प्रिय पाठक ! यो आलेखमा अगाडि बढ्नुअघि एक कदम पछाडि फर्कन अनुमति चाहन्छु – पाण्डव विष्टको पहिलो भाग पढेर दोस्रोमा आइपुग्दा हजुरलाई थप रसिक लाग्न सक्छ । यदि छुटाउनुभएको छ भने त्यसमा पाण्डवले सविस्तार लगाएका युद्धकालीन आततायी यादहरूलाई मैले अक्षरमा बिस्कुनसरी बिछ्याएको छु । जहाँबाट संगीतका सरसराहटसँगै गोली र बारुदका गन्धहरू तपाईंका नाकका पोरा पर्पराउन आइपुग्न सक्छन्, जागरुक विचारोत्तेजक गीत र बाजाहरूमा लागेका रगतका छिटाहरूले तपाईंलाई सिरिङ्ग–सिरिङ्ग पार्न सक्छन् । र, पार्न सक्छन् आफ्नै भूमिमा घटित अतीतले उद्वेलित । आगे तपाईंकै मर्जी । खैर, आउनुस् अब मानव सेवा आश्रममा दिन गनेर जीवन धकेलिरहेका देउडा तथा जनवादी गायक पाण्डवका बाँकी अनुभूतिका तरेलीहरूमा घुस्रिऔं !
कमरेड पाण्डव खै ?
सभामा हलचल मच्चियो । डोटीको आमसभा सकेर खाना खाएपछि अतिथि पाण्डव कतै देखिएनन् । भेटिएनन् । माओवादी कार्यकर्ताहरूले ट्युबलाइट बालेर अँध्यारोमा धुइँपत्ताल छाँद मारे । उनीहरूले सुत्ने कोठामा पाण्डवले बोक्ने केही थान बाजाहरू मात्र फेला पारे ।
१७ वर्षकै उमेरमा सामना सांस्कृतिक परिवारको केन्द्रीय सदस्य बनेका पाण्डव सर्वाधिक खोजिने कलाकार थिए । किनभने उनी गायनमा मात्र नभएर हार्मोनियम वादनमा पनि पारंगत थिए । पार्टीले कलाकारको तीन वटा प्लाटुनको बटालियन बनाएको थियो । पाण्डव आफ्नो प्लाटुनका प्रशिक्षक थिए । सुरक्षाका बीच उनले बाजाहरू साथै लिएर हिंड्थे । जसलाई त्यहीं बिसाएर उनी बाटो लागेका थिए ।
अनि, खै त कमरेड विम्ब (परिवर्तित नाम) ?
त्यो अँध्यारोमा १६ वर्षीय क. विम्ब पनि लापत्ता थिइन् । सेती महाकाली विभागमा सक्रिय क्षेत्रीय कलाकार विम्ब गाउनकै लागि बझाङबाट डोटीको क्षेत्रीय महिला भेलामा झरेकी थिइन् । पाण्डव र विम्बको अत्तोपत्तो नलागेपछि भागेको निष्कर्षसहित माओवादी कार्यकर्ता कैलाली लाग्ने बाटोतर्फ खोजीमा निस्कियो । तर, परपरसम्म ती कमरेडको जोडी फेला परेन ।
०००
२०६१ सालमा सरकार–माओवादी द्वन्द्व उत्कर्षमा थियो । तत्कालीन राजा ज्ञानेन्द्रले संकटकाल लगाएर देशमा सेना परिचालन गरेका थिए भने ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ दर्जनबाट दीक्षित माओवादीले शाही नेपाली सेनाको ब्यारेक आक्रमणलाई तीव्र पारेको थियो । हतियारधारी ‘जनमुक्ति सेना’ मात्र होइन संगीतधारी जनवादी कलाकार परिचालन कम आक्रामक थिएन । सामना परिवारका केन्द्रीय सदस्य क. पाण्डवको धपेडी उग्रै थियो । पार्टीको निर्देशन बमोजिम उनी एक महिने सांगीतिक प्रशिक्षणको निम्ति बझाङ पुगेका थिए । बझाङ, बैतडी र दार्चुलामा सक्रिय अपि–सैपाल सांस्कृतिक टोलीलाई पाण्डवले संगीत र हार्मोनियमको प्रशिक्षण दिंदै थिए भने नृत्य र गितार प्रशिक्षक कमरेड प्रमोद (रामबहादुर साउद) थिए । पाण्डव सम्झन्छन्, ‘पछि सेनामा प्रवेश गर्नुभएका क. प्रमोद खारा आक्रमणमा शहादत हुनुभयो ।’

सांस्कृतिक शिविर थियो – बझाङको भार्सेनमा । हिउँदे सिरेटोमा बन्द विद्यालयमा शिविर सञ्चालित थियो । प्राङ्गणमा खानाको मेस । जहाँ गाउँबाट संकलन गरेका र केही बजारबाट ल्याएका अन्नलाई माओवादी कार्यकर्ताले दाउरा बालेर पकाइरहेका हुन्थे । प्रशिक्षण लिन ११ जनाको तीन टोली कलाकार सहभागी थिए । खाना तयार पार्ने र सहयोगी सहित ६० जना भन्दा बढीको सांस्कृतिक शिविर थियो, त्यो । छाडिएका–भत्किएका पुराना घर र गोठहरूलाई सुत्ने सेल्टर बनाइएको थियो । ओढ्ने ओछ्याउने पनि गाउँलेहरूबाटै जोहो गरिएको थियो । तीन टोलीलाई क. पाण्डवले सरगम र जनमुक्तिका गीतबारे प्रशिक्षण दिइरहेका थिए :
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्डाउँदै
तिमी भन्छौ,
गाऊ न त गाऊ
तर, यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं…
वैचारिक रूपमा कटिबद्ध पाण्डव जैविक उटारचढावको चरणमा थिए । विचारका गुच्छाहरूमा भाका हाल्ने पाण्डवका मनमा बैंसका फूल फुल्न थालेका थिए । सांगठनिक संरचनामा माथिल्लो श्रेणी चुमेका उनी युवतीप्रति आकर्षणको पहिलो खुड्किलो उक्लँदै थिए । उनको आकर्षणको धारिलो तीर कमरेड विम्बको मुटुमा पुगेर रोपियो । प्रशिक्षार्थी विम्बका घातक जवाफी नजरले पाण्डवका प्रेमिल हृदयमा लय हाल्न थाले । विम्बले भेउ पाउने गरी प्रशिक्षार्थी कलाकारहरू बीच पाण्डवले आत्मीयतामा भेद गर्न थाले । मेसमा मिठो–चोखो पाक्दा विम्बले पाण्डवको भागमा अलिकति हात माथि पारिदिन थालिन् । हप्ता एक उनीहरूले इशाराले काफी बात मारे । इशारामै ‘अन्तर–द्वन्द्वात्मक प्रेमवाद’ चलाए ।
यसरी सधैं कसरी हुन्छ ? पाण्डवले भूमिगत जुक्ति जुराए । विम्बहरू धारामा गएको छेको छोपेर उनी पनि नुहाउने निहुँले साथी सहित उतै लागे । साथीमार्फत विम्बलाई निम्तो पठाए । विम्ब–पाण्डवले एकलासमा एकअर्कालाई लाल सलाम ठोके र जोसिलो हात मिलाए । पाण्डव खित्काउँछन्, ‘त्यतिबेला कमरेड लालसलाम गर्ने अनि हात मिलाउने हो । चाहे ठूलो होस् चाहे सानो, चाहे सदस्य होस् वा अध्यक्ष नै किन नहोस् ! त्यसबाहेक अरू भाषा चल्दैनथ्यो ।’ औपचारिकतापछि पाण्डवले केही दिनदेखि निस्सासिएका उकुसमुकुसलाई योद्धा शैलीमा विम्बसामु फुकाउन सुरु गरे :
पाण्डव : विम्ब कमरेड ! मैले किन बोलाएको थाहा छ ?
विम्ब : थाहा छ कमरेड !
मेरो प्रशिक्षण कस्तो लाग्छ ?
अरूले दिएको भन्दा तपाईंले दिएको प्रशिक्षण धेरै राम्रो लाग्छ ।
हिजो त म आइनँ, कस्तो भयो ?
तपाईं भएन भने त केही गर्नै मन लाग्दैन ।
उसो भए म यहाँबाट गए भनें कलाकार क्षेत्रमा कामै गर्नुहुन्न ?
होइन, त्यस्तो त ।
मलाई तपाईंको आनीबानी, बेहोरा सबै ठीक लाग्छ । तपाईंलाई बेग्लै ढंगले हेर्ने गर्छु । अहिलेसम्म कतैबाट बिहे वा प्रेमको प्रस्ताव आएको त छैन ?
त्यस्तो केही छैन । यस्तो कुरै नगर्नू ।
तपाईंलाई एउटा कुरा भन्छु, स्वीकार्नुहुन्छ ठीक छ । स्वीकार्नुहुन्न यो कुरा यहाँबाट बाहिर नजाओस् । तपाईंले केही आकलन गर्नुभयो ?
अँ गरिसकें । तपाईंले मलाई माया गर्छु भन्नुभएको होला । त्यसो हो भने मैले पनि हजुरलाई माया गर्छु ।

ठीक भन्नुभयो । मैले हजुरसँग जीवन बिताउने आकांक्षा राखेको छु । तपाईंसँग जोडियो भने मेरो भविष्य बन्छ भन्ने लाग्छ । मैले भविष्यको साथी बनाउने प्रस्ताव पेश गर्न खोजें । तपाईंलाई कस्तो लाग्छ ?
ठीक छ कमरेड । त्यसका लागि म राजी छु ।
बझाङ छान्ना कि विम्ब खड्का आठ कक्षा पढ्दा पढ्दै माओवादीमा भूमिगत भएकी थिइन् । गायन मात्र नभएर उनले नृत्यमा पनि करामत देखाउँथिन । जब पाण्डवसँग पिरतीको उडान भर्न थालिन्, गायन विधामै एकोहोरिन् । तर, उनीहरूको पिरतीलाई पार्टीको नीतिले अवैध ठान्थ्यो ।
वर्जित प्रेममा रहेका उनीहरूले साउतीमै एकअर्कालाई व्यक्त गर्नुपर्थ्यो । एकान्तमा बसेर लहसिने छुट थिएन । किनकि न पाण्डव १८ वर्ष पुगिसकेका थिए न त विम्ब १७ वर्ष । युद्धकालमा १७ वर्षको केटी र १८ वर्षको केटा बीचको प्रेमलाई मात्र स्वीकारिन्थ्यो । तर, बिहेको अनुमति पाउनको लागि भने केटी २० र केटा २२ वर्ष पुगेको हुनुपर्थ्यो । कसैको मन मिलेको छ भने पार्टीमा प्रस्ताव दिनुपर्थ्यो । प्रेम, विवाह र शारीरिक सम्बन्धबारे पाण्डवले पार्टीको नीति खुलाउँछन्, ‘कुनै युवा र युवतीको आँखा जुधेको थाहा पाएमा पार्टीले स्पष्टीकरण लिइहाल्थ्यो । उमेर नपुगेसम्म प्रेमी–प्रेमिकाले एकअर्कासँग चिठी पत्र र एकान्तमा बसेर भावनात्मक सम्बन्ध राख्न त पाउँथे, शारीरिक सम्बन्ध वर्जित थियो ।’
यस्तो नीतिमा प्रतिबद्ध हुन नसकेकाहरू माओवादी छाडेर हिंडे । कतिपय कारबाही भोगेर मोर्चामै होमिए भने कतिले दिन गन्दा गन्दै सारथिलाई युद्धको मैदानमै छुटाए । हठात् दुई सैन्य कमान्डरको जोडीलाई स्मरण गर्न पुग्छन् पाण्डव । कमरेड योद्धा (अमर विश्वकर्मा)– क. कल्पना (कल्पना महरा) र कमरेड बहुवीर (कलबहादुर विष्ट)– क. बिना (बिना मगर) को जोडी ।
दुई दुवै जोडीले पार्टीमा प्रस्ताव राखेर लामो समय प्रेम सम्बन्धमा बसेका थिए । कालीकोटका अमर ब्रिगेड कमान्डर थिए भने सुर्खेतकी कल्पना बटालियन कमान्डर थिइन् । बहुवीर ब्रिगेड सहकमान्डर थिए भने जाजारकोटकी बिना कम्पनी कमान्डर । फरक फरक ब्रिगेडमा भएकाले उनीहरूले चिठीबाटै प्रेमको न्यानोपन साटासाट गर्थे । गोली बोकेर मृत्युको पथमा लामबद्ध उनीहरूले कहिले वीरताका कथा लेख्दा लेख्दै आँशु पोको पारेर पठाए त कहिले सुदूर बस्तीहरूबाट उज्ज्वल भविष्यका आशालाई खामबन्दी गरे । मोबाइल र इन्टरनेटविहीन त्यो युगमा सञ्चारको लागि माओवादीले आफ्नै हुलाक सञ्जाल विस्तार गरेको थियो । पाण्डव थप व्याख्या गर्छन्, ‘चिठी पत्रका लागि पाँच सात घण्टाको दूरीमा ठाउँ–ठाउँमा सञ्चार पोस्ट राखिएको हुन्थ्यो । एउटा पोस्टमा १२–१३ जना खटिएका हुन्थे भने रनरहरू नेता, कार्यकर्ता र सैनिकलाई चिठी पुर्याउन दौडिन्थे । आफू हुने स्थानबारे नजिकको पोस्टमा चिठी पुर्याइदिनका लागि सूचना दिनुपर्दथ्यो ।’
केही वर्षको प्रेमपछि उनीहरूले प्रगतिशील बिहे गरे । नेतृत्वको उपस्थितिमा एकअर्कालाई रातो टीका र मालाअर्पण अनि नेता कार्यकर्ताको अगाडि शपथ खाए, – ‘हामी जनताको सेवामा समर्पित हुनेछौं, जनताको समस्या समाधान गर्न तल्लीन हुनेछौं, एक मुठी सास र एक थोपा रगत रहुञ्जेलसम्म हामी जनताका अपूरा कामहरूलाई पूरा गर्न लडिरहनेछौं । हाम्रो विवाह केवल शारीरिक सम्बन्धका लागि नभएर सिंगो राष्ट्र परिवर्तन गर्ने एउटा मूल जड हो ।’
‘जनयुद्धमा सबै बिहे यसरी नै हुन्थ्यो’ क. पाण्डव ती दिन सम्झिन्छन्, ‘उनीहरू दुवै जनाको अन्तरजातीय विवाह थियो । सबैलाई सबैसँग प्रेम र विवाह गर्न छुट थियो । जनयुद्धमा जातभातको भेदभाव हुँदैनथ्यो, सद्भाव मात्र हुन्थ्यो ।’
जातीय–अन्तरजातीय बिहेको आधारमा कुटपिटदेखि हत्यासम्मका घटना देखेको मैले उनको दाबीमा एकै पटक आश्चर्य र शंका व्यक्त गरें । त्यसपछि भने पाण्डव प्रशिक्षक जस्ता सुनिए, ‘जातीय आधारमा विभेद गर्ने जस्तो न्यून चेतनास्तरको मानिस जनयुद्धमा लागेको हुँदैनथ्यो । उनीहरू किन लडेका हौं र कसका लागि लागेका हौं भन्ने कुरा सैद्धान्तिक रुपमा परिपक्व र स्पष्ट हुन्थे ।’
पाण्डवको बुझाइमा उनीहरू विचारको दृष्टिले युद्धमा हामिएका थिए न कि खान वा पैसा कमाउनका लागि । भोकभोकै लडेका हुन्थे । उनले थपे, ‘प्रकृतिसँग जोडिएको विषय बाहेक सबैलाई बदल्न सकिन्छ भन्ने थियो ।’
पाण्डवको यो आदर्श जस्तो लाग्ने वाक्यांशले मेरो मनमा स्वस्फूर्त प्रश्न जन्मायो, ज्यानको आहुति दिन तयार भएर हिंडेका माओवादी के शान्ति प्रक्रिया पछिको सहज परिस्थितिमा तीनै आदर्शलाई आत्मसात् गरेका होलान् ? के सजिलो परिस्थितिमा पुगेपछि सिद्धान्त च्युत हुँदै जान्छ ?
ती दुई जोडी विवाहपछि पनि सधैं–सँगै हुन त पाएनन् तर, कमरेड बाहुवीर र कमरेड बिनाले एक छोरालाई जन्म दिए । बाहुवीरले नै सन्तानको नाम राखिदिए – रजवीर । काखे बालकलाई छोडेर ती दुवै जोडी ७ चैत २०६० सालको म्याग्दी सदरमुकाम बेनी आक्रमणमा समाहित भए । माओवादीले बेनी कब्जा गर्यो र विजय प्राप्त गरेर घाइतेहरूलाई बोक्दै आधार इलाकातर्फ फिर्यो । तर, फर्किने जनमुक्ति सेनाको धुइरोमा क. योद्धा र क. बाहुवीर थिएनन् ।
पाण्डव सुनाउँछन्, ‘आफ्नो जीवनसाथीको शहादत भएको कुरा कल्पना र बिनाले केही दिनपछिको श्रद्धाञ्जली सभामा मात्र थाहा पाउनुभयो । कमरेड योद्धा र बाहुवीर युद्धस्थलमै माटोमा मिलेको कुराले विह्वल बने र कठोर बन्दै बदला लिने प्रतिबद्धता जाहेर गरे ।’ उनीहरू मात्र होइन बेनीमा आक्रमणको क्रममा कम्तीमा २०० जना माओवादी लडाकु, १४ सेना र १७ जना प्रहरीले ज्यान गुमाएका थिए । ती लडाइँकै क्रममा वन, पाखा र नदीहरूमा ढलेका ती कमान्डरहरूबारे पाण्डवहरूले गीत बनाएर गाउँ बेसी घन्क्याए :
यो शरीर ढल्यो साथी हो, लाल झण्डा ढल्न नदिनू
क्रान्तिका निम्ति मरेर गयो बाबालाई भन्दिनू
आमाले आँशु बगाउनु होला नरुनु भन्दिनू,
पार्टीलाई मेरो यो कमिज दिनु शहीद भो भन्दिनू,
प्यारीलाई पनि वीरता इतिहास खोज रे भन्दिनू
छोरीलाई पनि क्रान्तिको बाटो रोज रे भन्दिनू
गद्दारले धोका जनतालाई देलान्, आन्दोलन नरोक्नू,
गलामा लागोस् फाँसीको फन्दा तै पनि नझुक्नू…
०००
पाण्डव–विम्बले भने पार्टीमा प्रेमको प्रस्ताव लैजान सक्ने नैतिक धरातल थिएन । उनीहरूलाई हुलाकबाट आफ्ना खबर पठाउने अवस्था पनि थिएन । सांस्कृतिक शिविरमा रहेका उनीहरूले आफ्ना मनका कुरा कागजमा लेखेर धारा नजिकैको ढुंगाले च्यापेर सवाल जवाफ गर्थे । उनी आफ्नो त्यो चतुरता उत्साहित हुँदै सुनाउँछन्, ‘मानिसहरूलाई भनेपछि शंका हुने भएकाले कसैले थाहा नपाउने गरी ढुंगालाई हामीले सम्पर्क माध्यम बनाएका थियौं । फुर्सदको बेला हामीले त्यही ढुंगा उप्काउँथ्यो एकअर्काको जवाफ दिंदै भावी योजनाहरू बनाउँथ्यौं ।’

उनी यतिमै रोकिएनन् सँगै हुने अर्को उपाय जुराए । हरेकले कुनै न कुनै समय सुरक्षाका लागि सेन्ट्रीमा खडा हुनु अनिवार्य थियो । एक जना केटा एक जना केटी । उनले तीन जिल्लाकै कमान्डरहरूलाई भने – सेन्ट्री बस्ने तालिकामा मेरो र विम्बको सँगै राखिदिनू । प्रशिक्षकको कुरा कसले नमान्ने । सेन्ट्रीकै बेला उनीहरू जीवनका योजना बनाए, बिहे गर्ने निर्क्योलसम्म पुगे ।
शिविर सकियो । पाण्डव कैलालीका कलाकारहरूलाई प्रशिक्षण दिन कञ्चनपुरतिर हिंडे । करिब एक महिना नबित्दै उनीहरूको भेट डोटीको गाजरीमा भयो । जहाँ थियो सेती महाकालीको क्षेत्रीय महिला सम्मेलन । सम्मेलनलगत्तै डोटीमै पाण्डवको प्रशिक्षण कार्यक्रमको समेत तय भइसकेको थियो । सम्मेलनमा अतिथि बनेका पाण्डवसँगै विम्ब, उषाकिरण, डम्बर रोकाय राकेश, अनुग्रा लगायतले आफ्नो प्रस्तुति दिए :
उठौं है दिदी बहिनी मुठ्ठी कसेर
असमानताको कालो बादल जञ्जिर तोडेर
होइनौं है दासी हामी किन यस्तो दमन हो
बुझौं है सामन्तले चलाएको कानुन हो
चुलो चौको सिन्दुर पोते होइन हाम्रो संसार
आधा आकाश आधा धर्ती समानताकै अधिकार…
हो हो हो हो हो आहई…
सबै कलाकारका समूहले पाण्डवसँगै रिहर्सल गर्नुपर्थ्यो, मुख्य हार्मोनियम वादक उनै थिए । अतिथि भएकाले प्रशिक्षण पनि सुन्नुपर्ने । उनीहरूले साँझको खाना खाने बेला खुसुक्क भाग्ने योजना बनाए । पाण्डवले कान फुकेका थिए कि बर्दियामा मेरो कान्छो बुबा हुनुहुन्छ । त्यतै गएर बसौंला । दिनभरको कार्यक्रम सकिएपछि पाण्डवले विम्बको कान फुके – उनीहरू खाना खाँदै गर्छन् तिमी सुरूमै उठेर आफ्नो कपडा लिएर झरिहाल ।
उनीहरूको विचारमाथि प्रेम हावी भयो । आन्दोलनबाट बाहिरिएर गृहस्थी जीवन बिताउने निर्णयमा पुगे । अरू खान खाएर नउठ्दै उनीहरूले अँध्यारोमा छामछाम छुमछुम गर्दै एउटा गल्छेडो पार गरिसकेका थिए ।
तल खोंचमा कर्णाली नदी बगिरहेको थियो । मूलबाटो गएपछि कैलाली निस्कन्थ्यो । तर, आफ्नै कमरेडहरूले भेटाउने डरले उनीहरूले मूलबाटो छोडेर खोल्साखाल्सीको डोरो हुँदै उक्लिए । खोज्न निस्किएकाहरू ट्युबलाइट बाल्दै कैलालीतर्फ सोझिए ।
जंगलमै प्रशिक्षण चलिरहेको थियो, सेल्टर बसेका आफ्नै कमरेडहरूबाट पनि जोगिनु थियो । प्रहरी र सेनाका गस्तीहरूबाट ज्यान बचाउनु थियो । उनीहरूको अल्लारे प्रेमको बाटा निकै कष्टकर थियो । माओवादी र सरकार पक्षबाट सुरक्षित गृहस्थीको अवतरण गर्नु थियो । बाटोमा प्रहरीले भेटाइहाल्यो भने के गर्ने ? उनीहरूले सल्लाह गरे – पहिले आफूहरू सर्वसाधारण भनौंला । शंका गरेर समात्न थाल्यो भने आत्मसमर्पण गरौंला । किनकि उनीहरूले पनि देखेका थिए कि आत्मसमर्पणपछि माओवादीले सेनालाई कुनै यतना नदिएका र उल्टै बाटो खर्च हालेर फिर्ता पठाएको ।
तीन चार घण्टाको कष्टपूर्ण हिंडाइपछि उनीहरूले एउटा गोठ भेटाए र त्यहाँ खात रूपी परालको कुन्युँमा रात बिताए । पाण्डव भन्छन्, ‘हामी एक र्कामा समर्पित थियौं । वैचारिकदेखि भावनात्मक रूपमा समेत हामी एक भएका थियौं । दुवै जना कलाकारितामै भएकाले गाएर पनि जीवन अगाडि बढाउन सकिन्छ भन्ने आँट थियो ।’
अर्को दिन झिसमिसे नहुँदै उनीहरू परालको कुन्युँबाट निस्किएर बाटो लागे । उज्यालो हुँदा बिर्खेत भन्ने अर्को गाउँमा पुगिसकेका थिए । डरले उनीहरू कसैको घरमा सुत्न सकेनन्, कति ठाउँमा आफूहरू तालिममा हिंडेको माओवादी कलाकार भन्दै खाना खाए, दोकान भेटाउँदा विम्बले बिस्कुट चाउचाउ किनिन् । दिनमा लुक्थे र रातको समय खोज्दै एक ठाउँबाट अर्को ठाउँमा पुग्थे । किनकि गाउँ–गाउँमा माओवादीले जनसरकार गठन गरेको थियो र एउटा गाउँबाट अर्को वडाबाट पुग्नका लागि वडा जनसरकार प्रमुखको अनुमति लिनुपर्ने बाध्यता थियो । उनी सहायक बाटो हुँदै, कहिले भोकभोकै त कहिले पात र खर ओछ्याएर निद्रा पुर्याउँदै १३ दिनसम्म कैलाली निस्कने सुरक्षित यात्रा गरिरहे । तर, गन्तव्यमा नपुग्दै माओवादी सेनाले नाका ब्लग गरी उनीहरूलाई कब्जामा लिइछाड्यो । पाण्डव आफ्नो विगत सुनाउँछन्, ‘१३ दिनको दिन हामीलाई जनमुक्ति सेनाले बीपीनगर नाका ब्लग गरेर कब्जा गरी कठघरामा पुर्यायो । अनि कार्यालयमा लगेर पश्चिम कमान्डका देव गुरुङ, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट लगायतले सोधपुछ गर्नुभयो ।’
स्पष्टीकरणमा उनीहरू दुवैले एकै स्वरमा जवाफ दिए – हामी रुपान्तरित भएर आउँछौं र क्रान्तिको बाटोमा ऐक्यबद्ध भएर लाग्छौं । जनताको भावनामाथि कुठाराघात नगरेर अगाडि बढ्ने संकल्प गर्छौं ।
तर, उनीहरूले यत्तिकै उन्मुक्ति पाउनेवाला थिएनन् । पाण्डवलाई सामना सांस्कृतिक परिवारको निर्णयको प्रतीक्षा गर्न भनियो र क. विम्बलाई तीन महिने जनश्रम कारबाहीमा बझाङ पठाइयो । यता पाण्डवलाई जनश्रम अन्तर्गत नै अछामको रामारोशनका विद्यालयहरूमा चार महिना जनवादी गीत संगीतको तालिम दिनुपर्ने कारबाही सुनाइयो । विम्बले भने जनताको मेलापातमा सहयोग गर्नुपर्ने भयो । ‘पार्टीको नीति नियमभन्दा बाहिर गएपछि जनश्रमको कारबाही सुनाउँथ्यो, जस अन्तर्गत जनताको ट्वाइलेट बनाउने, बाटो, धारा बनाइदिने, मेलापात लगायतका काम गर्नुपर्दथ्यो’ पाण्डव थप्छन्, ‘पार्टीको कार्यक्रमका क्रममा दाउरा बोक्नेदेखि खाना बनाउने र भाँडा माझ्नेसम्मको काममा पनि जनकारबाही भोग्नेहरू नै हुन्थे ।’
असारको मौसम भएकाले विम्बलाई जनताको मेलापात गर्ने कारबाही तोकिएको थियो । पार्टीले दुई ध्रुवमा टुक्राएपछि उनीहरूको सम्पर्क टुट्यो । लज्जाबोधले पाण्डव कारबाहीपछि पुन: पार्टीमा फर्कने आँट गर्न सकेनन् । पाण्डव दुई दशक अघितिर बरालिन्छन्, ‘विम्बसँग सम्पर्कका लागि मैले कुनै सूत्र नै फेला पारिनँ । उनी खेत खन्ने, रोपाइँ गर्ने, जनताको बीचमै भइन् । म भागेर धनगढी आइपुगें अनि बम्बईतिर लागें ।’

पाण्डव माओवादीबाट बहिर्गमन भएको एक वर्षपछि माओवादी शान्ति प्रक्रिया र खुला राजनीतिमा आयो । उनी मुम्बईको कुल्ली कामबाट फर्किएर घोडाघोडीको सुख्खडका विद्यालयका विद्यार्थीहरूलाई संगीत कक्षा पढाए । देउडा गायनमा कम्मर कसे र नयाँ परिचय थपे । उनले गाएका बचपनको मुले आमा बुबा स्वर्गवासी…, भाउजूले धोयाको दाजु सुकिलो कुर्ता…, रगाड रमाइला पुल, किक्टो बस घटना…, शिक्षाको दियो…, लर्या मालु पात..लगायत दर्जंनौ देउडा र ठाडी भाका बहुचर्चित भए । पुन: तत्कालीन नेताहरूको सम्पर्कमा पुगे । कर्णाली र सुदूरपश्चिमका स्टेज कार्यक्रम र एकल साँझहरूमा व्यस्त भए त कहिले रेडियोमा सांस्कृतिक कार्यक्रम चलाए । अनि श्रोताहरूले उनलाई गहकिलो नाम दिए – कर्णालीको हिरा ।
गीतलाई आत्मामा बोकेर काठमाडौं, सुर्खेत, धनगढी, नेपालगञ्जलगायतका शहरहरूमा डुलिहिंड्ने उनले आफ्नो कुनै स्थायी ठेगाना बनाएनन् । २०७५ सालमा मोटरसाइकल दुर्घटनामा परेर उनको ढाड भाँच्चियो, बेला बेला कुलत–लतमा डुबेर आफैंलाई बिर्सिहिंडे र जीवनको मोडहरूले उनलाई अहिले आश्रम ल्याएर थन्काइदिएको छ ।
मानिसहरूले बेवारिसे सडक मानव भन्दा पाण्डव विष्ट (३८) लाई आफैंप्रति घृणा जागेर आउँछ । आफ्नै जीवन अनौठो र अन्योलग्रस्त भास जस्तो लाग्छ । सुपरिचित व्यक्तित्वहरूसँग लज्जाबोधले नजर जुधाउन नसक्दा उनी आफैंलाई चिमोट्न पुग्छन् – ‘म कसरी यति धेरै कुरुप र कलंकित हुन सक्छु ? कहाँ पुग्नुपर्ने म कहाँ आइपुगे ?’
छैन भनौं भने सुपरिचित देउडा गायकको नाम छ, रेडियोकर्मीको परिचय छ, ठूला ठूला राजनीतिक नेताहरूसँग जान पहिचान छ, आफू जन्मेको लुलु गाउँ छ, आफन्तहरू छन् । छ भनौं मानव सेवा आश्रममा दिन गनेर जीवन धकेल्नु परेको छ । चित्त बुझ्दो जवाफ नभेटेर पाण्डव आफैंलाई थपथपाउँछन् – ‘मानिसको दिमाग भनेको चर्खाको खेल हो भन्छन् । यही त होला !’
अहिले उनी मानवता प्रवर्द्धनका गीतका हरफहरू कोरी बस्छन्, आश्रितहरूको सेवामा तल्लीन हुन्छन् । तैपनि उनीसँग यथेष्ट समय बच्छ – सोच्नका लागि, सम्झनका लागि, आफ्नै भोगाइको स्मृतिमा ओहोरदोहार गरिरहनका लागि । तर, उनी जीवनदेखि थाकेका छैनन्, मनमा भविष्यका थुप्रै सृजनशील सपनाहरू सजाएका छन् । ‘हिजो देश र जनताको जीवन समर्पित गरें । बाँकी जीवन मानवता र सृजनाका लागि दिन्छु’, आत्मविश्वासका साथ यति बोलेपछि पाण्डवले आफ्नै देउडा गुन्गुनाए :
बचपनको मुले, बचपनको मुले
आमा बुबा स्वर्गवासी
बाला छोरो भुले, बाला छोरो भुले
कालले टिपेर लैगौ
दुनियाँ बिराइनो, दुनियाँ बिराइनो
आफ्नु भन्ने कोइ पनि नाइँ
आमा बुबा साइनो, आमा बुबा साइनो
ठूलै रइछ संसारमा
अझै थपेला कि, अझै थपेला कि
करिममा लाग्याको पहिरो
तिर्न सकेला कि, तिर्न सकेला कि
आमाको दूधका भारा…
प्रतिक्रिया 4