
जेठ महिनाको तातेको घाम । बिहानैदेखि वायुमण्डल उमालिएको जस्तो थियो । हाम्रो समूह राप्ती नदीको किनार समाउँदै लामो यात्रामा निस्किँदै थियो ।
उद्देश्य थियो– राप्ती नदी व्यवस्थापन र तटबन्धको प्रगति मूल्यांकन गर्ने, बाढीले ल्याउने सम्भावित जोखिम बुझ्ने र त्यससँग गाँसिएका गाउँ–बस्तीको कथा टिप्ने । तर, यो यात्रा केवल सर्भे वा तथ्य संकलनमा मात्र सीमित रहेन । हरेक पाइला नयाँ अनुभव, चुनौती र अविष्मरणीय कथा बने ।
दाङ जिल्लाको भालुबाङ क्षेत्र हुँदै बग्ने राप्ती नदी नेपालको मध्यपश्चिम क्षेत्रको जीवनधारा हो । यसले जीवन दिने मात्र होइन, बाढी, डुबान, कटानको भय पनि बोक्छ । त्यही भय, आशा र त्यही संघर्षको पृष्ठभूमिमा हामीले जेठको रापिलो घाममा राप्ती नदीका दुवै किनारमा लगातार ११ दिनसम्म हामीले पैदल यात्रा गरेका थियौं ।
पश्चिम राप्ती नदीको उदगम क्षेत्र रोल्पा जिल्ला हो । प्यूठानको ऐरावती गाउँमा आएर झिमरुक र मादी नदी मिसिएपछि राप्ती नदी बन्छ । यो नदीको करिब ८० किलोमिटर दाङ क्षेत्रमा र करिब ८५ किलोमिटर बाँकेमा पर्दछ । यसको जलाधार क्षेत्र करिब ६ हजार ७०० वर्गकिलोमिटर छ । लुंग्री, मादी, अर्जुन लगायत चुरे श्रृंखलाबाट आउने सहायक नदीहरू राप्तीमा मिसिन्छन् ।
दाङको भालुबाङसम्म नदी भिरालो भएकाले पानीको बहाव तीव्र छ । भालुबाङ क्षेत्रपछि नदीको भिरालोपन घट्दै जान्छ र साना खहरे खोलाहरू मिसिँदै बाँके जिल्लाको होलिया, मटेहिया र गंगापुर हुँदै भारत प्रवेश गर्दछ ।
तल्लो तटीय क्षेत्रमा कटान, भूक्षयीकरण, पानीको बहावमा अवरोध र विकास संरचनाको असरले बाढीको जोखिम बढेको छ । जनसंख्या वृद्धिका कारण जोखिम क्षेत्रहरूमा बसोबास भई बाढी नियन्त्रण चुनौतीपूर्ण बनेको छ । बाँके जिल्लाका राप्तीसोनारी, डुडुवा, नरैनापुर लगायतका गाउँहरू बाढीबाट सबैभन्दा बढी प्रभावित छन् ।
चुरे पर्वतमालाबाट आउने खहरे खोलाहरूले नदीको सतह बढारेका कारण गेग्रान थुप्रिएर खेतीयोग्य जमिन बगरमा परिणत भई उत्पादनमा ठूलो गिरावट भएको छ ।
तसर्थ जलजन्य विपद् न्यूनीकरणका लागि एशियाली विकास बैंक (ए.डी.बी.) को सहयोगमा जनताको तटबन्ध कार्यक्रमअन्तर्गत २०७९ पुस ४ देखि दाङ जिल्लाको घुम्ना (१.५ किलोमिटर) र जेठानगाउँदेखि झारबैरा (७.० किलोमिटर) तथा बाँकेको कचनापुर–लालाहिघाट (२.५ किलोमिटर) गरी जम्मा ११ किलोमिटर तटबन्ध निर्माण भइरहेको छ ।
निर्माण सामग्री (विशेष गरी ढुंगा)को अभावले प्रगति सुस्त भए पनि २०८१ चैतदेखि सामग्री उपलब्धतामा सहजता आएको छ । र, पछिल्ला ४ महिनामा २७.५ प्रतिशत प्रगति भई २०८२ असार मसान्तसम्म कुल ७०.५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । साथै, नेपाल सरकारको आन्तरिक स्रोतबाट अन्य नदी नियन्त्रण कार्यहरू पनि सञ्चालनमा छन् ।
रिभर एसेट इन्भेन्टरी सर्भेको उद्देश्यले पैदलयात्रा
त्यही राप्ती नदी किनारैकिनार पैदलयात्रा गर्नुको हाम्रो उद्देश्यले ‘रिभर एसेट इनभेन्टरी सर्भे’ गर्नु थियो । सर्भे गरेर उपल्लो जलाधार क्षेत्रमा बाढी, पहिरो तथा सतही भू–क्षयका कारण नदी किनारमा हुन सक्ने कटान, पटान र डुबानको अवस्था हेर्नु थियो । साथै नदी नियन्त्रण तथा व्यवस्थापनका लागि निर्मित तटबन्ध, स्पर, स्टड लगायतका संरचनाहरूको विवरण, कार्यक्षमता, मर्मत आवश्यकताको पहिचान गर्नु थियो । अनि उकासिएको जग्गा, विस्थापित तथा पुनर्स्थापित बस्ती र खेतियोग्य जमिनको अवस्थाबारे जानकारी संकलन गर्नु थियो ।
यो सर्भे नदी किनारका बस्ती, जमिन र पूर्वाधारमा पार्न सक्ने सम्भावित क्षतिको आकलन, न्यूनीकरण उपायको पहिचान र प्राथमिकता निर्धारण गर्न केन्द्रित थियो । साथैै आवश्यक स्रोत, साधन, जनशक्ति (जस्तै ल.ई. तयारी) र बजेटको अनुमान गर्न सहयोग पुर्याउने उद्देश्य राखेको थियो ।
सम्पूर्ण टोलीका सदस्यहरूको ध्यान र चासो तथ्यपूर्ण विवरण र सूचनाहरू स्थलगत रूपमा संकलन तथा पत्ता लगाउन केन्द्रित थियो । ‘वेल डन इज हाफ डन’ भनाइअनुसार, रिभर एसेट इन्भेन्टरी सर्भेको लक्षित उद्देश्य पूरा गर्न राम्रो तयारी र सावधानीपूर्वक स्थलगत सर्वेक्षणमा जोड दिइएको थियो ।
यस्तो थियो हाम्रो ११ दिने सर्भे डायरी–
पहिलो दिन : भालुबाङको पुलदेखि सर्भे प्रारम्भ
दाङ जिल्लाको भालुबाङस्थित पक्की पुलदेखि पहिलो दिन २०८ जेठ १ गते दिउँसो १२:३० बजेदेखि पश्चिम राप्ती नदीको सर्भे प्रारम्भ गरियो । तीव्र गर्मी छल्न भालुबाङ बजारमा दही र मही खाएर हाम्रो यात्रा सुरु भएको थियो ।
नदीको दायाँ किनारमा म (जनताको तटबन्ध आयोजना कार्यालय लमहीका प्रमुख डा. नारायण प्रसाद सुवेदी), इन्जिनियर बासुदेव गौतम र इन्जिनियर बेलबहादुर विक थियौं । बायाँ किनारमा इन्जिनियर रामदिन चौधरी र कम्प्युटर अपरेटर यम्मेबहादुर बस्नेत सहभागी थिए । हामी सबैको काँधमा आ–आफ्ना झोला, क्यामेरा र नापजाँचका उपकरण थिए ।
नदी नियन्त्रण तथा व्यवस्थापनका कारण कटान र डुबानबाट उकासिएको बगर तथा आसपासका खेतियोग्य जमिनमा निर्मित नहर, कुलो र कुलेसोजस्ता संरचनाबाट उपलब्ध गराइएको सिंचाइका कारण हरियाली थियो । उकास भएको नदी बगरमा स्थानीयले मौसमी/बेमौसमी तरकारी, मकै, तरभुजा/खरभुजा फलाएका थिए । त्यसबाट उनीहरुको जीविकोपार्जनमा सकारात्मक परिवर्तन आएको थियो ।
कार्यालयका सवारी चालक रामराज चौधरीले तिनै स्थानीयले फलाएका अर्गानिक काँक्रा, पोलेको मकै र खरबुजा किनेर ल्याउँथे । त्यसबाट भोक मेटाउन सहयोग मिल्थ्यो ।
दायाँतर्फको टोली भालुबाङबाट लालमटिया, पाखापानी, कटाहा, खरुहुरिया, बसन्तापुर, सिसहनिया पुग्यो । बायाँतर्फको टोली शीतगंगा–८ अर्घाखाँची, गढवा–१ मलमला, पत्रिङ्गा, बडहरा, जेठानगाउँ, कोठरी, पचहिया, महदेवासम्म पुग्यो । सिसहनिया–महदेवा जोड्ने पक्की पुल पुग्दा झमक्क साँझ परेको थियो । त्यसैले त्यो दिनको सर्भे त्यहीँ स्थगित गरियो ।
दोस्रो दिन : बिहानको ताजगी र निरन्तर सर्भे
दोस्रो दिन २०८२ जेठ २ गते बिहान करिब ५:३० बजे जनताको तटबन्ध कार्यालय लमहीस्थित निवासमा चिया–नास्ता गरेपछि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीसँग आयोजना अन्तर्गत तटबन्ध निर्माणको प्रगति र आवश्यक नदीजन्य निर्माण सामग्री (ढुंगा) को व्यवस्थापन सम्बन्धमा छलफल गरियो ।
त्यसपछि पहिलो दिनको यात्रा स्थगित भएको सिसहनिया–महदेवा जोड्ने नेपालको दोस्रो लामो पक्की पुलमा हाम्रो टोली जम्मा भयो ।
त्यहाँबाट हाम्रो टोली फेरि दुई टोलीमा विभक्त भयो । दायाँ किनारातर्फ म, इन्जिनियर बासुदेव गौतम र इन्जिनियर बेलबहादुर विक थियौं । बायाँ किनारातर्फ महदेवाको पक्की पुलबाट इन्जिनियर रामदिन चौधरी र कम्प्युटर अपरेटर यम्मेबहादुर बस्नेतको टोली रतनपुर, गोबरडिहा, खैरा, पर्सा, पर्सिया, धर्मपुर हुँदै तकियापुरसम्म पुग्यो ।
सुरुका केही किलोमिटर यात्रा सजिलै भयो, तर छिट्टै पैतालाले गाह्रो अनुभव गर्न थाल्यो । नदीकिनारको तातो बगर, कतै काँडे झाडी, खाल्डाखुल्डी, नदीसँगै बगिरहने तातो हावा शरीरमा ठोक्किँदा थकाइ अझ बढ्थ्यो । बीच–बीचमा पानी पिउन पाउने ठाउँ कम थिए ।
तर बाटोमा भेटिएका किसान र गाई–गोरु चराउँदै गरेका युवाले पानी दिएर सहयोग गर्थे । उनीहरूको सानो सद्भावले यात्रामा ठूलो ऊर्जा दिन्थ्यो ।
नदी उकास जग्गामा बदाम लगाउँदै गरेका हीरालाल चौधरी र दुई दिदीहरूले आफूसँग भएको बदामको बिउ र काँक्रा खुवाएर हामीलाई सम्मानभाव व्यक्त गरे ।
उक्त दिन बगरापुर, छिगटपुर, केरुनिया, रनियापुर, राजपुर, बुटकौहवा, घुम्ना, सेमरहवासम्म सर्भे गरियो । दिउँसो १ बजेतिर खाना खान भनेर हामी पुन: लमहीस्थित निवासमै फर्कियौं ।
खाना खाएर पुन: सर्भे साइटमा जाने तयारी गरिरहेका बेला हावाहुरीस्थित भयंकर ठूलो पानी पर्यो । केहीबेर रोकिएर साँझ करिब ४ बजेदेखि पुन: सर्भे सुरु भयो ।
साँझ अपराह्न ४ बजे म र इन्जिनियर रामदिन चौधरी पनि सहभागी भई सेमरी, मोतिपुर, कान्छीगाउँ, झारबैरा, भोजनपुर हुँदै मध्यनगर जोड्ने झोलुङ्गे पुलसम्म रिभर एसेट इनभेन्टरी सर्भे सम्पन्न गरियो । बलरामपुर, ढिकपुर क्षेत्रमा पनि अध्ययन गरियो ।
मध्यनगर र भोजनपुर जोड्ने झोलुङ्गे पुलसम्म आइपुग्दा बेलुका करिब ७:३० बजेको थियो । साँझमा सर्भे गर्न नसकिने भएकाले निवासमै फर्किने निर्णय गर्यौं ।
फर्किने क्रममा खोलाको भंगालो तर्नुपर्थ्यो । तर मोबाइलमा ब्याट्री सकिएकाले उज्यालो अभावले गाह्रो भयो । गर्मी मौसममा झाडीको बाटोमा सर्पको डर थियो । अत्यन्तै थकित भए तापनि, त्यो पैदल यात्रा, अन्धकार, डर र संघर्षका बाबजुद आत्मीय गफहरूले ती क्षणहरूलाई सम्झनायोग्य बनाएको थियो ।
भालुबाङदेखि गढवा पुलसम्म दायाँ किनारामा रनियापुर र बायाँ किनाराका जेठानगाउँ लगायतका स्थानहरूमा क्रमश: करिब २ र ३ किलोमिटर नयाँ तटबन्ध निर्माण तथा बिभिन्न चेनेजहरूमा सामान्यदेखि पूर्णरूपमा तत्काल मर्मत गर्नुपर्ने देखियो । साथै राप्ती पुल (गढवा) को अपस्ट्रिम बायाँ किनारामा खालि रहेको करिव ४०० मिटर खण्डमा एशियाली विकास बैंकको सहयोगमा तटबन्ध निर्माणका लागि प्रकाशन भएको टेण्डर हाल मूल्यांकन प्रकियामा रहको छ । सोही किनाराको डाउनस्ट्रिममा निर्मित तटबन्धका कारणले दशौं बिगाहा जग्गा उकास भएको जमिन उपयोगमा आएको छ ।
तेस्रो दिन : स्थानीय सहभागिता र सर्भे विस्तार
दोस्रो दिनको सर्भे सकेर राति ११ बजे खाना खाएर सुतेका हामी बिहान साढे ४ बजे नै उठेर पुन: सर्भे गर्ने स्थानमा प्रस्थानको तयारीमा जुटेका थियौं ।
थकान, खुट्टा दुखाइ र अनिद्राको अनुभूति भइरहेको थियो । तर पनि निर्धारित गन्तव्यमा पुग्नैपर्ने हुँदा शरीरले खोजेको विश्रामको चाहना भन्दा गन्तव्यप्रतिको दृढ संकल्पले सबैलाई अगाडि बढ्न प्रेरित गर्यो ।
बायाँ किनारामा म र इन्जिनियर रामदिन चौधरी सर्भे सुरू गर्दैगर्दा गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरीले फोन गरेर ‘कहाँ हुनुहुन्छ ?’ भनेर सोध्नुभयो । मैले ‘तेस्रो दिनको सर्भे गर्न गढवा–७ भोजपुरमा आएको’ जानकारी गराएँ । उहाँले ‘यति बिहानै ? काम मात्रै गर्ने ? स्वास्थ्यको ख्याल गर्नुपर्दैन ? ढाड दुखेको छैन ?’ लगायतका जिज्ञासा र प्रश्न एकसाथ तेर्साउनुभयो । आफैं खाना पकाएर खुवाउने चाहना व्यक्त गर्नुभयो ।
त्यो अभिभावकत्व, नारी वात्सल्यता, माया र ख्यालको भावनाले मेरो आँखाबाट हर्षका आँसु बग्न थाले । त्यसबेला मसँग उहाँलाई दिने उत्तर वा सम्मान प्रकट गर्ने कुनै शब्द थिएन । यो मेरो यात्राको अविस्मरणीय र अत्यन्त भावनात्मक क्षण थियो, जसप्रति म उहाँलाई हार्दिक आभार र सम्मान प्रकट गर्न चाहन्छु ।
सर्भेकै क्रममा राजपुर–२ मटेरीया, बलुवाडाँडा, खालगहिरा, गहिरा हुँदै राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी तथा स्थानीय बासिन्दाहरू समेत सहभागी हुनुभयो ।
छप्फा, प्रतापुर, खरदरिया हुँदै कालीपुरुवा नजिक झाडी क्षेत्रमा असिन पसिन हुँदै सर्भे गर्दैगर्दा जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडीको फोन आयो ।
उहाँले पनि यस्तो प्रचण्ड गर्मीमा नदी किनारमा सर्भे भइरहेको जानकारी पाएपछि स्वास्थ्यको ख्याल राख्न सुझाव दिँदै काम गर्न थप हौसला प्रदान गर्नुभयो । जसप्रति हार्दिक आभार व्यक्त गर्दै सर्भे कार्य निरन्तर अघि बढाइयो ।
सोही क्रममा चालक शोभाकर अधिकारीले ल्याएको बिस्कुट, स्थानीय घरमा प्राप्त दूध र पाकेको मेवाले केही घण्टा पेट शान्त पारियो । राजपुर गाउँपालिकाका अध्यक्षसहितको टोलीले ल्याएको मोही र काँक्रो खाई विभिन्न स्थानका नदी कटान, पटानले खेत तथा बस्तीमा पारेको असरको इनभेन्ट्री तयार पार्दै बिहानको यात्रा राजपुर गाउँपालिका अन्तर्गत फोहरा, दुलैया, चंग्रुवा र जंग्रहवा–जहरे पुलसम्म पुगेर करिब दिउँसो १ बजे सम्पन्न गरियो ।
त्यसपछि गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी, म, इञ्जिनियर रामदिन चौधरी र चालक अधिकारीसहित सिक्टा गाउँस्थित एक घरमा पुगेर दायाँ किनारामा सर्भे गरिरहेका साथीहरूलाई खाना खाने छुट्टै स्थानमा पुर्याउन गाडी फिर्ता पठाइयो ।
चकटीमा बसेर स्थानीय अर्गानिक खाना खाएपछि पुन: सर्भे सुरु गरियो । हामी अघिल्ला दिनजस्तै आ–आफ्ना समूह बनाएर सर्भे जारी राखेका थियौं । कहिले आफैं बाटो बनाउँदै, कहिले घाँस र झाडी छिचोल्दै, जोखिम र आवश्यकता अध्ययन गर्दै अघि बढ्यौं ।
वनगाउँ हुँदै कमानपुर जाँदै गर्दा, हाम्रो टोलीलाई सिक्टा गाउँमा खाना खान छोडेर गएको सवारी चालक शोभाकर पुलमा पर्खिरहेको र खाजा तयार भएको खबर प्राप्त भयो । यसले यात्रालाई अझ उत्साहपूर्ण बनाउने अपेक्षा गरिए पनि, हसनपुरको पुलमा पुग्दा खाजा नपाउँदा इन्जिनियर बेलबहादुर वि.क. र सबइन्जिनियर जनक रावलले केही निराश र बेचैन महसुस गर्नुभयो । सर्भेमा जनक रावलको पहिलो दिन थियो ।
पछि फोन संवादबाट खाजाको गन्तव्य सतबरिया भएको थाहा पाएपछि करिब डेढ घण्टाको पैदल यात्रापछि हामी स्थानीय घरमा पुगेर दाल, भात, तरकारी र लोकल कुखुराको मासु खाई पुन: काममा फर्कियौं ।
बायाँ किनारको टोली त्यसबेला अगाडि बढिसकेको थियो । टन्टलापुरको घाममा छाता विना यात्रा गर्नुपर्यो । तर बाटामा गाई, भैंसी, गोरु लैजाने गोठालाहरूको हँसिला कुराले यात्रा सहज बनाउँथ्यो । सर्भे गर्दै जाँदा बाघखोर भन्ने जोखिमयुक्त बस्तीमा पुग्दा नदी कटान तीव्र भएको देखियो, जसलाई नियन्त्रणका लागि पहिलो प्राथमिकता (पि–१) मा राखियो । त्यहाँ बच्चाहरूको सुरक्षाका लागि खुला ट्युबवेलको सुरक्षित प्रयोगबारे पनि सुझाव दिइयो ।
गढवा–७, राताकाँस हुँदै गंगदी, राजपुर, बनकट्टी, लैबरुवा र कोलतारा जोड्ने झोलुङ्गे पुलसम्म पुग्दा झमक्क साँझ परेको थियो । मोबाइल अनि जीपीएस दुवैको ब्याट्री पनि सकिएको थियो । त्यसैले तेस्रो दिनको सर्भे कार्य समाप्त गर्ने निर्णय लिइयो ।
अन्त्यमा मेयर, उपमेयरसहित सबै टोली एउटै स्थानमा भेला भई कामको समीक्षा गर्दै आगामी योजनाबारे छलफल गरियो । तेस्रो दिन मध्यनगर, कशियापुर, बनगैं, कमानपुर, हस्नापुर, बनघुस्री, फचकपुर, गधनिया, सतबरीया, धनपुरुवा, असानी र जहरेसम्मको सर्भे सम्पन्न गरिएको थियो । अन्तत: दायाँ–बायाँ किनारका दुवै टोली राति करिब १० बजे बासस्थानमा फर्कियौं ।
चौथो दिन: नयाँ अनुहार, नयाँ चुनौती
चौथो दिन २०८२ जेठ ४ गते बिहान ५:३० बजे चिया–नास्ता गरेर सर्भे टोली निर्धारित गन्तव्यतर्फ अग्रसर भयो । कार्यालयका नायब सुब्बा कमलराज वली पनि सर्भेमा सहभागी हुनुभयो । बायाँ किनाराको सर्भेमा इञ्जिनियर रामदिन चौधरी, नायब सुब्बा कमलराज वली, राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी तथा उपाध्यक्ष धनपति यादव, साथै स्थानीय बासिन्दाहरू थिए । यो टोलीले लैबरुवा, सिक्टा, गल्चु र राताकाँस क्षेत्रहरूमा विस्तृत सर्भे कार्य सम्पन्न गर्यो ।
त्यसैगरी, दायाँ किनाराको सर्भेमा इञ्जिनियर बेलबहादुर वि.क. र सवइञ्जिनियर जनकबहादुर रावलको नेतृत्वको टोली थियो । यो टोलीले रिहार खोलाको दायाँ किनारादेखि सर्भे गर्दै अघि बढ्यो ।
किनार पहिलेको जस्तो सजिलो र बाक्लो बस्तीयुक्त थिएन; केही ठाउँमा जंगल, पहरो तथा कटान भएको खेतीयोग्य जमिन भेटिन्थ्यो भने कतिपय स्थानमा पातलो बस्ती मात्र पाइन्थ्यो । सर्भे गर्दा खोला, नाला र खोल्साहरू प्रशस्तै भेटिए, जसलाई पार गर्न केही समय खर्चिनुपर्थ्यो र घुमाउरो बाटो प्रयोग गर्नुपर्थ्यो । यात्रामा सर्प र बाघको डर लागिरहन्थ्यो, जसले अलि तनाव, भय र बेचैन सिर्जना गरेको थियो ।
बाघ जस्तो जनावरको आँखा देखेको भन्दै इञ्जिनियर वि.क. र रावल झोलुङ्गे पुल पार गरी बायाँ किनारामा रहेका इञ्जिनियर रामदिन चौधरी, नायब सुब्बा कमलराज वलीलगायतको टोलीतर्फ गएका थिए । खाना खाएर केही समय आराम गरेपछि पुन: सर्भेमा फर्किए ।
अगाडि बढ्दा एक ठाउँमा जंगल, चट्टान र नदीको किनार बन्द भई, हामी बिस्तारै जंगल चढ्दै किनार झर्न खोज्दा जनकजीको जुत्तामा काँडा गढ्यो । इञ्जिनियर बेलबहादुर वि.क. पनि जुत्तासहित हिलोमा गाडिए । त्यहाँबाट निस्किएर अघि बढ्दा केही लाग्यो ।
यसरी इञ्जिनियर बेलबहादुर वि.क. र सबइञ्जिनियर जनकबहादुर रावलको टोलीले कोलतारा हुँदै तरुल्ले क्षेत्रसम्मको सर्भे सफलतापूर्वक सम्पन्न गर्यो ।
झमक्का साँझ परिसकेको कारण अर्को समूहसँग भेटेर बस्ने ठाउँ फर्कियौं । प्रत्यक्ष स्थानीय सरोकारवालाहरूको उपस्थिति र प्राविधिकहरूको सहकार्यले यस दिनको सर्भे अझ प्रभावकारी र समावेशी बनेको अनुभव गरियो ।
पाँचौ दिन: जोखिमपूर्ण यात्रा र सहकार्यका सम्झनाहरू
केही दिन कार्यालयको अन्य काममा व्यस्त रहँदा दोश्रो चरणको एसेट इन्भेन्टरी सर्भे पाँचौ दिन, २०८२ जेठ १६ गते बिहान ९:३० बजेबाट पुन: शुरू भयो । दायाँ किनाराको सर्भेमा म र इन्जिनियर रामदिन चौधरी सहभागी भई दाङको लमही–९, अमिलियामा बर्सेनि अत्यधिक कटानले खेतीयोग्य जमिन नष्ट भएको देख्दा मन अत्यन्त कुडिएको थियो । त्यो भारी मन लिएर अघि बढ्दै गर्दा काँसको जंगल पार गर्ने क्रममा म खाल्डोमा लडेँ, तर इन्जिनियर चौधरीजीले हात समातेर तानिदिनु भयो, जसले मलाई फेरि उभिन मद्दत गर्यो ।
त्यसपछि काँस पन्छाउँदै अघि बढ्दै हामी बाँकेको राप्तीसोनारी–१ अन्तर्गत लौकी, चप्पगौरी र बाघखोरसम्म पुग्यौं ।
त्यत्तिकैमा कार्यालयका लेखा अधिकृत उदय बहादुर डाँगीको फोनबाट थाहा भयो कि आज नायब सुब्बा कमलराज वलीको जन्मदिन रहेछ । जन्मदिन मनाउने कार्यक्रमको तयारी भएकाले छिट्टै फर्कन अनुरोध गर्नुभयो ।
मैले इन्जिनियर बेल बहादुर वि.क.लाई जानकारी गराउँदा डुङ्गा नहुने, झोलुङ्गे पुलसम्म जान साधन नपाइने बताएपछि मैले स्थानीय नरेन्द्र के.सी.लाई सहयोगका लागि सम्पर्क गरेँ । उहाँले दुईवटा मोटरसाइकलको व्यवस्था गरी इन्जिनियर बेल बहादुर वि.क. र कम्प्युटर अपरेटर यम्मे बहादुर बस्नेतलाई कुसुम र भवानीयापुर जोड्ने झोलुङ्गे पुल पार गराई कुसुमसम्म पुर्याउनु भयो ।
त्यसबेलासम्म उनीहरूले दाङको राजपुर–७ हाडबास र बाँकेको राप्तीसोनारी–१ अन्तर्गत खोकरी, दुबेरी, चुनहा र तल्लो चुनहासम्म सर्भे सम्पन्न गरिसकेका थिए ।
छैटौं दिन: भवनीयापुर–सिक्टा सर्भे, डुबान र कटानको समीक्षा
छैटौं दिन २०८२ जेठ १७ गते, बिहान ५:३० बजे चिया–नास्ता पश्चात म र इन्जिनियर बेलबहादुर वि.क. बायाँ किनाराबाट सर्भे गन्तव्यतर्फ अघि बढ्यौं । भवनीयापुरको झोलुङ्गे पुल पार गर्दै हिजोको सर्भे अन्त्य भएको तल्लो चुनहा (करिब ३ किलोमिटर अपस्ट्रिम)सम्म पुगेर सर्भे सुरु गरियो । औसत रूपमा धेरै कटान नदेखिए पनि केही स्थानहरू डुबानबाट प्रभावित पाइएको थियो । सुनखरे र खुटी क्षेत्रमा खासै क्षति नभए तापनि दोघरे क्षेत्रमा सामान्य कटान देखियो ।
भवनीयापुरमा पहिल्यै निर्मित संरचना (स्पर) र वायो–इन्जिनियरिङ प्रविधिले अत्यधिक पटान गरी किनारालाई बलियो र स्थिर बनाएको पाइएको थियो भने अमुवा हुँदै भम्कासम्म भने अत्यधिक अस्थिर र तीव्र कटान भइरहेकाले तत्काल संरक्षण आवश्यक देखियो । यस क्षेत्रबाट नदी दक्षिणतर्फ घना जंगल हुँदै सिक्टा सिँचाइ आयोजनाको हेडवर्कसम्म बगिरहेको छ ।
दायाँ किनाराको सर्भेमा इन्जिनियर रामदिन चौधरी र सब–इन्जिनियर जनकबहादुर रावलले बाँदरभरिया, ओजखोला, बासखोली, कुसुम, रानीगजेरी, बैरिया, नयाँबस्ती, वाराटोल, भम्काबगर, सोरी, जरुवा, गाभर हुँदै सिक्टासम्मको सर्भे कार्य सम्पन्न गर्नुभयो ।
यसै क्रममा अत्यधिक गर्मीमा हाम्रो सर्भे टोलीमा रहेका स्थानीय सहयोगी नरेन्द्र केसी भाइले सप्रेम मोही खुवाएकोले केही हदसम्म भए पनि तीर्खा मेटियो । तर दिउँसोको करिव १:३० बजिसक्दा पनि खाना नखाएकाले भोक असाध्यै लागेको थियो । त्यसैले कुसुममा खाना अर्डर गरी अर्को किनाराका साथीहरूलाई भेटेर सँगै खाना खान गइयो । केही समयको बिश्रामपछि पुन: सर्भे थालियो ।
यद्यपि केही स्थानमा विशेष कटान देखिएन । कुसुम (भवनीयापुर पुलको डाउनस्ट्रिम), सोरी, जरुवा र सिक्टा जस्ता क्षेत्रमा डुबान र कटानको असर स्पष्ट देखिन्थ्यो, जसले ती क्षेत्रहरूमा शीघ्र नदी नियन्त्रण तथा व्यवस्थापन कार्य आवश्यक रहेको प्रस्ट्याउँछ ।
सिक्टासम्म सर्भे गर्दा झमक्क साँझ परिसकेकोले बाँकी स्थानहरूको सर्भे नेपालगञ्जतर्फबाट गर्न सहज हुने देखिएपछि टोली सोही दिशातर्फ लाग्यो ।
सातौं दिन : जोखिम, समाधान र प्रेरणाको यात्रा
लगातारको हिँडाइ बिच सर्भेको सातौं दिन, २०८२ जेठ १८ गते बिहान ५:३० बजे चिया–नास्ता पछि सिक्टा सिँचाइ आयोजनाको हेडवर्कबाट दुवै टोलीले सर्भे कार्य सुरु गर्यो । बायाँ किनारातर्फ सिक्टा, बैसा, नवलपुर, सिनाबास, साइपुर, जङ्गपुर, लालपुर, भगवानपुर र ललहीसम्म सर्भे गर्यौं । सिक्टादेखि सिनाबाससम्म तटबन्ध निर्माण भइसकेकाले आसपासका खेत र बस्तीहरू कटान, पटान तथा डुबानबाट सुरक्षित देखिन्थे । सिनाबासमा सिक्टाद्वारा निर्मित करिब ५०० मिटर लामो तटबन्धमध्ये केही भागमा नदीको धारले कटान गरेकाले, उक्त संवेदनशील स्थानको तत्काल मर्मत तथा संभार कार्य गर्न कार्यालयको तर्फबाट सम्बन्धित निकायसँग पत्राचार गरियो ।
तर, सिनाबासदेखि करिब १.५ किलोमिटर डाउनस्ट्रिमसम्म तटबन्ध निर्माण गरेमा करिब ९६ हेक्टर जमिन सुरक्षित हुने सम्भावना देखियो ।
सिनाबासमा सर्भे गर्दै जाने क्रममा नेपाली कांग्रेस, बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति पोषण केसी सिनाबासको खोला किनारामा हामीलाई भेट्न आउनुभयो । उहाँले हाम्रो मेहनत र जिम्मेवारीप्रतिको प्रतिबद्धता देखेर प्रशंसा गर्दै भन्नुभयो, ‘तपाईंहरूजस्तो प्राविधिकहरूको इमानदार प्रयासको उच्च मूल्यांकन हुनु जरुरी छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, जस्तै बीबीसीमार्फत विस्तृत प्राविधिक स्टोरी निर्माण गरी प्रसारण गराउन म सहजीकरण गर्नेछु ।’ उहाँका यस्ता प्रेरणादायी भनाइहरूले हाम्रो मेहनतलाई सम्मान र ऊर्जा प्रदान गर्यो ।
सर्भे सकिएपछि उहाँसँग केही समय बिताउँदै स्थानीयको घरमा मोही पिएर बिदाई गर्यौं र मनभित्र त्यो स्टोरी कुनै दिन बनेर प्रशारण हुनेछ भन्ने सकारात्मक आशा बोकेर, हामी पुन: आफ्नो सर्भे यात्रातर्फ अघि बढ्यौं । अझै पनि हामी त्यो विशेष दिनको व्यग्र प्रतीक्षामा छौं, जहाँ हाम्रो मिहिनेत र समर्पणको कथालाई विश्वसामु प्रस्तुत गरिनेछ ।
दिउँसोको करिव २ बजिसकेकाले नेपालगञ्जतर्फ फर्की खाना खाई केही समयको विश्रामपछि पुन: सर्भेमा लागियो । त्यसैगरी साइपुर, जङ्गपुर, लालपुर, भगवानपुर क्षेत्रका बगरमा स्थानीयहरूले खरबुजा/तरबुजा खेतीमार्फत आय आर्जन गरिरहेको पाइएकाले ती क्षेत्रमा पनि नदी नियन्त्रण र व्यवस्थापन आवश्यक देखियो ।
ललहीमा निर्माण भएको करिब २.५ किलोमिटर तटबन्धले खेत र बस्तीलाई प्रभावकारी रूपमा सुरक्षित बनाएको छ, जुन हाल ए.डी.बी.को सहयोगमा निर्माणाधीन सब–प्याकेज नं. ८ सँग जोडिएको छ ।
उता दायाँ किनारामा इन्जिनियर रामदिन चौधरी र सव–इन्जिनियर जनकबहादुर रावलले राप्ती सोनारी गाउपालिकाको अगैया, माथेबास, हर्दवा, कचनापुर, खोरिया, मदुई र मदुवा हुँदै सर्भे कार्य सम्पन्न गर्नुभयो । यद्यपि अधिकांश स्थानमा विशेष कटान नदेखिए पनि कचनापुर, खोरिया र मदुवा जस्ता क्षेत्रहरूमा डुबान र कटानको स्पष्ट असर देखिएकाले ती क्षेत्रमा शीघ्र नदी नियन्त्रण तथा व्यवस्थापन कार्य अपरिहार्य देखिन्छ ।
साथै, कचानापुरस्थित हाल ए.डी.बी.को सहयोगमा निर्माणाधीन सब–प्याकेज नं. ७ को डाउनस्ट्रिम क्षेत्रको अत्यन्तै जोखिमयुक्त र संवेदनशील स्थानमा अवस्थित खेतयोग्य जमिन तथा बस्तीको संरक्षणका लागि करिब १,२०० मिटर खण्डमा तटबन्ध निर्माण गर्न पुन: ए.डी.बी.को सहयोगमा टेन्डर प्रकाशित भइसकेको छ ।
करिव ८६५ मी. लामो माथेबासको पुलमा दायाँ किनाराको सर्भे टोलीलाई लिएर आएको गाडीमा चढी हामी झम्के साँझमा बासस्थान नेपालगञ्ज गयौं ।
आठौं दिन : जीवन, जीविका र विश्वासको पुनर्जागरण
आठौं दिन २०८२ जेठ १९ गते, बिहानै ५:४५ बजे चिया–नास्ता खाएर सर्भे गन्तव्यतर्फ लागियो । सिमसिमे पानी परिरहेकाले छाता ओढी म र इन्जिनियर बेलबहादुर वि.क. बायाँ किनारमा अनि इन्जिनियर रामदिन चौधरी र सवइन्जिनियर जनकबहादुर रावल दायाँ किनारामा सर्भेमा खटियौँ । ललहीघाटस्थित निर्माणाधीन सब–प्याकेज नं. ८ हुँदै ८६५ मिटर लामो माथेबासको डाउनस्ट्रीमबाट चाँचरफर्का, गोर्धुई, गोर्धुई खल्ला, इन्टेक, ढलैया क्षेत्रसम्म सर्भे गरियो ।
करिब ६ किलोमिटर क्षेत्रमा तटबन्ध बनेको देख्दा वरपर लहलहाउँदो खेती र बसोबास फस्टाएको देखेर मनमा हर्ष भयो । विशेषत: १५–१६ वर्षअघि सिक्टा सिँचाइ आयोजनाबाट थेडोलाइट ल्याई उच्च एक्युरेसीका साथ डिजाइन र साइटमा केबल २–३ से.मी. को मात्रै फरकमा बनाइएको तटबन्ध आफैंले खोजिरहँदा त्यो मिहिनेतको फल आज जीवन्त रूपमा देखिएको अनुभव भयो ।
नदीकटान, पटान र डुबानको इनभेन्ट्री लिँदै गर्दा भैंसी, बाख्रा चराउँदै गरेकी मीना चौधरीले खुशी हुँदै भनिन्, ‘तटबन्ध बनेपछि यहाँको सबै खेतीयोग्य जमिन र बस्ती सुरक्षित भयो ।’
राज्यको लगानीले सामाजिक उत्तरदायित्व बहन गरेको स्पष्ट अनुभूति गरियो । औरहवामा करिब १५–१६ वर्षअघि स्थापनकालमा म नै इन्जिनियर भएको बेला निर्माण गरिएको माटोको तटबन्ध आज पनि यथावत् र प्रभावकारी रूपमा कार्य गरिरहेको देख्दा जिम्मेवारीपूर्वक लिएको निर्णय र सही स्थानमा गरिएको कार्यले निकै ठूलो सन्तोष अनुभूति भयो ।
साँझ झमक्क परिसकेपछि बगर खेतीमा लहलहाएको लौका र घिरौंला स्थानीय कृषक बुवाबाट सप्रेम खरिद गर्दा उहाँले तटबन्धकै कारण खेती गर्न पाएको, वर्षायाममा ढुक्कले निदाउन पाएको र गाउँलेहरूको अनुहारमा मुस्कान फर्किएको कुरा जानकारी गराउनु भयो, जसले मन छुने गरी उहाँको आशीर्वाद प्राप्त गर्न पाइयो ।
नवौ दिन : स्थानीयको भरोसा र भावनात्मक अनुभूति
नवौं दिन, २०८२ जेठ २० गते, सधैंझैं बिहान चिया–नास्ता गरी करिब ५:३० बजे हामी सर्भेको गन्तव्यतर्फ लाग्यौं । अघिल्लो दिन झमक्क साँझसम्म सर्भे गरेर फर्कने क्रममा, दायाँ किनाराका साथीहरूलाई कुर्दै स्थानीय एक दिदीको घरमा केहीबेर विश्राम गरिएको थियो, त्यही ढलैयाबाट सो दिनको सर्भे सुरु गर्न तयारी भइरहेका बेला ती दिदीले भावुक हुँदै भन्नुभयो, ‘तपाईंहरूले बनाइदिनुभएको तटबन्धका कारण आज घर र बस्ती सुरक्षित छन्, बाढीले बगाएको जमिन फेरि उकास गरेर उपयोग गर्न सकिएको छ, र अब त वर्षामा पनि ढुक्कसँग सुत्न सकिन्छ । तपाईंहरू त हाम्रा लागि भगवान सरह हुनुहुन्छ ।’
उहाँका आँखाबाट झरेका हर्षका आँसुहरूले हामीलाई अझै प्रेरित तुल्यायो । साथै, उहाँकै घरमा सप्रेम पस्किएको बिहानको चिया–नास्ता ग्रहण गरेपछि, म र इन्जिनियर बेल बहादुर विकले बायाँ किनारातर्फ ढलैया, खल्लाटेपरी, सिधनवाघाट, सिधनवा, जोरैया, बिश्भरपुर, फत्तेपुर, खल्लाझगडिया, पिप्रहवा, र सोनपर्षासम्म सर्भे सम्पन्न गर्यौं ।
ढलैयाबाट अगाडि बढ्दा, खल्लाटेपरी र सिधानियाघाट पुल नजिकैको दायाँ किनारामा निर्मित तटबन्धका केही स्थानहरूमा भएका ठूला ठूला खाल्डा तथा तटबन्धका स्लोपमा देखिएका चिराहरूको समेत पहिचान गरी, त्यहाँको ढलैयामा निर्माणाधीन प्याकेजबाट रिभर बेड मटेरियल (आर.बि.एम.) ल्याएर तटबन्धको मर्मतसम्भार सम्पन्न गराइयो । त्यहाँ निर्मित तटबन्धले सयौ बिगाहा खेतयोग्य जमिन र बस्तीलाई सुरक्षित गरेको थियो ।
डाउनस्ट्रीमतर्फ कटान, पटान र डुबानका कारण प्रभावित हुने भएतापनि विभिन्न कारणले गर्दा तटबन्ध अझै पूर्ण रूपमा निर्माण हुन भने सकेको छैन । सिधनवा, जोरैया, विश्वरपुर, फत्तेपुर, खल्लाझगडिया, पिप्रहवा र सोनवर्षासम्मका केही स्थानहरूमा तटबन्धको निर्माण भइसकेको छ भने केही स्थानहरूमा तत्काल पहिलो प्राथमिकतामा नयाँ २५–३० किलोमटिर तटबन्ध निर्माण तथा निर्मित तटबन्धको मर्मतसम्भार गर्न अति नै आवश्यक देखिन्छ ।
सर्भेको क्रममा हामी जरैयाका बासिन्दा सिताराम चौधरी घरमा पुग्यौं । उहाँले आफैंले पोलेको र भुटेको मकै सप्रेम खुवाउनुभयो । कुराकानीको क्रममा उहाँकी श्रीमतीले आफूहरू दाङबाट यहाँ बसाइँ सरेको, आफन्तजन यही क्षेत्रमा रहेको बताउनु भयो । साथै उहाँले करिब १० वर्षअघि, उहाँकी ७–८ वर्षकी छोरी स्कुलबाट हराएको र अहिलेसम्म कुनै सम्पर्क नभएको एक अत्यन्तै पीडादायक स्मृति बाँड्नु सुनाउँदा हामी भावुक पनि भयौं । हामीसँग केहीबेर कुराकानी गरेपछि उहाँहरु काममा व्यस्त हुन थाल्नुभयो ।
त्यसपश्चात हामी पुन: सर्भेमा लाग्यौं र वार्ड नं. ७, खल्लाझगडिया पुग्यौं । त्यहाँ पुगेर वार्ड अध्यक्ष रामलखन चौधरीलाई पनि सर्भेमा सहभागी गरायौं ।
दायाँ किनारातर्फ इन्जिनियर रामदिन चौधरी र सबइन्जिनियर जनकबहादुर रावलले शम्सेरगन्ज, खजुरा, कम्दी, हल्कारापुरुवा, कटैया, कारतीपुरुवा, बाबागाउँ, देसपुरुवा, रामनगरपाझा, पूर्ववारी, खलैचा र पिप्रहवासम्म सर्भे कार्य सम्पन्न गर्नुभयो । दायाँ किनारामा शमशेरगञ्देखि सिधानियाघाटको उपल्लो स्थानसम्म जंगल रहेको र त्यसपछि पुलसम्म तटबन्ध बनेको पाइयो ।
दशौं दिन : कटान, डुबान र तटबन्ध सुधारको सन्देश
दशौँ दिन, २०८२ साल जेठ २१ गते, बिहान चिया–नास्ता सकेपछि म र इन्जिनियर बेलबहादुर वि.क. बायाँ किनारातर्फबाट सोनवर्षादेखि पुन: सर्भे कार्य आरम्भ गर्यौं ।
कुडुवा, नरैनापुर, गंगापुर, भगवानपुर, महेशपुर, पान्डेपुरुवा हुँदै नेपाल–भारत सिमासम्मको मटेहिया क्षेत्रसम्म अत्यधिक कटान, पटान र डुबानका कारण सयौं बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको देख्दा हामी मर्माहत भयौं । त्यहाँका स्थानीय कृषकहरू, जो पहिले जमिन्दार थिए, अहिले सुकुम्बासी जीवन यापन गर्न बाध्य भएको दर्दनाक अवस्थाले हाम्रो मन छोयो । यस्तो पीडादायक परिस्थितिले हामीलाई अझ बढी उत्तरदायी र प्रतिबद्ध बनाउँदै, तटबन्ध निर्माण र नदी नियन्त्रण तथा व्यवस्थापनका माध्यमबाट आशा र भरोसा सिर्जना गर्न थप प्रेरित गरायो ।
त्यसैगरी, दायाँ किनारातर्फ इन्जिनियर रामदिन चौधरी र सबइन्जिनियर जनकबहादुर रावलको सहभागितामा होलिया, सेम्रहवा, र डुडुवा खोलासम्म सर्भे सम्पन्न गरियो, जससँगै पश्चिम राप्ती नदीको सर्भे कार्य सफलतापूर्वक समापन भयो ।
दायाँ किनारामा सिधनियाघाटको पुलदेखि बनकट्टी, कम्दी, रामपूर्वा लगायतका करिब ४ किलोमिटर क्षेत्रफलमा तटबन्ध निर्माण सम्पन्न भइसकेको देखिएको छ भने, सोही पुलदेखि डाउनस्ट्रिमतर्फ करिब १५ किलोमिटर दायाँ किनारा र १० किलोमिटर बायाँ किनारामा थप तटबन्ध निर्माण गर्नु अत्यावश्यक रहेको देखिन्छ ।
एघारौं दिन : सर्भेको पुनरावलोकन
यस दिन २०८२ साल जेठ १७ गतेदेखि २१ गतेसम्म गरिएको सर्भेका आधारमा विस्तृत विश्लेषण गर्यौं । समग्र प्रस्तुतिमा नदी किनाराका तटबन्धहरूको अवस्था सुधार हुँदै गएको देखियो । सिधानियाघाट पुल नजिकको दायाँ किनारामा र खल्लाटेपरी क्षेत्रमा ठूला–ठूला खाल्डा, स्लोपमा चिरा र कटान रहेका भागहरूमा नदीको बहाव र कटानको जोखिम रहेको पाइयो ।
तर, ढलैयाबाट ल्याइएको रिभर बेड मटेरियल (आर.बि.एम.) प्रयोग गरी यस्ता कमजोर स्थानहरूमा प्रभावकारी मर्मतसम्भार गरिएकाले सयौं बिगाहा खेतीयोग्य जमिन र बस्तीलाई सुरक्षित राख्न सहयोग पुर्याएको पाइयो । यसले नदी बाढीबाट संरक्षणमा सकारात्मक भूमिका खेलेको देखाएको छ ।
तथापि, केही डाउनस्ट्रिममा कटान, पटान र डुबानबाट हुने क्षतिहरू निरन्तर कायम रहेको र कतिपय स्थानमा तटबन्ध निर्माण अधुरो रहेका कारण जोखिम रहेको तथ्यांकले देखायो ।
कतिपय स्थानहरूमा वन क्षेत्र व्यवस्थित गरी संरक्षण गर्न करिब २.५ देखि ३ मिटर उचाइको ग्याबियन पर्खाल लगाएका कारण पनि वन क्षेत्रहरूमा आवतजावत गर्न चुनौती प्रस्तुत गरेको थियो ।
साथै, सर्भे टोलीका सदस्यहरूले भौतिक थकान र भोकमरी भोगेका अनुभवले कार्यको कठिनाइ संकेत गरे ।
पुनरावलोकन र सूचना पुन: निरीक्षणपछि धेरै स्थानमा मर्मतकार्य सही दिशामा रहेको भए पनि तत्काल नयाँ तटबन्ध निर्माण र यथोचित मर्मतसम्भारको आवश्यकतालाई जोड दिइएको छ ।
निरन्तर अनुगमन, संरचनागत सुधार र स्रोत व्यवस्थापन आवश्यक देखिन्छ भने स्थानीय समुदायको सहभागिता अभिवृद्धि गरी दीर्घकालीन योजना कार्यान्वयन गर्नुपर्ने सुझाव यस सर्भेले दिएको छ ।
यसले कृषि भूमि, खेतयोग्य जमीन, बस्ती र जनजीवनको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिन्छ । समग्रमा, सर्भेले बाँके जिल्लाका नदी तट संरक्षणका लागि समन्वित र पूर्णस्तरीय योजना आवश्यक रहेको प्राथमिकता निर्धारण गरेको छ ।
अनुभव र सिकाइ
यस सर्भे यात्रामा प्रत्येक दिन नयाँ अनुभव हासिल भयो । कहिले तातो गर्मी, कहिले बगरको बालुवा, कहिले स्थानीय बासिन्दासँगको आत्मीयता र कहिले बारीको ताजा फलफूलको स्वाद मिश्रित अनुभव हासिल गर्यौं । यी सबैले यस सर्भे यात्रालाई प्राविधिक कार्यभन्दा बढी जीवन्त र अविस्मरणीय बनायो ।
हाम्रो कार्यालयका इन्जिनियर सागर पौडेल, लेखा अधिकृत उदय बहादुर डांगी र नायब सुब्बा कमलराज ओलीको कुशल व्यवस्थापनले सर्भे कार्यमा थप सहयोग प्राप्त भइराख्यो ।
इन्जिनियरहरूको समर्पण, कम्प्युटर अपरेटरको मिहिनेत र स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा र युवाहरुको सक्रिय सहभागिताले सर्भे कार्य सफल र अझ सशक्त बन्यो ।
नदीको कटान, पटान र डुबानका कारण नदी तटीय क्षेत्र वरपरका बस्ती, बासिन्दा तथा खेतियोग्य जमिन अत्यधिक प्रभावित भएका छन् । विशेषगरी बाँके जिल्लाको राप्ती पुल सिधानियाघाटभन्दा तलतर्फ दायाँ किनाराका कम्दी, बनकट्टा, बेतहानी, होलिया, पिप्रहवा, खडैचा, कन्हैयापूर्वा, सिमरहना टेपरी तथा बायाँ किनाराका ढलैया, खल्लाटेपरी, सिधानियाघाट, सिधानुवा, जरैया, फत्तेपुर, खल्लाझगडीया, सोनबर्षा, कुडुवा, नरैनापुर, गंगापुर, भगवानपुर, महेशपुर, पान्डेपुरुवा र मटेहिया जस्ता स्थानहरू बाढी तथा कटानका कारण अत्यन्त प्रभावित क्षेत्रका रूपमा देखिन्छन् ।
सन् २०१४ मा आएको विनाशकारी बाढीका क्रममा ३ दिनदेखि १ हप्तासम्म निरन्तर डुबान भइरहेकाले प्रभावित क्षेत्रमा जनजीवन अत्यन्त कठिन बनेको थियो । यसकारण यहाँका धेरै बासिन्दाहरूलाई आफ्ना घर–परिवारसहित केही दिनदेखि केही महिनासम्म विस्थापित हुन बाध्य हुनुपरेको थियो । त्यस बाढीले सयौँ बिगाहा खेतीयोग्य जमिन कटान र डुबानमा पारेर नदीको च्यानलभित्र समेटिदिएको थियो ।
आफ्नै जमिन गुमाएका किसानहरू आज जमिनविहीनको रूपमा पीडादायी जीवन बिताइरहेका छन् । यस अवस्थाले उनीहरूको जीविकोपार्जन मात्र होइन, सामाजिक सद्भाव, मानसिक अवस्था र भविष्यप्रतिको भरोसामा समेत गहिरो चोट पुर्याएको छ ।
चुरे/शिवालिक क्षेत्रबाट बगेर आउने खहरे खोलाहरूले ल्याएको गेग्रान नदीमा थुप्रिँदा सतह उचालिँदै गयो र आसपासका खेतयोग्य जमिनमा थुप्रो बनेर उत्पादनमा गम्भीर असर पुग्यो । कतिपय स्थानमा बाली नष्ट भई कृषकहरूको जीविकोपार्जन संकटमा पर्यो ।
सन २०१४ (वि.सं. २०७१) को विनाशकारी बाढीले धार परिवर्तन गर्दा करिब १० वर्ग किलोमिटर जमिन कटान भई नदीमा परिणत भएको थियो । धेरै बिगाहा जमिन बगरमा बदलिँदा कृषकहरू विस्थापित भएका थिए । दशकपछि पनि पटान भएका जमिनमा खेती सम्भव नभई, भएको ठाउँमा औसत ४३ प्रतिशत उत्पादन घटेर लागत दोब्बर भएको छ । होलिया क्षेत्रमा करिब २० प्रतिशत जमिनमा अहिले धानखेती बन्द छ ।
जमिन गुमेपछि प्रभावित क्षेत्रमा केवल आर्थिक संकट मात्र नभई सामाजिक एकता, सद्भाव र हार्दिकतामा समेत खलल पुगेको छ । यससँगै सामाजिक सन्तुलन, सांस्कृतिक मूल्य र भातृत्वको भावनामा ह्रास भई समुदायको सामाजिक पूँजीसमेत कमजोर बन्दै गएको पाइएको छ ।
पश्चिम राप्ती नदीको तल्लो तटीय क्षेत्रमा, नदीको बेड लेभलमा हुने प्राकृतिक भिरालोपन क्रमश: घट्दै गएको छ । यसका कारण एकातिर नदीमा सेडिमेन्ट थुप्रिँदै जानु र अर्कोतर्फ पानी बग्ने क्षमतामा कमी आउनुले, कतिपय स्थानमा नदीको बहाव क्षेत्र (वाटर वे) उल्लेखनीय रूपमा फैलिएको देखिन्छ । विशेषत: राप्तीसोनारी वडानम्बर ५ र ६ अनि नदीको धार परिवर्तन हुने आसपासका नदी खण्डहरूमा यो चौडाइ कतैकतै ८००–१००० मिटर मात्र रहे पनि कतैकतै ३–४ किलोमिटरसम्म फैलिएको छ ।
भविष्यका सम्भावना र सन्देश
पश्चिम राप्ती नदीको सर्भे केवल नक्सामा सीमित प्राविधिक कार्य नभई नदी किनारका बस्ती, बगर, खेत, पुल, जनजीवन, समस्या र सम्भावनालाई जीवन्त रूपमा उजागर गर्ने एक गहन अनुभव बन्न पुगेको छ । यस सर्भेले बस्ती संरक्षण, कृषि उत्पादन, सिंचाइ, खानेपानी, सडक, पुल, पर्यटनलगायतका पूर्वाधार विकासका लागि समेत महत्वपूर्ण आधार तयार गरेको छ ।
स्थानीय सहभागितालाई प्राथमिकता दिँदै, यो सर्भेले समुदायका अनुभव र सुझावहरूलाई समेटेर भविष्यका योजनामा स्थानीय सशक्तीकरण सुनिश्चित गर्ने काम गरेको छ । साथै, जैविक विविधता, जलस्रोत, माटो र वनस्पतिको संरक्षणसम्बन्धी तथ्यांक संकलन गरेर वातावरणीय सन्तुलन कायम राख्न समेत मार्गदर्शन प्रदान गरेको छ ।
नदी कटान, डुबान, बाढी र बगर विस्तारजस्ता विपद् जोखिमको मूल्यांकनमार्फत दीर्घकालीन न्यूनीकरण तथा व्यवस्थापनका लागि स्पष्ट रूपरेखा प्रस्तुत गरिएको छ । यो सर्भे यात्रा नेतृत्व, सहकार्य, चुनौती पार गर्ने क्षमता र स्थानीय समर्पणको जीवन्त प्रतिबिम्ब हो । यो यात्रा केवल प्राविधिक अध्ययन नभई स्थानीय चेतना र सहकार्यद्वारा कोरिएको एक साझा भविष्यको सपना हो ।
निष्कर्ष
पश्चिम राप्ती नदीमा डुबान तथा कटानका सम्भावित क्षतिको मूल्याङ्कनका लागि पहिलो चरणको स्थल सर्भे २०८२ जेठ १ देखि ४ गतेसम्म र दोस्रो चरणको सर्भे पुन: जेठ १६ देखि २२ गतेसम्म सम्पन्न गरिएको थियो । यस क्रममा दाङ जिल्लाको भालुबाङस्थित पक्की पुलदेखि पश्चिमतर्फ बहने नदीको दायाँ र बायाँ किनारका विस्तृत भूभागहरू समेटिएका थिए ।
दाङ जिल्लामा तटबन्ध निर्माणको पहिलो प्राथमिकता अन्तर्गत दायाँ किनारामा लमही–६ (मध्यनगर), लमही–७ (हसनापुर, बनघुश्री, फचकपुर, सतबरिया, धनपूर्वा, आसनी, जरंगे) र लमही–९ (पहित्या, अमिलिया) सहित करिब १७.२ किलोमिटर तटबन्ध बनाउन आवश्यक देखिन्छ।
त्यस्तै, बायाँ किनारामा गढवा–७ (झारगैरा, मध्यनगर), राजपुर–२ (मटेरिया, सोमाईथान, छफा, बर्वाडाडा, खालगैरा, गैरा), राजपुर–३ (बसंतपुर, प्रतापपुर, खरदरिया), राजपुर–४ (फोहरा), राजपुर–६ (गंगधी, जगोरा, जंग्रहवा), र राजपुर–७ (राताकास, सिक्टा, लैबरूवा) मा करिब १२.१ किलोमिटर तटबन्ध निर्माण आवश्यक छ ।
दोश्रो प्राथमिकतामा, दायाँ किनारामा लमही–९ (पहित्या, टेलिया, अमिलिया) मा करिब ४.९ किलोमिटर तटबन्ध बनाउनुपर्ने देखिन्छ ।
बायाँ किनारामा भने गढवा–७ (भोजपुर), राजपुर–३ (कालीपुर्वा, भैसवा, बसन्तपुर, खरदरिया, सिम्रहवा), राजपुर–४ (फोहरा), र राजपुर–७ (सिक्टा) मा करिब ४.४ किलोमिटर तटबन्ध आवश्यक पर्छ ।
बाँके जिल्लामा पहिलो प्राथमिकतामा दायाँ किनारामा राप्तीसोनारी–१ (कुसुम, बाराटोल कुसुम, सिक्टा गाउँ), राप्तीसोनारी–२ (खैरा, मधुवा कुसुम, शमशेरगञ्ज, हरिहरपुर), राप्तीसोनारी–४ (टिकलीपुर), डुडुवा–२ (बाबागाउँ, कराँतिपूर्वा, देशपूर्व) अनि डुडुवा–२ (खाल्चा, पिप्रहवा) मा करिब १२.९ किलोमिटर तटबन्ध निर्माण आवश्यक छ ।
बायाँ किनारामा राप्तीसोनारी–१ (बसेरी, सुनखरे, भबनियापुर, भम्का), राप्तीसोनारी–३ (सिनाबास, जंगपुर, लालपुर), राप्तीसोनारी–५ (बिनौना), राप्तीसोनारी–६ (सिधनियाघाट, सिधनुवा, जरैया), र नरैनापुर–६ (सोनाबर्षा) मा करिब ११.३ किलोमिटर तटबन्ध आवश्यक देखिन्छ ।
दोश्रो प्राथमिकतामा, दायाँ किनारामा राप्तीसोनारी–१ (लौकी, चपरगौरी), राप्तीसोनारी–२ (मधुवा, शमशेरगंज) र राप्तीसोनारी–४ (टिकुलीपुर) मा करिब ७.७ किलोमिटर तटबन्ध बनाउनुपर्ने आवश्यकता छ ।
बायाँ किनारामा भने राप्तीसोनारी–१ (सुनखरे, दोखरे, भबनियापुर, भम्का), राप्तीसोनारी–४ (लालपुर, भगवानपुर, ललही), राप्तीसोनारी–५ (चाचारफर्का) र राप्तीसोनारी–६ (इन्टेक, ढलैया) मा करिब १०.६ किलोमिटर तटबन्ध निर्माण आवश्यक देखिएको छ ।
तटबन्धको अवस्था मूल्यांकन गर्दा, दाङमा दायाँ करिब २१.४ किलोमिटर र बायाँ करिब ३५.६ किलोमिटर तथा बाँकेमा दायाँ करिब ११.७ किलोमिटर र बायाँ करिब २५.४ किलोमिटर पक्की तटबन्ध निर्माण भइसकेको पाइएको छ ।
अझै दाङमा पहिलो प्राथमिकताअन्तर्गत १७.२ किलोमिटर (दायाँ) र १२.१ किलोमिटर (बायाँ) तथा दोस्रो प्राथमिकताअन्तर्गत ४.९ किलोमिटर (दायाँ) र ४.४ किलोमिटर (बायाँ) गरी कुल करिब ३८.६ किलोमिटर तटबन्ध निर्माणको आवश्यकता देखिन्छ ।
त्यस्तै, बाँकेमा पहिलो प्राथमिकताअन्तर्गत १२.९ किलोमिटर (दायाँ) र ११.३ किलोमिटर (बायाँ) तथा दोस्रो प्राथमिकताअन्तर्गत ७.७ किलोमिटर (दायाँ) र १०.६ किलोमिटर (बायाँ) गरी कुल करिब ४२.५ किलोमिटर तटबन्ध निर्माण आवश्यक रहेको छ ।
प्रारम्भिक अनुमानअनुसार, दाङमा प्रतिकिलोमिटर करिब १३–१६ करोड रुपैयाँका दरले करिब ५.६ अर्ब रुपैयाँ, र बाँकेमा प्रतिकिलोमिटर करिब १५–१८ करोड रुपैयाँका दरले करिब ७.१ अर्ब रुपैयाँ लागत लाग्ने देखिन्छ ।
यस सर्भेले नदीसँग प्रत्यक्ष सम्पर्कमा रहेका बस्ती, कृषि भूमि, सार्वजनिक संरचना तथा पूर्वाधारहरूमा डुबान र कटानका सम्भावित जोखिमहरूलाई सूक्ष्म अवलोकन गर्दै व्यवस्थित रूपमा अभिलेखित गरेको छ ।
यसले न केवल जोखिम मूल्याङ्कनमा सघाएको छ, तर भविष्यका योजना, संरक्षण तथा पूर्वाधार विकासका लागि महत्वपूर्ण आधार पनि तयार गरेको छ । सर्भेबाट प्राप्त जानकारीले देखाउँछ कि नदी नियन्त्रण र व्यवस्थापनका लागि कटान, पटान र डुबानको अवस्था, खेतियोग्य जमिन र बस्ती विस्थापन तथा पुनर्स्थापनाका मुद्दा र त्यसले स्थानीय जनजीवनमा पार्ने प्रभावको पहिचान अनिवार्य छ ।
प्रभावित समुदायको जीविकोपार्जनलाई समेट्दै, स्थानीय सन्दर्भमा स्वीकार्य, दिगो र स्थायी समाधानका लागि योजनाबद्ध र एकीकृत नदी व्यवस्थापन प्रणालीको विकास अपरिहार्य छ ।
यिनै आधारमा, आवश्यक सूचना, तथ्यांक र प्राथमिकताको पहिचान गर्दै दीर्घकालीन गुरुयोजना तयार गर्न, विशेषज्ञता, अनुभव र ज्ञानसहितको उच्चस्तरीय विज्ञ टोली संलग्न रिभर एसेट इनभेन्टरी सर्भे परिकल्पना गरिएको हो । यस सर्भेले भविष्यमा पश्चिम राप्ती नदी व्यवस्थापनलाई वैज्ञानिक, समावेशी र रणनीतिक दिशामा अघि बढाउने एक सशक्त आधार बन्ने अपेक्षा गरिएको छ ।
(जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर सुवेदीले नेशनल ग्राजुएट इन्स्टिच्युट फर पोलिसी स्टडी जापानबाट बाढी, डुबान, कटान र पटानबाट हुने जोखिम तथा क्षति आकलन तथा मूल्यांकन विषयमा विद्यावारिधि गरेका छन् ।)
प्रतिक्रिया 4