News Summary
Generated by OK AI. Editorially reviewed.- रिसाउँदा मस्तिष्कको एमिग्डाला सक्रिय भएर सिम्प्याथेटिक नर्भस सिस्टम ट्रिगर गर्छ र एड्रेनालिन, नोरएड्रेनालिन र कोर्टिसोल हर्मोनहरू रिलिज हुन्छन्।
- बारम्बार रिस उठ्दा मुटुको धड्कन र रक्तचाप बढ्छ, रक्तनली साँघुरो भएर हार्ट अट्याक र उच्च रक्तचापको जोखिम बढ्छ।
मानौँ, तपाईं ट्राफिक जाममा हुनुहुन्छ । हतार छ, तर अगाडि गाडी चल्दैन । अचानक कसैले हर्न बजाएर करायो । यही क्षण झनक्क रिस उठ्छ- मुटु छिटो धड्किन थाल्छ, सास फेर्न गाह्रो हुन्छ र शरीर तातो महसुस हुन्छ ।
यही हो, मानवको स्वाभाविक भावनात्मक प्रतिक्रिया । यसरी झनक्क रिस उठ्दा शरीरमा पनि आंशिक रूपमा परिवर्तन देखिन थाल्छ, जो स्वास्थ्यको हिसाबले त्यति राम्रो मानिँदैन।
यसरी रिसाउँदा शरीरमा कस्तो परिवर्तन हुन्छन्, त ?
जब हामी रिसाउँछौं, हाम्रो शरीर तुरुन्तै ‘फाइट अर फ्लाइट रेस्पोन्स’ (लड्ने वा भाग्ने तयारी) का लागि सक्रिय रहन्छ, जसले खतरा वा चुनौती सामना गर्न शरीरलाई तयार बनाउँछ । रिस उठ्नेबित्तिकै मस्तिष्कको एमिग्डाला (भावना नियन्त्रण गर्ने केन्द्र) सक्रिय हुन्छ र सिम्प्याथेटिक नर्भस सिस्टमलाई ट्रिगर गर्छ ।
यसले एड्रेनालिन (एपिनेफ्रिन) र नोरएड्रेनालिन जस्ता हर्मोनहरू रिलिज गराउँछ, साथै कोर्टिसोल (तनाव हर्मोन) को स्तर बढाउँछ । यी हर्मोनहरूले शरीरलाई तत्काल ऊर्जा दिन्छन् र तीव्र प्रतिक्रिया गर्न सक्षम बनाउँछन् ।
प्राचीन समयमा यो प्रक्रिया जंगली जनावर वा शत्रुबाट जोगिन अत्यन्तै उपयोगी थियो । तर आधुनिक जीवनमा स-साना कुरामा बारम्बार रिस उठ्दा, यसले मुटु, रक्तचाप, प्रतिरक्षा प्रणाली र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ ।
मुटु र रक्तसञ्चार प्रणालीमा प्रभाव
रिसको सबैभन्दा खतरनाक प्रभाव मुटुमा पर्छ । रिस उठ्दा मुटुको धड्कन दर र रक्तचाप तीव्र रूपमा बढ्छ । रगत मांसपेशीतर्फ निर्देशित हुन्छ, जसले मुटुलाई बढी मेहनत गर्न बाध्य बनाउँछ । रक्तनलीहरू साँघुरो हुन्छन्, जसले धमनीमा प्लाक फुटेर हार्ट अट्याक निम्त्याउन सक्छ ।
कोलम्बिया विश्वविद्यालयमा गरिएका अध्ययनहरूले देखाएअनुसार, छोटो समयको रिसले पनि रक्तनलीको फैलने क्षमता ४० मिनेटसम्म घटाउँछ, जसले एथेरोस्क्लेरोसिस (धमनी कडा हुने) को जोखिम बढाउँछ ।
उच्च रक्तचाप वा कोलेस्टेरोल भएका व्यक्तिमा तीव्र रिसले हार्ट अट्याकको जोखिम ५ गुणा बढाउँछ । अनुहार रातो हुन्छ, पसिना बढी आउँछ र शरीरको तापक्रम बढ्छ । दीर्घकालीन रूपमा, बारम्बार रिसले उच्च रक्तचाप, हृदय रोग र स्ट्रोकको खतरा बढाउँछ ।
श्वासप्रश्वास र मांसपेशीमा परिवर्तन
रिसले श्वास छिटो र गहिरो हुन्छ, जसले अक्सिजन आपूर्ति बढाउँछ । मांसपेशीहरू तनावपूर्ण अवस्थामा हुन्छन्– बङ्गारा कसिन्छ, मुठ्ठी बन्द हुन्छ र नाकको प्वाल फुल्छ । यो ‘फाइट’ तयारी हो । शरीरको तापक्रम बढ्छ र इन्द्रीयहरू तीक्ष्ण हुन्छन् । यी परिवर्तनहरू छोटो समयमा उपयोगी हुन्छन्, तर बारम्बार हुँदा मांसपेशी दुखाइ, टाउको दुखाइ र थकान निम्त्याउछ ।
पाचन प्रणाली र अन्य प्रभावहरू
रिसले रगत पाचन प्रणालीबाट मांसपेशीतर्फ जान्छ, जसले पाचन रोकिन्छ । मुख सुक्छ, भोक कम हुन्छ र पेटमा समस्या आउँछ । दीर्घकालीन रूपमा ‘आन्द्रा–मस्तिष्क अक्ष’ प्रभावित भएर अल्सर वा ग्यास्ट्रिक हुनसक्छ । छाला बढी पसिना आउँछ र इन्द्रीयहरू तीक्ष्ण हुन्छन् ।
‘आन्द्रा–मस्तिष्क अक्ष’ भनेको पाचन तन्त्र र मस्तिष्कबीचको द्विपक्षीय संवादलाई जनाउँछ । यसमा न्युरोट्रान्समिटर, हर्मोन र प्रतिरक्षा प्रणालीमार्फत मस्तिष्क र आन्द्राबीच सन्देश आदान–प्रदान हुन्छ, जसले मानसिक स्वास्थ्य, पाचन र समग्र स्वास्थ्यमा प्रभाव पार्छ ।
किन उठ्छ झनक्क रिस ?
कहिलेकाहीँ रिस उठ्नु सामान्य हो, तर बारम्बार हुन्छ भने पक्कै केही समस्या भएको हुनसक्छ ।
जस्तो कि,
ट्रिगरहरू
सानो कुरामा पनि रिस उठ्नुको कारण कुनै घटना, शब्द वा व्यवहारले पुरानो याद वा भावनालाई उक्साउनु हो । उदाहरणका लागि कसैले अपमान गरेको जस्तो लाग्नु, असफलता महसुस हुनु वा अपेक्षा पूरा नहुनु । अपेक्षा र वास्तविकता बीचको खाडलले पनि झनक्क रिस उठाउँछ ।
तनाव र थकान
दैनिक तनाव, कम निद्रा, भोक वा शारीरिक थकानले रिसको थ्रेसहोल्ड कम गर्छ । कम निद्रा भएमा मस्तिष्कले भावनाहरू नियन्त्रण गर्न गाह्रो हुन्छ, जसले सानो कुरामा पनि विस्फोटक रिस निम्त्याउछ ।
हर्मोनल वा जैविक कारणहरू
शरीरमा सेरोटोनिन (खुसीको हार्मोन) कम भएमा रिस बढ्छ । महिलामा पीएमएस (महिनावारी पूर्वको डिसअर्डर) ले रिस बढाउँछ । शरीरमा चाहिने मात्रा भन्दा कम ग्लुकोज वा थाइरोइड समस्या पनि कारण हुनसक्छ ।
मनोवैज्ञानिक समस्या
इन्टरमिटेन्ट एक्सप्लोसिभ डिसअडर : यो एक मानसिक विकार हो जसमा अचानक र असान्दर्भिक रिसको विस्फोट हुन्छ । यो समस्या प्राय बच्चा वा किशोरावस्था पुग्दा सुरु हुने डिप्रेसन, एन्जाइटी, बाइपोलर डिसअर्डर ट्रमा पछि तनावमा रिस मुख्य लक्षण हुन सक्छ । पुरानो ट्रमा (चोट वा आघात) वा बाल्यकालको नमिठो अनुभवले पनि ट्रिगर गर्छ।
अदृश्य भावनाहरूको प्रभाव
दुःख, डर, लाज वा असुरक्षा जस्ता भावनाहरू दबाएर राख्दा ती रिसको रूपमा बाहिर निस्कन्छन् । यो ‘मास्क्ड इमोसन’ हो, जसले अचानक रिस उठाउँछ ।
वातावरणीय र सामाजिक कारणहरू
अन्याय, भेदभाव, आर्थिक समस्या वा पारिवारिक झगडाले जम्मा भएको रिस सानो ट्रिगरमा विस्फोट हुन्छ । बाल्यकालमा रिसपूर्ण वातावरणमा हुर्किएमा यो बानी बन्छ ।
दीर्घकालीन हुँदा समस्या
बारम्बार यसरी उठ्ने रिसले क्रोनिक स्ट्रेस निम्त्याउछ, जसले उच्च रक्तचाप, हृदय रोग, प्रतिरोधात्मक प्रणाली कमजोर हुने, अनिद्रा, चिन्ता र डिप्रेसन बढाउँछ ।
कसरी नियन्त्रण गर्ने ?
आत्म–जागरूकता अभ्यास
रिस उठ्दै गर्दा के कारणले त्यसो भयो भनेर बुझ्ने प्रयास गर्नुहोस् । आफ्नो ट्रिगर चिन्नु भनेको नियन्त्रणको पहिलो कदम हो ।
समय दिने
रिस उठ्दा तुरुन्त प्रतिक्रिया दिनुको सट्टा ५–१० मिनेट अलग हुनु, शान्त भएर सोच्नु ।
लेखन वा डायरी
रिस उठ्दाको क्षणका भावनाहरू लेख्नुहोस् । यसले भावनालाई स्पष्ट पार्न र हल्का पार्न मद्दत गर्छ । शारीरिक व्यायामः दौड, योग, पौडी वा खेलकुदले शरीरमा संचित तनाव घटाउँछ र मन शान्त बनाउँछ ।
सकारात्मक संवाद
रिस उठ्दा नराम्रो शब्द वा व्यवहार गर्नुभन्दा शान्त र स्पष्ट तरिकाले कुरा व्यक्त गर्नु ।
सहयोग खोज्ने
परिवार, साथी वा मनोपरामर्शदातासँग कुरा गर्नुले भावनात्मक राहत दिन्छ ।
प्रतिक्रिया 4