+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
कभर स्टोरी :

फ्लप सिनेमाको बाढी : १० प्रतिशतले मात्रै उठाउँछन् लगानी

चलचित्र विकास बोर्डका अनुसार, १० प्रतिशत नेपाली फिल्मले मात्रै लगानी उठाउँछन् । यसको अर्थ लगानीकर्ताले वार्षिक केही अर्ब रुपैयाँ गुमाउँछन् । तर, यो फ्लप शृंखला रोक्ने दीर्घकालीन योजना तयार पार्न सरकार र चलचित्र क्षेत्रले अझै ध्यान दिएका छैनन् ।

विष्णु शर्मा विष्णु शर्मा
२०८० कात्तिक ३ गते २०:३९

३ कात्तिक, काठमाडौं । मार्क्सेली अर्थशास्त्रीय मान्यता के हो भने संख्याले गुण दिनुपर्छ । संसारभर चलाइने विमर्शको यो सिद्धान्त कम्तीमा नेपाली फिल्मका लागि भने यतिबेला लागू छैन । ५८ वर्षे इतिहास बोकेको घरेलु फिल्मलाई संख्याले गुण दिइरहेको छैन ।

पछिल्लो दशकमा यो ‘एन्टिथेसिस’ नेपाली फिल्मको यथार्थ हो । बक्स अफिसको अंकगणित हेर्दा लाग्छ, हप्तैपिच्छे फिल्म ‘टाइटानिक’ जहाज जस्तै डुबिरहेका छन् । फिल्म डुबाइको यो शृंखला आउँदो कति समयसम्म लम्बिन्छ थाहा छैन तर, मौलिक दृश्यभाषा र बजार विस्तार गर्ने प्रयत्नमा चुनौती खडा भएको छ । कुल मिलाएर भन्दा यो एउटा ‘वेक अप कल’  हो ।

संख्याले गुण दिएको छैन भन्ने विमर्श बुझ्न एकैछिन घरेलु फिल्मको पछिल्लो परिस्थितिबारे चर्चा गरौं । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरण अनुसार, आर्थिक वर्ष २०७९/८० मा कुल ५७ नेपाली फिल्म रिलिज भए । जसमध्ये १० बाहेक अन्य फिल्मको कमाइ १ करोड रुपैयाँ पनि छैन । रिलिज भएकामध्ये १० प्रतिशतले मात्रै लगानी उठाए । बाँकी ४७ फिल्मको करोडौं लगानी डुब्यो ।

२०८० सालको सुरुआती ६ महिना अर्थात् वैशाखदेखि असोजसम्मको तथ्यांक अझै कहालीलाग्दो छ । यसबीच रिलिज भएका ३१ फिल्ममध्ये २ फिल्म मात्रै चले । १७ करोड १७ लाख रुपैयाँ ग्रस कमाउँदै ‘जारी’ ब्लकबस्टर बन्दा ‘नांगो गाउँ’ सुपरहिट बन्यो । बाँकी फिल्मको बक्स अफिस नियति दुर्दान्त रह्यो ।

यस वर्ष फिल्म सफलताको अनुपात विगतभन्दा अझै घटेको छ । के कुरा भुल्नुहुँदैन भने, हरेक शास्त्रको अध्ययनको केन्द्रविन्दु मान्छे हो र बक्स अफिसका यी निर्जीव अंक पछाडि सजीव दर्शकका चाहना, रुचि र स्वाद लुकेका छन् ।

हुनसक्छ यिनै कारण ‘कबड्डी ४’, ‘छक्कापञ्जा ४’ र ‘जारी’ घरेलु फिल्म इतिहासमै सर्वाधिक कमाउने फिल्म बने । तर, एकाध फिल्मको व्यावसायिक सफलताले समग्र घरेलु फिल्मको प्रतिनिधित्व गर्दैन । चार–पाँच फिल्म सफल हुँदा, करोडौं लगानीका बाँकी फिल्म असफल हुनुले हाम्रो ‘सिनेम्याटिक अपिलिङ’ मा ठूलै समस्या रहेको दर्शाउँछ । ‘छक्कापञ्जा ४’ ले १७ करोड ५२ लाख रुपैयाँ ग्रस र ‘जारी’ले १७ करोड १७ लाख रुपैयाँ ग्रस कमाउँदा ‘छड्के २’ ले २७ लाख रुपैयाँ ग्रस मात्र कमाउन सक्यो ।

३ करोडभन्दा बढी लगानी र अभिनेता अनमोल केसीलाई ५० लाख रुपैयाँ पारिश्रमिक दिएर बनाइएको उक्त फिल्म फ्लप हुँदा नेपाली फिल्म जगत स्तब्ध बन्यो । यो परिघटनाले स्टारमाथि लगानी गर्नु कति उचित भन्ने बहस निम्त्यायो । यो विन्दुबाट स्टारमाथि लगानी गर्न निर्माता हच्किएको देखिन्छ । चलचित्र विकास बोर्डका विवरणलाई नै विश्वास गर्ने हो भने गत वर्ष रिलिज भएको ‘शिवानी’ले जम्मा ५२० रुपैयाँ कमायो । घरेलु फिल्मको इतिहासकै न्यून कमाइ भन्दै यो ट्रोल पनि बन्यो ।

अर्कोतर्फ फिल्म प्राज्ञिक उत्पादन हो भन्ने ‘स्कुल अफ थट्’बाट बनाइएका ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’ जस्ता सुन्दर फिल्म नचल्नुले हाम्रो दर्शकीय चेतना र बजार टापु जस्तै अलग छन् भन्ने बुझ्न सकिन्छ । यी तथ्यले के संकेत गर्छन् भने– हामीकहाँ कहीं कतै समस्या छ ।

यसतर्फ संकेत गर्दै अभिनेता विपिन कार्कीले यस साता अनलाइनखबरसँग गहकिलो कुरा गरे । नेपाली फिल्म लक्षित उनको प्रश्न थियो– आँखा चिम्लिंदा हामीले चिनियाँ, कोरियन, इरानी र बलिउड फिल्मको इमेज देख्छौं तर, किन नेपाली फिल्मको देख्दैनौं ! अब आँखा चिम्लिंदा पनि नेपाली फिल्मको इमेज देखिनुपर्छ ।’

असोज दोस्रो सातादेखि ५८ वर्ष लागेको नेपाली फिल्म यतिबेला अभूतपूर्व संकटबाट गुज्रिएको छ भन्ने पुष्टि गर्न कार्कीको उक्त अभिव्यक्ति पर्याप्त छ । उनले भने जस्तो ‘सिनेम्याटिक पहिचान’को केन्द्रमा फिल्म फ्लप हुनुको कारण लुकेको छ ।

नेपाली निर्माताले फिल्मलाई गम्भीर बौद्धिक र प्राज्ञिक उत्पादनको रूपमा लिन ढिला गर्नुहुँदैन । जबसम्म मेकरले फिल्मलाई ज्ञान मात्र नभएर एउटा कमोडिटी मात्र ठान्छन् तब, नाफा–घाटाको विषय सधैं रहिरहनेछ ।

बोर्डले सार्वजनिक गरेको गत आर्थिक वर्षको उक्त तथ्यांकमा ‘कालो बादलमा चाँदीको घेरा’ पनि देखिन्छ । सोही आर्थिक वर्षमा रिलिज भएका ७८ विदेशी फिल्मको कुल कमाइ ७९ करोड ४३ लाख ग्रस छ । जबकि ५३ नेपाली फिल्मको कुल कमाइ ७६ करोड ७२ लाख ग्रस छ । जस अनुसार घरेलु फिल्मले विदेशी फिल्मको हाराहारीमा जुन कमाइ गरेको छ यसले निराशाबीच आशाको किरण प्रदान गर्छ ।

फ्लप शृंखला कहिलेसम्म ?

यो निकै जटिल प्रश्न हो । संसारभरका फिल्म निर्मातालाई हिट हुने सूत्र थाहा भएको भए परिस्थिति अर्कै हुन्थ्यो । त्यस अर्थमा फिल्म निर्माण एक भाग्यको खेल पनि हो । तर, मिहिनेत र सचेतनाले असफलतालाई धेरै हदसम्म रोक्न सकिन्छ । हलिउडका महान् स्टिभन स्पिलवर्ग र जेम्स क्यामरुन हुन् या भारतका एसएस राजामौली, यी तीनैको समान दृष्टिकोण के हो भने– ‘फिल्म कम्प्युटरबाट होइन, मनदेखि बन्छ ।’

जब बलिउड कोभिड संकटपछि अधोगतिमा लाग्यो, तब शाहरूख खानले एकपछि अर्को हिट फिल्म दिएर हिन्दी फिल्मलाई उद्धार गरे । पठान, जवान र सन्नी देओलको गदर–२ ले बलिउडलाई नयाँ उचाइमा लगे ।

त्यसैगरी जब, हलिउड पनि कोभिडपछि ठूलो संकटमा फस्यो, तब टम क्रुजले ‘टपगन माभेरिक’बाट अमेरिकी फिल्म उद्योगलाई पुनर्जीवन दिए । यहाँ हलिउड र बलिउडको उदाहरण किन दिइएको हो भने, यी फिल्मको केन्द्रमा दर्शकीय रुचि जोडिएको थियो । जबसम्म घरेलु दर्शकलाई आकर्षित गर्न सकिंदैन तब फिल्म हिट हुँदैन भन्ने नजिर यी फिल्मले खडा गरिदिए ।

फिल्म निर्देशक मनोज पण्डित पछिल्लो समय नेपाली फिल्मसामु केही आधारभूत चुनौती रहेको बताउँछन् । उनको विचारमा अहिले नेपाली फिल्ममा सिर्जनशील जनशक्तिको ठूलो संकट छ । यो भनेको निर्देशक र कलाकारको प्रभाव मात्र नभएर, बजारीकरण हुन नसक्नु पनि हो । यी सहित कलाकार र निर्देशकको पहिचान संकट (स्टाइल र जनरा) नहुनु पनि फिल्म फ्लप हुने कारण रहेको उनको ठम्याइ छ ।

उनी भन्छन्, ‘जसरी भारतमा कलाकार र निर्देशकको आ–आफ्नो सिनेम्याटिक इमेज छ, नेपालमा यस्तो इमेज बन्न सकेको छैन । बजारमा यस्तो व्यक्तिगत चरित्र पनि चल्ने हो । आफ्नो पहिचान बनाउने कुरामा हामी चुकेका छौं ।’

उनका अनुसार पहिचानका तत्व भएका फिल्म मात्र अहिले चलिरहेको अवस्था छ । दयाहाङ राईको इमेज र छक्कापञ्जा जस्ता कमेडी जनराका फिल्म मात्र अहिलेको परिस्थितिमा चलेको उनको विश्लेषण छ । खासगरी ‘एथ्निक पोलिटिक्स’का कथावस्तुमा आधारित फिल्म बक्स अफिसमा चलेको उनको व्याख्या छ । अहिले नेपालमा हिट फिल्मबीच एउटा समानता देखिन्छ । त्यो हो– पञ्चलाइनमा आधारित कमेडी । खासगरी, धेरै चलेका कबड्डी र छक्कापञ्जा यो संरचना र मनोविज्ञानमा आधारित थिए ।

हुन पनि, फिल्म चल्ने र नचल्ने कुरा समाजको ‘भिजुअल लिट्रेसी’ र बजार चरित्रसँग धेरै हदसम्म निर्भर हुन्छ । समीक्षकले लामो समयदेखि भन्दै आएको कुरा के हो भने, नेपाली फिल्म समाजबाट टाढियो । नेपाली निर्माताले फिल्मलाई गम्भीर बौद्धिक र प्राज्ञिक उत्पादनको रूपमा लिन ढिला गर्नुहुँदैन । जबसम्म मेकरले फिल्मलाई ज्ञान मात्र नभएर एउटा कमोडिटी मात्र ठान्छन् तब, नाफा–घाटाको विषय सधैं रहिरहनेछ । यसकारण फ्लपको शृंखला रोक्न पनि फिल्मलाई संस्कृतिकै रूपमा विकास गर्नुपर्ने ठम्याइ समीक्षकहरूको छ ।

तर, निर्माणको गति रोकिएको छैन

असफलताको ग्राफ उकालो लागे पनि निर्माण गति भने रोकिएको छैन । उल्टो, कोभिड महामारीपछि निर्माण इजाजत लिनेको संख्यामा वृद्धि भएको देखिन्छ । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार पछिल्लो दुई महिनामा ४१ फिल्मले इजाजत लिएका छन् । कात्तिक १ गतेसम्म दर्जन फिल्म छायांकनमा छन् ।

तथ्यांक हेर्दा लाग्छ, फिल्मको व्यावसायिक असफलताले निर्माणमा खासै अवरोध गरेको छैन । कोभिड संकटपछि सुस्तता आए पनि उल्लेखनीय गिरावट छैन । फिल्म र म्युजिक भिडियो निर्माणको संख्या सोही अनुपातमा कायमै देखिन्छ । वास्तविकता के देखिन्छ भने, पुराना फिल्म निर्माता निर्माणमा दोहोरिने क्रम केही घटेको छ । तर, नयाँ अनुहार लगानीकर्ताको रूपमा आइरहेका छन् ।

‘छक्कापञ्जा’ सिरिजको रूपमा लगातार हिट फिल्म दिइरहेका निर्माता तथा अभिनेता दीपकराज गिरी पछिल्लो समय लगानीका स्रोत विस्तार हुँदै जाँदा फिल्म निर्माणको रफ्तार बढेको बताउँछन् । विदेश र डिजिटल राइटबाट आम्दानी हुँदा नयाँ निर्माता फिल्म बनाउन हौसिएको उनको तर्क छ ।

‘यसरी फिल्म बनाउनेहरू क्याल्कुलेटिभ ढंगले फिल्म बनाइरहेका छन् । यसो हुनुमा विदेश र डिजिटल राइटबाट खुलेका आम्दानीका बाटा प्रमुख हुन्’ गिरीको तर्क छ, ‘यसको दिगोपनमा प्रश्न भने अवश्य उठ्नेछ ।’

निर्माणको संख्यात्मक वृद्धिलाई रोक्न नसकिने बरु गुणात्मक वृद्धिमा विकास बोर्डले ध्यान दिनुपर्ने उनको तर्क छ । गुणात्मक वृद्धिमा जोड दिनुपर्ने बताउँदै उनी भन्छन्– चलचित्रको सबैभन्दा कमजोर पाटो भनेको लेखन हो अहिले । प्रि–प्रोडक्सनमै हामी कमजोर हुन्छौं अनि फिल्म कमजोर बन्दै जान्छ । कथा बलियो भएमा निर्माणले पनि त्यसमा सघाउँदै जान्छ । अत्यन्त कमजोर चिजलाई त्यसले उठाउन सक्दैन । यसका लागि बोर्डले राम्रा विदेशी लेखकसँग राखेर वर्कसप गराउने र व्यावसायिक फिल्म बनाउन प्रोत्साहित गर्नुपर्छ ।’

अबको बाटो के हुने ?

अबको बाटो तय गर्न दुई कुरामा जोड हुनुपर्ने देखिन्छ । एउटा– पटकथा लेखन सहितको जनशक्ति विकास गर्नुपर्छ । ‘छक्कापञ्जा’ निर्माता गिरीले भने जस्तै पटकथा नेपाली फिल्मको सबैभन्दा ठूलो कमजोरी हो । फिल्मको दृश्य व्याकरण र लेख्य संरचना कमजोर हुँदा फिल्म आधारभूत रूपमै फिल्म जस्तो बन्न सकेका छैनन् । फिल्म साहित्यिक उत्पादन हो भन्ने मर्मलाई बोध नगर्दा अधिकांश फिल्म दर्शकबाट टाढिएका मात्र छैनन्, क्यामेराले मात्र खिचिने यस्ता फिल्ममा आत्मा छैन । जब दर्शकले पात्र र द्वन्द्वसँग अन्तरक्रिया गर्दैनन्, तब फिल्महरू आधारभूत रूपमै असफल हुन्छन् ।

दोस्रो– बजारीकरणमा जोड । नेपाली फिल्म यतिबेला घरभित्रै बजार विस्तार गर्न नसक्ने समस्यासँग जुधिरहेको छ । सबैभन्दा धेरै कमाउने नेपाली फिल्म ‘कबड्डी ४’ लाई ७ लाख ६६ हजार ७०० जना दर्शकले हेरे । यो मुलुकको कुल जनसंख्याको २.५ प्रतिशत हाराहारी हो ।

पछिल्लो समय नेपालमा अचम्म तरिकाले हलिउड र बलिउडप्रतिको आकर्षण बढ्दो छ जुन घरेलु फिल्मको स्वास्थ्यका लागि उपयुक्त होइन ।

पछिल्लो समय अष्ट्रेलिया, अमेरिका, युरोप, मध्यपूर्व नेपाली फिल्मका ठूला बजार बनिरहेका छन् । ‘कबड्डी ४’ ले अन्तर्राष्ट्रिय बजारबाट १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको तथ्यले विदेशमा बजार विस्तार हुँदै गएको पुष्टि हुन्छ ।

कथावस्तु चयन र तिनको प्रस्तुतीकरणमा अब घरेलु फिल्मले जोड दिनैपर्छ । युनिभर्सल अपिलिङ बोकेका फिल्मले मात्रै नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय रूपमै लैजान सक्छन् । पछिल्लो समय भेनिस, टोरन्टो, बुसान र मुम्बई फिल्म फेस्टिभलमा नेपाली फिल्मको बलियो उपस्थिति देखिन्छ । तर, मेकरले निजी पहलमा यो सबथोक गरिरहेका छन् । फिल्ममेकरको क्षमता बढाउने र उनीहरूलाई प्रोत्साहन गर्ने, तालिम दिने र मौलिक दृश्यभाषाको मानक खडा गर्ने कार्यमा सरकारले लगानी गर्नैपर्छ ।

जसरी राजा महेन्द्रले उनकै शब्दमा ‘माटो सुहाउँदो’ पञ्चायतकालीन शासन व्यवस्थालाई बलियो बनाउन फिल्मको शक्तिलाई प्रयोगमा ल्याए, अब सरकारले घरेलु फिल्मलाई सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणको सौम्य शक्ति (सफ्ट पावर)को रूपमा विकास गर्नु जरूरी देखिन्छ ।

फिल्म क्रिटिक पण्डित अबको बाटो ‘काल्पनिकता’ हुनुपर्ने तर्क गर्छन् । ‘नेपाली फिल्मलाई केही कुराले जोगाउँछ भने त्यो काल्पनिकताले जोगाउन सक्छ । पछिल्लो समय यथार्थवाद यति धेरै हावी भयो कि रियालिज्मको अर्धचेतनाले हामीलाई कठिन तुल्याएको छ’ उनी भन्छन्, ‘अब नेपाली फिल्म उच्च कल्पनाशीलतामा आधारित फिल्म निर्माणतर्फ अघि जानुपर्छ ।’ अब रियालिज्म नभएर फेन्टासीमा अघि बढ्न उनको सुझाव छ । क्रिटिक्सले यसअघि पनि भन्दै आएको तथ्य यो हो कि अब गम्भीर होइन, विशेष फिल्म बन्नुपर्छ ।

छिमेकी मुलुकबाट के सिक्ने ?

पछिल्लो समय नेपालमा अचम्म तरिकाले हलिउड र बलिउडप्रतिको आकर्षण बढ्दो छ जुन घरेलु फिल्मको स्वास्थ्यका लागि उपयुक्त होइन । बरु; स्रोत, साधन र भूगोलका हिसाबले साना मानिने भारतको सिक्किम राज्य र भुटान प्रेरणादायी बन्न सक्छन् ।

छोटो समयमै भुटान र सिक्किमले जसरी घरेलु फिल्मको विकाससँगै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरिरहेका छन्, यो लोभलाग्दो छ । जुन मोडेलमा यी दुई उद्योगले घरेलु फिल्मको विकासमा काम गरिरहेका छन्, अब नेपालले यो मोडेलबाट फिल्मको निर्माण र बजारीकरणबारे सिक्न सक्छ ।

गत वर्ष भुटानी फिल्म ‘लुनाना : अ याक इन द क्लासरुम’ ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधातर्फ मनोनित भयो । यस वर्ष भुटानले ‘मंक एण्ड द गन’लाई पुनः ओस्कारमा पठाएको छ, जसलाई मनोनयनको दावेदार मानिएको छ ।

छिमेकी मुुलुक भारतीय फिल्मको दबदबा र प्रभावबाट मुक्त हुँदै भुटानले प्रति वर्ष ३० फिल्म रिलिज गर्छ । जसमध्ये धेरैजसो फिल्म बक्स अफिसमा हिट हुन्छन् । त्यहाँको राजसंस्था र सरकारले पनि फिल्म प्रवद्र्धनमा सघाउने गरेको छ ।

नेपालसँग सीमा जोडिएको भारतको पूर्वोत्तर राज्य सिक्किमलाई सरकारले यस वर्ष उत्कृष्ट छायांकन थलो भन्दै सम्मानित गर्यो । यस वर्षको कान्स फिल्म फेस्टिभलको संस्करणमा सिक्किमका दुई प्रतिनिधिलाई भारत सरकारले कान्समा पठायो जहाँ उनीहरूले फिल्म छायांकन गन्तव्यको रूपमा सिक्किमको प्रचारप्रसार मात्र गरेनन्, संयुक्त लगानीका लागि मिहिनेत पनि गरे ।

जसमध्ये निर्देशक साम्तेन भुटियाले संयुक्त लगानीका केही फिल्ममा काम गर्दैछन् । सिक्किममा छायांकन हुने फिल्मलाई सरकारले १ करोड भारु अनुदान दिन्छ । कान्स पुगेकी सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्माले भारतको सञ्चार मन्त्रालयसामु नेपालसँग संयुक्त लगानीका लागि प्रस्ताव राखेकी थिइन् । जसको जवाफमा ‘नेपालले प्रस्ताव पठाए सोच्न सकिने’ मन्त्रालयले बताएको थियो ।

नेपाल दुई ठूला अर्थतन्त्रको बीचमा छ । अर्थतन्त्र भन्नुको अर्थ, दुई ठूला विशाल फिल्म उद्योग पनि हुन् । यो अथाह फिल्म बजारबाट फाइदा उठाउनेतर्फ सरकारले काम गर्न सकेको छैन । हालै आयोजित नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा चिनियाँ राजदूत छेन सोङले नेपाली फिल्मलाई स्वागत गर्न चीन तयार रहेको बताएका थिए ।

नेपालीभाषी बहुल भारतीय राज्यमा नेपाली फिल्मको आकर्षण कति छ भन्ने बुझ्न ‘कबड्डी ४’ र ‘प्रेमगीत ३’ को ब्लकबस्टर प्रदर्शनबाटै थाहा हुन्छ । मुख्यतः फ्लपको शृंखला रोक्न र दीर्घकालीन योजना तयार पार्न नेपाली फिल्मले सिर्जनात्मक जनशक्ति उत्पादन, पटकथा लेखन र बजारको खोजी गर्ने कार्यमा ढिला गर्नुहुँदैन ।

कभर स्टोरी
लेखक
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?