+
+
Shares
स्थलगत :

मधेशमा पानी अभाव : तीन वर्षदेखि नै देखिएको थियो संकेत

वीरगञ्जमा यो वर्ष मात्रै सुक्खा भएको होइन, यसको स्पष्ट संकेत तीन वर्षअघिबाटै देखिइरहेको थियो । यो अवस्था आउनु पछाडि चुरे विनाश र जलवायु परिवर्तन कारक रहेको विज्ञहरू बताउँछन् ।

गौरव पोखरेल शैलेन्द्र महतो गौरव पोखरेल, शैलेन्द्र महतो
२०८२ साउन १३ गते २२:१५

१३ साउन, वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका-२४, रानीघाटका पिन्टु श्रीवास्तवले ७ वर्षदेखि चलाइरहेको चापाकलमा अचेल पानी आउँदैन । २ सय ६० फिट खनेर राखेको चापाकल कुनैदिन यसरी सुक्ला भनेर उनले कल्पनै गरेका थिएनन् ।

‘अहिले खानेपानी समेत छोराको स्कुलबाट ल्याउनु परेको छ’, उनी भन्छन्, ‘नुहाउन र लुगा धुन कति दु:ख छ भनिसाध्ये छैन ।’ उखर्माउलो गर्मी हुने वीरगञ्जमा उनी पहिले दैनिक नुहाउँथे । ‘तर, यसपटक दुई दिन भयो, जीउमा पानी हाल्नै पाएको छैन’, श्रीवास्तव सुनाउँछन् ।

उनको घर नजिकै रहेको गुगल बोर्डिङ स्कुलमा भएको बोरिङबाट अलिअलि पानी आइरहेको छ । छोरा त्यहीँ पढ्ने भएकाले उनले बेलाबेला खानेपानी ल्याउन पाइरहेका छन् ।

‘स्कुल बिदा भइसकेपछि त्यहाँबाट खानेपानी ल्याइरहेका छौं, लुगा धुनलाई चाहिँ ट्यांकरबाट बाँड्ने पानी प्रयोग गरिरहेका छौं’, श्रीवास्तवले थपे, ‘ट्यांकरबाट दुई/तीनवटा बाल्टीमा पानी थापेर राख्ने गरेका छौं, त्यसैले नुहाउने, लुगा धुने हो ।’

वीरगञ्जका केही स्थानमा सोमबार अपरान्ह सिमसिमे पानी पर्‍यो । त्यसले वीरगञ्जलाई केही शितल त बनाएको छ । तर,  वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह भन्छन्, ‘यति पानी परेर यहाँ बस्नेलाई केही सहज होला, तर पानीको समस्यालाई केही फरक पार्दैन ।’

तत्काललाई अहिलेको समस्या समाधान गर्न पर्सामा नेपाली सेनाले दमकल समेत गरी ६ वटा ट्यांकरबाट पानी वितरण गरिरहेको छ । वीरगञ्ज महानगरले समेत छुट्टै ७ वटा दमकल/ट्यांकरबाट पानी बाँडिरहेको छ ।

‘वीरगञ्जलाई दैनिक करिब २.५ करोड लिटर पानीको आवश्यकता पर्छ, महानगरपालिकाको पानी ट्यांकरबाट दैनिक २४ घण्टामा करीब ४.५ लाख लिटर पानी वितरण भइरहेको छ’, मेयर सिंह भन्छन्, ‘नेपाल खानेपानी संस्थानले दैनिक १ करोड ७० लाख लिटर पानी आपूर्ति गर्छ, त्यसबाहेक विभिन्न ठाउँमा डिप बोरिङ समेत राखेका छौं । यद्यपि, हाम्रो आवश्यकता पूरा हुन सकेको छैन ।’

वीरगञ्ज–२४ का दिलिप यादव तत्काललाई गाउँमा बोरिङ राखिए केही राहत हुने बताउँछन् । ‘तर हामी कहाँ न खानेपानी संस्थानको पाइप लाइन आइपुगेको छ, न बोरिङ नै छ’, उनले सुनाए, ‘डेढ महिना भइसक्यो, चापाकलमा पानी नआएको कहिलेकाहीँ सेनाले बोकेर ल्याउने ट्यांकरबाट खानीपानी लिइरहेका छौं ।’

तीन वर्षमा निरन्तर घट्यो पानीको सतह

वीरगञ्ज महानगरपालिका वडा नं. २४ का युवराज चौरासियाका अनुसार, पोहोरसम्म पनि गाउँमा यतिविघ्न खानेपानी समस्या थिएन ।

‘मेरोमा त ३०० फिटमा चापाकल राखेको हो, तर अरूतिर पानी घट्न थालेको दुई वर्षजति भइसकेको थियो’, उनी भन्छन्, ‘पहिले पानी छेलोछेलो हुन्थ्यो, अहिले दुई बाल्टी पानीले नुहाउने कि लुगा धुने ?’

वीरगञ्ज महानगरपालिकाका वन तथा वातावरण महाशाखा प्रमुख राकेश शाहले गरेको अध्ययनले पनि पछिल्लो तीन वर्षमा वीरगञ्जमा खानेपानीको समस्या उत्कर्षमा पुगेको देखाउँछ ।

पुल्चोक ईञ्जिनियरिङ क्याम्पसबाट स्नातकोत्तर अध्ययन गर्दा चापाकलकै विषयमा थेसिस गरेका उनले मधेशको चापाकलकै विषयमा छुट्टै रिसर्च समेत गरेका थिए । त्यस अध्ययनका क्रममा उनले लिएको तथ्यांकले पछिल्लो तीन वर्षमा कसरी चापाकलमा पानी सुक्दै गयो भन्ने देखाउँछ ।

‘मैले २०७९ सालमा अध्ययन सुरु गर्दा वडा नं. १० मा रहेको चापाकलमा २० फिटमा पानी आइरहेको थियो, अर्को वर्ष ३० फिटमा झर्‍यो’, उनले अनलाइनखबरसँग सुनाए, ‘तेस्रो वर्ष २०८१ मा पानी ३५ फिटमा झर्‍यो ।’ ३० फिटदेखि तल पुगेपछि चापाकलले पानी नै तान्न छाडेको उनी बताउँछन् ।

वीरगञ्जको हनुमान मन्दिरका ६९ वर्षीय भागिरथ बैठाका पनि चापाकलमा पानी निकाल्न गाह्रो हुन थालेको धेरै भइसकेको बताउँछन् ।

उपकुलपति शाक्य अहिलेको परिस्थिति सिर्जना हुनुमा चुरे दोहनलाई मुख्य दोष दिन्छन् । ‘चुरे संरक्षण एउटा राम्रो स्लोगन प्रोजेक्टमा मात्र सीमित भयो, व्यवहारिक रुपमा त्यो कार्यान्वयन भएन ।’

‘पहिले थोरै खन्दा पनि पानी आउने ठाउँमा अहिले २५० फिटभन्दा गहिरो खन्न थालिएको थियो, त्यही पनि केही वर्षयता राम्रोसँग पानी आउन छाडेको थियो’, उनले सुनाए, ‘हुँदा हुँदा यसपालि वर्षा समेत भएन, गाउँमा रोपाइँ गर्न नपाएर खेती समेत बाँझै छ ।’

जानकारहरूका अनुसार, तीन वर्षदेखि पानीको अभाव प्रत्यक्ष रुपमा देखिन थाले पनि असर यस अघिबाटै दैनिक जीवनमा परिरहेको थियो । यद्यपि, पानीका लागि अन्य विकल्पहरू भएकाले मानिसहरूले यसबारे त्यतिधेरै छलफल गरेनन् ।

उपकुलपति डा. दिपक शाक्य ।

‘हामी सानो हुँदा २० फिटमा पानी आउँथ्यो, पछि चापाकलहरू १००, २०० फिटसम्म गाड्न थालियो, त्यसमा पनि पानी आउन छाड्यो’, वीरगञ्जस्थित मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्य भन्छन्, ‘पानी आउन छाडेपछि २८०, ३०० सम्म गाड्न थालियो ।’

यसले समस्या पहिल्यैदेखि सुरु भइसकेको देखाउने भन्दै उनी थप्छन्, ‘तर त्यसबेला ध्यान नै दिइएन, जसको परिणाम अहिले भोग्नु परिरहेको छ ।’

चुरे दोहन र जलवायु परिवर्तन कारक

पछिल्लो समय परिस्थिति कस्तो बनिसकेको छ भने केही अघि एउटा घर निर्माणका लागि खन्दा ८० फिटसम्म बालुवा भेटिएको थियो ।

‘चुरेलाई संरक्षण गरिएन भने यस्तो अवस्था आउनसक्छ भनेर सुन्दै आइयो, तर यसरी पानी नै हुने स्थिति आउला भनेर कल्पनै गरिएको थिएन’, वीरगञ्ज–१८, इनर्वाका दिपक तिवारी भन्छन्, ‘यो स्थितिमा त हेटौंडा जस्तै यता पनि कुनै दिन जमिन नभासिएला भन्न सकिन्नँ ।’

उनका अनुसार, पछिल्लो तीन वर्षलाई मूल्यांकन गर्दा पहिलो वर्ष शहरी क्षेत्रमा केही समय अभाव देखिएको थियो, जसोतसो व्यवस्था भयो । दोस्रो वर्ष हुँदै तेस्रोमा आउँदा अहिले गाउँ–गाउँमा पानी आउन छाडेको उनी बताउँछन् । र, जब दक्षिणी भागमा रहेको गाउँमा समेत पानी आउन छाड्यो र खेती योग्य जमिन बाँझै रहने स्थिति आयो, त्यसपछि परिस्थिति विकराल बनेको तिवारी सुनाउँछन् ।

उपकुलपति शाक्य अहिलेको परिस्थिति सिर्जना हुनुमा चुरे दोहनलाई मुख्य दोष दिन्छन् । ‘चुरे संरक्षण एउटा राम्रो स्लोगन प्रोजेक्टमा मात्र सीमित भयो, व्यवहारिक रुपमा त्यो कार्यान्वयन भएन’, उनी भन्छन्, ‘ढुंगा हेर्नुहुँदैन, बिक्री भइहाल्छ, निरन्तर यति दोहन भयो कि अहिले कुनै पनि नदीमा जानुस्, तपाईं एउटा ढुंगा देख्नुहुन्न ।’

पहाडी क्षेत्रहरूमा रुख मासेर शहर बनेका छन् । ‘अहिले अमलेखगञ्ज जानुस्, सिमरामा जानुस्, भित्र पहाडमा सबै शहर बसिसक्यो, माथि प्लटिङ भइरहेको छ’, उनी भन्छन्, ‘राष्ट्रिय निकुञ्जले जति घेरेको छ, त्योबाहेक पहाडहरू सबै खत्तम भएका छन्, जसको परिणाम अहिले देखिइरहेको छ ।’

योसँगै जलवायु परिवर्तनको असर समेत जनजीवनमा देखिन थालेको विज्ञहरू बताउँछन् । महानगरका वातावरण विभाग प्रमुख शाह भन्छन्, ‘जलवायु परिवर्तन मानव सिर्जित अवस्था हो ।’

उनका अनुसार, जमिनमुनि पानी रिचार्ज गर्ने प्रणाली नै अहिले बिग्रिएको छ । ‘अहिले असारमा जसरी सिमसिमे पानी परिरहन्थ्यो, त्यो अहिले पर्दैन परेन’, उनी थप्छन्, ‘आजभोलि एक ठाउँमा पानी परिरहेको छ भने त्यसको केही मिटर पर नै सुख्खा हुने स्थिति छ ।’

यसका लागि दीर्घकालीन समाधानको उपाय खोज्नुपर्नेमा उनी जोड दिन्छन् । दिपक तिवारी पनि भन्छन्, ‘ठाउँ–ठाउँमा पोखरी निर्माण, पानीको भण्डारण, पाइप लाइन विस्तार र चुरे दोहन रोक्न अझै पनि जोड नदिने हो भने परिस्थिति झन् विकराल बन्छ ।’

तस्वीरहरू : कृष्ण कुशवाहा

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?