News Summary
Generated by OK AI. Editorially reviewed.- मुकबाङ कोरियन शब्द हो । यसमा होस्टले धेरै खाना खाँदै दर्शकसँग अन्तरक्रिया गर्छन्।
- नेपालमा मुकबाङ ट्रेन्ड सन् २०२० को लकडाउनपछि बढेको देखिन्छ ।
- मुकबाङले अत्यधिक जंक फुड सेवन र देखावटी खानाको कारण मोटोपन, डायबिटीज, मुटु रोग लगायत स्वास्थ्य समस्या निम्त्याउछ।
तपाईं एक छाकमा कति खान सक्नुहुन्छ ? डेढ वित्ताको पेट भर्न उति धेरै खानाको थुप्रो लगाइरहनुपर्दैन । तर, अहिले सामाजिक सञ्जालतिर चाहार्ने हो भने कतिपयले ‘बाघलाई पुग्ने खाना’ राखेर बसेको देखिन्छन् ।
सुरुमा त खानाको थुप्रै देखेर तपाईं चकित पर्नुहुन्छ । त्यसपछि तपाईंको मनमा उत्सुकता जाग्छ, ‘यतिविध्न खाना कसरी खान्छन् होला ?’ अनेक व्यञ्जनको थुप्रो लगाएर कुनै मान्छेले एकै झमटममा खान तम्तयार भएपछि आउने यस्तै जिज्ञासाहरूले ‘मुकबाङ’ ट्रेन्ड उत्कर्षमा पुर्याएको छ । पहिले कुरा गरौं, मुकबाङकै । के हो त यो ?
मुकबाङ कोरियन शब्दबाट आएको हो, जसको अर्थ अंग्रेजीमा ‘इटिङ ब्रोडकास्ट’ हुन्छ । यसमा होस्टले क्यामेरा अगाडि बसेर अत्यधिक मात्रामा खाना खान्छन्, दर्शकहरूसँग अन्तरक्रिया गर्छन् वा खानाको बारेमा बयान गर्छन् ।
यो लाइभ स्ट्रिम वा प्रि–रिकर्डेड रूपमा हुन्छ । यसमा मुख्य रूपमा जंक फूड, नुडल्स, पिज्जा, चिल्लो–पिरो स्ट्रिट फूड जस्ता आइटमहरू समावेश हुन्छन् । यस्ता भिडियोले दर्शकहरूलाई ‘भर्चुअल साथी’को अनुभूति दिन्छन्, तर यसको पछाडि लुकेका स्वास्थ्य जोखिम, मनोवैज्ञानिक प्रभाव र सामाजिक हानिहरू गम्भीर छन् ।
मुकबाङको सुरुवात र लोकप्रियता
मुकबाङको सुरुवात दक्षिण कोरियाबाट भएको हो । सन् २००९–२०१० तिर यो ट्रेन्ड सुरु भएको थियो, जसले सन् २०१४ सम्म विश्वव्यापी रूपमा फैलियो । कोरियामा बढ्दो तनाव, प्रतिस्पर्धा र एक्लो जीवनशैलीका कारण युवाहरूले एक्लै खाना खानुपर्ने स्थिति थियो, जसलाई मुकबाङले ‘भर्चुअल कम्प्यानियन’को रूपमा सम्बोधन गर्यो । खाना चपाउँदा निस्कने आवाजहरूले रिल्याक्सेसन दिन्छन् भने ठूलो मात्रा खाने च्यालेन्जहरू र फुड रिभ्यूहरूले मनोरञ्जन प्रदान गर्छन् ।
कोरियामा यो एक करिअर बनाउने विकल्प नै बनेको छ, जसबाट होस्टहरूले विज्ञापन र स्पोन्सरसिपबाट लाखौं कमाउँछन् । विश्वव्यापी रूपमा यसले लाखौं दर्शकहरू आकर्षित गर्छ, जसमा एसिया जापान, चीन, युरोप र अमेरिकासम्म फैलिएको छ ।
नेपालमा मुकबाङ ट्रेन्ड सन् २०२० को लकडाउनपछि बढेको छ । नेपाली कन्टेन्ट क्रिएटरहरूले नेपाली खानाहरू जस्तै मोमो, ढिडो, गुन्द्रुक, चटपटे, लाफिङ र पिरो चाउचाउलाई फिचर गरेर यस्ता भिडियोहरू बनाएको देखिन्छ । यो ट्रेन्डले नेपाली स्ट्रीट फूडको प्रचार गरेको छ, तर देखावटीपनलाई प्राथमिकता दिँदा स्वास्थ्य र खानाको अपव्यय बढेको छ ।
फूड ब्लगर्सहरूले भ्यूज र भाइरल हुनका लागि यस्ता भिडियो बनाउँछन्, जसले दर्शकहरूमा गलत प्रभाव पार्छ । उदाहरणस्वरूप, बनसिलामको भिडियो भाइरल भएपछि यसको मूल्य प्रतिकेजी १,००० रुपैयाँबाट बढेर ३,००० रुपैयाँसम्म पुगेको थियो, जसले अश्वस्त मार्केटिङलाई बढावा दिएको छ ।
स्वास्थ्य जोखिम
मुकबाङ ट्रेन्डले स्वास्थ्यमा गम्भीर असर पार्छ । यसमा प्रयोग हुने खानाहरूमा मैदा, टेस्टिङ पाउडरहरू मिसाइएको हुन्छ, जसले मिठो लाग्ने र बारम्बार खान मन लाग्ने बनाउँछ । अत्यधिक मात्रामा जंक फूड र स्ट्रिट फूड जो डिप फ्राइड हुन्छन् र बारम्बार तताइने तेलबाट ट्रान्स फ्याट उत्पादन हुन्छ । यस्ता खाना उपभोग गर्दा मोटोपन बढ्ने समस्या हुन्छ । यसले हर्मोनल असन्तुलन, उच्च रक्तचाप, डायबिटीज, मुटु रोग, छाला एलर्जी लगायतका समस्या बढ्ने पोषणविद् प्रविण भट्टराई बताउँछन् ।
विभिन्न अध्ययनहरूले पनि मुकबाङ गर्ने र यो हेर्ने दर्शकमा विभिन्न स्वास्थ्य समस्या निम्त्याउन भूमिका खेल्ने देखाएको छ । उदाहरणका लागि, सन् २०२१ को एक अध्ययनले मुकबाङ हेर्नेहरूमा खाने विकार ‘इटिङ डिसअर्डर’ बढ्ने देखाएको छ । फिलिपिन्समा सन् २०२४ मा एक मुकबाङरलाई स्ट्रोक भएपछि यसलाई ब्यान गर्ने प्रयास भएको थियो ।
बढी खानेकुरा खाँदा मोटोपन निम्त्याउछ, जसबाट डायबिटीज, उच्च रक्तचाप जस्ता १० भन्दा बढी रोगहरू एकैसाथ आउन सक्छन् । एक दु:खद् उदाहरणमा, टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार, २४ वर्षीय टर्कीका मुकबाङ स्ट्रीमर एफेकान कुल्टुरको अत्यधिक खानाको कारण पेट फुटेर मृत्यु भएको थियो । उनको स्वास्थ्य लामो समयदेखि मोटोपनसँग सम्बन्धित गम्भीर रोगबाट बिग्रिरहेको थियो ।
यस्तै, कहिलेकाहीँ देखावटीका लागि अखाद्य वस्तुहरू जस्तै काँचो अण्डा, काँचो मासु र शरीरसँग नमिल्ने चिजहरू समेत खाइन्छ, जसले पाचन प्रणालीमा असर पार्छ र गम्भीर जोखिम निम्त्याउछ ।
मुकबाङमा प्रायः जंक फुड, मैदाजन्य खाना, चिल्लो–पिरो स्ट्रिट फुड, अत्यधिक मसला र नुन प्रयोग गरिएका परिकार समावेश हुन्छन् । एकै व्यक्तिले धेरै मानिसको भाग बराबर खाना खाने दृश्यले मनोरञ्जन त दिन्छ, तर यसले ‘ओभर इटिङ’ अत्यधिक खाने बानीलाई सामान्य र आकर्षक बनाएर प्रस्तुत गर्छ ।
मुकबाङमा देखाइने अधिकांश खानेकुरा पोषणका हिसाबले कमजोर हुने पोषणविद् प्रविण भट्टराई बताउँछन् । ‘बारम्बार यस्ता भिडियो हेर्दा मानिसमा आवश्यकताभन्दा बढी खाने बानी विकास हुन्छ’ भट्टराई भन्छन्, ‘जसले मोटोपन, डायबिटिज, उच्च रक्तचाप, हर्मोनल असन्तुलन र मुटुरोग जस्ता दीर्घकालीन समस्या निम्त्याउछ।’
उनका अनुसार विशेष गरी स्ट्रिट फुडहरूमा बारम्बार तताइने तेल प्रयोग हुने भएकाले ट्रान्स फ्याट बन्ने जोखिम उच्च हुन्छ । यस्तो तेलले मुटु रोग, छाला एलर्जी र मेटाबोलिक समस्या बढाउँछ । ‘बच्चा र किशोर–किशोरीमा यसको असर झनै गम्भीर हुन्छ, किनकि सानै उमेरदेखि अस्वास्थ्यकर खानाको लत बस्न सक्छ’ भट्टराई भन्छन् ।
बालबालिका र मनोवैज्ञानिक प्रभाव
यस ट्रेन्डको प्रभाव विशेष गरी बच्चाहरूमा पर्छ । बच्चाहरू यस्ता भिडियो हेरेर प्रभावित हुन्छन् र उनीहरू पनि भ्लग बनाउने, च्यालेन्जहरू गर्ने जस्ता क्रियाकलापमा संलग्न हुन्छन्, जसले धेरै खाने अस्वस्थ बानीको विकास गर्छ । सानै उमेरमा मोटोपन र हर्मोनल समस्या बढ्दै गएको छ ।
मनोवैज्ञानिक रूपमा यो एक प्रकारको साइकोलोजिकल प्रभाव हो, जसले नयाँ पुस्तालाई गलत दिशातर्फ लैजान्छ । अभिभावकहरूले यसलाई रोक्नुपर्ने पोषणविद् भट्टराई बताउँछन् । ‘बालबालिकाले देखेर सिक्ने उमेरमा यस्ता कन्टेन्टले खानालाई आवश्यकता होइन, प्रदर्शनको साधन बनाइदिन्छ । यसले खाने विकारको जोखिम पनि बढाउँछ’ उनी भन्छन्।
सामाजिक र सांस्कृतिक प्रभाव
सांस्कृतिक रूपमा, कोरियामा परम्परागत रूपमा खाना सँगै खाने संस्कृति छ, तर मुकबाङले एक्लो जीवनशैलीलाई प्रतिबिम्बित गर्छ । दर्शकहरूले च्याटबाट होस्टलाई निर्देशन दिन्छन्, जस्तै ‘यो मिक्स गरेर खानुहोस्’। नेपालमा यो नेपाली खानाको प्रचार गर्छ, तर यसले खाना खेर जाने समस्या बढाउँछ ।
मुख्य समस्या इन्फ्लुएन्सरहरूको प्रभाव हो, जसले अनहेल्दी मार्केटिङ बढाउँछ । मुकबाङको लोकप्रियता सजिलो र छिटो भ्यूज कमाउने माध्यमबाट आउँछ, तर यो छोटो समयको चर्चाका लागि गरिने फन्डा हो जसले दीर्घकालीन रूपमा हानि गर्छ । यसले खाने बानीलाई देखावटी बनाउँछ, जबकि खानपान व्यक्तिगत र स्वास्थ्यकर हुनुपर्छ।
उदाहरणका लागि, चीनमा मुकबाङलाई प्रतिबन्ध लगाइएको छ । त्यहाँको सरकारले यसलाई सार्वजनिक अपराध ठानेर सोसल मिडियामा बन्देज लगाएको छ, किनकि यसले स्वास्थ्य समस्या र खाद्यान्न अपव्यय बढाउँछ ।
जिम्मेवार कन्टेन्ट क्रिएशनतर्फ ध्यान दिनुपर्छ
समग्रमा, मुकबाङले सामाजिक सञ्जालमा मनोरञ्जन दिन्छ तर यसको स्वास्थ्य, मनोवैज्ञानिक र सामाजिक प्रभावहरूलाई बेवास्ता गर्नु हुँदैन । यसलाई प्रोत्साहन गर्नुको सट्टा, स्वस्थ र जिम्मेवार कन्टेन्ट क्रिएशनतर्फ ध्यान दिनु उचित हुन्छ । डाइटिसियनहरू र विज्ञहरूको सल्लाह मात्र विश्वास गर्नु पर्छ, इन्फ्लुएन्सरहरूको होइन ।
स्रोतहरूको विश्वसनीयता जाँचेर मात्र फलो गर्नु आवश्यक छ । मुकबाङले फुड कल्चरलाई नयाँ रूप दिएको छ, तर स्वास्थ्यलाई प्राथमिकता दिएर मात्र यसलाई सकारात्मक दिशा दिन सकिन्छ ।
प्रतिक्रिया 4