
२१ चैत, जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिका-४ मो अरुण तेश्रो जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माणको काम अवरुद्ध भएको छ।
पाउनु पर्ने मुआब्जामा कर काट्न खोजेको भन्दै स्थानीय बासिन्दा सोमबारदेखि योजनाको तार तान्ने काम अवरुद्ध गरेका हुन् ।
बटेश्वरमा अहिले पोलमाथि तार तान्ने काम भइरहेको छ । तार मुनिको खेतमा पोल गाड्ने खेतको मूल्यांकनको साढे १७ प्रतिशत मात्र मुआब्जा दिने र त्यसमा पनि १५ प्रतिशत कर काटेर दिन खोजेको भन्दै काम रोकेको स्थानीय संजय पोखरेलले बताए ।
‘पहिला नै कम मूल्यांकन गर्यो । साढे १७ प्रतिशत पाउनु पर्ने मुआब्जामा त्यसबाट पनि १५ प्रतिशत कर काट्न खोजेका छन् । अन्यत्र कतै तरा मुनिको जग्गाको मुआब्जामा कर काटिएको छैन’, पोखरेलले भने, ‘त्यस कारण काम अवरुद्ध गरेका हौं । कर नकाटेर वा मूल्यांकन बढाएर मुआब्जा दिए मात्र काम अघि बढ्न दिन्छौं, नत्र दिन्नौं।’
भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमले अरुण तेश्रो जलविद्युत आयोजना बनाइरहेको छ । संखुवासभामा उत्पादन हुने विजुली मधेश प्रदेश हुँदै भारत लैजान प्रसारण लाइन निर्माण भइरहेको छ।
कम्पनीका क्षेत्रीय प्रबन्धक प्रभाकर किशोरले नियम र सम्झौता बमोजिम नै मुआब्जा वितरण भइरहेको दावी गरे ।
‘बटेश्वरमा मुआब्जाको विषयलाई लिएर काम अवरुद्ध भएको छ । ट्याक्स प्राधिकरणले लिएको छैन । हाम्रो कन्सलटेन्ट भन्छ् लिन्छौं भनेर । यहाँ दुई थरी कुरा भयो । अब फेरि मूल्यांकन गर्ने कुरो भइरहेको छ । जनताको उचित मुआब्जा हामीलाई दिनै पर्छ नि !’ उनले भने।
प्रतिक्रिया 4