Comments Add Comment

नेपालको चिन्ता तस्करी, भारतको मदिरा

सीमा सुरक्षामा भारतीय जनताले अवरोध नगरुन्

७ असोज, विराटनगर । नेपालले खुला सीमा हुँदै भारतबाट हुने अवैध हतियार, लागूऔषध र अन्य सामग्रीको तस्करी रोक्न भारतसँग सहयोग मागेको छ ।

बुधबार नेपालको मोरङ, सुनसरी र भारतको सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको छलफलमा नेपाल पक्षले अवैध तस्करी रोक्न भारतीय सहयोग मागेको हो । जवाफमा भारतीय पक्षले नेपालबाट हुने मदिरा र स्रोत नखुलेको सम्पत्ति ओसारपसार नियन्त्रण गरिदिन आग्रह गरेको छ ।

खुला सीमा भएका कारण मोरङ, सुनसरी र झापा जिल्लामा भारतबाट हुने लागूऔषध, हातहतियार खाद्यान्न र लत्ताकपडाको तस्करी साझा समस्या हो । नेपाल पक्षले हरेक पटकको बैठकमा समकक्षीसँग तस्करीको मुद्दा उठाउँदै आएको छ ।

बिहारमा मदिरा प्रतिबन्ध भएका कारण सीमावर्ती नेपाली क्षेत्रमा रक्सी भट्टी खुलेका छन् । ती पसलबाट भारततर्फ मदिरा तस्करी हुने गरेको भारतीय पक्षको दाबी छ । बैठकमा भारतीय पक्षले मदिराको पैठारी रोकिदिन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

दुबै पक्षले अपराध नियन्त्रणमा सहकार्य गर्ने निर्णय गरेको पनि उनले अनलाइनखबरलाई बताए । बैठकमा बढ्दो कारोना भाइरसको संक्रमण नियन्त्रण, सीमा अपराध, सीमा स्तम्भ,मानव बेचबिखन, चौपायको तस्करीका विषयमा पनि छलफल भएको थियो ।

बैठकमा नाका शिलमा भारतीय जनताबाट हुँदै आएको अवरोध हटाउन आग्रह गरिएको खड्काले बताए । नाका शिल हुँदा भारतीय पक्षले सीमा क्षेत्रमा नेपाली सुरक्षा निकायमाथि आक्रमणको प्रयास गरिरहेका छन् । भारतीय पक्षले बिहारमा निकट भविष्यमा हुने निर्वाचनको सुरक्षामा सहयोग गर्न नेपाली सुरक्षा अधिकारीलाई आग्रह गरेको छ ।
बैठकमा भारतका तर्फबाट बिहारको पूर्णियाका डीआईजी विनोद कुमार, सीमा सुरक्षा बल (एसएसवी) का सञ्जयकुमार सारंगी, अररिया जिल्लाका एसपी हृदयकान्तलगायत सहभागी थिए । नेपालका तर्फबाट मोरङ र सुनसरीका सुरक्षा निकायका प्रमुख सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment