+
+
Shares

६ महिनाको उमेरमै ‘लिंग’को शल्यक्रिया गरिदिए, छोरी भनी हुर्काए

पुरुष शौचालयमा प्राय बाहिरै उभिएर पिसाब गर्ने व्यवस्था हुन्छ । यसले उनलाई असहजता हुन्छ । महिला शौचालयमा छिर्दा बाहिरी रूप नमिलेका कारण प्रश्नहरू झेल्नुपर्छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ पुष २ गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाग्लुङका चेतन कँडेललाई जन्मदा लिंग स्पष्ट नभएपछि शल्यक्रिया गरी छोरीको रूपमा हुर्काइएको थियो।
  • चेतनले २५ वर्षमा आफू इन्टरसेक्स भएको थाहा पाएर पुरुष पहिचान अपनाए ।

बाग्लुङका चेतन कँडेल जन्मदा के थिए ? न छोरा, न छोरी । यस्तो सन्तानलाई के भनी सम्बोधन गर्ने ? बुबाआमासँग जवाफ थिएन । उनीहरूले बच्चाको उपचार गराउन काठमाडौं ल्याए । बच्चाको ‘लिंग निर्धारण गर्ने’ शल्यक्रिया गरियो । त्यसबेला उनी ६ महिनाको काखे बच्चा थिए ।

द्विआयामी लिंग–धारणाले उनी ‘छोरी’ को रूपमा हुर्कनुपर्‍यो । ठूलो क्लिटोरिस काटियो, कृत्रिम भजाइनल संरचना बनाइयो । चिकित्सकले भने, ‘अब उनी छोरी नै हुन्छिन् ।’ सरकारी काजगातमा उनको लिंग लेखियो, ‘महिला ।’

बुबा शिक्षक भएकै विद्यालयमा पढ्न थालिन् । बुबाको कारण उनलाई त्यहाँ त्यति असजिलो भएन । तर समाजले उनलाई असजिलो बनाइदियो, ‘तेस्रो लिंगी’ भनेर । उपेक्षा र अपमानसँगै हुर्किइन् उनी।

स्कुलमा छोरीहरूको समूहमा बसेका चेतनलाई कहिल्यै सहज लागेन । बाहिर उनी ‘केटी’ थिए, तर भित्र न त त्यस्तो भाव नै थियो न त्यस्तो पहिचान । किशोरावस्थामा उनलाई झनै गम्भीर समस्या देखियो । स्तन विकास भएन, महिनावारी आएन, बरू स्वर धोत्र हुँदैगयो, दाह्री–जुँगा उम्रिन थाल्यो, शरीर पुरुषजस्तै बन्दै गयो ।

यो परिवर्तनले उनी बढी अलमल परे, किनकि बाहिरी कागजातले उनलाई ‘महिला’ बनाइरहेको थियो तर शरीरले पुरुषको गुण देखाइरहेको थियो ।

यही द्वन्द्वकै कारण चेतन कहिल्यै अतिरिक्त गतिविधिमा खुलेर सहभागी हुन सकेनन् । साथीहरूसँग घुलमिल हुने, मञ्चमा बोल्ने, खेलकुदमा भाग लिने यी सबै कुरामा उनी झस्किन्थे । जसोतसो पढाइलाई मात्र सम्हालेर अघि बढे ।

काठमाडौँ आएपछि पनि पहिचानको खोज

प्लस टू सकेपछि काठमाडौं झरेका चेतनले ब्याचलर र मास्टर्स पढ्दा समेत बाहिरको रूप मिलोस् भनेर लामो कपाल र महिलाको पोशाकमै आफूलाई प्रस्तुत गर्नुपर्‍यो । तर उनले भित्रैदेखि महसुस गर्ने असहजता कहिल्यै घटेन ।

सडकमा हिँड्दा, कलेजको क्यान्टिनमा, सार्वजनिक शौचालयमा-जहाँ–जहाँ गए पनि अपमान, हेपाहा व्यवहार र प्रश्नहरूको सामना गर्नुपर्‍यो । कहिलेकाहीँ त उनको आवाज, शरीर र कागजात नमिलेको कारण जागिरको अन्तर्वार्तामै ‘यो त नक्कली मान्छे हो’ भन्ने टिप्पणी सुन्नुपर्थ्यो । कागजातको पहिचान र शरीर बीचको द्वन्द्वले उनले पाउन सक्ने कैयौँ अवसर गुमे ।

त्यतिबेलासम्म चेतनले आफूलाई ट्रान्सम्यान नै होला भनेर बुझ्दै आएका थिए । प्राइड मार्चमा पनि सहभागी भए, तर उताका ट्रान्सम्यान साथीहरूका अनुभवसँग आफ्नो कथा नमिल्दा उनी झनै अनौठो महसुस गर्थे ।

इन्टरसेक्स भन्ने शब्द थाहा त थियो, तर नेपालमा यसको सही अर्थ, यसको विविधता र इन्टरसेक्सहरूको अधिकारबारे सार्वजनिक जानकारी लगभग शून्य थियो ।

पहिचान पत्ता लागेको क्षण

सन् २०२४ को जुन महिनामा उनले इन्टरसेक्स एक्टिभिस्ट इसान रेग्मीको एउटा फेसबुक पोस्ट देखे । त्यही पोस्टले पहिलोपटक चेतनलाई आफूजस्तै अनुभव बोकेका अरू पनि धेरै मानिसहरू नेपालमै रहेको जानकारी दियो ।

इसानसँग भेटेर विस्तृत रूपमा कुरा गरेपछि चेतनले २५ वर्षको उमेरमा जीवनकै सबैभन्दा महत्वपूर्ण खोज पूरा गरे आफू इन्टरसेक्स हुँ’ भन्ने थाहा पाए । यो पहिचानले उनीभित्र दशकौँदेखि चलिरहेको पीडा, डर, असहजता र द्वन्द्वको उत्तर मिल्यो।

शल्यक्रियाको कडा वास्तविकता

१८–१९ वर्षको उमेरमा मात्रै चेतनले परिवारसँग सोधेर ६ महिनाको उमेरमा आफूलाई शल्यक्रिया गराइएको थाहा पाए । जब २०२४ मा त्यही अस्पताल गएर पुरानै डाक्टरलाई भेटे, डाक्टरको सल्लाह थियो ‘हर्मोन खाएर केटी बन्नुस् ।’

तर चेतनले स्पष्ट जवाफ दिए ‘म भित्रैदेखि छोरीको जस्तो महसुस गर्दिन। किन जबरजस्ती हर्मोन खाएर शरीर बिगार्नु ?’ परिवारले अहिले उनलाई पूर्णरूपमा स्वीकार गरिरहेको छ । उनीहरू चेतनको पहिचान बुझेर साथ दिइरहेका छन् ।

ब्याचलरको छैटौँ सेमेस्टरमा चेतनले कपाल काटेर पुरुष पहिचानलाई खुलेर अपनाए । अहिले छोटो कपाल, पुरुषको पोशाकमा उनी आत्मविश्वासका साथ जीवन अघि बढाइरहेका छन् ।

तर सबै समस्या सकिएका छैनन् । सबैभन्दा ठूलो समस्या सार्वजनिक शौचालय भएको छ । पुरुष शौचालयमा प्राय बाहिरै उभिएर पिसाब गर्ने व्यवस्था हुन्छ । यसले उनलाई असहजता हुन्छ । महिला शौचालयमा छिर्दा बाहिरी रूप नमिलेका कारण प्रश्नहरू झेल्नुपर्छ ।

नेपालमा इन्टरसेक्स–फ्रेन्ड्ली संरचना वा सार्वजनिक शौचालय नभएकै कारण उनीजस्ता धेरैले यस खालका असहजता भोग्नुपरिरहेको छ । सानैमा गरिएको अनावश्यक शल्यक्रियाले मेरो शरीर र मन दुवैलाई अपुरणीय क्षति पुर्‍याएको चेतन बताउँछन् । ‘चिकित्सक र अभिभावकलाई ‘इन्टरसेक्स बच्चालाई जस्ताको तस्तै हुर्काउन सकिन्छ’ भन्ने ज्ञान त्यतिबेला थिएन’ चेतन भन्छन्, ‘दुर्भाग्य, अहिले पनि धेरै डाक्टरहरूको सोच त्यही पुरानै छ ।’

विश्वका धेरै देशले इन्टरसेक्स शिशुमा गरिने अनावश्यक शल्यक्रिया रोक्दैछन्, तर नेपालमा यसबारे न त कानुन छ, न चिकित्सकहरूको नियमित प्रशिक्षण । चेतन भन्छन् ‘हामी इन्टरसेक्स व्यक्तिहरू पुरुष वा महिला नै बन्नैपर्छ भन्ने छैन । हामीलाई हाम्रो अस्तित्वमा बाँच्न दिनुपर्छ ।’

चेतन अहिले इन्टरसेक्स समुदायको सचेतना र अधिकारका लागि सक्रिय छन् । उनी भन्छन्, ‘म एक्लो रहेनछु, म जस्ता धेरै साथीहरू छन् भन्ने थाहा पाएँ । अब हामी बोल्नुपर्छ, हाम्रो अस्तित्व लुकाउनु हुँदैन ।’

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?