 
																			१४ चैत, काठमाडौं । भर्चुअल बैठकमा कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुरका कृषि संकायका डीन जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन् ।
दत्तले जुम मिटिङ चलिरहेका बेला क्याम्पसको महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाही गर्न आवाज उठेको थियो । यसअघि डीन पदबाट निलम्बित दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएकाे उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बताए ।
‘अब उनको जागिर सिद्धियो, डीन सिद्धियो । त्यो भन्दा ठूलो कारबाही के हुन्छ’ रेग्मीले भने । दत्तले प्राध्यापक पदबाट दिएको राजीनामामा आफूले तोक लगाइसकेको र कार्यकारी परिषद बैठकमा पेश गर्ने उपकुलपति रेग्मीले बताए ।
क्याम्पसमा कतिपय प्राध्यापक भने उपकुलपति रेग्मीले दत्तमाथि बेलैमा कारबाही अघि नबढाएकाले आशंका भएको बताउँछन् । हालै सार्वजनिक दत्तको राजीनामा पत्रमा डीन पदबाट निलम्बन गरी आफूमाथि छानबिन गर्न आग्रह गरिएको थियो ।
उक्त पत्र सार्वजनिक भएपछि मात्र उपकुलपति रेग्मीले निलम्बन गरेको एक प्राध्यापकले बताए । ‘भिडियो सार्वजनिक हुनासाथ विश्वविद्यालयले एक्सन लिनुपर्नेमा त्यही व्यक्तिले मलाई निलम्बन गरियोस् भनेपछि मात्रै कारबाही गर्नु अपाच्य नै हो ।’
विश्वविद्यालयका प्राध्यापक माधव पाण्डेले सामाजिक सञ्जालमा उपकुलपतिमाथि आशंका भएको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन् ‘कृषि तथा वनविज्ञान विश्वविद्यालयमा उपकुलपति भन्दा डीन उच्च ओहोदाका हुन् भन्ने शंका भयो ।’
उपकुलपति रेग्मीले भने विश्वविद्यालयले निलम्बनको तयारी गरिरहेको बेला दत्तले निवेदन दिएको बताए । ‘हामीले कानुनी व्यवस्था अनुसार प्रक्रिया अगाडि बढाइरहेकै बेला उहाँले निवेदन दिनुभएको थियो । निवेदन दिएपछि निलम्बन गरिएको भन्ने होइन ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4