News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा चार पटक भाग लिइसकेका डाक्टरले स्वास्थ्य प्रणाली सुधारका लागि काउन्सिल सदस्य बन्ने लक्ष्य राखेका छन्।
मैले २०६४ सालमा चिकित्सा शास्त्रको स्नातक सकाए यता नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा ४ पटक भाग लिइसकेको छु । यस बीचमा डाक्टर सोसाइटी नेपाल भन्ने संस्थाको स्थापना गरेर २०६८ सालदेखि हालसम्म निरन्तर मेडिकल क्षेत्रको एक अभियन्ताका रूपमा क्रियाशील छु ।
हाल राष्ट्रिय ट्रमा सेण्टर, वीर अस्पतालमा हाड्जोर्नी रोगको विशेषज्ञको रूपमा काम गरिरहेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि समेत गर्दैछु । वर्षौदेखि बिरामीका पीडा, डाक्टरका समस्या र स्वास्थ्य प्रणालीका कमजोरीहरू नजिकबाट भोगेको छु । यही अनुभवले मलाई बारम्बार नेपालको स्वास्थ्य प्रणाली सुधार हुनैपर्छ भन्ने कुरा सम्झाउँछ ।
प्रणाली सुधार गर्न सडक र सामाजिक सञ्जालमा बोलेर मात्र हैन प्रणालीमै प्रवेश गर्नुपर्ने रहेछ भन्ने बोध पनि भयो । नेपाल मेडिकल काउन्सिल राज्यको चिकित्सकीय क्षेत्रको नियामक निकाय भएकाले मेरो लक्ष्य काउन्सिल सदस्य भएर स्वास्थ्य प्रणाली सुधारमा उल्लेखनीय योगदान दिनु हो ।
साँचो कुरा के हो भने, नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली र आचारसंहिता कागजमा खराब छैनन् । धेरै राम्रा व्यवस्था यसमा लेखिएका छन् । तर ती व्यवस्था व्यवहारमा प्रभावकारी रूपमा लागू हुन सकेका छैनन् । त्यसैले डाक्टरहरू निराश छन् र आम नागरिकमा पनि काउन्सिलप्रति विश्वास कमजोर हुँदै गएको छ ।
डाक्टरहरूले लाइसेन्स नवीकरण, भेरिफिकेसन र जानकारी पाउन अनावश्यक झन्झट भोगिरहेका छन् । अर्कोतर्फ, नागरिकहरू पारदर्शीता र न्यायको अपेक्षा गरिरहेका छन्। यस्तो अवस्थामा काउन्सिललाई सुधार गरेर चिकित्सक र नागरिक दुवै पक्षको भरोसा निर्माण गर्ने संस्था बनाउनु आजको आवश्यकता हो ।
समस्या कानुनको कि कार्यान्वयनको ?
धेरैले समस्या कानुनमै छ भन्ने सोच्छन् । तर वास्तविकता के हो भने, समस्या प्रायः कानुनको कमी होइन, कार्यान्वयनको कमजोरी हो । क़ानुनको कमी भनेर मान्ने हो भने पनि दुई तिहाई काउन्सिल सदस्यले चाहने हो भने नेपाल मेडिकल काउन्सिल ऐन संशोधनका लागि सिफारिस गर्न सकिने व्यवस्था छ ।
नेपाल मेडिकल काउन्सिल ऐनले काउन्सिललाई दर्ता, लाइसेन्स, परीक्षा, क्वाकरी नियन्त्रण र चिकित्सकीय अनुशासन हेर्ने स्पष्ट अधिकार दिएको छ । नियमावली र आचारसंहिताले पनि प्रक्रिया र आचरण निर्धारण गरेको छ । तर प्रक्रिया स्पष्ट नहुनु, सूचना समयमा नआउनु र निर्णयहरू किन कसरी भए भन्ने कुरा नखुल्दा असन्तोष बढेको छ ।
उजुरी हाल्दा फाइल कहाँ पुग्यो थाहा नहुने, लाइसेन्स नवीकरण किन ढिला भयो भन्ने जानकारी नपाइने, यी सबै कार्यान्वयनका कमजोरी हुन् ।
पारदर्शीता
विश्वास तब बन्छ, जब निर्णय र प्रक्रिया खुला हुन्छन् । आज धेरै डाक्टर र नागरिकलाई थाहा हुँदैन मेडिकल काउन्सिलको बैठक कहिले हुन्छ, एजेन्डा के हो, को सहभागी भए र के निर्णय भयो ।
जबकि नेपाल मेडिकल काउन्सिल ऐनले बैठक र निर्णय गर्न अधिकार दिएको छ । निर्णय सार्वजनिक गर्न नपाइने भनेर कतै रोक लगाएको छैन । संवेदनशील विषयबाहेक बैठकका एजेन्डा, सहभागी विवरण र निर्णय सार्वजनिक गर्न सकिन्छ ।
युके को जनरल मेडिकल काउन्सिल वा अष्ट्रेलियाको एएचपीआरए हेर्ने हो भने, उनीहरू बैठकका निर्णय र नीतिगत कुरा नियमित सार्वजनिक गर्छन् । यसले संस्था कमजोर होइन, विश्वसनीय बनाएको छ ।
जवाफदेहिता
डाक्टरको समय निकै सीमित हुन्छ । डाक्टरले समय अलिकति तलमाथि गर्नुमा बिरामीको स्वास्थ्य र जीवन सवाल जोडिएको हुन्छ । तर आज पनि दर्ता, नवीकरण र भेरिफिकेसनमा महिनौँ लाग्ने गुनासो सुनिन्छ। नेपाल मेडिकल काउन्सिल ऐनले यी सेवा दिन काउन्सिललाई जिम्मा दिएको छ । त्यसैले समयसीमा तोक्नु र डिजिटल रूपमा ट्रयाक गर्न मिल्ने प्रणाली बनाउनु पूर्णरूपमा कानुनभित्रको काम हो ।
उजुरी प्रणाली पनि यस्तै हुनुपर्छ । उजुरी दर्ता भएपछि कहाँ पुग्यो, कति चरण बाँकी छन् भन्ने देखिने व्यवस्था चाहिन्छ । यसले नागरिकलाई भरोसा दिन्छ र डाक्टरलाई अनावश्यक मानसिक दबाबबाट जोगाउँछ ।
सजिलो सेवा, कम झन्झट
नेपाल मेडिकल काउन्सिल ऐनमै डाक्टर दर्ता अभिलेख राख्ने व्यवस्था छ । आजको समयमा त्यसको अर्थ डिजिटल र सार्वजनिक रूपमा खोज्न मिल्ने रजिष्ट्री हो ।
हरेक डाक्टरको एनएमसीको वेबसाइटमा सुरक्षित डिजिटल प्रोफाइल हुनुपर्छ, जुन डाक्टरले आफैं व्यवस्थापन गर्न सकून् । लाइसेन्स स्थिति, सीपीडी, भेरिफिकेसन सबै एउटै ठाउँमा ।
यस्तो प्रणाली भारतको नेशनल मेडिकल कमिसन, युके जीएमसी लगायत धेरै देशमा प्रयोगमा छ । यसले कागजी झन्झट घटाउँछ र पारदर्शीता बढाउँछ ।
चिकित्सक पेशा आफ़ैंमा समानुकूल अपडेटेड भइरहनुपर्ने भएकोले काउन्सिलले नि:शुल्क रूपमा अनलाइन भिड़ियोमार्फत आचारसहिंता, परामर्श/सञ्चार, औषधिको प्रयोगबारे, रिसर्च मेथोडोलोजी र अन्य विधागत विषयमा सीपीडी कार्यक्रम चलाउनु सान्दर्भिक देखिन्छ ।
डाक्टर र जनमैत्री काउन्सिल
काउन्सिललाई चिकित्सक र नागरिक दुवैले डर लाग्ने कार्यालयको रूपमा हेर्छन् । तर काउन्सिलको भूमिका छानबिन गर्नु र सजाय दिनु मात्र होइन, मार्गदर्शन गर्नु र सेवा दिनु पनि हो । हेलो सरकार जस्तै मेडिकल काउन्सिलमा हेल्पलाइन सेवा सुरु गर्न सकिन्छ, जहाँ डाक्टर र आम नागरिकले नियम, प्रक्रिया र समस्या समाधानबारे जानकारी आदान-प्रदान गर्न सकुन् । साना प्रश्नका लागि काउन्सिल सदस्यलाई फोन गर्नु पर्ने वा कार्यालय धाउनुपर्ने व्यवस्था हट्यो भने प्रणालीप्रतिको दृष्टिकोण नै बदलिन्छ ।
न्यायोचित मेडिको-लिगल प्रणाली : डर होइन, न्याय
नेपाल मेडिकल काउन्सिल आचारसंहिताले पेशागत त्रुटि र अनुशासनबारे स्पष्ट कुरा गरेको छ । तर जाँच प्रक्रिया वैज्ञानिक र निष्पक्ष हुनुपर्छ। काउन्सिलभित्र स्वतन्त्र मेडिको–लिगल इकाइ आवश्यक छ, जहाँ फरेन्सिक विशेषज्ञ, सम्बन्धित विशेषज्ञ, कानुनी सल्लाहकार सहभागी हुन्छन् । अन्तर्राष्ट्रिय अभ्यासअनुसार, प्रमाण र विज्ञानमा आधारित निर्णयले मात्र बिरामीको अधिकार र डाक्टरको न्याय दुवै सुरक्षित हुन्छ ।
हाल चिकित्सकीय अभ्यास विरुद्धको उजुरी जिल्ला प्रशासन, काउन्सिल, जिल्ला अदालत, उपभोक्ता अदालत धेरै ठाउँमा दिन मिल्ने अवैज्ञानिक व्यवस्था छ । त्यस्ता उजुरीहरू काउन्सिलमा मात्र दिन मिल्ने एकद्वार प्रणालीको विकास गर्नुपर्छ ।
रेजिडेन्ट र इन्टर्न : भविष्यको सुरक्षा
रेजिडेन्ट र इन्टर्न आज अत्यधिक कामको चापमा छन् । अध्ययनहरूले के देखाएको छ भने अत्यधिक ‘ड्यूटी आवर’ले गल्ती बढाउँछ र सेवाको गुणस्तर घटाउँछ । चिकित्सा शिक्षा आयोगसँग समन्वय गरेर तालिम दिने अस्पताल र कलेजमा रेजिडेन्ट र इन्टर्नको ड्यूटी, सुरक्षा र तालिमको गुणस्तरमा निगरानी गर्नु काउन्सिलको दायित्व हो।
चिकित्सक आफैं शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने व्यवस्था काउन्सिलको आचार संहितामा लेखिएको छ । यद्यपी नेपालमा चिकित्सकहरूको अकाल मृत्युदर डर लाग्दो गरी बढ्दो छ । बिरामीलाई स्वस्थ राख्ने जिम्मेवारी बोकेका चिकित्सक स्वयंको शारीरिक र मानसिक स्वास्थ्यका लागि काउन्सिलले अनुसन्धान र प्रभावकारी कार्यक्रम सञ्चालन गर्न जरूरी छ।
लाइसेन्सिङ परीक्षा : डर होइन, सहयोग
चिकित्सकको अस्थायी लाइसेन्सको व्यवस्था खारेज गर्दै लाइसेन्सिङ परीक्षा काठमाड़ौंमा मात्र हुने व्यवस्था हटाएर सबै प्रदेश र मेडिकल कलेजमा गर्ने व्यवस्था ल्याउन ढीला भयसक्यो।
लाइसेन्सिङ परीक्षा पास गर्न नसकेका डाक्टरलाई अवमूल्यन गर्नु हुँदैन । युके, अष्ट्रेलिया लगायत देशमा ‘रिमिडिटेसन कार्यक्रम’ छ जसमा कमजोर पक्ष पहिचान गरेर सहयोग गरिन्छ । नेपाल मेडिकल काउन्सिल नियमावलीभित्रै यस्तो सहयोग कार्यक्रम सुरु गर्न सकिन्छ । परीक्षा पास फेल मात्र होइन, सक्षम बनाउन केन्द्रित हुनुपर्छ ।
क्वाकरी नियन्त्रण
क्वाकरी जनस्वास्थ्यका लागि गम्भीर खतरा हो । नेपाल मेडिकल काउन्सिल ऐनले दर्ताबिनाको अभ्यासलाई अपराध मानेको छ। एलोप्याथिक चिकित्सा अध्ययन गरेका बाहेक अन्यले नामको अगाडि डाक्टर समेत उल्लेख गर्न नपाउने, र औषधि व्यवस्था ऐनमा लेखिएअनुसार को ‘ओभर द काउन्टर’ औषधि बाहेक अन्य औषधि अनाधिकृत रूपमा गैरचिकित्सकले बिरामीलाई लेखेको खण्डमा कानुनी कारबाहीको समेत व्यवस्था छ । अब सम्बन्धित मन्त्रालय, औषधि व्यवस्था विभाग, अन्य काउन्सिल समेतसँग सहकार्य गरेर प्रभावकारी कार्यान्वयन गर्नू आवश्यक छ।
अन्य
क्लिनिक पोलिक्लिनिक दर्ता गर्दा डाक्टरको काउन्सिल प्रमाण पत्रको अनिवार्यता छ तर कति ठाउँमा सोही डाक्टर बेरोजगार छ । सरकारी अस्पतालमा बिरामीको संख्या चिकित्सकीय संख्या भन्दा कयौं गुणा बढी छ, जसले गर्दा चिकित्सक र बिरामी दुवैले गुणस्तरीय सेवा आदान-प्रदान गर्न पाइरहेका छैनन् । एउटा चिकित्सकले एउटा बिरामीलाई न्यूनतम कति समय दिनुपर्ने र अधिकतम कति जना बिरामी हेर्न पाउने त्यसको मापदण्ड बनाउन स्वास्थ्य मन्त्रालयलाई कार्यान्वयनका लागि सिफारिस गर्न सकिन्छ।
नेपालमा रोगको उपचार गर्न ‘स्तरीय उपचार गाइडलायन्स’ छैन । विभिन्न चिकित्सकीय पेशागत संगठनहरूसँग सहकार्य गरी माटो सुहाउँदो गाइडलायन्स बनाउन सकिन्छ। यसले नेपालको स्वास्थ्य बीमा लाई समेत प्रभावकारी बनाउन मद्दत गर्छ।
अन्त्यमा,
म नेपाल मेडिकल काउन्सिल सदस्य पदका उम्मेदवारका रूपमा, ठूला नारा होइन, व्यवहारमा लागू गर्न सकिने सुधारको पक्षमा उभिएको छु । कानुन हामीसँग छ । नभएको कानुन ऐनमै व्यवस्था भएअनुसार संशोधन गरेर ल्याउन पनि सकिन्छ । अबको कार्यकालमा एउटा इमानदार कार्यान्वयनको आवश्यकता छ जसको कसीमा म खरो उत्रने प्रतिबद्धता व्यक्त गर्दछु ।
प्रतिक्रिया 4