थियो, बर्लिन फिल्म फेस्टिभलमा फिल्म ‘स्टार ट्रेक’ प्रिमियर । हलिउड नायिका जोई साल्डानाले उनको पहिलो संग्रहको क्रिमसन, एक काँधको मिनी ड्रेस लगाइन् जुन प्रबलको डिजाइन थियो ।
ड्रेस सार्वजनिक मञ्चमा देखिँदै भाइरल भयो र प्रबल एकैछिनमा प्रभावशाली फेसन डिजाइनरको रूपमा चिनिन थाले । आज जोई साल्डाना अवतार र अभेन्जर इन्डगेमका लागि परिचित छन् तर त्यो मिनी ड्रेस प्रबलको करिअरको पहिलो ठूलो विजय थियो ।
त्यसको केही समयपछि अमेरिकी अभिनेत्री डेमी मुरले बुल्गारीको ज्वेलरी लन्चमा कालो-सेतो डिजाइनको गाउन लगाएको फोटो ट्विट गरिन् । यो फोटो सामाजिक सञ्जालमा भाइरल भयो । यो गाउन प्रबलको डिजाइन थियो र उनका लागि यो अर्को ठूलो सपना साकार भएको क्षण थियो ।
रोचक कुरा त के छ भने, स्कुलको होस्टेलमा केही केटाले डेमी मुरलाई आफ्नो क्रस मान्थे र उनका पोस्टर भित्तामा टाँस्ने गर्थे । तिनै मुरले उनको डिजाइनको पोसाक लगाइन् । यसबाट उनी रोमाञ्चित बनेको प्रसंगले आनन्दित गर्छ ।
संयोग के छ भने, तिनै डेमी मुरलाई पिपल म्यागजिनले संसारको सबैभन्दा सुन्दर महिला घोषणा गरेको छ । र, सन् २०२६ मा मुर हलिउड वाक अफ फेम स्टारबाट सम्मानित हुँदैछिन् ।
प्रबलको पुस्तकमा यस्ता धेरै सेलिब्रिटीहरूसँगका अनुभव छन् । जसका लागि उनले फेसन डिजाइनरको रूपमा काम गरेका छन् ।
वाक लाइक अ गर्ल एउटा फेसनको स्टेटमेन्ट हो । यसमा प्रबलले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, ओप्रा विन्फ्रे, क्याथरिन, प्रिन्सेस अफ वेल्स, लेडी गागा, केरी वासिंगटन, जोई साल्डाना, डेमी मुर, केटी पेरी, प्रियंका चोपडा, रेचल वाइज, दीपिका पादुकोण र सारा जेसिका पार्कर जस्ता प्रतिष्ठित व्यक्तिहरूका लागि डिजाइन गरेका कथाहरू समावेश छन् ।
यो पुस्तकमा प्रबलले यो पक्षलाई विशेष महत्व दिन सक्थे । किनभने, उनी नेपाली समुदायबाट विश्वस्तरमा पुग्ने पहिलो फेसन आइकनको रूपमा चिनिइसकेका थिए । तर प्रबल आफ्नो उपलब्धिहरूको सूचीमा सीमित रहेनन् ।
उनले फेसन उद्योगको स्थापित नियम र परम्परागत संरचनालाई चुनौती दिँदै यो पुस्तक बजारमा ल्याए ।
नियम र सीमाहरूलाई स्वीकार नगरी प्रबलले नयाँ दृष्टिकोण साहसिक सिर्जनशिलतातर्फ कथा पस्किएका छन् । उनले नारीवादी, सामाजिक कार्यकर्ता, राजनीतिक अभियानकर्ता बनेर पुस्तकमार्फत फेसन संसारमा विद्रोह गरेका छन् ।
प्रबलको नजरमा फेसन र सामाजिक सक्रियता अलग्गै छैनन्, हरेक कपडासँग एउटा कथन छ- सशक्तीकरणको, समानताको र आफ्नो पहिचानको ।
उनी पुस्तकमा लेख्छन्- अमेरिकामा नारीवादको धेरै कुरा हुँदाहुँदै पनि यी उच्च समाजका महिलाहरू पितृसत्तात्मक संरचनाबाट उति नै बाँधिएका थिए, जति नेपाल र भारतका महिलाहरू । यो असमानता र दोहोरो मान्यता अत्यन्त चकित पार्ने थियो, स्वतन्त्रता भन्ने विचार वास्तवमा अमेरिकी मार्केटिङको चाल जस्तो देखिन्थ्यिो ।
अन्त्यमा, उनको जीवनको कथा भन्छ, पीडा र अस्वीकृतिले तपाइँलाई कमजोर बनाउन सक्दैन । जब तपाइँ त्यसको सामना गर्न सक्नुहुन्छ र आफ्नै मार्ग निर्माण गर्नुहुन्छ तब शक्ति र पहिचानको वास्तविक अर्थ बुझ्न सकिन्छ ।
बाल्यकालमा भोगिएको अपमान, होस्टेलमा सामना गरेको धम्की र फेसन उद्योगमा अनुभव गरेको अस्वीकार्यता, यी सबैले प्रबल गुरुङलाई फेसन डिजाइनर मात्र होइन साहसी, सामाजिक चेतनासम्पन्न र निर्भीक व्यक्तित्वका रूपमा स्थापित गर्यो ।
केटी जस्तो हिँड्ने भनेर गिज्याउने स्कुल र कलेजका साथी, समाज र व्यावसायिक जीवनका जो-कोही आज प्रबल गुरुङको प्रशंसा गरेर थाक्दैनन् । पुस्तको सन्देश सरल छ, वाक लाइक अ गर्ल- फेरि हिँड, केटी जस्तो हिँड, आफ्नै बाटोमा निर्भीक भएर हिँड ।
प्रतिक्रिया 4