नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा मंगलबार ‘कम्युनिस्ट पार्टी नेपाल’ नामको दल दर्ता निवेदन निर्वाचन आयोग पुगेको छ । १० वर्ष लामो सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादी र त्यसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड संसदीय आहालमा भासिएको आरोप लगाउँदै मोहन वैद्य किरणको नेतृत्वमा विप्लप लगायत एउटा समूह २०६९ सालमा बाहिरिएका थिए ।
पछि वैद्यको नेतृत्वमा क्रान्ति अगाडि नबढ्ने निष्कर्ष निकाल्दै विप्लव नेतृत्वको समूहले सशस्त्र संघर्षकै बाटो रोजेको थियो । १२ वर्षपछि उनै विप्लव प्रतिनिधिसभाको चुनाव लड्ने तयारीमा लागेका हुन् ।
हाल कम्युनिस्ट पार्टी नेपालका महासचिव रहेका उनै विप्लव समयअनुसारको नीति लिइएको जिकिर गर्दै भन्छन्, ‘हामीले लिएको निर्णय परिस्थितिसापेक्ष हुन्, सही छन् ।’
चुनाव लड्दै कम्युनिस्टहरूलाई एकीकृत गर्दै नेतृत्व लिने बताउने उनै विप्लवसँग अनलाइनखबरकर्मी रघुनाथ बजगाईंले गरेको कुराकानी :
यहाँहरू लामो समयसम्म संसदीय राजनीतिको विरोधमा उभिनुभयो । दल दर्ताको निवेदन दिएर अब संसदीय राजनीतिमा फर्किनुभएको हो ?
हामीले संसदीय राजनीतिको पूरै विरोध गरेको होइन । संसदीय व्यवस्थाले देशको नेतृत्व गर्न सक्दैन भनेको हो । त्यो यथावतै छ । तर, संसदीय व्यवस्थालाई जनताको पक्षमा प्रयोग गरेर जानेमा हामी पहिलेदेखि नै स्पष्टै हो । संसदीय व्यवस्थाभित्र पनि जनताको पक्षमा प्रयोग गरौँ भन्दा नमिलेको मात्रै हो । अरूमा, यसलाई प्रयोग गरेर जानुपर्छ भन्नेमा हाम्रो सहमति नै हो ।
यो संसदीय व्यवस्थाको प्रयोग ठीक भएन भनेर १२ वर्षअगाडि प्रचण्ड नेतृत्वको पार्टी छोडेर हिंड्नुभएको थियो । त्यतिबेला र अहिलेको बुझाइमा के फरक छ ?
त्यतिबेला पनि सदन, सरकार र जनतालाई एकीकृत ढङ्गले सञ्चालन गर्नुपर्छ भन्ने थियो । भर्खरै संसद् र सरकारलाई परित्याग गर्दा जनताले त्यो कुरा बोध गर्ने स्थिति रहँदैन भन्ने हाम्रो कुरा थियो । आज पनि हाम्रो त्यही नै हो । मात्रै संसदमा जनताका विषय कसरी उठाउने, सरकारमा बसेको बेलामा कसरी कामहरू गर्ने र हामी जनता र राष्ट्रप्रति समर्पित छौँ भनेर जनताले बुझ्ने गरी कसरी काम गर्ने भन्नेमा हाम्रो असहमति हो ।
सँगै, केही कानुन निर्माणमा पनि हाम्रा असहमतिहरू थिए । त्यसैले हामी अलग भएका थियौं । तर, सरकारमा गएको र संसदमा भएको कारणले मात्रै हामी अलग भएको होइन ।
फागुन २१ को चुनाव त लड्नुहुन्छ नि ?
चुनाव हुने विश्वासिलो आधारहरू निर्माण गर्नुपर्छ । यहाँले सुनिराख्नुभएको छ कि राज्य नै चुनाव गराउने एउटा आधारमा उभिन सकेको छैन । दोस्रो, अहिले भर्खरै जेनजी विद्रोहपछि जसरी हतियार बाहिर गएका छन्, त्यसले सबै मान्छेलाई आतंकित, त्रसित बनाइरहेको स्थिति छ । राजनीतिक दल, व्यक्तित्व, व्यवसायीहरू यसमामा सहभागी छैनन् । विश्वासिलो वातावरण नभएको स्थितिमा कसरी चुनाव हुन्छ भन्ने कुरा छ, यसकारण वातावरण बनेको छैन ।
चुनावी वातावरण बन्यो भने यहाँहरू चुनावमा होमिनुहुन्छ ? योभन्दा अगाडि नै किन चुनाव लडिएन भन्ने मनमा पर्छ कि पर्दैन होला ?
हामी २०६४ सालमा एकीकृत हुँदा, माओवादी नै रहँदा नै चुनाव लडेर जितेर पनि आएका हौँ । त्यतिबेला संसद् र सरकारमा काम गर्ने र जनतालाई जोड्ने, साँच्चै नै परिवर्तनको अनुभूति दिलाउने गरी राजनीतिक काम गर्नेमा हाम्रो नमिलेकोले हामीले अलग भएको हो ।
अब फेरि एकचोटी साँच्चै नै जनताका विषयलाई उठाउने गरी चुनावलाई प्रयोग गरौँ त भन्ने हो ।
२०६९ सालमा पार्टी छोडेर सशस्त्र क्रान्ति भनेर चुनाव बहिष्कार गर्नु कमजोरी भएछ भन्ने अनुभूति छ ?
होइन, होइन । परिस्थितिसापेक्ष (निर्णय थियो), कमजोरीको कुरा भएन । परिस्थितिसापेक्ष हामीले निर्णय लिएको हो । अब अहिले फेरि तपाईंले उठाउनुभएको कुरातिर नजाऊँ । अब चुनावको विश्वासिलो आधार बन्यो भने हामी चुनावमा जाने नै हो ।
तर, हामीले भनेका छौँ, राजनीतिक शक्तिसहितको एउटा उच्चस्तरीय संरचना नबनेसम्म चुनाव हुने वातावरण छैन । सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।

अब क्रान्तिका बाँकी कार्यभार संसद्बाटै पूरा गर्ने ?
संसद्बाट मात्रै होइन । यो जनता, उनीहरूको तागत र भूमिकालाई पनि निरन्तर संसद् र सरकारसम्म जोडेर मात्रै क्रान्तिका बाँकी कार्यभार पूरा हुन्छ ।
संसदीय व्यवस्थाको प्रयोगबारे प्रष्ट कुरा नभनेरै अगाडि बढ्दा चुनावमा जनताले पत्याउँछन् त फेरि ?
संसदीय व्यवस्थाले गर्न सकेन भनेर जनताले त अहिले प्रत्यक्ष निर्वाचन र संविधान पुनर्लेखनको माग गरिरहेका छन् । आर्थिक क्षेत्रमा पनि एउटा क्रान्तिको माग भइरहेको छ । राष्ट्रिय स्वाधीनताको क्षेत्रमा जनताका फरक प्रस्तावहरू छन् । त्यसैले त्यो मात्रै भनेर जनताले मत दिने भन्ने कुरा होइन । यो सबैलाई एकीकृत गर्यो भने जनताले मत दिनुहुन्छ ।
जेनजी आन्दोलनमा शासकीय स्वरूप र संविधान संशोधनको विषय पनि उठेको छ । यी विषय कसरी सम्बोधन गर्ने सोच्नुभएको छ ?
हामीले त पहिलेदेखि नै स्पष्ट गरेका छौँ । संविधानमा अपूर्णताहरू छन् । त्यसलाई पूर्णता दिनेगरी पुनर्लेखन गर्नुपर्छ । राज्यका कैयौँ अङ्गहरू, क्षेत्रहरू वास्तवमा पुनर्गठन, पुनर्संरचना नै भएको छैन । त्यसैले राज्यको पुनर्संरचनालाई पूर्णता दिनुपर्छ ।
संविधान संशोधन गर्दा यी सम्पूर्ण क्षेत्रलाई समेट्ने गरी गर्नुपर्छ भन्ने हाम्रो मत छ । त्यसपछि मात्रै शासकीय स्वरूपको कुरा आउँछ । अहिले त्यत्तिकै बीचमा संविधान संशोधन नगरेसम्म, संविधानको पुनर्लेखन नगरेसम्म त शासकीय स्वरूप परिवर्तन कसरी हुन्छ र ?
भनेको शासकीय स्वरुप कस्तो बनाउने भन्नेमा तपाईंहरू प्रष्ट हुन बाँकी नै छ ?
हामी त प्रष्ट छौँ नि ! हामीले त प्रत्यक्ष भनेका छौं । तर पहिला सर्वपक्षीय अन्तरिम सरकार बनाउनु पर्यो । त्यसको कार्यकारी र विशेष अधिकार प्रयोग गरेर संविधानको संशोधन गर्नु पर्यो । संविधान संशोधन गरेपछि संविधानलाई पुनर्लेखन गर्नुपर्यो । त्यो पुनर्लेखनको स्पिरिटमा शासकीय स्वरूप परिवर्तन गरेर राज्यका संरचनालाई पनि विश्वालिलो ढङ्गले यो परिवर्तित व्यवस्थाअनुरूप पुनर्संरचना गरेर जाँदा प्रत्यक्ष कार्यकारी प्रमुखमा जानुपर्यो । यसमा हाम्रो स्पष्ट दृष्टिकोण छ ।
कार्यकारी प्रमुख प्रधानमन्त्री कि राष्ट्रपति ?
त्यो त जे गरे पनि हुन्छ, त्यो फरक पर्दैन । तर प्रत्यक्ष हुनुपर्छ । तर, यो व्यवस्थाका सबै अङ्गहरूलाई पुनर्संरचना गरेर, त्यसपछि संविधानमा सुस्पष्ट पुनर्लेखनको व्यवस्था गरेर मात्रै यो सम्भव हुन्छ ।
समाजवादी मोर्चामा रहेका दलहरू पार्टी एकताको विषयमा छलफलमा हुनुहुन्थ्यो । तपाईंहरू दल दर्तातिर लाग्नुभयो । त्यो एकताको प्रक्रिया भाँडिएको हो कि बाँकी छ?
होइन, हामीले त ‘न्यु कम्युनिस्ट सेन्टर’ निर्माण गर्नुपर्छ भनेर सबै पार्टीका नेताहरूलाई प्रस्ताव पनि गरेका छौँ । अन्तरक्रिया पनि चलिराखेका छन् । बुद्धिजीवी साथीहरूसँग पनि छलफल छ र सबैको सकारात्मक सुझाव छ, सहमति पनि छ । तर, यसलाई पूर्णता दिन केही समय लाग्छ ।
भनेको एकीकृत समाजवादी, माओवादी केन्द्रसहित तपाईंहरूको एकताको सम्भावना अझै बाँकी छ ?
त्यो मात्रै होइन, हामीले एमाले, अरू वामपन्थी कम्युनिस्ट पार्टीहरूसँग पनि छलफल गर्ने विचार गरेका छौँ । अहिले हाम्रो निष्कर्ष छ– एउटै कम्युनिस्ट केन्द्र बनाउने सम्भावना नेपालमा पैदा भएको छ । र, त्यसको लागि एउटा सचेत पहल पनि हामीले गर्नुपर्नेछ ।
तर, धेरै चीजहरू हाम्रा पुराना भइसकेका छन् । ती पुराना कुराहरूलाई फेरेर जनताको भावना, अपेक्षा, सुझावअनुसार एउटा कम्युनिस्ट केन्द्र बनाउनेतर्फ हामीले कोसिस गर्नुपर्छ । त्यसैले अहिले यो पार्टी, त्यो पार्टी नभनौं । त्यहाँ पनि छलफल छ, समाजवादी मोर्चाका साथीहरूसँग पनि छलफल छ ।
तपाईंले आफैँलाई अध्यक्ष दिने भए एकता हुन्छ नत्र हुँदैन भन्नुभयो रे ?
मैले कहिले पनि त्यसो भनेको छैन । तपाईंलाई त्यसो भनेको छु र मैले ?
होइन भने खण्डन गर्न सक्नुहुन्थ्यो नि ?
अब हेर्नुस्, पार्टी एकताका लागि पहिला दृष्टिकोण चाहियो, नीति चाहियो । त्यसपछि पुनर्गठनको कुरा आयो, नयाँ निर्माण गर्ने कुरामा सहमति भएपछि नेतृत्वको कुरा पनि महत्त्वपूर्ण छ । त्यो कुरा हो । तर, पहिले अध्यक्ष देऊ अनि एकता गरौँला भनेको कुरा बाहिर प्रचारमा आएको मात्र हो । त्यो सत्य होइन ।
तपाईंले म अब कम्युनिस्ट आन्दोलन हाँक्न सक्छु भन्ने कुरा पनि त अन्यथा रहेन नि !
अवश्य । त्यो व्यक्तिगत कुरा पनि भएन । त्यो त देशको, त्यसपछि एउटा आन्दोलनसँग सम्बन्धित कुरा नै भयो । यदि विश्वास गर्नुहुन्छ सबैले ‘ल, गर्नुस् न त’ भन्नुभयो भने सबैको शक्ति, क्षमता, बुद्धि विवेकलाई केन्द्रित गरेर जान सकिन्छ । तर, योभन्दा अर्को उत्तम विकल्प हुन्छ भने त्यासमा पनि हामी तयारै हुन्छौं । यो पछिको कुरा हो । पहिले एउटा कम्युनिस्ट केन्द्र निर्माण गर्ने हो । त्यसका नीति, कार्यक्रम, विचार, कार्यदिशाका लक्ष्यहरू तय गर्ने हो । त्यसपछि संगठनका कुराहरू आउँछन् ।
प्रतिक्रिया 4