+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कुशे औंसी : कुशल शिष्य छान्ने पर्व !

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते १३:२०

काठमाडौं । वैशाख महिनाको अमावस्याको दिनलाई आमाको मुख हेर्ने पर्वको रूपमा मनाइन्छ । यस दिन मातातीर्थमा मन्दिरमा विशेष मेला लाग्ने भएकोले यस औंसीलाई नै मातातीर्थ औंसी मान्ने गरिन्छ ।

त्यस्तै, भाद्र महिनाको अमावस्या बाबुको मुख हेर्ने पर्वको रूपमा चर्चित छ । हिन्दुहरूले पवित्र घाँसको रूपमा मान्ने कुशलाई विधिपूर्वक घरमा भित्र्याउने पर्व भएकोले पनि यो पर्वलाई कुशे औंसी पर्वको नामबाट समेत चिनिन्छ । यस दिन काठमाडौंको गोकर्णमा विशेष मेला लाग्ने गर्दथ्यो।

यस वर्ष मंगलबार कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने पर्व मनाइँदैछ । तर कुशे औंसी र बाबुको मुख हेर्ने दिनको सम्बन्ध भने आपसमा नभए पनि अमावस्याले मात्रै जोडेको धर्मशास्त्रका जानकारहरू बताउँछन् ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक नेत्रप्रसाद अधिकारी कुशे औंसी र बाबुको मुख हेर्ने दिन आपसमा अन्तर्सम्बन्धित नरहेको बताउँछन् । उनी भन्छन् ‘भाद्र नामैले पवित्र महिना भएकोले यस महिनाको अमावस्यामा बाबुलाई सम्झिने दिनको रूपमा मान्न थालियो । भदौं महिनामा आफैँमा परिपक्व हुने झार भएकोले कुश काट्ने दिन पनि भदौ महिनाकै अमावस्यामा गर्ने गरिएकोले बाबुको मुख हेर्ने दिन र कुशे औंसी एकै दिन मनाउने गरिएको हो । यी दुईबीचको सम्बन्ध जोड्ने कसी भनेको भाद्र महिनाको अमावस्या तिथि मात्रै हो, अरू कुनै सम्बन्ध छैन ।’

धर्मशास्त्रले पितृपक्षको तिथि मानिने चन्द्रमास अनुसारको आमावस्याको दिन पितृहरू चन्द्रमाभन्दा ठीक माथि आइपुग्छन् भन्ने मान्यता राख्छ । त्यही पितृपक्षको दिन गरिएको दानको फल पाउने र पितृहरूको आशीष लागेर आफ्नो पनि श्रीवृद्धि हुन्छ भन्ने मान्यता रहेको उपप्राध्यापक अधिकारी बताउँछन् ।

कुशलताको परीक्षा लिने कुश उखेल्ने औंसी

बारीमा उम्रिएको एउटा ‘पवित्र झार’ जसलाई कुश भन्न गरिन्छ, त्यो भाद्र महिनासम्म आइपुग्दा परिपक्व रूपमा विकास भइसकेको हुन्छ । त्यसैले यसलाई भाद्र महिनामा नै एक वर्षको लागि उखेल्ने गरिन्छ ।

भाद्र महिनालाई कल्याणको महिनाको रूप चिनिन्छ । यही पवित्र महिनाको अमावस्याको दिन विधिपूर्वक कुश उखेलेर घरमा भित्र्याउने पर्व भएकोले यस तिथिलाई कुशे औंशी मान्ने गरिएको अधिकारी बताउँछन् ।

वैज्ञानिक हिसाबले पनि कुशको महत्व अधिक रहेको वनस्पति विज्ञहरू बताउँछन् । वैज्ञानिक आधारमा भन्दा कुश एक किसिमको कुचालक घाँस हो, यसबाट विद्युत प्रवाह हुँदैन । त्यसैले चन्द्र तथा सूर्य ग्रहणको समयमा खाना तथा पानीमा कुश मिसाउने गरिन्छ । ता कि ग्रहणको समयमा आएको हानिकारक किरण कुशमा ठोकिएर परावर्तन हुने गर्छ भन्ने वैज्ञानिक मान्यता छ ।

जब कुश पलाउँछ, सानैदेखि यसको किनार धेरै तीखो हुन्छ । अन्जानमै यसलाई विच्छेद गर्दा हातमा चोट लाग्ने गर्छ । पुरातन समयमा गुरुजनले आफ्ना चेलालाई परीक्षा लिने बेलामा यही अमावस्याको दिन कुश उखेलेर ल्याउन भन्थे । जसले कुनै चोटविना नै कुश उखेलेर ल्याउँथ्यो, ऊ नै कुशल कहलिन्थ्यो ।

बच्चालाई कुशल र तीखो बोली बोलाउनको लागि पाँच वर्ष पुगेपछि शुभ मुहूर्तमा कुशको अघिल्लो भागद्वारा जिभ्रोमा महले सरस्वती मन्त्र लेख्ने गरिन्छ । यस्तो गर्न सक्यो भने सो बच्चाको बोली तीक्ष्ण हुन्छ भन्ने विश्वास छ ।

ध्यान या पवित्र कर्म गर्दा कुशको चकटीमा बस्ने गरिन्छ । यसको अर्थ पनि कुचालक कुशको आसनमा बस्दा ध्यान र तपबाट पाएको ऊर्जा पृथ्वीमा गएर समाहित नहोस् भन्नको लागि कुशको आसनमा बस्ने गरिन्छ ।

अमावस्याको दिन घर या मन्दिरको उत्तरपूर्वी भागमा गाईको घिउको बत्ती बाल्ने गरिन्छ । कपासको सट्टा रातो रंगको धागो र केसर प्रयोग गर्नु राम्रो मानिन्छ । यसले लक्ष्मीलाई छिटै खुसी बनाउन सकिने मान्यता राखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?