+
+
Shares
विचार :

प्रियजनलाई पत्र: जन्मेको गाउँमा लगानी गरौं

मेरो परिकल्पना आकस्मिक होइन । म विशुद्ध किसानको छोरो हुँ । कृषिमा गरेको दुःख, अनुभूति र सिकाइका आधारमा लेखेको हुँ । चीन, थाइल्यान्ड, जापान, इजरायल र श्रीलंकाको आधारभूत कृषि अभ्यासको ज्ञानलाई जोडेर तपाईंलाई पत्र लेख्ने हिम्मत बटुलेको हुँ ।

शिव डाँगी शिव डाँगी
२०८२ मंसिर २८ गते १०:१६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजनीतिक बहसले देशको समग्र विकास र उत्पादन क्षेत्रमा ध्यान नदिँदा युवाले विदेश रोजगारी रोजेका छन्।
  • कृषि उत्पादनमा राज्यको लगानी २.५ प्रतिशतभन्दा कम छ, जबकि ५५ प्रतिशत कृषिजन्य वस्तु आयात गरिन्छ।
  • स्वदेश र विदेशमा रहेका नेपालीले जन्मभूमिमा लगानी गरी फलफूल बगैंचा स्थापना गर्न सक्ने प्रस्ताव गरिएको छ।

स्वदेश र विदेशमा रहनुभएका मेरा प्रिय साथीहरू, नमस्कार !

हाम्रो देशमा चिया पसल, मदिरा पसल, विद्यालय, विश्वविद्यालय, धार्मिक अनुष्ठान, अफिस, घर, विवाह, व्रतबन्ध, सरकारी र निजी सञ्चारमाध्यम मात्र होइन, सामाजिक सञ्जाल जता र जहाँ पनि प्रायः राजनीतिक विषयमा मात्र बहस, छलफल र कुराकानी भइरहेको हुन्छ । तर, शिक्षा, स्वास्थ्य, संस्कार, संस्कृति, भौतिक विकास, सामाजिक विकास, युवा रोजगारी, उत्पादन, देशको अर्थतन्त्र अर्थात् समग्र देश विकासको कार्यदिशा बहसको विषय हुन सकिरहेको छैन ।

जहाँसुकै नेता र राजनीतिक व्यवस्थाविरुद्ध हुने बहसले हामीलाई सही दिशा देला ? राजनीतिक परिवर्तनमा विशिष्ट योगदान गरेका नेताहरूले जनताको जीवनस्तरमा परिवर्तन गर्न सकेनन् भने जनताकै तहबाट सही मार्गनिर्देश गर्न सकिँदैन त ? हाम्रो देश विघटनकै दिशामा पुगेको हो त ?

यिनै प्रश्नको व्यावहारिक उत्तरका लागि, खासगरी उत्पादनको क्षेत्रमा बहस र छलफल होस् भन्ने सोचका साथ स्वदेश र विदेशमा रहेका, थोरै भए पनि आर्थिक बचत गरिरहेका मध्ये तपाईंलाई यो पत्र लेख्न लागिरहेको छु ।

मेरा प्रिय मित्र, राजनीतिले मात्र देश बन्ने भए नेपाल स्विट्जरल्यान्ड भन्दा विकसित भइसक्थ्यो । ३०/३२ वर्षको बीचमा नेपाली युवाले तीन दर्जनभन्दा बढी देश बनाइदिएका छन् । हामी कुरा मात्र मिलाइरहेका छौं, अब काम मिलाऔं । हामीले कुरा संसारलाई बदल्ने गर्‍यौं तर आफू स्वयं बदलिन सकेनौं ।

सबैभन्दा पहिले आफैँलाई बदल्ने संकल्प गरौं । भविष्य सम्भावना मात्र होइन, जिम्मेवारी पनि हो, यो जिम्मेवारी आफैंबाट पूरा गर्न सुरु गरौं । देश र नौजवान युवाको भविष्य यसैमा अन्तरनिहित छ ।

‘हुँदैन, सम्भव छैन, खत्तम भयो’ भन्ने भाष्यलाई ‘सम्भव छ, सकिन्छ र हुन्छ’ भन्ने भाष्यमा बदलेर सकारात्मक सन्देश आफैंबाट दिनु हाम्रो पुस्ताको चुनौती हो । सकारात्मक सन्देशले मात्रै सरकार, उद्योगी र आर्थिक लगानी गर्न सक्ने वर्गलाई आकर्षित गर्न सकिन्छ । यो सन्देश दिने महान् उद्देश्यमा सहभागी हुन मेरा प्रिय मित्र, तपाईंलाई यो पत्र लेख्दै छु ।

अकबरे खुर्सानीको भाउ घट्यो – Online Khabar

मेरा प्रिय मित्र, मैले जानेका दिनदेखि ०४६ सालमा स्कुल पढ्दा राजनीतिको सबैभन्दा तल्लो एकाइ अनेरास्ववियु सह–प्रारम्भिक कमिटीदेखि आजका दिनसम्म निरन्तर राजनीतिमा लागियो । जनताको लामो त्याग, तपस्या र बलिदानीपूर्ण सङ्घर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र आयो । राजनीतिक परिवर्तन त भयो, तर जनताको जीवनस्तरमा कुनै परिवर्तन आउन सकेन ।

राजनीतिले मात्र देश बन्ने भए नेपाल स्विट्जरल्यान्ड भन्दा विकसित भइसक्थ्यो । ३०/३२ वर्षको बीचमा नेपाली युवाले तीन दर्जनभन्दा बढी देश बनाइदिएका छन् । हामी कुरा मात्र मिलाइरहेका छौं, अब काम मिलाऔं ।

संविधानमा समाजवादतिर जाने लेखियो तर हामी जानेर वा नजानेर उल्टो बाटो हिँडिरहेका छौं । बौद्धिक र शारीरिक श्रम गर्न सक्षम जनशक्ति विदेशिने त छँदै छ, हेर्दाहेर्दै व्यावसायिक ज्ञान, सीप र क्षमता भएका वीरेन्द्र बस्नेत, विनोद चौधरी, मीनबहादुर गुरुङ, उमेश श्रेष्ठ, चन्द्र ढकाल, राज्यलक्ष्मी गोल्छा लगायतले राजनीतिमा भविष्य खोज्नु हाम्रो पुस्ताको दुर्भाग्य नै हो ।

०४८ पछि बनेका सरकार उत्पादनमैत्री बनेनन् । बैंक, वित्तीय संस्था र व्यवसायीहरू उत्पादनको क्षेत्रमा जानै चाहँदैनन् । गएका पनि फर्किरहेका छन् । किनकि यो क्षेत्रमा व्यावसायिक सफलता मिलिरहेको छैन । ४० वर्षभन्दा कम उमेरका युवायुवती उत्पादनको क्षेत्रमा देखिन कठिन भइसकेको छ । अर्थात्, यो क्षेत्रमा कुनै आकर्षण छैन ।

हिजो गरिबहरू बसाइँ हिँड्थे, आज धनीहरू बसाइँ सरेर हिँड्न थालेका छन् । उत्पादन गर्न सक्ने र जान्नेहरू सहरमा आकर्षित भइरहेका छन् भने सहरमा केही कमाइ गरेका मानिसहरू उत्पादनलाई चियागफको विषय बनाइरहेका छन् । हाम्रो उत्पादन क्षेत्रमा प्रविधिको (तराईमा ट्याक्टरले खेत जोत्ने र दाउनी गर्ने बाहेक) प्रयोग छैन । प्राविधिक सपोर्ट त धेरै परको विषय हो ।

पछि पारिएको उत्पादन क्षेत्रलाई सञ्चार क्षेत्रले पनि प्राथमिकताको विषय बनाएको पाइँदैन । जानी–नजानी सबै राजनीतिकै पछि लागेका छौं । कसलाई भन्नु ? के भन्नु ? किन भन्नु ? तपाईं जहाँ हुनुहुन्छ, तपाईंसँग जे छ, जति छ, त्यहीँबाट काम गर्ने संकल्प गरौं भन्ने अनुरोधसहित यो पत्र लेखिरहेको छु ।

प्रिय साथी, हाम्रो देशको विषयमा मैले जानेको र तपाईंले नजानेको, मैले बुझेको र तपाईंले नबुझेको केही विषय छ जस्तो लाग्दैन । हामीले हाम्रो देशको विकास, समृद्धि र रोजगारीको मुख्य आधार कृषि, जलविद्युत र पर्यटन नै हो । यसमध्ये पनि कृषि अर्थात् उत्पादन नै मुख्य हो ।

हामी हाम्रो देशलाई कृषि प्रधान देश भन्छौं तर करिब ५५ प्रतिशत कृषिजन्य वस्तु भारत र तेस्रो मुलुकबाट आयात गरिरहेका छौं । जीडीपीमा कृषि क्षेत्रको योगदान करिब २४ प्रतिशत भन्छौं तर यस क्षेत्रमा राज्यको लगानी २.५ प्रतिशतभन्दा कम छ ।

करिब ६६ प्रतिशत कृषि पेसामा संलग्न भएको आँकडा पेस गर्छौं तर ४० वर्ष कम उमेर समूहका मानिस यो पेसामा विरलै छन् । हावापानीका सबै प्रकार र उर्वर भूमि सबै छ । तर, १८ प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहनु दुर्भाग्यपूर्ण अवस्था हो । यतिसम्म कि आधारभूत शिक्षा र स्वास्थ्यबाटै हाम्रा नानीहरू वञ्चित छन् ।

No photo description available.

हामीले ०७२ सालमा समाजवादउन्मुख भनेर संविधान लेख्यौं । निर्वाचन आयोगमा दर्ता भएका १२५ राजनीतिक पार्टीले घोषणापत्रमा समाजवाद लेखेका छन् । लेख्ने तर नगर्ने त हाम्रो संस्कृति नै बनिसक्यो । यो सबै देखेपछि विरक्तिएर समस्याको समाधान हामी तथानाम गालीमा खोजिरहेका छौं । कसैलाई गाली नगरी आफैंतर्फ फर्किने अनुरोधसहित यो पत्र लेख्न लागिरहेको छु ।

संसारको सबैभन्दा पवित्र वस्तु जल र जंगल हो । त्यो पनि फलफूलको बगैंचासहितको जंगल । तपाईं जहाँ हुनुहुन्छ, एकपटक जन्मेको ठाउँमा सुन्दर जंगल–बगैंचाको परिकल्पना गर्नुहोस् ।

तपाईंको इच्छाशक्ति भएमा त्यो परिकल्पना वास्तविकतामा परिणत गर्न सक्नुहुन्छ । यसका लागि आवश्यक पर्ने बाटो, बिजुलीलगायत पूर्वाधार हाम्रो ठाउँमा पुगिसकेको छ । त्यसैको सामान्य मार्गचित्रको लागि यो पत्र लेख्न लागिरहेको छु ।

मेरो प्रिय साथी, गाउँमा एउटा उखान छ– भोक मिठो कि भोजन ? भोक लाग्दा सामान्य खानामा पनि स्वाद हुन्छ । देश भोकाएको छ, सामान्य भोजनले पनि देश मुस्कुराउन सक्छ । यस्तो समयमा देशले तपाईंबाट आशा गर्नु स्वाभाविक हो, आशा गरेको छ ।

तपाईंबाट आमाले बोलेर आशा प्रकट गर्नुहोला, देशले नबोली–नबोली आशा प्रकट गरिरहेको छ । संसारका अति विकसित अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, युरोपका विभिन्न देशमा हुनुहुन्छ । छोराछोरीको भविष्यको चिन्ताले कमाएको र नेपालमा भएको पनि उतै लगेर पुँजी विकासमा लाग्नुभएको होला ।

जापान, कोरिया, दुबई, मलेसिया, अरब देशमध्ये जो जहाँ हुनुहुन्छ, कमाइअनुसार नेपालमा आफू अनुकूल सहरमा घरबार गरेर छोराछोरी राम्रो पढाउने सोचाइमा हुनुहुन्छ । काठमाडौंलगायत देशका विभिन्न सहरमा व्यापार, व्यवसाय वा कुनै कर्म गरेर जीवन चलाउनुभएको छ वा जे गरिरहनुभएको छ, ठीक छ । कमाइको थोरै हिस्सा जन्मभूमिमा लगानी होस् भन्ने अनुरोधसहित यो पत्र लेखिरहेको छु ।

जन्मभूमि– पहाडमा २०/३० रोपनी जमिन नहुने कमै हुनुहोला । यदि हुनुहुन्छ भने पनि करिब १० लाखमा २० रोपनी जमिन गाउँमा खरिद गर्न पाइन्छ । हिजो धान, मकै, तोरी, गहुँ, कोदो, फापर, जौ आदि–इत्यादि उत्पादन गरेर १५/१६ जनाको परिवार धानेका ती जमिनहरू बाँझिएका छन् वा सामान्य उत्पादनमा सीमित छन् । उपाय केही नभएका मानिस मात्र गाउँमा बसेको अवस्था छ ।

हिजो गरिबहरू बसाइँ हिँड्थे, आज धनीहरू बसाइँ सरेर हिँड्न थालेका छन् । उत्पादन गर्न सक्ने र जान्नेहरू सहरमा आकर्षित भइरहेका छन् भने सहरमा केही कमाइ गरेका मानिसहरू उत्पादनलाई चियागफको विषय बनाइरहेका छन् ।

तपाईंले कम्तीमा २० रोपनी जमिनमा त्यहाँको हावा, पानी र माटो अनुकूल बहुमूल्य, बहुवर्षीय र बहुप्रयोजन हुने कुनै पनि जातको फलफूलको बिरुवा लगाउनुभयो भने आजका मितिमा सामान्य ३ देखि ४ लाखमा सम्भव छ ।

तपाईंले गाउँमै बसिरहेका आफन्त वा कसैलाई मासिक २० हजार रूपैयाँ दिएर संरक्षणमा राख्नुभयो भने चार वर्षमा ९ लाख ६० हजार हुन आउँछ । मलका लागि २ माउ गाई वा भैँसी किनिदिनुस्, जसको मूल्य करिब २ लाख हुन्छ ।

यसरी तपाईंले चार वर्षमा जमिन बाहेक १२ लाख रूपैयाँ र जमिन खरिदसहित २२ लाख रूपैयाँ जन्मभूमिमा लगानी गर्नुभयो भने तपाईंको लगानीले गाउँमै एक परिवारले रोजगारी प्राप्त गर्छन् । चार वर्षमा गाउँमा त्यो फलफूलको बगैंचा देख्दा तपाईंलाई छुट्टै आनन्द आउँछ । थोरै भए पनि आयात प्रतिस्थापन हुन्छ ।

स्वदेश वा विदेशमा रहेका १ लाख मान्छेले जन्मभूमिमा कर्म गर्ने इच्छाशक्ति देखाइदिनुभयो भने ८ देखि १० वर्षभित्र संसारमा सबैभन्दा बढी फलफूल निर्यात गर्ने देश नेपाल बन्छ । यसरी पहाडमा फलफूल, तरकारी र पशुपालन अनि तराईमा मौसमी अन्नबालीलाई जनस्तरबाटै व्यवस्थित गर्न सक्छौं । राज्य पनि यसमा लगानी गर्न बाध्य हुनेछ । अहिले कृषि–उत्पादनमा भविष्य नदेख्ने व्यवसायीहरू पनि आकर्षित हुनेछन् ।

कस्तुरीले आफैंभित्र भएको सुगन्ध थाहा नपाएर जंगलमा रन्थनिए जस्तो सम्भावना बाहिर होइन, आफैंभित्र खोजौं । समृद्धि आफैंभित्र छ । रोजगारी हामी आफैं सिर्जना गर्न सक्छौं । ११/१२ वर्षभित्र ९० प्रतिशत कृषिजन्य वस्तु निर्यात गर्न सक्छौं । देश निर्माण आफैंबाट सुरु गर्न सकिन्छ, सम्भव छ ।

मेरो मित्र, तपाईं ३ अर्ब जनता (चीन–नेपाल–भारत) को बीचमा हुनुहुन्छ । तपाईंले लगानी गरेको २२ लाख रूपैयाँ देश निर्माणको कोसेढुंगा बन्न सक्छ । ‘पारिको होइन, वारिको’ भन्ने कुरालाई आत्मसात् गरेमा नानीहरूको भविष्य उता हैन, यता छ ।

गुल्मीमा धान उत्पादनमा बृद्धि – Online Khabar

मेरो परिकल्पना आकस्मिक होइन । म विशुद्ध किसानको छोरो हुँ । कृषिमा गरेको दुःख, अनुभूति र सिकाइका आधारमा लेखेको हुँ । नारा, भाषण, बहस र छलफल होइन, उत्पादनलाई व्यावसायिक बनाउन काममै जानुपर्छ भनेर ‘जीविका कृषि सहकारी’ मार्फत परिश्रमभित्रको अनुभव हो । चीन, थाइल्यान्ड, जापान, इजरायल र श्रीलंकाको आधारभूत कृषि अभ्यासको ज्ञानलाई जोडेर तपाईंलाई पत्र लेख्ने हिम्मत बटुलेको हुँ ।

मलाई विश्वास छ– तपाईंले यो कामको सुरुवात भविष्यमा होइन, यही वर्षदेखि सुरु गर्नुहुनेछ । अवश्य नै हामीबीच सहकार्य हुनेछ । हाम्रो कर्मबाट सन्ततिहरूले गर्व गर्नेछन्– सगरमाथाको देश, गौतम बुद्ध जन्मिएको देश, मानव आहाराको सर्वोत्तम वस्तु फलफूल निर्यात गर्ने देश नेपाल भनेर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?